कविको रूपमा ख्याति कमाएका सर्जक मनप्रसाद सुब्बाको पहिलो प्रकाशित रचना कथा रहेछ । सन् १९६७ मा ‘साँझको यात्रा’ शीर्षकको कथा छापिएपछि उनी साहित्यतिर प्रविष्ट भएका रहेछन् । तर उनले कविताको ताँदो तानिरहे, तन्काइरहे । आख्यान, कसोकसो नेपथ्यमा पर्यो, यद्यपि खुसुखुसु पत्रिकाहरूमा र सामयिकीहरूमा कथा प्रकाशित गर्दै आएको पोल उनले आफैँ खोलेका छन् ‘मिसाम’ को पूर्वकथामा । एउटा ‘एटाभिस्टिक टर्न’ भनौँ, उनी २०२४ मा ‘मिसाम’ कथासङ्ग्रह लिएर टुप्लुकिए । हामीलाई भन्न चाहे सायद — ‘मभित्रको कथाकार जिउँदै छ, हेर्नुहोस् ।’ ‘मिसाम’ मा सङ्ग्रहित पन्ध्र थान कथाले त्यही दाबी गरेका छन् ।
मनप्रसाद सुब्बाका कविताका पाठकलाई राम्रै गरी थाहा छ, उनलाई मन पर्ने केही प्रिय विषय छन् । तिनमा मिथकको पुनरपठन, पृथ्वीको स्वास्थ्यको वकालत, किनाराका मानिसहरूको मर्मकथा, दार्जिलिङमा १९८० को दशकदेखि चल्दै आएको गोर्खाल्याण्ड आन्दोलनसँग सम्बन्धित कुरा तथा विज्ञानले मानवसमाजमा पारेको क्रमिक कु–प्रभावको आकलन प्रमुख हुन् ।
‘मिसाम’ भित्रका कथा पनि करिब करिब यिनै विषयका वरिपरि घुमेका छन्, यद्यपि एकाध कथामा मान्छेको जीवनलाई रोमाञ्चक, विषादपूर्ण वा विसङ्गत बनाउने संयोग, विपर्यास वा विसङ्गतिका कुरा पनि समेटिएका छन् । केही कथा मनोविज्ञानमा आधारित छन् । कतिपय कथामा यी विषयहरूको मिश्रण पाइन्छ ।
यसरी हेर्दा के भन्न सकिन्छ भने कवितामा आफूले निर्माण गरेको लिकमा नै मनप्रसाद सुब्बाले आफ्ना कथाको छुकछुके रेललाई दौडाएका छन् । उनको प्रिय पीठिका भनेको दार्जिलिङकै सेरोफेरो हो — बरबोटे, बिजनबारी, दार्जिलिङ टाउन, टिस्टा र रङ्गीतका किनारहरू । यानि, टिस्टाक्षेत्र । यी कथालाई पनि सुब्बाले यसै भूगोलमा उभ्याएका छन् ।
कथासङ्ग्रहको नाम नै ‘मिसाम’ राखिदिएर पाठकलाई एउटा प्रवेशविन्दु दिएका छन् कथाकार सुब्बाले । उनी पाठकको ध्यान वातावरणीय स्वास्थ्य र धार्मिक विश्वासबीचको अन्तरसम्बन्धतिर आकृष्ट गर्न चाहन्छन् । कथा ‘मिसाम’ मा उल्लेख गरिएको छ— मिसाम भनेको आगोको हंस हो ।
कथाकारले एउटा अनौठो मुन्धुमी अनुष्ठानको चित्रणबाट विषयको उठान गरेका छन् । समाख्याता एक पत्रकार हो, र ऊ, त्यस अनुष्ठानको रिपोर्टिङ गर्नलाई बरबोटे पुगेको छ । अनुष्ठानको नेतृत्व मन्दुमी भेषभुषामा सुसज्जित येबा र येमाले गरिरहेका छन् । अनुष्ठानको उद्देश्य भनेको भड्किएको आगोको आत्मालाई शान्त पार्नु हो ।
आगो भड्किएको छ, र पानी बग्ने नदीभरि ज्वाला फैलिएको छ । कारण — मान्छेले बरबोटेको बरको बोट काटेका छन्, त्यहाँबाट चमेरालाई विस्थापित तुल्याएका छन्, रमाम खोलाको प्रवाहलाई बलात् रोकेका छन्, टिस्टालाई षड्यन्त्रको सञ्जालमा जेलिन बाध्य तुल्याएका छन्, पहाडको गर्भ छेडेका छन्, रङ्गीतसँग उसको चीर बैँस छिनेका छन् । एक स्थानीय कवि मनेन्द्र विक्रम बरबोटेसँगको संवाद तथा येबा–येमासँगको हल्का सवाल-जवाफपछि समाख्याताले यति कुरा पत्ता लाएको छ ।
त्यस रात, सपनामा ऊ नदीमा आगो लागेको देख्छ, नदीको आगोले तिर्खाएर पानीको माग गरेको सुन्छ । यो आगो र पानीको विपरीत भाषी सम्बन्धको व्याख्याका लागि ऊ मुन्धुमी प्रावधानहरूतिर आँखा डुलाउँछ । प्रकृतिको कुनै अवयवमाथि भएको आक्रमणका कारण, एउटा शृङ्खलामा बाँधिएका अन्य अवयवमाथि कु–प्रभाव पर्नु, र एउटा सन्तुलित व्यवस्था नै भत्किनु ‘ओर्ग्यानिसिज्म’ को सिद्धान्तको एउटा दृष्टान्त हो, जसलाई कथाकार सुब्बाले ‘मिसाम’ मा सुन्दर तरिकाले प्रस्तुत गरेका छन् ।
सुब्बाका कतिपय कथा भने दुर्लभ संयोगका कथा हुन्, जसलाई यथार्थको कसीमा जाँच्न सकिँदैन । यस्ता कतिपय कथाको मनोवैज्ञानिक विश्लेषण भने गर्न सकिन्छ । ‘मृत्युको छायामुनि’ गीतकार वीजेन्द्र र उनकी श्रीमती रुक्मिणीको कथा हो ।
उनीहरूको सम्बन्धबारे कुनै सामान्य पुरोहितले भन्दिएको छ— ‘शनिबार, पुर्णे अनि मङ्सिर – तपाईंको घातबार, घाततिथि, घातमहिना !’
अर्को एक ज्योतिषीले कुनै बेला भनेको थियो— ‘तपाईंहरू पति–पत्नी तीन दिन, कि तीन हप्ता, कि तीन महिना, कि त तीन वर्षको फेरोमा परलोक हुनुहुन्छ ।’
यी दुई भविष्यवाणीको योगले यी दुई दम्पतीको भावी जीवन पूर्णतः प्रभावित पारेको देखिन्छ । तीनको संयोग यस्तो छ कि दुईका हरेक महत्त्वपूर्ण घटना ती घडी, पला, बार, मिति र सालमा घटेका छन्, जसमा प्रयुक्त अङ्कको योग ३ नै हुन पुग्छ । र, ज्योतिषीले भविष्यवाणी गरेकै अनुसार रुक्मिणीको मृत्यु ६३ पुगेकै बेला भएको छ, र यसमा पनि ३ को योग प्रस्ट छ ।
भाग्यवश विजेन्द्रले रुक्मिणी मरे पछिका तीन दिन, तीन हप्ता र तीन महिना पनि पार गरेको छ । अब बाँकी एकमात्र तीन भनेको ‘तीन वर्ष’ हो, र अब तेस्रो वर्षको पनि अन्तिम घडी आएको छ । वीजेन्द्रको मनोविज्ञानले पूर्ण आस्थाका साथ स्विकारिसकेको छ कि अब ऊ बित्नेछ । त्यसैले, मृत्युको पूर्व–तयारी ऊ गरिरहेको छ । आजसम्म लेखेका र प्रकाशित गर्न बाँकी गीतको सङ्ग्रह रुक्मिणीलाई समर्पित गरेर प्रकाशित गर्ने जिम्मा छोरो यलम्बरलाई दिएको छ ।
रुक्मिणीको मृत्युको तेस्रो वर्ष पूरा भएको दिन वीजेन्द्रको मृत्यु हुन्छ वा हुँदैन त्यो कथाकारले भनेका छैनन् । तर, ऊ मानसिक रूपले तयार छ, र त्यो कुरा प्रस्ट छ । एउटा अप्रमाणित भविष्यवाणीको असर मान्छेको जीवनमा कति गहिरो गरी पर्न सक्छ, यस कथाका पाठकले अनुभव गर्नेछन् । त्यसरी हेर्दा यो मनोवैज्ञानिक कथा हो ।
तर, ज्योतिष विज्ञानले पनि गर्न नसक्ने पति–पत्नीको सापेक्षित मृत्युयोगको कुरा गरेर तथा ‘आवश्यकता र सम्भाव्यता’ को सिद्धान्तभन्दा कोसौँ टाढाका संयोग कथामा थोपरेर कथाकार सुब्बाले कथालाई ‘फ्यान्टासीको’ निकट किन पुर्याए, त्यो बुझिँदैन । जताततै उनले भिराएको ‘३’ को संयोग पनि बिल्कुलै अप्राकृतिक लाग्छ । कथामा, रुक्मिणीको अन्त्येष्टि र किरियाकर्मको विवरणको आडमा कथाकारले मृत्युको मुन्धुमी संस्कार वा लिम्बु संस्कृतिको मनोरम चित्रण गरेका छन् । यो कथाको सकारात्मक पक्ष हो ।
‘अजिङ्गर’ पनि यस्तै ‘सुनीसुनाइ’ कुराले मनमा उत्पन्न गरेका भयबाट ग्रसित एक पात्रको भयाग्रस्त क्रियाकलापको कथा हो । तर माथिको भन्दा फरक, यस कथालाई वैज्ञानिक आधारमा विश्लेषण गर्न सकिन्छ । कथाको ‘म’ पात्रले अजिङ्गरबारे किम्बदन्ती सुनेको छ, साहित्यमा पढेको छ, सत्य घटनाहरूको खबर टिभीमा हेरेको छ, वा अफिसको स्टाफ वा परिवारजनले सुनाएका अजिङ्गरसम्बन्धी कुरा सुनेको छ ।
यसको असर कतिसम्म परेको छ भने एकान्तमा ऊ सधैँ अजिङ्गरको कल्पना गर्छ । यहाँसम्म कि सधैँ मोर्निङ वकमा गएर केही व्यायाम गर्न उसले बस्ने गरेको ढुङ्गोमै पनि कतैबाट अजिङ्गर आएर निलिदिन्छ कि भन्ने डर छ । कुनै दिन मोर्निङ वकबाट फर्किन्नँ कि भन्ने डर छ । यस कथालाई ‘अर्मान्डो गोञ्जालेज’ मूल पात्र भएको मेक्सिकेली कथा ‘फियर’ तथा जर्मनेली लेखक ई.टी.ए. होफम्यानको कथा ‘द स्यान्डमेन’ को सापेक्षतामा पनि हेर्न सकिन्छ । त्यसरी हेर्दा, यो कथाको केन्द्रीय विषयवस्तु ‘नयाँ’ हो भन्नचाहिँ सकिँदैन । अँ, भयग्रस्त ग्रन्थीको स्वभावलाई कथाकार सुब्बाले स्थानीय परिवेशमा नयाँ कलेवर भने अवश्य दिएका छन् ।
‘घाइते अभिमान’ पनि, प्रकारान्तरले मनोविज्ञानको, विशेष गरी ‘इगो’ को कथा हो । कथामा एउटा जँड्याहा पात्र देवानको चित्रण छ । ऊ मदिरा पार्टीमा आफ्नो एकजना साथी – उसैको अफिसको क्लर्क विकास – सँग मुक्कामुक्कीमा उतारु हुन्छ, जसका कारण उसको ओठ फुल्न पुग्छ । बिहान ऊ पश्चात्तापले द्रवित हुन्छ, तर पनि अर्को मौका आउनासाथ ऊभित्रको दमित आक्रोश पुनः जागृत भइहाल्छ ।
जतिपल्ट मदिरा पार्टीमा विकास साथमा हुन्छ, उति नै पल्ट देवानभित्रको रौद्र रूप जागृत हुन्छ । जति पश्चात्ताप गरे पनि, जतिपल्ट माफी मागे पनि सुरुको पाटीमा उसले विकासबाट खाएको चोटको क्षोभबाट ऊ कहिल्यै मुक्त नभएको मनोवैज्ञानिक यथार्थलाई कथाले समेटेको छ । कथाबाट के निचोडमा पुग्न सकिन्छ भने अभिमानी मानिसहरू इखलाई कहिल्यै बिर्संदैनन् र मौका पाउनासाथ त्यसलाई विरेचित गर्ने बाटो खोज्न थाल्छन् । यो एउटा मनासिब तर्क पनि हो ।
‘सुसेली…सुस्केरा…सुसाइ’ अर्को एउटा मार्मिक मनोवैज्ञानिक कथा हो, जसमा ‘क्याप्टेन नरेन्द्र आले’ नाम गरेका पूर्व–सैनिकको चित्रण छ । उनी सुसेलेरै हिन्दी–नेपाली गीत गाउने क्षमता राख्छन् । नाताले भान्जा पर्ने, तर उनका छिमेकी विनयको दृष्टिविन्दुबाट लेखिएको यस कथामा क्याप्टेन भित्रको कलाकार पारिवारिक विग्रहका कारण क्रमशः आवाजहीन बन्दै गएको यथार्थलाई दर्शाइएको छ । पहिले एक छोरा र बुहारी, र पछि अर्को छोरा र बुहारीले ईसाइ धर्म अँगालेपछि आहत भएका, र चाडबाडामा हुने पारिवारिक रौनकबाट पनि वञ्चित भएका क्याप्टेन आले अन्ततोगत्वा आंशिक पक्षाघातका सिकार बन्न पुग्छन् । कथामा मानसिक अतृप्ति तथा पारिवारिक कलहले धमिल्याएको वातावारणमा कसरी एउटा कलाकारभित्रको कला पनि क्रमशः क्षयीकृत बन्दै जान्छ र अन्ततः मरणासन्न बन्छ भन्ने कुरालाई कुशलताका साथ दर्शाइएको छ ।
‘मिसाम’ भित्रका कतिपय कथा दार्जिलिङ क्षेत्रमा सन् १९८० को दशकदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलनलाई पृष्ठभूमिमा राखेर, त्यसभित्रका विरोधासहरूको छिद्रान्वेशण गर्ने उद्देश्यले लेखिएका छन् । ‘पि. बि. नुगो उर्फ कटहरे’ त्यस्तै एक कथा हो, जसमा वास्तविक नाम पि. बि. नुगा, तर उनका पछाडि उपहासको नाम ‘कटहरे’ भएका एक महत्त्वाकांक्षी राजनीति–कर्मीको कथाव्यथा समेटिएको छ ।
एक सामान्य घडी–रेडियो विक्रेताबाट होटल व्यवसायी र पछि राजनीतिक कार्यकर्ता बनेको कटहरे घोडा चढ्नेबाट ल्याण्डरोवर चढ्नेसम्म भएको छ । उसको होटल र गाडीको खूब प्रयोग भएको छ — चुनावमा, प्रचारमा, सभामा, समारोहमा । तर, उसलाई सजिलै टिकट दिइँदैन । पछि दिइए पनि, उसको जमानत जफ्त हुन्छ । र पछि, राजनीतिक रिसिबीकै कारण टाउको काटेर उसको हत्या गरिन्छ । आन्दोलनको आडमा निर्दोष तर सामाजिक दृष्टिले चलायमान व्यक्तिहरूको कसरी हत्या गरिन्थ्यो, यस कथाले बताउँछ । तर, कथामा कथातत्व कम छ, र कथा एउटा रैखिक संस्मरणजस्तो बढी लाग्छ ।
‘कलियुगी बर्बरिकको टाउको’ ले पनि गोर्खाल्याण्ड आन्दोलनलाई नै पृष्ठभूमि बनाएको छ । कथामा समाख्याता विक्रम वनझाँक्रीले लगेर दीक्षित तुल्याएको एक धामी हो, तर उसको सपनामा सधैँ ‘जगत जोगी’ नाम गरेको एउटा मारिएको मान्छेको टाउको आउँछ र आन्दोलनका कहालीलाग्दा कथाकहानी सुनाएर जान्छ । टाउकोले आफू राज्यसत्ता पक्षको कर्मचारी युनियनको सचिव भएकै कारण मारिएको कथा पनि सुनाउँछ, र अरूका पनि कुरा सुनाउँछ । चेतनराज राखालाजस्ता सरकारी प्रतिनिधिले गरेका भ्रष्टाचारको पोल पनि सुनाउँछ । समाख्याता आफैँ पनि आन्दोलनमा आंशिक रूपले सामेल छ । उसका बाबु त गजेन्द्र गौरवको छद्म नाममा सरकारका विरुद्ध कविता लेख्थे, लेख लेख्थे र छपाउँथे । कथाकार सुब्बाले फ्यान्टसी र ड्रिमको प्रयोग गरेर यस कथालाई ‘गोथिक’ कलर दिएका छन् ।
‘मोहभङ्ग’ पनि राजनीतिक दर्शनसँग सम्बन्धित कथा हो । कथा एक उग्र साम्यवादी युवक ‘रञ्जन कँडेल’ र समाख्याताका फुपा, पत्रकार डी.आर. वान्तवाको संवादमा आधारित छ । आफू साम्यवादी नभए पनि पत्रकार वान्तवा रञ्जनको जुनून देखेर आशावादी छन् । रञ्जनका बा पनि साम्यवादी थिए । रञ्जन सुरुमा आशाको केन्द्र थियो नै, तर समयको अन्तरालसँगै उसको राजनीतिक आचरणमा स्खलन आएको छ । उसमा आशा गाडेर बाँच्चे वान्तवाजस्ता मानिसहरू ‘फोसिल’ भइसकेका छन् । यस कथाले रञ्जन कँडेलको राजनैतिक–व्यावहारिक स्खलनलाई ‘शो’ गर्नुभन्दा पनि बढी ‘टेलिङ’ गरेको छ । वान्तवाको ‘टप्पणी’ भन्दा, स्खलन देखाउने गरी कँडेलका क्रियाकलापमै यस कथालाई केन्द्रित गरेको भए कथा बढी कथात्मक र कम निबन्धात्मक हुने थियो । तर त्यसो हुन सकेन ।
कथाकार सुब्बाका कतिपय कथा जीवनसँग गाँसिएर आउने विसङ्गतिमा आधारित छन् । ‘आरोहण’ कथाको मूल पात्र ‘ऊ’ उसले सधैँ रोमाञ्चकता साथ हेर्ने कुनै आकर्षक डाँडामाथि आरोहण गर्ने आकांक्षा पाल्छ । कुनै दिन हिम्मत जुटाउँछ र आरोहण गर्न थाल्छ ।
आरोहणमार्गको भयावह परिस्थितिको चित्रण सुब्बाले यसरी गरेका छन्— ‘टेकेको माटो धस्केर उसको देब्रे खुट्टा एक खुड्किलो तल सुल्क्यो अनि यौटा मुट्ठी जत्रो ढुङ्गा लड्दै वेगले झर्यो तल फेदैमा । चढ्न नछोड, ऐ मान्छे, टुप्पो टेक्नै आँटेको छस् । यो यौटा सानो चुनौतीलाई तैँले जित्नैपर्छ ।’ अन्ततः ऊ त्यस टाकुरामा पुग्छ पनि, तर त्यहाँ न त्यो सुन्दर शिखर–सिर्हान छ न त्यो अन्तिम शिखर छ । त्यो केवल थोरै होचिएको एक पडाउ हो र अगाडि त्यस्ता शिखरहरूको अनन्त शृङ्खला छ ।
कथाकार सुब्बाले कथालाई ‘ओपन एन्डेड’ छोडेर समाप्तिको अभिभारा पाठकलाई नै दिएर एउटा प्रयोग त गरेका छन्, तर जीवनमा मृगतृष्णाको कुनै मुकाम छैन, र सङ्घर्षको कुनै अन्त्य छैन भन्ने पुरानो विसङ्गतिवादी राटानलाई नयाँ जामा लाइदिएर थोरै बठ्याइँ गरेका छन् । कथाको बुनोट सुन्दर छ, तर कथाको सार ज्यादै पुरानो । उनले कथामा सुतिसकेको सिसिफसको आत्मालाई ढ्याङ्ग्रो ठाकेर जगाएका छन्, र नयाँ मान्छेको मेकअपमा पाठकसामु खडा गरेका छन् ।
अर्को कथा ‘एउटा धमिलो खोलाको किनारमा’ मा पनि उही विसङ्गतिवादको पुरानो सास पसेको पाइन्छ । दुई टाकुराबीच एउटा धमिलो नदी बग्छ, र मानिसहरू नदीको एकापट्टिको तीरैतीर उकालो जान्छन् । उनीहरूलाई ती डाँडा काटेर कुनै अज्ञात लक्ष्यमा पुग्नु छ । तर काट्नुपर्ने डाँडाको शृङ्खला कहिल्यै सकिँदैन । एउटा काट्यो, हाइड्राको काटिएको टाउकोजस्तो अर्को जोडिएर आउँछ । हिँडाइ रोकिँदैन । ‘त्यो व्यर्थको हिँडाइ ! अहो, अर्थहीन हिँडाइ !’ सिसिफसको जागित्रले यस कथाको सारको ओरिजिनलिटीलाई कथामै चित्रित धमिलो नदीको पानीले जस्तै धमिल्याएको छ । फेरि, ‘व्यर्थको हिँडाइ’ भन्ने थाहा पाउने पात्र किन हिँडिरहन्छ ?
‘जारीदण्ड’ र ‘त्यसपछि सन्तलाल…’ सामाजिक कथा हुन् । ‘जारीदण्ड’ मा कथाकार सुब्बाले २०३६ सालतिरको एउटा घटनालाई स्मरण गराएका छन्, जसमा भारतको युपीबाट दार्जिलिङ आएको एकजना टेलर ‘मदन’ को कथा समेटिएको छ । मदन युपीको कुनै गाउँको विवाहित केटो हो र एक छोरीको बाउ पनि हो । ऊ सिलाइकटाइ सिक्न बनारस जान्छ, जहाँ सीमा बंसलसँग प्रेममा परेर विवाह गर्न पुग्छ । त्यहाँबाट भागेर उनीहरू दार्जिलिङको बिजनबारी पुग्छन् ।
पछि, सीमाका बुवा अन्तिम अवस्थामा छन्, भेट्न कलकत्ता आउनू भन्ने एउटा चिठी सीमाको दाइ आलोकको नाउँबाट बिजनबारी आइपुग्छ । उनीहरू कलकत्ता जान्छन्, जहाँ सीमालाई परिवारले कब्जा गर्छ, र मदनलाई घोक्रेठ्याक लगाएर बिजनबारी पठाइदिन्छ । बिजनबारीमा ऊ सन्तलालकी श्रीमतीलाई भगाउन पुग्छ । ती महिलाका दुई छोरा धीरज र सूरज सन्तलालसँगै छुट्छन् । सन्तलालाको उजुरीमा त्यहाँको पञ्चायतले मदनलाई पाटा मुढेर, गधामा उल्टो चढाएर सहर घुमाएर जारीदण्ड दिन्छ । तर मदनले यो सबै अपमान सहेर पनि न काम छोड्छ, न बिजनबारी । उसको परिवार सुखी छ । यसै कथको सिक्वेल हो ‘त्यसपछि सन्तलाल…’ ।
यस कथामा सन्ततलाल उसकी पूर्वश्रीमती र त्यसको लोग्ने मदनको सेखी झार्ने उद्देश्यले नयाँ श्रीमती ‘राधिका’ खोजेर बिहे गर्छ । तर पहिलेकी श्रीमतीका छोराले नयाँ श्रीमतीलाई आमा स्विकार्दैनन् । बरु खुरुरु कुदेर आफ्नै आमाको पसलमा पुग्छन् । राधिका भने हरेक महिना ‘माहिनावारी’ भएको बहानामा काममा नगएर घरै बस्छे । तर, त्यस एकान्तको फाइदा उठाएर ऊ अन्य पुरुषहरू खोजेर सहवास गर्छे । एकचोटि भने ऊ घर फकिन्न । बरु एउटा चिठी भेटिन्छ, जसमा लेखिएको हुन्छ— ‘म जाँदैछु । मलाई फेरि भेट्ने कोसिस नगर्नुहोला ।’ यसपछि सन्तलाल पूरै बिरामी पर्छ । हेर्न जानेले अस्पताल लान्छौँ भन्दा ‘खबरदार ! मलाई अस्पताल लाने कुरा चैँ नगर्नू’ भन्छ । उस
यसको तात्पर्य सायद यो थियो — कति गृहिणीहरू अन्य पुरुषहरूसँग सहवास गर्छन्, र अस्पतालले गर्भनिरोधक औषधि वा साधन दिएर तिनको रहस्य छोपिदिन्छ । अथवा, कतिलाई गर्भपतनको गोप्य सेवा दिएर बचाइदिन्छ । तर, कथाकार सुब्बाले प्रस्ट केही भनेका छैनन् । पाठककै टाउकोमा छोडिदिएका छन् । अर्को कुरा — उनको जारीदण्ड सिक्वेलको उद्देश्य पुरानो समयको जारीदण्डको परम्परा देखाउनु हो, वैवाहिक जीवनका आवरण र यथार्थबीचको भिन्नता नङ्ग्याउनु हो, अथवा, मान्छेको अप्रकृतिक यौन–व्यवहारमाथि प्रकाश पार्नु हो, त्यो त्यति बुझिँदैन ।
सङ्ग्रहको अन्त्यतिर राखिएका तीन छोटा कथा तीन विषयमा केन्द्रित छन् ।
‘साँघु र सपना’ मा उल्लेख भएअनुसार मपात्र सधैँ प्रभातफेरीमा जाने बाटोमै पर्ने एउटा खोलामाथि भर्खरै बनाइएको एउटा कङ्क्रिटको पुल छ । सिमेन्टका खँदिला खुट्टा छन् । वारपार फलामका मोटा पाइप तेर्स्याइएर रेलिङ बनाइका छन् दायाँबायाँ । बिस्तारै, ती स्तम्भका टाउका क्रमशः हराउँछन् । रेलिङका पाखुरा हराउँछन् । पन्ध्र दिन पनि नबित्दै त्यस साँघुको बायाँतर्फका स्तम्भहरू सबै तोडिएका छन् र दुवै पाइप हराइसकेका छन् । दशैँताका त्यसै पुलबाट खसेर कुनै व्यक्तिको मृत्यु भएको छ । यो घटना म पात्रको दिमागमा यस्तो अभिघात बनेर बस्छ कि ऊ अक्सर सपनामा यसै साँघुबाट तल–तल, अझै तल खसेको देख्छ, र ऐँठनमा पर्छ । कराउन सक्दैन, निसास्सिन्छ । मान्छेले आफ्ना लोभको सन्धान गर्ने क्रममा कसरी आफ्नो मृत्युको खाडल आफैँ खनिरहेछ भन्ने चित्रण यस कथाले गरेका छ ।
‘त्यो अन्त्यहीन कथा’ मा अनुराग नामको पात्रमार्फत कथाकारले प्रेम दिक्–कालदेखि नै उन्मुक्तिको अनुपम अनुभूति भएको तर्क गरका छन् । सागर र जमिनको सङ्मस्थलजस्तो प्रेमको प्राप्ति तर सधैँ स्थगित छ, सधैँ अनिश्चित छ, सधैँ अप्राप्य छ । अर्थात् प्रेम त्यस्तै स्थगित सहवास वा अप्राप्य आदर्शहरूमा एउटा अन्त्यहीन कथा बनेर बाँचेको हुन्छ ।
सङ्ग्रहको अन्तिम कथा ‘उत्तरमानव’ मा मिस्टर स्मरण नाम गरेको मान्छेले बनाएको एआईबाट सञ्चालित रोबोट ‘एरिक’ उसैको निर्मातालाई ठाँट्छ, र उसका आदेशको अवज्ञा गरिदिन्छ । ऊ प्रविधिको प्रयोग गरेर मान्छे कसरी ‘हिपोक्रिट’ बन्दैछ भन्ने कुराको पोल समेत खोलिदिन्छ । बहस छ — अबको दिनमा मान्छेले प्रविधिलाई ठेगान लाउने हो कि प्रविधिले मान्छेलाई ! एआईको विकास अब ‘पोइन्ट अफ् नो रिटर्न’ मा पुगेको बेला मानवीय चेतनाको भविष्य कस्तो होला भन्ने अहम् प्रश्न यस कथाले उठाएको छ ।
यसरी हेर्दा, सुब्बाका कथा मनोविज्ञान, मिथकहरूको पुनरपठन, वातावरणीय समस्या, गोर्खाल्याण्ड आन्दोलनका पर्दापछाडिका कथा, खस्कँदो मानवीय मूल्य, सामाजिक–राजनीतिक विसङ्गति तथा उत्तर–मानवीय अनिश्चिताका वरिपरि घुमेका छन् ।
‘मिसाम’ र ‘मृत्युको छायापछि’ जस्ता कतिपय कथामा उनले किराँत, विशेष गरी लिम्बु संस्कृतिका कतिपय सूक्ष्म सन्दर्भ पनि जोडेर कथाको सांस्कृतिक मूल्यलाई बढाएका छन् । कवितामा पनि परिलक्षित हुँदै आएको, प्रकृति र सीमान्तकृत वर्गप्रतिको उनको अनुराग यी कथामा पनि आएकाले उनले आफ्नो प्याटेन्ट ट्रेक छोडेका छैनन् भन्ने प्रतीत हुन्छ । धेरै ठाउँमा चेतनप्रवाह र पूर्वदीप्तिको पनि प्रयोग गरिएको छ । कतिपय कथामा यथार्थ र सपनाको साँध ज्यादै घुर्मैलो बनाएर कथाकार सुब्बाले पाठकलाई मायावी यथार्थवादको आभास पनि दिलाएका छन् ।
सुब्बाको कथाकारिताका कतिपय कमजोरी माथि औँल्याइसकिएको छ । थप्नुपर्ने केही छन् । नयाँ नै लागे पनि ‘उत्तरमानव’ ले गरेको तर्क अचेलको एउटा चलनचल्तीको तर्क भएको हुँदा त्यसमा चिन्तनको नवीनता छैन । मान्छेको जीवन, हिँडाइ र बँचाइ विसङ्गत छ भन्ने कुरो सन् १९२० कै दशकदेखि दोहोरिँदा दोहोरिँदा ‘एनिमिक’ भइसकेको विषय हो । सङ्ग्रहमा आजको युगका विशिष्ट, र मान्छेको ध्यान कम पुगेका नयाँ समस्या खासै आएको देखिएन ।
जहाँसम्म भाषा सम्पादनको प्रश्न छ, आजसम्म आएका सुब्बाका पुस्तकहरूमध्ये यो सबैभन्दा कमजोर सम्पादनसहित आएको कृति हो । यो कृति हतारमा निस्किएको हुनुपर्छ । जे भयो, बेठीक भयो । नत्र, ‘दुइ, उ, साँडे तीन, घरिघरि, बत्ति, कम्ति, उसँगै, उर्जा, पुरा, समुहिक, शितल, कपि, कहिलेकाहिँ जस्ता त्रुटिपूर्ण शब्दावली, र अनेकौँ ठाउँमा शब्द टुटेर आधा माथिल्लो लाइनमा र आधा तल्लोमा जाने स्थिति कसरी भयो? छापिनुभन्दा अघि किताबको अन्तिम स्वरूप हेर्न पाएनन् कि कथाकार सुब्बाले ? यसबारे त प्रकाशक पनि बोल्नुपर्ने हो । हेरौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










