चुङ्माङ, धनकुटामा बुबा बालकृष्ण अधिकारी ‘धनकुटे’(अक्सिजन कवि) र आमा लक्ष्मी अधिकारीका कोखबाट जन्मिएकी साहित्यकार बिन्दु अधिकारी ढकाल नेपाली साहित्यमा कविता, कथा तथा यात्रासंस्मरणका विधाका साहित्यकार हुन् ।
उनको पहिलो कृति ‘विन्दुहरू’ कवितासङ्ग्रह २०७४ मा, २०७७ मा दोस्रो कृति ‘मावली दिदी’ कथासङ्ग्रह प्रकाशन भइसकेको छ भने उनको तेस्रो कृति ‘कोपिलाका सुगन्ध’ (२०८१) संस्मरणसङ्ग्रह प्रकाशित भएको छ । गोरखापत्र संस्थानबाट प्रकाशित हुने मुना बालपत्रिकामा निरन्तर लेखन कार्यमा संलग्न अधिकारी ढकालले यस पुस्तकमा उनन्चास जना व्यक्तित्वहरूको बालसंस्मरण समावेश गरेकी छन् ।
‘कोपिलाका सुगन्ध’मा विविध क्षेत्रमा नाम कमाएका व्यक्तित्वहरूको संस्मरणलाई प्रस्तुत गरिएको छ ।
नेपाली समाजका अनुकरणीय व्यक्तित्वहरूसँग विगतमा लिएका अन्तर्वार्ताहरूमा उनिएका उनन्चास वटा संस्मरणमा तेह्र जना महिलाका र छत्तीस जना पुरुषका बाल संस्मरण र अविस्मरणीय घटना अटाएका छन् ।
यस सङ्ग्रहमा छोटाछोटा चट्ट बान्की परेका र चिया सुरुप्प पिउँदापिउँदै एकै बसाइमा पढी सिद्ध्याउने खाल्का संस्मरणहरू समेटिएका छन् ।
यहाँ समेटिएका सामाजिक सेवा, चिकित्सा सेवा, चित्रकला, अभिनय, हास्यकला, साहित्य लेखन, सङ्गीत, प्रशासन सेवा, सुरक्षा सेवा, इन्जिनियरिङ, पत्रकारिता, राजनीति, कानुन तथा न्यायसेवा, खेलकुद, विज्ञान प्रविधि, शिक्षण, धर्म, अध्यात्म जस्ता क्षेत्रहरूमा ती व्यक्तित्वहरूले आ–आफ्नो जीवन बाँचेका रहेछन् । यसले दर्शाउँछ, जहाँ आफ्नो रुचि र सम्भावना छ, त्यहीँ उभिएर समाजलाई अतुलनीय योगदान दिने हो । एउटै क्षेत्रमा सबैले थुप्रिन जरुरी छैन र सम्भव पनि छैन ।
पुस्तकको पहिलो शीर्षक ‘सरदारकी नातिनी अनुराधा कोइराला’का बारेमा लेखिएको छ । कोइरालाका हजुरबा र हजुरआमाले पढ्नुपर्छ र असल मान्छे बन्नु पर्छ भनेका कुरा समेट्दै अनुराधा कोइरालाले पढेर काठमाडौंका निजी स्कुलमा पढाएको कुरा समेटिएको छ भने अन्तरजातीय बिहेको पारिवारिक प्रसङ्गको चर्चा समेत गरिएको छ । सङ्घर्ष बाटै सफलता प्राप्त हुन्छ भन्ने कुरालाई यहाँ प्रस्तुत गरिएको छ ।
‘परोपकारी त्यो सेवा नै प्रेरणा’ शीर्षकमा आशा सिंहकी गुरुआमाले पत्रलेखनमा गुरुआमा भइदिन तयार भएको मायालुपना प्रस्तुत गर्दै मधेसी समुदायबाट देशकै उच्च पद र प्रतिष्ठामा पुग्न सफल भएको प्रसङ्गको चर्चा गरिएको छ ।
त्यस्तै अर्का व्यक्तित्व उर्मिला उपाध्याय गर्गको जीवन कथामा आधारित ‘विदेशीसँग घरजम देशका लागि घाटा’ शीर्षकमा आफ्नो कलाकारिताबाट विश्वविख्यात हुन सफल भएको राजा महेन्द्र सरकाले कला प्रदर्शनी हेरी पाँच गुणा मूल्यमा त्यो पनि फ्रेन्च मुद्रामा राजा महेन्द्रले किनिदिएको चित्रको विषय समेटिएको छ । जसले गर्दा उर्मिलाले पेरिसमा पढ्न जान पाइन् भन्ने प्रसङ्ग जोडिएको छ ।
‘चालिस कटेपछि कक्षा आठमा भर्ना’ भई किटनी मा.वि बाट बाह्र कक्षा पास गरेको कुरा प्रस्तुत गरिएको छ । करिश्मा मानन्धरले उमेर बितिकन स्कुल पढ्न खोज्दा खिसीटिउरी सहँदै भए पनि पढाइलेखाइ जारी राखेको प्रसङ्गबाट पढ्ने इच्छाशक्तिलाई कसैले छेक्न सक्दैन भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।
त्यस्तै ‘त्यो बेला साथीहरूको प्रस्तुति हेरेर रमाए’ शीर्षकमा गायक तथा सङ्गीतकार कालीप्रसाद बाँस्कोटाले सङ्गीत सँगसँगै इन्जिनियरिङ पढाइ सिद्ध्याएको कहानी प्रस्तुत गरिएको छ भने जैसीदेवलमा भाडाको एउटा कोठामा थान्का बनाउने दाजुहरूसँग पढ्न बसेका कुलमान घिसिङको प्रसङ्ग ‘अङ्ग्रेजी बोर्डिङमा पढ अब’ शीर्षकमा उनले भोगेका ती दिनहरूलाई प्रस्तुत गरिएको छ ।
‘जाँगे नहुँदा स्कुल गइनँ’मा कृष्णचन्द्र शर्माले केटाकेटीमा अग्लो डिलमा चिप्लेटी खेल्दा फटाएको जाँगेको स्मरणीय बाल्यकालको चर्चा गरिएको छ ।
‘आज त सन्सरबार होइन’ संस्मरणमा प्रा.डा. कृष्णहरि बरालको आमाले पढ पढ भन्दा झर्किएको, लगत्तै आमाको मृत्यु भएको दारुण कथा प्रस्तुत गरिएको छ । ‘सिकाइको नाममा मार्चपासजस्तो मात्र हुन्थ्यो’ शीर्षकमा केदार घिमिरे (माग्ने बूढा) हरूलाई विद्यालयमा पढाउने भन्दा लाठी बोकेर पढ पढ् पढ् भन्दै कुटिरहने शिक्षकको चर्चा गरिएको छ ।
‘कक्षाकोठामा हाँसो गुञ्जयमान भएको त्यो क्षण’ शीर्षकमा नेपाल ललितकलाका प्राज्ञ बनेकी साहित्यकार गङ्गा सुवेदीले सानै बेलामा प्रौढामाथि गरेको सहयोग, छोरा र छोरीलाई पढाउन भेदभाव नगर्ने उस बेलाकी आमाको प्रसङ्ग प्रस्तुत गरिएको छ ।
गङ्गाप्रसाद उप्रेतीको जीवनसङ्घर्षको संस्मरणलाई ‘ठेकीबेठी प्रथा रोक्न विशेष अभियान चलायौं’मा समेटिएको छ । गाउँमा बनिसकेको नयाँ काठे स्कुल भवन अचानक आगो लाएर खरानी बनाउने तत्कालीन समयका फटाहाहरूका राजनीतिलाई समेत प्रस्तुत गरिएको छ ।
‘नच्यात्नुपर्ने रचना च्यातेर खेर फालेँ’ शीर्षकमा गीता केशरीका बारेमा लेखिएको छ । काठमाडौंमा जन्मेकी केशरीले तेह्र वर्षको उमेरमा स्कुल गएको कुरादेखि वायुसेवा निगमको जागिरदेखि क्षेत्रीय प्रबन्धकसम्मका कथालाई प्रस्तुत गर्दै फुपूहरूले घरमा डरले लुकीलुकी साहित्य लेखेको कुरालाई प्रस्तुत गरिएको छ ।
‘प्रतियोगिता जित्न सामान्य ज्ञानका किताब रातभरि पढेथें’ भन्ने शीर्षकमा गुणराज लुइँटेलले बालखामा पहिलो पल्ट पूरै वाक्य पढिदिँदा परिवारमा एक्कासि छाएको खुसीको पल समेतलाई संस्मरणमा प्रस्तुत गरिएको छ । विभिन्न क्षेत्रमा सङ्घर्ष गर्दागर्दै पत्रकारितामा अब्बल बन्न पुगेको गुणराज लुइटेलका इतिवृत्तलाई यस शीर्षकमा समेटिएका छन् ।
गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको संस्मरण लेखिएको ‘मेरो हातले भाइलाई रगतपच्छे बनाएँ’ शीर्षकमा जुम्ल्याहा बालखा भाइको टाउको पसानीले हानेर घाइते बनाएको घटनालाई प्रस्तुत गरिएको छ । स्कुल पढ्दा सामान्य स्तरको विद्यार्थी रहेको तर चाहिने कुराको सही व्यवस्थापन गरेर पढेको कुरालाई वर्णन गरिएको छ ।
रिल जीवन बाहिर एसएलसी पास गरेका जितु नेपाल मुन्द्रेले जीउको उचाइका कारण पटकपटक अरूबाट बेहोरेको तिरस्कारसहित कलाकारिताको पाटोमा भोग्नुपरेका विविध सङ्घर्षका कथालाई प्रस्तुत गरिएको छ ।
‘भद्रअवज्ञामा सिस्नोपानी लगाइयो’ संस्मरणमा ढुण्डीराज शास्त्री जो हाल वरिष्ठ राजनीति तथा सामाजिक चिन्तकका रूपमा चिनिएका शास्त्रीले केटाकेटी छँदै वि.सं.२००६ सालतिर एकादेशका राजा एकादेशकी रानी भन्ने गीत गाउँदा गुरुले पिटेको घटनालाई सम्झन पुगेका छन् ।
यस्तै ‘पशुपति आर्यघाट ओछ्यान भयो मेरो’ शीर्षकमा तिलबहादुर कार्कीले नौ वर्षको उमेरमै मर्न भनेर घर छोडेर हिँडेको र सात पटकसम्म विष सेवन गर्दा पनि नमरेको कुरालाई समेटिएको छ । ‘साथी नहुँदा पढाइ नै छाड्नुपर्यो’मा दिनेशकुमार थपलिया कक्षा तीनको परीक्षामा पास गरेको सूचीमा नाम नसुनेको तर अन्ततः होल फस्टमा नाम आएको सुन्दा पाएको खुसीका कुरा, ‘स्कुल पुग्दा टिफिन टाइम भइसकेको रहेछ’ शीर्षकमा डा. निलम ढुङ्गानाले अङ्ग्रेजी सिक्न लगातार गरेको सङ्घर्ष गरेको प्रसङ्गसँगै सङ्घर्षबाटै नेपाल राष्ट्र बैंकको डेप्टी गर्भनर बन्न सफल भएका कुरा, कलेज नधाई डबल एम.ए गरेका साहित्यकार परशु प्रधानले चन्द्रमाको उज्यालोमा बरन्डामा बसेर पढ्नुपरेको अवस्थाको चित्रण यस कृतिमा गरिएको छ ।
पारस खड्काले बिहान दश बजेसम्म परीक्षा सिद्ध्याएर सरासरी क्रिकेट मैदान कीर्तिपुर पुगेर हङकङ विरुद्ध खेलेको अन्तर्राष्ट्रिय म्याचको संस्मरणलाई ‘म मैदान नपुग्दै मेरो हजुरबा पुगिसक्नुभएको हुन्थ्यो’ शीर्षकमा समेटिएको छ । ।
त्यस्तै, प्रकाश सपुत कहिले साहित्यकार, कहिले हिरो त कहिले पत्रकार भन्छु भन्दै बाल्यकालमा गरेका क्रियाकलापलाई सम्झँदै ‘हिरो बन्न बारीका कान्लाबाट हाम्फाल्थें’ भन्ने प्रसङ्गमा समाविष्ट छ ।
‘नागकन्या भनेर ढोग गर्नुहुन्थ्यो’ शीर्षकमा जापानका लागि नेपाली राजदूत समेत बन्न प्रतिभा राणालाई पढ्नुपर्ने तेह्र वर्षको कलिलो उमेरमा बिहे गरिदिएपछि राजा महेन्द्रले किन हतार गरेको भनेको प्रसङ्ग समाविष्ट छ ।
भाग्यमानी छोरी उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्न सफल महिला उद्यमी भवानी राणाले बाल्यकालीन अवस्थामा होस्टेलमा राति भोगटे सुन्तला चोरेर खाँदा भोलिपल्ट तिघ्रामा खाएको कुटाइको चर्चा समेटिएको छ ।
त्यस्तै कोपिलाका सुगन्धको पच्चिसौं शीर्षक ‘अङ्ग्रेजीलाई गाइखाने विद्या भनिन्थ्यो’मा भेषराज कँडेलले पढ्दा गाउँलेले भारतबाट शिक्षक खोजेर ल्याएपश्चात् सुध्रिएको पढाइ र वि.सं. २०२१ को एसएलसी बोर्डको विजेताका रूपमा पाएको खुशीसँगै सङ्घर्षको निरन्तरताबाट नेपाल टेलिकमको अध्यक्षसमेत बनेको प्रसङ्गको चित्रण गरिएको छ । ‘स्कुल पढ्दा विभिन्न जनावरको आवाज निकाल्थें’ शीर्षकमा हास्य कलाकार मनोज गजुरेलले पहिलो पल्ट कुसुमे रुमाल फिल्मको ‘तिमी नभए जिन्दगानी…’ बोलको गीतलाई प्यारोडी बनाएपछि जीवनमा खुलेको नयाँ यात्रा र हालको उच्च स्थानको चर्चा गरिएको छ ।
‘राँको बालेर घर जान्थें’ शीर्षकमा नेपाल राष्ट्र बैंकको गर्भनर बन्न सफल महाप्रसाद अधिकारीले विद्यालयमा पढाउने म्याथ शिक्षक नभएपछि अप्सनल म्याथ पढ्न नपाएको कुरालाई संस्मरणलाई प्रस्तुत गरिएको छ । ‘किताबको अनुहार देखेकै तेह्र वर्षमा’ भन्ने शीर्षकमा महावीर पुनलाई बुबाले पढाउँछु भन्दै म्याग्दीबाट चितवन झारेको कथा, ‘अक्षरसँग मित्रता धोका हुँदैन’ शीर्षकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्कुले जीवनमै कोर्सबाहेकका एक हजार किताब पढिसिद्ध्याएको कहानी, ‘ज्ञान ज्योतिका धनी’ शीर्षकमा प्रा.माधवप्रसाद आचार्यले आँखाको ज्योति गुमाएर पनि पढ्न र पढाउन नछाडेको सङ्घर्ष नालीबेली समेटिएको छ ।
दलित समुदायमा जन्मेर निजामती सेवामा सचिव बन्न सफल मानबहादुर विश्वकर्माको संस्मरणमा ‘मन्दिरमा किताब फालिदिँदा समेत हरेस खाइनँ’ भन्दै निरन्तरको अध्ययन र सङ्घर्षबाट परिचित हुन पुगेको प्रसङ्ग, ‘मेरो सफलताको कथा बोजूको व्यथा’मा मेलिना राईलाई विपन्न हजुरआमाले गायिका बनाउन खेलेको त्यो भूमिका, ‘सजाय भनेर डराएको त पुरस्कार रहेछ’ शीर्षकमा पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितलाई केटाकेटीमा सजाय दिन भोकै राखिएकोमा कविता लेखेर उल्टै पुरस्कार पाएको क्षणलाई सम्झेका कुरालाई प्रस्तुत गरिएको छ ।
‘हाँडीको पिँधको धुलोबाट मसी तयार गर्थें’ शीर्षकमा यादव खरेल पढ्न भनेर मधेस जाँदा पहिलो दिन स्कुलमा राष्ट्रिय गीत भन्दै सुनेको ‘जन गण मन अधिनायक जय हे, भारत भाग्य विधाता…’ बोलको गीतको संस्मरण गर्न पुगेका छन् ।
‘मेरा कति साथी हिँड्न नसकेर बाटामा रोएर बस्थे’ शीर्षकमा वरिष्ठ चिकित्सक डा. यादवकुमार भट्ट स्कुलबाट पहाड यात्रामा जाँदा त्रिशूलीतिर हिँड्न नसकेर रोएर बसेका उनका साथीहरूलाई सम्झन पुगेका कुरालाई समेटिएको छ । ‘भकारीमा थुनेपछि पाठ बुझाउन तयार भएँ’ शीर्षकमा उमेर छिप्पे पनि युवराज सङ्ग्रौलाले नपढेर परिवार र गाउँमा सबैलाई हैरान बनाएका कथा समेटिएको छ ।
‘दिल्ली दूतावासमा रहँदाको त्यो प्रसङ्ग’मा राजेश हमालले प्रचारको इच्छाविपरीत अड्डी लिएर अभिनय जोइन गरेको कहानी, ‘गरिब अभिभावककी सन्तान राधिका शाक्य’ले आफन्तले हेपेपछि पढ्न कस्सिएको प्रसङ्गमा बालापनमा धेरैबाट पाएको हेपाइका बाबजुद गरेको पढाइ, राष्ट्रिय गीतका रचनाकारको ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ शीर्षमा व्याकुल माइलाले स्कुल नगएर सुनकोसीमा बरालिएको समय, ‘त्यो दिनदेखि विद्यालयबाट भाग्ने काम गरिएन’ भन्ने शीर्षकमा शङ्करप्रसाद कोइरालाले पौडी खेल्दा लुगा कसैले लुकाई दिनाले पाएको हन्डर, ‘दाजु दिदीको प्यारो भाइ म’ शीर्षकमा शशी शाहलाई अछुत जस्तो ठान्दा पनि केदारभक्त माथेमा जस्ता बालसखाले कला क्षेत्रमा लाग्न दिएको उत्साहको प्रस्तुति पाइन्छ ।
त्यसैगरी ‘स्कुल पुग्न जंगलको बाटो हिँड्नुपर्थ्यो’ शीर्षकमा डा .शान्तराज सुवेदीले स्कुले शिक्षा लिन खेपेको कष्ट, ‘पल्टनको जागिर त्यागेर स्कुल भर्ना भएँ’ शीर्षकमा शेरबहादुर कुँवर केसीले लाहुरे जीवन चटक्क छाडेर स्कुल पढ्न सुरु गरेको कथा, ‘विश्वप्रख्यात हावर्ड विश्वविद्यालयमा पढ्ने अवसर’मा सपना प्रधान मल्लले सामान्य विद्यालयमा पढेर पनि हार्वर्ड विश्वविद्यालयसम्म पुगेको सफलता, ‘नौ कक्षा पढ्दै टेलिभिजनमा अन्तर्वार्ता’मा सर्वेन्द्र खनालले पढाइका अलावा खेलकुदमा राखेको चाख, ‘कलाकारको क माथि थाहा थिएन’ शीर्षकमा सीताराम कट्टेल धुर्मुसले विद्यालयमा प्रहसन गर्दा साधुवादको साटो शिक्षकबाट पाएको पिटाइ, शिक्षक बन्छु भन्ने सुनिल पोखरेलले स्कुल पढ्दै शिक्षक हुन साह्रै रहर थियो भन्ने शीर्षकमा साथीको सङ्गतले गर्दा अभिनयमा स्थापित भएको कथा, न्याय क्षेत्रमा सर्वोच्च पदमा पुग्न सफल ‘सानोमा मलाई केटो भन्थे’ शीर्षकमा सुशीला कार्कीले अदालतमा पहिलो पल्ट गरेको बहस सफल हुँदा बुबालाई त्यो खबर सुनाउन त्यही राति गरेको यात्रा तथा ‘असफलता नै असफलताको सूत्र’ शीर्षकमा हरिवंश पुराण बुबाले लाएपछि जन्मेका हरिवंश आचार्यको पढाइमा निरन्तर असफलता तर पनि अभिनयमा पाएको निरन्तर सफलतालाई समेटिएको छ ।
हाल विभिन्न क्षेत्रमा सफल रहेका तथा समाजमा नाम कमाएका व्यक्तिहरूले बाल्यकालीन समयमा गरेका प्रयत्न, सङ्घ र अभावका प्रसङ्गलाई यस पुस्तकमा समेटिएको छ ।
सरल भाषाशैलीमा लेखिएको यस पुस्तकले सानैदेखि सङ्घर्ष गर्नेहरू मात्र सफलताको शिखरमा पुग्न सफल भएका छन्, हुनेछन् भन्ने प्रेरणा प्रस्तुत गरेको छ । मानिस सफल होइन असल बनेर समाजका निम्ति अनुकरणीय व्यक्ति बन्नुपर्छ भन्दै सन्देश दिन यस कृतिको संरचनागत आयाम ३०७ पृष्ठमा समेटिएको पुस्तकको मूल्य रु. ६५० रहेको छ । प्रकाशक ऋषिका ढकाल रहेको यस पुस्तकले समाजका गन्यमान्य मानिसका बारेमा जान्न चाहनेका आवश्यकता पूरा गरिदिन्छ, पुस्तक पठनीय तथा सङ्ग्रहनीय रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।