राम्रा मेलोडी भएका तर शब्दमा खासै ओजन नभएका गीतहरूको बाहुल्य रहेको हाम्रो गीति इतिहासमा राम्रो शब्द र राम्रो मेलोडी दुवै भएका गीतहरू बिरलै सुन्न पाइन्छन् । नेपाली गीतको सागरमा कमै मात्र आउने राम्रो शब्द भएको यस गीत ‘बुझिन मैले‘ प्रकाश सपुतको संगीतमा सुन्न पाइएको छ । प्रकाश सपुत साँच्चै उत्कृष्ट साहित्यकार हुन् । हुन त उनी के होइनन् । राम्रो नर्तक, राम्रो संगीतकार, राम्रो लेखक, राम्रो निर्देशक आदि इत्यादि । उनलाई दिन सकिने विशेषण लामो छ ।

गीत सामान्यतया सरल शब्दमा लेखिन्छ । यो साहित्यको उत्कृष्ट विधा हो । गीत उत्कृष्ट किन हो भने यसमा थोरै र सामान्य सबैले बुझ्ने शब्दहरूमा गहन भन्दा गहन भावहरू भन्ने गरिन्छ । त्यसका साथै गीतमा धेरै व्यक्तित्वहरूको मेहनत परेको हुन्छ । जस्तै संगीतकार, वाद्यवादन, यारेन्जर र आजकाल र श्रव्यदृश्य बनाउने मानिसहरूको पनि मेहनत मिसिएको हुन्छ ।

मानिसलाई गीतका भाका या मेलोडीले तान्ने गर्छ । यो मानिसको उत्पत्ति कालबाट नै हामीसँग भएको कला हो । भाका या मेलोडीसँग शब्दहरूको पनि निकै महत्त्वपूर्ण भूमिका छ । गीतमा शब्दको कमसेकम ५० प्रतिशत ओजन हुन्छ । यदि शब्द नबुझी गीतको मेलोडी मात्र सुनिएको छ भने गीतको आधा मात्र मजा लिइन्छ । प्रकाश सपुतको यो गीत मेलोडीमा त उत्कृष्ट छ नै तर त्यो भन्दा बढी यस गीतमा शब्द या शब्दका भावको विशेष उत्कृष्टता छ । आजका दिनका साहित्यकारहरूलाई विचार भएको लेख लेख्दैनन् भन्ने आरोप छ । यो गीतले त्यो आरोपलाई केही मत्थर पार्न सक्छ ।

शिरैमा सिन्दूर आहा ।

गालामा  पोते आहा

धोती र चोली आहा ।

घुम्टो र डोली  आहा

छम् छम् हाताकै चुराले

रम झम् रातैका कुराले

म बाँधिएकी हुँ या

सजिएकी हुँ ?

बुझिन मैले बुझाइ देऊ कसैले ।

नारीहरूले परम्परागत रूपमा लगाइरहेका सिन्दूर पोते, चुरा, के उनीहरूको सिँगारका सामान हुन् त ? या यी शृङ्गार उनीहरूलाई कुनै दासहरूलाई सिक्रीले बाँधेको जसरी बाँधिएको हो ? के नारीहरूलाई शृङ्गार आवश्यक छ ? अङ्ग्रेजी भाषामा एक शब्द छ हेजिमोनी ।

के उनीहरू हेजिमोनाइज्ड छन् त ? के महिलाहरूको मस्तिष्कमा नारीहरूलाई यस्ता शृङ्गार नलगाए नराम्रो देखिन्छ भन्ने भाव सानै उमेर देखिनै हाल्न सकिन्छ ? के नारी जहिल्यै सुन्दर देखिनुपर्छ भन्ने भाव उनीहरूमा विकसित गराइदिने हो भने उनीहरूलाई आफ्नो वशमा पार्न सकिन्छ ? के सिन्दूर पोते, लाली पाउडर लाउनै पर्ने हो ? सुन्दर देखिन आजकाल विकसित भएका थ्रेडिङ या कस्मेटिक सर्जरी गर्नै पर्ने हो ? शरीरबाट बोसो निकाल्दा (लाइपोसक्सन गर्दा) महिलाहरूको ज्यानै  समेत गएको उदाहरण हामीसँग छ । के राम्री देखिन गरेका सर्जरीबाट धन र सम्पत्तिको नास भएको देखिएको छैन  र ? सुन्दरताको निश्चित अवधारणका कारणले विशेष गरी सुन्दर देखिन पर्ने पेशामा कार्यरत महिलाहरूले भोग्ने गरेका सास्ती र हन्डरहरू हामीले दुखेका सुनेका छौँ । के काली महिला सुन्दर हुन सक्दिन, के मोटी महिला सुन्दर हुन सक्दिन ?

के मोटी भन्दा महिला रिसाउनै पर्ने हो ?

नेपाली समाजले महिलाहरूलाई चुरा र पाउजु दिएको हो । भन्ने गरिन्छ यसका माध्यमले नारीको हरेक चालको निगरानी गर्न सकिन्छ । कहाँ जान्छे, कोसँग जान्छे ? के लगाएर जान्छे ? नारी कहिले बाबाको निगरानीमा भई , कहिले लोग्नेको त कहिले छोरोको । यस सिँगारले ऊ कसको निगरानीमा छे बताउँछ ।

यो पनि भन्न सकिन्छ यी शृङ्गार कोर्टसिपका उपकरणहरू हुन् । कोर्टसिप भन्नाले विवाह पूर्व महिला र पुरुषले बनाउने रोमान्टिक सम्बन्ध हो । मायाको व्यापारमा मानिसले बजारमा उपलब्ध उत्कृष्ट माया आफ्नो क्षमताले भ्याए बनाउन चाहन्छ । शृङ्गारले नारीलाई बढी मूल्यको पुरुष पाउन सहयोग गर्छ । पुरुषको प्राथमिकता र महिलाको सुन्दरता दुवैले एक अर्कालाई डोर्‍याउँछन् । जस्तै कानुन र समाजको उदाहरण लिऊँ । कानुनले समाजलाई डोर्‍याउँछ त कहिले समाजले कानुन बनाउँछ । यो भन्न सकिन्छ दुवैले एक अर्कालाई डोर्‍याउँछन् । जस्तै हिँड्दा एक खुट्टाले अर्को खुट्टालाई डोर्‍याउँछ । हाम्रो समाजमा कोर्टसिप बाबा आमाले विवाहका लागि जोडी मिलाइदिएर गरिदिने भएकाले यसको अवधारणा धेरै मात्रामा छैन । तर भिन्न संस्कृतिको प्रभावसँगै यसको महत्त्व पनि बढ्दै गएको देखिन्छ ।

मानिस जब सिकारी र सङ्कलक समाजबाट कृषि प्रधान समाजमा विकसित भए । बिस्तार बलिया हातहरू कृषिमा चाहिने भए । कृषि गर्ने मानिसलाई आफ्नो जमिन चाहिने भयो । आफ्नो जमिनको सुरक्षा गर्न साना साना देशहरू । देश र आफ्नो जमिनको सुरक्षा गर्न या भनौँ कृषि गर्न र कृषिका लागि उपयोगी जनावर नियन्त्रण गर्न बलिया हातहरू चाहिने भए । महिला र पुरुष एकै जमिनसँग जोडिने भए । सिकारी समाजको जस्तो भतारिएर हिँड्न सक्ने भएनन् । बिस्तार विवाहको अवधारणा विकसित हुन लाग्यो । विवाहसँग महिला पुरुषको घर जान लागी । समाजको परिवर्तनसँग छोरोको महत्त्व बढ्दै गयो । समाज पुरुषप्रधान बन्दै गयो । योसँगै परिवारमा छोरो चाहिने । बिस्तार आफ्नै छोरो चाहिने भयो ।

आफ्नो छोरो चिन्न दुई विकल्प छ । एक धेरै महिलाहरूसँग सम्भोग गरेर सन्तान उत्पादन गर्ने । अर्को एक नारीलाई निगरानीमा राखेर उसबाट सन्तान उत्पादन गर्ने । त्यस समयमा धेरै सन्तानले श्रमका बलिया हातहरू दिने गर्थे ।

सिकारी र सङ्कलक समाज महिला प्रधान समाज हुन्थ्यो भनिएको छ । यसमा पनि मानविकी शास्त्रका वैज्ञानिकहरूका भिन्न मत छ । कोही विशेष गरेर महिला मानविकी शास्त्रका वैज्ञानिकहरू महिलाहरू त्यति निर्बल पनि थिएनन् जति लेखिएको छ भन्ने गर्छन् । तर धेरै यो कुरामा विश्वास गर्छन् की कृषि प्रधान समाज हाबी हुन थाले पछि महिलाहरू बढी शोषणमा परेका हुन् ।  केही मानिसको नजरमा सिन्दूर पोते पनि शोषणको एक प्रतीक हो । यहाँ सही र गलत भन्ने भाष्य राख्न नसकिएला । सम्पूर्ण सत्य र सम्पूर्ण असत्य के छ र ?

तर यो पनि सत्य हो की समाजमा बसिसकेपछि समाजले दिएका सुख सुविधा भोग गर्न मानिसले आफूले पाउने केही स्वतन्त्रताहरू सम्झौता गर्न पर्छ । समाजले दिएका प्रगतिहरूको भोग नगर्न, सामाजिक नबन्न अथवा भनौँ जङ्गलमा एक्लो बस्न, कसलाई मन पर्छ र ?

आफ्नै शरीरमा त अनिकालको बेला एक अङ्गले अर्को अङ्गमा जाने रगत लिएर अर्को अङ्गले पाउने रगत आफ्नो तर्फ तान्ने गर्छ । हामी त फरक फरक प्राणी हौँ । फेरी हामी विवेकी प्राणी पनि हौँ । सधैँ प्रगतितर्फ लम्कँदै छौँ ।

जून जस्ती रे

फूल जस्ती रे

कञ्चन खोला झर्नाको मूल जस्ती रे

म बोक्सी, म देवी, म डार्लिङ, म बेबी 

यो थरी थरी नाताले

सुन्दरताको गाथाले

म बाँधिएकी हुँ या

सजिएकी हुँ ?

नेपाली समाजले छोरीलाई देवी मानेर पुजेको छ । प्रतिकुल माहौल बन्यो भने तिनै देवी कुनै दिन बोक्सी पनि बन्छे ।

देवी भनेर मख्ख पर्ने नारीहरू । छोरी हुँ भनेर बाबा आमालाई खुट्टा ढोगाउन लगाउने नारीहरू यदि देवी भन्यो भनेर फुरुक्क पर्ने हो भने कुनै दिन बोक्सी भनेर अपमानित हुन पनि तयार हुनुपर्छ । नारी न कहिले देवी छे न त बोक्सी नै । प्रकाश सपुतमा त्यो कलात्मक चेत देखिन्छ ।

जूनमा के सुन्दरता छ ? फूलको पनि त सुन्दरता केही समयका लागि मात्र हो । आज सुन्दर फूल भोलि ओइलाएर जान्छ । म आज सुन्दर छु भनेर घमन्ड गर्नेहरूका पनि घमन्ड चकनाचुर भएको देखिएको छ । सबै मानिस समयको कडा निगरानीमा छन् ।

२० वर्षकी केटीको समाजमा बढी मूल्य हुन्छ । कमसेकम २० वर्षको केटाभन्दा । तर ३० वर्षकी महिला ३० वर्षको पुरुष भन्दा बढी मूल्यकी कदापि हुँदिन ।

तिमी फूल जस्ती छ्यौ । तिमी चन्द्रमा जस्ती छ्यौ । तिमी भन मात्र म तिम्रा लागि चन्द्रमा झारिदिन्छु भन्ने वाक्यहरू कुनै महिलाको मन जित्न बनेका साहित्यहरू हुन् । यस्ता शब्दहरू बढी उपयोगी हुन्छन् नै । नारी मनलाई तरङ्गित बनाएर तान्छ तर नारीले यसको उपयोगिता या भनौँ दुरुपयोग पनि बुझ्नु जरुरी छ ।

जुन सामान हामीले स्वामित्वमा लिएका छौँ भन्छौँ उक्त सामानले हामीलाई पनि स्वामित्व लिइरहेको हुन्छ । उदाहरणका लागि हामीले प्रयोग गर्ने मोबाइललाई लिऊँ । के हामी हाम्रो मोबाइलको स्वामित्वमा छैनौँ र ? मोबाइललाई हामी बढी उपयोग गरिरहेका छौँ की हामीलाई मोबाइलले ?

चुरा पोते हाम्रो सामान हो की हामी चुरा पोतेको ?

के सुन्दरताको गाथामा पुरुषको कुनै स्वार्थ छैन ? के सुन्दरताको निश्चित अवधारण बनाएर महिलाहरू बाँधिएका छैनन् ? नारी पनि नयाँ नयाँ प्रयोग गरेर बाँध्न दिइरहेकी छिन् । या यसलाई यसरी पनि भन्न सकिन्छ नारी जाल हालेर पुरुषको सिकार गर्दै छिन् । समाजले मान्यता राख्ने सुन्दरता प्रस्तुत गर्न सकियो भने धेरै पुरुषहरूले उनलाई पछ्याउँछन् । उनी पछ्याउने मध्य उत्कृष्ट एक छान्न सक्छिन् । प्रकृतिमा या भनौँ प्राणीहरूमा प्राय पोथी जाति जसले प्रजननका लागि लामो समय खर्चनुपर्छ उनीहरूले छान्ने गर्छन् ।

पुरुष प्राय बल्छी हानेर सिकार गर्ने गर्छ ।

यी भावहरू नारीले बुझेकी छिन् । नारीहरू पुरुष भन्दा तीक्ष्ण विवेकी हुन्छन् । तर कोही सानी या उमेर नपुगेका नानीहरू सिकार बन्न सक्छन् । त्यस्ता कुप्रथाहरू समाजमा प्रशस्त छन् । यो पनि एक वर्गसँग आउने समस्या हो । वर्ग सङ्घर्ष हो ।

तारिफ सुन्ने मानिसहरू गाली पनि भोग्न तयार हुनुपर्छ । कि ताली र गालीमा सम्यक् दृष्टि लगाउन सक्नुपर्छ । आफूमा सकारात्मक लगानी गर्ने हो भने यी प्राय भौतिक वस्तुहरू गौण बन्छन् ।

बुझिन मैले बुझाइ देऊ कसैले । लौ केकी म्याम बुझाउन खोजेको त हुँ । उत्तर भन्दा बढी मेरा पनि प्रश्न नै भए । बुझाउन सकेँ कि सकिन थाहा भएन ।