सुदूरपश्चिमका सर्जक रामचन्द्र नेपाल लामो समयदेखि कथासाहित्य क्षेत्रमा साधनारत छन् । उनको लेखनमा परिपक्वता छ, उक्तिहरूमा लोभलाग्दो प्राञ्जलता छ, र विषयहरूको छनोटमा प्रौढ संवेदनशीलता छ । तर पनि, उनको चर्चा राष्ट्रिय स्तरमा हुनुपर्ने जति नभएको देखिन्छ । त्यसैले, कथाका कतिपय पारखीका लागि उनको नाम अलि नौलो पनि लाग्छ सक्छ । तर, त्यो उनीहरूकै सामान्य ज्ञानको समस्या हो ।
‘आखिर’, ‘आवाज’ र ‘बस्तीमा कुहिरो’ जस्ता कथासङ्ग्रह, ‘प्रतिबिम्ब’ र ‘अनुक्रम’ जस्ता लघुकथा सङ्ग्रह तथा फिल्म अवतारमा गइसकेको ‘मेरो कथा’ का सर्जकको कथासाधना निकै लामो छ । त्यसै कडीमा २०८० को पूर्वार्धमै आएको हो उनको पछिल्लो कथा सङ्ग्रह ‘बस्तीमा कुहिरो’ । ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको यस कृतिमा अठार वटा कथा छन् ।
रामचन्द्र नेपालका कथाको विषयगत विस्तार निकै व्यापक छ । उनले आफ्ना केही कथाहरूमा खस्कँदो मानवीय मूल्यको सापेक्षतामा इमानदारी कसरी दुर्घटित हुँदै गइरहेको छ भन्ने देखाएका छन् । ‘वास्तमा’ शीर्षकको कथामा एउटा इमानदार शिक्षकलाई, ‘मूल्यहरू’ मा एक स्थानीय तर कटीबद्ध राजनीतिक कार्यकर्तालाई, ‘त्यो पन्नाभित्र’ मा एउटा इमानदार पत्रकारलाई तथा ‘ऊ हरायो’ मा आफूले चरम गरिबी बाँचेर पनि सामाजिक विकासका लागि दत्तचित्त एक राजनीतिक कार्यकर्तालाई मुख्य पात्र बनाएर उनले इमानदारी कसरी ‘घुटन’ मा बाँचिरहेको छ भन्ने दर्शाएका छन् । उनी स्वयं शिक्षक पनि राजनीतिक कार्यकर्ता पनि भएका हुँदा यी कथाको विश्वसनीयता स्वतःसिद्ध छ ।
‘जा सब तुकमे मारे’ मा कथाकारले सुदूरपश्चिमका रानाथारुहरूको लोपुन्मुख भाषा र रुग्ण सामाजिक अवस्था, तथा ‘यो कथा’ मा वादी महिलाहरूले भोग्नुपरेको तहतहको बलात्कार, शोषण र अत्याचारको कथा टिपेका छन् । ‘सनाखत नभएको घाउ’ मा रानाथारु समुदायकी एक महिला रामकलीको चित्रण छ । कथामा एउटा पत्रकार उनको अन्तरवार्ता लिन्छ, जसमा उनी आफ्नो दारुण कहानी भन्छिन् । कहानीमा उनको कलिलो उमेरमा बिहे भएको, र बिहेपछि, दुलही परिपक्व नहुँदासम्म आफन्तकोमा ‘निन्हरो’ बस्दा, साइनोमा भिनाजु पर्नेले बलात्कार गरेको कुरा उल्लेख गरिएको छ । सँगसँगै बलात्कार भएकै कारण अनिच्छित गर्भ रहेको, त्यसरी जन्मेको छोरो पछि डुबेर मरेको, अर्को छोरो मुग्लान पसेर हराएको र माओवादी द्वन्द्वकालमा लोग्ने ‘बल्लु’ लाई सेनाले लगेर बेपत्ता पारेको कहानी छ । यानि, गरिबले हजारतिरबाट हजार प्रकारका कहर झेल्नु परेको, तर तिनैको कथाकहानी सोध्ने र लेख्नेले पनि खासमा केही गर्न नसकेको तीतो यथार्थलाई कथाकारले सतहमा ल्याएका छन् । यसरी हेर्दा उनको लेखकीय नजर विविध समुदायका पुस्तैनी कहरहरूतिर पनि परेको देखिन्छ । यसबाट कथाकार नेपाल सामाजिक-राजनीतिक विषयका पनि एक कुशल व्याख्याता हुन् भन्ने देखिन्छ । अर्को अर्थमा उनी एक प्रगतिशील कथाकार हुन् ।
सामाजिक-राजनीतिक विषयमा चासो राख्ने कथाकार नेपालको कथा ‘त्यो पन्नाभित्र’ ले अखण्ड सुदूरपश्चिमका लागि भएको आन्दोलनलाई पृष्ठभूमि बनाएको छ । कथामा अखण्ड सुदूरपश्चिम आन्दोलनका तहतह यथार्थको चित्रण गरिएको छ, जसमा बाहिर देख्दा ‘अखण्ड’ भनिए पनि भित्रभित्रै परेका चिराहरूको प्रतीकात्मक चित्रण गरिएको छ । यहाँसम्म कि, आन्दोलनकै रिपोर्टिङको क्रममा मारिएको पत्रकार शैलेन्द्रको लाशका बारेमा मानिसहरू सोधिरहेछन्, ‘यो मानिस कहाँको हो?’ एकजना पात्र हरिको गुनासो छ, ‘हामी उता (कर्णालीपारि) पुर्खौली भएकाहरू त्यहाँ पुग्दा उनीहरूले पश्चिमका भन्ने, यताकाले हामीलाई सधैँ उतैका हुन् ठान्ने ।’ कथाकै एक पात्र कृष्णप्रसादको भनाइ साभार गर्ने हो भने, ‘अझै थुम्का छन् यहीँभित्र पनि । विभिन्न गिर्खा छन् ।’
‘किनाराको पीपल’ शीर्षकको कथामा कथाकार नेपालले एउटा सुकुम्वासी बस्तीको चित्रण गरेका छन् । बेकामी प्रौढहरू दिनभरि पीपलबोटमा भेला भएर तास खेल्छन् । बस्तीमा, मलामी जाँदा छरेका पैसा टिपेर मदिरा पिउने अम्बरे र भैरेजस्ता कुपात्र पनि छन् । एक्ली दमिनी आमाजस्ता पात्र पनि छन्, जो अनेक छोराबुहारी भईकन पनि एक्लै वार्धक्य झेलिरहेकी छिन् । कोही द्वन्द्व पीडित छन् । स्कुल छ, विद्यार्थी छैनन् । भट्टीहरू तर आबाद छन् । भट्टीमा देहव्यापारदेखि सबै चल्छ । दोष नेतालाई लाउँछन्, आफू भने दिनभरि हल्लिएरै समय बिताउँछन् । सिन्को भाँच्दैनन् ।
एकाध कथाहरूमा कथाकार नेपालले संयोगहरूको बुट्टेदार प्रस्तुति पनि दिएका छन् । ‘फडकेका पाइला’ का पात्र अशोक र गरिमा विविध कारणले आआफ्ना पर्टनर गुमाएपछि एक-अर्कासँग बिहे गरेर नयाँ जीवन सुरु गर्न पुग्छन् । उनीहरूका, पूर्वविवाहबाट एक-एक सन्तान छन् — अशोकको छोरो शाम्ब, र गरिमाकी छोरी शिवानी । अमेरिका पढ्न पुगेका ती तन्नेरीहरू एकअर्काको पृष्ठभूमिबाट अन्जान छन्, तर विवाह गर्ने निर्णयमा पुग्छन् । त्यसको केही पछि उनीहरूका बा र आमाको बिहे एकअर्कासँग हुने निधो हुन्छ । तर, बाआमाको विवाहसम्म आफ्नो विवाह स्थगित गर्छन्, र बाआमाको लगन गाँठो गाँस्न खटिन्छन् । त्यसपछि आफू विवाह गर्छन् ।
यस सङ्ग्रहका दुई कथा ‘रातमा डुबेको एक आलाप’ र ‘खोजी’ मा कथाकार नेपालले भुटानी शरणार्थीका यथार्थलाई समेटेका छन् । ‘रातमा डुबेको एक आलाप’ भोलिपल्ट अमेरिका उड्ने पर्खाइमा काठमाडौँको एउटा होटलमा बसेको एक शरणार्थीको मनोवादमा आधारित छ । पात्रको मनमा विविध प्रश्न आउँछन्, हराउँछन् ।
तिनमा सबैभन्दा अहं प्रश्न छ- ‘हामी के भएर जाँदै छौँ र के भएर बाँच्दै छौँ ?’ यस क्रममा उसले भुटान सम्झन्छ, सुन्दर बाल्यकाल सम्झन्छ, पछि बिथोलिएको सामाजिक सद्भाव सम्झन्छ, एकाध उदाहरणमा लोत्साम्पा र जोङ्खबीचको सद्भाव पनि सम्झन्छ । उता भएको ज्यादती सम्झन्छ र पलायन सम्झन्छ । मध्यरातमा बडो कठिनताका साथ निदाएको ऊ सपनासँगै झस्केर बिउँझिन्छ । उसको प्रश्न छ – ‘सपना देखाउने ओ रात ! छ तिमीसँग मेरो प्रश्नको उत्तर?’ अर्को कथा ‘खोजी’ मा एक नेपाली पात्रको मनोवाद छ । उसको एक भुटानी शरणार्थी साथी, गोविन्द रिजाल, अमेरिका गएको छ, र बेलाबेला संवादमा आउँछ । गोविन्दको पछिल्लो आकलन छ- ‘आज म झरेका पातको डायस्पोरिक चाङमाथि बसेर नीलो आकाश हेरिरहेछु ।’ नेपाली भाषा र संस्कृतिसँग विमुख हुँदै गएको उसको छोराको पुस्ता, तर मानसमा कता कता नेपालीपन बचाएर बसेको छ । अन्य समय उसले जेजे बोले पनि आफू कतै ठेस लागेर लड्दा भने ‘ऐया’ नै भनिरहेको छ । यानि, अवचेतनमा गाडिएर रहेको नेपालीपनलाई अमेरिकको भिडभाड र यान्त्रिकताले पनि मेटाउन सकेको छैन ।
‘नजोडिएको पुल’ भारतवासी नेपालीहरूको अस्थितर बसोबास, असुरक्षा, थिचोमिचो र अनिर्णित मनस्थितिको चित्रण हो । असमको कुनै रेलमा भएको कथित डकैतीको आरोपमा नेपालीहरूमाथि ठूलो अत्याचार हुन्छ । उनीहरू नक्सलवादीसँग मिलेका हुन सक्ने मिथ्या आरोपमा प्रहरीले धडपकड र कुटपिट गर्छ । विवश भएर उनीहरू कोही नेपालतिर पस्छन्, चतुरमान राईजस्ता कतिपय भने अझै पनि मेची पुलको किनारमा छन्, र गिट्टी कुटिरहेका छन् । यानि, आफ्नै भाग्य कुटिरहेका छन् ।
अन्यायमा परेका वा पारिएका, निमुखा मान्छेहरूको संवेदनशील र कारुणिक चित्रण कथाकार नेपालको एउटा विशिष्ट क्षमता हो । ‘नीलो पानीमा बत्ती’ शीर्षकको कथामा उनी सानिमासँग तीर्थाटन गर्न हरिद्वार पुगेको बेला त्यहाँ भेटिएकी एक भारतीय महिलाको कारुणिक कथा सुनाउँछन् । ती महिलाले सुनाएको ‘आपबिती’ का अनुसार उनका लोग्ने क्यान्सरले बिते, छोरो डेङ्गुले बित्यो, अर्को छोरो इन्जिनियर भईकन पनि आशो सन्यासी भयो, सम्पत्तिमाथि आफन्त जाइलागे र कब्जा गरे, उनलाई बोक्सी भएको आरोप लाग्यो, र सबै दृष्टिले उनी अलपत्र परिन् । उनी हरिद्वारको एउटा आश्रममा रोटी पकाउँछिन् र मृत्यु पर्खिरहेकी छिन् ।
‘ताता छाल’ शीर्षकको कथामा भने धनकुटाको कुनै गाउँबाट इटहरी सरेका रन्धोज फेदापे लिम्बु को कथा छ । बाउ सन्चमान अरूकै नुन बोक्न जाँदा तमोरमा लडेर मरेको । आफू, श्रीमती मनमायासहित इटहरी सरेर रिक्सा चलाउँदै जोडेको जेथोले ऐलानी जग्गा किनेको । त्यो जग्गाको अधिकांश हिस्सा सरकारी कटानमा परेपछि बचेको थोरै बेचेर ‘गु घारी’ किनेको । त्यो पनि अन्ततः प्रहरीसँगको मिलेमतोमा अरू नै कसैले कब्जा गरेको । कथामा यिनै घटनाक्रमको सिलसिलेवार प्रस्तुति छ । यानि, पुरानो सामन्तवाद, शक्तिको दुरुपयोग र सरकारी ज्यादतीको जाँतोमा गरिब जनता आज पनि निरन्तर पिल्सिइरहेका छन् भन्ने सन्देश कथाले दिएको छ ।
पुस्तान्तर कथाकार नेपालका कतिपय कथाको विषय हो । पुरानो पुस्ता र नयाँ पुस्ताबीच मान्यता र मूल्यको खाडल छ । त्यसैसँग जोडिएको छ एउटा नजानिँदो द्वन्द्व । ‘पदचाप’ शीर्षकको कथामा पेन्सन थाप्न उभिएका एकजना वृद्ध पेन्सनर, र उनीजस्तै अन्य उमेरदारहरूको दारुण कथा छ । म पात्रका साथीमध्ये पन्तजी दमका रोगी छन् । अरू पनि तन्दुरुस्त छैनन् । तर, छोरा पुस्ता वा नाति पुस्ता ती ज्येष्ठ नागरिकको पीडासँग परिचित भएजस्तो लाग्दैन । सन्तान कि त देशबाहिर छन्, कि त बेखबर छन् । घरमा मात्रै होइन, बाटोघाटो, सडक-फाटक सबैतिर यी वृद्धहरू हेपाइ र दुर्वचनका सिकार बनिरहेका छन् ।
‘जन्तरेदाइ र कुर्सी’ पनि, प्रकारान्तरले पुस्तान्तरकै कथा हो । लामो समय भारत बसेर, विभिन्न हन्डरका साथ नेपाल फर्किएका जन्तरेका साथमा एउटा कलिलो नातिबाहेक कोही छैन । जन्तरे जीवनयापनका लागि आफ्नो पुरानो सीप, यानि कुर्सी बनाउने काममा लाग्छन् । तर उनको नातिलाई त्यस काममा कुनै दिलचस्पी छैन, चासै छैन । कथाको अर्को पनि पक्ष छ । गाउँमा पलायनको लहर चलेको बेला बचेखुचेका परम्परागत सीपको परख गर्ने मान्छे पनि छैन, र त्यसको खास अर्थ पनि छैन ।
‘पानी, बरफ र बाफ !’ मा उत्कृष्ट नायकको ट्रफी जितेको एउटा सामान्य अभिनेता ‘टोपलाल’ को कथा छ । तर उसको ट्रफी, उसको चार वर्ष तीन महिनाको छोराले टुक्रा टुक्रा पारेर फुटाइदिएको छ । अनेक अभावहरूमा बाँचिरहेको टोपलालको उक्त ट्रफी उपहास हो, व्यङ्ग्य हो र बेकार हो भन्ने सन्देश कथाले बोकेको छ ।
एउटा कथा ‘मान्छे हराउँदा…’ भने बिल्कुलै पृथक् बुनोट र नवीन विषयवस्तुको एक प्रयोगशील कथा हो । कथामा पुस्तकहरू मान्छेको खोजीमा निस्कन्छन् । यानि, मान्छे, मानवीय गुण गुमाएर यान्त्रिक र संवेदनाहीन हुँदै गएको छ । कथाको एक पात्र, युवा उपन्यास, भन्दै छ— ‘खोज्यौँ धेरै । खाली हुँदै छन् सहर । हराउँदै छन् मान्छे । अहिले ‘मान्छे’ भनेको त केवल ‘अब्जेक्ट, मल्टी न्याशनल कम्पनीका ।’
यी हुन कथाकार नेपालका कथाका विषयवस्तु । उनका कथामा वादी र रानाथारुजस्ता पश्चिम नेपालका आदिवासीहरू, भुटानी मूलका नेपालीदेखि भारत बस्दै आएका नेपाली, राजनीति, सामाजिक कुरीति र बढ्दो यान्त्रिकताले किचेका नरनारी, वार्धक्यले गाँजेका तर आफन्तको माया र स्याहार नपाएका वृद्धवृद्धा, देशका सुकुम्वासीहरू तथा सामन्तवादले शोषण गरेका गरिब मानिसका कथाकहानी भेटिन्छन् । जवान र अधबैँसेसँगै वृद्धवृद्धा र ससाना बालबालिका उनका कथामा देखापरिरहने पात्र हुन् । ‘जन्तरेदाइ र कुर्सी’, ‘पदचाप’ तथा ‘नीलो पानीमा बत्ती’ जस्ता कथा त वार्धक्यले छ्याप्पै छोपेका ज्येष्ठ नागरिकहरूकै मर्ममा आधारित छन् । भुटान, भारत, नेपाल र केही हदसम्म अमेरिका उनका कथाले छोएको भूगोलको विस्तृति हो ।
शिल्पको प्रश्नमा, कथाकार नेपालको सबैभन्दा लोभलाग्दो खुबी भनेको सूक्तिपूर्ण र आलङ्कारिक भाषाको प्रयोग हो । कथाभरि यस्ता वाक्यहरू छरिएका छन्, जसले अभिव्यक्तिलाई सपाट हुनबाट बचाउँछन् । केही प्रतिनिधि उक्तिलाई यहाँ यसरी समावेश गरिएको छ —
१. उनले पातको मुठो पार्दा मैले पनि रानाथारु भाषाका केही शब्द बिटो पारेँ ।
२. कुनै फूल नपार्ने कति वटा त सर्वदलीय बैठकका पात्र थिए ।
३. सतीदेवीका अङ्गझैँ कुहेर फ्यात्त फ्यात्त झरिरहेछ मेरो इमानदारी ।
४. खल्लो माने पनि गुनासोको नुन थपेन उसले त्यो झोल तरकारीमा ।
५. व्यङ्ग्यवाण हानिरहने उसकी श्रीमती मौन थिई । त्यो मौनताको घनत्व र क्षेत्रफल गाह्रो थियो नाप्न ।
६. आन्दोलनकारी फर्किए तर आवाज सडकमै थिए । गाउँका आगा भर्भराउँदै सडकमै बलेका थिए ।
७. यसबीच धेरै पटक घाम ब्यायो पूर्व क्षितिजले र पश्चिमले त्यसरी नै निल्दै साट्दै गर्यो रात ।
८. काठ, ढुङ्गा थोत्रा हुन्छन्, बनोट थोत्रो हुन्छ, ‘घर’ थोत्रो हुँदैन ।
९. ऊ सुती । उनीहरू सुते । सहानुभूति र जिज्ञासा पनि सँगै सुते ।
१०. आठ बजेको थियो । दुई बजाउनलाई मन कुदेर हुँदैनथ्यो ।
११. लागिरह्यो, उसको लागि म एउटा ओरालो धरातल थिएँ, जता फर्किएर अतीत बग्न सकिन्थ्यो ।
१२. अब जग्गा, घर गोजीभित्र पस्यो । मान्छे, हाँडाभाँडा बाहिर भए ।
कथा विविध कार्यपीठिकाका भएको हुँदा कथाकार नेपालले विविध भाषिकाको प्रयोग गरेका छन् । उनका कथामा पश्चिम पहाडमा बोलिने डोट्याली वा बझाङी भाषाको प्रभाव पाइन्छ भने कतिपय ठाउँमा ठेट पूर्वेली, अझ असम-भुटानतिर प्रयोग गरिने लवज भेटिन्छ । यसले उनका कथामा एउटा दुर्लभ आकर्षण थपेको छ । भूटातिर सुनेने ‘तुलसीको मोठ’, ‘क्या हो क्या हो’, ‘हटक गरे’, ‘मतो’ (‘निर्णय’ को अर्थमा) वा ‘पानी रह्यो’ (‘रोकियो’को अर्थमा), पूर्वमा सुनिने बूढीबोजू महारानी, सेहे-सेसेन्तर वा सिमेभूमेका कुरा, तथा पश्चिम नेपालमा सुनिने ‘डन्लप’ (राँगा-गाडीको अर्थमा) जस्ता शब्द वा वाक्यांशको प्रयोग पाइन्छ । ‘त्यो पन्नाभित्र’ मा पढ्न पाइने ‘भोल बठै आन्दोलनमाईं झागडा हुन्छ भुण्यो, कौवाले’, अथवा ‘यो कथा’ भित्र पाइने ‘तू बदिनीको भट्टीमा झान लागी, तू डूम होई, तू, तै, बदिनीको पोई होई’ जस्ता वादी भाषिकाको प्रयोगले कथामा सटीकता थपेको छ । ‘पदचाप’ कथामा ‘इस स्वाइनी मान्स, अर्खो दिन आयालाई हुन्या’ जस्तो डोट्याली संवादको प्रयोग भएको पाइन्छ । भारत पुगेका पात्र टुटीफुटी हिन्दी बोल्छन् भने सैन्य पृष्ठभूमिका पात्र सेनाको भाषा बोल्छन् । यो कथाकार नेपालको एउटा विशिष्ट खुबी र भाषाज्ञान हो । यसले उनका कथाको गुणवत्तालाई औसतभन्दा धेरै माथि उठाएको छ ।
कतिपय कथामा भने पात्र सामान्य, तर उसको भाषा दार्शनिकको जस्तो छ । त्यस्ता कथामा पात्रको ओठमा शिक्षक नेपालले घुसपेँठ गरेर कथाकार नेपाललाई ‘ग्वाँ पारे’ भन्न सकिन्छ । ‘फड्केका पाइला’ शीर्षकको कथाकी पात्र गरिमा, आफ्नो बिहे बारे आफ्ना नयाँ खसम अशोकलाई भन्छिन्, ‘त्यहीँ हामीले सुन्दूरको हस्ताक्षर र मालाले ल्याप्चे लायौँ जीवनको तमसुकमा ।’ यस्तो बिम्बात्मक कथन यहाँ स्वाभाविक लाग्दैन । ‘यो कथा’ भित्रकी बदिनी पात्र डीनाले भन्छिन्, ‘दिदी, मेरो जीवनको डोरी जसरी बटारिएको छ, त्यसको एक एक पोया फुकाउँछु’, अथवा ‘फोहोर गालीको भारा बोकिसकेकी थिएँ । आमा ओखल थिइन् । बाबुले मुस्ली खोज्यो । मलाई पनि घान लगाइँदै थियो त्यै ओखलतर्फ’ । यस्ता अति बिम्बात्मक वाक्यहरू बोलचालको भाषा प्रयोग हुनुपर्ने आपसी संवादमा ठिक लाग्दैन । एकातिर त्यस्तो दार्शनिक भाषा बोल्ने डिना, फेरि अर्कातिर भन्छे, ‘दिदी, हामीलाई सत्तुर लागे ।’ अन्यत्र भन्छे, ‘जयको सायेता नभाको भए म मरिसक्थेँ वा मारिसक्थे ।’ उसको भाषाको स्तरमा ठूलो बेमेल भेटिन्छ ।
कथाकार नेपालका अधिकांश कथाका शीर्षक प्रतीकात्मक छन् । ‘त्यो पान्नभित्र’, ‘नजोडिएको पुल’, ‘ताता छाप’, ‘किनाराको पीपल’, ‘पानी, बरफ र बाफ’ प्रतीकात्मक शीर्षक हुन् । ‘वास्तवमा’ र ‘मूल्यहरू’ जस्ता शीर्षकलाई भने भसिर्न बाँकी भन्न सकिन्छ । तिनले खास केही सङ्केत गर्दैनन् । मेसेन्जरमा स्टाटस अप्डेट गर्ने कुरा, अमेरिकामा दूरीको मापन किलोमिटरमा भएको कुरा, कार्टन हुनुपर्नेमा कार्टुन, मेपलका रुखहरू पहेँलपुर हुने कुरा (मेपल एकैचोटि विविध रङमा देखिन्छ) जस्ता बेमेलहरू कथाकार नेपालको लेखकीय कदभन्दा ज्यादै होचा लाग्छन् । नारीप्रति थोरै अनादर कताकता छिरेको छ । ‘खोजी’ कथामा समाख्याताले श्रीमतीका बारेमा भन्छ, ‘श्रीमती शिक्षिका हो । ऊ आफ्नो योजना सुनाउँछे ।’ अर्को ठाउँ भन्छ, ‘ऊ स्कुल जान्छे । म खेतीपातीको रेखदेख गर्छु ।’ परिवर्तित समयका परिवर्तित मूल्यहरूको सापेक्षतामा सर्जकले भाषालाई मर्यादित र पोलिटिकल्ली करेक्ट बनाउनुपर्ने हुन्छ ।
अन्तिम टिप्पणी — ‘रातमा डुबेको एक आलाप’ मा कथातत्त्व ज्यादै कम र निबन्ध तत्त्व बढी छ । सुदूरमा घटेको घटनको स्मरण, र अज्ञात आगत बारेको चिन्तन बढी छ । ‘खोजी’ पनि कुनै ठोस घटनाबिनाको तर धेरैवटा पूर्वघटनाको स्मरणमा जेलिएको ‘संस्मरण’ हो । ‘यो कथा’ शीर्षकको कथाले पाठकलाई कुनै सन्तोषजनक बैठानमा पुर्याउँदैन । कृतिको सम्पादन सन्तोषजनक छैन ।
कृतिः बस्तीमा कुहिरो (कथा-सङ्ग्रह)
कृतिकारः रामचन्द्र नेपाल
प्रकाशकः ओरिएन्टल पब्लिकेशन
प्रकाशन वर्षः २०८०
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।