
कति छिटो र भरपर्दो छ अमेरिकी हुलाक सेवा ! उहाँसँग कुरा भएको तेस्रो दिनमै हात पर्यो ‘पाताल’ । म, यतिखेर ओहायोमा बस्दछु, उहाँ कोलोराडो । आकाश मार्गबाट पनि करिब तीन घण्टा लाग्दछ । ‘पाताल’ भरखर प्रकाशन भएको अन्तर्राष्ट्रिय साहित्यकार पदम विश्वकर्माको ‘देश छोडिरहेका क्याराभानको कथा’ हो ।
विश्वकर्मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ् ट्रस्टिज् (BOT)का सभापति हुन् । त्यसैले उहाँलाई अन्तर्राष्ट्रिय नेपाली साहित्यकार भन्ने गरिन्छ । उहाँका ‘शब्द सुमन’ कवितासंग्रह, ‘तमसुक’ कथुसंग्रह र ‘क्वारेन्टाइन’ उपन्यास प्रकाशित भएका छन् । ‘पाताल’ उहाँको दोस्रो उपन्यास हो । चलचित्र बन्दै गरेको तेस्रो उपन्यास ‘लुसु’ प्रकाशोन्मुख छ ।
अभ्यासको निरन्तरताले लेखनमा निखरता आउँछ । अब साहित्यकार पदम विश्वकर्मा वरिष्ठ साहित्यकार बनेका छन् । वर्णन कौशल उत्तम मानिन्छ । लेखनीमा प्रौढता आएको छ । उनको मङ्गलमय उज्ज्वल भविष्यको कामना गर्दछु ।
अर्नेस्ट ए. बेकर( Ernest Becker, an American author Sep. २७,१९२४-march ६,१९७४)ले उपन्यासलाई जीवन तथा समाजको व्याख्या गर्ने सर्वोत्तम साधन भनेका छन् । महान् उपन्यासकार हेनरी फिल्डिङ्ले उपन्यासलाई इतिहाससँग तुलना गर्दै अपेक्षाकृत अधिक महत्त्वपूर्ण भनेका छन् । इतिहास केवल विशिष्ट व्यक्ति वा घटनासित सीमित रहन्छ तर उपन्यास सामाजिक जीवनको यथार्थ अवस्थाको झाँकी प्रस्तुत गर्दछ ।
० ० ० ०
उद्देश्य
यस उपन्यासको मुख्य उद्देश्य मनोरञ्जन हुँदै होइन । परिस्थिति जन्य सामाजिक जीवनको यथार्थ चित्रण गर्दै द्वन्द्वको प्रभावले युवा वर्गमा पारेको असरको प्रतिबिम्बित झलक देखाउनु पनि हो । पहाडी बिकट तथा दुर्गम स्थानका जनताले सामना गर्नु परेको अनौचित्यपूर्ण विडम्बनालाई छर्लङ्ग्याउनु यस उपन्यासको प्रथम उद्देश्य भन्न सकिन्छ । सिधासादा ग्रामीण जनता कसरी दोहोरो च्यापुवामा परेर विद्रोहमा उत्रिन बाध्य पारिन्छन् त्यसको झाँकी यस उपन्यासमा स्पष्ट देखा परेको छ । वास्तवमा भन्नु पर्दा ‘पाताल’ उपन्यासले जीवनको विविध रूपको विशद विवृतको झलक मार्फत जीवन सम्बन्धी अनुभवलाई समृद्ध बनाएको भान हुन्छ ।
उपन्यासमा कथानकको छनोट प्रमुख विषय मानिन्छ । उपन्यासको सम्पूर्ण रूप कथानकको किसिममा आधारित हुने हुँदा विषय चित्ताकर्षक बनाउनको लागि घटनाक्रमको समुचित विन्यास महत्त्वपूर्ण हुन्छ ।
यथार्थ र त्यसको प्रभाव देखिने गरी पात्रहरूको चरित्र चित्रण हुनु पर्दछ । यस उपन्यासमा पात्रहरूको सजीवता उल्लेख्य छ । कथोपकथन कथावस्तु अनुरूप पाइन्छ । वर्णनमा निजीपन देखिन्छ । अनुकूल र प्रतिकूल दुवै परिस्थितिको छर्लङ्ग दृश्य देखाइएको छ । कथानक मौलिक हो । प्रबन्ध कौशल उल्लेखनीय मानिन्छ । रचना सुसङ्गठित किसिमले प्रस्तुत हुनाको साथै शैलीमा रोचकता मिसिनुले पठनीय बनेको अनुभव हुन्छ । चरित्र चित्रणमा कुनै कमी पाइन । शैली भावात्मक हुनाले स्वाभाविक र प्रभावशाली पाएँ ।
माओवादी आन्दोलन-
नेपालमा माओवाद नेपाली कम्युनिस्ट आन्दोलनको फलस्वरूप उत्पन्न भएको हो । २०५२ फाल्गुण १ बाट सत्ताको विरुद्ध एक सशस्त्र आन्दोलन शुरु भयो र २०६३ मार्ग ५ सम्म १० वर्ष, ९ महिना, १ हप्ता र १ दिनसम्म रह्यो । सरकारी अविवेकी नीतिले गर्दा ग्रामीण किसान र मजदुर वर्गले अन्याय सहनु पर्यो । यसलाई समाप्त पार्न सशस्त्र क्रान्ति नै आवश्यक पर्दछ भन्ने हेतुले यो समूह सङ्गठित भयो । माओवादी स्थानीय नै हुन्, भड्किएको युवा समूह हो, सरकार छ भन्ने अनुभूति नपाएको वर्ग हो । विद्रोह र असन्तुष्टिको प्रतिफल हो माओवादी आन्दोलन । नयाँ प्रवेश भने बाध्यता मात्र हो । वर्तमान समयमा यो सङ्गठन वैधानिक राजनैतिक पार्टी हुनाको साथै सरकारको नेतृत्व गरिरहेको छ ।
विश्वभरका तमाम युवा वर्गको लागि संयुक्त राज्य अमेरिका एउटा आकर्षण केन्द्र बन्दै आएको छ । खुला समाज, धनी देश, उदाहरणीय विकास तथा उच्च स्तरका शैक्षिक संस्था हुनाले यस देशको महत्त्व बढेको हो ।
नेपालको पश्चिम पहाडी जिल्लाहरू रुकुम, रोल्पा (खास गरेर माओवादी द्वन्द्व प्रभावित क्षेत्रका) सयौँ बेरोजगार युवाहरू सुरक्षा र अवसरको आशामा जस्तोसुकै माध्यमबाट पनि अमेरिका पुग्ने लहर नै चल्यो । ठुलो रकम लिएर जसरी पनि अमेरिका प्रवेश गराउने दलालहरू खडा भए । उनीहरूले भिसा अन् अराइभल सुभिधा भएका देशहरू घुमाउँदै (Derian Gap) अन्तमा मेक्सिकोबाट अमेरिका घुसाउने हुन् । यो अति कठिन मार्ग हो । दक्षिण अमेरिकाको बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, कोस्टारिका, निकारागुवा होण्डुरस हुँदै मेक्सिको पुग्नु पर्दछ ।
यो यात्रा बहुत कष्टदायक हुन्छ । अवैध रूपबाट अमेरिका घुस्न खोज्ने व्यक्ति वा समूह मध्य धेरै जसो दलाल, तस्कर, ड्रग माफियाको फन्दामा पर्दछन् । कतिले वन्यजन्तुको आहारा बन्नु पर्दछ भने कति विषालु सर्पको डसाइले मर्दछन् । यदि कथंकदाचित बाँचे भने पनि बोर्डर पार गर्ने सिलसिलामा अमेरिकी बोर्डर सुरक्षा गार्डले कब्जामा लिएर डिटेन्शन सेन्टरमा पुर्याउँछ । यस्तै डिटेन्शन सेन्टरमा पुगेकाहरू मध्य उपन्यासकारको सामीप्यमा आएका रुकुमेली युवाहरू कर्म र करुणको वर्णनको आधारमा कर्मको जीवन वृत्तान्त हो यो उपन्यास ।
० ० ० ०
स्थानीय भाषाको प्रयोग मीठो लाग्यो –
बाई-जोई (बाबु-आमा), टोगे (केटा), बड्डा (दाजु), पैसेरू नाच (एक प्रकारको स्थानीय नाच)।
मनलाई छुने चोटिला वाक्यहरू –
- खोलाको जिन्दगी र लालसेनाको जिन्दगी उस्तै उस्तै । -पेज २८
- संसार जतिसुकै रमाइलो भए पनि मन दुःखी भए पछि सबै सबै सुनसान लाग्दो रहेछ । -पेज ३०
- जति माथि उडे पनि गन्तव्य धर्ती नै हो भन्ने बुझेको थिएँ । -पेज १०७
- देश त आफ्नै सुन्दर र रमणीय रहेछ । -पेज ११३
- गेटबाट हाम फालेको भूमि मात्रै स्वतन्त्र भूमि थियो हाम्रो लागि । – पेज १४६
- जलजलाको जस्तो चिसो पानी थिएन । -पेज १५३
- मैले जनक दाइलाई आग्रह गरेँ आफ्नै देश फर्कन । आग्रह गरेँ अनिललाई, गणेश दाइलाई पनि । – पेज २५०
कथानक-
लेखकलाई डिटेन्सन सेन्टरबाट फोन आउँछ । अवैध तरिकाले बोर्डर पास गरेको कारणले थुनाहामा परेको, कर्म नाम गरेको केटा रहेछ ऊ । लेखकले कर्म र सँगै जेल परेको उसको साथी करुणलाई आफ्नो घरमा लिएर आउँछन् । सँगै दशैँ पर्व मनाउँछन् । यही समयमा कर्मले भोगेको दुखाइको विस्तृत वर्णन हो यो उपन्यास ।
कर्म एक अल्प शिक्षित युवा हो । बाबु आमा बृद्ध छन् । दाजुलाई माओवादीले लगे । दाजु बेखबर भए, भाउजू माइत गइन् । कर्म पनि माओवादी शिविरमा नगई सुखै पाएन । गाउँका धेरै युवाहरू सरकारी सेनामा भर्ती भएका थिए । कुनैले दोहोरो भिडन्तमा सहादत प्राप्त गरे । कर्म घर आएको बखत सरकारी सेनाले समाते । छुटे पछि भारत, खाडी मुलुक चहारे । कतै शान्ति मिलेन र दलालको भरमा अमेरिका छिरेका रहेछन् ।
उनको युवा हुनुको पीडा बोध बडो मार्मिक लाग्छ । ढिँडो र पिठो खाएर पनि बाल्यकाल रमणीय ढङ्गले बिताएका कर्मले खलङ्गा युद्धको घमासान देखे, खारा द्वन्द्व वर्णन सुने भने थवाङ तथा जलजला पहाड मनभित्रै राखे । खारा र होलेरीको हार पछि देशमा युद्ध विराम त भयो तर कर्म गैरी खेत बेचेर दलालको भरमा पातालतिर हानिइसकेका थिए ।
बोलिभियाबाट मेक्सिको बोर्डरसम्म पुग्दा अवर्णनीय दुःख कष्ट भोगे, देखे । विमला बहिनीको विजात्रा, होन्डुरसकी महिलाको बाटोमै बच्चा जन्मनु, यात्रुलाई लुटेराले चुपी हानेर मार्नु, यात्रुको खान तलासी लिएर पैसा लुट्नु सबै घटना कर्मले आफ्नै आँखाले देखे ।
बोलिभियाको सडकमा हल्लिरहेको नेत्र बहादुर भेटे, पुलमुनी नशामा लट्ठ जिन्दगी बिताइरहेको भक्तबहादुर थापालाई भेटे उनले । गाउँमा बस्न नसकेर बाहिरिएका पुराना प्रधान पंचलाई पनि अमेरिकामै भेटे तर न आफूले न कसैले शान्ति पाएको भने भेटेनन् । गणेशको रङ्गिन जीवन र लक्षमणप्रसादको हविगतले कर्मको मनलाई झन् खलबल्यायो । महत्त्वपूर्ण अर्ती सम्झिए- ‘मनले आफ्नो विपरीत काम गर्न थाल्यो भने आफूसँग भएको कुनै पनि कुराले केही माने राख्दैन, पतन गराउन सक्दछ । यदि मन आफ्नो हिसाबले चल्यो भने आफैलाई सुख शान्ति प्राप्त हुन्छ ।” आखिर अमेरिका पुगिसकेका बाबु, श्रीमती, छोरा र आफू स्वदेश फर्किए ।
सन्दर्भ नमिलेका कुरा-
– त्यही थियो हाम्रो भिसा र अम्रिकासम्म पुर्याउने ट्राभल डकुमेण्ट- पेज ११४ ‘डकुमेण्ट नै थिएन नि ?’
– जोरजुलुम- पेज १५४ >शब्द मिलेन, जोरजाम हुनु पर्ने हो ।
पाताल उपन्यास-
लेखक-पदम विश्वकर्मा
प्रकाशक-पेज टर्नर प्रा लि, बागबजार ,काठमाडौँ
प्रकाशन मिति-२०८० चैत्र
सङ्ख्या-२१००प्रति
आवरण सज्जा-निरुपण डेक्स
मूल्य-रु५००(विदेशमा $10)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

