अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले दुई वर्षमा एकचोटि घोषणा गर्ने उत्कृष्ट कृतिको सूचीमा गीत–गजलतर्फ वर्ष २०२२–२३ का लागि सर्वोत्कृष्ट ठहरियो अमेरिकावासी भुटानी–नेपाली कवि खेम रिजालको गीतसङ्ग्रह ‘ऊर्जा’ । यस घोषणाले यस कृतिलाई र कृतिका सर्जक रिजाललाई एक्कासि चर्चा र चासोको केन्द्र बनाइदियो । हुन त गीत लेखन र गायनका क्षेत्रमा रिजालको नाम नयाँ र नचिनिएको होइन, तर पनि यस घोषणाले उनीमाथिको आम चासो बढायो । त्यसै क्रममा म पनि उनको गीत लेखनतिर बढी गम्भीर रूपले तानिन पुगेको हुँ ।

मैले सर्जक रिजाललाई यसअघि कविका रूपमा बढी चिनेको थिएँ । विशेषतः उनको कविता–सङ्ग्रह ‘धूमिल जून’ को अलि सूक्ष्म अध्ययन गरेपछि उनीभित्रको विशिष्ट र प्रतिभाशाली सर्जकसँग परिचित हुने मौका पाएको थिएँ । पछि, उनको गीतिकारितासँग परिचित हुन पुगेँ । साथै, उनी सङ्गीतकार र गायक पनि रहेछन् भन्ने जानकारीले मलाई उनको सिर्जना संसारतिर थप अकृष्ट गर्यो ।

गीतसङ्गीतको क्षेत्रमा खेम रिजालको उपस्थितिको सामान्य सुराकी गर्दा मैले डिजिटल स्पेसमा उनको उपस्थिति निकै बाक्लो भएको पाएँ । पुस्तकाकारमा ‘ऊर्जा’ गीतसङ्ग्रह आउनुअघि नै उनका ‘पहिलो भेट’ (२०७०), ‘रिया–रिदम’ (२०७४), ‘कदर’ (२०७७), ‘मञ्जुर छ’ (२०७८) आदि गीति एल्बम प्रकाशित रहेछन् । ‘पहिलो भेट’, ‘जर्नी भाग २’, ‘मञ्जुर छ’, ‘कान्छी’ तथा ‘दीक्षा भाग २’ जस्ता एल्बममा पनि रिजालका गीत सङ्कलित रहेछन् ।

उनका गीतलाई सत्यराज आचार्य, स्वरूपराज आचार्य, धन बराइली, उदय सोताङ, मनिला सोताङ, रजिना रिमाल, टीका प्रसाई, निशान भट्टराई, सिडी विजय अधिकारी, मेलिना राई, किशोर सिवाकोटी, कर्ण दास, रमेश कडेल, किरण गजमेर, रामकृष्ण ढकाल, बाबु बोगटी, जगदीश समाल, विश्व नेपाली, कान्छीमाया सुब्बा मगर, बानिका प्रधान, झुलेन बराल, प्रताब सुब्बा, मन मोक्तान, मधुकर लोहनी, तिलचन आचार्य तथा पवित्र रिमाल आचार्यजस्ता लोकप्रिय गायकहरूले गाएका छन् भने कतिपय गीतमा रिजाल आफैँले आवाज दिएका छन् ।

सत्य–स्वरूप, धन बराइली, सुवास क्षेत्री, कर्म गेल्जेन, उत्तममणि बम्जन, राज सागर, उदय सोताङ, निरोज लामा, महेश सेवा, बाबु बोगटी, लक्ष्मण दियाली, राजु सिंह, कालीप्रसाद बाँस्कोटा, डीबी गुरुङ, प्रविधन राई, मधुकर लोहनी, र रिजाल आफैँले पनि यी गीतहरूमा सङ्गीत दिएका छन् । रेकर्डमा रहेका यी गीत श्रवणका लागि कुनै न कुनै माध्यममा जनसाधारणको पहुँचमा छन् । कतिपय गीतलाई भने भिडियोसहित यु–ट्युबमा पनि हेर्न–सुन्न सकिन्छ ।

यस आलेखमा म उनको पुस्तकाकारमा प्रकाशित गीतसङ्ग्रह ‘ऊर्जा’ मा मात्रै केन्द्रित छु । यसको सीमा के भने, यो आलेख उनका शब्दहरूमा मात्रै केन्द्रित रहने छ । गीतका पाठ्येत्तर पक्षहरू यस लेखको र मेरो ज्ञानको परिधिभन्दा बाहिर छन् ।

यस समीक्षालाई एउटा स्पष्टीकरणबाट सुरु गर्नुपर्छ । सो के भने, रेकर्डमा गइसकेका, भिडियोसमेत बनिसकेका, सञ्चारमाध्यममा बजिरहेका वा यु–ट्युबमा प्ले भइरहेका गीतमा यो भएन, यसो हुनुपर्थ्यो, उसो हुनुपर्थ्यो भन्नुको अर्थ हुँदैन । ती कर्मक्षेत्रमा गइसके ।

तर पनि, एक समालोचकको चुर्के मन, केही देख्यो भने फुरुक–फुरुक गरिहाल्छ । त्यसलाई रोक्न सकिँदैन । त्यसको खास अर्थ पनि छ । म खेम रिजाललाई दुई दिने गीतकार, सङ्गीतकार र गायक मान्दिनँ । सन् १९९६ बाट सुरु भएको उनको गीत लेखनको यात्राले २८ वर्ष पूरा गरेको छ, र आज यो अझ वेगवान् बनेको छ । १९९६ मा लेखिएको उनको पहिलो गीत ‘जन्मभूमिको माया’ पनि ‘ऊर्जा’ मा सङ्ग्रहित छ । सङ्गीतसँगको उनको सान्निध्य त्यत्तिकै लामो छ ।

बाल्यकालमा, यानि उनी भुटानमा छँदै आफ्ना मामाले ‘हार्मोनियम बाजा’ बजाएर गाएका गीत र भजन सुनेर उनी सङ्गीततिर आकृष्ट भएको आफैँ बताउँछन् । यसको अर्थ, सङ्गीतसँगको उनको निकटता करिब चार दशक, यानि, खेम रिजालको आजसम्मको सम्पूर्ण उमेर जत्तिकै पुरानो छ । यसको अर्थ, उनी पार्ट टाइम सङ्गीतकर्मी होइनन् । सङ्गीत उनको साधना हो, तपस्या हो, जीवन जिउने कला हो । यो साधनासँगै जोडिएर उभिएको छ गीत लेखन । त्यसैले, प्रकाशित वा प्रसारितै सही, यी गीतहरूमा एउटा श्रोता वा पाठकले आज गरेको टिप्पणीले पनि, लामो दूरीका लागि निस्किएको एउटा गीतकारको बाटोमा कतै न कतै एउटा स्मारकको काम गर्न सक्छ । अथवा, त्यसलाई किनारमा कतै बिसाएर आफ्नो क्लासिक गतिमा अगाडि बढ्ने छुट पनि गीतकारसँग छँदैछ ।

‘ऊर्जा’ मा १११ वटा गीत सङ्ग्रहित छन् । केही गीत रेकर्डमा पनि गइसकेका छन् । केही सङ्गीतबद्ध भइसकेर स्टुडियो प्रवेशको तयारीमा छन् भने धेरैजसो गीत हालसम्म शब्दकै आकारमा सीमित छन् । तिनको भविष्य समयले तय गर्ने नै छ ।

सर्सर्ती पढ्दा यहाँ सङ्ग्रहित गीत स्वरूपका हिसाबले विविध छन् । अधिकांश गीत दुई हरफका स्थायी, र चार हरफका दुईदेखि तीन अन्तरामा विरचित छन् । केही दोहोरी गीतको, यानि संवादको बान्कीमा रचित छन् । ‘शिरैमा शिरबन्दी’ चाहिँ धाननाचलाई ध्यानमा राखेर लेखिएको पालामी गीत हो । थोरै गीतमा चार हरफका स्थायी पनि छन्, र केहीमा तीन । यसरी, संरचनामा विविधता छ । ‘तिम्रै हातमा छ’ जस्ता गीत त गद्यकविताको निकट देखिन्छन् ।

कथ्यका हिसाबले यहाँ संरचित अधिकांश गीतमा मायाप्रीतिका कुरा छन् । कतै प्रेमको सकारात्मक ऊर्जा, समर्पण र अनुरागको कुरा छ भने कतिपयमा प्रेमीको रुमानी र स्वच्छन्द वर्णन छ । कतिपय गीतमा प्रेममा पाइने अप्रत्याशित धोकालाई विषय बनाइएको छ ।

खेम रिजालको जीवनयात्रामा अनेक मोडहरू छन् । भुटानको जन्म । कलिलो उमेरमा आप्रवासन । लामो समय पूर्वी नेपालका शरणार्थी शिविरको वास । झापाबाहिरका नेपाली जिल्लामा परिचय लुकाएर शिक्षण र अन्य प्रकारका जागिर, र अन्ततोगत्वा अमेरिका । यसको अर्थ, उनीसँग उनको देश छुटेको छ । जन्मभूमि छुटेको छ । आफ्नोपन छुटेको छ । बिरानो मुलुकमा बिरानो संस्कृतिसँग सम्झौता गरेर बाँच्नुपरेको छ । त्यसले, उनका गीतमा छुटेको घरदेशको माया, सम्झनामा बाँचिरहने देश, बिरोनो मुलुकमा बाँच्नुको पीडा र घर फर्कने आकाङ्क्षाजस्ता ‘डायस्पोरिक’ विषयले प्रवेश पाउनु नितान्त स्वाभाविक र वाञ्छनीय छ । रिजालका कतिपय गीत यसै प्रकृतिका छन् ।

एक खारिएका र अनुभवी गीतकार हुनुका नाताले रिजालका अधिकांश गीत सरल, श्रुतिमधुर र जनस्पर्शी छन् । तर, यी १११ बाट मास्टरपिस छान्नुपरे, मेरो दृष्टिमा ‘जम्यो आज तालसिर’, ‘उनलाई छोएर आएछु’, ‘दियो बाली आँगन’, ‘प्रेम कहानी’, ‘मायामा सर्त हुँदैन’ र ‘पिउन देऊ’ जस्ता गीत मेरो रोजाइमा पर्छन् । उनको लेखकीय उत्कृष्टताको परख होस् भनेर हाम्रा प्रिय पाठकका लागि ‘उनलाई छोएर आउँछु’ शीर्षकको गीतको स्थायी र एक अन्तरा यहाँ उद्धृत गरेको छु—

म हावा भई उनलाई छोएर आउँछु

पीडा भो केही छिन् त रोएर आउँछु

के छ, के छ मनभित्र बुझ्न सकिएन

भावनामा सँगै बगी रुझ्न सकिएन

जे छ हामीबीच, बरु धोएर आउँछु

म हावा भई उनलाई छोएर आउँछु । (५६)

 

रिजालका धेरै हरफहरू सूक्तिमय लाग्छन्, र सरल भएरै पनि बिल्कुलै नवीन लाग्छन् । केही उदाहरण यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु —

मेरो खुसी, उनको खुसी, एकअर्काको साटो

हिँड्दाहिँड्दै टुङ्गिएको भइयो आज बाटो (१५)

अथवा

कतिपय क्षणहरू स्मृतिका पानाभरि

बरपीपल तपेजस्तै बन्छन् अजम्बरी

तपस्या र त्यागमा त्यस्तो स्वार्थ हुँदैन

साँचो मायामा कुनै पनि सर्त हुँदैन । (८७)

गीतकार रिजालले आफू जन्मे–हुर्केको र आफ्नो विरासत बोकेको भुटान र आफूले केही समय बिताएको नेपालको भूगोल र यसको छरछिमेकलाई विम्बका रूपमा आफ्ना कतिपय गीतका उतार्न बिर्सेका छैनन् । केही गीत तीज, दसैँ वा तिहारजस्ता चाडपर्वमा केन्द्रित छन् भने केही यहाँ हुने बिहेबटुलो, रोपाइँ र खेतीकर्ममा उभिएका छन् । यार्सागुम्बा टिप्न जाऔँला (७), बेठी, हली, रोपार, दोपरे पुवा, गुन्द्रुकको अचार (३२) तथा बालासन खोला (४६) घरदेशतिरका विम्ब हुन्, जसले उनले आफ्नो मौलिक भूगोललाई अझै पनि आफ्नो गीतिकारिताको आधार बनाउन छोडेका छैनन् भन्ने विश्वास दिलाउँछ । ‘सुरिलो स्वरमा थर्कियो बेठी, लागेछ असार’ (३२) जस्ता हरफले उनको सांस्कृतिक ज्ञान, र संस्कृतिको संरक्षणप्रतिको लेखकीय दायित्वको बोध गराउँछ ।

परदेसिनु र डायस्पोरा हुनु गीतकार रिजाल र उनीजस्ता धेरै आप्रवासीहरूको नियति बन्न पुगेको छ । सिद्धान्त शास्त्रीहरू भन्छन्, डायस्पोराहरू मनमा एउटा काल्पनिक घरदेश बनाएर बाँच्छन् । न जन्मभूमिलाई वा पितृभूमिलाई चटक्क बिर्सन सक्छन्, र पुनर्वासको भूमिलाई पूर्ण रूपमा स्विकार्न सक्छन् । उनीहरूको चेतना यी दुई ध्रुवका बीचतिर अड्किएको हुन्छ । नयाँ मुलुकमा भौतिक सुख होला, तर आत्मिक सुखका लागि उनीहरू सधैँ कल्पना वा सपनामै सही, घरदेश नै सम्झिरहेका हुन्छन् । गीतकार रिजालका कतिपय गीतमा पनि घरदेशको सम्झना र कर्मदेशप्रतिको आंशिक गुनासो पस्ट रूपमा अभिव्यक्त भएर आएको छ । ‘ती बुढी आमा’ शीर्षकको गीतमा घरमा आमालाई छोडेर बिदेसिनुको पीडा अभिव्यक्त भएको छ । यसै गीतमा परदेशको पीडा पनि छल्किएको छ:

नगरे काम मिल्दैन खान

पाएको छैन घर फर्की जान

बिरानो ठाउँमा कोही पनि छैन

परदेशी भइयो, रहरले होइन

प्यारो लाग्यो कुटो र कोदाली

हिँड्न मन छ उकाली ओराली (३९)

‘बिरानो भयो आज जन्मेको ठाउँ, खेलेको आँगन त्यो हुर्केको गाउँ’ (७८), ‘शरीर मात्रै यहाँ छ मुटुचाहिँ उतै रह्यो’ (४९), ‘आज आफ्नै देश दुखेको छ यहाँ, हाम्रै भेष रोएको छ÷आज आफ्नै घर डढेको छ यहाँ, धेरैको मन जलेको छ’ (६७),  ‘हिँडिरहेको छु अझै, कहाँ पुग्ने हो यो बाटो, कसैगरी भुल्न सकिएन त्यो जन्मिएको माटो’ (९३), ‘पुर्याइदेऊ मेरो यो खबर÷क्षितिजपारि छ जन्मेको घर-गर्नुछ मैले आखिरी सफर’ (१०९), ‘जाऊ न है कान्छा, त्यो सुन्दर देशैमा सङ्घर्ष गर्नलाई÷जाऊ न है कान्छी, ती प्यारी आमाको आँसु पुछ्नलाई’ (१११) आदि हरफमा उनको डायस्पोरिक चेतना प्रस्ट रूपमा अभिव्यक्त भएर आएको महसुस गर्न सकिन्छ ।

रिजालका प्रेमसम्बन्धी गीतहरूमा माया र समर्पण, सौन्दर्यको वर्णन, प्रेममा हुने अप्रत्याशित धोका, र प्रेमी–प्रेमिकामा देखिने आकस्मिक र अप्रत्याशित परिवर्तनलाई विषय बनाइएको छ ।  कतिपय गीतमा भने मान्छेलाई समयमै चिन्न नसकेर पाइने धोकालाई विषय बनाइएको छ । प्रेमजस्तो शाश्वत र कालातीत विषयमा भन्न बाँकी नयाँ कुरो के पो भेटिनु छ र,  जब सिर्जनाको विरासत हेर्ने हो भने सबैभन्दा बढी लेखिएको विषय, सायद, प्रेम नै हो । त्यसैले, यस्ता गीतमा विषयको नवीनताभन्दा पनि दृष्टिकोणको नवीनता, उक्ति वैचित्र्य तथा उर्दूमा भनिने ‘अन्दाजे बयाँ’ लाई मूल्याङ्कनको आधार बनाउनु पर्ने देखिन्छ । त्यसरी हेर्दा, तलका हरफमा गीतकार रिजाल उत्कर्षमा उभिएका भेटिन्छन्—

आँखैमा आई बसेको माया कसरी म भुलूँ

छातीमा तिम्रो मरुभूमि छ कसरी म भुलूँ (३)

अथवा

जुनीजुनी जिऔँला भन्थ्यौ छोडेर गयौ

हेर्दाहेर्दै आँखाबाट तिमी टाढा भयौ (८)

अथवा

बिर्सियो कि परदेशीले, फर्की आएन

थाहा छैन, मेरो खबर पायो पाएन (२७)

सौन्दर्य वर्णनको विलक्षणताका लागि यी हरफ साक्ष्य हुन सक्छन्ः

मुहारमा पहिलो किरण पोखिएझैँ लाग्यो

उनलाई चुम्न हावा पनि रोकिएझैँ लाग्यो (१०१)

केही विवेचना खेम रिजालले प्रयोग गरेका अलङ्कारको पनि गरौँ । समालोचक क्लिन्थ ब्रुकले त भनेकै छन्— कविताको भाषा, मूल रूपमा विरोधाभासको भाषा हो । कवि रिजालले विरोधाभासलाई सुन्दर अलङ्कारको रूपमा कतिपय गीतमा प्रयोग गरेका छन् । एउटा उदाहरण:

ढुङ्गो भन्थे कोही माया, मैले त देउतै ठानेँ

रुवाए नि, हँसाए नि, उसको माया एउटै ठानेँ

मर्नु न बाँच्नु भयो झुटो माया लगाएर

जसलाई माया गर्थें उसैबाट थोका पाएर । (१५)

पहिलो कुरो आदर्शमा ‘माया’ शाश्वत र सर्वथा पवित्र हुने भए धोकै हुँदैन । दोस्रो, रुवाए नि, हँसाए नि, माया एउटै ठान्नेले धोका पाएँ भनेर गुनासै गर्दैन । यी विरोभासहरू यस गीतमा उनिएर आएका छन् । ‘छुटे पनि हाम्रो साथ नछुटे झैँ गर्नू तिमी – टुटे पनि हाम्रो नाता नटुटेझैँ गर्नू तिमी’ (१७) जस्ता हरफले प्रपञ्च गर्नू भन्ने सिकाउँछ । दोस्रो, छुटेरै गइसकेको प्रेमीले यो गर्नू वा त्यो गर्नू भनेको कुरो मान्ला भन्ने पनि हुँदैन । अझ, ‘फुटे पनि हाम्रो प्रीति नफुटेझैँ गर्नू तिमी’ चाहिँ, व्यवहारतः सम्भव पनि देखिँदैन । तरै पनि, त्यसै भनिएको छ, त्यस्तै आग्रह छ । यसको अर्थ, गीतकार विरोधाभासमा खेलिरहेका छन् ।

प्याराडोक्सको अर्को प्रयोग ‘कतिखेर मनले’ शीर्षकको गीतमा देख्न सकिन्छ । पहिलो हरफ भन्छ, ‘कतिखेर मेरो मनले आगो–पानी खेलाएछ’ (२९) । अर्को हरफ भन्छ, ‘मौनतामा पग्लिएर आधाचाहिँ सेलाएछ’ भनिएको छ । सेलाएको चैँ माथि उल्लेखित घाम हो वा पानी, थाहा पाइँदैन । ‘प्रेम कहानी’ मा उनी लेख्छन्, ‘सबैले सुन्न मन पराउँछन् प्रेम कहानी-भन्दाभन्दै कतिबेला भिजेछ सिरानी’ (७९) । यसै गीतमा अर्को हरफ छ: ‘हिँड्दै जाँदा दोबाटोमा छुटेछ बाटो ।’ । यो पनि प्याराडोक्सको एउटा सुन्दर प्रयोग हो ।

खेम रिजाल एक इमानदार गीतकार हुन् भन्ने कुरो उनका कतिपय आत्मोत्घाटन यानि ‘कन्फेसन्स’ बाट पनि बुझिन्छ । भन्न त यो कुनै काल्पनिक पात्रको मनोदशाको चित्रण हो भन्दिएर हिँड्न पनि सकिन्छ, तरै पनि ‘भित्रभित्रै जलेर पनि म जिउने गर्छु, हरेक साँझमा सम्हालिँदै पिउने गर्छु’ (३८) लाई एउटा कन्फेसनल स्टेटमेन्ट मान्न आइतबार बारिरहनु पर्दैन सायद ।

यस्ता प्रतिभाशाली गीतकारका गीतमा पर्फेक्सन खोज्नु हाम्रो अधिकार हो । त्यसैले पनि म उनका गतिमा जान–अनजान देखा परेका दागहरूलाई पनि औँल्याइदिनुपर्छ भन्ठान्छु । उनका कतिपय गीतमा कथ्यहरू बाझिन्छन् । ‘वारि र पारि दुई मुटु, एउटै पारिदेऊ माझी’ (४) भनेपछि श्रोताले के बुझ्छ भने दुई प्रेमी खोलाका दुई किनारमा छन् । तिनलाई मिलाउने हो भने एउटैलाई मात्र अर्को किनार लगे पुग्छ । अर्को हरफमा ‘मायालु जोडी डुङ्गामा राखी तारिदेऊ माझीदाइ’ भन्नुको अर्थ बुझिँदैन । यहाँ तार्नुपर्ने एउटैलाई मात्र हो ।

आफूचाहिँ ठिक, ऊ वा उनी बेठीक भन्ने नेपाली कविता वा गीतको पुरानो रोग हो । खेम रिजालमा पनि यो रोग व्याप्त छ । उनका थुप्रै वटा गीतमा यो परिलक्षित भएर आएको छ । उदाहरण:

बोलीचाली बन्द थियो आवतजावत पनि

तिमीले त बिर्सिगयौ यति छिटै पराई बनी

बचाउनु धर्म मेरो मृत्युसँग हानाहान गरेँ

सायद, थाहा पायौ होला भन्ने अनुमान गरेँ (५)।

कतिपय हरफलाई आजको सामाजिक–आर्थिक–लैङ्गिक यथार्थको सापेक्षतामा हेर्दा ‘पोलिटिकल्ली इन्करेक्ट’ देखिन्छन् । उदाहरणमा ‘के अर्थ हुन्छ र सिन्दूरबिनाको सिउँदो’ ले चाहेरै अविवाहित बस्नेहरू, सन्यास धारण गर्नेहरू, विधवाहरू वा अन्य एकल महिलाहरूको अस्तित्वलाई अस्वीकार गरेको बुझिन्छ ।

हुन त एक एक गीत, एक एक परिवेशमा लेखिने हुनाले एउटा गीत र अर्को गीतमा व्यक्त गीतकारको विश्वदृष्टि फरक हुन पुग्छ, तर पनि सकेसम्म सर्जकले जीवन–जगतलाई हेर्ने दृष्टिकोणमा एकरूपता कायम गर्दा राम्रो । कसैले सोध्ला नि— गीतकार खेम रिजालका अनुसार ‘बिछोड’ को पीडालाई व्यवस्थापन गर्ने काइदा हे हो? ‘मेरो याद आयो भने एकान्तमा रोइदिनू’ (१०) ले रुनुमा निकास देख्छ, तर फेरि ‘कहिलेकाहीँ याद आए सम्झी रुनुहुन्न’ (१२) ले ठ्याक्कै उल्टो कुरो बोल्छ । यस्तोले मजस्ता सोझा पाठकलाई अलमलमा पारिदिन्छ ।

कतिपय गीतमा ध्वनि यानि ‘टोन’ मा एकरूपता देखिँदैन । रस सिद्धान्तकै सापेक्षतमा हेर्ने हो भने पनि यसमा ध्यान दिइनु जरुरी छ । ‘तिमीसित एउटै’ शीर्षकको गीतमा माथि गुनासो छ: ‘तिमीसित एउटै गुनासो रह्यो, सङ्लो पानी धमिलो मन भयो’ । त्यसपछिका हरफमा पूरापूर प्रेम–प्रणय छ, शृङ्गार छ, ‘स्याउजस्ता गाला तिम्रा चुमिदिऊँला मोरी’ जस्ता यौनसूचक अभिव्यक्ति छन्, तर माथिको ‘गुनासो’ को ध्वनि कतै आउँदैन । अर्को गीतमा ‘कसिलो बन्धन मुस्कानले बहलाउने छु’ (२०) भन्ने हरफ छ । बन्धन भनेको बहलाउने कुरो हो वा होइन, प्रश्न त सोधिन्छ नै ।

शब्दको प्रयोगमा खेम रिजाल माहिर छन्, संवेदनशील छन्, सिद्धहस्त छन् । उनलाई थाहा छ, गीतले श्रुतिमधुर, जनसामान्यले एकै सुनाइमा बोध गर्न सक्ने, थोरै अक्षरका र लालित्यपूर्ण शब्दको माग गर्दछ । यस कुरामा उनको पूरापूर ध्यान गएको देखिन्छ ‘ऊर्जा’ मा । आफू सङ्गीतकार र गायक पनि भएको हुँदा गीत लेख्दै पनि उनले कुनै सम्भावित लय गुनगुनाएर त्यसैको आधारमा लेखेको हुनुपर्छ । शब्दहरू कुनै न कुनै श्रुति वा अव्यक्त तालमा ठिकठिक बसेको पाइन्छ ।

तरै पनि, कतिपय ठाउँमा शब्दका विकल्प खोज्नुपर्थ्यो भन्ने चाहिँ लाग्छ । ‘बेग्लियौ बिनार्थ त्यसैमा म रमाएछु’ मा ‘बिना’ र ‘अर्थ’ लाई दुई शब्दमै राखेको भए बढी सुन्दर हुन्थ्यो । ‘बिनार्थ’ जस्तो बलात् बनाइएको असामान्य सन्धि गीतको स्वास्थ्यका लागि हानीकारक छ । ‘हिँडाइको चाल राम्रो, शरीरको बान्की अनि’ जस्तो हरफ ‘अनि’ जस्तो अमूर्त संयोजकमा गएर टुङ्गिएको बिल्कुलै ठिक लाग्दैन । कारण, यसले भावलाई ‘रन–अन’ बनाएर अर्को हरफमा पुर्याउँछ, जब कि गीत वा गजलको प्रत्येक हरफले आफैँ पनि उभिन सक्ने ल्याकत राख्नुपर्छ भन्ने एउटा अघोषित मान्यता छ ।

अब म एउटा अनावश्यक जोखिम मोल्ने सुरमा छु । भनियो, आर.डी. बर्मनले समाचारलाई पनि गीत बनाइदिन सक्थे । चाँदनी शाहका कतिपय निबन्धका जस्ता हरफलाई नातिकाजीले कालजयी गीत बनाइदिए । त्यसैले, ‘अमन्त्रम् अक्षरम् नास्ति’ भनेजस्तो गीतमा ढाल्न नसकिने कुनै शब्द छैन सायद । गीत लेखनको त्यस्तो कुनै सिद्धान्त पनि छैन । तरै पनि…जोखिम मोलेरै भन्छु…तरै पनि, म ठान्छु अक्षर र शब्दका उच्चारणमा प्राकृतिक श्रुतिमाधुर्य हुन्छ, लालित्य हुन्छ । व्यवञ्जनबहुल वा संयुक्त अक्षरका शब्दमा पर्याप्त लालित्य हुँदैन, र त्यस्ता शब्द गीतमा आइदिँदा मज्जा आउँदैन ।

खेम रिजालमा गीतमा अल्झिएर आएका कतिपय शब्द बिझाउँछन् । लाग्छ, यत्तिको प्रतिभाशाली लेखक र संवेदनशील सङ्गीतकारले लय नभत्किने गरी अन्य मीठा शब्द खोजेको भए बेस हुन्थ्यो । जस्तो गीतमै आउनका लागि ‘उपासना निधारमा’ (उच्चारणमात्रै होइन अर्थकै दृष्टिले पनि मिस्फिट), ‘हैकम’, ‘घाँटीमै लायौ पासो’, ‘परम्परा’, ‘साहित्य’, ‘उद्योग’, ‘प्रादुर्भाव’, ‘प्रत्याभूति’, ‘अगुल्टोझैँ नठोस’, ‘अपजसिला’, ‘वैज्ञानिक आविष्कार’, ‘स्वतन्त्र बचाउन’ आदि शब्द र वाक्यांश बिझाउँछन्, र सङ्गीतकारले क्षतिपूर्ति गरिदिनुपर्ने बाध्यता जन्माउँछन् । ‘म भईसकेँ जवानी’, ‘जोड्नुछ अब भएर मजबुरी’, ‘भएछु म हैरानी’, ‘विषादी तन’, ‘अधैर्य धूमिल मनमा’, आदि वाक्यांशमा व्याकरणकै समस्या छ । कुन नाम, कुन विशेषण अत्तोपत्तो पाइँदैन ।

‘पायल’ सँग  टुक्का मिलाउनै पर्ने बाध्यताले ‘बग्दैन टाढा जो नदीझैँ नायल’ (५७) जस्तो अस्वाभाविक हरफ थोपरिएको छ ‘नाच्दैन मयूर’ शीर्षकको गीतमा । मजबुरी, कोयल, पायल, पतझर, तक्दिर, सफर, आदि आयातित शब्दका नेपाली समकक्षी खोज्दा, र त्यसैअनुरूप हरफहरूको ध्वनिविन्यासलाई पुनरावलोकन गर्दा गीतमा नेपालीपन बढी रहन्छ भन्ने मेरो लिँडेढिप्पी छ ।

अन्त्यमा, खेम रिजालका कतिपय हरफहरूका शब्द र भाव, कतिपय चलेका गीतका हरफ र भावसँग मिल्छन् । हुन त प्रभाव पर्नु असामान्य कुरा होइन, तर पनि आफ्नो लोभलाग्दो मौलिकताको रखवालीका निम्ति उनले यसमा काम गर्नुपर्ने देखिन्छ । उनका यी हरफ वा वाक्यांश हेरौँ— ‘म रहूँ वा नरहूँ यो माटो रहिरहोस्’, ‘हाँसौँ–खेलौँ जिन्दगीमा, लानु नै के छ र?’, ‘देखेकोले मात्र हुँदैन रहेछ, लेखेको चाहिन्छ,’, ‘मर्ने–बाँच्ने ठेगान छैन’, ‘भित्रभित्रै मुटु जलेको कसले देख्या छ र यहाँ’, ‘लडूँ कि मरूँ म, छेउमै छ भिर पनि’, ‘नआऊ तिमी एक्लै म अन्ध भएको बेला’, आदि हरफ । यिनमा खेम रिजालको ओरिजिनल प्रतिभाको चमक खड्किन्छ । ‘तर त्यही माया भयो आज रोग’ तथा ‘निर्दयी हातले तिम्रो यौनाङ्गमा छुन सक्छु’ जस्ता सोझा र कर्कश हरफहरूबाट निवृत्ति लिँदा गीतको स्वास्थ्यका लागि फाइदा हुने देखिन्छ ।

बाँकी कुरा उनको सिर्जना र व्यक्तित्वले आर्जन गरेको लोकप्रियताले नै बोलिरहेको छ, म के बोलूँ ।

कृति:     ऊर्जा (गीतसङ्ग्रह)

सर्जक: खेम रिजाल

प्रकाशक:   साहित्य परिषद् भुटान

प्रकाशन वर्ष: २०७९