भारत स्वतन्त्र भएपछि शुरु भएको भारतीय नेपाली साहित्यको दोस्रो चरणले एकातिर पुराना साहित्यकारहरूलाई निरन्तर सशक्त बनाउँदै लगे भने अनेकन् नयाँ प्रतिभावान् कविहरू पनि साहित्याकाशमा देखा परे ।
पहिलो चरणमा बनारस लगायत कलकत्ता, उत्तराञ्चल र पूर्वाञ्चलका साहित्यकारहरू सक्रिय देखे पनि दोस्रो चरणमा दार्जिलिङ पूर्ण रूपमा हाबी भएको पाउँछौं । पहिलो चरणमा थोरै कवितासंग्रह प्रकाशित भएपनि दोस्रो चरणमा कवितासंग्रहको बाढी नै आएको अनुभूति हुन्छ । विशेषगरी त्यो बेलाको दार्जिलिङ जिल्लामा ।
पहिलो चरणका सशक्त कविहरू कवि वीरेन्द्र, कवि धुर्व, तुलसी अपतन हरू दोस्रो चरणसम्म आइपुग्दा उनीहरूको कवितामा निक्खरता देखियो । उता कवि दान खालिङले विश्राम लिएको पाउँछौं । महिला कविहरूको उपस्थिति भने पहिलो चरणमा शून्य प्राय छ । अपितु लक्खीदेवी सुन्दास र सानुमति राईले पहिलो चरणमा नै कविता लेखनमा प्रवेश गरेका थिएन ।
दोस्रो चरणको उर्वरतामा भारती, गोर्खा, प्रभात, हाम्रो कथा, जनदूत, धुवाँ, दियालो, दियो, खोजी, मालिङ्गो, तेस्रो आयाम, फूल-पात-पत्कर, साहित्य सङ्गम आदि पत्रिकाको ठूलो योगदानलाई नकार्न सकिन्न । सुयोग्य सम्पादक, लगनशील लेखक र अध्ययनशील पाठकहरूको यो त्रिवेणीले नेपाली साहित्यलाई नयाँ उचाइ दिएको थियो त्यस बखत ।
दोस्रो चरणका कविताहरूमा दार्जिलिङका सामाजिक जीवन, आर्थिक सङ्कट, रोग, भोक, जिजीविषाको सङ्घर्ष, बिघ्न-वाधाहरू, वर्णन गरिएको पाइन्छ । त्यस बाहेक पहिलो चरणमा जस्तै दोस्रो चरणमा पनि धार्मिक पर्वहरू, जात-पात र थिचोमिचोका कुराहरू, चियाबगानका गाथाहरू प्रशस्त पाउँछौं- कविताहरू र आख्यानहरूमा ।
कवितामा शिल्प र वैचारिक प्रखरता दोस्रो चरण उत्कृष्ट साबित हुन्छ भने यही चरणमा दार्जिलिङमा उदय हुन्छ केही महिला साहित्यकारहरू । विशेष गरी आख्यान र कवितामा महिलाको वर्चस्व त थिएन तरै पनि उनीहरू ओझेलमा पनि परेको थिएनन् । पत्रिका सम्पादनमा पनि नरा गुरुङ, माया ठटाल, अमृता छेत्री र देवकुमारी सिंहाले अग्रसरता देखाएका थिए भने लक्खीदेवी सुन्दास, कमला साङ्कृत्यायन, डा. सुशीला प्रधान, प्रभावति छेत्रिनी, हीरामाया थापा, मनु राई, चन्द्रकला गुरुङ, विष्णुमति गहतराज, मनकुमारी छेत्रिनी, कौशल्यादेवी, राधिया राया, अमृता छेत्री, मायादेवी छेत्री आदि सूक्ष्मरूपमा आफैँलाई गैरआख्यान र कथा लेखनमा दक्षता हासिल गरेका थिए ।
कविता लेख्नेमा त होडबाजी नै आएका थिए तर आफैँलाई विशिष्ट केहीले मात्र बनाउन सके । तीमध्ये सशक्त थिए सानुमति राई, सावित्री सुन्दास र विनीता सिंह । महिलाहरूले धर-परिवार-व्यवहारसँग सँगै लिएर जानु पर्ने बाध्यताले पनि साहित्यमा उनीहरू टिकिरहनु निकै गाह्रो परिरहेको सानुमति राईले मात्रिका गजमेर श्रेष्ठलाई दिएको अन्तर्वातामा भनेकी थिइन् । दोस्रो चरणमा आएका अरू सशक्त महिला कविहरूमा सम्पूर्णा राई, सुषमा मोक्तान, उर्मिला घिसिङ, गोमा शर्मा, शान्ति छेत्री, शोभाकान्त थेसिम,स्नेहलता राई, कमला राई, चन्द्रमित लखसम आदि प्रमुख छन् ।
सत्तरीको दशकलाई भारतीय नेपाली साहित्यको तेस्रो चरणमा वर्गीकृत गर्दा कुनै विवाद हुन्छ जस्तो लाग्दैन । यही दशकमा धेरै महिला कविहरूको प्रादुर्भाव भयो भारतीय नेपाली साहित्यमा । सन् १९७२ मा दार्जिलिङमा आयोजित विराट नेपाली साहित्य सेमिनारमा ईश्वर वल्लभ, प्रेम शेर्पा ‘विरोकी’, नरबहादुर दाहाल, मोहन ठकुरी, मदन ओझाहरू सँगै इन्दु देवान, वीणा सुब्बा, शीला लामा र सावित्री सुन्दासले पनि कविता पाठ गरेका थिए । उनीहरूको कविता मनबहादुर मुखियाद्वारा सम्पादित ‘सेमिनार’ पत्रिकामा सोही साल प्रकाशित भएको थियो ।
तेस्रो चरणमा नै चन्द्र बानुछा, विन्द्या सुब्बा, विणा हाङ्किम, लक्ष्मी ‘आँशु’, गीता छेत्री आदिले कविता लेख्न शुरु गरे । तर पर्याप्त अभिलेख र सन्दर्भ सामग्रीको अभावले भारतीय महिला कविहरूको लेखन इतिहास र प्रवृत्ति बारेमा जानकारी पाउन निक्कै कठिन छ र यो असहजता भारतीय नेपाली महिला साहित्यकार नामक कृति लेख्दा लीला लुइँटेल अनुभव गरेको कुरा यसरी व्यक्त गर्छिन, “नेपाली कविताको इतिहासमा भारतका विभिन्न क्षेत्रमा रहेका महिला कविहरूको योगदान पनि उल्लेखनीय रहेको भए पनि तिनको खासै अध्ययन-विश्लेषण भएको पाइँदैन । पर्याप्त सामग्रीको अनुपलब्धताका कारण भारतका विभिन्न क्षेत्रमा बसोबास गर्ने महिला कविको प्रथम प्रकाशित रचनाका बारेमा जानकारीको अभाव हुनुका साथै उनीहरूका कविताकृति सहज उपलब्ध नभएका स्थितिमा उनीहरूद्वारा सिर्जित कविताको समग्र अध्ययन-विश्लेषण गर्न अत्यन्त कठिन भए पनि अध्ययनका क्रममा उपलब्ध सामग्रीलाई आधार बनाएर भारतीय नेपाली कवितामा महिलाहरूको उपस्थितिलाई तल सङ्क्षेपमा उल्लेख गरिन्छ । “
भारतीय नेपाली कविता आकाशमा तेस्रो चरण (सन् १९७०-१९९०)मा उदय भएका केही सशक्त महिला कविहरूको सुची तयार पार्दा सुभद्रा बम्जन अग्रपङ्क्तिमा आउँछिन् । उनी सावालीको उपनामले पनि चर्चित छिन् । हालसम्म उनको प्रकाशित कविता कृतिहरू हुन् – वितृष्णाको बिम्ब(२०११), वेदनाको स्केच (२०१६), समयका डोबहरू ( २०१७) र स्फुट स्वरहरू (२०२१) । र उनको भरखरै ‘आँखीझ्यालबाट’ नाम गरेको विविध लेखहरूको सङ्कलन प्रकाशित भएको छ ।
‘निषाद’ र ‘हस्ताक्षर’ नामक पत्रिकाहरू सम्पादन गरेर आफूलाई अब्बल दर्जाको सम्पादक साबित गरिसकेकी छिन् । मङपु जस्तो साहित्यिक उर्वर ठाउँमा जन्मिएकी सुभद्रा, मोहन ठकुरी, एम.बी राई, विकाश गोतामे जस्ता कालजयी कविहरूको उत्तराधिकारीको रूपमा आफ्नू दरिलो उपस्थिति दिएका छिन् भन्दा अतिशयोक्ति नहोला ।
मैले निरूपण गर्न लागेका कविता कृति- ‘स्फुट स्वरहरू’को स्रष्टाका सुभद्रा बम्जनले सन् १९७५ मा नै बालकविता लेखेर साहित्य प्रवेश गरे पनि १६ वर्षसम्म अल्पविराम लिएकी थिइन् । र अस्सी दशकको उत्तरार्द्ध पुनः साहित्यमा होमिएका थिइन् । तर कविता लेखनले नब्बेको दशक देखि मात्र गति लिएको उनको सिर्जनाबाट थाहा पाउन सकिन्छ । भारतीय महिला साहित्यकारको कृतिहरू माथि कमै विमर्श हुन्छ । र सुभद्रा बोम्जनको कृतिहरू कम चर्चामा आउनु कुनै अनौठो विषय होइन ।
मूर्धन्य कवि सानुमति राई जसको कविताले बदरीनाथ भट्टराईले वि.सं. २०११( सन् १९५४) मा सम्पादित पद्यसंग्रहमा पाएका थिए । यो पद्यसंग्रहको तेस्रो भाग थियो- पहिलो वि.सं. १९९८ (सन् १९४१) र दोस्रो भाग वि.सं. १९९९ (सन् १९४२) मा प्रकाशित भएको थियो । करिब ५० जना जति कविहरूको उक्त कविताहरू समाहित उक्त सङ्ग्रहमा केवल ४ जना महिला कविहरूको कविता परेको थियो । ती कविहरू थिए – लोकप्रिया, मञ्जरी, गोमा र सानुमति राई ।
राई केवल २५ वर्षकी थिइन् र उनको कविता ‘त्यो माग्ने’ उक्त सङ्ग्रहको अन्तिम कविता थियो । ईश्वर बरालद्वारा सम्पादित ‘हिमालचुली’ कवितासंग्रह सानुमति ‘त्यो माग्ने’ कविता समाहित भएको थियो । तर उनको कुनै पनि कविता राष्ट्रिय स्तरमा प्रकाशित भारतीय नेपाली कवितासंग्रहमा स्थान नपाउनुले महिला कविहरू तिरस्कृत भएको छ भनेर अनुमान लाउन सकिन्छ । एक दुईजना महिला साहित्यकार बाहेक कमैको कृतिहरूको समीक्षा हुन्छ । यसको कारक तत्त्व पुरुषको अहम् हो या महिलाहरूको अकर्मण्यता, त्यो समयले बताउला ।
कविताले युगलाई बोकेको हुनुपर्छ, समकालीन चेतलाई समाएको हुनुपर्छ र समसामयिक विचारलाई थेगेको हुनुपर्छ । कविता कोरा भावुकता मात्र नभएर समाजको बेथितिलाई प्रतिबिम्बित गर्ने एउटा सशक्त माध्यम पनि हो । अहिले युद्ध संसारभरि हाम्रो जीवनको एक अभिन्न अङ्ग भएको छ चाहे मैदानमा होस् चाहे दैनिक जीवनमा । यो कटु यथार्थ कसैले नकार्न सकिन्न । तर युद्धमा कसैको जीत हुँदैन भन्ने सत्यलाई आत्मसाथ गरी युद्ध शीर्षक कवितामा बम्जन लेख्छिन्,
लड्नलाई युद्ध निहुँ चाहिन्छ
लड्नलाई युद्ध बहाना चाहिन्छ
हार्ने त हारेकै हुन्छ,
जीतमा पनि हार नै हुन्छ ।
मर्ने त मरेकै हुन्छ,
मार्ने पनि मरेकै हुन्छ।
“सुभद्रा बम्जनको ‘स्फुट स्वरहरू’मा फक्रिएका अभिव्यक्तिहरू” शीर्षक लेखमा समालोचक तथा कवि रुद्र बराल लेख्छन्, “कवि बम्जनको कवितीय विशेषता हो – गहन विषयलाई सरल र बोधगम्य तरिकाले प्रस्तुत गर्नु, थोरै शब्द खर्चेर धेरै आम्दानी पाउनु, बिम्ब – प्रतीकमा भन्दा वाक्यको सजावटमा अधिक गुरुत्व दिनु । कविता लेख्ता बौद्धिकताभन्दा हार्दिकतामा महत्त्व दिनु, आवेगलाई बहकिन नदिनु, बोलचालको भाषालाई अधिक महत्त्व दिनु । विषयगत तरिकाले उनले प्रेम-प्रणय, नारी समस्या, मानवीय अनुभूति, सामाजिक मूल्य-मान्यता, रुढीवाद, राजनैतिक चलखेल, जातीय समस्या आदि विविध विषय लिएकी छन् ।” प्रायजसो महिलाहरूले लेखिने कवितामा रुद्र बरालले भने झैँ बौद्धिकताभन्दा हार्दिकताको बाहुल्य हुन्छ र यो बम्जनको कवितामा पनि भेटिनु वर्तमान नेपाली कविताको एउटा सूचक हो ।
रूढिवादलाई र अहिले टोल टोलमा च्याउ झैँ उम्रिएका भगवानलाई मिठो व्यङ्ग पस्किएको छ कविता ‘अन्धविश्वास’मा –
“उठ्न नसकेका टाउकाहरू
र, झुकिरहने आँखाहरूसित
तन-मन-धनले सेवा गर्दै
स्वघोषित भगवान सामु
बली चढाउनेहरूको
अचेल मेला छ ।
पूर्वतिरको घाम र
विश्वासको उज्यालोलाई
त्यो मेलाले छुन नसकिरहेको
एउटा गह्रौं अवस्था छ ।
कवि बम्जनको मूलतः स्वर हो शोषित, पीडितप्रति सहानुभूति, नारीप्रतिको दुर्व्यवहार माथि असन्तोष, समाज, राजनीति प्रति व्यङ्ग्य र युगीन परिवर्तनको उद्घोष आदि । दैनिक जीवनका सामान्य घटनालाई टप्प टिपेर कवितामा मूर्तरूप दिने क्षमता राख्छिन् कवि बम्जन । उनी बिम्ब र प्रतीकसँग खेल्न रुचाउँछे र नारीको अस्मिता माथि धावा बोल्ने माथि कठोर हुन्छे ।
‘भारतीय नेपाली महिला साहित्यकार’ पुस्तकमा सुभद्रा बम्जनको कविताको प्रकृति र प्रवृत्ति बारे समालोचक लीला लुइटेलको सानो टिपोट मननीय छ । उनी लेख्छिन्, “एक्काइसौं शताब्दीमा पुगिसक्दा पनि नारीप्रति गरिने विविध खाले दुर्व्यवहार नरोकिएको स्थितिप्रति आक्रोशको अभिव्यक्ति पाइने यिनका कवितामा ममता एवं शक्तिका रूपमा नारीलाई सम्मान गर्नुपर्ने धारणा अभिव्यञ्जित छ । आख्यानको प्रयोग पाइने यिनका कतिपय कवितामा आख्यानअनुरूप सहभागीको प्रयोग पनि गरिएको छ । यिनका कवितामा प्रयुक्त नारी सहभागीहरू युगीन जीवनका परिचित अनुहार नै रहेका छन् । समाज, राजनीति, प्रकृति, साहित्य आदि विविध क्षेत्रबाट टिपिएका बिम्ब र प्रतीकको प्रयोगले ओजपूर्ण बन्न पुगेका यिनका कवितामा प्रयुक्त भाषा सरल रहेको छ ।”
कवितामा मौलिक स्वर एउटा नितान्त आवश्यकता हो । कविता वैयक्तिक अनुभूति अभिव्यक्त गर्ने एउटा माध्यम मात्र नभएर विश्व चेतना सम्प्रेषण गर्ने एउटा साझा थलो हो । यो विश्वव्यापी अनुभूति उनको कवितामा समेटिएको पाउँछौं । ‘मनसुनको सपना’ उनको सुन्दर कवितामा पर्छ जसले सपनालाई बिम्बमा प्रयोग गरेको छ ।
“घरि घरि गाउँ भिजाउने सपना
बेला–कुबेला
आकाश धमिल्याउने सपना
सपना – सत्य हुन सक्छ
सपना- मिथ्या हुन सक्छ
सपना- भ्रम हुन सक्छ
सपना – श्रमिकको श्रम हुन सक्छ
बाल्यकालदेखि नै मैले
सुन्दै र पत्याउँदै आएको
एउटै आदिम सपना
अति सपना.. कति सपना ।”
‘स्फुट स्वरहरू’ अर्थात् अलग अलग छुट्टिएको वा फुटकर स्वरहरू । यही स्वरहरू माथि आफ्नो मन्तव्य प्रकट गर्दै लेख्छन् साहित्यकार सुञ्जीव छेत्री, “यस सङ्ग्रहका कविताहरूमा कवितीय बान्कीका अतिरिक्त कविका सोचमा रहेका सामाजिक सरोकारको स्पर्श पाउँछौ । हामी पढ्छौं उहाँका कवितामा समाज चेतना, नारी चेतना, जातीय चेतना, कतै वैयक्तिक हुँदाहुँदै पनि सार्वजनीन भावाभिव्यक्ति, कतै रुमानी भावगुम्फन अनि सबैतिर सकारात्मक तरङ्ग ।”
सिक्किमका वरिष्ठ कवि वीरभद्र कार्कीढोलीले लेखेको ‘स्फुट स्वरहरू’को भूमिका मननयोग्य छन् । उनी लेख्छन्, “सुभद्रा बम्जनको चौथो काव्य पुस्तकभित्र भेला भएका प्रायः नै कविताहरू आ-आफ्नै क्षमता, रूप-रङ, गरिमा उमेर बोलेका छन् । कुन्नै कविता निम्छरा, कुरूप बैमान अकविता छैनन् लाग्ने । हरेक कवितामा विशेष सूचना सन्देश छ । जीवनाभूति, जीवनका ह जीवन्त रङहरू छन् । सपना बिपनासित जिन्दगी बिरानो मुलुकबाट उडिआउने अनाम चरोको निरर्थक प्वाँखजस्तो छ। अति हिटलर र मुसुलोनिको हारको अर्को अवस्था छ ।”
मसँग उपलब्ध भएको उनको सन् २०१६ मा प्रकाशित कवितासंग्रह ‘वेदनाको स्केच’मा भन्दा यो सङ्ग्रहमा कविताहरू छोटो र छरितो छ । सायद छोटो कवितामा नै धेरै कुरा अभिव्यक्त गर्न सकिन्छ भन्ने कुराको आत्मबोध भएर हो या लामो लेख्न अल्छी गरेर, यसको निर्क्योल त कवि आफैले गर्न सक्ने हो ।
अहिले कविता छोटो भन्दा छोटो लेख्ने लहर चलेको छ । तर कवितालाई छोटो वा लामो भन्दा पनि आफ्नो भावना र चेतना पूर्ण रूपले व्यक्त गर्न जरुरी छ । कवि बम्जनको कविताले साधारण कविताको सिद्धान्तलाई प्रयुक्ति त दिएको छ तर उनी जस्तो शिक्षित महिलाबाट यो भन्दा कैयन् गुणा राम्रो कविता अपेक्षा गर्नु अस्वाभाविक अभीष्ट नहोला ।
पारसमणि प्रधानले कवितामा भाव हुनुपर्छ भनेको युग बितेको पनि झन्डै सय वर्ष हुन लाग्यो । यो अवधिमा टिस्टा र रङ्गितमा धेरै पानी बगिसक्यो । कवि वीरेन्द्र, ओकिरिमउयामा ग्वाइन, अगमसिंह गिरी, मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी देखि रेमिका थापा सम्मले कवितामा नयाँ प्रयोग गरेका छन् । कवितामा यस्ता प्रयोगले साहित्यलाई नै थप उर्जा प्रदान गर्छ । कविता क्लिष्ट र अबोधगम्य हुनुपर्छ भन्ने मेरो मान्यता होइन तर रिमाल, गिरी, पारिजात, बानिरा र भूपि जस्तै सजिलो भाषामा युग हाँक्ने कविता लेख्नु जरुरी छ । यस विषयमा कवि बम्जन जस्तै अरू युवा कविहरू पनि सजक भई उन्मुख हुनु पर्छ ।
कविता थोरै लेखेर पनि नेपाली साहित्यमा स्थापित कविहरू धेरै छन् । गोपालप्रसाद रिमाल, भूपि शेरचन, भीमदर्शन रोका, दान खालिङ्, नोर्जाङ स्याङदेन आदि त्यो श्रेणीमा पर्छ । कविता लेख्दा गुणात्मकतामा बढी जोडदिनु पर्छ । वर्तमान नेपाली कविताको स्तर ह्रास भएको भारत र नेपालमा चर्चाको विषय भएको छ । वैचारिक विचलन र कविताको नाममा भद्दा प्रयोगले नेपाली कविता साठी र सत्तरीको दशकमा लेखिएको कविताको तुलनामा कमजोर भएको गुनासो एकातिर छ भने अर्कोतिर नेपाली कविताले विश्वव्यापी साझा समस्यालाई सम्बोधन नगरेको चर्को आवाज पनि आइरहेको छ । तसर्थ सुभद्रा बम्जन लगायत सम्पूर्ण नेपाली कविहरूले भावलाई मात्र प्राथमिकता नदिएर समसामयिक विषयलाई वैचारिक रूपले सम्बोधन गर्नु आवश्यकता छ ।
तेस्रो आयामको प्रवेशपछि नेपाली कवितामा विशेषगरी भारतीय नेपाली कवितामा लेखनमा जुन कायापलट भयो त्यसले सिङ्गै नेपाली साहित्य लाभान्वित भएको छ भन्दा अतिशयोक्ति नहोला । के नेपाली साहित्यले अर्को वैचारिक कविता आन्दोलन खोजिरहेको छ ? यस विषयमा विचार विमर्श हुनु पर्छ । महिलाहरूले कोमल कविता मात्र लेख्नु पर्छ भन्ने मानसिकताले धेरै कविहरू दिग्भ्रमित भएका छन् । मानवीय समवेदना महिला र पुरुषमा एकै प्रकारको हुनाले महिलाहरूले पनि कवितामा दैनिक जीवनमा भोगेको कटु सत्यलाई कलात्मक रूपमा प्रस्तुत गर्नु पर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।