उसले अझै पत्ता लगाउन सकेको छैैन

हाँगामा झुन्डिएको के थियो 

ऊ त हरदम यही सोचिरहन्छ

त्यो दिन ऊ समयमा ब्यूँझिएको भए

जो झुन्डिएको थियो त्यो ज्यूँदै हुन सक्थ्यो 

(पृष्ठ सङ्ख्या ९०)

‘धुवाँको धागो’ एक कविता सङ्ग्रह हो ।  रचनाकार निरज भट्टराई हुन् । उनी पेसाले डाक्टर भए तापनि मनमस्तिष्कबाट कवि हुन् । यो कवितासङ्ग्रहको समालोचक निजा फाजलीले सही भनेका थिए – मनबाट मात्र पनि रचना गर्न सकिन्छ, तर मनसँग मस्तिष्कको पनि प्रयोग गर्दा अदृश्य शब्दलङ्कार पनि दृश्य हुन जान्छ । ‘धुवाँको धागो’ कविसङ्ग्रहका भूयशः कविताहरूमा यो चरितार्थ भेट्न सकिन्छ । यो किताब अङ्ग्रेजी भाषाबाट बलराम अधिकारीले नेपाली भाषामा अनुवाद गरेका हुन् । सामान्यतया कुनै पनि भाषाको रचना अन्य भाषामा अनुदित गर्दा जुन प्रारम्भिक यथार्थ भाषामा आधारित भावना हुन्छ, अनुदित भाषाको भावनासित मेल खाँदैन । तर त्यो भाष्यलाई नकादै ऐहलौकिक चक्षुमा अलौकिक नेत्र यो कवितासङ्ग्रह ठहरिन्छ । यसको श्रेय अनुवादक बलराम अधिकारीलाई जान्छ । पुस्तकको प्रसङ्गमा कुरा गर्नुपर्दा, प्रथम संस्करण ऋतुरङ्ग फाउण्डेशनद्वारा प्रकाशित भएको थियो भने दोस्रो संस्करण शिखा बुक्सद्वारा प्रकाशित भएको थियो । यो पुस्तकमा ४४ वटा कविताहरू छन् जुन नेपाली भाषाकf साथै अङ्ग्रेजी भाषामा पनि छन् ।

आ–आफ्नो रिसका आगो थपेर निर्णय गरें

यो आगो केबल अनुहारमा निभाउन सकिन्छ ।’ 

(पृष्ठसङ्ख्या ६६, तेजाब)

केही वर्षअघि ‘एसिड प्रहार व्यवहार’ एक नैसर्गिक प्रवृत्ति बनेको थियो । नैसर्गिक प्रवृत्ति अमानवीय अपरिपक्व जन्तुहरूमा, न कि एसिड प्रहार गरिएको व्यक्तिहरूमा । विशेषतः महिलाहरूलाई समकालीन समयमा एसिड प्रहार गरिन्थ्यो । प्रेममा विप्रलम्भ भयो, कृत्रिम पुरुषार्थ देखाउँदै पुरुषले स्त्रीलाई एसिड प्रहार गर्यो; प्रेमको परिधिमा स्विकारोक्ति भएन, एसिड प्रहार गरियो; यसरी त्यस समय महिलाहरूलाई एक खेलौनाको रुपमा लिइएको थियो । त्यतिबेला ‘मातृ देवा भवः’ आदर्श कसैमा थिएन । आफूलाई जन्म दिने आमा पनि महिला हुन् भन्ने मनोभावना कोही कृत्रिम पुरुषार्थ देखाउनेहरूमा पलाएन । त्यही समयको बिम्ब यो कविताले प्रस्तुत गर्छ र माथिको आभूषणले पनि कवितालाई वैशिष्ट्रय एवम् आलङ्कारिक स्वरुपमा बुझाउन प्रयत्न गर्छ । यो कविता कृत्रिम पुरुषार्थ देखाउने र अरुले तपाई भनोस् नभनोस्, आफैँ मपाई गर्ने मानिसहरूमाथिको व्यङ्ग्य पनि हो ।

केही बेरमा प्वाँख जमिनमा उत्रियो

अब किराले उड्न चाहयो

एकपलका लागि भुल्यो

आफैँले काटेको थियो आफ्ना पखेटाहरू 

(पृष्ठसङ्ख्या ७२, आधार)

जब प्राणीले आफूमा निहित हर्षलाई परिचालन नगरी अरुको हर्षको अन्वेषण गर्छ र अरुकै हर्षमा रमाउन खोज्छ, तब उसले अन्जानमा आफूसँग निहित हर्ष पनि गुमाउनु पर्छ । यो कुरालाई सिद्ध गर्न यस कवितामा किराको पखेटा र पन्छीको प्वाँख उदाहरणका रुपमा लिइएको छ । मानिसको परिप्रेक्ष्यमा हेर्ने हो भने पनि मानिस आफूसँग भएको खुशी परिचालन गर्दैन अथवा गरे पनि त्यसलाई सामान्य नै थान्छ र अरुको चरमोत्कर्षमा ईर्ष्या गर्छ । एक व्यक्तिले आफ्नो देशमा भएका सुखसयलका विषयवस्तु एवम् समुन्तिको निम्ति भएका सम्भावनाका सोपानहरूलाई परिचालन गर्दैन वा गरे पनि विदेशी विलासिलाका विषयवस्तुहरूमा रम्न प्रयत्न गर्छ । वर्तमान समयमा व्यक्तिको जन्मदिनमा नेपाली परम्परा प्रतिबिम्बित हुने किसिमले जस्तै सगुन लिने, शुभकामना एवम् आशिष विनिमय गर्ने, सामञ्जस्यमूलकता वृद्धि गर्ने किसिमले जन्मदिन मनाइदैंन । विदेशी परम्पराअनुसार केक काट्ने, प्रारम्भिक रुपमानै निभिरहेको क्यान्डललाई पुनः बालेर निभाउने जस्ता हास्यास्पद कार्यकलापहरूको अनुसरण भइरहेको छ । केही दिन पहिले जन्मदिनमा केक खादाँ १० वर्षीय बालिका मानवीको ज्यान गएको कुरा हामी अद्यावधिक छौँ । अतः माथिको कवितांश एक गहनाको रुपमा प्रस्तुत भएको छ जसले उल्लिखित व्याख्यालाई परिपूर्ति गर्छ ।

जब जब लोग्ने फर्किंदैन 

स्वास्नी लोग्नेको खाटमा सुत्छे

(पृष्ठसङ्ख्या ७४, यौटा घरमा)

भनिन्छ, श्रीमान् श्रीमतीको झगडा परालको आगो । श्रीमान र श्रीमती सँगै नसुत्नु भनेको एक अर्कामा आन्तरिक वैमनस्य र मनोमालिन्यको भाव राख्नु हो । यदि श्रीमान् र श्रीमतीबिच सद्भावना रहेन भने ‘ताक परे तिवारी नत्र गोतामे’ जस्ता अवसरवादी भाव पलाउँछ जुन भावना घर, सम्बन्ध र इज्जतलाई क्षयीकरण गर्न काफी हुन्छ । त्यसले गर्दा नै परपुरुषगमन वा परस्त्रीगमन जस्ता समस्याहरू भित्रिन्छन् जसले गर्दा सामाजिक विकृतिको अधिमूल्यन, सामाजिक प्रतिष्ठाको अवमूल्यन र एकअर्काको सम्बन्धमा विश्वासघाती बीजाधानको वृद्धि हुन्छ । अन्ततः श्रीमान् श्रीमतीको सम्बन्ध केवल यौनमा मात्र कुण्ठित सम्बन्ध नभई विश्वास, करुणा र साथको सम्बन्ध भएको कारण यो सम्बन्ध सदृढीकृत हुन आवश्यक छ । यस सन्दर्भमा माथिको भनाइले श्रीमान श्रीमतीको सम्बन्ध विग्रँदा हुने नतिजाको द्योतन गर्दछ ।

निराशा जस्तो आशा लिएर बसेको छ कुनामा

अब अनुहारको कुनै आत्मा होस् त देखियोस् ।

(पृष्ठसङ्ख्या ८४, ऐनाको कैदी)

आफू जली संसारलाई प्रकाश छर्ने मैनबत्तीको केही क्षण मात्र औचित्य हुन्छ । हस्तमैथुन अथवा यौन नै किन नहोस्, त्यसले प्रदान गर्ने परमानन्दको औचित्य केही क्षणको लागि मात्र हुन्छ । अर्थात् समग्र रुपमा अधिकांश विषयवस्तु, विशेषतः विलासिताका वस्तुको सहायताले प्राप्त गर्ने सम्भोग (आनन्द) क्षणिक हुन्छ । तर ऐना त्यस्तो वस्तु हो जसको उपयुक्तता टुटिसकेपछि पनि रहन्छ । अहिलेको अत्याधुनिक उपकरणहरूले पनि ऐनासँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यही अतुलनीय ऐना उदार हृदयको हुन्छ यद्यपि ऊ निर्जीव प्राणी हो । उसले दुनियाँलाई आफ्नो रुप देखाउँछ तर कहिल्यै आफ्नो रुप देख्न सक्दैन । ऐनाका साहित्य, विज्ञान आदिमा अनेकौँ परिभाषा छन्, यसो हुँदा दुनियाँले उसलाई पुज्छन्, उपयोग गर्छन्, प्रशंसा गर्छन् तर आफैलाई नचिन्दाको पीडा ऐनालाई मात्र थाहा हुन्छ । रामलाल जोशीले ‘ऐना’ कथासङ्ग्रहमा सामाजिक व्यवहारहरूलाई प्रदर्शन गरी समाजको ऐना देखाएका छन् । ग्यालीलियो ग्यालिली जस्ता वैज्ञानिकले विज्ञानमा ‘ऐना’ लाई प्रतिबिम्बित पेटीको रुपमा परिभाषित गरे र विविध यसका प्रकारहरू पनि प्रतिपादन गरे । ऐनाको उपयुक्तता यत्र–तत्र–सर्वत्र रहे तापनि ऊ निकै दुःखी छ किनभने उसले आफैलाई चिन्ने मौका नै पाएन । यसैगरी मानिसले पनि आफैलाई नचिनी अरुलाई मात्र चिन्यो भने अरुले गरेको प्रशंसा, तुलना आदि निरर्थक बनिदिन्छ । ऐनाको त आफूलाई नचिन्नुमा आफ्नै बाध्यता छ तर मानिस स्वच्छन्द प्राणी हो । उसले अरुलाई भन्दा बढी आफूलाई चिन्न जरुरी छ । व्यवहारिक प्रसङ्गमा आफ्नो आङ्को भैँसी नहेरी अर्काको आङ्को जुम्रा हेर्ने बानी मानिसले हटाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।

समय लुकी बस्दो रहेछ भित्र कतै

केही छैनपनि यहीं रहेछ

 (पृष्ठसङ्ख्या ८६, ब्रहमाण्ड)

यो कविताले ब्रहमाण्ड र जीवनको अन्योन्याश्रित सम्बन्ध कहन्छ । जीवन घामछायाको खेल हो । सुख पनि यही जीवनमा छ, दुःख पनि यही छ । अहिलेको तीतो, पछिको मीठो निर्जीव जीवनको आदर्श हो । सर्वस्व रहँदा पनि ‘केही छैन’ भन्ने मानव प्रवृत्तिलाई पनि यस कविताले दृष्टिगोचर गराउँछ । माथिको आभूषणले उक्त कुराको परिपूर्ति गर्छ । यो कविताले समग्र रुपमा ब्रहमाण्ड र ब्रहमाण्डका मान्छेहरूका प्रवृतिलाई चित्रण गरेको छ । ब्रहमाण्डभित्र निहित मान्छेले सिङ्गो ब्रहमाण्डलाई निवारण गर्ने बर्कत राख्छ भनेर यस कवितामा भनिएको छ जसको पुष्टि विज्ञान, प्रविधि, अत्याधुनिक वैज्ञानिक र प्राविधिक उपकरणहरूको सहायताले भइरहेको छ ।

उसले अझै पत्ता लगाउन सकेको छैैन

हाँगामा झुन्डिएको के थियो 

ऊ त हरदम यही सोचिरहन्छ

त्यो दिन ऊ समयमा ब्यूँझिएको भए

जो झुन्डिएको थियो त्यो ज्यूँदै हुन सक्थ्यो

(पृष्ठसङ्ख्या ९०, समयको निद्रा)

भनिन्छ नि– उजेलीपुजेली दिन बिताई, जुनेली रातमा बिस्कुन सुकाई । सुबिन भट्टराईले ‘प्रिय सुफी’ पुस्तकमा लेखेका थिए–“समय धेरै छ भन्ने हुँदा यसको कदर गरिएन । जब कम छ भन्ने थाहा भयो, चेतना त्यसपछि मात्र आयो । सकिन आँटेको चिजको महत्त्व धेरै हुँदो रहेछ । परीक्षा दिँदा अन्तिम अन्तिममा धेरै लेख्न मन लाग्छ नि, त्यस्तै ।” (प्रिय सुफीः (पृष्ठसङ्ख्या ११५) यो कविताले पनि समयको महिमालाई चित्रण गरेको छ । जसरी यस कविताले मरिसकेको मान्छे र जिउँदो मान्छेको उदाहरणलाई लिई सशक्त रूपमा समयको महत्तालाई चित्रण गरेको छ, त्यसरी नै वास्तविक जीवनमा पनि समयको अतुलनीय महत्त्व छ । पढ्ने समयमा आलस्य गर्यो भने, ऊ सधैँ चरमोत्कर्षको पछि दौडनुपर्छ तर पढ्ने समयमा पढियो, सङ्घर्ष गरियो भने चरमोत्कर्षले उसलाई पछ्याउँछ । भनिन्छ नि– ‘अलसस्य कुतो विद्या, अविद्यस्य कुतो धनम्  अधनस्य कुतो मित्रम्, अमित्रस्य कुतः सुखम् ।’ अन्ततः समयको सदुपयोग गरे आफ्नो लाभका साथै अरूलाई नवजीवन दिन सकिने (कविताको सन्दर्भमा) कुरामा कुनै दुई मत छैन ।

हरेक पल्ट यौटा कुर्सी घटाइन्छ

जो बस्न भ्याउँदैन

उसलाई खेलबाट हटाइन्छ

यसपाली हजुरआमा बस्न सकिनन् 

(पृष्ठ सङ्ख्या ९६, म्युजिकल चेअर)

यस कवितामा लेखकले यथार्थपरक जीवनलाई खेलसँग तुलना गरी वैचित्र्य अलङ्कार उत्पन्न गराउन खोजेको छन् । जसरी म्युजिकल चेअरमा बस्न असक्षम व्यक्ति खेलबाट निस्कनुपर्छ, त्यसरी नै जीवनले दिने कष्ट, मर्म र उत्पीडन बरदास गर्न नसक्ने र समस्याबाट भाग्ने व्यक्तिहरू जीवनबाट बिदा हुनुपर्छ । यसले अप्रत्यक्ष रूपमा जीवनमा आइसकेपछि सङ्घर्षको अपरिहार्यता कहन्छ । जीवन घामछायाको खेल आदर्शको बोध गराउँछ । जीवन अनित्य कुरा हो । बाँच्ने इच्छा भए तापनि ईश्वरको इच्छाले मृत्युको द्वारमा पुग्नै पर्छ जसरी नियमको इच्छाले म्युजिकल चेअरबाट परास्त व्यक्तिलाई निकालिन्छ, त्यसरी नै जीवनमा आफ्नो पारिवारिक स्वार्थको लागि, सहज उदरक्षुधापूर्ति र उदरतृष्णापूर्तिको लागि गरिने छलकपटले ईश्वरले उसलाई मृत्युको द्वारमा आह्वान गर्छ । यसर्थ जीवित रहँदा मान्छेले परोपकारी र पुण्यको काम गर्नुपर्छ ।

कुनै दिन

हामीले सिकौँ खुसी रहने कला

जो दुनियाँमा कसैले सिकाउन सक्दैन 

(पृष्ठ सङ्ख्या १०२, कुनै दिन)

यो व्यस्त दुनियाँमा आफैँलाई र आफ्नाका लागि समय निकाल्न समय नै हुँदैन । यस सन्दर्भमा व्यक्तिले भोगविलासका लागि कुनै दिन समय निकाल्ने प्राक्कल्पना गरेका छन् । नवजात शिशु, शैशवकालमा गरेको मनोरञ्जन यौवनकालमा एक स्मृति मात्र रहनेछ । जिम्मेवारी, पारिवारिक क्षुधापरिपूर्ति र विभीषिकाले भरिएको जीवनमा मोजमज्जा एक अकल्पनीय कुरा मात्र बनेको छ । यही अभिभाराले भरिएको जीवनमा केही समय निकालेर मनोतृष्णापूर्तिको लागि लेखिएको कविता हो भन्ने मलाई लाग्छ । आफ्नो खुसीको लागि परिवारको खुसी भुल्नु पनि भएन, आफ्नो तितो दुरावस्था र सङ्घर्षको सुस्केरा पोखेर परिवारलाई दुःख पनि दिनु भएन । आफू कोलाहलमय र कुइरीमण्डलमा बसेर परिवारलाई शश्यश्यामला वातावरण दिनु नै पर्यो । तर सँगै खुसी हुने अवसर कहिल्यै मिलेन । त्यसैले कुनै दिन त्यस्तो अवसर मिलाएर परिवार नै रम्ने वाचा गरेका छन्, सायद प्रौढकालमा ।

सर, हरेक ओठको स्वाद फरक हुन्छ ।’ 

(पृष्ठ सङ्ख्या १०४, जवाफ)

र अन्त्यमा

वासुदेव त्रिपाठी (१९९९) ले ‘सय रङ इन्द्रेणी’ कवितामा वर्णन गरे जस्तै – ‘मञ्जुश्रीको यलम्बरको रचनाको रस मिठो, भावनाले भिजेपछि जुनै कुरा पनि मिठो’। जसरी प्रत्येक दृष्टिलाई गहन दृष्टिले अवलोकन गरी शास्त्रीय चिन्तनका साथ प्रस्तुत गर्ने रचनाकार वासुदेव त्रिपाठीले माथिको कवितांशमा भावनाको र स्वादको द्विपक्षीय अन्तरसम्बन्ध र कमाललाई प्रस्तुत गरेका थिए, त्यसरी नै यो कवितामा सधैँ एउटै स्वादका आस्वादन गरिरहने गिलासले पनि भावनाको भिजाई र आन्तरिक सकरात्मक मनस्थितिले कहिल्यै पनि एउटै स्वादको रासास्वादन गर्नुपर्यो भनेर नकारात्मक टिप्पणी गरेन । एउटा निर्जीव प्राणी गिलासबाट मानिसले थुप्रै कुरा सिक्न सकिन्छ । मानिसले एउटा लुगा दुईपटक लगाउन पनि हिचकिचाउँछन् । उसको मनमा सधैँ समाजले के भन्ला भन्ने नै चिन्ता हुन्छ । मानिस आफ्नो इच्छाभन्दा पनि समाजको मातहतमा र सामाजिक विभीषिकामा बाँच्ने प्राणी हो । अतः एक निर्जीव प्राणीको सर्वश्रेष्ठ रवैया सर्वश्रेष्ठ मानिने तथाकथित मानिसले अनुसरण गर्न आवश्यक छ । यसरी नै मानिसले ‘सर्वश्रेष्ठ’ को दर्जा पाउन सक्छ । आफैँ मपाई गरेर ऊ मूर्ख मात्र बन्छ ।

प्रस्तुत कविता सङ्ग्रह भित्रका हरेक कविता सशक्त छन् । शब्द र अर्थ अलङ्कारले सुशाेभित छन् । यहाँ रहेका कविताहरूले जीवनदृष्टिलाई बोध गराउनुको साथै भावनामा आप्लावित हुन पनि सिकाउँछ । यहाँ भएका कविताहरू कुनै पनि हिसाबले पत्यार लाग्दो छैन । यस ऋतम्भराको दर्पण देखाउनु, अनेकानेक मानव प्रवृत्तिसँग साक्षात्कार गराउनु यो पुस्तकको नैसर्गिक स्वभाव हो ।

यो पुस्तक प्रेमको सन्देश, मानव प्रवृत्तिको सन्देश, जीवनदृष्टिको बोध, समाजको वास्तविकता, जिम्मेवारीबोध, स्मृति, जन्म मरण र समय महिमाको अष्टाङ्गिक मार्गभन्दा अतिसयोक्तिपूर्ण हुँदैन । कसैले यो पुस्तकको परिभाषा सोध्दा प्रेम, जीवन र समाजको त्रिवेणी भनेर परिभाषा गर्ने छु । यसको सरल लाक्षणिक अर्थ र गहन सन्देशको आधारमा म यो पुस्तक काव्य विधामा इच्छुक व्यक्तिहरूलाई सिफारिस गर्न चाहन्छु ।

अमु शाक्य

कक्षाः ९, डियरवाक सिफल स्कुल