के छ अमेरिकामा, जसले बर्मुडा ट्र्यङ्गलले जहाज तानेजस्तै तान्छ मानिसहरूलाई ? के छैन तिनका देशमा, जसको काख छोड्न आइतबार बार्दैनन् मानिसहरू ? ‘प्लेस एट्याच्मेन्ट’ — यानि, आफ्नो जमिनसँगको मान्छेको जुडावको सिद्धान्तमा धमिरा लागिरहेको देखिन्छ । सट्टामा, भूमण्डलीकरणको भीमकाय फनफन चक्काको घुमाइमा मानिसहरू माटो उछिट्टिएजस्तै उछिट्टिइरहेका छन् । उड्दाउड्दै पनि प्रार्थना चर्को सुनिन्छ — अमेरिकामै झर्न पाऊँ, प्रभू । यस्तोमा, देशप्रेम, राष्ट्रभक्ति, राष्ट्रियता…कोरा भावुकतावादका पुलिन्दा बनिदिन्छन् ।

नेपालीहरूले पनि ‘अमेरिका अमेरिका’ जपेको तीन दशक नाघ्यो । जो वैधानिक बाटोबाटै गए र उतैका भए, त्यो एक सामान्य वैश्विक प्रवाहकै कडी हो भन्न सकिन्छ । तर जो मृत्युसँग खेलेर, तल्लो बाटो हुँदै गए र अनिश्चितता अँगाल्न पुगे, तिनको कथा सामान्य होइन । त्यससँग जोडिएको घरदेशको दशा, घर छोड्नेहरूको मनोदशा, बाटोको कहालीलाग्दो कहर, र भाग्यले अमेरिका पुगिहाल्यो भने पनि पुगेपछिको शब्दातीत त्रासदी…यी गहन विवेचनाका विषय हुन् । यस्तै कथानक, र यिनै मुद्दाहरूलाई विषय बनाएर आएको छ सर्जक पदम विश्वकर्माको नवीनतम उपन्यास ‘पाताल’ ।

‘तमसुक’ कथासङ्ग्रह तथा ‘क्वारेन्टाइन’ उपन्यासमार्फत् आफूलाई एक सम्भावनायुक्त आख्यानकारको रूपमा प्रस्तुत गरिसकेका सर्जक पदम विश्वकर्माले आफ्नो दोस्रो उपन्यास ‘पाताल’ भर्खरै सार्वजनिक गरे । पेज टर्रनद्वारा प्रकाशित यो उपन्यास अहिले चर्चामा छ ।

उपन्यास मूल रूपमा कर्म लामाको कथा हो । कर्म — नेपालको रुकुमको एक उत्साही युवक, जससँग सपना छन् । जो देशभक्त पनि छ, र केही गर्ने अठोट पालेर हुर्किइरहेको छ । तर, ऊ विद्यार्थी छँदै नेपालमा माओवादी द्वन्द्व सुरु हुन्छ । उसको दाइ, र ऊ आफू पनि जनसेनामा सामेल हुन्छन्  । त्यसपछि उसको दाइको नियतिको खबर कसैलाई छैन, तर ऊ भने युद्ध छोडेर भाग्छ, र काठमाडौँ जान्छ । त्यसै लहरमा ऊ साउदी पुग्छ, तर अडिँदैन । फर्किन्छ । केही समयपछि ऊ अवैध बाटो, बिना भिजा र बिना पासपोर्ट अमेरिका छिराउने गिरोहको सम्पर्कमा आइपुग्छ । यसपछिको कथा उसको अमेरिका प्रवेशको कथा हो ।

सामान्यतः नेपालबाट दिल्ली वा मस्को, त्यहाँबाट दक्षिण अमेरिकाका बोलिभिया, क्युबा, पेरु, पानामा, कोस्टारिका, कोलुम्बिया आदि देश हुँदै मेक्सिको, अनि अन्ततः पर्खाल नाघेर वा नदी तरेर अमेरिका । बाटोभरि, दलालहरूको लुट, प्रहरीको धडपकड, बलात्कारीहरूको आतङ्क झेल्दै भगौडाहरू, कतै हातगोडा गुमाउँदै, कतै अस्मिता गुमाउँदै, लाचार परिजनकै अगाडि बलात्कृत हुँदै, भोकतिर्खा सहेर, थकित–गलित काया लिएर अमेरिकामा दाखिल हुन्छन् । बाटैमा कति महिलाहरू बच्चा जन्माउँछन्, कति बलात्कारका सिकार हुन्छन्, कोही अङ्गभङ्ग हुन्छन्, कति भने जेल परेर अन्धकारपूर्ण भविष्य पर्खन बाध्य हुन्छन् । कर्महरूकै समूहमा बीच बाटोमा मिसिएर साथै हिँडेकी होण्डुरसकी एक दोजिया महिलाका बारेमा एक ठाउँ लेखिएको छ, ‘हिँडाइका कारण होला, महिना नपुग्दै सात महिनाको चिचिलो बच्चा जन्माउन पुगिन् । हिँड्दा–हिँड्दैको यात्रा रोकियो ती अबला महिलाको । आलो सुत्केरी शरीरले पिपिरो सन्तान बोकेर हिँड्न सकेन । हामीले बाटोमै छोडेर हिँड्न सकेनौँ ।’

जो अमेरिका प्रवेश गर्न सफल हुन्छन्, ती पनि प्रहरीको फन्दामा पर्छन् । अमेरिकामा आफन्त वा चिनाजाना भएका थोरै भाग्यमानीहरूले कानुनव्यवसायीको सहयोग पाउँछन्, र शरणार्थीको दर्जा पाउँछन् । धेरैजसो भने जेलमै सड्न बाध्य हुन्छन्, देश फर्काइन्छन्, वा आजन्म ‘अवैध’ घुस्पेठीको रूपमा लुकीलुकी हिँड्न बाध्य हुन्छन् । कोही लागू पदार्थको अम्मली बन्छन्, कोही घरबारविहीन, मगन्ते बनेर फिर्छन् । हरिशरणजस्ता कतिपय भने चरेसको ओभरडोजका कारण अकालमै मृत्युवरण गर्न बाध्य हुन्छन् । अनिलजस्ता केही, कानुनी सहयोग नपाएकाहरू जेलमै कुहिन्छन् ।

यस्तो एउटा कहालीलाग्दो पलायन यात्रको सहभागी, साक्षी र भुक्तभोगी हो कर्म । ऊसँग यात्रारत् अन्य पात्र करुण, अनिल, भरत र विनोद पनि छन् । यी सबै नेपाली माथि उल्लेखित जोखिम र कहर झेलेर अमेरिका दाखिल भएका छन् । सौभाग्य भनौँ, सियाटलमा तिनले चिनेका एक जना नेपाली ‘जनक दाइ’ छन् । उनको सहयोगमा यिनीहरू सबै इमिग्रेसन जेलबाट मुक्त हुन्छन् र सियाटल पुग्छन् ।

केन्द्रीय पात्र कर्मको कथा कारुणिक छ । घरमा बाले छँदाखाँदाको घरखेत बन्धकी राखेर पैसाको जोहो गरेर उसलाई अमेरिका पठाएका हुन् । आमा बिरामी छन् । केही समयपछि, कर्मलाई भेट्नै नपाई आमाको मृत्यु हुन्छ । माओवादीमा गएको जेठो दाइको अत्तोपत्तो छैन, भाउजू उनलाई पर्खेरै बसेकी छिन् । आफ्नो कलिलो शिशुलाई कर्मले भेट्नै पाएको छैन ।

लामो पखाइपछि कर्मले अमेरिकाको नागरिकता प्राप्त गर्छ । घर आएर बाबु, श्रीमती र छोरालाई अमेरिका लान्छ । तर बाबुको मन अडिँदैन । उनी फर्कन्छन् । अन्ततोगत्वा कर्म पनि स्वदेश फर्कन्छ । उसको मनोभावना यस्तो छ— ‘पराई देशसँग कहिल्यै गाँसिएन मन–मुटु । मुटु जहाँ गाँसिन्छ, त्यहाँ पो देश रहेछ । सोचेँ, धेरै सोचेँ । अठोट गरेँ, एकछिन पनि यो पराई भूमिमा बस्ने छैन । हराभरा डाँडा, पाखापखेरा, हिमालपहाड, छाँगा–छहरा । आहा ! कति आनन्द छ, स्वर्गजस्तो…म फर्की आएँ आफ्नै देश । आफ्नै मातृभूमिको आँगन । र, सपना देख्न छोडेँ सपनाको देशको ।’

रैखिक रूपमा ‘पाताल’ को कथा यही हो । साथमा उपकथा जोडिन्छन् — जनयुद्धका, नेपाली सेनाले गरेको धरपकड र यातनाका, खाडीको पीडायुक्त जीवनका, हातगोडा भाँचिनुका आदि । कष्ट सहेर अमेरिका पुग्नेहरूले घरमा बूढा बाआमा छोडेका छन्, नवयौवना श्रीमती छोडेका छन्, कलिला छोराछोरी छोडेका छन्, र ऋणको एउटा अभेद्य पहाड पनि छोडेका छन् । उतै जानेमा पनि सबै कर्मजस्ता भाग्यमानी हुन सकेका छैनन् ।

कोही लक्ष्मणप्रसादजस्ता बेघर बनेर सडकमा भौँतारिने भएका छन्, कोही गणेशजस्ता जति कमायो त्यति नै उडाउने विलासी बनेका छन् । कोही भने भरतजस्ता छन्, जसलाई बीचबाटै बाट समातेर नेपाल सुपुर्तगी गरिएको छ । अमेरिकाको सामान्य जनजीवन पनि नेपालबाट हेरिएको जस्तो सहज छैन । ग्यास स्टेसनहरूमा हुने लुटपाट, स्कुलहरूमा हुने गोली हानाहान, तेज गतिका गाडीले दिने ठक्करका घटना, गाईलाई आमा मानेर पुज्ने नेपालीहरूले गाईको मासु बेच्नुपर्ने बाध्यता, जागिर खाने ठाउँमा हुने गालीगलोज र हप्कीदप्की, पुस्ताहरूबीच हुने मान्यताहरूको घर्षण — यी अपेक्षाबाहिरका अमेरिकी यथार्थ हुन्, जसले आप्रवासीहरूलाई कुनै न कुनै दृष्टिले प्रभावित पारिरहेकै छ ।

उपन्यासले पाठकलाई केही गहन यथार्थका बारेमा घोत्लिन बाध्य पारेको छ । कर्मको कथा जनयुद्धताकाकै भए तापनि, जनयुद्ध सकिएर गणतन्त्र आएको दुई दशक बितिसक्दा पनि देश छोड्ने, र जोखिम मोलेर विकसित मुलुकतिर जाने क्रम रोकिएको छैन । प्रश्न छ — जनयुद्धको मूलभूत प्रयोजन के थियो ? किन यसले आजपर्यन्त पलायन रोक्न सकेको छैन ? अर्को कुरो, मान्छे ज्यान जोखिमामा पारेर, परिवारमा वियोगको तुसारो फालेर र घरमा ऋणको पहाड घोप्ट्याएर किन देश छोड्न अभिशप्त छ ? बाटोमा यत्तिका मुलुक छन्, कानुन छ, प्रहरी छन्, अध्यागमन विभाग छ — तर किन नेपालदेखि कम्तीमा एक दर्जन मुलुक हुँदै यस्ता मानिसहरू अमेरिका पुग्छन् ? यो ट्रेल किन भत्किँदैन ? अमेरिकालाई पनि यो थाहा नभएको विषय होइन, तर किन संसारको सबैभन्दा शक्तिशाली भनिएको मुलुक पनि यसलाई रोक्न सक्दैन ? तस्कर र दलालहरू कुन शक्ति, सुझबुझ र साँठगाँठसहित बाटोका सम्पूर्ण देशको व्यवस्थालाई किन्न सक्छन् ?

सबैभन्दा शक्तिशाली प्रश्न, फेरि पनि अर्को छ । साठी लाखदेखि एक करोड रुपैयाँ खर्च गरेर, दुःखकष्ट सहेर, ज्यानलाई जोखिममा राखेर तल्लो बाटो ‘पाताल’ पुग्छन् नेपालीहरू । सोध्नेहरू सोध्छन् — त्यत्ति रकम देशमै लगानी गरेको भए मालामाल हुन्थ्यो नि ? तर, उत्तर त्यति सहज छैन । देशले, नागरिकको लगानी सुरक्षित छ भन्ने कुरोको प्रत्याभूति कहिल्यै पनि दिन नसकेको सत्य हो । आजको लगानी, भावी सन्ततिका लागि पनि हुन्छ भन्ने ग्यारेन्टी यहाँ छैन । लगानीका क्रममा जोखिम आउन सक्छन् — पुँजीका, कानुनका, स्वास्थ्यका ।

तर, यस्तोमा नेपाल सरकार बलियो र विश्वसनीय अभिभावक र रक्षक बनेर उभिन्छ भन्ने विश्वास आजसम्म कुनै लगानीकर्ताले पाउन सकेको छैन नेपालमा । भ्रष्टाचार, भाइभतिजावाद, कृपावाद, चरम राजनीतिकरण र अस्थिरता — यी नेपाल सरकारका परिचायक हुन् । यस्तोमा, युवाले नेपालमा भविष्य देख्न नसक्नु स्वाभाविक हो । उपन्यासमा कर्म भलै फर्कियो देश, तर देश फर्कनुका कारणमा उसले कतै पनि मेरो देशको जिम्मेवार सरकार, चुस्त कानुन व्यवस्था, बलियो सुरक्षातन्त्र, पारदर्शिता…केही भनेन । बरु, प्रकृति भन्यो, डाँडाकाँडा, पाखापखेरा, हिमाल पहाड, छाँगा छहरा भन्यो । खोलानाला भन्यो, पानी–पँधेरा भन्यो । यानि, ऊ एउटा रुमानी सपना बोकेर आदर्शको कल्पनामै घर फर्केको हो । उसलाई तान्ने ‘पुल फ्याक्टर’ यहाँको व्यवस्था हुँदै होइन । तर यस्तो रुमानी आदर्शले सुरक्षा दिँदैन, भविष्य दिँदैन । पटक्कै दिँदैन ।

प्रश्न पुँजी, लगानी र कमाइको हुँदै होइन । प्रश्न सुरक्षाको प्रत्याभूतिको हो, प्रश्न भविष्यको हो । र यस प्रश्नको उत्तर नकारात्मक हुँदै गएको वर्षौं भइसकेको पनि सत्य हो । उपन्यासले यसरी झकझक्याउँछ पाठकको मन र मस्तिष्क ।

केही टिप्पणी छन् । पहिलो, कथावस्तु नयाँ होइन, पुरानै हो । दोस्रो, उपन्यास कथावाचनमा बढी केन्द्रित छ । ‘सोविङ’ कम, ‘टेलिङ’ बढी । कलात्मकताको कसीमा औसत छ । उक्ति वैचित्र्य वा सूक्तिमयता विरलै भेटिन्छ । रैखिक कथा प्रवाह छ, प्रयोगहरू छैनन् । कल्पनाशक्तिको उदात्तता कम र यथार्थ घटनाको टिपोट बढी लाग्छ ।

र, अन्त्यमा कर्म र जनकका बाहरूको स्वदेश फिर्ती बुझ्न सकिन्छ । नेपालमै पूरा उमेर खपाएका उनीहरूले बचेकुचेका केही वर्ष नेपालको प्रकृतिमा बिताउँछौँ भन्नु वाञ्छनीय छ, तर फगत डाँडाकाँडा, पहाडपर्वत भनेर, कर्मको उमेरको कुनै नेपाली युवाले नेपाल फर्कनु आदर्शवादको पराकाष्ठा हो, फगत एक भावुकता हो । र, थोरैभन्दा थोरै, यानि नगण्य सङ्ख्याका नेपालीहरूको यथार्थ हो । त्यस नगण्य यथार्थभित्र त लेखक पदम विश्वकर्मा आफैँ पनि पर्दैनन् । कर्मलाई स्वदेश फर्काएर उपन्यासलाई एउटा अपत्यारिलो र आदर्शवादी पटाक्षेप दिने बाध्यता किन प¥यो, बुझिँदैन । अमेरिकामा बल्लतल्ल अलि अलि पलाउन थालेको ऊ नेपालमा अब फेरि कसरी लहलहाउन सक्छ, र उसको कथाले ऊजस्ता युवालाई के प्रेरणा दिन्छ, त्यो लेखकलाई नै थाहा होला ।