बालसाहित्यका विभिन्न विधामा अनगिन्ती सिर्जना प्रस्फुटन गर्नुभएका साहित्यकार रामविक्रम थापाले लघुकथा, कविता (गद्य र पद्य) र निबन्ध विधामा दर्बिलो पहिचान बनाइसक्नुभएको छ । उहाँका कृतिहरूमध्ये ‘पात्रहरू’ लघुकथासंग्रह, ‘राम्रो बानी’ बालकविता संग्रह भने चर्चित छन् ।

विज्ञान विषयमा स्नातक र शैक्षिक प्रशासनमा स्नातकोत्तर गरेका थापाको व्यक्तित्व शिक्षण सेवा र शिक्षा प्रशासनसित पनि गाँसिएको छ । उहाँ रावासावा प्रतिभा पुरस्कार–२०७१ तथा विभिन्न पुरस्कारबाट सम्मानित भैसक्नु भएको छ ।

यस आलेखमा शब्दार्थ प्रकाशन काठमाडौंबाट प्रकाशित उहाँको बालकविता संग्रह “राम्रो बानी (२०६३)” भित्रका कविताहरूको समीक्षात्मक विवेचना गर्ने उद्देश्य रहेको छ । ४७ पृष्ठको यस संग्रहमा ४२ ओटा बाल कविता सङ्ग्रहित छन् । कविताका शीर्षक र भाव अनुकूलका चित्रहरुले सजिएको यस बाल काव्यकृतिले असल बन्न चाहने नानीहरूलाई पोषिला अनि गुनिला खुराक दिएको छ ।

‘खाँटी धन’ शीर्षकको पहिलो कविताले नै पाठकहरूलाई जीवनको असली धन के हो ? त्यस विषयमा खुलस्त पारिदिएका छन् । मानिसको सबैभन्दा ठूलो धन– ऊ भित्रकै मन हो, मन पछिको धन स्वास्थ्य हो, अनि शिक्षा हो, त्यसपछिको धनमा काम गर्ने तन, मन र जाँगर हो । इज्जत, इमान, इष्टमित्र, शुभेच्छुक, आफन्त, स्वाभिमान, स्वतन्त्रता र शान्तिलाई कविले मनुष्य जुनीका अनमोल धनको कोटिभित्र राख्नुभएको छ । सुन, चाँदी, रुपैयाँ, पैसालाई भन्दा विद्याबुद्धि, विवेक, इमान, इष्टमित्र र कर्मठतालाई उहाँले सच्चा धनको श्रेणीमा प्रतिष्ठापित गर्नुभएको छ ।

संग्रहभित्र अखण्ड नेपालको चित्र प्रस्टसित बोलेको छ । जाति, भाषा, लिङ्ग वर्ण, सम्प्रदायले हामी जति नै पृथक् पृथक् कित्तामा छरिए पनि हाम्रो नशा नशामा एउटै रातो रगत प्रवाहित छ, नेपाल हामी सबैको साझा घर हो  भन्ने कुरालाई कविले गहन रूपमा आत्मसात् गर्नुभएको छ ।

शान्तिका दूत गौतम बुद्धले ज्ञान छरेको यो भूमि लालीगुराँस, सगरमाथा, अरनिको, देवकोटा र मादलु लोक भाकाले संसारभरि विख्यात रहेको सत्यलाई यसरी चित्रण गरेका छन् :

शान्तिदूत गौतमको हाम्रो नेपाल

हिमालमुनि गुराँस फुल्ने राम्रो नेपाल

अरनिको सीपजस्तै कला नेपाल

नारायण गोपालको गला नेपाल

विश्वभरि वीरताको सान नेपाल

घाम जून समानकै मान नेपाल (पृष्ठ – ७)

कवि थापाले जीवन र प्रकृतिका साना साना सन्दर्भहरू टिपेर सूक्तिमूलक पङ्क्ति निर्माण गरेका छन् र बालचेतनालाई थप उत्साहित पारिदिएका छन् । काम गर्दा भोलि नभन्नू, कामलाई भोलिको पोल्टोमा हाली दिँदा आफ्नो झोली रित्तो रहने कुरालाई मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । भित्तेघडी हेर– एक सेकेन्ड अल्छी नगरी निरन्तर चलिरहन्छ, बालीबिरुवा पनि रोपेपछि मात्र फल्छ, नरोपी फल्दैन पढ्ने गुन्ने काम पनि बिरुवा रोपेजस्तै कुरा हो, यसलाई खेलाँची ठान्नु हुन्न भन्ने कुरालाई यसरी प्रस्तुत गरेका छन् ः

रोपे मात्र फल्छ

बालेर नै बल्छ

पानी जस्तै बग्दै

समय जो ढल्छ

थाल पढ्न गुन्न

तब भोलि रुन्न

आजै गर्नुपर्छ

भोलि कैल्यै हुन्न ।  (पृष्ठ –८)

कवि कतै फूलको सौन्दर्य, कतै पुतलीको चञ्चलता, कतै जूनको मुस्कानको वर्णन गर्छन् । प्रकृतिका हर लयसित एकाकार बन्दै प्रकृतिगीत गाउँछन् । नेपालका वीरविराङ्गना र अमर विभूतिहरूको महिमालाई सुन्दर अक्सर बिम्बमा आरेखित गरेका छन् । प्रकृति, संस्कृति र इतिहासमा अजर अमर देश आज किन सङ्कीर्ण जात, भात, रङ र प्रदेशमा विभाजित हुन खोजेको छ, यस विषयमा कविले आपत्ति जनाएका छन् । राष्ट्र विभाजित हुनुहुन्न भन्ने कुरालाई कविले यसरी वर्णन गरेका छन् ।

फूलबारी सानो तर अनेक थरी फूल

जातभातमा टुक्रिएर नगरौं है भूल

यो आँखाको नानी जस्तै अति प्यारो देश

बेग्लै हाम्रो विशेषता छ आफ्नै भाषाभेष (पृष्ठ –  १०)

समानता, स्वतन्त्रता र स्वाधीनता सहितको नयाँ नेपालको सपनालाई कविले कतिपय कविताको केन्द्रीय कथ्य बनाएका छन् । देशमा गरिबी छ, रोग छ, भोक छ, अभाव र विपन्नता छ । यी तमाम समस्याबाट मुक्तिको कामना गरेका छन् । समानता र समावेशी नेपालको चित्र हृदयभरि सजाएका छन् । कुप्रथा र कुसंस्कारको विरोध, समुन्नत वैज्ञानिक संस्कृतिको निर्माण, उनका कविताको मूलभाव बनेको छ ।

कवितामा निख्खर ग्रामीण जीवनको सङ्लो चित्र नाचेको छ । हाम्रा चौतारी भन्ज्याङहरु बोलेका छन् । हाम्रा मेलापातहरू गीत बनेर छल्किएका छन् । आफ्नै गाउँबेसी, पाखापखेरा र खेतबारीहरू कवितामा अनुगुञ्जित छन् । जसलाई कवि यसरी मुखरित गर्छन्–

जाँतो घुमेकै छ

ढिकी चलेकै छ

मेला पर्म अनि

गाउँमा अझै पनि

सिस्नो खोले खाँदै

खेतबारी जाँदै

कोही छैन धनी

गाउँमा अझै पनि    (पृष्ठ – १२)

नानीबाबुहरूलाई कर्तव्यको पाठ सिकाउने कविताहरू छन् । नानीहरूलाई कमलको फूल जस्तै फुल्नु पर्ने, टारी खेतमा धानको बालासितै झुल्नु पर्ने र अग्रगामी यात्रामा हिँड्दा हरेस खानु नहुने कुरा गरेका छन् । आखिरमा सत्यको जित हुन्छ । कर्मयोगी बन्नुपर्छ । जस्तै हेरौं ‘कर्तव्य’ कवितामा

सत्यको नै जीत हुन्छ, अनि किन ढाँट्ने ?

असम्भव केही हुन्न, किन पो नआँट्ने ?

नामी मान्छे, जति बने पहिले सानै थिए ।

कर्मयोगी बनेर नै त्यत्रो योगदान दिए ।

हामी मान्छे जन्मिएका खान मात्र हैन

राम्रो नाना मीठो खाना महत्त्व नै छैन

पुग्नलाई निरन्तर हिँडिरहनुपर्छ

अमर हुने काम गर्दै ठूलो मान्छे मर्छ    (पृष्ठ–२५)

नानीहरूलाई मीठा र गुनिला सन्देश दिन कवि सक्षम छन् ।

बालकलाई यी नाथे भुराभुरी भनेर हेप्नेहरू यही समाजमा छन् । जन्ती जाँदा पनि भात खान छुट्टै लाइनमा राखिन्छ । भुरा भनेर अछुतको व्यवहार गरिन्छ । ठूलालाई थालमा सानालाई बटुकामा भेदभाव गरिन्छ, त्यसप्रति कविको सजीव चित्रण यस्तो छ–

थालभरि ठूला खाने

बटुकामा साना

ठूला मान्छे सिङ्गै खाने

सानालाई चाना

…        

सानालाई हेप्नु हुन्न

सानापनि मान्छे ।

-बालशोषण पृष्ठ – २७)

जाडो, गर्मी, झरी, बादल जस्ता प्रकृतिमा नियमित ऋतुचक्रहरूको सजीव चित्रण गरेर पनि मार्मिक कविताहरू रचिएका छन् । पैरो, भलबाढीको प्रकोप, सर्प, बिच्छी भ्यागुताको बिगबिगी कविताका विषयवस्तु बनेर आएका छन् ।

‘राम्रो बानी’ कविता यस संग्रहकै प्रतिनिधि कविता हो र शीर्षक पनि । यसमा आफ्नो औकात हेरेर काम गर्नुपर्छ । आम्दानी हेरेर खर्च गर्नुपर्छ । बाआमा हाम्रा पालनकर्ता हुन् । उनीहरू ममताका खानी हुन् । खराब बानी त्यागेर राम्रो बानी अवलम्बन गर्नुपर्छ । अर्काको देखासिकी गर्नुहुँदैन । आफ्ना मातापितालाई कचकच गर्नुहुँदैन । घाँटी हेरी हाड निल्नुपर्छ जस्ता आप्त वचनहरू कवितामा यसरी उद्धृत गरिएका छन् :

घाँटी हेरी हाड निल्ने बानी अति राम्रो

घोडा भनी धुरी चढ्ने बानी जो नराम्रो

आम्दानीको तुलनामा खर्च पनि हेर

बाबा आमासित माग गर्नुहुन्न धेर

आमा–बाबा पालनकर्ता ममताका खानी

राम्रो बानी लिएर नै बन्नुपर्छ ज्ञानी

अब देखि खराब बानी पखालेर धोऊ

ठूलो मात्र होइन तिमी, राम्रो मान्छे होऊ

-राम्रो बानी – पृष्ठ – ६४)

कविले नव वर्षलाई सिर्जना र सफलतामा, आरोग्य र आनन्दमा बिताउनु पर्ने सुन्दर भावहरू एकातिर व्यक्त गरेका छन् भने अर्कातिर नयाँ वर्षले गाँस बास कपासमा प्रत्येक नेपालीहरू आत्मनिर्भर बनाओस् भन्ने भाव प्रकट गरेका छन् । खराब काम र व्यर्थका बकवासमा समय नष्ट पार्ने स्वभावहरू परित्याग गर्नुपर्ने आग्रह छ ।

पहाडी गाउँ र पहाडी जीवनप्रति गहिरो अनुराग छ कविमा ।

पहाडको गाउँ

रमाइलो ठाउँ

पानी कति दामी

हावा उस्तै नामी

अझै बोक्सी धामी

हेर्न जाऊ हामी

-पहाडको गाउँ – पृष्ठ – ३३)

कविले सानासाना कुरालाई कविताको विषयवस्तु बनाएर राष्ट्र र राष्ट्रियताको दर्बिलो पैरवी गरेका छन् । ‘टोपी’ कवितामा टोपीलाई सगरमाथासित तुलना मात्र गरेका छैनन्, यो हामी नेपालीको राष्ट्रिय पहिचान हो, स्वाभिमानको निशानी हो । आफ्नो भाषा, भेषभूषा, संस्कृति र पहिरनको खुल्ला पैरवी गरेका छन् । विदेशी फेसनको नक्कल नगरौँ । दौरा सुरुवाल, सारी चोलो, पटुका र टोपीको महिमा गान गरेका छ :

टाई भन्दा कति राम्रो हाम्रो ढाका टोपी

टाउकामाथि हाम्रै हिमाल सगरमाथा हो कि

कविले नेपालको प्राकृतिक वैभव र सुन्दरतालाई मृदुल लयमा वर्णन गरेका छन् । हिमाल, पहाड, तराईको सम्पदालाई यसभित्रका अतुल सम्भावनालाई उजागर गरेका छन् । यहाँको प्राचीन कला, संस्कृति र इतिहासलाई रिट्ठो नबिराई चित्रण गरेका छन् । यहाँको ताल, गुफा, पोखरी, झरना, छहरा, पहरा, वनजंगल, हरियाली, जीवजन्तुको महत्वलाई काव्यपंक्तिमा सुन्दर ढङ्गले उनको छन्:

सगरमाथा र अरू धेरै कञ्चन हिमाल

सानो र गरिब भएर पनि नेपाल विशाल

ताल गुफा पोखरी अनि झरना छहरा

हरियो वन कृत्रिम छैनन्, पाखा र पहरा 

मधेशतिर गैँडा र हात्ती हिमालमा चौरीगाई

अनेक जात पराई छैनौँ सबै हौँ दाजुभाइ

-नेपाल हेर्न आऊ पृष्ठ – ४३)

जगत् जननी आमा ममताकी खानी हुन् । आमाको आत्मा विशाल हुन्छ । आफू रोएर अरूलाई हँसाउन सक्ने दिव्य गुण कसैसित हुन्छ भने त्यो आमासित मात्रै हुन्छ । हिमाल भन्दा अग्लो छ आमाले सन्तानको लागि दिने प्रेम र ममता÷ समुद्र जस्तै गहिरो र सङ्लो छ आमाको वात्सल्य गाथा । पृष्ठ–४४ को ‘आमा’ कविता यही विषयमा आधारित छ ।

अन्तिम कविता हो – ‘असारको किसान’ । किसान जगत्को पालनकर्ता हो । ऊ धर्तीको पुजारी अन्नदाता हो । ऊ लोकभाकाको जुवारी गाउने गायक पनि हो । उसको श्रम र पसिनाबाट सकल दुनियाँले पेट भर्न पाउँछन् । तर कृषि प्रधान मुलुक नेपालमा किसान परित्यक्त छ । सारै सुन्दर पङ्क्तिमा कवि किसानको महिना गान यसरी गर्छन् ।

असार आयो नव पर्व ल्यायो

किसान सारा अब हर्ष छायो

ऊ अन्नदाता धरती पुजारी

त्यो लोकभाका गजबै जुवारी

यस सङ्ग्रहमा आवेष्टित अधिकांश कविता नेपालका चर्चित तथा स्थापित पत्रपत्रिकाहरू गोरखा पत्र (शनिवारीय अंक), कान्तिपुर (कोपिला), बालक, चिचिला, मुना, बालबगैँचा, टुकी, प्रहरी, मिर्मिरे र मनोभावमा अगाडि नै प्रकाशित भैसकेका कविता हुन् र यसरी छरिएका कवितालाई एकमुष्ट रूपमा एउटै बिटोमा पाउनु बालकविता प्रेमीका लागि एक अहोभाग्य हो । थापा एक स्थापित बाल साहित्यकार व्यक्तित्वको रूपमा मोफसलमा रहेर साधनारत अक्षर शिल्पी हुन् ।

प्रौढ भावमा प्रौढ पाठकका निम्ति कविता रच्न बरु सजिलो छ । तर, एउटा स्रष्टाले बालवयको अनुभूतिमा ओर्लेर बालकका निम्ति बालकविता रच्नु साँच्चै कठिन कार्य हो । भन्नलाई सजिलो छ तर बालकविता रच्नु जोखिम र चुनौतीपूर्ण कार्य हो । यस कार्यलाई कवि थापाले सहज रूपमा वरण गरेका छन् । र यस सिर्जनकर्ममा कवि सर्वथा सफल देखिएका छन् ।

समग्रमा कवि थापाको बाल काव्यकारितालाई अवलोकन गर्दा सरल, सरस, सहज र सम्प्रेष्य भाषामा जनजीवनका आन्तरिक तथा बाह्य विषयवस्तुलाई शीर्षक बनाएर सुन्दर कविता सिर्जना गर्न सक्ने कवि हुन् । भावलाई लयमा गुनगनाउन सक्ने, छन्दमा त्यसलाई उन्न सक्ने, गतियतिको आरोह अवरोहलाई सन्तुलनमा हिँडाउन सक्ने कवि हुन् ।

वस्तुतः  उनका कवितामा जीवनको चित्रण छ, समाजको चित्रण छ । प्रकृति र संस्कृतिको चित्रण छ । एउटा आदर्श समाज स्थापनाको दिशामा उनका काव्योक्तिले केही न केही सन्देश र दिशानिर्देश गरेको कुरा स्पष्टतः गोचर हुन्छ ।

भाव र विषयवस्तुमा केही पुनरुक्ति दोषबाट भने कतिपय कविताहरू अछुता छैनन् । तथापि ती कुरा पाथी चामलमा एक छुस्की बियाँ भेटीजस्तो हुन जाला । मोफसलमा रहेर पनि अनवरत अक्षर साधनामा लीन कवि राविथाबाट अझ चहकिला, अझ महकिला र अझ सुन्दर काव्य कृतिको याचना सहित यो लेखनीलाई बिराम दिन्छु । जय बाल साहित्य ।