कथा एक — लामो चिनजान, डेटिङ, एक–अर्काको परख, विवाह । तर, विवाहको केही सातापछि नै अनुष्का आफैँलाई आफ्ना पति मायल्ससँग सहवासका लागि अनिच्छुक पाउँछिन् । मायल्स भने करिब करिब सेक्स–एडिक्ट । अनुष्काकै भाषामा ‘म्याड ह्वाइट म्यान । सेक्स एडिक्टेड ।’ सम्बन्धमा, स्वभाविक रूपले दरार आउँछन्, र एक दिन अनुष्का, मायल्सको घर र जीवन दुवैलाई छोडेर निस्किन्छिन् । उपलब्धि के ? रात अनि आराम । रात अनि शान्ति । रात अनि स्वतन्त्रता ।

कथा दुई — एसियाली मूलकी मिसेस शर्मा । उनका पति अमेरिकी पुरुष मिस्टर ब्राउन उर्फ ट्रोए । विवाह गरेको पच्चीस वर्ष भइसक्यो । छोरी ग्रेस पनि ठूली भइसकेकी छे । तर, श्रीमान्–श्रीमतीबीच सम्बन्धमा माधुर्य छैन । मिसेस शर्मालाई सधैँ युटीआईको समस्या, ढाड दुख्ने समस्या । कम्पनीको काममा प्रायः बाहिरै हुने श्रीमान्लाई घर आएपिच्छे सेक्स चाहिने । रातबिरात नभन्ने । घरका अन्य सुखदुःखसँग मतलव नराख्ने । विवाहको पच्चीस वर्षपछि एकदिन मिसेस शर्मा अचानक घर छोड्छिन् र आफ्ना बाआमाकहाँ जान्छिन् । भन्छिन्— ‘त्यहाँ गएदेखि खाना केही रुच्न थालेको छ । आई एम गेटिङ बेटर ।’

कथा तीन — ती प्रेमीहरूको कथा, ती दम्पतीहरूको कथा, जो खुसी छन्, एकअर्कामा समर्पित छन् । ती अविवाहितहरू, जो रेष्टुरेन्ट धाउँछन्, र त्यहाँ आउने तरुनीहरूसँग रमाइलो गर्छन् । वा, मिया र ओस्करजस्ता प्रेमिल जोडी, जो प्रेम हुँदै विवाहको निर्णयमा पुग्छन्, र खुशी छन् । ती ‘नर्मल’ हरू । दुःख होला, तर अन्य कारणले । यौनिक कारणले होइन ।

अमेरिकावासी आख्यनकार जे.एन. दाहालको पछिल्लो उपन्यास ‘प्रहेलिका’ का अधिकांश पात्रहरू ‘टाइप क्यारेक्टर’ हुन् । उनीहरू विभिन्न कोटिका मान्छेहरूको प्रतिनिधित्व गर्छन् । मिया–ओस्करको जोडी एक ‘सामान्य’ जोडी हो, यस अर्थमा कि सामान्यतः महिला–पुरुषको अनिवार्य लैङ्गिक चयन एक विपरीत लिङ्गी पार्टनर नै हो, र त्यो नै प्राकृतिक समीकरण हो भन्ने समाजको बुझाइ छ । मिसेस शर्मा र मिस्टर ब्राउनबीचको सम्बन्ध भने ‘अप्राकृतिक’ लैङ्गिक स्वभावको उपज होइन, यो प्रतिकूल स्वास्थ्यका कारण बिग्रेको सम्बन्धको उपज हो । मिस्टर ब्राउनमा देखिएको जस्तो अतिशय यौनेच्छा प्राकृतिक स्वभावको उपज कम र सोच वा कमजोर आत्मनियन्त्रणको उपज बढी हो । मिसेस शर्माको स्वास्थ्य ठीक रहँदो हो त यो सम्बन्ध व्यवस्थित हुने सम्भावना देखिन्छ । आखिर, त्यही विवाह, र त्यही सम्बन्धबाट छोरी ग्रेस जन्मेकी छिन्, र झलक्क हेर्दा सब ठीक छ । यो सेक्सको समस्या हो, सेक्सुवालिटीको होइन ।

उपन्यासको मूल कथानक कथा नम्बर एक, यानि अनुष्का र मायल्सको सम्बन्धको वरिपरि बढी घुमेको छ । पाठकका लागि सबैभन्दा चाखलाग्दो विषय पनि यहीँ छ, र उपन्यासमा नवीनताको कडी कतै छ भने यहीँ छ ।

नेपालको काठमाडौँमा ‘लिभिङ होम ओर्फानेज’ मा मीरा दिदीको अभिभावकत्वमा हुर्केकी हुन् अनुष्का । यो बाहेक उनको बाल्यकाल र परिवारको कुनै जानकारी छैन । उनी डिभी परेर अमेरिका पुगेकी हुन् । अकाउन्ट पढेकी भए पनि सुरुमा पाएको काम भने होटलको फ्रन्ट डेस्कको हो । काम गर्ने होटल मल्बेरीमा इको ल्याब कम्पनीबाट सरसफाइका सामान डेलिभर गर्न आउने आइरिस मूलको अमेरिकी युवक मायल्ससँग भेट, चिनजान, माया–पिरती हुँदै विवाह भएको । तर, विवाह भएको केही सातामै अनुष्काले आफूमा यौनप्रति कुनै चाह वा आकर्षण नभएको अनुभव गर्छिन् ।

फलतः उनको र मायल्सको दाम्पत्यमा खटपट हुन थाल्छ । घरको खटपटबाट मुक्तिका लागि अनुष्का किन्डलमा उपन्यास पढ्ने आदत बसाल्छिन् । मायल्स भने साथी ग्रेसनसँग भिडियो गेम खेल्ने, आइरिस बार धाउने, बियर पिउने, त्यहाँकी बारमेड स्टेसियासँग जिस्कने र बढेमानको क्युबेन सिगार पिउने लत बसाल्छ । मायल्सकै सुझावअनुसार अनुष्का आफूमा यौन चाहना फिटिक्कै नहुनु नर्मल हो वा होइन भन्ने जाँच्न डाक्टरकहाँ जान्छिन् । डाक्टर जेरथले थेरापिस्टकहाँ रिफर गर्छिन् । थेरापिस्टको निचोड छ — ‘तपाईं एसेक्सुवल हुनुहुन्छ ।’ यो सूचना मायल्सका लागि अपाच्य हुन्छ । भन्छ, ‘ह्वाट अ फकिङ जोक ।’ अनुष्का मायल्सबाट अगल हुने निर्णय सुनाउँछिन् र केही दिनमै युनिक ट्रिज अपार्टमेन्टमा सर्छिन् । मायल्स बिल्कुलै रुष्ट छ । सधैँ जचाउन जाऊ भन्ने ऊ, जाँचको परिणाम पचाउन सक्दैन र आफू एक गैरजिम्मेवार र विरोभाधासपूर्ण मान्छे भएको परिचय दिन्छ ।

सारमा ‘प्रहेलिका’ को कुरा यही हो । तर, अन्तर्यमा यसले धेरै कुरा बोकेको छ । मान्छे शरीरतः पुरुष होला, महिला होला । तर, शरीरको वाह्य संरचनाले उसको यौनिकता निर्धारण गर्दैन । सिद्धान्तशास्त्रीहरूले यौनिकतालाई, त्यसैले पनि, एक तरल विषय बताएका छन् । यसै अवधारणाको विकसित सैद्धान्तिक स्वरूप हो ‘क्वैर थ्योरी’, जसले मान्छेलाई पुरुष वा महिलाको अस्तित्वका अतिरिक्त समलिङ्गी, तेस्रो लिङ्गी, उभयलिङ्गी, यौनिकतारहित एसेक्सुवल आदि विविध र पहिले चर्चामा नरहेका यौनिक स्वभाव भएका मान्छेहरूको अस्तित्वलाई पनि स्वीकार गर्दछ । जानकारहरू भन्छन्, मान्छेको यौनिकता उसको प्रकृतिप्रदत्त स्वभाव हो, र त्यसलाई चेतना, आवश्यकता वा आत्माबलले नियमन गर्न सकिँदैन । गर्न खोजे दुःख हुन्छ, दुर्घटना हुन्छ, सम्बन्धहरू बिग्रन्छन्, परिवारहरू टुट्छन् । पुरुष र महिला — यी दुई यौनिक यथार्थलाई मात्रै मान्यता दिएको समाजमा अन्य यौनिकता भएकाहरू दलनमा पर्छन्, उपेक्षाका पात्र हुन्छन्, अथवा उपहासका भागी हुन्छन् । खुलेर भन्न पनि सक्दैनन्, सहेर बसिरहन पनि सक्दैनन् । फलतः उनीहरू भित्रभित्रै टुट्दै जान्छन्, फुट्दै जान्छन् । उनीहरू ‘प्रहेलिका’ की अनुष्काजस्ता हुन्छन् । पछि गएर बोल्लान्, तर त्यस बेलासम्मसम्म सुस्क्विहन्ना नदीमा धेरै पानी बगिसक्छ ।

उपन्यासले सतहमा ल्याएको यौनिकताको यो निकै कम खोदलिएको पाटो नेपाली पाठकका लागि नयाँ हुन सक्छ, यद्यपि विश्वसाहित्यका लागि यो नवीन विषय होइन । नेपाली साहित्यतिर हेर्ने हो भने पुष्कर लोहनीको ‘अदृश्य मान्छे’, तर्कना शर्माको ‘जेब्राक्रस’ वा जया ओझाको ‘अनुराग’ को सापेक्षतामा पनि ‘प्रहेलिका’ को पृथक् अस्तित्वको परख गर्न सकिन्छ ।

उपन्यासको मूल विषय फरक लैङ्गिकताको घर्षण नै हो । तर, साथसाथै आचरण र सोचहरूको घर्षण पनि सहायक विषयको रूपमा उपन्यासमा आएको छ । डायस्पोराहरूको जीवनको अनिश्चितता, खुकुलिँदै गएको सन्तान–अभिभावक सम्बन्ध, अन्तर–सांस्कृतिक विवाहका जटिलता, अमेरिकामा जागिर र परिवारबीचको जटिल सन्तुलन, पब कल्चर, धैर्य गुमाउँदै गएको युवापुस्ता आदि विषयलाई पनि उपन्यासले समेटेको छु ।

यो उपन्यास आख्यानकार जे.एन. दाहालको लेखकीय क्षमता र उनको सिजनात्मक सुझबुझको क्रमिक विकासको प्रमाण हो । उनमा भाषाको बलियो पकड, आफूले उठाउने विषयको यथेष्ठ ज्ञान, प्रतीकहरूको सटीक प्रयोगको सचेतता र कौतूहलपूर्ण प्रस्तुतिको स्वस्थ ज्ञान भएको देखिन्छ । आख्यानको क्षेत्रमा उनी लामो यात्राका लागि निस्केका साधक हुन् भन्ने कुराको यो एक बलियो प्रमाण हो ।

तर, उपन्यासले प्रश्न गर्ने केही ठाउँ छोडेको छ । एसेक्सुवल अनुष्का विवाहपूर्व मायल्सप्रति कसरी आकर्षित भइन्, कसरी डेटमा गइन्, कसरी बिहेका लागि राजी भइन् ? आखिर, आफ्नो असामान्य यौनिक स्वभाव बारे अनुष्काजस्ता एसेक्सुवललाई आफू वयस्क हुँदाहुँदै थाहा हुँदैन र ?

उपन्यास आफैँ भन्छ— उनले विवाहपूर्व एकचोटि मात्रै हस्तमैथुन गरिन् । यस्तो स्थितिमा, प्रेममै परे पनि, सुरुकै दिनमा यौनप्रतिको अनिच्छा, कुनै न कुनै रूपमा अभिव्यक्त हुँदैन र ? यो अलि पछि गएर थाहा पाइने विषय नै होइन । उता, मिसेस शर्माको हकमा, एक वा दुई होइन, पच्चीस वर्षसम्म युटिआईको समस्या विद्यमान हुनु, तर श्रीमान्–श्रीमती अथवा, पछि बढेकी छोरी ग्रेससँग पनि यो स्वास्थ्यको समस्या, यसको चेकजाँच वा उपचारको विषय चर्चामा नआउनु सन्देहको विषय हो । यसले मिसेस शर्मालाई आवश्कताभन्दा कमजोर पात्रको रूपमा चित्रण गरेको छ, र मिस्टर ब्राउनलाई आवश्कताभन्दा धेरै बढी क्रूर पात्रको रूपमा चित्रण गरेको छ । यस सम्बन्धमा संवादले समाधान दिन सक्थ्यो ।  यो, सारमा यौनिकताको समस्या होइन, रोग र यौनबीचको घर्षणको समस्या हो ।

त्यसैले, ‘प्रहेलिका’ ले समान लाग्ने तर दुई फरक विषयलाई एक ठाउँ उभ्याएको छ । मिसेस शर्माको बेकग्राउण्ड, बालापन, युवाकाल र यौनिक रुझान् कतै पनि खुलाइएको छैन । उनी कम्मरको समस्या र युटीआईबाट पीडित छिन्, यो बाहेक पाठकसँग उनको यौनिक स्वभावको ज्ञान छैन । फाटफुट छुट्न पुगेको भाषिक त्रुटि त खैर सम्पादकको पाटो भयो ।

विषयवस्तुको नवीनताका कारण ‘प्रहेलिका’ एउटा चाखलाग्दो उपन्यास त हो नै । त्यसका अतिरिक्त, अचेल, फरक लैङ्गिकताको अध्ययनमा नयाँ चासो बढेको सन्दर्भमा पनि यो उपन्यास एउटा राम्रो सन्दर्भसामग्री हुन सक्नेमा कुनै शङ्का छैन ।

उपन्यास : प्रहेलिका

लेखक :  जे. एन. दाहाल

प्रकाशक : साङ्ग्रिला

प्रकाशन वर्ष : २०८०