भारतीय नेपाली साहित्यमा हाइकु लेखन तथा हाइकु लेखनको सैद्धान्तिक अध्ययन-अनुशीलन गर्न र विचार-विमर्श गर्न मन पराउनु हुने, उमेरले छयासी वर्ष पार गरिसक्नु भएका, तर युवा जोश र जाँगरका स्वनामधन्य कवि-साहित्यचिन्तक श्री वी. पी. मल्ललाई अब साहित्यिक परिचय दिई चिनाइरहनै पर्दैन ।
कवि मल्लका हालसम्म प्रकाशित आभास हरफहरूका (हाइकुसङ्ग्रह, सन् १९९३), अनुबोध क्षणहरूको बोध (हाइकुसङ्ग्रह, सन् २००३), खण्ड-प्रलय (खण्डकाव्य, सन् २०११), सामवेदी स्वर (कवितासङ्ग्रह, सन् २०१३) काव्यकृति नै उहाँका सक्कली परिचय हुन् । यसका अतिरिक्त अक्षरा, आकाश चोइटा-चोइटा अनि क्षितिज र अन्तरिक्ष शीर्षकका हाइकु र ताङ्का सङ्ग्रह पनि प्रकाशनको तयारीमा रहेको जानकारी पाइन्छ ।
कवि मल्ल हाइकु सर्जक मात्र नभई हाइकु लेखनको सैद्धान्तिक पक्षबारे गहिरो अध्ययन-अनुशीलन गर्ने एक जना गम्भीर अध्येता पनि हुनुहुन्छ । प्रस्तुत कृतिले हाइकु लेखनको सैद्धान्तिक विमर्श गर्दै हाइकुसम्राट मान्योशु बाशो र यासा बुसोनदेखिलिएर इस्सा, शिकीसम्मका हाइकुलेखन शिल्पशैलीगत विशेषता र वैशिष्ट्यबारे आवश्यक परिचय र ऐतिहासिक पृष्ठभूमिको सर्वेक्षण र परिचय दिने छ । वस्तुतः यस पुस्तकमा हाइकुलेखनको साहित्यसैद्धान्तिक विमर्श, उत्पत्ति र ऐतिहासिक विकासक्रमलाई स्पष्ट रूपमा रेखाङ्कन गरिएको छ ।
नेपाली साहित्यमा हाइकु लेखनको शुभारम्भ सम्भवतः शङ्कर लामिछानेबाट भएको मत हारूहितो नोजूले हाइकु कसरी लेख्ने भनेर सोच्दा-शीर्षक लेखमा प्रकट गरेका छन् । वि. सं. २०१९ सालमा रूपरेखामा प्रकाशित लामिछानेले ‘सूर्योदय‘ शीर्षकमा रचना गरेको सानो पंक्तिको कविताबाटै नेपालीमा हाइकु लेखनको विजारोपन भएको कुरो धेरै अध्येताहरूको धारणा रहेको छ । जीवनको गुढ रहस्य र प्राकृतिक सौन्दर्यलाई प्रतिबिम्बित गर्ने लामिछानेको सूर्योदय शीर्षक हाइकु तथा पारिजातको शिरीषको फूल उपन्यासमा रहेको हाइकु पनि उनकै सिर्जना हो भन्ने जानकारी पाइन्छ ।
हाइकुचिन्तक-स्रष्टा बाशो, योसा र इस्सालाई सुरुसुरुमा होक्कुका रूपमा लिने गरिए पनि कालान्तरमा स्वतन्त्र हाइकु र हाइकुकारका रूपमा ससम्मान पढ्ने गरिन्छ । बाशो एक कवि मात्र नभई हाइकाईलाई कलात्मक रूपमा संस्थापित गर्नमा उनको सबैभन्दा ठूलो योगदान रहेको बुझिन्छ । बाशोका धेरैजना अनुयायीहरू थिए जसमध्ये तेन दार्शनिकहरू कागामी सिको, ताकारी किकाकु, ताचिवाना होकुसी, हाजोरी रानसेसू, नाइतो जोसो आदिको नामोल्लेख गरिएको पाइन्छ । हाइकु र ताङ्का लेखनका साथसाथै यसको सैद्धान्तिक पक्षतिर चासो राख्नु हुने अर्का एकजना सर्जक-चिन्तक विष्णुबहादुर सिंहले आफ्नो मौन बतास नामक पुस्तकमा यस प्रकार लेखेका छन्- हाइकुका अनेक प्रयोग, अनेक विवाद र अनेक विचारले भन्दा पनि हाइकुको रूप, स्वरूप र स्वादले जापानी कवितामा उत्कृष्टता थपेको छ । यसैको फलस्वरूप पाश्चत्य मुलुकमा समेत हाइकु लेखन प्रसिद्ध छ । … यसरी हाइकुलेखन विश्वभरिका ठूला-ठूला कविहरूका लागि पनि आकर्षक हुन गएको छ ।
समकालीन कविताका विविध प्रकारमध्ये जापानी साहित्यबाट प्रणित हाइकु, ताङ्का, सेदोकालाई कविताको एउटा विशेष प्रकार मानिँदै आएको छ । हाइकु र ताङ्कामा व्यक्तिगत जीवनको सुख-दुःख, पारिवारिक र सामाजिक विसङ्गति र विडम्बना, प्रकृतिको विविध रूप-सौन्दर्यको चित्रात्मक वर्णन तथा मनको आलोडन-विलोडन भाव नै मुख्य रूपमा प्रकट गरिएको हुन्छ । व्यक्तिगतदेखि लिएर समष्टिगत जीवनदर्शन तथा आध्यात्मिक चिन्तन र दृष्टिकोणले समेत यसमा प्रवेश पाएको हुन्छ । यसैकारण कतिपय हाइकु समीक्षकहरूले गागरमा सागर भनेका छन् भने कसैकसैले सुक्तिकाव्य र सुत्रकाव्य भनेर परिभाषित गर्न खोजेका छन् । बासोका मतानुसार हाइकु जीवनगत सत्यानुभूतिको अभिव्यक्ति हो । यो सम्पूर्ण कविता होइन तर विराट सत्यलाई इंगित गर्ने एउटा प्रवेशद्वार मात्र हो ।
हाइकुलेखनको सन्दर्भमा साहित्यालोचक डा. सत्यभूषण वर्मा आफ्नो हाइकु शब्दका उद्भाव र विकासः प्रयोग एवम् औचित्य शीर्षक लेखमा यस प्रकार लेखेका छन् – हाइकुमा तथात्मक सत्य अथवा काव्यात्मक सत्य दुईमध्ये कुनै पनि सत्य हुन सक्छ । तथ्यात्मक सत्य अनुभूत विषयको तथ्य चित्रणको आधार बन्दछ भने काव्यात्मक सत्य कवि हृदयको संवेदनात्मक प्रतिक्रिया अथवा भावानुभूतिको अभिव्यक्ति बन्दछ । हाइकु कविताहरू जापानी इतिहास, प्राचीन साहित्य पौराणिक कथा तथा लोकविश्वासहरूमा आधारित रहेको हुन्छ ।
हाइकुमा जीवन-जगत र प्रकृतिको बिम्बाङ्कन, अभिव्यक्तिको सहजता, शब्दको मितव्ययिता जस्ता विशेषताहरू जेन-दर्शनकै देन हुन् । नेपाली हाइजिन श्री वी. पी. मल्ल आफ्नो जापानेली हाइकुमा कोइली शीर्षक लेखमा यसप्रकार लेख्नुहुन्छ- हाइकुको परोक्ष प्रभाव व्यक्ति विशेषको क्रियासँगभन्दा बरू उसको मनोभावसँग रहेको हुन्छ अनि प्राकृतिक विघटनहरू मौसम अनि कालको सापेक्षतामा व्यक्तिको मनोभावहरू उद्गारका निम्ति नै प्रयुक्त भएका पाइन्छन् ।
अतः हाइकु अनुभूति हो, सम्वेदना हो, चित्रण हो, चिन्तन हो । इतिहासले बताएअनुसार जापानमा प्रबन्धकाव्य लेखनको परम्परा र प्रचलन विकसित भएको छैन । हाइकु लेखनको परम्परा ऐतिहासिक पृष्ठभूमि तथा हाइकु सर्जकहरूको परिचय, लेखनगत प्रवृत्ति, पक्ष र विशेषताबारे धेरै कुरा जान्ने बुझ्ने जिज्ञासु जमात जुर्मुराइरहेको समय नेपाली भाषामा पनि केही सिर्जनात्मक कृतिका साथसाथै सैद्धान्तिक विमर्शका पुस्तकहरू पनि मनग्यै नभएर पनि धेरथोर प्रकाशनमा आएका छन् ।
जसमध्ये अभि सुवेदीको अनुवाद र माधवलाल कर्माचार्यको सम्पादनमा ‘जापानी हाइकुः हिजो र आज‘, क्षेत्रप्रताप अधिकारीको ‘जापानी साहित्यको इतिहास, हाइकु र हाइजिन‘, बी. के. पाल्पालीको ‘हाइकु साहित्य र सैद्धान्तिक अवधारणा‘, गोविन्द गिरी प्रेरणाको ‘जापानी साहित्यको सङ्क्षिप्त झलक‘ आदि ग्रन्थहरू कै गुरु-परम्परामा प्रस्तुत पुस्तक अलिक बेग्लै र नयाँ बान्की लिएर पाठक समक्ष आइपुगेको छ ।
हाइकुकार एवम् साहित्यचिन्तक श्री मल्ललिखित प्रस्तुत कृति ‘हाइकुः सिद्धान्त, परम्परा र प्रयोग‘ नामक कृतिमा हाइकु सम्राट बाशोदेखि शिकीसम्मका हाइकुलेखनको प्रवृत्तिगत विशेषता, सैद्धान्तिक चिन्तन एवम् विवेचनात्मक अध्ययन-अनुशीलन गरिएको छ । यसका अतिरिक्त प्रत्येक हाइकुकार र तिनीहरूका हाइकुलेखनगत प्रवृति एवम् विशेषता केलाउँदै जापानी भाषाको नमूनाका साथै त्यसको नेपाली अनुवाद पनि राखिएको छ । यसका साथै हिन्दी र नेपाली साहित्यमा हाइकु लेखनको स्थिति र विकासबारे सङ्क्षेपमा भए पनि प्रकाश पारिएको छ ।
यस कृतिमा समालोचक अर्जुन प्रधान र डा. राजकुमार छेत्रीलगायत कवि वीणाश्री खरेल र गोविन्द शाण्डिल्यका छोटा-छरिता मूल्याङ्कनपरक टिप्पणीहरू पनि राखिएका छन् भने विचन्द्र, दीपेन्द्र आचार्य सुमी, गोविन्द शाण्डिल्य आदिका हाइकु रचनाहरूको पनि उल्लेख गरिएको छ ।
हाइकुसर्जक र चिन्तक श्री मल्लज्यूबाट आउने दिनहरूमा पनि यस्तै लोभलाग्दो, पठनयोग्य र सङ्ग्रहनीय पुस्तकहरू पनि चाँडै पाउन सकौं, जो प्रकाशनको तयारी अवस्थामा रहेको जानकारी हामीलाई प्राप्त छ । ईश्वरले हाइजिन श्री मल्ललाई दीर्घायू र सुस्वस्थ्य सदैव प्रदान गरून् भनी मङ्गल कामना प्रकट गर्दछौं ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।