त्यहाँ प्रकृतिको काख छ, …………भोगले मान्छेलाई कहिल्यै सुख दिन सक्दैन । (बाआमा, पृष्ठ १७१)
रामलाल जोशी नेपाली साहित्य जगत्मा उदाएका एक जाज्वल्यमान तारा हुन् । उनीद्वारा लिखित ‘ऐना’ कथासङ्ग्रहले वि.स. २०७२ सालमा मदन पुस्तक पुरस्कार प्राप्त गरेको थियो । नेपाली साहित्यमा स्नातकोत्तर गरेका जोशीले पहलमान सिंह स्वार प्रतिभा सम्मान–२०६८ र राष्ट्रिय प्रतिभा पुरस्कार – २०७३ प्राप्त गरेका छन् । उनले थुपै्र कृतिहरू रचना गरेका छन् जसमध्ये हत्केलामा आकाश–२०५७ (गजल सङ्ग्रह) र सखी–२०७५ (उपन्यास) प्रकाशित छन् । उनको यस ‘बाआमा’ कृति सृजनात्मक आख्यान हो । मातृत्व, पितृत्व, भ्रातृत्व, वात्सल्य, पुत्रत्व, पुत्रीत्व वा समग्र रूपमा पारिवारिक मायाममतालाई यस आख्यानले चित्रण गरेको छ । बाआमाको सन्तानप्रति स्नेह र सन्तानको अभिभावकप्रति स्नेहलाई यस उपन्यासले प्रकाश पारेको छ । विषयसूचीको सन्दर्भमा यस आख्यानमा जम्माजम्मी १२ वटा कथाहरू समेटिएका छन् । ती हुन्ः बाबाको माया, आमाको काख, दाजीको दुःख, बौजूको बात, लेखिएको कथा, नलेखिएको बयान, भेटिएकी देवी, छाडिएका भगवान्, साथीको सम्झना, गुरुको साथ, छोराको सपना र छोरीको रात । यी कथाहरू सङ्घर्ष, रोदन, सुस्केरा, बिछोड, पीडा इत्यादिले टनाटन छ ।
कथाभित्र प्रवेश गर्नुअघि १ पृष्ठको आमुख दिइएको छ । पाना केवल एउटा मात्र छ तर पाठकलाई दिन खोजेको सन्देश अनेक छ । बाआमाप्रति श्रद्धा अभिव्यक्त गर्न खोजिएको यस पृष्ठ अनेकौँ चामत्कारिक अलङ्कारले भरिपूर्ण छ । आमुखमा रहेको एकएक वाक्य मन छुने र जीवनदर्शन बोध गराउने किसिमको छ । कथाभित्र सिधै प्रवेश गर्नु अघि एकपटक आमुखलाई अवलोकन गर्न म पाठकहरूलाई सिफारिस गर्छु ।
जसका लागि पलपलमा जिन्दगी तड्पिरहन्छ, ……………उही मान्छेको न फोटो, न सपना, न बिपना । (पृष्ठसङ्ख्या ५)
फोटो हेर्दा फोटोको मान्छेसँग बोल्न मन लाग्छ ।…………………….. हाँस्दैन । रुवाउँछ मात्रै । (पृष्ठसङ्ख्या १२)
चुनावका मानिसहरूलाई गाउँ प्यारो थिएन, ……………….. राजनीतिको नशा मानिसहरूलाई अफिम झैँ लागेको थियो । (पृष्ठ सङ्ख्या १३)
जब विवेक र संवेदना गुमाउँछ, ………………… ढुङ्गाका अगाडि अनुनयविनय र याचना निरर्थक बनिदियो । (पृष्ठ सङ्ख्या २०)
कोही आफन्तको शून्यतामा त्यही आफन्तको निकटमा हुन मन लाग्दो रहेछ तर विडम्वना आफूले चाहेको मान्छेको सामीप्यमा हुनु त दूरको कुरा यहाँ त आफूले चाहेको मान्छेको फोटो पनि एक मनोकाङ्क्षामा मात्र सीमित छ । हो, त्यही कुरालाई मपात्रको जीवनसँग तुलना गरी यस पाठले आलोकित गर्छ । यसको ज्वलन्त पात्र ‘मपात्र’ को मार्फत ‘आफन्तको शून्यता’ सारको कथावस्तु मुखरित छ । कोही परिवारको सदस्यलाई आफ्नै आँखा अगाडि अमानवीय रूपमा हत्या गर्दा एक परिवारको सदस्यहरूमा पुग्ने मर्मस्पर्शी भावना यस पत्थर हृदय भएका ज्वलन्त पात्रहरूलाई सङ्केत गर्दै प्रस्तुत गर्न खोजेको छ ।
जब म पात्रले आफ्नो बुबाको मुख हेर्न पाएको हुँदैन, मपात्र निकै दुःखी हुन्छ । समाज, साथीहरूको लाञ्छना सुन्नुपर्छ । ती कुराहरूलाई स्थगित गर्ने हो भने पनि बुबाको स्मरणले उसलाई सधैँ सताउँछ । त्यही स्मरणको समष्टिमा माथिका दुई अलङकारको जन्म हुन्छ । प्रदत्त तेस्रो आभूषण कथासँग मात्र सम्बन्ध नराखी वैश्विक राजनीतिलाई पनि सङ्केत गर्दछ । जब मपात्रको बुबा गाउँ फर्केर राजनीतिमा आबद्ध हुन खोज्छ, जब उसलाई चुनावमा उठ्न पार्टीले टिकट दिँदैन । यसर्थ चुनावका मानिसहरूलाई गाउँको विकासभन्दा पार्टी प्यारो भएको मेरो बुझाइ हो । जब टिकट नपाएपछि बुबा राजनीति त्यागेर घरायसी कार्यकलापमा आबद्ध हुन थाल्छ, तब एउटा लस्करले बुबालाई क्रान्तिकारीको झूठो आक्षेप लगाएर अवैध रूपमा हत्या गर्छ । आफ्नै आँखाअगाडि बुवा र श्रीमानको हत्या हुँदा एउटा सन्तान र एक श्रीमतीमा हुने उत्पीडन कथाले प्रस्तुत गर्छ र प्रदत्त चौथो अलङ्कारको जन्म हुन्छ ।
नियतलाई नियतिले छक्याइरहने । …………… विपरीत खेल रहेछ । (पृष्ठ सङ्ख्या ४८)
केही नहुँदा पनि आमाको न्यानो काख थियो । र, त लाग्थ्यो, “संसार परिपूर्ण छ ।” (पृष्ठ सङ्ख्या ४९)
जीवन घामछाँया हो । सधैँ तितो मात्र पनि हुँदैन । मिठो मात्र पनि हुँदैन तर पारिवारिक विछोड, वियोग र मातृममताका सारहरूले यो कथालाई अलौकिक बनाएको भन्न मिल्दैन, तर सांसारिक वा यही संसारमा हुने दुर्लभ बातका चित्रण यहाँ भेटिन्छन् । आमा आकस्मिक रूपमा हराउनु यथार्थ वैश्विक दृष्टिकोणमा मेरो धारणामा नैसर्गिक कुरा नै हो तर आख्यानको सन्दर्भमा यस्ता दुर्लभ विषयवस्तुलाई ज्वलन्त मपात्रमार्फत चित्रण गरेको हुँदा कृतिलाई सर्वोत्कृष्ट भन्दा अत्युक्ति नहोला । जब आमाको सङ्घर्ष, समर्पणले छोराको भविष्य उज्वल हुन्छ, छोराको आफ्नै घर हुन्छ, छोराको आफ्नै संसार हुन्छ र त्यही संसारमा आमाको प्रवेश हुँदा आमा प्रसन्न हुन्छिन् र माथिको प्रारम्भिक आभूषणको जन्म हुन्छ ।
जब दिन बित्दै गएपछि आमा बृद्ध बन्दै जान्छिन्, तब आमाको मानसिक र शारीरिक स्थिति कमजोर बन्दै जान्छ । छोराको आमाप्रति तिरष्कारको भाव पलाउँछ र एकदिन आमा हराउँछिन् । त्यसै प्रसङगमा प्रदत्त दोस्रो आभूषण प्रज्वलित हुन्छ । जब आमाको अभावमा जीवन बिताउनुपर्ने विवशता आउँछ तब मपात्र अतीतमा पुग्छ र आमाको काखमा हुँदा संसार परिपूर्ण भएको यादले उसलाई सताउँछ । त्यही सौँराइको भावनाबाट तेस्रो प्रदत्त अलङ्कारको जन्म हुन्छ ।
आखिर मान्छे भन्नु छातीमा चल्ने एउटा सास न हो । ……………………….जोडिएपछि मन–मुटुमा लेखिइजान्छ । (पृष्ठ सङ्ख्या ५२)
रगतले जोडिन छाडेका संसारका बाँकी सम्बन्धहरू भावनाले नै त जोडिएका हुँदा रहेछन् । (पृष्ठ सङ्ख्या ५४)
एउटै कठोर सत्य पनि हजार झुटहरूभन्दा शत्तिशाली हुँदो रहेछ । ……………………. तर एउटै क्रूर सत्यसँग सामना गर्नु नपरोस् । (पृष्ठ सङ्ख्या ६३)
आमा त्यो पानी हुन्, जो पोखरीमा जमेर बस्न सक्छ ।………. हिमालबाट पग्लेर निरन्तर बगिरहन्छ । (पृष्ठ सङ्ख्या ६७)
तिनै मान्छेहरू मायालु ज्याँदा हुँदा रहेछन्, …………………… अभिषेकले अभिसिन्चित हुन्छन् । (पृष्ठ सङ्ख्या ६८)
नियतिका अगाडि जस्तोसुकै ……………………… ममताको अगाडि जतिसुकै कठोर हृदय पनि पग्लिँदो रहेछ । (पृष्ठ सङ्ख्या ७८)
जीवन अनित्य र क्षणिक छ । मान्छेको जीवनमा सास रहेसम्म उसको अस्तित्व रहन्छ । सास सकेपछि अस्तित्व पनि सकिन्छ । मुख्यतः यो कथाको प्रारम्भिक विषयवस्तुलाई सम्बन्धसँग जोडिएको छ । धेरैपछि कसैलाई भेट्दा आउने प्राचीन स्मरण, पलाउने माया आदिलाई पृष्ठमूमिमा वर्णन गरिएको छ जसलाई प्रदत्त भनाइहरूले पनि शोभा दिन्छ । यहाँ सम्बन्धसँग केवल जीवनको कुरा मात्र नभई रगत, भावना इत्यादिका कुरा पनि आएका छन् । यहाँ बाआमाका मायाममताका कुराहरू आएका छन्, नियति र स्वाभिमानी शिरको दृष्टान्त आआफ्नै मार्मिक कथावस्तुमा आएका छन् । पहिलो भनाइ विषयप्रवेशको सन्दर्भमा आएको हुन्छ जसमा अलिकति मपात्रको आमा हराएको उत्पीडन पनि मिसिएको छ ।
जब मपात्रको डाक्टरसँग भेट हुन्छ, त्यो रगतले नभई समान भावना र समान पीडाले हुन्छ । त्यसैलाई प्रदत्त दोस्रो आभूषणले सिँगारिएको छ । दाजी (डाक्टर) ले आमाको उत्सर्ग गर्नुपरेको, बहिनीले दुध खान नपाएर दाजीले चारऔँला बहिनीको मुखमा हाली मातृभ्रम दिएको कुरा वा जीवन्त परिप्रेक्ष्यमा उनीहरूको दुःखलाई कथाले प्रकाश पारेको छ । जब बहिनी ठुली हुन्छिन्, एकदिन पौडी खेल्न भनेर पानीमा जाँदा त्यो पानीले उनलाई बगाउँछ र पानीले बगाएर बहिनी मरेको कुरा दाजीलाई थाहा हुँदा प्रदत्त तेस्रो अलङ्कारको जन्म हुन्छ । त्यसपछि जब दाजीको साथी धुव्रको बुवाले छोराको हेरचाहको लागि अर्की आमा बिहे गर्छिन् र त्यही प्रसङ्गमा प्रदत्त चौथो अलङ्गकारको जन्म हुन्छ । सौतेनी आमाको वचनले ध्रुव अति निराश हुन्छ र आफ्नो आमाको याद आउँछ जसले प्रदत्त अन्तिम भनाइलाई सङ्केत गर्छ ।
रुने कष्ट किन गर्नुपर्यो ? ………………………. म त दुई दिनको मुसाफिर न हुँ । हिडेँ । (पृष्ठ सङ्ख्या ९२)
जब उज्यालो देख्नेबेला आयो, आफ्नै सूर्यले पोल्न थाल्यो । (पृष्ठ सङ्ख्या ९५)
भगवानको चोट सबैले सहनुपर्छ । जुन ईश्वरले रुवायो उसैले आँसु पुच्छ । उसैले एक दिन फेरि हँसाउँछ । (पृष्ठ सङ्ख्या ९८)
जीवनको वास्तविकतालाई बोध गराउन खोजेको यो कथाले जुना बौजू र रामचन्द्रको प्रारम्भिक घनिष्ठता र अन्त्यमा विछोडलाई ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । जब आफन्तले नै अरूका कुरा सुनेर आफ्नोलाई नजरअन्दाज गर्छन्, तब शान्त पर्यावरण अशान्त बन्न पुग्दो रहेछ । ईश्वरको अभिप्रायअनुरुप जीवनको भोग गर्नुपर्दा मिठो र नमिठो दुवै स्वादको आस्वादन गर्नुपर्ने यथार्थलाई पति विछोड र सन्तान वियोगको सन्दर्भमा प्रस्तुत गरिएको छ । यस कथामा पारिवारिक विछोडले माता बन्न पुगेकी ‘जुना’ को कथा छ । उनी सानो हुँदा ‘रामचन्द्र’ नामक केटाले उसलाई मन पराउँथ्यो । भिन्न जातबाट प्रभावित पारिवारिक भत्सनाको कारण उनीहरूले भागी विवाह गरे । त्यही वर्ष जुनाको सासुआमा र ससुराको मृत्यु भयो र रामचन्द्रको भाइ ‘लछुमन’ लाई पनि उनकै परिवारमा समावेश गरे । जीविकोपार्जनको सिलसिलामा रामचन्द्र जब विदेश जान्छ, आफ्ना तीन सन्तान लछुमन समेत जुनाकाे जिम्मामा छाेड्छ । उनले श्रीमानको अभावमा पनि कष्टपूर्वक सबैलाई पाल्छिन् ।
रामचन्द्र विदेशबाट आउँदा लछुमन ठुलो भइसकेको हुन्छ । केही दिनपछि फेरि विदेश जाँदा माथिको पहिलो वाण श्रीमतीलाई सुनाउँछ । केही दिनपछि गाउँको एक मान्छेले जुनालाई रामचन्द्रको परवाह नभई लछुमन भए मात्र पुग्ने झूठो आरोप सुनाउँछ र रामचन्द्रले त्यही कुरालाई समेटेर लेखेको चिठीमा पढेर लछुमन घर छोड्छ र जुनालाई पनि घरबाट निकाल्छ । त्यसै सन्दर्भमा प्रदत्त दोस्रो अलङ्कारको जन्म हुन्छ । केही वर्षपछि उनका दुई छोरा आतङ्कमा परेर मर्दा रामचन्द्र र जुनाको हालत विक्षिप्त बनेको थियो। त्यसै सन्दर्भमा प्रदत्त तेस्रो अलङ्कारको जन्म हुन्छ । त्यसपछि रामचन्द्रको बनारस जाने इच्छा व्यक्त गर्छ र त्यसपश्चात् जुना माता बन्छिन् ।
भिन्नता धरती र आकाशको थियो तर …………. कहिलेकाही मनको इन्द्रेणीले जोड्दो रहेछ । (पृष्ठ सङ्ख्या १०३)
जिन्दगी अँध्यारो गल्लीमा हिंडेर उज्यालो बिन्दुमा पुगिने यात्रा मात्र होइन रहेछ । ………… बाँच्नु भनेको त मात्र एउटा अभिनय रहेछ । फगत एउटा अभिनय । (पृष्ठ सङ्ख्या ११०)
मायाप्रेमको कुरामा जात, स्तर, धर्मले अवरोध गर्न मिल्दैन । यो त मनको कुरा हो । प्रारम्भिक पृष्ठभूमिमा एक वृद्ध र गङ्गाको प्रेममा भएको समाजिक भत्सनाले समय कथालाई शोभा दिन्छ । ईश्वरको निर्देशनअनुरुप चल्नुपर्ने यो जीवन हाम्रो दृष्टिमा केवल एक अभिनय मात्र हो । श्रीमान श्रीमतीको सङ्घर्षपूर्ण कथालाई सङ्केत गर्दै माथिका भनाइहरू आएका छन् । यो कथा श्रीमान श्रीमतीको सन्तानको निम्ति सङ्घर्षसँग सम्बन्धित छ । जब छोरा सानो हुँदा छोराको मृगौलामा समस्या आयाे, तब आमा गङ्गाले आफ्नो मिर्गौला र सर्वस्व त्याग गरी छोरालाई मिर्गौला दिइन् ।
त्यसबखत उनीहरूसँग सम्पतिको नाममा केही थिएन । त्यसै सन्दर्भमा प्रदत्त दोस्रो अलङ्कारको जन्म हुन्त तर जब तिनीहरूसँग सर्वसम्पत्ति हुन्छ, तब छोरा ठुलो हुन्छ र बिहे भइसकेको हुन्छ । त्यही बेला आमालाई क्यान्सर हुन्छ । अनेकानेक उपचारले पनि ठिक नहुँदा घर बेचेर उपचार गर्ने मात्र विकल्प रहन्छ, तब छोरा कृतघ्न बनिदिन्छ । बुबाले छोराको कृतघ्नलाई देखेर आमालाई लिई टाढाको गाउँमा पुग्छन् र त्यहीँ गङ्गाको मृत्यु हुन्छ र बुवा पनि आफ्नो मृत्युको प्रतीक्षामा हुन्छन् ।
मेरा बाआमाको पवित्र ……….. अक्षर जस्तै यहीनिर मेटेर मेटिने होइन, महाशय । (पृष्ठ सङ्ख्या १२६)
संसार नियम र कानुनले मात्र बाँधिएको हुँदैन, …………………… मन र मुटुको भाषा कानुनमा राख्न सके संसार यसरी चल्ने थिएन, अर्कै भइजाने थियो । (पृष्ठ सङ्ख्या १३२)
जीवन र प्रशासन अभिन्न कुराहरू हुन् । प्रशासनले चोट पुगेको जीवनमा मलम लगाउँदो रहेनछ, उल्टै नुन मिसाउन खोज्दो रहेछ । जीवनमा श्रीमान श्रीमतीमा हुने पारस्परिक सम्बनध बिग्रँदा प्रशासनले थप बिग्रन दबाब दिँदा कुमार र कौशिलाको सम्बन्धमा विछोडको दबाबले एकअर्कामा पलाएको मनोपालिन्य भाव र त्यसबाट अभिशप्त तीन सन्तानलाई चित्रण गरेको छ । यस कथामा श्रीमान कुमार र श्रीमती कौशिला सम्बन्धविच्छेद गर्न अदालत पुगेका हुन्छन् । सबैले क्षोभ मात्र व्यक्त गरेका हुन्थे । आफ्नो केश कसरी जितौँ भन्ने भावना मात्र सबै जनमानसा थियो । आमाबुवाको सम्बन्ध बिग्रँदा एउटा सन्तानमा पर्ने पीडा कसैले सोचेको थिएन । त्यही समय उनकी छोरी उठेर बाआमाको सम्बन्ध विच्छेद गर्दा एक सन्तानमा हुने नकारात्मक असरको वृत्तान्त दिन्छे र यही सन्दर्भमा प्रदत्त पहिलो आभूषणको जन्म हुन्छ । आफ्नो धारणा व्यक्त गरी आमाबुवालाई पुनर्मिलन गराउन उनले प्रदत्त दोस्रो अलङ्कारलाई जन्म दिए, जसको फलस्वरूप उनका बाआमाको पुनर्मिलन भयो ।
देउतालाई चढेको फूल बोटको कहाँ हुन्छ र ! दुई दिनमा झुम्रिजान्छ । (पृष्ठ सङ्ख्या १४२)
जसरी देउतालाई चढाएको फूल निर्निमेषमा नै झुम्रिजान्छ । त्यही प्रसूनका रूपमा छोरीलाई लिई पितृत्व र मातृत्वलाई उत्सर्ग गर्ने दुष्ट बाआमा र त्यसबाट अभिराप्त छोरी ‘देवी’ को दुःखलाई उक्त भनाइले सहज रूपमा बुझाउँछ । यस कथामा केही पैसाका, जीविकोपार्जन र उदरक्षुधापूर्ति सहज बनाउनका लागि आफ्नै छोरीको कुमारीत्व लुट्ने दुष्ट बुवालाई चित्रण गरेको छ । ती दुष्ट बाआमाले आफ्नी छोरी देवीलाई कुसंस्कृतिले भरिएको ठाउँमा बेच्छन् । त्यही प्रसङ्गलाई माथिको भनाइले बढावा दिन्छ । उक्त कुसंस्कृतिले भरिएको ठाउँमा देवीले यौन दुर्व्यहार बरदास गर्नुपर्छ । जब उनको छोरा जन्मन्छ, तब उसलाई आफ्नो बुवाको बारेमा सोध्दा सधै निरुत्तर हुनुपर्छ किनभने कुसंस्कृतिमा हुर्केकी देवीलाई पुरुषले शारीरिक सम्बन्ध राखेको हुन्छ ।
दुईचार वर्ष कमाउनका लागि त जाँ गए पनि हुन्छ …………देश छाडेर कहिल्यै जानुहुन्न, छोरा । (पृष्ठसङ्ख्या १६१)
गाउँमा जिन्दगी खाएका मान्छेलाई गावै राम्रो लाग्दो रैँछ, बा …………………… त ढुङ्गामाटो पनि आफ्नै लाग्छ । (पृष्ठसङ्ख्या १६४)
जसले भगवान् छाडेर जान्छ, उसले स्वर्ग भेट्दैन, बाबै । (पृष्ठ सङ्ख्या १६५)
त्यहाँ प्रकृतिको काख छ, ………………………….भोगले मान्छेलाई कहिल्यै सुख दिन सक्दैन । (पृष्ठ सङ्ख्या १७१)
राष्ट्रभक्ति भावना, बाआमाप्रति स्नेह आदि सारलाई विभिन्न अलङ्कारहरूले भरिएकाे यस ‘छाडिएका भगवान’ कथा ‘निष्क्रमण’ सारसँग निकै सान्दर्भिक छ । जब मपात्र मामाघर जान्छ, तब गाउँ वृद्धवृद्धाले भरिएको हुन्छ । आफ्ना मामालाई देखेपछि ऊ अतितका कुराहरूमा मन लैजान्छ । माथिको पहिलो अलङ्कार त्यसै सन्दर्भमा आएको छ । त्यहाँ उनले आफ्ना पुराना छिमेकीहरूलाई भेट्छन् जसका सन्तान विदेशमा हुन्छन् । आफ्ना सन्तानले विदेश बोलाउँदा पनि नजानुको कारण प्रदत्त दोस्रो आभूषणले सङ्केत गर्छ । आफ्नो मातृभूमिलाई त्याग्ने कृतघ्न व्यक्तिहरूको लागि प्रदत्त तेस्रो अलङ्कार एउटा व्यङ्ग्य जस्तै हो । जब मामाकी नातिनी ईश्वरीको चिठी मपात्रले पढ्छ, तब मामालाई विदेसिने कुनै रहर हुँदैनथ्यो । त्यो चिठीमा नातिनीको मातृभूमि प्रेमलाई समावेश गरेको छ जसलाई प्रदत्त चौथो अलङ्कारले परिपूर्ण गर्छ ।
अरूका कवितामात्र घोक्ने गर्नुहुन्न । …………………………. अरूले बनाइदिएको बाटोबाट तिमी गन्तब्यमा नपुग्न पनि सक्छौ । (पृष्ठ सङ्ख्या २०२)
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते
जननी जन्मभूमिश्च स्वगादपि गरियसि
रामले लक्ष्मणलाई राष्ट्रियताको महत्ता सम्झाएको प्रदत्त भनाइ र यो कथाको विषयवस्तु र माथिका भनाइहरू एउटै कुरा हुन् जुन वर्तमान समयमा सान्दर्भिक छ । गुरुप्रति श्रद्धाभाव अर्पण गर्न लेखिएको यो कथामा गुरुशिष्यमा हुने समवन्य छ । म पात्र गुरुको सहायता, साथ र प्रेरणाले गर्दा नै एक विशिष्ट साहित्यकार बन्न पुग्छ । उ सानो हुँदा गुरुले सधैँ लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल जस्ता कविहरूको कवितालाई आफ्नो कविता भनी ‘बौद्धिक चोरी’ गर्थे तर त्यही बौद्धिक चोरीले उनले आफ्ना विद्यार्थीहरूलाई सुमार्गम ल्याउने प्रयत्न गरिरहेको हुन्थ्यो । त्यही आदर्शका अनुयायी बन्दै मपात्र एक उत्कृष्ट साहित्यकार बने । धेरै वर्षपछि उनको सम्मानको कार्यक्रममा उनको र महेश्वर सरको भेट भयो र त्यही भेटमा उनले महेश्वर आभार व्यक्त गरेको थिए । ।
गाँस नपाउनु दुःख होइन रहेछ, मागे पाइन्छ । ……र, पाएका सन्तान छुट्नु झनै दुःख रहेछ । (पृष्ठ सङ्ख्या २२०)
‘छोराको सपना’ कथाको मुख्य सार पनि ‘निष्क्रमण’ नै हो । यो मपात्रको आफ्नै कथा हो । जब उनले छोरा जन्माउँछन्, तब उनीहरू निकै हर्षित हुन्छन् । बिस्तारै जब छोरा ठूलो हुँदै जान्छ ऊ बेरोजगार बन्छ र बेरोजगार हुँदा नैराश्य हुने छोरालाई सधैँ बाआमाले हौसला दिन्थे । एकदिन जब छोराको डि.भी पर्छ, तब ऊ केही दिनको लागि भनेर अमेरिका जान्छ तर धेरै समयपछि पनि फर्किँदैन । त्यही प्रसङ्गमा प्रदत्त वाणी बाआमाको मनको भावना हुन्छ । भन्न त बाआमाको सहारा सन्तान भनेर भनिन्छ तर वर्तमान वैश्विक परिप्रेक्ष्य र यो कथाअनुरुप श्रीमानको लागि श्रीमती र श्रीमतीको लागि श्रीमान् नै शाश्वत सत्य थियो जुन कुरा ‘समय पीडा’ कथामा कथाकार मोतीलाल पराजुलीले पनि व्याख्या गरेका थिए ।
एकातिर बाआमाको वात्सल्य र सन्तानको माया र अर्कोतिर बाआमाको सन्तानप्रति उपेक्षा र सन्तानको बाआमाप्रति उपेक्षाको सम्मिश्रित आख्यान हो ‘बाआमा’ । यहाँ धार्मिक, सांस्कृतिक, प्रशासनिक र राजनीतिक कुराहरू जोडिएको छ । प्रदत्त कुराहरूले प्रस्तुत गर्छ – मातृत्व, पितृत्व र पुत्रत्व÷पुत्रीत्व । अर्को प्रसङ्गमा हेर्ने हो भने तिरष्कार, घृणा, रामचन्द्र पारिवारिक उत्सर्ग पनि प्रस्तुत छ । लेखकको आफ्नो बालापनदेखि वृद्ध हुँदासम्मको आफूले अनुश्रवण गरेका र स्वतः भोगेका कथाव्यथाहरू प्रस्तुत गरेका छन् । आफ्नो पितृवियोगको दर्दनाक कथा यहाँ छ, मातृरोदन र मातृअभावमा भोगेको निकृष्ट जीवन यहाँ छन्, दाजी स्वयंवरको पारिवारिक बिछोड र अभिन्न जातबाट प्रभावित पारिवारिक भत्सनाले आफ्नो मायालाई छोड्नुपरेको कष्टपूर्वक कथा छ ।
श्रीमान् विदेशमा हुँदा निकै कष्ट गरी तीन सन्तान पालेको जुना बौजू छ, सामाजिक लाञ्छनाबाट प्रभावित भई श्रीमतीको दुःख, मर्म नबुझ्ने रामचन्द्र जस्तो नकारात्मक पात्र छ । श्रीमान् श्रीमतीको आन्तरिक द्वन्द्व अन्त्य गर्नुको सट्टा लम्ब्याई सन्तानलाई चोट पुर्याउने कुरुप प्रशासन छ, केही स्वार्थका लागि छोरीको कुमारीत्व लुटाउने बाआमा छन् र अन्य सकारात्मक र नकारात्मक पात्रहरू यस कथामा भेटिन्छन् । ‘बाआमा’ त्यस्तो शब्द हो जसले सन्तानको कुभलो कहिल्यै चाहँदैन तर हालैको समाजमा सहज स्वार्थपूर्तिको निम्ति बाआमाले सन्तानलाई बेच्ने, बेश्यावृत्तिमा आबद्ध गराउने, छोरीको कुमारीत्व लुट्ने जस्ता कुकार्यका नेपाली समाजमा भइरहेका छन् । यो कृतिमा समावेश भएको ‘भेटिएकी देवी’ कथाले पनि यही कुरा चित्रण गरेको छ तर साहित्यमा ‘बाआमाले’ शब्दलाई अर्थापकर्ष नगर्दा वा त्यही कुरालाई साहित्यिक कथावस्तु अनुरुप प्रस्तुत गर्ने हो भने यो कृति अझ अलौकिक दृष्टिभन्दा पर भएको आख्यान भनेर पुष्टि हुने थियो । लेखकका आउँदो अन्य कृतिहरूमा प्रदत्त कुरालाई मध्यनजर गर्ने अपेक्षा राखेको छु ।
कथा सकिसकेपछि मपात्र लगायत् देवी, जुना बौजू, नन्नी, महेश्वर सर आदिले अविस्मरणीय साइनो गाँसेर जान्छन् । तिनीहरूको दुःखले भरिएको कथाबाट यति भावनामा डुब्छौ कि कहिले आँसु निस्क्यो, थाहा नै हुँदैन । केवल किताबका पानाहरूमा कुँदिएर मात्र यसलाई आख्यान भनिएको हो । नभए यहाँ समाविष्ट बाआमा र सन्तानका दुःख, पीडा वा समग्र रूपमा पात्रहरूको जीवनी यथार्थ समाजमा निकै मिल्दोजुल्दो छ । अतः यस पुस्तकलाई नेपाली समाजको ऐना भन्दा अतिसयोक्तिपूर्ण नहोला ।
जात नमिल्नेसँग प्रेम गर्दा भएको पारिवारिक भर्त्सना, छोरी जन्मँदा दुःखी भई छोरा जन्माउने चाहना जस्ता कथावस्तुहरूले प्राचीन नेपाली समाजको झझल्को दिनुका साथै भूतकालमा पुग्न बाध्य गर्छ । केवल भूतकालको सन्दर्भमा मात्र कुण्ठित नरही वर्तमान नेपाली समाजका केही अवशेषहरूलाई पनि प्रतिबिम्बित गर्छ । आफ्नो मातृभूमि, जन्मभूमि, परिवारलाई उत्सर्ग गरी व्यक्तिगत भोकविलासका लागि विदेसिने छाडिएका भगवान्, छोराको सपना जस्ता कथाहरूले युवावर्गको क्षणिक प्रबल अभीप्सालाई सङ्केत गर्छ जुन आधुनिक समाजमा एक प्रचलित समस्या पनि हो । समग्र रूपमा भन्ने हो भने यहाँ बाआमा र सन्तानको समन्वय, दुःख, अपहेलना मात्र छैनन्, पुरातात्त्विक समाजको अवशेष पनि छ ।
यो पुस्तकको भाषाशैली र लेखनशिल्प सादा, सामान्य र साधारण बोलीबचनसँग मेल खाने नै छ जसले गर्दा प्रस्तुत गर्न खोजेका कुराहरू पनि स्वतः सामान्य हुँदै जान्छ । विज्ञानमा आयामिक गहिराइझैँ यो पुस्तक पनि वास्तविक जीवनको गहन स्वरूपलाई आधार मानेर लेखिएको पुस्तक हो । यो पुस्तक ममता, वियोग र वात्सल्यको त्रिवेणी हो ।
अन्त्यमा, निष्कर्षको रूपमा भन्नुपर्दा बाआमाप्रति श्रद्धाको भाव दर्शाउन सिकाउने र सन्तानको मनोविज्ञानलाई सूक्ष्म रूपमा चित्रण गरेको आख्यान हो ‘बाआमा’ । सरल भाषामा लेखिएको हुँदा म यो पुस्तक सबै उमेर समूहका लागि सिफारिस गर्न चाहन्छु । परन्तु विशिष्ट रूपमा देशमा सुख नभएको गुनासो गर्दै निष्क्रमण हुने व्यक्तिहरू (हालैको सन्दर्भमा युवावर्ग) लाई सिफारिस गर्न चाहन्छु ताकि बहिर्गमनको अभिभावकप्रति नकारात्मक प्रभाव थाहा पाई आफ्नै देशमा रम्ने प्रेरणा मिलोस् ।
अमु शाक्य
कक्षाः ९, डियरवाक सिफल स्कुल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।