१. आरम्भ
किशन पौडेल समकालीन नेपाली साहित्य क्षेत्रमा आख्यान एवं कविता क्षेत्रमा सक्रिय सिर्जनाकर्मी हुन् । उनको जन्म वि.सं. २०२८ भाद्र २९ गतेका दिन मकवानपुर जिल्लाको हेटौंडा–४ मा रमादेवी पौडेल एवं ताराप्रसाद पौडेलका सुपुत्रका रूपमा भएको हो । किशनले वि.सं. २०४७ सालमा गोरखापत्रमा पहिलो पटक कविता प्रकाशन गरेर औपचारिक रूपमा साहित्यिक क्षेत्रमा प्रवेश गरेको पाइन्छ ।
उनका प्रकाशित कृतिमा कहर (गजलसंग्रह, २०७७), खुसी (लघुकथासंग्रह, २०७९) एवं हिन्दी लघुकथासंग्रह अंतर्दृष्टि (२०८०) रहेका छन् । यस बाहेक उनका हैसियत (संयुक्त गजलसंग्रह, २०७७), अभिव्यञ्जना (संयुक्त कवितासंग्रह, २०७९), विश्व लघुकथासंग्रह (हिन्दी, २०७७) एवं विश्व लघुकथासंग्रह, बंगाली २०७८) समेत प्रकाशित छन् ।
पौडेलले लघुकथा चौतारी मकवानपुरका संयोजक, हाम्रो लघुकथा केन्द्र काठमाडौंका सदस्य, मातृभूमि साहित्य समाजका सचिव, लायन्स क्लब हेटौंडा बजारका सचिवका रूपमा रहेर साहित्य एवं सामाजिक संघसंस्थामा आफ्नो सक्रियता प्रदर्शित गरिरहेका छन् ।
यस लेखमा उनको हिन्दी लघुकथासंग्रह अंतर्दृष्टि (सन् २०२४) को चर्चा गरिने छ ।
====
२. अंतर्दृष्टि लघुकथासंग्रहमा विषयवस्तुगत सन्दर्भ
‘अंतर्दृष्टि’ लघुकथा हिन्दी अनुवाद हो । हिन्दीमा अनुवाद गरेर पहिलो एकल कृति प्रकाशनमा ल्याउने लेखक हुन्– किशन पौडेल । यसभन्दा अघि नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित प्रतिनिधि नेपाली लघुकथाएं (सम्पादन, अनुवाद : गोपाल अश्क-श्रीओम श्रेष्ठ रोदन) मा विभिन्न नेपाली लेखकका लघुकथाको हिन्दी अनुवाद जनसमक्ष आइसकेको छ ।
‘अंतर्दृष्टि’मा पौडेलले विभिन्न भावविचार बोक्ने ३८ लघुकथा समावेश गरेका छन् । यसमा राजनीतिक सन्दर्भ, धर्म विषयक लघुकथा, मानवीय आकांक्षा, अतृप्तिसँग सम्बन्धित लघुकथा, मानवीय अभाव एवं अतृप्तिका लघुकथा विषयवस्तु मानेर अध्ययन गरिएको पाइन्छ । यसरी नै पात्र चयनमा विविधताका दृष्टिले पनि लघुकथा अध्ययनयोग्य छ ।
२.१ राजनीतिक सन्दर्भको उठान
लघुकथा सर्जक किशन पौडेलका लघुकथामा राजनीतिक विषयसन्दर्भलाई प्राथमिकता दिइएको छ । वक्तव्य, चरित्रका धर्म, अद्भुत कुर्सी, अपाहिज दृष्टि, महानगर, उपर का आदेश लघुकथामा राजनीतिक सन्दर्भको उठान पाइन्छ । यस कृतिमा राजनीतिक नेतृत्वमा देखिएको दोहरो चरित्रप्रतिको व्यङ्ग्यात्मक चेतना आएको छ । भ्रष्टाचार गर्ने तर जनतासामु भ्रष्टाचार विरोधी भाषण गर्ने राजनीतिकर्मीको कुकृत्यलाई प्रस्तुत गरिएको लघुकथा वक्तत्व हो । यहाँ जनताको मनोभावनासँग खेलाँची गर्ने प्रवृत्तिलाई प्रस्तुत गरिएको छ । बाहिर जनतासामु झगडा गरेको देखाए पनि भित्रभित्र साँठगाँठ गर्ने नेता वर्गको क्रियाकलापलाई देखाइएको लघुकथा चरित्र का धर्म हो । यस लघुकथामा जनता लडाएर आफू आनन्द लिने परपीडक चरित्रलाई प्रस्तुत गरिएको छ ।
मानिस सत्ताका लागि जे पनि गर्न सक्छ भन्ने कुरा अद्भुत कुर्सीको मन्त्री पात्रले देखाएका छन् । लघुकथामा नेताको सत्तामोहको चरम रुप प्रस्तुत भएको छ । कुर्सीमा इमानदार र नीतिवान् नभएको मानिस भस्म हुने लेखिएकोमा आफै पछि हट्नुले उसमा ती दोष रहेको स्पष्ट हुन्छ । लघुकथामा नेपालमा ठूलो पदमा बसेका मानिस इमानदार र नीतिवान् नभएकोले देश र जनताले दुख पाएको सन्दर्भलाई व्यक्त गरिएको छ ।
सत्ता र शक्तिले मानिसलाई अपाङ्ग बनाएको विचार अपाहिज दृष्टिमा आएको छ । उपरका आदेश लघुकथामा भ्रष्टाचारीलाई सत्तामा रहेका ठूला मानिसले संरक्षण गर्ने गरेको सन्दर्भलाई उठाइएको छ । निम्न वर्गका जनताको मत लिएर उनीहरूकै रोजोरोटी खोस्ने कार्यलाई महानगर लघुकथामा व्यक्त गरिएको छ ।
पौडेलका लघुकथा वर्तमान राजनीति भ्रष्ट बन्दै गएको, भ्रष्टाचारमा लिप्त व्यक्तिलाई शासन सत्तामा बस्ने व्यक्तिहरूले संरक्षण गर्ने गरेको, राजनीतिक नेतृत्वमा रहेका मानिसहरूमा त्याग, समर्पण र निष्ठा नभएको, जनताप्रतिको इमानदारिता, निष्ठाको राजनीतिक हराउँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ । जनताको जीवनमाथि खेलबाड गर्ने, उनीहरूको रोजीरोटी खोस्ने कार्यले सत्ता आम मानिसको शत्रु भएर उभिएको, जनताको पीडामाथि परेड खेल्ने गरेको विचार व्यक्त गरिएको छ । उनका लघुकथा समकालीन नेपाली राजनीतिको विकृत परिदृश्यलाई देखाउन सफल छन् ।
जनताको आस्थाबाट हराउँदै गएको भ्रष्ट, लोभी, आचरणहीन कुरूप पात्रका रूपमा राजनीतिकर्मीको पहिचान बन्नु हामी सबैका लागि दुःखद कुरा हो । नागरिकको बाँच्न पाउने अधिकारमाथि परेड खेलेर विद्रुपताको खेती गर्नु अझ बेइमानीको पराकाष्ट हो । यसर्थमा स्रष्टा पौडेलका लघुकथा रचनामा समकालीन नेपाली राजनीतिका दुखद परिदृश्य मात्र हैन, हाम्रो हराउँदै गएको संवेदना र निष्ठाप्रति समेत प्रश्नचिन्ह उठाइएको छ ।
२.२ मानवीय पीडा एवं अभावका लघुकथा
कथाकार पौडेलका लघुकथा मानवीय पीडा एवं अभावको अभिव्यक्तिका दृष्टिले अध्ययनयोग्य छन् । उनका चिंताएं, अनुत्तरित्त, हैसियत, पीडा के आँसु लघुकथा यस्तै किसिमका जीवन सन्दर्भलाई प्रस्तुत गरिएका लघुकथा हुन् । विपन्न नागरिक प्राकृतिक प्रकोपबाट पीडामा परेको सन्दर्भ चिंताएं लघुकथामा व्यक्त भएको छ । कोरोनाकालमा कोरोनाभन्दा पनि भोकका कारण समस्याग्रत हुन पुगेको विपन्न नागरिकको पीडा अनुत्तरित लघुकथामा आएको छ । आर्थिक अभावका कारण महँगो शोरुमबाट जुत्ता किन्न नसकेको मानिसले फुटपाथबाट जुत्ता किनेको सन्दर्भको लघुकथा हैसियत हो ।
यस लघुकथामा मानिसमा आफू विपन्न भएको थाहा हुँदाहुँदै पनि उसमा रहेको महँगो वस्तुप्रतिको आकर्षणले उसलाई शोरुमसम्म पुर्याउँछ । आफ्नो वास्तविक आर्थिक अवस्थामा आउँदा उसमा हीनताबोध उत्पन्न भएर ऊ त्यहाँबाट भागेर फुटपाथमा गएर जुत्ता किन्न पुग्छ । यस लघुकथामा मानिसको दमित इच्छा र यथार्थ बीचको संघर्षमा आखिर मानिस यथार्थमा फर्किन बाध्य भएको सन्दर्भलाई उठान गरिएको छ । सहरको सुन्दरताका नाममा जब भवन भत्काउने काम गरिन्छ, त्यसमा सम्पन्न मानिस मात्र नभएर विपन्न वर्ग पनि पर्दछन् । एक विपन्न नागरिकले जब आफ्नो घर भत्काएपछि उसमा जुन किसिमको मानसिक पीडा उत्पन्न हुन्छ, त्यसको ज्वलन्त उदाहरण लघुकथा पीडा के आँसु मा व्यक्त भएको छ ।
किशन पौडेलका लघुकथामा वर्तमानमा मानिसले भोगिरहनु परेको आर्थिक, सामाजिक एवं सांस्कृतिक चुनौतीलाई विषय बनाइएको छ । समय, समाज अनि राजनीति आम वर्गका लागि कसरी प्रतिकुल बन्छ र उसको पीडालाई बुझ्ने कोही नहुँदा उसले जे जसरी एक्लोपनको बोध गर्दछ, त्यही एक्लोपना, निरीहता अनि आँसुका कथालाई लेखकले आफ्नो सिर्जनामा उतारेका छन् । यसर्थमा उनका लघुकथा पीडा एवं अभावका अनुभूतिको अभिव्यक्तिका दृष्टिले अध्ययनयोग्य सामग्री हुन् ।
२.३ धर्मसँग सम्बन्धित लघुकथा
स्रष्टा किशन पौडेलका लघुकथामा धर्मसँग सम्बन्धित पात्र र घटनाको अभिव्यक्ति पाइन्छ । उनका खुसी, आशक्ति, संकीर्ण सोच, पृथ्वीलोक लघुकथामा यस किसिमको विषयको उठान गरिएको पाइन्छ । सुखी लघुकथामा सामान्य अवस्थामा भएको ढुङ्गा मूर्ति भएर पुजिन थालेपछि उसको स्वतन्त्रता हनन भएको र उसले आफ्नो जीवन स्वतन्त्र किसिमले बाँच्न नपाएकोमा पीडाबोध गरेको छ ।
‘आशक्ति’ लघुकथामा मानिसको प्रविधिमोह माथि व्यङ्ग्य गर्न पात्रको रूपमा यमराज अनि स्थानका रूपमा स्वर्गलाई प्रस्तुत गरिएको छ । लघुकथामा सपना देखेको प्रसङ्गलाई समेत प्रस्तुत गरिएको छ । लघुकथामा आफूलाई अति धार्मिक मान्ने पण्डित दलित वर्गबाट धेरै टाढा रहन चाहन्छन् । पण्डित बिमारी भएर अस्पताल भर्ना हुँदा दलित युवतीले सेवा गरेर निको भएपछि उनको धारणा परिवर्तन हुन्छ । लघुकथामा मानिसले समय र परिस्थितिसँग आफ्ना चिन्तन एवं मान्यता परिवर्तन गर्न सक्छ र उसको अवस्था परिवर्तन हुन उसले आफ्नो सोचाइभन्दा भिन्न परिस्थितिको सामना गर्नुपर्ने तथ्यलाई प्रस्तुत गरिएको छ । कुनै पनि मानिसमा कुनै न कुनै दोष हुन्छ र दोषविहीन मानिसको कल्पना निरर्थक हो भन्ने सोच पृथ्वीलोक लघुकथामा व्यक्त भएको छ ।
यस लघुकथामा मानिसका कमजोर चरित्रलाई प्रस्तुत गर्न नारद ब्रह्माजस्ता मिथकीय पात्रको सिर्जना गरिएको छ । लघुकथा सर्जक किशन पौडेलका लघुकथामा मानवीय कमजोरी, दुर्गुणलाई प्रस्तुत गर्न पुराणमा वर्णित पात्र, घटना एवं सन्दर्भसँग जोडिएर क्रियाव्यापार प्रस्तुत गरिएको छ । यसरी पात्र र घटनालाई प्रस्तुत गर्ने क्रममा पापधर्म, न्यायअन्याय, सत्यअसत्य जस्ता कुराका आधारमा तुलनात्मक विश्लेषण गरिएको पाइन्छ ।
२.४ मानवीय आकांक्षा, अतृप्तिसँग सम्बन्धित लघुकथा
स्रष्टा किशन पौडेलका लघुकथामा मानिसको अतृप्ति, आकांक्षा अनि जीवनका जटिलताका पक्षलाई उजागर गरिएको पाइन्छ । उनका लघुकथाका पात्र जीवनदेखि असन्तुष्ट छन्, उनीहरू जीवनमा परिवर्तन चाहन्छन् । उनका सिर्जनामा आफ्नो जीवनलाई चाहे अनुरूप बदल्न नसक्ने, लाचार, विवश जीवन बाँचिरहेका सारहीनता बोकेका मानिसको कथाव्यथा आएको छ । किशनका यस किसिमका लघुकथामा खुसी, सम्बन्ध, हैसियत, अद्भुत कुर्सी, लालसा, आशक्ति, सन्तुष्टि, सम्बन्ध, सुनहरी छडी रहेका छन् । खुसी लघुकथामा स्वतन्त्रता हरण भएर मूर्तिको दुःख एवं पीडा प्रकट भएको छ ।
सम्बन्ध लघुकथामा विगतको स्मृतिले पीडा दिएको छ । हैसियतमा आर्थिक अभावका कारण पीडाबोध गरिएको अवस्था छ । अद्भुत कुर्सीमा मन्त्री पात्रले प्रधानमन्त्री पद प्राप्तिको लोभ पुरा नहुँदा पीडाबोध गरेको छ । लालसामा जीवन समाप्त हुने बेलासम्म पनि सम्पतिप्रतिको आशक्ति आएको छ । सन्तुष्टिमा जतिसुकै धन भए पनि मानिसका आकांक्षा पुरा नहुने भएको हुँदा मानिसको धनप्रतिको अतृप्त आकांक्षा व्यक्त भएको छ । सुनहरी छडी लघुकथामा अरूको प्रगति देख्दा पीडाबोध भएको मानिसको कथा आएको छ । यसरी लघुकथा स्रष्टा किशन पौडेलका लघुकथामा मानिस प्राप्तिमा सन्तुष्ट हुनुको बदला अप्राप्तिमा असन्तुष्ट भएर बाँचेको छ । आफूसँग भएको कुरालाई जोगाउँदै थप कुरा पाउनका लागि संघर्ष गर्नुको बदला मानिस अप्राप्तिमा असन्तुष्ट भएर जीवनप्रति नकारात्मक दृष्टि पालेर बसेको छ । यसर्थमा जीवनका अभाव, अतृप्ति, असन्तुष्टिको समग्र पीडाबोध नै उनका लघुकथाको एक पक्ष बनेर आएको छ । अहिलेको मानिसमा हराइरहेको कर्मशीलता अनि जीवनप्रतिको विरागलाई कथाकारले कुशलताका साथ प्रस्तुत गर्न सफल भएका छन् ।
२.५ पहिचानगत सन्दर्भको लघुकथा
त्यसै गरी यस संग्रहमा मानिसको पहिचानगत चेतनालाई प्रस्तुत गरिएको छ । उनको पहिचान लघुकथा यसै सन्दर्भमा अध्ययनयोग्य लघुकथा हो । विदेशमा रहँदा नेपाली टोपीले आफ्नो परिचय स्थापित गरेको, त्यस ठाउँमा एक जना नेपाली आएर परिचय माग्दा आत्मीयताबोध भएको प्रसङ्ग लघुकथामा आएको छ । मानिस आफू एक्लो, कमजोर र बिरानो अनुभव गरेको बेला उसले आफू अनुकूलको पात्र र परिवेशको खोजी गर्दछ । यसर्थमा यस लघुकथामा पनि विदेशमा एक्लोपनाले सताएको बेला आफ्नो देशवासी देख्दा जुन किसिमको आफ्नोपन अनुभव हुन्छ, त्यसलाई लेखकले कुशलताका साथ प्रस्तुत गरेका छन् । पौडेलका लघुकथामा नेपालीपनको पहिचान एवं गौरवको अनुभूतिलाई सशक्त किसिमले व्यक्त गरिएको छ ।
====
३. अंतर्दृष्टि लघुकथासंग्रहमा पात्रगत विविधता
अंतर्दृष्टि लघुकथा कृतिमा पात्रगत विविधता पाइन्छ । यस कृतिमा जीवित प्राणी मात्र नभएर निर्जीव वस्तु पनि पात्रका रूपमा प्रस्तुत भएका छन् । खुसी लघुकथामा पत्थर, सौन्दर्य लघुकथामा फूल, रूख, एलियंस लघुकथामा एलियंस, नियति लघुकथामा भमरा, उपर का आदेशमा द्वार, सम्बन्ध लघुकथामा तस्बिर, मृत्यु का निमन्त्रणमा यम, खामोशीमा चेतन बुद्धि पात्रका रूपमा आएका छन् ।
यसै गरेर उनका लघुकथामा मिथकीय पात्रको समेत प्रयोग पाइन्छ । पृथ्वीलोक लघुकथामा ब्रह्मा, नारद, मृत्यु का निमन्त्रण पत्रमा यमदूत, तथास्तु लघुकथामा भगवान् पात्रका रूपमा आएका छन् । स्रष्टा किशन पौडेलका लघुकथामा विभिन्न पेशाव्यवसाय एवं शरीरको अवस्थासँग सम्बन्धित पात्र प्रस्तुत गरिएको छ । अनुतरित्त लघुकथामा गरिब पात्र, वक्तव्यमा मन्त्री, दृष्टिदोषमा वकिल, न्यायाधीश, एक हात से तालीमा मालिक, मजदुर, चरित्र का धर्ममा नेता, नियतिमा अन्धा, पुजारी, अद्भुत कुर्सीमा ज्योतिष, अपाहिज दृष्टिमा दृष्टिहीन, बहिरा सङ्कीर्ण सोचमा पण्डित, उपर का आदेशमा सुरक्षाकर्मी, न्यायमा पुलिस, न्यायाधीश, जज पात्रका रूपमा आएका छन् ।
यस बाहेक किशन पौडेलका लघुकथामा संख्यासूचक पात्रको पनि प्रयोग पाइन्छ । सुख लघुकथामा एक, दुई तीन संख्या पात्रका रूपमा आएका छन् । अनुमान लघुकथामा एक, दुई, तीन संख्या पात्रका रूपमा आएका छन् । यसरी अंतर्दृष्टि लघुकथा कृतिमा नाम, सर्वनामको प्रयोगका साथै मिथकीय पात्रको समेत प्रयोग पाइन्छ । उनका लघुकथामा विभिन्न पेसाव्यसायमा रहेका मानिस, विभिन्न शरीरको अवस्था भएका मानिस, प्रकृतिका साथै अमानवेत्तर पात्रलाई समेत प्रस्तुत गरिएको छ ।
====
४. अंतर्दृष्टि लघुकथासंग्रहमा परिवेशगत विविधता
अंतर्दृष्टि लघुकथामा परिवेशगत विविधता पाइन्छ । उनका लघुकथामा भौतिक जगतसँग सम्बन्धित परिवेश मात्र नभएर निन्द्रा, सपना जस्ता अवस्था पनि परिवेशका रूपमा आएको छ । उनका लघुकथामा आएका पृथ्वी, स्वर्ग, रेष्टुरेन्ट, डेरा, मंदिर, सडक, प्रकृति, कार्यक्रम स्थल, मंगल गृह, गाउँ, घर, फूटपाथ, नदी किनार, न्यायालय, नदी, पुल, दाहसंस्कार स्थल, अस्पताल परिवेशगत स्थलका रूपमा आएका छन् । यस बाहेक जापान देश पनि परिवेशको रूपमा आएको छ । स्रष्टा किशन पौडेलका लघुकथामा व्यापक सामाजिक परिवेश आएको छ । उनका लघुकथामा आएको कार्यस्थलगत विधितताले उनको व्यापक सामाजिक दृष्टि पाइन्छ ।
====
५. अंतर्दृष्टि लघुकथासंग्रहमा अनुवादको अवस्था
अंतर्दृष्टि लघुकथा कृतिमा रहेका लघुकथा यसअघि नेपालीमा प्रकाशित भइसकेका लघुकथा हुन् । अंतर्दृष्टि लघुकथाका लेखकले आफूले नेपालीमा लेखेका लघुकथालाई हिन्दीमा अनुवाद गरेर कृति प्रकाशित गरेका छन् । एक नेपालीभाषी लेखकले आफ्ना लघुकथा हिन्दीमा अनुवाद गरेर कृति प्रकाशन गरेको यो पहिलो अवसर हो । यसर्थमा पनि यस कृतिको महत्त्वपूर्ण योगदान रहेको छ । यस कृतिमा रहेको आशक्ति लघुकथामा रहेको अइया…(पृ.५४), न्याय लघुकथामा बटुवा (पृ. ६९) नेपाली शब्द हुन् ।
त्यस्तै गरेर सङ्कीर्ण सोच लघुकथामा तिमरदारी शब्द (पृ. ६०) ले सही अर्थबोध गरेको छैन । सन्तुष्टि लघुकथामा मुझे भी हुनुपर्नेमा मैंने भी भएको (पृ. ६१), प्यार का बन्धन लघुकथामा मैंने हुनुपर्नेमा मेंने भएको (पृ ५९) देखिन्छ । यसरी हेर्दा यस कृतिमा भाषिक अनुवादका क्रममा केही त्रुटीका साथै वाक्य गठनका क्रममा सही ठाउँमा सही शब्दको लेखन नहुँदा एकाध ठाउँमा गल्ती हुन पुगेको छ । यति हुँदाहुँदै पनि लेखकले आफ्नो रचनालाई हिन्दीभाषी क्षेत्रमा पु¥याउन खोजेका छन्, यसले नेपाली साहित्यको प्रसारण र विस्तारमा भने महत्त्वपूर्ण भूमिका खेलेको छ ।
====
६. निष्कर्ष
किशन पौडेल समकालीन नेपाली लघुकथा लेखनका क्षेत्रमा सक्रिय सिर्जनाकर्मी हुन् । उनका लघुकथामा समकालीन नेपाली राजनीतिको विकृत परिदृश्यलाई देखाइएको छ । यी लघुकथामा जनताको आस्थाबाट हराउँदै गएको भ्रष्ट, लोभी, आचरणहीन कुरूप पात्रका रूपमा राजनीतिकर्मीको पहिचान बनेको यथार्थ आएको छ ।
यस संग्रहमा पात्र र घटनालाई प्रस्तुत गर्ने क्रममा पापधर्म, न्यायअन्याय, सत्यअसत्य जस्ता कुराका आधारमा तुलनात्मक विश्लेषण गरिएको छ । यी लघुकथामा जीवनका अभाव, अतृप्ति, असन्तुष्टिको पीडाबोध आएको छ ।
लघुकथामा अहिलेको मानिसमा हराइरहेको कर्मशीलता अनि जीवनप्रतिको विराग आएको छ । उनका लघुकथामा नेपालीपनको पहिचान एवं गौरवको अनुभूतिलाई व्यक्त भएको पाइन्छ । आवश्यकता अनुसार बिम्ब प्रतीकको प्रयोग हुनु, पात्रगत विविधता हुनु, विभिन्न परिवेशका लघुकथा सिर्जना हुनु, लघुकथामा संवादको समुचित प्रयोग पाइनु, पात्रको सामाजिक, आर्थिक एवं सांस्कृतिक अवस्था अनुसार संवादको प्रयोग हुनु, अन्त्य व्यवस्थापन प्रभावकारी हुनु उनका लघुकथाको सबल पक्ष हो । प्रायः तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएका उनका लघुकथामा प्रथम पुरुष दृष्टिबिन्दुको पनि प्रयोग पाइन्छ ।
नेपाली परिवेशका लघुकथालाई हिन्दीभाषी पाठकसम्म पुर्याउने कामले निरन्तरता पाओस् । हार्दिक शुभकामना छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।