एक समय थियो — विश्वभरि कोरोना भाइरसको हाहाकार । चिकित्सकहरूको भगीरथ प्रयत्नका कारण धेरै सङ्क्रमितहरूले यो भाइरसमाथि विजय प्राप्त गरिरहेका थिए भने कतिपय व्यक्तिहरू दम तोडिरहेका थिए । सबैका मनमा अब आफ्नो पनि जीवन धुलिने हो कि भन्ने त्रास थियो । सबैतिर लकडाउन भएर जनजीवन ठप्प थियो । यही नैराश्यताको अन्धकारमा गोसा झापालीको हृदयमा सिर्जनाको जुनकिरी उज्यालोले टाउको उठायो । उनी धेरै लामो समयदेखि आफूले सँगालेको सपनालाई मूर्त रूप दिन व्यासासनमा बसे । फलस्वरूप ४२० पृष्ठको उपन्यास ‘नीलि’ को जन्म भयो ।
पेशाले औषधी व्यवसायी गोपाल सापकोटाका फाट्टफुट्ट लेखरचना प्रकाशित भएका भए पनि पुस्तकाकारका रूपमा भने ‘नीलि’ नै उनको प्रथम कृति हुन पुगेको छ । साहित्यिक नाम गोसा झापाली राखेर उनी पनि जीवनको उत्तरार्धमा पुस्तक प्रकाशित गर्ने साहित्यकारहरूको पंक्तिमा उभिएका छन् । बहत्तर वसन्त देखिसकेका झापाली त्यत्तिकै उपन्यास लेखनमा होमिएकाजस्ता देखिँदैनन् । पुस्तकका बारेमा उनको भनाइ पढ्दा उनले नेपाली साहित्यको गहन अध्ययन गरेको कुरा थाहा पाइन्छ । त्यसैले त ‘नीलि’ उनको पहिलो उपन्यास भैकन पनि रोचक छ । उनले यसमा धेरै नयाँ कुराहरूको प्रयोगसमेत गरेका छन् ।
प्रमुख नायिका नीलिमा भट्टाचार्जीको मायाले बोलाइने नाम नीलि नै यो उपन्यासको शीर्षक रहन गएको छ । यो शीर्षक सार्थक देखिन्छ किनभने नीलिकै वरिपरि नै उपन्यास घुमेको छ । उपन्यासको शुरुमै उपन्यासकारले पूर्णाङ्की अथवा एकाङ्की नाटकमा जस्तो पात्र परिचयको सूची पाठकलाई उपलब्ध गराएका छन् । उपन्यास लेखनमा यो शैली अलि नौलो लाग्यो मलाई । यहाँ सूचीकृत २६ जना पात्रहरूमध्ये माथि उल्लेखित नीलिमा र गगन शर्मा प्रमुख पात्रका रूपमा देखिन्छन् । उनीहरूको प्रेम कहानी नै यो उपन्यासको प्रमुख विषयवस्तु हो । उनीहरूको प्रेमलाई लेखकले अन्तरजातीय प्रेम भनेका छन् । तर भारतकी नीलिमा र नेपालको गगनबीचको प्रेमलाई अन्तर्देशीय प्रेम भनी परिभाषित गर्दा अझ उपयुक्त र व्यापक होला ।
नेपालीहरूलाई कामका लागि होस् अथवा अध्ययनका लागि सबभन्दा नजिकको र सजिलो गन्तव्य भनेको नै भारत हो । परापूर्व कालदेखि नै हाम्रा पितापुर्खा भारतको वाराणसीमा अध्ययन गर्न जाने गर्थे । वर्तमान समयमा यो बाहेकका अरू स्थानमा पनि नेपाली विद्यार्थीका लागि विभिन्न विषय अध्ययन गर्ने सम्भावना खुलेका छन् । त्यसैले त ‘नीलि’ को नायक गगन शर्मा अध्ययनकै सिलसिलामा भारतको सिलिगुडीमा पुग्छ र त्यहीँ बंगाली केटी नीलिलाई भेट्छ । सिलिगुडी बाहेक दार्जिलिङ, कलकत्ता र बम्बईको सेरोफेरो यो उपन्यासको परिवेश हो ।
उपन्यास पढ्दै जाँदा पाठकलाई यी ठाउँहरूका बारेमा जानकारी हुँदै जान्छ । यो भन्दा बढी बंगाली संस्कृतिका बारेमा पनि निकै रोचक जानकारी प्राप्त हुन्छ । पाहुनालाई सत्कार गर्ने प्रसङ्गमा मूल पात्र गगन भन्छ, “बंगाली कल्चरमा चिया बिस्कुटपछि मिठाइको पालो आउँछ । मिस्टी त्यो पनि दहीसँग । दहीमिस्टी कुनै पनि अकेजनमा कम्पल्सरी जस्तै हुन्छ,” (पृष्ठ ४५) ।
सम्पन्न बंगाली परिवारकी छोरी नीलिमा भट्टाचार्जी र अति सामान्य, गरीब भन्दा पनि फरक नपर्ने, नेपाली परिवारको छोरो गगन शर्मा बिचको वाधा अड्चन बेगरको प्रेम कहानी अलि बढी नै नाटकीय देखिन्छ । यहाँ उपन्यासकार विभिन्न खाले कथा–उपकथा बुन्न सफल देखिन्छन् । गगन शर्माले आफ्नी हितैषी मित्र विधानी पाटोदियालाई उसको जीवन कहानी सुनाउँछु भनेसँगै उपन्यासको शुरुवात हुन्छ । त्यसैले यो गगन र विधानी बीचको संवादजस्तो पनि देखिन्छ । गगनले म पात्र भएर सम्पूर्ण उपन्यास पाठकलाई सुनाउँछ ।
‘नीलि’ उपन्यासमा कैद भएको समय पनि पुरानो नै छ । त्यो समयलाई बुझ्न पाठकले सन् १९६२ तिर जानुपर्छ । यही साल उपन्यासको नायक आफ्नो अध्ययनका लागि बंगालको सिलीगुडी कलेज अफ कमर्समा पुगेको हुन्छ । अनि त्यहीँ उसको भेट नीलिमासँग भएको हुन्छ । गगनले विधानीलाई, “मेरो लाइफमा पन्ध्र वर्षभित्र जुन इभेन्टस्हरु साइक्लोन जस्ता आए, आएर गए, हो यही कुरा तिमीलाई सुनाउन चाहेको हुँ,” भनेकाले हामीले यो उपन्यासका घटनाहरु सन् १९६२ देखि सन् १९७७ सम्मका होलान् भनेर बुझ्न सक्छौँ ।
वास्तवमा नीलिमा सडक दुर्घटनामा परेर सिकिस्त भएका बेला गगनले रक्तदान गरेर आफ्नी छोरी बचाइदियो भनेर गगनप्रति उसका बाबु आमा नतमस्तक हुन्छन् । उसको यही एउटा गुणले गर्दा गगन नीलिमाको परिवारको प्रिय पात्र बन्छ । बंगाली संस्कार पनि कुनै उदार संस्कार त होइन । फेरि यहाँ वर्तमान समयको कुरा छैन । त्यो समयमा निलीमाका बाबु आमाले आफ्नी छोरी र उसको प्रेमीलाई एकान्तमा भेटघाट गर्न पुरै छुट दिएका छन् । यहाँसम्म कि उनीहरू दुई जना मात्र बाबु आमाको अनुमतिले एक हप्ताका लागि दार्जिलिङ घुम्न जान्छन् । यस्तो कुरा पाठकले सहजै नपचाउन सक्छन् ।
अब प्रश्न उठ्छ — त्यस्ती सर्वगुण सम्पन्न र आर्थिक रूपमा पनि सबल सुन्दरी नीलिमाले चाहिँ नेपालको एउटा गरिब सोझो बाहुन केटालाई किन मन पराई होला ? गगनका दुईवटा विशेषताले उसलाई पक्कै आकर्षित गरेको हुनुपर्छ । एउटा — ऊ राम्रो गायक थियो, अनि नीलिमाको झुकाव पनि गायनतिरै थियो । अर्को— गगन सच्चरित्र भएको, आध्यात्मिक जीवनशैली अपनाउने आदर्श पुरुष थियो । अनि निलीमालाई पनि अध्यात्ममा आस्था थियो ।
यसका साथै ऊ गगनको मस्तिष्कमा कस्तो कुरा चल्दै छ, सबै पढ्न सक्थी । त्यसैले उसले कहिल्यै गगनले ऊप्रति दुर्भाव अथवा कामवासना राखेको थाहा पाइन । गगनको मानसपटलमा सधैँ नीलिमा प्रति चोखो प्रेमको सहस्र धारा मात्र बग्थ्यो उसले आफ्नो दिव्यदृष्टि लाएर हेर्दा । गगनसितको सङ्गतले ऊ र उसको परिवार नै शाकाहारी भएका छन् । गगन सधैं शाकाहारका पक्षमा वकालत गरिबस्छ । यसो गरेर ऊ शास्त्रको पालन गर्नुका साथसाथै आवाजविहीन प्राणीहरूको अधिकारको बारेका बोल्छ भन्ने कुरा उसको तलको भनाइले प्रष्ट पार्छ ।
“हेर निलीमा …मांसाहारीलाई पनि आफूलाई जस्तै अरू प्राणीहरूलाई दुःख हुन्छ, पीडा हुन्छ, वेदना हुन्छ भन्ने ज्ञान हुनुपर्छ । संसारका सबै प्राणीहरूको बाँच्ने उत्तिकै अधिकार हुन्छ भनेर बुझ्न जरुरी छ । मानव अधिकार जस्तै पशुप्राणीको पनि बाँच्ने अधिकार छ । ज्ञानका कुराहरूलाई हावा हावामै उडाइन्छ ,” (पृष्ठ १००) ।
यो उपन्यासमा हिन्दी गीत र हिन्दी चलचित्रको भरमार चर्चा छ । ९० को दशक तिर भारतीय र नेपालीका लागि शायद यी मात्र मनोरञ्जनका साधन थिए होला । गगन र नीलिमाले गाउने गीत पनि त्यही समयका छन् । थोरै पुराना आधुनिक गीत पनि गगन गाउँदै गर्छ— ऊ नेपाली हुनुको प्रमाणका रूपमा ।
यो उपन्यासमा नायकलाई ज्ञानी, बुद्धिमान्, धैर्यवान् र उच्च कोटीको आध्यात्मिक चरित्रका रूपमा प्रस्तुत गरिएको छ । तर ठाउँ ठाउँमा यो पात्र आफ्नो यस्तो आदर्श छवि कायम राख्न चुकेकोजस्तो देखिन्छ । गगन शर्मा बारम्बार आफूले नीलिमालाई आत्मिक प्रेम गरेको चर्चा गर्छ । त्यसकै प्रमाणमा रूपमा पटक पटक उनीहरू दुईजना मात्र भएको कुनै पनि मौकाको ऊ फाइदा उठाउँदैन ।
ऊ भन्छ— “ऊ (नीलिमा) मसँग एउटै बेडमा रात काट्न तयार भई । हामीले कैयौँ दिनहरु एकदम नजिक भएर काट्यौं । तर मेरो संयमितता र संकल्पले मबाट ऊ सुरक्षित नै रही,” (पृष्ठ १६६) ।
विधानीलाई प्रेमको परिभाषा दिने क्रममा गगन आफ्नो दृष्टिकोण यसरी राख्छ, “सुन, प्रेमको डिस्क्रिप्सन के हो भने, असल प्रेम भनेको यो पाञ्चभौतिक शरीरलाई गरिँदैन । यस शरीरभित्र रहेको अजर अमर अविनाशी जो आत्मा छ, त्यसलाई गरिने हो । …यहाँ त सबै स्थूल शरीरलाई प्रेम गर्दछन्” (पृष्ठ ९५) ।
यही गगन जब नीलिमा चलचित्रकी नायिका भएर विभिन्न नायकसँग अभिनय गर्न थाल्छे, ती नायकसँग ईर्ष्या गर्न थाल्छ । नीलिमाका बारेमा नराम्रा कुरा सोच्न थाल्दछ । उसको प्रेममा शंका गर्न थाल्दछ । ऊ कल्पना गर्छ— “ऊ यतिबेला सिक्कीम पुगिसकेकी होली । …फिल्म सुटिङका अभिनयहरू बारे सोचेर पुनः मेरो मन अमिलो भयो । …त्यही बलिष्ठ पुरुषको आगोसमा पटक पटक नीलिमाले आफूलाई समर्पण गर्नुपर्ने बाध्यता”, (पृष्ठ २५५) । यसैगरी अर्को प्रसङ्गमा ऊ भन्छ, “मेरो संयमता र धैर्यता समाप्त भएर गइरहेको थियो । चारचारवटा फिल्ममा चार चार हिरोहरूको साथमा नीलिमाको निकटताको कल्पना गरेर मन भावुक हुन्थ्यो, दिल जलिरहन्थ्यो,” (पृष्ठ २५९) । ऊ निचोड निकाल्छ, “…निलीमा यति गिरिसकी कि उसलाई विगत केहि थाहा छैन । दौलत र सोहरतमा यति फसिसकी कि आफूले गरेका बाचाहरू सबै हराए…,” (पृष्ठ ३६६) ।
यसरी गगनको चरित्र विरोधाभासपूर्ण देखिन्छ । भन्न चैँ ऊ आत्मिक प्रेम गर्छु भन्छ तर उसको झुकाव शारीरिक प्रेमपट्टि नै भएजस्तो लाग्छ । ऊ सधैँभरि नीलिमाको शारीरिक सुन्दरताको मात्र कुरा गर्छ । पहिलो पटक नीलिमालाई देख्ता पनि ऊ उसको शारीरिक सुन्दरतामै लट्ठिएको थियो । मुखमा राम राम, बगलीमा छुरा भनेजस्तै प्रायः मानिसमा देखिने द्वैत चरित्रलाई गगनको चरित्रले प्रतिनिधित्व गरेजस्तो लाग्छ ।
नायकका विपरीत यो उपन्यासकी नायिकाको प्रेम अटल छ । उसले गगनप्रति शंका गरेको अथवा नकारात्मक भाव राखेको कतै भेटिँदैन । यसको मुख्य कारण उसले आफ्नो प्रेमीको मस्तिष्क पढ्न सक्ने भएर हुन सक्छ । यो एउटा मनोवैज्ञानिक ज्ञान हो । यस्तो कुरा सिक्ने विभिन्न तरिका हुन्छन् । तर यी कुनै पनि तथ्य उपन्यासमा उल्लेख भएका छैनन् । नीलिमाले कहाँ यो विद्या पाई ? कसरी सिकी ? ऊ गगनको मात्र कि अरूको पनि मस्तिष्क पढ्न सक्छे ? पाठकका यस्ताखाले प्रश्न अनुत्तरित नै रहन्छन् ।
गोसा झापालीले ‘नीलि’ उपन्यासलाई एक भाषा समावेशी सामाजिक उपन्यास भनेर परिभाषित गरेका छन् । भाषा समावेशीकरणका रूपमा यहाँ विशेषतः तीनवटा भाषाको प्रयोग भएको देखिन्छ । ती हुन्— नेपाली, हिन्दी र बाङ्ला । यी बाहेक ठाउँ ठाउँमा अंग्रेजी भाषाको पनि प्रयोग भएको भेटिन्छ । यो उपन्यासका पात्रको मातृभाषासमेत नेपाली, बाङला र हिन्दी नै रहेको छ । यहाँ भएका प्रशस्त बाङ्ला संवादहरूले लेखक यो भाषाका ज्ञाता रहेछन् भन्ने कुरा प्रष्ट हुन्छ । तर यी संवादको नेपाली अनुवाद कतै नभेटिँदा पाठकलाई धेरै महत्त्वपूर्ण कुरा छुटेजस्तो लाग्छ । कतिपय कुरा त प्रसङ्गवश बुझिन्छ भने कतिपयको छेउटुप्पो केही भेटिंदैन ।
केही उदाहरण:
१) “नीलिमा जा बोलेछे, सेटाई सत्ति कथा । आमि ओके भालो मतन भालोबासी । वो आमाके निये जोतोटुक बोल्छे । सेतो आमि ना होइते पारि । किन्तु आमि ओर जोग्ग सामि होइते पारवो एइ कथा आमि आपनादेर सामने दिलाम्” (पृष्ठ १८०),
२) “देखो नीलि ! तोमार आर आमार प्रथमे जोगजोग बांगला कथा दिए होएछिलो कि ना ? सेइटा मोने राखार जन्न तोमार मुख थके बोला बांगला कथा सुनते भालो लागे,” (पृष्ठ १८६)।
प्रायः सबै नेपाली पाठकले हिन्दी भाषा बुझ्ने भएकाले हिन्दीमा गरिएका संवादले भने कुनै समस्या सिर्जना गर्दैनन् । उपन्यासमा झापालीले हिन्दी शब्द पनि भरमार प्रयोग गरेका छन् । उदाहरणका लागि, नजारा सपाट, सिकन, सादगी, अमानत, हरकत, मोहब्बत, नजदिकी, परोसने, पैमाना, खुस, दाद, इम्तिहान, जस्न, दिवानी इत्यादि । नेपाली भाषामै मिसिएर आएका यस्ता शब्दले यो भाषाको मीठासलाई कम गरेजस्तो लाग्छ ।
पढ्दै जाँदा एउटा अनुच्छेदमै पाँच वटासम्म हिन्दी शब्द भेटिए, “मैले नीलिमाको मानवोना फिल्म हेर्दै हेरिन । …वास्तवमै नीलिमा मध्यम परिवारकी होस् । त्यसरी नै म उसमा फिदा हुन पाउँ । …म छुटेपछि उसको नफरत प्यारमा बदलियोस् । अब नाराज हुने पालो मेरो होस् ।…लामो इन्तजारपछिको हाम्रो मिलन एउटा मिशालको रूपमा जाओस् …, (पृष्ठ ३२४) ।”
भाषाकै कुरा गर्दा कतिपय अंग्रेजी शब्दहरुको हिज्जे अशुद्ध छ । जस्तै— इमिडेट, टु.वी कन्टिन्यू, भेरी इन्ट्रेस्टेड, इन्ट्रेस्टेड स्टोरी, होइडल (हाइड्रो), इन्स्टुमेन्टहरु, माइकोफोन, ड्राइनिङ टेबल, टान्सफर, डिपारमेन्ट आदि । नेपाली भाषाको हकमा पनि उपन्यासकारले ‘संयम’ र ‘धैर्य’ को ठाउँमा ‘संयमता’, ‘धैर्यता’ जस्ता शब्द प्रयोग गरेका छन् ।
नेपाली उपन्यासका खण्डलाई एक, दुई नभनीकन उपन्यासकारले किन प्रथम, द्वितीय भनेका होलान् ? दशम सम्म त पाठकले पछ्याउन सक्लान् । त्यसभन्दा दुई-तीन अंक पर पुगेपछि पाठक अलमलिएर फेरि प्रथम, द्वितीयबाटै गन्दै लानुपर्ने समस्या आउन सक्छ । यसरी हेर्दा उपन्यासकारले यो उपन्यासमा धेरै थरिको प्रयोग गरेजस्तो देखिन्छ । उनी तत्कालीन समयका हिन्दी चलचित्र र गीतबाट निकै नै प्रभावित भएजस्तो लाग्छ । त्यसैले त उनका उपन्यासका नायक नायिका यिनै तत्त्वमा भुलिरहन्छन् । गगन शर्मा गायक बन्छ, नीलिमा गायिका र नायिका दुवै बन्छे । यहाँसम्म कि उनीहरूकै जीवनमा आधारित चलचित्र ‘नीलि’ बन्छ— सबै वास्तविक जीवनकै पात्रहरूलाई लिएर ।
नेपाली उपन्यास भैकन पनि यसमा शुरुशुरुमा नेपालको पटक्कै चर्चा गरेको भेटिंदैन । तर उपन्यासको अन्तिम अन्तिमतिर गएपछि झापालीले आफ्नो देशलाई मजाले जोडेर लगेका छन् । उपन्यासको नायक आफ्नै जन्मभूमिमा आएर विकासका काममा संलग्न हुन्छ । आफूले भारतमा कमाएका ज्ञान, सीप र अर्थलाई नेपालको माटोमा उपयोग गर्छ ।
‘नीलि’को सबल पक्ष भनेको वर्तमान समयमा पहिचानको खोजीमा देश विभिन्न समुदायमा टुक्रिँदै गएको परिप्रेक्ष्यमा अन्तर्देशीय व्यक्तिहरूलाई नजिक ल्याएर उनीहरूको बीचमा समझदारी र प्रेमको भाव जगाएर उनीहरूलाई एक सूत्रमा बाँध्नु हो । यहाँ भेटिएका सबै भारतीय र नेपाली पात्रहरू एक अर्कामा सद्भाव राख्छन्, एकअर्कालाई सहयोग गर्छन् र उन्नति प्रगतिका बाटामा लम्किन्छन् । आफूहरूलाई अझ मजाले बुझ्न उपन्यासका प्रमुख नायक नायिका एक अर्काको भाषा समेत सिक्छन् । फलस्वरूप निलीमा नेपाली भाषामा र गगन बांगला भाषामा पोख्त हुन्छन् ।
त्यति धेरै नभए पनि मुद्रा राक्षसको आक्रमणबाट ‘नीलि’ बच्न सकेको छैन । जे होस्, नेपाल औषधि व्यवसायी संघ, झापाले वि.सं. २०८० मा प्रकाशनमा ल्याएको यो उपन्यास पठनीय छ । माथि भनिएजस्तै विभिन्न कथा बुन्न सिपालु गोसा झापालीले पाठकलाई बाँधेर कौतुहलता सिर्जना गरेका छन् । यसका अतिरिक्त यो उपन्यासलाई एउटा प्रेरणाको श्रोतका रूपमा पनि लिन सकिन्छ । ‘इट्स नेभर टु लेट’ अर्थात् कुनै पनि काम गर्नलाई उमेरले कहिल्यै छेक्दैन भन्ने अंग्रेजी भनाइलाई यसले चरितार्थ गरेको छ ।
आफू सत्तरीको दशकमा हिँडिरहँदा यस्तो नौलो स्वादको उपन्यास नेपाली साहित्यका पाठकलाई पस्किन सक्ने गोसा झापालीको उत्साह र दृढतालाई सलाम । यसले नयाँ पुस्ताका लेखकहरूलाई पनि पक्कै केही न केही ऊर्जा देला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।