राजनीति शास्त्रका विद्यार्थी विष्णु न्यौपाने (२०३१) पेसाले व्यापारी र कर्मले मूलतः कवि हुन् । विष्णु न्यौपाने भन्नासाथ दिमागमा ‘शीतको ऐना’ सँगै अग्लो कदको ‘छन्द कवि’ आइपुग्छ । छन्द कविताका बारेमा बहस गरिरहने उनी, कविताका पुरानै झापाली साधक हुन् । उनको अलगै र रहर लाग्दो छन्दको लबज छ ।

महाकाव्य कविताको प्राचीनतम रूप हो । संस्कृत काव्य वाल्मीकिको रामायणबाट र नेपाली काव्य उदयानन्दको पृथ्वीन्द्रोदयबाट प्राथमिक कालमै प्रारम्भ भएको हो तर पनि महाकाव्यको विकास साहित्यका अरू विधाभन्दा मन्द गतिमा भएको छ । यसको कारण महाकाव्य सिर्जनाका लागि ठुलो तपस्याको आवश्यकता हुन्छ । दीर्घ साधना नभई महाकाव्य लेखिँदैन । विष्णु न्यौपानेको काव्य यात्राको लामो समयपछि यो महाकाव्य आएकोले यसमा उनको तपस्याको दरिलो प्रभाव देखिन्छ ।

तर्क, तथ्य र मधुर भावहरूको गुञ्जन ‘शिशिरका घाम’ महाकाव्य कवि न्यौपानेको पहिलो महाकाव्य कृति हो । यो वंशवर्णन विषयवस्तु भएको काव्य हो । यसमा १९ सर्ग रहेका छन् । पहिलो सर्गमा प्रारम्भ, दोस्रो सर्गमा बाल्यावस्था र अध्ययन, तेस्रो सर्गमा बौद्धिक उन्नति, चौथो सर्गमा विवाह र बसाइसराइ, पाँचौँ सर्गमा बेलाइते डाँडामा बसाइसराइ, छैटौँ सर्गमा मुक्तेबारीमा बसाइसराइ, सातौँ सर्गमा शैक्षिक क्षेत्रमा योगदान, आठौँ सर्गमा सामाजिक कार्यमा योगदान, नवौँ सर्गमा स्वास्थ्य क्षेत्रमा योगदान, दसौँ सर्गमा राजनीतिक व्यक्तित्व, एघारौँ सर्गमा खुसी खोस्ने बसाइँ र आत्मसङ्घर्ष, बाह्रौँ सर्गमा सङ्घर्ष र सम्झना, तेह्रौँ सर्गमा पूर्वकर्मका रसानुभूतिहरू, चौधौँ सर्गमा जीवन सङ्गिनीको जीवन, पन्ध्रौँ सर्गमा सन्ताति सार, सोह्रौँ सर्गमा जीवनका अनुभूतिहरू, सत्रौँ सर्गमा जीवनका अन्तिम पलहरू, अठारौँ सर्गमा शुभ होस्, उन्नाइसौँ सर्गमा श्रद्धाञ्जली रहेको छ । सर्गबद्धता भनेको कविताको अध्याय परिवर्तन मात्र होइन, विचार र लेखनको अस्थायी विराम पनि हो । यसमा विषय प्रसङ्गअनुसार प्रतिपाद्य विषयको पुष्टिका लागि अन्य सान्दर्भिक पक्षहरूको चित्रण पनि हुन्छ । यी कुराको यस महाकाव्यमा प्रबन्ध छ । प्रसङ्गअनुसारका उपकथाहरू पनि जोडिएका छन् ।

महाकाव्यमा राणा शासनदेखि गणतन्त्रसम्म पाँच वटा व्यवस्थाभरि पसिना बगाएको रविको परिवारले सुखको श्वास नफेरी संसार छोडेको यथार्थ प्रस्तुत गरिएको छ । महाकाव्यले परिवर्तित व्यवस्थाले जनताको अवस्थामा परिवर्तन ल्याउन नसकेको विषयको उठान गर्दै मानवताको आलोक बालेको छ । समकालीन समाजको चक्रव्यूहबाट आजीवन आजाद हुन नसकेको रविको वृत्त छताछुल्ल छ महाकाव्यमा । सत्ताको सेपमा कठ्याङ्ग्रिएको निम्नवर्गीय पात्रको नायकत्व वरण गरेको काव्य उच्च मानवताको गर्विलो आवाज बनेको छ । महाकाव्य पढ्दा यस्तो लाग्छ– ‘सत्ता नाङ्गो छ भन्ने हिम्मत कविहरूले मात्र गर्न सक्छन् । सत्तामा भ्रमको इन्द्रजाल हुन्छ भन्ने कुरा कविहरूले मात्र भन्न सक्छन् ।’

अनुभूतिको महाप्रवाह यो महाकाव्य कवि विष्णु न्यौपानेको छुटेको इतिहासको बकपत्र पनि हो । यसले सीमान्तकृत वर्गको विगतको यथार्थ, वर्तमानको प्रतिबिम्बन र भविष्यको खोजीसमेत गरेको छ । अझ भनौँ, परम्परादेखि वर्तमानसम्मको शासनलाई सियाँलमा बसेर हेरिएको भोगाइको जगको सग्लो अनुहार हो ‘शिशिरका घाम’ ।

यसमा पन्ध्र सयभन्दा बढी वर्णाक्षरिक तथा वर्णमातृक छन्दका श्लोक रहेका छन् । यसमा महाकाव्यमा अनुष्टुप्, वसन्ततिलका, वंशस्थ, मन्दाक्रान्ता, शिखरिणी, इन्द्रवंशा, पादाकुलक, द्रुता, शार्दूलविक्रीडित, वियोगनीलगायत नेपालीमा बहुप्रचलित, अल्पप्रचलित र अप्रचलित छन्दको प्रयोग गरिएको छ । पूर्वीय काव्यमान्यताअनुसार काव्यको निर्विघ्न समाप्तिका लागि मङ्गलाचरण गरिन्छ । यो मर्यादा हो, शिष्टता अनि कृतज्ञता हो । यस काव्यको आरम्भ यसैबाट भएको छ । जसरी आरम्भ भएको छ त्यसै गरी दिवङ्गत अग्रजहरूलाई श्रद्धाञ्जली समर्पण गर्दै काव्य टुङ्गिएको छ ।

खासगरी प्रगतिवादी धारमा कलम चलाउने प्रगतिशील लेखकहरूले लेखनलाई नारावादी बनाए भन्ने आरोप लागेको छ । वास्तवमा प्रगतिवादी लेखनमा विचारको प्रहार हुन्छ । रूपमा भन्दा पनि सारमा अर्थात् विचारकै महत्त्व हुनुपर्छ भन्नेमा विश्वास हुन्छ उनीहरूको । तर, त्योभन्दा बाहिर जीवनवादी धारको लेखनमा विचारलाई बढी घुमाइन्छ । कला पक्षमा बढी ध्यान दिइन्छ । जो दुवै यो काव्यका अहम् विषय हुन् ।

चाँडै राज्य ब्युँझियोस्, समयको झन्डाले पन्छाएका किनारीकृतका आङमा पहारिला घाम लागुन् । समयको साक्षी बन्दै शिशिरका घाममा उभिएका महाकवि विष्णु न्यौपाने आगामी लेखनमा पनि उसैउसै गर्वानुभूतिले उचालिइरहुन्, शुभकामना ।