रामनवमीको पावन दिनमा एउटा महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । स्थान थियो कौशलटारको रिडर्स  हव । कार्यक्रम थियो उर्मिला कोइरालाको नूतन कविता कृति घाममाथि घामकै किरणको लोकार्पण । कार्यक्रम पृथक् तरिकाबाट आरम्भ भयो । कार्यक्रममा सहभागी हुन आएका साहित्य प्रेमीहरूबाट अपर्झट कविता वाचनको लागि अनुरोध गरियो । कविता वाचन गर्नेहरूले वाचनको पूर्व तयारी कसैले गरेका थिएनन् । कविता वाचन गर्ने जानकारी पनि सभाहलमा भर्खरै दिइएको छ । नारी स्रष्टाहरू अग्रपङ्क्तिमा कविता वाचन गर्न बसेका छन् । समालोचक  वक्ता पनि नारी नै छिन् । सभाध्यक्ष पनि नारी नै । कार्यक्रम सञ्चालक मात्र पुरुष हुनुहुन्छ । मेरो हातमा पनि कृति पर्छ म सरर्र कविताहरू हेर्छु । कोइरालाको कविता सङ्ग्रह चार खण्डमा विभक्त रहेछ । प्रत्येक खण्डमा एघार एघार वटा गरेर जम्मा चौवालीस वटा कविताहरू समाविष्ट छन् । प्रत्येक खण्डको भाव र सन्देश फरक फरक छ ।

पहिलो खण्ड ‘आँखाको लैङ्गिकतामा जिजीविषाको लस्कर’, दोस्रो खण्ड ‘घाममाथि घामकै किरण’, तेस्रोमा ‘दिलको दराजमा संवेदनाको राखनधरन’ र चौथो खण्डमा ‘समयसँग समयको सङ्घर्ष’ छन् ।

म सभाहलमा कविता सुन्दै छु । कविताको भाव र संवेदनालाई बुझ्दै जाँदा मेरो शरीरभरि काँडाहरू जिरिङ्ग गरेर उम्रिए । वाचित कविताहरू सुन्दै गर्दा म भावुक हुँदै जान्छु ।

‘मलाई मान्छे हुन देऊ’ शीर्षकको कविताले मेरो अन्तरहृदयलाई स्पन्दित गरेर गयो । शरीर निकै बेर तरङ्गित भयो । हृदय आन्दोलित हुन पुग्छ । कल्प कल्पदेखि विभेदका कुराहरू किन गर्नु परेको छ ? किन हुन्छ विभेद सभ्य समाजमा ? हिजो राणाहरू पनि आफूलाई ठिक ठान्थे । आफूबाट अन्याय भएको कहाँ स्वीकार गरे ? कहाँ देखे र अन्याय र असमानता ? दृष्टिमा त्यही शासन बोकेर हिँड्नेहरूले आज नि देख्दैनन् हृदयको संवेदना, अन्याय र विभेद । अभाव, अन्याय र असमानता नभोगेका संवेदनाहीन प्राणीले अति संवेदनशील विषयवस्तु बुझ्न किमार्थ सक्दैनन् । आँखा भएर मात्र सत्य देखिँदैन । सत्यलाई समाउन त सम्यक् दृष्टि चाहिन्छ । शासकले कहिले आफ्नो दोष देखेका थिए र ? मान्छे आफू जस्तै मान्छेलाई किन अपमान गर्छ ? किन हेप्छ ? किन दमन गर्छ ? अरूको संवेदनामा बारम्बार किन प्रहार गर्छ ?

म सोच्न बाध्य भएँ हामीले नै बनाएको यो सभ्य समाज कता जाँदै छ । मानवतालाई कुल्चेर आखिर कुन वादमा हामी रुमलिँदै छौँ ? किन मानव मात्र भएर जीवन निर्वाह गर्न सक्दैनौँ ? विखण्डनको मायाजालमा सारा विश्व आखिर किन भ्रमित हुँदै छ ? आखिर स्वतन्त्रता जस्तो सार्वभौम विषय लिङ्गमा आधारित हुन्छ र ? पीडा पनि लैङ्गिक हुन्छ र ? आदर्श समाज र परिवार वास्तवमा कुन वादमा भेट्ने ? त्यो खोज्नु आजको सभ्य समाजको दायित्व हो ?

कार्यक्रम सकिएपछि अरू कविता गाडीमै पढ्दै आएँ । मलाई प्रत्येक कविताले छोयो । म उति साह्रो कविता पढ्दिनँ । तर घाममाथि घामका किरण कवितासङ्ग्रहले मलाई निकै छोयो – उर्मिलाका कविता सरल र बोधगम्य छन् । मार्मिक विषय र भाव छन् । समाज, सम्बन्ध र संस्कारको यथार्थ तस्बिर छ । गम्भीर विषयलाई कविले सरल शब्द, भाव र बिम्बको माध्यमबाट बुझाएकी छन् ।

पहिलो कविता पढ्दै म दङ्ग परेँ । कविको चेतना स्तरलाई सलाम गर्न मन लागी त हाल्यो । कवितामा कवि यसरी पोखिन्छिन् ,

‘बाच्छी चाटिरहेकी गाई

पोथी सम्झेर कुरिरहेको ढुकुर,

नाच्नुअधि इन्द्रेणी पर्खेको मयूर

र म स्कुलबाट नफर्केसम्म बाटोतिर हेरिरहने मेरी आमा

यी नारीसत्ता हुन् कि करुणा ? “ (पृष्ठ १५ )

नारीहरूको अस्मितालाई छियाछिया पारिएको वर्तमान समाजलाई कवि यसरी झकझक्याउँदै प्रश्न गर्छिन्,

‘सृष्टिका सबै राम्रा,सबै सुन्दर तर

चोक-चोकको विज्ञापन हटाएर देशमा

एक शिशुले

आमाको स्तन चुसिरहेको तस्बिर टाँस्न पाए

बालिकाहरू जोगाउन सजिलो हुन्थ्यो कि ? ( पृष्ठ १५ )

मलाई बडो दुःख लाग्यो, किन यस्तो कविता लेख्न बाध्य छन् कविहरू ? खोइ यहाँ कता छ वाद र नारा ? उर्मिलाका कविताले मानव सभ्यतामाथि नै प्रश्नहरू उठाएका छन् ।

अर्को कवितामा कविको शालीन विरोध ‘आफैँतिर फर्किएर’ मा  यसरी गरेकी छिन् ,

मर्यादामा रहनु छ तर मर्यादा बन्धन भयो भने ?

प्यार चाहिन्छ तर प्यार नै खुसीको अवरोध भयो भने ?

जिम्मेवारी पुरा गर्नुपर्छ तर जिम्मेवारीमा विभेद भेटियो भने ?

उज्यालो चाहिन्छ तर आफैँ बलेर ज्योति छर्नु पर्‍यो भने ?

समाज पनि घर हो  तर त्यही घरले थिच्न थाल्यो भने ?

थाकिसकेँ दुनियाँसँग मागेर

अब मलाई यसको उत्तर म आफैँले दिनुछ।

मलाई विश्वास छ

मलाई म भएर बाँच्न

मेरैभन्दा ठूलो प्रेरणा कसको हुन सक्छ ?

समाज अघिल्तिर उभिएर

म आफैँले प्रमाणित गर्नु छः

म आफूचाहिँ को हुँ ?

म के हुँ ? ‘( पृष्ठ २० )

मानवीय चेतनाले भरिपूर्ण छ कृति । नैसर्गिक अधिकार र स्वअस्तित्वको चेतना जगाउने कविताहरू निकै प्रश्नात्मक भएर आएका छन् । मलाई यस्तो लाग्यो, जीवनभर भोक नलागेको मान्छेलाई थाहै हुँदैन भोकको पीडा । अभाव नभोगेको मान्छेलाई थाहै हुँदैन अभावको राप । कसैको  नियन्त्रणमा नबसेका मान्छेहरूलाई थाहै हुँदैन साँगुरो जीवनको बाध्यता । उपनिवेशमा जकडिएका आत्माहरूले मात्र बुझ्छन् वास्तविक स्वतन्त्रताको अर्थ । पराधीन जीवनको उकुसमुकुस ?

जीवनभर निर्बन्ध भएर बाँचेका प्राणीले त स्वतन्त्रतालाई स्वच्छन्दताको नाङ्गो परिभाषामा ढालेर अरूलाई पनि दिग्भ्रमित तुल्याइदिन्छन् । अरूको अस्तित्वमाथि तातोपानी खन्याउनेले कसरी बालोस् सहअस्तित्वको त्यो उज्यालो ज्योति ? स्वार्थीले सहअस्तित्वको भावलाई पनि नारा सम्झन्छ । स्वतन्त्रताको सुमधुर गीतलाई पनि अराजक र छाडा भन्छ । मानवतावादी भावलाई पनि वादको साँगुरो घेरामा लगेर बदनाम गर्छ । अनि मानवताको आवाजलाई पनि बन्द गर्न कैयौँ प्रपञ्च रच्छ । आवाज उठाउनेहरूलाई भद्दा  गाली गर्दै अराजक भन्छ । ए मूर्ख चेतना एक पटक आमा भएर त बाँच तब थाहा हुन्छ नारी हृदयको संवेदना ।

आजको शिक्षित समाजमा सहअस्तित्वको महत्त्व, आवश्यकता किन आवश्यक छ ? सहअस्तित्व लैङ्गिक विषय होइन । नारीवाद होइन । यो त मानवताको साझा विषय हो तर गम्भीर भएर बुझ्न खोज्दैनन् शासक चेतना । आखिर हामी कहाँ चुक्यौँ मानवताको मीठो पाठ बुझाउन ?  सभ्यताको यो स्वर्णिम युगमा, मानव भएर प्राप्त गर्नु पर्ने साना साना कुरा र आधारभूत आवश्यकता पूर्तिको लागि पनि किन कल्पिनु पर्छ कसैले ? किन माग्नु पर्ने सहअस्तित्वको भीख सँगै हिँडेको आफ्नै साथीसँग । मेरो कानमा अझ गुञ्जित छ वाचित कविता,

‘तिमी बालिका बलात्कार भएको देख्छौ

म मानवता अपहरण भएको देख्छु

तिमी वृद्धा लुटिएको देख्छौ

म उच्च मानवता मरेको देख्छु

म आधा धर्ती पनि होइन

म आधा आकाश पनि होइन

को हौ तिमी मलाई आधा देख्ने म सम्पूर्णता हुँ, म मान्छे हुँ

मलाई पूर्ण मान्छे भएर समाजको अगुवाइ गर्न देऊ ।‘ ( पृष्ठ ३० )

म सोच्न विवश भएँ । नारी स्रष्टा आफ्नो कुण्ठा मात्र पोख्छिन् भन्ने भ्रमलाई उर्मिलाले मज्जाले चिरिदिएकी छिन् । यहाँ कुनै जाति, लिङ्ग, पेशा, वर्गको  पीडा छैन छ त केवल मानवताको बुलन्द आवाज । विभिन्न वादको डरलाग्दो खोल ओडेर हिँड्दा आजको मान्छे थाहै नपाई मानवीय गुणलाई कुल्चन पुगेकाछन् । सहअस्तित्वको पाठलाई भद्दा नारीवादको नारा सम्झेर वहस गर्न थाल्छन् आजको सभ्य सभा । सभ्यताको उपल्लो शिखरमा आजको समाज विचरण गर्छ  तर मानवताको सङ्लो मन दूषित छ ।

‘बाढीको आँखा’  डाक्टर अम्बिका म्यामले वाचन गर्नुभयो । त्यहाँ उठाएका मुद्दामा कतै नारीवादका कुरा छैनन् । व्यक्तिगत कुरा मात्र छैनन् । मलाई यस्तो लाग्यो शाश्वत कुरा कसैको व्यक्तिगत भए पनि त्यो सार्वजनिक हुन्छ । कविताले समाजको कालो यथार्थ देखाएको छ । साँच्चै भन्दा यहाँ उठाएको विषय सगरमाथा जतिकै अग्लो छ । सागर जतिकै गहिरो छ तर पनि भन्नेले भन्ने छन् यो नारीको गनगन हो । प्रत्येक व्यक्तिको आत्म रूपान्तरण नभई मानवता जागृत हुँदैन । विडम्बना कति चिच्याउनु कति कराउनु अन्याय, असमानता र अपमानका विषयमा । बुझ्नै चाहँदैन कुसंस्कारले दूषित भएको हृदय ।  तर हे साहित्यका पुजारी हो द्वेषको आँखा फालेर मानवताको दृष्टिले पढ उर्मिलाको भावनात्मक अक्षरहरू तब मात्र भेट्ने छौँ ब्रह्म विद्याको रहस्य । मानवताको सरल ज्ञान ।यो कविता सम्पूर्ण उर्मिलाहरूको हो । हिंसा र विभेदको डरलाग्दो समाजमा कति निर्मलाको कथा अझ रोकिएको छैन । म सोच्न बाध्य छु , आखिर यो समाज र आतङ्कित समय कसले निर्माण गर्‍यो ? किन हामीले सद्भाव, सहअस्तित्व,विज्ञान र खगोलको कविता लेख्न पछि पर्दै छौँ ।मानवता के हो भन्ने विषयमा अझ कविता कोर्नु परेको छ, यो बौद्धिक मानव बस्तीमा ? कसको दोष ? एकपटक छातीमा हात राखेर सोध्ने बेला आएको छ ।

जहाँ मानवको जीवन स्वतन्त्र भएर पनि बन्धित छ । के गाउँ के शहर सबैतिर उस्तै तृषित दृष्टिले नारीलाई हेरिन्छ, भोगिन्छ अनि घुरिन्छ । बाआमा, दाजु, पति र गुरु भिन्न भिन्न बहानामा सबैले नारीलाई घर बाहिर नजान अनुरोध गर्छन् । ढुक्क छैनन् अभिभावक, गुरु र जीवनसाथी । आखिर किन यस्तो समयको साक्षी हामीले किन बन्नु परेको छ ? यस्तो असुरक्षित समाज कसले निर्माण गर्‍यो ?  कवितामा संवेदनाको सागर छ। पढ्न छोडेर काममा जोतिएकी छोरी कामनै ठूलो भन्दै दाइको कुरा सुन्छे ।आफूले रोपेको फूल भाइले उखेलिदिँदा पनि केटाकेटी यस्तै हो भनेर भत्काउन खोज्छे विभेदको पर्खाल । स्कुलमा कामको विभेद पनि सहिदिन्छे । सर नै आफ्नो मर्यादा भुलेर सरभन्दा बाहिर हिँड्दा पनि सहिदिन्छे । गाउँको गोठालोदेखि शहरको लोलासम्म नारीले भोग्नु परेको हिंसा र विभेदमा स्रष्टा हृदय व्यथित छ । आँगनदेखि विद्यालयको प्राङ्गणसम्म नारीलाई हेर्ने नजर कलुषित छ ।

‘हिँड्दा हिँड्दै आगोसँग’ शीर्षकमा आइपुग्दा मस्तिष्कमा तरङ्ग फैलिन्छ । अन्तिम कवितामा कवि आफ्नो भाव यसरी पोख्छिन्,

‘हिँड्दा हिँड्दै

बाटामा भेटेको एक कोइला आगो

पालै पालो हातमा राखेँ

छातीमा राखेँ

निधारमा राखेँ

र जिब्रोमा पुर्‍याएँ

निल्न सक्थेँ तर निलिनँ, निल्न चाहिनँ

आगो निल्नु भनेको मर्नु हो , म मर्न चाहन्नँ ।“ ( पृष्ठ १०९ )

उच्च मानवीय संवेदनाले भरिपूर्ण छ ‘घाममाथि घामकै किरण’ ।