क्याम्पसको परीक्षा पनि सकिएको, अनि पुरानो संवत् फेरिएर नयाँ वर्ष पनि आएको । यस्तो बेला म जस्ता पढक्कडहरूलाई कमसेकम एउटा नयाँ किताब पढौँ जस्तो हुन्छ । हरेक नयाँ वर्षमा एउटा नयाँ पुस्तक नकिन्नु भनेको दशैंमा नयाँ लुगा नकिन्नु जस्तै खल्लो खल्लो लाग्छ । यस पटक नयाँ वर्ष सुरु हुँदा के किनौँ कि के पढौँ भन्ने भाव मनमनमा तैरिरहेका थिए । जर्मन बस्ने साथीले आफ्नो नयाँ किताब विमोचन गर्ने कुरा फेसबुकमा लेखिरहेको रहेछ । अनि त्यही किताबलाई पर्खिएँ ।
किताब लिन भक्तपुरको कौशलटार जाँदै गर्दा मनमा सवाल नउठेको होइन, अर्थशास्त्र पढेकाले कस्तो साहित्य लेखेछ ? आर्थिक कथा नै लेख्यो कि, के था ? अर्थशास्त्रका कथा त कसरी लेख्नु ? कथामा त प्रेम हुनु पर्छ, समाजको चित्र हुनुपर्छ, पिडा हुनुपर्छ पढ्दा पढ्दै पाठकका आँखाबाट तुरुक्क आँसु खस्नु पर्छ । वा आनन्द हुनु पर्छ वा पाठकलाई सपना वा कल्पनाको आनन्दमा वैकुण्ठ जस्तो आनन्ददायी विचरण गराइदिन सक्नुपर्छ कथाकारले । त्यो न कथा, नभए त के कथा । पढ्दा पढ्दै मुटु टक्क अडिनु पर्छ अनि श्वास कथाको गति सँगै बहनु पर्छ त्यो कथा न कथा नभए के कथा ?
रिर्डस हवमा निकै बेर अश्विनी कोइरालालाई पर्खिसकेपछि, आफू एक्लैले चिनेको तर दोहोरो कुराकानी नभएको मानिसलाई कुरिरहनु औचित्यहीन जस्तै लाग्यो । धेरै बेर पर्खिदिएर कोही आउनै लाग्दा निर्धक्क हिँडिदिन्छु म । कुरा नगरोस्, त सोचोस्, कसैले मेरो बारेमा । म यसैमा मख्ख ।
पर्खाइमा आनन्द आयो जस्तै किताब हातमा लाग्दा । शीर्षक थियो – ‘कथा हुन् कथा हैनन्’ । यस संग्रहमा १३ वटा कथा समावेश छन् ।
संग्रहको पहिलो कथा ‘मासुभात’मा लक्ष्मीको अभागी कर्म छ, माओवादीको जगजगी भएको समयको निरङ्कुश हत्या छ । कसैको प्रेम र सुन्दर जीवनमाथि आतङ्ककारीहरूको निर्मम नजर पढाइएको छ । प्रस्ट हुन्छ लेखकलाई जनयुद्धले पिरोलेको कथा ।
‘मायालु कलिङ्’ कथामा भने कता कता आफै भेटिए जस्तो लाग्छ । कुनै बेला भएको आफ्नै प्रेमीको मोबाइलमा मेरो नाम के लेखेको रहेछ भन्ने कौतुहलता उ वेलामा मलाई पनि लाग्थ्यो । धेरै पटक हेर्न कर गरेको पनि छु, जखौर तालमा लुछातानी गरीगरी उसको मोबाइल हेर्दा मेरो नाम पनि उसले बाबु भनेर सेभ गरेका पाउँदा संसारै बिर्सेको याद दिलाइदियो । डम्मर बहादुर बमकी प्रेमिका सबैकी प्रेमीका हो । सबैका प्रेमिका यस्तै हुन्छन् झर्किन्छन्, रिसाउँछन् तर आत्मीयता राख्न छोड्दैनन् । सामाजिक सञ्जालको प्रयोग आउनु पूर्वको सङ्कीर्ण तर अथाह प्रेम गर्छे सुजाता । सुजाता जीवन्त छे, डम्बरे निराश छ ।
मायालु कलिङमा क्रेजी लभर बनेका कथाकार ‘अन्तिम क्रान्ति’ नामक कथामा आउँदा क्रान्तिको विद्रोही बन्छन् । सुरुमा कर करमै राजनीति बुझेको भक्ते कथा सकिन लाग्दा क्रान्तिकारीहरू प्रति नम्र बनिसकेको हुन्छ । कथा सुरु हुनै लाग्दै फिरुको पसल पढ्ने बित्तिकै चकमेली चोक आँखा अगाडी झलझली आउँछ । कैलाली बहुमुखी क्याम्पसमा पढेर चकमेली चोकको समोसा नखानु भनेको क्याम्पस नपढेकै सरह हो । कथामा प्रेम खोज्ने मान्छे म राजनीति र आन्दोलन पढ्नु पर्दा भने तन्द्रा तन्द्रामै पाना पल्टाइदिन्छु । तर परिवेश र पात्र चिनेजस्तो लागेपछि घोत्लिएर पढ्न मन लाग्दो रहेछ ।
‘कटटु’ पढिरहँदा मलाई साँचिक्कै हाँस उठेको थियो । साँचै कट्टु नै लगाएर कोही गर्भवती हुन्छ त, कस्तो हावा कुरा लेखेको । तर कट्टु कथामा जुन दाइ कल्पना गरिएको छ, त्यस्ता दाइ प्राय सबैको जीवनमा दखल राख्छन् । जसको जीवनमा त्यस्ता दाइहरू छैनन्, कहिलेकाहीँ मानिसहरूलाई सकसमा ती दाइहरूको अभाव रहन्छ । कट्टु मलाई साँच्चै रमाइलो लाग्यो । यो कथा नै हो भने साँच्चै पूर्ण कथा छ । रहस्यमयी कथा छ । प्रेम पस्कन लेखकले सायद लाज माने होलान् तर पढ्दा प्रेम भेटिन्छ ।
ह्वाइ रोजेजमा कोरिएकी पात्रलाई भने सायद कथाकारले बाहिर कतै भेटेका हुन सक्छन् । कथाकार रमण जैसरीको प्रस्तुतिले यहीँ भन्छ । भनौँ न किताब पढिसक्दा सम्म यो कथाकी पात्रले म मा आरिस जगाइदिई । कोही होस् न जसले प्रेम गरोस् अनि म उसलाई यतिकै मात्रामा उसका भावनाहरूबाट च्युत गर्न सकूँ ।
त्यस्तै ‘छाता’ कथाले मलाई आफ्नै धेरै अन्तरकुन्तरहरू खोलेको आभास गराइदियो । कथाकी सरिता पात्र र मिराको जति द्वन्द्व देखाउन सक्नु पर्थ्यो त्यति देखाउन सकेको भए ‘मस्ट वेटी’ कथा सायद यही हुन्थ्यो छाता । अचेल समाजमा सरिताहरू बढिरहेका छन्, सम्बन्धहरू यति कमजोर भेटिन्छन् अचेल, यस कथाले टिपेको छ ।
रमणका कथाहरू कति बनावटी छन्, कति भोगेका पनि होलान्, कति सुनेका पनि होलान् । तर दन्त्य कता होइनन् । बरु यी कथाहरू फ्रायडका जस्ता मनोवादमा केन्द्रित छन् वा बिपीका कथा जस्ता आत्मकेन्द्रित । हरेक कथामा कथाकार आफै छन् र नायकत्व निभाउँछन् । कोरिएका पात्रहरूले काल्पनिक नलाग्ने गरी आफ्नो जिम्मेवारी निभाएका छन् ।
‘आधा सगरमाथा’ कथा भने बेग्लै पहिचान बोकेको कथा हो, वा कथा होइन वा जे भएपनि नपढी नहुने । हामीले गर्वले ठड्याइराखेको सगरमाथालाई चिनियाँहरूले हाम्रो हो भनेर सबैका माझमा भन्दा मुटु कसको चुँडिदैन र ? अनि रगत कसको उम्लँदैन र ? अनि कसरी माया लाग्नु चिली ढ्याङ्गको ? कसरी सम्मान जाग्नु आफ्नै शासकहरूको ? यो कथामा सगरमाथाको कथा पनि भएको भए जस्तो लागे पनि मैले पहिले यदाकदा सुनेको तर यकिन नगरेको तथ्य कथाकारले उजागर गरिदिएका छन् त्यो खासमखास तथ्य भने सबेले पढ्नै पर्ने हो ।
हुन त सबै कथा मिठा छैनन् ‘मास्टरी’ कथा पढ्दा क्रान्ति कति दोहोर्याएको होला भन्ने नलागेको होइन । अल्छी नलागेको होइन । किताबको दाम नतिरी फोकटमा पढ्न पाएको भए पढ्दिन पनि थिए होला त्यो कथा तर पूरै दाम तिरेपछि नपढे त घाटा लाग्ने निश्चितै हो ।
‘छोराको जन्मदिनको’ पात्रको धपेडी उस्तै मनमोहक छ । बडो अस्तव्यस्त पात्रलाई रमणले जतन गरेर पस्किएका छन् । अन्तिममा बस छुट्नै लाग्दा त्यो पात्र कहाँ गयो होला भनेर मैले पनि एकछिन खोजी गरेँ ।
रमणका लेखनीहरू छिटपुट पढ्दा सधैँ नै लाग्छ, उनले रोमान्स लेख्न सक्छन्, कुनै कुरा नलुकाई स्वच्छन्द लेख्न सक्छन् । लेखाइमा अड्केलो फुकाउन सक्छन् । तर होइन उनको लेखनीमा धक भने प्रशस्त छ । चाहेर पनि मिठो आलिङ्गन वर्णन गर्न नसकेको आभास धेरै पटक भयो ।
दशकदेखि जर्मनीमा हुर्किरहेता कथामा जर्मनका सेरोफेरो किन परेन भन्दै आफै गम खाँदै थिएँ । तर रमणले त्यो अनुभवलाई पनि हटाइदिन्छन् अन्त्यसम्म आइपुग्दा । ‘४ युरो ५० सेन्ट’ कथामा थोरै भए पनि जर्मनीको जिन्दगी पाइन्छ । ‘माया गरेको पो त लाटी’ र ‘टीका’ कथाले पनि पाठकलाई प्रशस्त ठाउँमा मनोरञ्जन दिन्छ। साहित्य दिन्छ । मिठो पढाइ दिन्छ । टिका कथाले परिवार र समाजमा आएको परिवर्तनलाई समेत उजागर गरिदिन्छ । अरू त पाठकले आफ्नै किसिमले लिने हो, जे जति लिन सकिन्छ ।
अन्त्यमा रमणले लेखेका कथाहरूमा केही त छ जसले पाठकलाई जुनसुकै कथा सुरु गरे पनि पछिसम्मै तानेर लान्छ । मेरा निम्ति त्यही लेखक सफल हो जसलाई म एक रातमा पढेर सिद्ध्याइदिन्छु । एक बसाइँमा पढेर सिद्ध्याइदिन्छु ।
एकै रातमा पढ्न सकिने ‘कथा हुन कथा होइनन्’ ले पाठकलाई गलत निर्णय गरेछु भनेर लघुताभास भने हुन दिँदैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।