जो कोही व्यक्ति विना साधन र साधना सजिलै पाइला टेक्न नसक्ने ठाउँमा पुगेर त्यहाँको बस्तुस्थितिलाई उज्यालो स्वरूप समाजमा छर्कने व्यक्ति हुन् भवानी खतिवडा । साहित्यका विविध विधामा कलम चलाएकी छन् भवानीले, तर एउटै कृतिबाट म बहुतै प्रभावित भए । यिनका अरू कृति पढेकी छैन मैले । लेखक अनिता कोइरालाको अनुरोधमा यिनको कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भएको थियो । बस् त्यतिखेरै साक्षात् भेट भयो ।
आकाश ओढेको डोल्पोको अध्ययन पश्चात् सोच्दै छु म, “कि पढेर जानिन्छ कि परेर” भने झैँ कि त त्यस ठाउँमा गएर ज्ञान बटुल्न सकिन्छ कि त यात्रा संस्मरण पढेर नै ।
२०७८ सालको दशैँपछि चार पदमार्गी भवानी, रञ्जु, प्रभा र सरस्वतीले काठमाडौँदेखि ११ दिने कठिन हिमाली परिवेशको यात्रा सुरु गरे । यात्रा गर्दा बाटोमा आइपरेका अनेक समस्याको सामना गर्दै आफ्नो गन्तव्यसम्म पुग्न सफल भएँ । उनको नियात्रा पढ्दै गर्दा सबै दिनको यात्रा विवरणलाई पुस्तक मार्फत अवगत गराएकी छिन् । भवानी साह्रै अध्ययनशील रहिछन् । हरेक दृश्यावलोकनलाई अक्षरमा उतार्न सफल उनी मठमन्दिरसँग एकालाप गर्छिन् । ठाउँ ठाउँको बाटो मन्दिर होडिङ् बोर्डहरूको नाम समेत टिप्न भ्याएकी छन् । कतिपय ठाउँमा कविता रचेकी छन् र उखानटुक्काको समेत प्रयोग गरेकी छन् जसले गर्दा पुस्तक रोमाञ्चक बनेको छ । बाटोमा जो देखे पनि बोल्ने बोलैया उनी शब्दलाई खेलाउन पनि निपुण रहेको पाइयो । शब्द सौरभी यिनी त शब्दको जादुगर नै हुन् । पुस्तक पढ्दै गर्दा यस पछि के आउला, के आउला, भनी पाठकलाई कौतुहलता हुन्छ ।
बाटोमा देखेजति दृश्य पुस्तकमा उतार्न भ्याएकी छन् जसले गर्दा पाठकको मन मस्तिष्कमा पनि एक किसिमको चित्रात्मक बिम्ब बन्छ । पाठकलाई पदयात्रीहरूसँगै यात्रा गरेको अनुभूति हुन्छ । अपरिचित ठाउँमा पनि मान्छेलाई आत्मीयता दर्साउँछिन् । सरकारी जागिरे कृषि क्षेत्रमा भएर होला स्याउ बारीमा गएर स्याउको स्याहारसुसार गर्न सिकाउँछिन् ।
पुस्तक पढ्दै गर्दा रमाइलो लाग्यो ठाउँठाउँमा । नेपाली मनहरूले आत्मीयता देखाएका छन् । बाटोमा पद्म बा जस्तो मानिस भेटिनु, छोरीहरू भनेर टिका लगाइदिनु, आशीर्वाद दिनुले नेपाली छोरीचेलीको सम्मान गरेको देखिन्छ । यो आम नेपालीहरूको संस्कार हो । अर्का तिर महिलालाई हेर्ने परम्परागत दृष्टिकोणमा अझै परिवर्तन नआइसकेको र नारी स्वतन्त्रता नरुचाउने प्रभाकर गेस्ट हाउसका साहुजी जस्ता समाजका प्रतिनिधि पात्र पनि छन् जसले टाढाबाट आएका दिदीबहिनीहरूलाई सम्मान गर्नुको सट्टा आइमाई आइमाई हिँडेपछि सर्पले पनि हेप्छ भन्ने निम्न स्तरको अभिव्यक्ति दिएर समाजमा यस्ता पात्रहरू पनि छन् भन्ने सङ्केत गरे । ती सबै परिस्थितिलाई आफू अनुकूल गराउँदै सौहार्दपूर्ण वातावरण बनाउन नियात्राकारहरूले आफ्नो यात्रा अगाडि बढाइरहेको पाइन्छ ।
लेखक जहाँ पुग्छिन् त्यहाँ हिमाली सौन्दर्यको व्याख्या गरेकी छन्, अघाउँदिनन् हिमालको सौन्दर्यलाई पिएर । प्रकृति प्रेमी हुन् उनी । पुस्तक अध्ययनकै क्रममा लेखकले अपरडोल्पालाई स्वर्ग मानेकी छन् तर म सोच्दैछु त्यो अप्ठ्यारो परिस्थिति बाटोघाटो नभएको ठाउँमा बासिन्दाको अवस्था के होला । हामी सुगममा भएर त कहिलेकाहीँ गाह्रो हुन्छ ओखती मुलोको लागि झन् त्यहाँ के होला… सोचनीय अवस्था । त्यही भएर त्यहाँका एक जनाले भनेका छन् । “हामी गरिपका लागि सोर्ग छोइना अपरडोल्पा, हामी भरियालाई दूख्ख मात्र हो यो ठाउँ, अन्न फलन्या नाइ, भारी बोकेर जीवन धानन्याँ हुन् सप्पैले । जडीवुटी बेचेर ज्यान पाल्न्या हो, तपैहरुलाई दुई चारदिन घुम्न मात्र राम्ररो छ तर यै जीवन विताउने गरिपलाई धेरै दुख्खो छ ।” पृष्ठ १४४ ।
साहसी एवं निर्भीक लेखकले त्यहाँको प्रकृति, संस्कृति जनजीवनलाई साक्षात् भेट गराएकी छिन् । धन्य छन् भवानी खतिवडा । त्यस ठाँउलाई हाम्रो नयनले नदेखेता पनि पैतालाले स्पर्श नगरेता पनि आकाश ओढेको डोल्पोको यात्रा वृत्तान्तमार्फत डोल्पा देखेका छौं । पुस्तक पढ्दै गर्दा लेखकसँगै यात्रामा छु भन्ने खालको शिल्प छ यिनमा । भवानीका यस्ता पुस्तकहरू हामी माझ आइरहुन् र पाठकलाई प्रेरणा मिलिरहोस् । हामी पाठकले ज्ञानको भकारी भरिरहूँ । आकाश ओढेको डोल्पोलाई डुबुल्की मारेर स्नान गरौँ । त्यहाँको अति विकट भूगोलसँग सजिलै परिचय होऔँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।