विगत १८ वर्षदेखि मसँग ‘आरोहण’ साहित्यिक पत्रिकाको केवल एक अंक थियो अंक ५ । त्यसपछि अनायास मोहन ठकुरी दाजुले केही दिन अगाडि पठाइदिनु भयो ‘आरोहण’ अंक ७ । यति लामो अन्तरालपछि स्तरीय पत्रिकाको पुनरागमनले म पुलकित भएँ, सायद अरू पनि भए होलान् । अंक ५-मा प्रकाशित लेख-रचना र कविताबाट निकै प्रभावित भएको म यो नयाँ अंक देख्दा मोहन दाजुको दृढसंकल्प प्रतिको मेरो विश्वास अझै चुलिएर गयो । दाजुको भागीरथ प्रयासको सहयात्री सुरज गुरुङलाई सहकार्य गर्न पुस्तान्तरणले छेकेनन् । सन् २००६ मा प्रकाशित अंक ५ मा इन्द्रबहादुर राई केन्द्रित थियो र राजनारायण प्रधानको लेख उनी माथि थियो । १८ वर्ष पछि दुवैले इहलीला समाप्त गरिसके ।
आरोहणको नयाँ अंकको सम्पादकीय चुस्त र छरितो छ । सम्पादक मोहन ठकुरी लेख्छन् – वचनबद्ध ‘आरोहण’ ।
क्राइष्टाब्द २००० ‘आरोहण’ को प्रवेशाङ्क प्रकाशित हुन्छ । प्रवेशाङ्कको पहिलो पृष्ठमा लेखिएको छ : ‘आरोहण’ वचनबद्ध छ – स्तरीयताका निम्ति ।
आज दुई दशकभन्दा बढी समय बितिसकेको छ । ‘आरोहण’ को प्रकाशन दार्जिलिङको श्याम ब्रदर्श, कालेबुङको उपमा प्रकाशन हुँदै आज सालुगढाको ‘सम्बोधन प्रकाशन’मा आइपुगेको छ । एउटा ठुलो आशा र भरोसा उक्लेर ‘आरोहण’ आज सम्बोधनको काँधमा अडेसिएको छ ।
क्राइष्टाब्द २०२३ ‘आरोहण’को सातौँ अङ्क पाठकको हातमा छ । आज पनि ‘आरोहण’ वचनबद्ध छ स्तरीयताका निम्ति । आज पनि पत्रिकालाई स्तरीयता प्रदान गर्ने प्रचेष्टालाई सम्माननीय साहित्यकार र प्रिय पाठक दुवैको सहयोग प्रार्थनीय छ ।”
‘आरोहण’ स्तरीय थियो र छ – यसमा दुविधा र दुई मत हुनै सक्दैन । ७ अंकसम्म आउँदा सम्पादक एक अनि प्रकाशक तीन । नेपाली साहित्यमा नेपाल र नेपाल बाहिर प्रकाशित हुने साहित्यिक पत्रिकाको अवस्था दयनीय छ- केही आर्थिक हिसाबले र केही लेख रचनाले । यी दुई वटै समस्याले साहित्यिक पत्रकारिताको स्थिति प्रतिकूल बनाउँदै गइरहेको समयमा स्तरीयताको कटिबद्धता आउनु आफैँमा सुखद अनुभूति हुनु हो ।
राजेन्द्र भण्डारीको वासुदेव पुलामीसँगको २० पृष्ट लामो अन्तर्वार्ताले यसको द्योतक हो । यो वार्ता पढेपछि राजेन्द्र भण्डारीको कविता लेखन र भारतीय नेपाली कवितालाई बुझ्न सहज हुने ठानेको छु । केही महिनाअघि दिवंगत हुनु भएका नरबहादुर दाहालले जन्ड समालोचक रामकृष्ण शर्मासँग धेरै लामो सङ्गत गरेको कुरा मलाई भन्नु भएको थियो । यस अंकमा समावेश रामकृष्ण शर्मा माथि उनको लेख मनन र चिन्तन योग्य छन् । गुमानसिंह चाम्लिङमाथि जय क्याक्टसको लेख सन्तुलित छ भने नेपथ्यमा बस्न रुचाउने युवा लेखिका शैलीका छेत्रीको ‘मृत्युको कुवा’ निकै विचारोत्तेजक लेख छ । ।
नेपाली भाषामा वर्ण विन्यास ठुलो टाउको दुखाइ भएको छ । भारतमा पनि कुनै समय पारसमणि प्रधान र शिवराज शर्माको यस विषयमा लामो जुहारी चलेको थियो । यही संवेदनशील विषयमा लेख्छन् सञ्जय विष्ट । ‘वर्ण विन्यासको सरल रैखिक र लम्बीय ढाँचा’ शीर्षक लेखमा उनी लेख्छन्, ”नेपाली भाषा लेखनमा आउने देवनागरी वर्णमालाका ठाडो खुट्टी नभएका वर्णहरूलाई सरल रैखिक ढाँचामा लेख्ने कि लम्बीय ढाँचामा लेख्ने भन्ने सन्दर्भमा पछिल्ला समयमा निक्कै विवाद चुलिएको छ । सरल रैखिक ढाँचा प्रविधिमैत्री रहेको साथै यसले सही उच्चारणमा सहयोग पुऱ्याउने र लेखनमा स्पष्टता आउने बताएर यसैलाई अपनाएर स्थापित गराई लेखनमा वर्ण विन्यासगत एकरूपता ल्याउनु पर्ने मान्यतामा व्यक्तिगत र सामूहिक प्रयासहरू भइरहेका छन् ।
२००९ (वि स २०६६) को चन्द्रगढी घोषणा पत्र, नेपाल प्रज्ञा प्रतिष्ठानको २०१० (वि स २०६७) को भाषा सङ्गोष्ठीको निर्णय, नेपाल सरकारको शिक्षा मन्त्रालयबाट पाठ्यक्रम विकास केन्द्रका नाममा जारी गरिएको २०१२ (वि स २०६९) को निर्णय, २०१५ (वि स २०७२) को नेपाली बृहत् शब्दकोश आदि सरल रैखिक वर्ण विन्यासका पक्षधर रहेका देखिन्छन् । माथि उल्लिखित चन्द्रगढी घोषणा पत्र आदिका निर्णयका सन्दर्भमा ‘विभिन्न संस्थाबाट देवनागरी लिपिको अस्तित्वलाई नै समाप्त पार्ने गरी गरिएका संयुक्त वर्णको खुट्टा काट्ने निर्णय मानक भाषा निर्माणका निम्ति घातक रहेको हुँदा त्यसलाई कुनै पनि हालतमा प्रचलनमा ल्याउन हुँदैन’ भन्ने दृष्टिकोण भएका वर्ण विन्यासको लम्बीय ढाँचाका पक्षधर व्यक्ति र समुह पनि छन् ।”
यस अंकमा सन् सत्तरी दशकमा कविता लेखन शुरु गरेका मनप्रसाद सुब्बा, नोर्जाङ स्याङ्देन, राजेन्द्र भण्डारी, अविनाश श्रेष्ठ, ज्ञानेन्द्र खतिवडा, कालुसिंह रनपहेंलीदेखि सन् २००० पछिका सशक्त कविहरू कमला तामाङ, योगिता राई, निरज थापा, सूरज गुरुङ आदिको बलियो उपस्थिति छन् ।
“उहिले नै एन्डर्सन ब्रिजमा उभेर देवकोटाले गरेका गर्विलो सम्बोधन ‘ओ माइटी टिस्टा !’ उसको स्मृतिमा टल्किन्छ टिलिक्क जस्तो कि चाँदीको तक्मा कुनै पूर्व सैनिकको जसको चहलपहल ह्विल चेयरमा खुम्चिएको छ । यस्तो असक्त अवस्थामा अचेल उसले विकास गोतामेले सुनाएका कविता पनि सम्झिरहन्छ – ‘तिस्ता, तिमी बग्नू, बग्नू… ‘ अनि भन्छ आफैलाई – ‘तिस्ता, तिमी बग्नू, बग्नू…’ अनि त फेरि ती गीत-कविताहरू सबै मुछिएर जिग्सऽ पजलजस्तै उसको स्मृतिमा खल्बलिन्छन् – ‘जहाँ बग्छ ओ माइटी बग्नु तिमी टिस्टा…'”
मनप्रसाद सुब्बा – “बडा रङ्गीत अनि टिस्टाको कथा”।
भर्खरै नविनतम् कथासंग्रह ‘वेन्टिलेटर’ लिएर आएकी विन्द्या सुब्बाको ‘दीपावलीको रात र सीता’ कथा निकै मार्मिक छ । भारतीय साहित्य अकादमी पुरस्कार प्राप्त विन्द्या सुब्बा उम्दा कथाकार मात्रै होइनन् सफल नियात्राकार पनि हुन ।
अबीर खालिङको ‘विपर्यस्त’, मणिकुमार प्रधानको ,बुकुने कथाहरू’ र सञ्जीव छेत्रीको’गाउँ खाने कथा’ यस भित्रका राम्रा कथाहरू हुन ।
मोहन ठकुरीले के. सत्चिदानन्दनको “गाँधी र कविता’ अङ्ग्रेजीबाट अनुवाद गर्नु भएको छ ।
“एउटा दुब्लो कविता
पुग्यो एक दिन
उनको एक झलक दर्शनार्थ
गाँधीको आश्रम ।
रामका निम्ति धागो कातिदिँदै गरेका
गाँधीले
ढोकामा पर्खिरहेको कवितालाई ध्यानै दिएनन् ।
आफू भजन नभइदिएकोमा लजित हुँदै खोकेको जस्तो गर्यो उसले
अनि
अनेक दुःख-कष्ट देखेका चश्माबाट एक झलक दृष्टि फ्याँकिदिए गाँधीले उतिर ।”
यस अंक समावेश गरेका एकमात्र पुस्तक समीक्षा गर्नु भएको छ गत नोभेम्बरमा दिवंगत हुनु भएका एक गम्भीर अध्येता अर्जुन प्रधानले । उनले कमला तामाङद्वारा लिखित एवं सम्पादित ‘सिर्जनावृतमा मोहन ठकुरी’ नामक पुस्तकमा खरो समीक्षा गर्नु भएको छ । उनी लेख्छन्, “विद्वत् समालोचक श्रीयुक्त पेम्पा तामाङले कमला तामाङको यस ग्रन्थको भूमिका लेखेका छन् । उनको गहन भूमिकामा मोहन ठकुरीका काव्यलेखन र तिनमा सुधीर छेत्री, मनप्रसाद सुब्बा, नरेशचन्द्र खाती, सञ्जय बान्तवा आदि जस्ता प्रबुद्ध समालोचकहरूका विमर्श जसको उठान लेखिकाले गरेकी छन्, तिनलाई विशेष केन्द्रीकृत गरिएका छन् र काव्यिक उद्बोधन एवं सौन्दर्य विधान विषयक विश्लेषकको उपक्रममा अङ्ग्रेजी साहित्यका चिन्तक समालोचकहरू टी एस इलियट, ज्याक्स डेरिजा, रोला बार्थ, टेरी इगल्टन आदिका अवधारणालाई पनि अगाडि ल्याइकन तिनका आलोकमा विमर्शलाई राखिएका छन् । विवेच्य ग्रन्थमाथि भूमिकाकारको निम्न भनाइलाई अघि सार्दा के कुरा स्पष्ट हुन जान्छ भने लेखिकाले आफ्नो यस कृतिको संयोजन नियोजनमा जति बल लगाएकी छन् त्यसका लागि उनलाई स्याबासी दिने ठुलो ठाउँ भेटिन्छ ।”
मोहन ठकुरीको महत् कार्यको सारथी सुरज गुरुङ ‘प्रकाशकीय’ मा लेख्छन्, “वरिष्ठ साहित्यकार मोहन ठकुरीद्वारा सम्पादित साहित्यिक पत्रिका आरोहण पुनः प्रकाशित गर्न पाउँदा सम्बोधन पब्लिकेसनले हर्ष अनुभव गरेको छ । भारतेली नेपाली साहित्य जगत्मा आरोहण को पदार्पण निक्कै उज्यालो थियो । साहित्य अनुरागीहरूका लागि आरोहण नितान्त प्रिय पनि । तर यस पत्रिका निरन्तर प्रकाशित हुन नसक्नुको खल्लोबोध सबैमा थियो ।
एक दिन ।
साहित्यकार मोहन ठकुरीले आरोहण प्रकाशनको दायित्व सम्बोधन पब्लिकेसनको काँधमा थमाइदिनुभयो ।
उहाँले भन्नु भयो : पाठकले आरोहण खोजिरहन्छ । सर्जकहरूको इच्छा छ – यो पुनः प्रकाशित होस् । म पनि चाहन्छु – आरोहण प्रकाशित होस् । तपाईं प्रकाशनको दायित्व लिनु हुन्छ भने म सक्रिय रूपमा खट्न तयार छु । मलाई लाग्यो यो सौभाग्य साहित्यको सेवा गर्ने अवसर हो । त्यसैले पनि सहर्ष स्वीकारोक्तिको हात अघि बढाएँ ।
प्रिय सर्जक अनि सचेत पाठकहरूको लगभग चौध वर्षको पर्खाइपछि आरोहण बजारमा आउन सकेको सुखद क्षण छ अहिले ।
आरोहण तपाईंको हातमा छ ।
तपाईंको समुचित सुझाव र आशीर्वाद आरोहणका लागि प्रेरणा हुनेछ । साहित्यको यो लामो यात्रामा हामी सँगसँगै हिँड्नेछौँ ।”
हामी पनि चाहन्छौ आरोहणले निरन्तरता पाओस् । आरोहण दुई दशक अगाडि प्रकाशित हुँदाको साहित्यकार अहिले वरिष्ठ भइसके उमेर र अनुभवको हिसाबले, र उनीहरूको यस अंकमा बाहुल्यता देखिनु स्वाभाविक हो । तर पत्रिका नयाँ साहित्यकारहरूको निम्ति साहित्यमा उक्लने खुड्किलो पनि हो । ‘गोर्खा संसार’-ले सन् १९२७ तदानुसार वि.स १९८३मा २० वर्षे रूपनारायण सिंहको ‘परिवर्तन’ र ‘अन्नपुर्णा’ प्रकाशित नगरिदिएको भए ‘भ्रमण’ जस्तो उत्कृष्ट उपन्यास नेपाली साहित्यले पाउने थिएन । यसै गरी ‘शारदा’ पत्रिकाले २१ वर्षे रामकृष्ण शर्माको ‘अंग्रेजी साहित्यको प्रभाव’ शीर्षकको पहिलो लेख प्रकाशित गरिदिएको थियो । यस लेखले नेपाली साहित्यमा ठुलो हलचल ल्याएको कुरा ‘शारदा’मा प्रकाशित दुई सम्पादकीयले पुष्टि गर्छ ।
यो लेखबाट उत्साहित भएर शर्माले उत्कृष्ट समालोचनाहरू नेपाली साहित्यलाई दिए । यस्तै उत्साहप्रद कार्य पनि ‘आरोहण’-बाट अपेक्षा गरेको छु । साथै भारतीय साहित्यकारहरूको लेख र कविता मात्र राख्ने सङ्कुचित घेराबाट मुक्त होस् अभीष्ट राख्छु । २ दशकमा प्रविधिले फड्को मारिसकेकोले यसको प्रयोग मार्फत विश्वभरबाट लेख-रचना र कविता आव्हान गर्न सकिन्छ । मेरो यी दुई सुझावलाई प्राथमिकता दिनुहुने छ भन्ने आश गरेको छु । ‘आरोहण’-को आगामी अंकको व्यग्र प्रतीक्षामा छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।