माझकिरातको खोटाङमा जन्मिएर हुर्किएकी सुष्मा रानाहँमा एक ‘प्रमिसिङ’ युवाकवि हुन् । उनको कवितासंग्रह आमाको तासफोटो वि.सं. २०७७ मा प्रकाशित भएको हो । पहिलो कवितासंग्रहको रूपमा आमाको तासफोटोभित्र सुष्माका कुल पैँतालिस ओटा कविता समेटिएका छन् । यो संग्रहमा सुष्माले वैदेशिक रोजगारीमा रहँदाका अनुभूति, किराती सभ्यता, प्रेमजस्ता विषयमाथि केन्द्रित रहेका कविता समावेश गरेकी छिन् । रुमानी प्रेमका अनुभूतिहरू किराती संस्कृति र जनजीवनको बिचबाट किराती सुगन्धसहित उद्भाषित भएको पाइन्छ ।
आमाको तासफोटोभित्र समेटिएका सम्भवतः धेरै कविता सुष्माले विदेशी भूमिमा कामदारको जीवन बिताउँदै लेखेकी हुन् । वैदेशिक रोजगारीका निम्ति दक्षिण कोरिया पुगेर उतै कार्यसम्पादन गरिरहेकी सुष्माका कवितामा श्रम र श्रमिकका उच्छ्वास व्याप्त छन् । कोरियाको तालपार्कसँग एक विदेशी श्रमिकका रूपमा आफ्ना दिनचर्या, एक्लोपन र वेदनालाई सुष्माले पोखेकी छिन् । उदाहरण हेरौँ :
तिम्रै सामुन्ने पोखाएका केही मुग्लाने वेदनाहरू
बटुलेर फेरि बनाएँ कविताहरू (“तालपार्क” १८) ।
विदेशी भूमिलाई इङ्गित गर्ने रूपकका रूपमा सुष्माले नामपदका रूपमा ‘मुग्लान’ शब्द र यसको विशेषण ‘मुग्लाने’ प्रयोग गरेकी छन् । उनका यी पदावलीहरू उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ : मुग्लाने वेदना (१८), मुग्लाने ज्यान (२४) ।
बास बस्ने भूगोल फेर्दै हिँड्नु वैदेशिक रोजगारीमा गएका मानिसहरूको रहर होइन, परिबन्द हो । यस्ता सयौँ परिबन्दहरूलाई आप्रवासी कामदारले बेहोर्दै हिँड्नुपर्छ । यी अनुभूतिलाई सुष्माले विभिन्न कविताहरूमा समेटेकी छिन् । अर्को एक कवितामा उनी लेख्छिन् :
आखिर हामीलाई पटकपटक प्रवासले
नयाँ ठाउँहरू चिनाउन अह्राए
पटकपटक नयाँ साजाङ्निम (कम्पनी साहु) लाई
निहुरिएर इन्सा (अभिवादन) गर्न सिकाए ) “तिमी पुगेको ठाउँसम्म” (४२)
“पातालको उत्सव” शीर्षकको कवितामा सुष्माले विदेशी भूमिमा कार्यरत श्रमिकको कथा बुनेकी छन् । गृहदेश फर्किने चाहना तत्काल पूरा नभए पनि मदिराका बोतलहरूमा जिन्दगीका उत्सव मनाउनुपर्ने बाध्यता पातालमा श्रम बेचिरहेका वैदेशिक कामदारहरूलाई छ । सुष्माले यही बाध्यतालाई काव्यिकरण गरेकी छन् ।
यन्त्रहरूको सामीप्यमा काम गर्दागर्दै जुनसुकै बेला अङ्गभङ्ग हुन सक्ने सम्भावनाप्रति सचेत कवि सुष्माले ठुलाठुला कारखानामा यन्त्रकै गीत गुनगुनाइरहेका औद्योगिक युगका करोडौँ श्रमिकहरूको जीवनकथालाई “यन्त्रको जिन्दगी” कवितामा टिपेकी छिन् । यान्त्रिक सभ्यताको विकास हुनुभन्दा पहिले जीवनशैली अति सरल र सन्तोषपूर्ण थियो । विगतको प्राकृतिक जीवनशैली र वर्तमानको यान्त्रिक जीवनशैलीबिचको विपर्यासलाई समातेर सुष्माले वैदेशिक रोजगारीभित्रको निरस र यन्त्रवत् दिनचर्यालाई मार्मिक रूपमा चित्रण गरेकी छिन् । एक उदाहरण यस्तो छ :
नोटको खेती गर्नु पहिले
छरेको बिउ उम्रिनु पहिले
बाँच्नका लागि कन्दमूलहरू काफी थिए रे
हाँस्नका लागि ती मुस्कानहरू साफी थिए रे
… … … …
कुनै पनि बेला–
किच्याउन सक्छ जिन्दगीलाई
निल्न सक्छ कारखानाको गोहीले कारखानामै (५२-५३) ।
श्रमिक मजदुरका भावना, कठिनाइ र मुक्तिको चाहनाप्रति सचेत र संवेदनशील देखिने सुष्माले सम्पन्न राष्ट्रहरूभित्र कायम रहेको वर्गीय असमानतालाई पनि उजागर गरेकी छिन् । “हजुरआमाको ठेलागाडा” सुष्माको एक उत्कृष्ट कविता हो । कोरियाली सम्पन्नता फर्सीको लहरोजस्तै फैलिए पनि सम्पन्नताको चाङमुनि पहेँलिएको सागजस्ता नागरिकहरू छन् । फर्सीको मुन्टा र सखरखण्डको पात बेच्न ठेलागाडा चलाइरहेकी सुष्माकी पात्र कोरियाली हजुरआमा पहेँलिएको पातजस्ता नागरिकहरूको प्रतिनिधित्व गर्ने एक रूपक हुन् । नियोन लाइट बल्ने झिलिमिली रेस्टुरेन्टहरूमा जब साँझपख विलासी जीवनका पर्याय बियर र मासुका परिकार बिक्री हुन थाल्छन् तब हजुरआमाका फर्सीका मुन्टा र सखरखण्डका पात बिक्री हुँदैनन् ।
सुष्माका कविताहरूको काव्यिक आस्वादन ग्रहण गर्न किरात संस्कृतिका प्रथा, परम्परा र शब्दहरूलाई राम्ररी बुझ्न सक्नुपर्छ । यहीँनिर उनका कविताको सौन्दर्य पल्लवित छ । किरात संस्कृतिका मिथक, विम्ब, पुराकथा, प्रतीक र सांस्कृतिक प्रथाको प्रयोग गरेर सुष्माले संग्रहमा परदेशी जीवनका मनोभाव, अपूर्णता, गृहभूमिको आकर्षण, स्वसंस्कृतिप्रतिको अक्षुण्ण लगाव, सांस्कृतिक पहिचान, प्रेमको सौन्दर्य, प्रेम जीवनका दुर्घटनाजस्ता विषयलाई काव्यमय प्रवाहसहित प्रस्तुत गरेकी छिन । यस्ता विषयवस्तु बोकेका उनका कविताहरूमा “आदिवासी”, “बागदातामा अल्झेको रुङ्री”, “तयामा”, “उँधौली र उँभौली”, “कचुर” आदि पर्दछन् ।
“आदिवासी” शीर्षकको कवितामा सुष्माले चिम्सा आँखा, थेप्चो नाक, ढोलझ्याम्टा आदिको गौरव अभिव्यक्त गरेकी छन् । एक किरात नारीका रूपमा उनको यो सौन्दर्यबोध जातीय चेतनासँग सम्बन्धित छ । “बागदातामा अल्झेको रुङ्री” शीर्षकको कवितामा सुष्माले बागदाता दिने सांस्कृतिक प्रचलन, यो प्रचलनप्रति उनको आपत्ति र नागरिकतासँग बागदाताको तुलना एकै पटक अघि सारेकी छन् ।
किरात राई र लिम्बुहरूको संस्कृतिमा बागदाता भनेको विवाह गरेकी छोरीलाई माइतीका तर्फबाट बेहुला पक्षलाई गरिने आधिकारिक हस्तान्तरण हो । विवाह गरेर गएकी नारीको बागदाता माइतीले दिएका छैनन् भने घर पक्षकाले माइती पक्षसँग बागदाता लिनुपर्छ । माइती पक्षबाट बागदाता प्राप्त नभएसम्म मृतक महिलाको मृत्यु संस्कार गर्न नहुने नियम छ । मरेपछि भए पनि बागदाता लिनुपर्छ ।
“कचुर” सुष्माको अर्को एक किराती सांस्कृतिक चेत भएको कविता हो । किराती राई संस्कारमा बिजुवाले कचुर काट्दा काटेको टुक्रा भुइँमा उल्टन वा सुल्टन सक्छ । उल्टनुलाई अपशकुन र सुल्टनुलाई शुभसङ्केत मानिन्छ । यो कवितामा सुष्मा बिजुवालाई घरमा चिन्ता राख्दा परदेशीको समेत जोखाना हेराइदिन आग्रह गर्छिन् । यदि परदेशीको मृत्यु पराया भूमिमा भयो भने भट्केको आत्मा भनेर नलखेट्न आग्रह गर्छिन् । सुष्माका कविताहरूको निर्मितिमा किरात राई भाषाका थुप्रै शब्द र पदावली प्रयोग भएका छन् । खोटाङ जिल्लामा पर्ने साप्सु खोलाको परिवेश पनि उनले कुशलतापूर्वक समातेकी छिन् । यसले माझकिरातको स्थानीय रङ बोकेको पाइन्छ ।
आदिम किराती पुर्खा सुम्निमा र पारुहाङको आशीर्वाद लिएर गाउँदेखि काठमाडौँ तथा विदेशी श्रमभूमिसम्मको यात्रालाई वर्णन गर्दै सुष्माले प्रेमको भौतिक विच्छेदन तर भावनाको अविच्छिन्न प्रवाहलाई समातेकी छिन् । “प्राप्ति” शीर्षकको कवितामा प्रेमको भावनात्मक महल सृजना गर्दा उनले किराती सांस्कृतिक विम्ब र शैलीलाई कच्चा पदार्थका रूपमा लिएकी छिन् । प्रेमका भावहरू सुष्माका कवितामा तीव्रतर रूपमा प्रवाहित भएका छन् । प्रेमको अप्राप्तिलाई व्यक्त गर्दा सुष्माले ग्रामीण किराती जीवनशैलीलाई आधार बनाएकी छिन् । “स्वप्नील चाह” शीर्षकको कविताको एक अंश हेरौँ –
तिमीले भात खाने झर्के थाल
अडेसिइरहेकै छ भित्तामा उसैगरी
पानी पिउने ताँबे आम्खोरा एकोहोरो उभिइरहेकै छ
जाँड पिउने डबकाहरूले, घोप्टिएरै–
तिमी निस्किएर हिँडेको दिशातर्फ
एकोहोरो नियालिरहेका छन् (३३) ।
प्रेमको ‘मेलाङ्कोलिक’ पीडा सुष्माका कविताभित्र पानीमा नुन घुलेजस्तै घुलेका छन् । उनका धेरैओटा कवितामा प्रेमप्रतिको समर्पण, नैराश्यजस्ता विषयवस्तु प्रकट भएको पाइन्छ । सुष्माका कविताहरूकोे महत्त्वपूर्ण विशेषता भनेको किराती शैलीबाट आफूलाई अभिव्यक्त गर्नु हो ।
आफ्नै सङ्घर्षशील जीवनका थुप्रै कथा, उपकथाहरू सुष्माका कवितामा पाइन्छ । “छोरा”, “बाबालाई पार्सल” जस्ता कविताले जीवन सङ्घर्षका छटाहरू प्रस्तुत गर्दछन् । सुष्माका कवितामा शिशु दार्शनिकता पाइन्छ तर त्यो दार्शनिकताले वृद्धि र विकासका कैयौँ चरण पार गरेर वयस्क र परिपक्व बन्न बाँकी छ ।
सीमितताको विषयमा कुरो गर्दा सुष्माका थोरै कवितामा मात्र नारा र ठाडो प्रस्तुति पाइन्छ । सङ्ग्रहमा कविताहरूको क्रम निर्धारण गर्दा अलिकति ध्यान नपुगेको अनुभूति हुन्छ । तुलनात्मक रूपले शक्तिशाली कविताहरू सङ्ग्रहको बिच र पछिल्लो खण्डतिर रहेका छन् ।
उनका समग्र कवितामा हुर्कंदो दार्शनिक चेत, हृदयस्पर्शी काव्यिक विधान र मानवीय स्पन्दन भेटिन्छ । उनी काव्यको अर्को परिपक्व शिखरतिर अघि बढिरहेकी छिन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।