‘दीपक र दीपकहरू’ मेरा मित्र दीपक लोहनीद्वारा लिखित लघुकथासंग्रह हो ।
म संयोगमा विश्वास गर्छु । मान्छेले आआफ्ना किसिमले संयोगलाई भाग्य, कृत्य वा भवितव्य भन्न सक्ने कुरामा म प्रश्न गर्दिनँ । मैले लघुकथाकार दीपक लोहनीलाई कुन सर्कामा चिनेँ मलाई सम्झना छैन । पुराना चिनारु होइनन् मेरा । उमेरगत हिसाबले एकाध भोटो घटीबेसी फटाएको भए पनि एकै छिमलका पनि हुनसक्छौँ । यद्यपि उनले पिएको पानी राजधानी काठमाडौँ खाल्डोको हो । मैले पिएको पानी मोफसल घोर मधेसको हो । त्यसैले जीवनका गुज्रान एकै परिवेशीय मनोविज्ञानमा नभएको पनि हुनसक्छ । तर त्यसले के फरक पर्छ र ! अहिले त हामी यार हौँ । जीवनका जिजीविषालाई केलाउने सहकर्मी हौँ । साहित्यिक गन्तव्यको समान यात्री हौँ । सारमा भनूँ हामी मित्र हौँ । यही मित्रताको द्योतकका रूपमा ‘दीपक र दीपकहरू’ सौगात भेटेँ । र, टिपेर हुइँकिएँ पाताल ।
कृति ‘दीपक र दीपकहरू’ मेरा सामुन्नेमा छ । आवरण चित्र दीप प्रज्वलित पानस मूर्ततामा रमेको छ । पश्च भागमा लघुकथाकारको छोटो परिचय, र भूमिकाका ससाना खण्डलाई प्रस्तुत गरिएको छ । प्रकाशक नारी स्रष्टा समाज, विराटनगर रहेको छ । समर्पण लघुकथाका पात्रहरूलाई गरिएको छ ।
‘दीपक र दीपकहरू’ सन्दर्भमा ममता मृदुलद्वारा भूमिकामा ‘प्रेमलाई जीवनको मुख्य आधार मानेर लेखिएका लघुकथाहरू’ भनी ठानिएको छ । श्री ओम श्रेष्ठ रोदन ‘उनी आफ्ना प्रत्येक कथामा दीपकपन छोड्न चाहन्छन् । विषयवस्तुका दृष्टिकोणले समसामयिक र नवीन छन् । विसङ्गतिप्रतिको व्यङ्ग्य सहज र सटिक छन्’ भनेर कृतिको सार खिच्छन् । विधान आचार्य दीपकका पात्र विधानको चर्चा गर्छन् ।
यसै गरी किशोर पहाडीका बुझाइमा दीपकका लघुकथाहरूले आफ्नै शैली तथा प्रस्तुति बोकेका छन् । साख्खै भाइ मणि लोहनी दाजु दीपकका शब्दमा रङहरूले तयार पारिएको अहिलेको समय र जीवनको प्रभावशाली पाटो देख्छन् । लघुकथाकार दीपक लोहनी ‘जीवन ः एउटा लघुकथा’ शीर्षकमा जीवनको लघुत्वलाई लघुकथाको लघुत्वसँग जोडेर तुलना गर्छन् र कृति प्रकाशनको गर्भ केलाउँछन् । यसपछि चौबीस ओटा लघुकथाको विषयसूची रहेको छ ।
लघुकथाको रूप विधानका बारेमा भलिभाँती परिचित छन् दीपक । कथ्यविधानको दर्बिलो ओजका बारेमा पनि पूर्ण जानकार छन् । प्रभाव जन्यता उनका लघुकथा लेखनको मूल सूत्र नै हो जस्तो लाग्छ । शीर्षकमा कौतुहलता, उत्थानमा आकस्मिकता, विकासमा तीव्रता, उत्कर्षमा चुस्तता तथा समापनमा प्रतिध्वन्यात्मकता सन्देशमा अग्रगम्यता, बोधमा प्रभाव जन्यता, स्वादमा व्यङ्ग्यात्मकता, शैलीमा साङ्केतिकता, रूपमा संक्षिप्तता, आकारमा लघुत्व आदि आदि लघुकथाका आधारभूमि हुन् । यिनमा दीपकको गम्भीरता प्रस्टै देखिन्छ । यसो भएकाले लघुकथाको स्वरूपीकरण तथा कथ्यको प्रभावीकरणमा उनका लघुकथाले नै शब्दचित्रात्मक तथा दृश्यात्मक परिभाषा प्रकट गर्छन् ।
उनको लघुकथा लेखनको दीपकीय शैली विचित्रको छ । केन्द्रमा छन् मान्छे र मान्छेको जीवन । त्यसैले मृत्युको प्रतिच्छायामा उभिन्छन् र मृत्युबोध गर्छन् । मृत्युलाई दीप प्रज्ज्लन गर्छन् र काममा फर्कन्छन् । जिन्दगीमा फर्कन्छन् । मृत्युमा पनि उनी निरास छैनन् । नश्वर संसारको कल्पना गर्दैनन् । मृत्युपछि पनि कामको लयमा फर्कनु उनको सुन्दर कल्पना हो । हेर्दा हेर्दै दीपक पित्तलको कोपरा लिएर आइपुग्छन् । जसलाई सुन व्यापारीले जर्तीका नाममा सुन बनाएर बेचिसक्दा पनि श्रीमती गहनाविहीन छन् । र श्रीमती चिन्ताग्रस्त पीडाबोधमा छिन् ।
जिन्दगीलाई महाभारत देख्छन् । त्यसै पनि जिन्दगी एउटा महाभारत नै हो । यो कुरा लघुकथाकार दीपक बुझ्छन् । घरीघरी रमाइला पनि हुन्छन् र विश्वमा लकडाउन भएको बेला जनसंख्याको वृद्धि भएर आधुनिक महाभारतको जन्म भएको हास्य प्रस्तुत गर्छन् । उत्ति नै खेर उनी चियापसल पुग्छन् । र, मान्छेलाई नियाल्छन् र अनुभूत गर्छन् कि चियापसल यस्तो ठाउँ हो जहाँ मान्छेले आत्मप्रशंसा, कुण्ठा, निराशा, घमण्ड, जालझेल, हीनताबोध, सबै मज्जाले अभिव्यक्त गर्न पाउँछन्, भोग्छन् र फिर्छन् । जीवनमा धैर्य र हाँसो किन्न पाइन्न । किनमेल गरेर पाइने कुरा पनि होइन । तर त्यसलाई चिन्न सके जहीँतहीँ छ । फुटपाथको गरिबीमा पनि छ । र सित्तैमा पाइन्छ भन्ने बोध छ उनका लघुकथामा ।
गजबको परिवेशीय मनोविज्ञान अभिव्यक्त गर्न सिपालु छन् दीपक । ऊ याने कथाकी पात्र चोर्थी । चोरेको अभियोगमा पर्थी । चोरीको महाअभियोग लागेको थियो । किनकि ऊ एउटा मनमोहक स्वप्न बगैँचामा आजीवन कैद थिई । उसका सपना थिए, र सपनासँगै बाँचेकी थिई कैद भएर । सोही कैदले उसलाई कैदी बनाएको थियो । चोर्नीको विम्बमा मान्छेका जिजीविषा पस्किन्छन् ।
ढुङ्गालाई खोपेर मूर्ति बनाउँछ मान्छे । प्राणप्रतिष्ठा गरेर भगवान् बनाउँछ मान्छे । त्यही ढुङ्गाको भगवान्लाई पूजा गरेर वर माग्छ मान्छे । तर कृतघ्न मान्छे भने भनिरहन्छ ढुङ्गाको मन हुँदैन । याने मान्छे दोधारे छ । ईश्वरको अस्तित्वमाथि प्रश्न गर्छन् । सर्वोपरि ईश्वरको राज्यमा किन विभेद ? फेरि मान्छेले केही गर्न नसक्ने अनि मृत ईश्वरलाई मन्दिर गुम्बा, गिर्जाघर, मस्जिदमा लगेर आफ्नो स्वार्थ भने पूरा गर्ने मानवीय चरित्रमाथि व्यङ्ग्य प्रहार गर्छन् ।
पदयात्रालाई प्रतीक बनाएर विम्बमा बोल्छन् । पदयात्रामा बन्दोबस्तका सामान त बोक्छ मान्छेले । तर अचम्म ! आँखा, मुख, खुट्टा र एकमुठी उत्साह पदयात्राका लागि कसैले बोकेका हुँदैनन् । ‘यी सबै घरमै छुटेका थिए’ भन्छन् दीपक । उखानको तत्त्वलाई पनि लघुकथा बनाउँछन् । मान्छेले अरूकै अर्घेलो देख्छ, आफ्नो देख्दैन भन्ने उखानलाई लघुकथा बनाएर मान्छेको चरित्रमाथि प्रहार गर्छन् ।
फेरि दीपक प्रेममा पुग्छन् । विवाहेत्तर सम्बन्धका पहलु केलाउन थाल्छन् । तिम्रो बूढो र म भन्दै रोमान्स प्रस्तुत गर्छन् । वास्तवमा रोमान्स भन्ने विषय नै तिम्रो बूढोसँग गर्ने हो । तिम्री स्वास्नीसँग गर्ने हो । आफ्नो लोग्ने वा स्वास्नीसँग त दायित्व निर्वाह गर्ने हो भन्ने प्रेम र रोमान्सको अलग्गै स्तरको चिन्तन गर्न पुग्छन् । बन्दकोठाको अवसर पाउँदा पनि रोमान्स नगरेर दिक्क लाग्दा घरायसी कुराहरू गरेर बिताएका एक युगल जोडीले रोमान्स, आनन्द, प्रेम, जुन पाउन सकिन्थ्यो, त्यो त बन्द कोठामै छुट्यो भन्ने शृङ्गारिक कथ्य प्रदान गर्छन् । प्रेम, रोमान्स जस्ता कुरा पुरुषको महिलाप्रतिको वा महिलाको पुरुषप्रतिका आकर्षण प्राकृतिक कारण हो भन्ने तथ्य पत्ता लगाउँछन् ।
समाजको बेथितिमा चिन्तित बन्छन् । दान गर्न हिँडेको चरम विषयभोगी पुरुष वालिका बलात्कारमा पुग्छ । विडम्बना । मान्छेको दुई । दुई विपर्यास । दुई ढोँग । समाजमा निरीह ‘दीपक र दीपकहरू’ देख्छन् । वर्तमानमा हुने गरेको पितृसत्ताको क्रन्दन, बिजोग र गलत व्याख्या अनि नारीको अर्घेलो, अनियन्त्रित र असंयमित स्वच्छन्दतामा च्यापिएको परिवेशलाई उजागर पार्छन् । पुरुषको दयनीय चित्र उतार्छन् । वर्तमान युग बोल्छन् । अविवाहित वा एकल महिलाको सङ्घर्षको कथामा पनि दृष्टि पुर्याउँछन् । एक अँगालो लोग्ने भएका महिलाहरू काम गर्न रुचाउन्नन् भन्ने सामाजिक यथार्थप्रति व्यङ्ग्य गर्न पुग्छन् । किनकि हाम्रो परम्परावादी समाजमा पुरुषले कमाउने र श्रीमती घरव्यवहार सम्हालेर बस्ने थिति छ । फेरि तत्काल छोराछोरीले ह्याप्पी फादर्स डे मनाएको खुसीमा वशीभूत हुन्छन् । र, जीवनको सुन्दरता देख्छन् ।
अनि फर्कन्छन् साहित्यकारतर्फ । साहित्यकारको अवस्थालाई चित्रण गर्न पुग्छन् । साहित्यकारको साहित्य लेखनमा आइपर्ने बिघ्न बाधालाई चिनाउँछन् । समाजमा बाँच्न भौतिक कुरा याने आधुनिक घर र राम्री स्वास्नी चाहिने सामाजिक यथार्थलाई व्यङ्ग्यका रूपमा पस्कन्छन् ।
विश्वमा आएको महामारी कोरोना कहरका बेलामा भएको अवस्थालाई चित्रण गर्छन् । लकडाउनको बेला घरमै खँदारिएको मान्छेको मनोविज्ञानलाई उजागर गर्दै सो अवसरमा गरिब हुनुको पीडा झन् तीव्र भएको यथार्थ प्रस्तुत गर्छन् । राहतको यथार्थलाई हृदयङ्गम गर्छन् । दान तथा राहतले भोकको समस्या समाधान गर्दैन भन्दै राहत प्रणालीको यथार्थ चित्र उतार्छन् । राहत वितरण गर्ने मान्छे वितरण कार्यक्रम स्थलसम्म त पुग्छ, तर भोकसम्म पुग्दैन । यो उनको निष्कर्ष हो । उनकै शब्द ‘भोक बस्तीको बन्द कोठामा राहत राहत भनिरहेको थियो’ लाई सापटी लिन सकिन्छ ।
राजनीतिक विम्ब प्रहार गर्न पनि दीपक खप्पिस छन् । राजनीतिक पार्टीको नेताले सत्तामा पुगेर देश दोहन गरिसकेपछि पनि जनताको काम नगरेर बाँसुरी बजाएको प्रति मिठो व्यङ्ग्य प्रहार गर्छन् । नयाँ बनेका बोतलले (राजनीतिक दलले) पुराना बोतलमा भएको रक्सी (सिद्धान्त) लाई नयाँ बोतलमा हाल्ने अनि जनता झुक्याउन पुरानो ठर्रा रक्सीलाई दोष दिने ? भन्ने विम्बमा राजनीतिक व्यङ्ग्य प्रहार गर्छन् । लोकतन्त्रको क्रियाकलापप्रति कठोर व्यङ्ग गर्न पुग्छन् । ‘लोकतन्त्रमा दिमागको कुनै अर्थ थिएन । त्यत्रो लोकतन्त्रलाई पनि दिमागसँग बोलेर आफ्नो महत्त्वपूर्ण समय खेर फाल्नु आवश्यक थिएन (३७)’ भन्ने प्रभावशाली व्यङ्ग्य प्रहार गर्छन् ।
दीपक लोहनी घच्चीका लघुकथाकार हुन् । बुझेर लेख्छन् । गम्भीर भएर लेख्छन् । लघुकथाका सैद्धान्तिक अवधारणालाई अङ्गीकार गर्दै लेख्छन् र आफ्नो छुट्टै दीपकीय शैली निर्माण गर्छन् । यो उनको लघुकथा लेखनीको प्रधान विशेषता हो । अर्थात् शैलीगत रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सक्नु उनको विशेषता हो । लघुकथाको कथानक टिप्दा गुणवत्ता, नवीनता तथा प्रभावजन्यतालाई ख्याल गर्छन् । बुनौट सन्दर्भमा हेर्ने हो भने एकोन्मुखता उनको लघुकथाको धेरै राम्रो विशेषता हो । सिरानदेखि पुछारसम्म याने शीर्षकदेखि समापनसम्म कौतुहलता विनिर्माण गर्छन् । अविस्तारीकरण उनको अर्को विशेषता हो । कथ्य, परिवेश, पात्र वा घटनाको सूक्ष्मतम प्रस्तुति हुन्छन् उनका लघुकथामा । उनका लगभग सबै लघुकथामा विचार वाक्य याने बीज वाक्यको निर्माण भएको हुन्छ ।
सामाजिक तथा राजनीतिकका अनर्गल असङ्गतिमाथि व्यङ्ग्यरूपी आग्लोले दनक दिन्छन् । उनका लघुकथामा व्यङ्ग्य प्रस्तुतिले पाठकलाई चरम स्वाद दिन्छ । जीवनलाई गहिरिएर हेर्नु उनको कथानकको मनसाय देखिन्छ । जीवनका उबडखाबडभित्र प्रवेश गरेर उधिन्नु उनको क्षमता हो ।
भाषा प्रवाहमा सौन्दर्य अनुभूत हुन्छ । एउटा उदाहरण हेरूँ ‘एउटा कुनामा बसेर दिमाग रमिता हेरिरहेको थियो (दिमाग३६)’ ले भाषिक संवाद तथा प्रवाहमा गतिमयता देखाएको छ । शब्द चयन, वाक्य गठन तथा कथ्य सम्प्रेषणमा भाषिक चातुर्य देखिन्छ ।
मानव मात्र होइन, मानवेत्तर स्वैर काल्पनिक पात्रको प्रयोग गर्न निकै सिपालु छन् दीपक । जादुमयी हुन्छन् उनका पात्र । यद्यपि स्वैर काल्पनिक पात्रको प्रयोग गरेर आख्यान निर्माण गर्ने र समसामयिक विषयलाई उजागर पार्ने यत्न भने निकै गाह्रो हो । र, यो गाह्रोलाई उनले छिचोलेका छन् । सादृश्य शैलीमा उनी माहिर छन् । याने एउटा चित्र देखाएर अर्को तस्बिर देखाउने कला छ उनमा । त्यसैले उनको यो कृतिमा उनी विशेष विशेषताले सुसज्जित छन् ।
यद्यपि छिन्द्रान्वेसी मेरो प्रयोजन होइन, तथापि म उनको दुई नम्बरको हितैषी हुँ । साथी हुँ । मैले दुई नम्बरको साथी भन्नुको तात्पर्य के हो भने पहिलो नम्बरको साथी भनेको त्यस्तो मित्र हो, जो साथीमा कुनै खराबी देख्दैन, साथीको अर्घेलो पनि देख्दैन । सधैँ जस्तो सुकै अवस्थामा पनि साथ दिइरहन्छ । यद्यपि यस्तो साथी भन्नु आदर्शवादी, भाग्यवादी कुरा हो । त्यसैले म दीपकको दुई नम्बरको साथी हुँ । म दीपकको उत्तरोत्तर प्रगतिको कामना त गर्छु । हुनत मैले कामना नगरे पनि दीपकको दीप रोकिने होइन । त्यसैले फेरि उनका कृत्यमा खोचे थाप्छु । निहुँ खोज्छु । यही खोचे थपाइ नै मेरो दुई नम्बर साथी हुनुको प्रमाण हो ।
कृति जम्मा चौहत्तर पृष्टको छ । याने पुस्तिकाबाट पुस्तकमा उक्लेको मात्र छ । जसमध्ये पनि तीस पेज लघुकथाइतर खण्डले बोकेको छ । चवालिस पेजमा लघुकथा छन् । यो तथ्यले आकारीय सौन्दर्यमा भने प्रभाव पारेको छ । यद्यपि कृतिको आकारीकरण भनेको कृतिकारको सार्वभौम अधिकार हो ।
कृतिभित्रको हिज्जे प्रणाली धेरै हदसम्म शुद्ध भए पनि पूर्ण रूपमा शुद्ध भने छैन । यद्यपि कृतिको गुणवत्तालाई यसले फरक पार्ने भने होइन ।
लघुकथामा गागरमा सागर अटाउने भनिन्छ । एउटा उपन्यासको सामग्री एक अनुच्छेदमा समेट्ने शिल्पीय आख्यान लघुकथा हो । यसकारणले गर्दा लघुकथाका कथ्यविषय सामान्यभन्दा विशेष खोजिन्छ । विशेष कथ्यमा विशेष विन्यास लघुकथा ओजिलो हुने अन्तर्य हो । दीपकले यो लघुकथासंग्रहमा यो मान्यतालाई पछ्याएका छन् । तथापि केही लघुकथाका विषय भने सामान्य वा अति सामान्य कथावस्तु बोकेर आएका छन् । छोराछोरीले ह्याप्पी फादर्स डे मनाएको घटनालाई अभिधा अर्थमै प्रयुक्त गरेका छन् ।
अब बिट मरौनीमा छु । मलाई ज्ञात छ कि लघुकथाकार दीपक लोहनी स्तरीय, निर्भीक तथा गम्भीर लेखक हुन् । गुणामा भन्दा गुणमा पत्यार राख्छन् । जाहिर छ, यही गुणका कुराले सुशोभित छ कृति । खँदिलो छ । जीवनलाई पर्गेल्ने अनौठो शक्ति छ दीपकको । त्यसैले यो आलेखमा म सीमाबद्ध छु । कृतिभित्र उनले अर्थ्याएका जीवनको गूढ रहस्यका बारेमा मैले छेउकुना पत्ता नपाउने सम्भावना पनि टड्कारो छ । तथापि हिल्याउने जमर्को गरेपछि रोपाइँ त गर्नै पर्ने हुन्छ । चाहे हार मिलोस् वा नमिलोस् । यही सीमाका बिचबाट गुज्रिरहेको छु म । यही मनोविज्ञानमा आलेख तयार भएको छ ।
लघुकथाकार दीपक लोहनी वास्तवमै सशक्त लघुकथाकार हुन् भन्ने कुरा यो सानो कृतिले पनि पुष्टि गरेको छ । कृति सानो हुनुको मतलब गुणवत्ता सानो हुनु भनेको चाहिँ होइन । गम्भीर, बोधीय, शिल्पीय तथा सशक्त लघुकथाकार भएकैले नेपालको साहित्यसँग सम्बन्धित अनलाइन पत्रिका साहित्यपोस्टले एक ताक लघुकथाको प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी सुम्पेको थियो । यस क्रममा उनले हजारौँ लघुकथाको पठन, अध्ययन, अनुशीलन गरे ।
उनले पुर्याएको योगदानलाई नेपाली लघुकथावृत्तले बिर्सन चाहेर पनि सक्दैन । माथि पनि भनियो कृति आकारगत हिसाबमा पातलो छ । पुस्तिकाबाट पुस्तकको मानक मुस्किलले छोएको छ । आकारगत हिसाबमा पातलो भए पनि दीपकका यो कृतिमा सङ्गृहीत लघुकथा भावका हिसाबले मोटा छन् । सन्देशका हिसाबले अस्मेल छन् । प्रभावजन्यताका हिसाबले गहिरा छन् । जीवनलाई सूक्ष्मत्तर तरिकाले चित्रण गरिएको छ । बहावका हिसाबले तीव्र र वक्ररेखीय छन् । एउटा बोयमभित्र खाँदिएका खँदुवा अचार जस्तो छ कृति । पाठकले आफ्नो प्रज्ञाचक्षुका आधारमा जति खोतले पनि सकिन्न बोयमभित्रको अचार । जीवनका अन्तर कुन्तर चहारेर तिनका स्वभावलाई टिकुँला चट्नी झैँ पाठक माझ पस्केका छन् । त्यसैले सारमा अब्बल छ कृति ।
निःसन्देह दीपकले ‘दीपक र दीपकहरू’ मा जीवनको दीप प्रज्वलन गरेका छन् । लघुकथाको एउटा पाठकका हिसाबले कम्तीमा म भने दीपकको दीपलाई सधैँ संस्मरण गरिरहन्छु । र, जाँदा जाँदै नेपाली लघुकथाको अर्को घच्चीको कृति दीपकको प्रज्ञाचक्षुबाट छिटै जन्मियोस् भन्ने अुनराग राख्द छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।