नेपाली लघुकथा लेखनको सिंहावलोकन गर्दा ७० को दशकलाई सञ्जाल मैत्रीको दशक भनिनु उचित हुन्छ । यही दशकमा सामाजिक सञ्जालहरूमा लघुकथाका विविध पेज र साइडहरू खुले । प्रकाशन पर्खाइमा रुमलिरहेका नवसर्जकहरूलाई सामाजिक सञ्जालमा खुलेका डिजिटल साहित्यिक पेजहरूले तात्तातो प्रकाशन र प्रतिक्रियाको सुविधा पनि प्रदान गर्यो । यस सुविधाले नेपाली साहित्यमा नव स्रष्टाहरूको भेल नै सिर्जना गरिदिएको देखिन्छ ।

इन्दिरा चापागाईं

इन्दिरा चापागाईं

मूलतः भेल भनेको नराम्रो नै हो । तर साहित्यमा देखिएको यस्ता भेलहरूले कालान्तरमा राम्रो परिणाम ल्याउने नै छन् । यसै भेलभित्र बगेर किनारामा तैरिएकी एक स्रष्टा हुन् इन्दिरा चापागाईं ।

इन्दिरा चापागाईं लघुकथाको भेलमा ७० को मध्य यामदेखि बग्दै आए पनि उनी लघुकथाको किनारमा थेग्रिसकेकी छिन् । प्रस्ट आकार, परिधि र स्वभाव बोकेर नेपाली लघुकथाको क्षेत्रमा देखिएकी  चापागाईंको प्रवृत्ति पनि लघुकथा लेखनमा प्रस्फुटन हुन थालेको छ । नेपाली लघुकथा लेखनमा इन्दिरा चापागाईंको प्रवृत्ति भनेको आदर्शवादी लेखन नै हो । उनी स्वभावले पनि आदर्शमुखी छिन् र सबैसँग हातेमालो र भाइचाराको अवधारणा विकास गरी आदर्श समाजको रूपान्तरणमा सक्रिय छिन् ।

यतिखेर इन्दिरा चापागाईंको “अन्त्यहीन परिधि” लघुकथासंग्रह मेरो हातमा छ । म यही संग्रहको परिधिभित्र विचरण गरेर इन्दिारा चापागाईं र उनको लघुकथा लेखनमाथि आजको दीपक दृष्टि राख्ने अनुमति चाहन्छु ।

चापागाईंको “अन्त्यहीन परिध” लघुकथासंग्रहलाई हाम्रो लघुकथा केन्द्रले वि.सं. २०८० सालमा प्रकाशन गरेको हो । यस संग्रहभित्र इन्दिराका ५२ वटा लघुकथालाई स्थान दिइएको छ । आवरणमा पानीको सतहमा एक रहर लाग्दो बूँदलाई खस्दै गरेको र त्यहाँ उत्पन्न तरङ्गहरूमा केही महिला पुरुष फेरो लगाइरहेको देखाइएको छ । स्थान अनन्त ब्राह्मणको कुनै खण्ड छ, जहाँ माथिबाट केही प्रकाश आइरहेको देखिन्छ पनि । आवरणलाई कलाकार नीरबहादुर याक्खाले कोरेका छन् । यो कलाले  चापागाईंको लघुकथाभित्र रहेको आदर्शवादी चेतको अन्त्यहीन परिधिलाई संकेत गरेको छ ।

वास्तवमा हामी जतिसुकै दौडिए पनि वा प्रगतिको अनन्त शिखरमा पुगे पनि हाम्रो यात्राको परिधि अन्त्यहीन छ । मान्छे आफैमा मपाईंत्व गर्छ । सनातन भुलेर वा सर्वशक्तिमान् अदृश्य शक्तिलाई बिर्सिएर मान्छे आफ्नै एउटा सानो झुन्डमा झुन्डिरहेको छ । र यति नै म हुँ अनि यही नै मेरो हो भनिरहेको छ ।

अन्त्यहीन परिधि

अन्त्यहीन परिधि

मान्छेले विज्ञानलाई त जित्यो तर ज्ञान बुझ्न सकेन । मान्छेले समाजभित्रका सामाजिक, आर्थिक, राजनैतिक, मानसिक साथै समसामयिक परिवेश त नियाल्यो तर आफ्नै मनको अन्त्यहीन परिधि नियाल्नै सकेन । तीन लोक चौध भुवनको यो विशाल पूर्वीय ब्रह्माण्डमा हामी मान्छे कतै केही नदेखी वा नपुगी नै समग्र परिधिको फुर्ती लगाइरहेका छौं र आफै हास्य पात्र बनिरहेका छौं ।

लघुकथाकार चापागाईले “अन्त्यहीन परिधि” भित्र यी नै तीतो सत्यलाई कथानकबाट आफ्ना पाठकहरूलाई बुझाउन खोजेकी छिन् । इन्दिराले आफ्ना कथाहरूमा भोगाइ र सोचाइबाट परिवार, समाज, धर्म, परम्परा, राजनीति, प्रेम, प्रशासन आदिलाई कतै लाक्षणिक र कतै अभिधाको स्वरूपबाट प्रस्तुत गरेकी छिन् ।

मूलतः कोभिड कालको छोटो समयदेखि नेपाली साहित्यमा भित्रिएकी चापागाईं लघुकथाको मानक सिद्धान्त बुझेकी लघुकथाकार हुन् । लघुकथा आफैमा स्वतन्त्र हुँदाहुँदै पनि यो अलिकति प्राविधिक विधा हो । लघुकथामा शब्द सीमा, शब्दक्रम, वाक्यगठन, घटनाक्रम, द्वन्द्व र झड्का आदिको संयोजन नियम संगत हुनु पर्छ । महान् दार्शनिक अरिस्टोटरले भनेको आदि, मध्य र अन्त्यको कलात्मक सिद्धान्त साहित्यका हरेक विधामा लागु भएता पनि लघुकथामा यो सिद्धान्त अक्षरस्व नै पालन गर्नु पर्दछ । कथाकार इन्दिरा चापागाईले  यी माथिका प्राविधिक कौशलहरूलाई सम्झी बुझी लघुकथाहरू लेख्ने प्रयास गरिरहेकी छिन् ।

इन्दिरा चापागाईंले यस संग्रहमा चर्चित काव्य र अग्रज लघुकथा स्रष्टाहरूको कृतिको नाममा कथानक बुनी शीर्षक जुराएकी छिन् । कवि गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविताको शीर्षक सापट लिएर कथाकार चापागाईंले राजनीतिको वर्तमान चित्रण र आदर्श सपना देखेकी छिन् ।

त्यसै गरी कथाकार श्रीओम श्रेष्ठ रोदनको ‘भ्रममार्ग’ लघुकथाको कृतिलाई शीर्षक बनाएर एकतर्फ स्वदेशप्रेम र कृषिप्रेम देखाइएको छ भने अर्कोतर्फ विदेशमोह र राजनीतिक शक्तिलाई उजागर गरिएको छ । यस कथामा नाटकीय मोड पनि भरिएको छ । कता कताबाट कथामा एक्कासि बाबाजी प्रवेश गर्छन् र जीवन भ्रम सिवाय केही हैन भन्ने निस्सारतावादी चिन्तनको पनि बोध गराइन्छ ।

त्यस्तै म्यान्माका नेपाली भाषी साहित्यकार ज्ञानबहादुर थापा बगालेको ‘भ्रम र यथार्थ’ नामक कथासंग्रहको शीर्पाक प्रयोग गरी इन्दिराले जीवनको आशक्तिमा देखिएको प्रेमलाई स्वैरकल्पनाको माध्यमबाट यथार्थमा परिणत गरेकी छिन् । यसरी कथाकार  चापागाईंले प्रचलित शीर्षकहरूको प्रयोग गरी लघुकथा लेखेकी छिन् । यो कार्य संयोग हो कि रहर स्वयम कथाकारलाई नै थाहा होला ।

यस लघुकथासंग्रहमा चापागाईंले राजनीतिका विषयमा केही कथानक बुनेकी छन् । सिंहदरबारभित्र मरेको न्याय देखाउनको लागि  हविगत कथानक रचेकि छिन् । नेपाली सिमानामा भएको ज्याजति र चुपचाप बसेको केन्द्रीय सरकारलाई व्यङ्ग्य गर्न इन्दिराले सिमाना र सिंहदरबार लेखेकी छन् । त्यसो त आमाको सपनामा गोपालप्रसाद रिमालले कविता लेखे पनि वा इन्दिरा चापागाईंले लघुकथा लेखे पनि यो राजनीतिको साझा विषय बनेको छ ।

प्रेम शाश्वत सत्य नै हो । प्रेममा मानिसका तीन चेतना जुरमुराउँछन् । मनोविश्लेषण सिद्धान्तका प्रवर्तक सिग्मण्ड फ्रायडले मनको प्रकारात्मक वर्गीकरण गर्दा अचेतन, अर्धचेतन र चेतन मनको व्याख्या गरेका छन् । प्रेम यही मनको उपज हो । तर कथाकार इन्दिरा चापागाईंले आफ्ना कथाहरूमा आदर्शको लेप लगाएर प्रेमलाई हेर्ने परिपाटीलाई परिवर्तन गरिदिएकी छन् । दमित प्रेम मनभरि सलबलाउँदा सलबलाउँदै पनि उनीले त्यस प्रेमलाई जबरजस्ती मातृत्वको कोणमा रूपान्तरण गराई पाठकलाई सगरमाथाको उचाइमा पुर्याएर नाम्चेको थाङ्नामा सुताइदिएकी छन् । यसको उदाहरणको लागि ‘अनौठो प्रेम’ र ‘पहिलो प्रेम’ लघुकथाहरूलाई लिन सकिन्छ । कुण्ठ लघुकथामा लोग्नेको प्रेम नपाएकी महिलाले समग्र पुरुषलाई हेर्ने दृष्टिकोण देखाइएको छ ।

“अन्त्यहीन परिधि”मा चापागाईंले स्वैरकल्पनाका केही कथाहरूलाई पनि स्थान दिएकी छिन् । ‘भट्टी पसेपछि’ लघुकथामा इन्दिराले प्रशासनिक अवस्थाको चित्रण गरेकी छन् भने ‘आगो’ लघुकथामा बलेको आगो ताप्ने मनोवृत्तिलाई उजागर गरेकी छन् ।

लघुकथासंग्रहमा कथानक संरचनाहरूको सिर्जना गर्दा शब्द चयनको बढो ख्याल गरेकि छिन्  चापागाईंले । लघुकथा लेखनको छोटो उपस्थितिमा उनले आफ्नो बौद्धिकताको प्रदर्शन गरी सिद्धान्तमा रहेर लघुकथा कोरेकी छिन् । उनीसँगै नेपाली लघुकथामा भित्रिएका अन्य महिला लघुकथाकारहरूको तुलनामा इन्दिरा चापागाईंको कलम सशक्त बनेको छ ।

“अन्त्यहीन परिधि” राम्रो बन्दा बन्दै पनि दोषमुक्त रहन भने सकेको छैन । आदर्श शब्द र व्यवहार आफैमा राम्रो हो । आदर्शवादी बन्न सक्नु र समाजलाई आदर्शोन्मुख गराउनु झनै राम्रो हो । तर यथार्थलाई अनावश्यक तोडमोड गरेर वा यथार्थलाई कुर्कुच्चाले कुल्चिएर हरेक पल आदर्शको गीत गाउनु आफैमा बेसुरा संगीत सुन्नु झै हो । कथाकार इन्दिरा चापागाईले आफ्ना हरेक कथाहरूलाई बल पूर्वक आदर्शमा रूपान्तरण गरेकी छिन् ।

इन्दिराका कतिपय कथाहरू त यथार्थमा बहँदा बहँदै भाँजो हालेर आदर्शको खेतमा सिँचाइ गर्न लगिएको पनि छ । यस्ता कथाहरूमा जबरजस्ती कथाकार हाबी भएको प्रस्टै देखिन्छ । पात्रहरू बोल्नु पर्ने ठाउँमा पनि कथाकार तन्केर बोलेका ठाउँहरू “अन्त्यहीन परिधि” लघुकथासंग्रहभित्रका कथाहरूमा बग्रेल्ती सुनिन्छन् । कथाकार हाबी भएका कथाहरूले पाठकलाई कथामोहबाट भङ्ग गर्ने निश्चित छ । यस कुरामा कथाकार इन्दिरा चापागाईं अबका दिनहरूमा सचेत हुनुपर्ने देखिन्छ ।

समग्रमा “अन्त्यहीन परिधि”बाट नेपाली लघुकथाको क्षेत्रमा कथाकार इन्दिरा चापागाईंको उपस्थिति प्रस्ट छ । उनी आदर्शमुखी कथाकार हुन् । इन्दिराका आगामी लघुकथाहरू आदर्श र यथार्थको परिवेशमा रमाएर स्वैरकल्पनामा विचरण गरी लेखिए इन्दिरा चापागाईं नेपाली लघुकथाको मूलधारमा नमेटिने नाम भएर रहनेमा कुनै शंका नै छैन ।

लघुकथाको आगामी यात्रामा इन्दिरा चापागाईंलाई शुभकामना ।