
केही वर्ष पहिले ‘सुगन्धपुर’ शीर्षकको कथासङ्ग्रह प्रकाशित गरिसकेका शब्दशिल्पी विश्व कुइँकेलको नयाँ आख्यानात्मक सिर्जना हो, सानो आकारमा उनिएको उपन्यास ‘गोपीचा’ । राणाकालीन नेपाली इतिहासको अन्तिम
कालखण्डतिरको समयावधिमा आधारित यो उपन्यास नेपालको इतिहासका एकजना लगभग गुमनाम पात्र ‘गोपी शर्मा’ उर्फ ‘गोपी शर्मा च्यामे’ उर्फ ‘गोपीचा’ को साँचो जीवनकथाको नितान्त औपन्यासिक प्रस्तुति हो ।
शिखा बुक्स काठमाडौंले केही महिनाअघि मात्र ८+१२५+५ गरी समग्रता १३८ पृष्ठ लामो गरी छापेको यो उपन्यास पढिसकेपछि यस किताबको एकल नायक गोपी नेपाली इतिहासको एकजना त्यस्तो दुख्याहा पात्र हो भन्ने थाहा हुन्छ जो अनजानमै तत्कालीन समाजको रीति-रिवाजभन्दा उल्टो दिशातिर हिँडेको थियो र तत्कालीन समयमा नपच्ने केही असामाजिक कार्य गरेको भए पनि जसले जीवनमा कहिल्यै न्याय पाएन । अझ, परिस्थितिवश तर अनजानमै शहीद बन्न पुगे पनि मृत्युपश्चात् पाउनुपर्ने विशिष्ट आदर त झनै पाएन ।

गोपीचा
गोपी एकजना त्यस्तो पात्र हो जसले बाहुन परिवारमा जन्मेर पनि बाहुन-परम्परा पटक्कै अनुसरण नगर्ने हठी स्वभाव पाएको छ । कथानक अनुसार ऊ एकजना छिमेकी च्यामिनी युवती सुनकेशरीसित गहिरो प्रेममा पर्छ र “पानी नचल्ने जात”मा सम्बन्ध जोडेको “अपराध”मा श्री ३ महाराजद्वारा अंश-हरणसहित छ वर्ष लामो जेलसजाय पाउँछ । उनलाई भएको सजाय आदेशमा भनिएको हुन्छ, “आगे काठमाण्डु इलाका विष्णुमती षुसिबुँ बस्ने धरणिको नाति विष्णुपर्साद्को छोरा बर्ष बिसको गोपी शर्माले कुसुलेचौर बस्ने सुनकेशरी च्यामिनिसँग बिहे गरि अभक्ष षाइ परिवारको इजजत आमदमा असर पारि समाजलाई पनि बिगारेको भनि परेको रिपोर्टमा बुझ्दा आरोप अनुसार गरेको देषिजान्ने सुनिजान्नेबाट था भै यसमा निजसँग बुझ्दा कसुर स्विकार गरेको देखिन्छ, शास्त्रले मानेको बाहुन भया पनि शुद्रासँग बिहा गर्नाले शुद्रतत्व प्राप्त हुने एवम् पतित भै नरक पर्ने काम गरेको… निज गोपी शर्मालाई आजैको मितिबाट बाहुनबाट च्यामेमा जात काढि जनै झिकी, मुडि जेल सजायँ समेत गर्नु. दामल नगर्नू. निजलाई छ वर्ष जेल सजायँ गरि भद्रगोल जेलमा पठाउनू. … इति सम्बत् १९९४ साल कार्तिक शुदि १० रोज ३ शुभम् .” ।
जेल बसुन्जेल गोपीले सफाइकर्मी भीमबहादुर पोडेसँग मिलेर जेलभित्रको चर्पी नाला सफा गर्नुपर्ने भयो । शहरमा पोडे र च्यामेहरूले गर्नुपर्ने काम जेलभित्र गोपीलाई जिम्मेवारी दिइएको थियो । जेलमा सजायका रूपमा तोकिएको काम गर्ने, मिलेसम्म अन्य बन्दीहरूका कुराकानी सुन्ने, समयमा खाना नखाने, पाएसम्म दिनहुँ गाँजा सेवन गर्ने र आफ्नो अधुरो प्रेम-सम्बन्ध अनि प्रेमिका र परिवार तथा विगतका अरू घटना-प्रसङ्ग सम्झिँदै दिन कटाउँदै जाने दैनिकी बनेको हुन्छ ।
गोपी कारावास सजाय काट्दै भद्रगोल जेलमा बसिरहेको तेस्रो वर्ष वि.सं.१९९७ माघमा राणाशासनले “जेलभित्र रहेका खतरनाक बन्दी” मध्येका दुईजना शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई रुखमा झुण्ड्याएर अनि थप दुईजना गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानेर शहीद बनाउँछ । त्यसअघि नेपालमा यस्तो घटना भए गरेको सुनिएको हुँदैन । यसबारे बन्दीहरूबीच चर्चा, परिचर्चा र छलफल भइरहेको गोपीले पनि सुन्दछ । धेरै कुरा बुझ्दैन् तापनि अनौठो गरी उसभित्र केही प्रश्न र भावनाहरू जन्मिन पुग्छन्, “मान्छेको खुशी केमा हुन्छ ? उसले खुशीका लागि कस्तो जीवन बिताउँछ ? चाहेको खुशी उपलब्ध नहुँदा उसमा के असर पर्छ ? मान्छेहरू किन मर्न र मार्न डराउँदैनन् ? जेलभित्र आइपुग्नुको कारणलाई निदान गर्ने उपाय के होला ? के मेरो जात फर्केला ?”
यस्तै बेलामा गोपीको भेट पहिले राजनीतिकर्मी टङ्कप्रसाद आचार्यसँग र पछि अर्का राजनीतिकर्मी हीराकाजी (गणेशमान सिंह) सँग हुन्छ । उनीहरूका कुरा सुनेर गोपीलाई के हुन्छ कुन्नि, आफू जेलमुक्त हुन एकै वर्ष समेत बाँकी नरहेको समयमा पनि हीराकाजीसँग मिलेर ऊ ‘जेलब्रेक’ गरेर भाग्ने योजनामा लाग्छ । भाग्ने बाटो ऊ आफैँ एक्लैले तयार पार्छ तर भाग्न भनेर निर्धारण गरिएको दिन सँगै बस्ने काँतर साथी चन्द्रबहादुरले सुराकी लगाइदिएकाले गोपी अचानक प्रहरीको फन्दामा पर्छ ।
खासमा गाँजाको मात चढेको सुरमा गोपीले नै आफू जेलबाट भाग्न लागेको कुरा ‘अरू कसैलाई नभन्नु’ भन्दै चन्द्रबहादुरलाई सुनाएको हुन्छ र सँगै भाग्न सुझाव समेत दिएको हुन्छ, तापनि आफू बाहेक जेलब्रेकमा सहभागी हुने अन्य कसैको बारेमा केही बताएको हुँदैन ।
बन्दीकक्षमै गोपीलाई पहिले कुटपिट गरिन्छ र त्यसपछि हतकडी, नेल, गलफन्दी लगाएर गोलघर पुर्याइन्छ । त्यसपछि अर्को एक कक्षमा लगे जेलर, जर्नेल र सिपाही तीनजनाको टोलीले ऊसित जेलब्रकमा निर्देशन दिने र भाग्ने योजनामा रहेका अरू सहभागीहरूको बारेमा सोधपुछ गर्छन् । त्यससँगै उसलाई दिइने यातनाको दुर्दान्त रूप शुरू हुन्छ ।
तर पहिलो दिनको यातना सहन गरिसकेपछि गोपीको मस्तिष्क र मुटु एक हुन पुग्छन् । हृदय र दिमाग एक ठाउँमा आएर सोच्न थाल्छन् । अनि त आफ्नो चिन्ता लिन छाडेर ऊ एउटा निष्कर्षमा पुग्छ, “जसलाई बाहिर कुरिरहेका छन्, तिनलाई जोगाउनु पर्छ ।” अर्को दिन फेरि यातना शुरु भएपछि र उसले आफूलाई केही थाहा नभएको कुरा नै दोहोर्याइरहेपछि उसको लुरे शरीरमा लगातार निर्दयतापूर्वक कुटपिट भइरहन्छ । यस्तैमा एकपटक अचानक उसको मुखबाट निस्कन्छ, “कि हि वल कि खि वल ।”
जेलब्रेकका लागि पर्खाल भत्काउने योजना अगाडि बढाइरहेको बेला र उसले गाँजा खानका लागि सधैँ जस्तै एक पैसा मागेको बेला कुनै दिन हीराकाजी (गणेशमान सिंह) ले उसलाई भनेका थिए- हेर गोपी, देशका लागि त लड्ने नै हो, कि हि वल कि खि वल । “कि रगत आउला, कि गुहू आउला ।” (पृ.१३२) ।
संयोग, जेलरले नेवारी भाषा बुझ्दो रहेछ र उसले यो कुरा जर्नेललाई सुनाउँछ । अनि झन् लात्ती, मुड्की, पेटी, मोटो डोरीको कोर्रा आदि जे भेटिन्छ, त्यसैले गोपीलाई भकुर्ने अन्त्यहीन सिलसिला अगाडि बढ्छ ।
राणशासनका तीन जल्लादबाट जतिसुकै नृशंस यातना पाए पनि गोपीले हीराकाजी गणेशमान वा अरू कसैको नाम भन्दैन । भीमबहादुर र चन्द्रबहादुर पनि निर्दोष रहेको र सबै काम आफू एक्लै मात्रले गरेको आफ्नो भनाइमा अन्तिमसम्मै अडान लिइरहन्छ । अन्ततः जेलमा त्यसरी निर्मम ढङ्गले कुटाइ खाँदाखाँदै रगतपच्छे भएर बेहोस भएकै अवस्थामा गोपीको मृत्यु हुन्छ । पछि उसैले बनाएको गोप्य बाटो भएर गणेशमान सिंहसमेत अन्य केही राजबन्दी जेलबाट फरार हुन्छन् र खासगरी त्यसरी राणाकालीन जेलबाट सफलतापूर्वक भागेको आधारमा कालान्तरमा गणेशमान सिंह “लौह पुरुष” कहलिन्छन् । तर प्रारब्धले डोरिँदै जेल परेर संयोगवश उनै गणेशमान सिंहका लागि जेलब्रेकमा सहयोगी बनेको अराजनीतिक व्यक्तित्व गोपी शर्मा गुमनामीको अँध्यारोमा हराउँछ !
इतिहासका तमाम सानाठूला किताबहरूमा कतै नलेखिएको अध्याय भएर गुमनामीको अँध्यारोमा हराइरहेको उही गोपी शर्माको जीवनकथाको औपन्यासिक प्रस्तुति उपन्यास ‘गोपीचा’ एक पृष्ठ लामो लेखकीय भूमिकापछि झ्वाट्ट शुरु भइजान्छ र अनेक उपशीर्षक अन्तर्गत सानासाना अध्यायहरूमा बाँडिँदै अन्ततः परिशिष्ट उपशीर्षकमा सकिन्छ ।
यो बीचमा क्रमशः कथावाचक, ती माने पानी, बाहुन बाहुन, थः बही पायाः, राजाका मानार्थ राजा, गुफाबाट देखिएको दरबार, छु सो यु बाज्या ?, सुनमैचाको खोजी, तिलस्मी भेट, सुनकेशरीको आँगन, सिन्दूर-पोते, खोई बाहुन !, घर निकाला, पे्रमकैदी, दण्ड विधान, भद्रगोल, खरीबोटको क्रूर दृश्य, छुटिजाने साथी, जेलब्रेकको तयारी, अनि शिवजी बौलाए, र, गोलघरको सन्नाटा आदि गरी एक्काइस ओटा उपशीर्षक भएर कथानक अगाडि बढ्दै चार पृष्ठ लामो परिशिष्टमा सकिन्छ ।

विश्व कुइकेल
परिशिष्ट खण्डमा गोपी शर्मासँग सम्बन्धित इतिहासका केही झिल्का भेटाउन सकिन्छ । यस खण्ड अन्तर्गत क्रमशः पुरुषोत्तम शमशेर जबरा लिखित ‘श्री ३ हरूको तथ्य वृतान्त भाग २’, गणेशमान सिंहको (माथवर सिंह बस्नेतद्वारा लिपिबद्ध) ‘मेरो कथाका पानाहरू’, प्रा.डा.राजेश गौतम लिखित ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजापरिषद्को भूमिका’, धर्मरत्न यमी लिखित ‘नेपालका कुरा’, पुनः प्रा.डा.राजेश गौतमकै अर्को कृति ‘प्रजातान्त्रिक आन्दोलन र गणेशमान सिंह’, र पत्रकार यादव देवकोटाद्वारा लिखित एवं कान्तिपुर दैनिक (वि.सं.२०७७ माघ १७) मा प्रकाशित ‘जातले जोगाएको फाँसी’ शीर्षकको आलेखका अंश छन् ।
गोपीसँगै उपन्यासमा घरिघरी आइरहने पात्रहरूमा उसका बाआमा, दाइ केशव, बेखामान, सुनकेशरी, गाँजा खुवाउने अनाम जोगी, राणा परिवारबाट जोगी बनेर राजनीतिक कुरा गरिरहने प्रकाश, पोडे भीमबहादुर, चन्द्रबहादुर, हर्के घर्ती, र कारागारमा भेटिएका कैदी हीराकाजी, सुरक्षाकर्मी, जेलर र जर्नेल आदि छन् । कथानक भने केवल गोपीकै वरिपरि घुमिरहेको हुन्छ । उपन्यासको शुरुमै गोपीले आफ्नी आमासँग ‘कोही अर्जुन काका’ बारे सोधेको हुन्छ । त्यसको जवाफमा मनले नचाहँदा पनि आमाले ‘ती अर्जुन काकाले तल्लो जातकी कमिनी युवतीसँग विवाह गरेकोले’ घर, परिवार र समाजबाटै बहिष्कृत भई कता गई बसे नबसेको केही थाहा नभएको बताएकी हुन्छन् । यो कुराकानीको प्रसङ्गले किशोर वयको गोपीको भविष्यबारे केही सङ्केत मिलेको हुन्छ । थप कुरा चाहिँ पशुपतिमा बसोबास गर्ने रहस्यमय जोगी प्रकाशका कुराकानीले पनि दिएका हुन्छन् ।
समकालीन समाजमा रहेको उग्र जातीय विभेद-व्यवस्थाको कठोर यथार्थलाई स्वीकार गर्नुको साटो गोपी कल्पनाको संसारमा विचरण गर्न रमाउँछ । उसलाई पढाइमा रुचि छैन । बाले पटकपटक भन्दा पनि बाहुनको परम्परा-संस्कारगत आजीविका सिक्न खोज्दैन । बरु सधैँ अल्लारे भई काठमाडौंका अनेकानेक ठाउँहरूमा डुली हिँड्छ । यस्तैमा एकपटक शहरमा राम रमाइलो हेर्न गएको बेला सुनकेशरीलाई देख्छ र उसको सुन्दरतामा लठ्ठिँदै प्रेममा पर्छ ।
त्यसअघि शुरुमा पहिलो पटक बेखामानले गोपीलाई फकाउँछ र आफ्नो घर लगेर राँगाको मासु र रक्सी खुवाउँछ । अनि त्यहाँबाट निस्केर घर जाँदै गर्दा अजिमा मन्दिरको सत्तलमा बस्ने जोगीकहाँ लगेर गाँजा तान्न पनि सिकाउँछ । खासमा बेखामान पहिले आफैँ पनि च्यामे भएको आधारमा बाहुन युवाहरूद्वारा अनाहकमा प्रताडनाको शिकार भइसकेको थियो । पानी परेको बेला एकजना परिचित बाहुन युवतीलाई हात समातेर खोला तारी दिन लाग्दा “बाहुनी केटी भगाउन थालेको” निराधार आरोपमा ती बाहुन युवाहरूले त्यस युवतीको कुरै समेत नसुनी बेखामानलाई लात्ती र घुस्सा हान्नुका साथै लछारपछार पारेका हुन्छन् । त्यसै दिनदेखि बेखामान बाहुनविरोधी बनेको हुन्छ र त्यस घटनाको प्रतिशोध लिने अवसर खोजिरहेको हुन्छ । गोपीमा उसले त्यो सम्पूर्ण अवसर देख्छ र त्यसलाई सदुपयोग गर्छ ।
प्रेममा डुबेको गोपीले एकपटक सुनकेशरीलाई एकान्त ठाउँमा बोलाउँछ । उनीहरूबीच कुराकानी हुन्छ । “ऊ त्यो बादलमा घर बनाउने । अनि यहाँका मान्छेले कहिल्यै भेट्दैनन् । तिम्रो डर पनि सिद्धिन्छ,” गोपीले आकाशमा देखिएको सेतो बादलको टुक्रा देखाउँदै भन्यो, “त्यो बादलमा डाँडाकाँडा रहेछन् भने तिमीलाई गाह्रो होला । त्यहाँ सम्म परेको फाँट खोज्नु पर्छ । भोलि हाम्रा छोराछोरी होलान्, तिनीहरू नलड्ने ठाउँ खोज्नुपर्छ ।”
“ट्यो बाडलमा घर कसरी बनाउने ? ट्यो पानी परेर झर्डैन ?” उसले (सुनकेशरीले) प्रश्न गरी । (पृ.५७) ॥
किताबका केही स्थानमा यस्ता केही कुरा छन् । सामान्य लेखापढी मात्र जानेको र अरू केही नपढेको वा नघुमेको गोपीले प्रेमका यस्ता रोमाञ्चक एवं नौरङ्गी संवाद कसरी भन्न सक्यो भन्ने पक्ष बेग्लै छलफलको कुरा हो । त्यसो त पढेर भन्दा परेर जानिन्छ । त्यसमा पनि एउटै विषयमा लागिरहने वा सोचिरहने हो भने नसोचेको तहसम्म पुग्न सकिन्छ । यस्तै केही गोपीसँग भएको हुन सक्छ । तर अन्यत्र पनि केही ठाउँमा भाषागत बिस्कुन केही विचित्र भान हुन्छ । जस्तो- उसले मानेन र भान्छामा उक्लिएर पिरा लिएर आयो । मूल ओछ्यानभन्दा मुनी नै ओछ्याएर बस्यो । (पृ.७७) ॥ गोपी उनको नजिकै आएर सिलौटोजस्तो सानो आकारको ढुङ्गा ओछ्याएर थचक्क बस्यो । (पृ.८७) ॥ (ढुङ्गा अथवा पिरा पनि ओछ्याएर बसिन्छ र !)
पाठकको मनै सिरिङ्ग पार्ने गरी उपन्यासमा एक वाक्य छ । यो बडो अबोध एवं निश्छल भावाभिव्यक्ति हो । जेलमा गोपीसँगै हिँडिरहेको मोटो मान्छे (अर्को कैदी) ले उसलाई सोध्यो, “के गरेर आएका हौ तिमी ?” गोपीले सानो स्वरमा जवाफ दियो, “माया गरेर ।” (पृ.९९) ।
सँगै बस्ने कैदी साथी हर्के घर्तीले उसलाई आफ्नो भाइले ल्याइदिएको भन्दै पुष्टकारी खान दिएपछि गोपीले उसलाई भन्छ, “हर्के दाइको भाइले पुष्टकारी ल्यायो । मैले पनि खाएँ । मेरो पनि भाइ छ घरमा । त्यो यहाँ आउँदैन । पुष्टकारी ल्याउँदैन । दाइ छ घरमा । त्यो पनि आउँदैन । त्यसले लट्टेपा ल्याउँदैन । बा पनि छन् । आमा छिन् । बहिनीहरू छन् । ती कोही पनि आउँदैनन् । केही पनि ल्याउँदैनन् । आमाले आएर किन यस्तो गरिस् भनेर गाली पनि गर्दिनन् । बाउले आएर ‘अब त सुध्रिएलास् नि’ पनि भन्दैनन् । दाजुले आएर महाराजकहाँ बिन्ती बिसाउँला, जुर्माना तिरेर भए पनि तँलाई पानी चल्नेसम्म बनाउँला पनि भन्दैन । चल्दोमिल्दो केटी खोजेर बिहे पनि गरिदिउँला त के भन्थ्यो ! …बिस्तारै मेरो छुट्ने दिन पनि आउँछ । म त च्यामे भइसकेँ । तर मेरी सुनकेशरी च्यामिनी मसँग छैन । न मेरा लागि बेखामान छ । न त अरू कोही हुन्छ । छुटेर पनि कहाँ जाने ? मेरो त संसार नै छैन हर्के दाइ ! मलाई पुष्टकारी कसले दिन्छ ?” (पृ.१२१)
यस भनाइले गोपीमा बाँच्ने इच्छा क्रमशः कमजोर हुँदै गएको देखाउँछ । शायद यही मनस्थितिले गर्दा पनि पछि गएर उसले जेलका जल्लादहरूको यातना सहँदै प्राण जान्छ । ज्यान जान्छ तर हीराकाजीलाई दिएको वचन खेर जाँदैन ।
माया गरे बापत जात घटुवा भएर जेल परेको गोपीको मरणसँगै उपन्यास सकिन्छ । यद्यपि उपन्यासमा गोपी जेल परेपछि सुनकेशरीको के हुन्छ ? गोपीको परिवारमा सामाजिक तवरबाट के कस्तो प्रभाव परेको हुन्छ ? पशुपतिमा आसन जमाएका जोगी प्रकाशको अवस्थिति के हुन्छ ? मृत्युपछि गोपीको शवलाई के गरियो ? अन्तिम संस्कार वा क्रिया-कर्म के कसरी गरियो ? जेलब्रेक गरिसकेपछि हीराकाजीले गोपीका लागि केही गरे गरेनन् ? गणतान्त्रिक नेपालमा सामाजिक कार्यमा लागेकाहरू, जातीयताको घनघोर विरोध गर्नेहरू, जातिभेदबाट पूर्ण मुक्त समतामूलक समाज निर्माणको कुरा गर्दै आफू लाई कम्युनिस्ट भन्नेहरू आदि तमाम तह र तप्कामा रहेका मानिसहरू उबेलाका गोपीहरू र अहिलेको समाजका नवराज बि.क.हरूबीच के कति र कस्तो समानता असमानता देखिरहेका छन् ? यस सम्बन्धमा कसले भन्ने ? को बोल्ने ? अनि खोइ त बोलेको ?
सारत: उपन्यासकारले इतिहासको एक सर्वथा उपेक्षित पात्रलाई विषयवस्तु बनाएर लेख्नु आफैँमा एक स्वागतयोग्य कार्य हो । यस्तो प्रशंसनीय कार्य अरू पनि हुनुपर्छ । यद्यपि उपन्यास ‘गोपीचा’ एकपटक पढ्नका लागि ठीक छ तथापि उपन्यासमा हुनुपर्ने गहिराइ र रोमाञ्च यसमा भेटिँदैन । यसले मथिङ्गल हल्लाउँदैन । मुटु पनि कमाउँदैन । दायाँबायाँ वा मिल्दाजुल्दा अन्य केही प्रभावशाली वणर्न केही छैन बरु यो त भाषागत रूपले केवल सरल छ, सपाट छ र सर्सरी लेखन छ । उ
पन्यास पढ्दै अगाडि बढ्दै जाँदा पाइलैपिच्छे लेखनले अलि धेरै औपन्यासिकताको आग्रह गरेको भान भइरहन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

