
वास्तवमा भन्नु हो भने, लोकतन्त्रप्रति गहिरो आस्था प्रकट गरेर साहित्य सिर्जना गर्नु नै समाजप्रति जागरूक हुनु हो अथवा चेतनशील हुनु हो । चेतना व्यक्ति मनको त्यो शक्ति हो जसले आन्तरिक र वाह्यिक दुवै तत्त्व, विषयवस्तु र व्यवहारलाई परिचालन गर्दछ । त्यसैले चेतना यस्तो एउटा दृष्टिकोण हो जसले मानिसलाई आन्तरिक र वाह्यिक दुवै तत्त्वहरू हेर्न, बुझ्न, सुन्न वा सचेत हुन सक्ने क्षमता प्रदान गर्दछ ।

डा. चिन्तामणि शर्मा
यस्तै किसिमको क्षमता भएका सामाजिक चेतनशील व्यक्तिहरूमध्ये एकजना हुन असमका वरिष्ठ साहित्यकार डा. चिन्तामणि शर्मा । उनलाई मूलतः नेपाली, असमीया, हिन्दी र अंग्रेजी आदि भाषाका साहित्यिक स्रष्टा हुन् भन्न सकिन्छ । उनी साहित्य सिर्जनामा निरन्तर सक्रिय हुनुको साथसाथै उनले विविध क्षेत्रमा निर्वाह गरेको भूमिका र योगदानका कारण बहुआयामिक हुन पुगेको देखिन्छ । उनी जुन-जुन क्षेत्रमा संलग्न र क्रियाशील छन् त्यस क्षेत्रमा उनले आफ्नो एउटा दर्बिलो स्थान बनाउन सफल भएका छन् ।
उनी एकजना कवि, निबन्धकारका साथै कुशल प्राध्यापक, अध्यक्ष र संगठकका रूपमा प्रतिष्ठित व्यक्ति हुन् । आफ्नो आदर्शले गर्दा उनी गोर्खा समाजमा मात्र नभएर असमीया, हिन्दीभाषी समाजमा पनि उत्तिकै प्रिय छन् ।
उनका विज्ञान प्रबन्धावली (२०१३), म आउँदिनँ तिम्रो सहर (२०१५), अबुज खातर ( असमीया भाषाको पुस्तक) र रचना विविधा ( २०२१) गरी चार वटा पुस्तक प्रकाशित छन् । यीमध्ये कविता संग्रह “म आउँदिनँ तिम्रो सहर” लिएर हजुरहरूको समक्ष उपस्थित भएकी छु ।
० ० ० ०
प्रगतिशील कविः
मानव जीवनको विकासको यात्रालाई प्रकाशमय पार्ने उद्देश्य लिएर अगाडी बढ्ने कविलाई निश्चय पनि प्रगतिशील कवि भन्न सकिन्छ ।
जब कुनै व्यक्तिले आफ्नो समाजप्रतिको भौतिक, सामाजिक, सांस्कृतिक, नैतिक, राजनीतिक आदि कर्तव्यहरू निर्वाह गर्न असमर्थ हुन्छ, तब अज्ञानता, शोषण, अन्धविश्वास, मानवीय मूल्य विघटन, आर्थिक विषमता, रुढीवादी प्रवृत्ति, आर्थिक असमानता, छुवाछुत, जातीय-वर्गीय विभेद र नैतिक हनन हुन पुग्छ । र तिनै क्रिया र प्रतिक्रियाहरूको परिणामस्वरूप उत्पन्न भएको कविताको सँगालो हो “म आउँदिनँ तिम्रो सहर” ।
प्रस्तुत पुस्तकका प्रायजसो कविताहरूमा एकातिर मानव मनको व्यथा र उतारचढावहरूको रहस्यलाई पत्तो लगाउने प्रयास गरेको पाइन्छ भने अर्कोतिर मानव जीवनका मार्मिक पक्षहरूको गहिरो निरीक्षण गरेको पाइन्छ । सामाजिक, आर्थिक, सांस्कृतिक सबै क्षेत्रका बेथितिमाथि तिखो प्रहार गर्दै कवि लेख्छन् –
“बेलुकी घर फर्किंदा
दुई छाकको जोगाड
राम्रोसँग गर्न
व्यर्थ श्रमिकलाई
भेटे नभेटेको व्यथा
दूर गर्ने निकाय जन्मिएला त ?”
(पहिलो मई)
प्रस्तुत कवितामा स्वतन्त्र भारतमा मजदुर वर्गको अवस्थालाई लिएर कविले गम्भीरतापूर्वक सोचेका छन् । श्रमजीवी जनताको जीवन सङ्कट र उनीहरूका समस्याको यथार्थलाई गहिरो रूपमा चिन्तन गरेका छन् । एकातिर विकासका ठूला-ठूला दाबी गरिरहँदा श्रमजीवी वर्गको जीवनयापनका न्यूनतम आवश्यकता समेत पूरा हुन नसकेको हाम्रो देशको दुर्भाग्य हो । सरकारका सबै नीति र ठूला-ठूला दाबी र प्रतिबद्धताले पनि उनीहरूको जीवनमा कुनै सकारात्मक सुधार देखिएको छैन । यसको साथै सहरमा स्थापना भएका उद्योगहरूमा न्यून ज्याला, जीवनयापनको अभाव जस्ता समस्या पनि उनीहरूले भोग्नु परेको छ ।
“सर्वत्र व्याप्त छ चित्कार
कृषकको उपजमा चलिरहेछ छल
यहाँ छल-कपटबाट न केवल
कृषकबीच रोदन मच्चिएको छ
षड्यन्त्रकारी मालिकको कब्जामा न केवल
मजदुर निसास्सिएको छ”
(चित्कार)
कविको भनाइअनुसार भूमण्डलीकरणले भारतीय कृषिमा मात्र संकट ल्याएको छैन, यसले विश्वका धेरै गरिब देशहरूको कृषि प्रणालीलाई पनि ध्वस्त पारेको छ । आज हाम्रो देशमा पनि कृषि संकट ठूलो समस्या बनेको छ । भारतमा धेरैजसो जनसंख्या किसान छन् र उनीहरूको जीवन कृषिमाथि निर्भर छ । तर आज उनीहरूले स्वतन्त्र भारतमा आफ्नो कृषि जोगाउन घाटामा खेती गरिरहनु परेको छ । घाटा बेहोर्दै खेतीपातीलाई निरन्तरता दिन निकै गाह्रो भएको अवस्था छ र यस्तो अवस्थाले उनीहरू धेरै निराश छन् । साथै पुँजीवाद र शक्तिको जालबाट किसानहरू बाहिर निस्कन नपाएको कुरा पनि कविले यस कवितामा उल्लेख गर्न बिर्सेका छैनन् ।
“निर्वस्त्रलाई राजपथमा नाङ्गै कुदाइयो
सभ्य भनाउँदो समाज मौन रह्यो
नग्न फोटा क्यामरामा कैद गरियो,
मिडियाको मुनाफा बढ्यो
सर्वत्र नग्न तस्बिर देखाइयो”
(राजपथकी निर्वस्त्र युवती)
धेरै वर्षअघि भएको सत्य घटनामा आधारित रहेको छ यो कविता । सार्वजनिक ठाउँमा एउटी बलात्कृत युवतीमाथि गरिएको निर्मम प्रहारप्रति कसैले संवेदना नदेखाएको अवस्था र मानवता हराएको समाजप्रति कवि आक्रोश पोख्छन् राजपथमा निर्वस्त्र युवती एउटीको संवेदनाभित्र पसेर कविले आफ्नो कवितामा आलाप विलाप गर्दै यो कविता लेखेका हुन् । जीवनको उथलपुथल र दोबाटोमा कसरी एउटी नारी छटपटिन्छे, त्यसको एउटा हृदयविदारक र अति करुण भावना व्यक्त गरेका छन् ।
० ० ० ०
कवितामा अस्तित्ववादी दृष्टिकोण:
अस्तित्ववादले मानव स्वतन्त्रतालाई सबैभन्दा धेरै महत्त्व दिएको छ । अस्तित्व र स्वतन्त्रता प्राय समानार्थी हुन् । मानिस स्वतन्त्र हुन रुचाउँछ र ऊ आफ्नै भाग्यको निर्माण गर्न सक्षम हुन्छ । त्यसैले कतिपय कवितामा कविको विचारको केन्द्रबिन्दु पनि ‘स्वतन्त्रता’ रहेको छ । वर्तमान परिपेक्षमा समाजले भोगेका कटुसत्यलाई सरल र सुबोध भाषामा प्रस्तुत गर्दै उनी लेख्छन् –
“तर ! स्वतन्त्रताको ढ्याङ्ग्रो पिट्दै हिंड्ने
स्वच्छ र शान्त वातावरण रहेको
दावा ठोक्नेहरूलाई
कसरी, बुझाऊँ-के हामी स्वतन्त्र भयौं र ?
(देश स्वतन्त्र भयो)
समाज र राष्ट्रमा रहेका विकृति र विसङ्गतिप्रति मोर्चा कस्दै कवि भन्छन्- परिवर्तनको नारा लगाउँदै हिँडे पनि हामी वर्तमान युगमा पनि सम्पूर्ण स्वतन्त्र रूपले बाँच्न पाएका छैनौँ अहिलेसम्म पनि स्वाधीन भारतमा, मान्छेबीच धर्म, जात, छुवाछुत र पुरुष महिलाको बिचमा सिमाना कोर्ने चलन चलिरहेकै छ । त्यसैले उनी प्रश्न गर्छन्- “के हामी स्वतन्त्र भयौं र ?”
“यान्त्रिकताको निर्मम चेपारोबाट
फुत्केर स्वतन्त्र हुने रहर जागेको छ
कृत्रिम मानवबाट टाढिएर
एकल जीवन काट्ने इच्छा जागेको छ”
(होइन के भो मलाई ?)
प्रस्तुत कवितामा कविले, समाजमा चारैतिर विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक सबै क्षेत्रका बेथितिमाथि तिखो प्रहार गर्दै स्वतन्त्रता सर्वोपरि हो भन्ने विषयलाई कवितामा सरल शैलीमा लेखेका छन् । साथै मान्छेको संकीर्ण र साँघुरो मानसिकतालाई सफलतापूर्वक प्रस्तुत गर्न सक्षम भएका छन् ।
० ० ० ०
कवितामा व्यङ्ग्यको भावना:
कवि शर्माका कविताहरूमा मुखरित भएको अर्को एउटा विशेषता हो – समाजमा देखा परेका समसामयिक विसङ्गति र विडम्बनाप्रति व्यङ्ग्य । वर्तमान जीवनका धेरै घटनाहरूलाई कविले कविताहरूमा व्यङ्ग्यात्मक भावनाले लेखेर सबैलाई चिन्तनतर्फ उन्मुख गराउन सक्षम भएका छन् । यो कविता पढ्दा हामी निश्चय पनि छर्लङ्ग हुने छौं-
“किन हो कुन्नि ?
अचेल म सधैँ मदिरालय जाने गर्छु ।
तर ! जाँडमा मत्त परेर मात्तिएकालाई
मन पटक्क पराउँदिनँ ।”
(विरोधाभास)
यो कविता एकदमै समय सान्दर्भिक छ । यस कवितामा मान्छेको क्रियाकलापदेखि छक्क पर्दै कवि यसरी आफ्नो अनुभव व्यक्त गर्छन् – मानिसले मदिरा आफै पिउँछ अनि अर्काले पिएको थाहा पाउनु साथ त्यसलाई समालोचना गर्न पछि पर्दैन । भन्नुको तात्पर्य, मानिस अर्कालाई दोषारोपण गर्ने मौका खोज्दै हिँड्छ । समाजमा भएका तथाकथित भलाद्मीहरूलाई उनले यसरी तीव्र व्यङ्ग्यवाण हानेका छन् ।
“मेरो आफन्तको दुख र पीडाको घडीमा
म अत्यन्त नै व्यस्त रहने छु
साही कार्यक्रमको निमन्त्रण नभेट्दा पनि
म अगावै उपस्थिति दर्ता गर्ने छु
शाही कृपा दृष्टिबाट वञ्चित नहुनका लागि
सर्वस्व गुमाउन तयार रहने छु
म मेरो जातिको नेता, म हुँ आजको नेता
म अट्टहास सहेर हिँडिरहने छु”
(म आजको नेता)
सत्तालोभ आजका मानिसको प्रमुख चरित्र भइसकेको देखेर कविले यो कविता लेखेका हुन् । व्यक्तिगत स्वार्थमा अन्धो भएका मानिसलाई कवि सचेत पार्न चाहन्छन् । ‘वसुधैव कुटुम्बकम्’को पाठ सिकाउन चाहन्छन् । समाजको सामाजिक बागडोर जे जसरी सञ्चालन हुनु पर्ने थियो त्यो हुन सकेन भन्दै कविले गुनासो पोखेका छन् ।
एउटा मानिसले अर्को मानिसप्रति असल बानी प्रदर्शन गर्नु, हरेक मानिसमा भएको अन्तर्निहित आदर्श भावनालाई स्वीकार गर्नु, अर्काको भावनालाई ठेस नपुर्याउनु नै मानवतावादको विशेषता हो भन्ने कुराको पुष्टि गर्दै यो कविताले सामाजिक दायित्वको पालन कसरी गर्नुपर्ने हो, भन्ने कुराको राम्रो सन्देश दिएको छ ।
कवितामा विज्ञान, ज्यामितीय सूत्रको प्रयोग:
आजको समाज विज्ञानबाट निकै प्रभावित छ भन्ने कुरामा म विश्वस्त छु । त्यसैले वर्तमान साहित्यमा विज्ञानको पनि प्रयोग हुन थालेको प्रतिविम्बित हुन्छ । डा. चिन्तामणि शर्माले पनि आफ्ना धेरैजसो कवितामा विज्ञानको सम्मिश्रण गरेका छन् ।
“म कसरी व्यक्त गरूँ
स्वयंको गाथा मलाई
थुपार्दै मात्र जाने हो भने
मबाट उपलब्ध हुने गर्छ
ऊर्जा बन्जर भूमिलाई
म उर्वर पार्ने गर्छु”
(आत्मकथा गोबरको)
कवि रसायन विज्ञानका प्राध्यापक हुन् । त्यसैले उनले आफ्ना कवितामा रसायन विज्ञानको प्रयोग गर्न बिर्सेका छैनन् । हाम्रो संस्कृतिमा यसको महत्वको साथै माटोलाई उर्वर बनाउने जैव रसायनको कुरा पनि उल्लेख गरेका छन् । प्रस्तुत कविता द्वारा उनी सम्पूर्णलाई गाईको गोबरको बारेमा पूर्ण जानकारी गराउन चाहन्छन् ।
“गाह्रो त हुँदैन अव्यक्त भावलाई बुझ्न
चित्रित घेराको केन्द्रबाट अर्ध व्यास खिच्न”
(मान्छेको सोचाइ)
कविले यस कवितामा ज्यामितीय सूत्रको प्रयोग गरेर मान्छेलाई चिन्न सक्ने र चिन्न नसक्ने सम्भावनाहरूलाई बुझाउन चाहेका छन् ।
० ० ० ०
कवितामा स्वच्छन्दतावाद:
स्वच्छन्दतावादी कवितामा जीवनको सौन्दर्यवादी दृष्टिकोण, आनन्दवादी दृष्टिकोण, नवीनताको आग्रह, प्रेम, विश्वास, कल्पना, सङ्घर्ष, पलायन आदि प्रवृत्ति पाइन्छन् । यी प्राय सबैजसो प्रवृत्तिलाई कविले आफ्ना कतिपय कवितामा विशेष स्थान दिएका छन् ।
“तिमिले अझै पनि बुझ्न सकेकी छैनौ
परस्पर मन मिल्ने मानिस भेटिन कति गाह्रो”
(विश्वास)
जीवन र जगतको शाश्वत भोगाइ कवितामा झल्केको छ । यो जगतमा व्याप्त प्रेम, दुख-पीडा, व्यथा, आदिलाई विभिन्न बिम्बको प्रयोग गरी कविले आत्ममन्थन गरेर आफ्नो अनुभव व्यक्त गरेका छन् । स्वार्थी स्वभाव र प्रवृत्तिले गर्दा आज मानिस आत्मकेन्द्रित भएको छ भन्ने मार्मिक अभिव्यक्ति स्पष्टसँग मुखरित भएको छ ।
यस कृतिको अनुक्रमणिकामा ४६वटा कविता समावेश छन् र प्रत्येक कविताले केही न केही सन्देश दिएको छ । जस्तै-
“युथाचारी” कवितामा स्वार्थी र आत्मकेन्द्रिक सोच बिचारका प्रवृत्ति भएका मानिसले गर्दा हामी पछि परेका हौं, हाम्रो समाज पछि परेको हो भन्ने कविको दूरगामी सोचाइ पाइन्छ ।
“आँखा” कवितामा, सामाजिक चेतनाको लागि हाम्रो हेर्ने दृष्टिले कति धेरै प्रभाव पार्छ भन्ने कुरालाई झङ्कृत गर्न कवि सक्षम भएका छन् ।
त्यसरी नै, “जीवन” कवितामा कवि मानवताको जरो खोज्दै धेरै ठाउँ पुग्छन् र समाजमा सुधारवादी नीति अपनाउनु पर्छ भन्ने सन्देश दिन्छन् ।
“परेवा शान्तिको प्रतीक” शीर्षक कवितामा समाजको क्रियाशीलताले नै शान्ति र प्रगतिको बाटो उज्यालो पार्छ भन्ने कुरामा उनी विश्वस्त छन् ।
“म र मिसिल” कविता विशेष गरी युवावर्गलाई सचेत गराउने उद्देश्यले लेखेका हुन् ।
उनी भन्छन्- आजका युवाहरू जागरूक भई शोषण, अन्याय र अत्याचारका विरुद्ध क्रान्तिको आगो बोकेर परिवर्तनका लागि एकजुट हुनुपर्ने समय आएको छ ।
० ० ० ०
भाषा, शैली र शिल्प
प्रेम, राजनीति, विकृति, विसङ्गति, भ्रष्टाचार, शोषण आदि विषयलाई केन्द्रबिन्दुमा राखेर कविले अति सहज सरल भाषा-शैलीमा कविताहरू लेखेका छन् । हाम्रो समाज र संस्कृतिलाई पनि कविले उनका कवितामा समेट्न बिर्सेका छैनन् । साथै वर्तमान हाम्रो समाजको यथार्थले कविताहरू लेखिएका छन् अनि सरल शैलीमा सबैले सोच्नुपर्ने चिन्तनलाई जन्म दिएका छन् भन्दा अतिशयोक्ति नहोला ।
बिम्ब प्रतीकको प्रयोग
सबैले सजिलै बुझ्ने किसिमका बिम्ब प्रतीकको प्रयोग गरेर सूक्ष्म रूपमा मानवताको खोजी गर्दै र केही आशावादी भावना बोकेर अघि बढेका छन् । यस सङ्ग्रहका अधिकांश कविता कविले आफ्नो मनको गहिराइबाट लेखेका छन् । कविले विचारलाई सबल सक्षम बनाउने क्रममा बिम्ब, प्रतीक अति सहज र स्वाभाविक रूपमा राखेका छन् । कविताहरू सरल छन् । तर सरल देखिएता पनि व्यङ्ग्य प्रहार चाहिँ राम्रो गरेका छन् ।
शीर्षक
कविताको शीर्षक “म आउँदिनँ तिम्रो सहर”मा सहरलाई विम्ब प्रस्तुत गरेर उनले मानिसको अहमलाई उजागर पारेका छन् । यहाँ ‘सहर’ शब्दले केवल सहर मात्र बुझाएको छैन् । विशेष गरी आजको सभ्य भनिने समाजमा कतिपय आफ्नो स्वार्थ पूर्ति गर्ने मौकावादी मानिसप्रति गतिलो व्यङ्ग्य प्रहार गरेका छन् । मान्छेको मन साँगुरिएको र सम्वेदनाशून्य हुँदै गएपछि मान्छेभित्रको मन दूषित हुन्छ, समाज र जीवनलाई हेर्ने-बुझ्ने क्षमता ह्रास हुन्छ । त्यसैले, लोभ लालसा र संवेदनहीन व्यवस्थाको तुवाँलोभित्र रहेका मानिसलाई कवि सचेत गराउन चाहन्छन् ।
कविले यहाँ वर्तमान समाजमा रहेका समस्याको उठान गरेर आफ्नो अभिव्यक्तिलाई बौद्धिकीकरण गर्न सक्षम देखिन्छन् । समकालीन समय र चेतनालाई जगाएर “म आउँदिनँ तिम्रो सहर” भित्र मानवताको साम्राज्य विस्तार गरेका छन् र साथै यो शीर्षकले सम्पूर्ण पुस्तकलाई प्रतिनिधित्व गरेको छ ।
० ० ० ०
उपसंहार
कवि डा. चिन्तामणि समाजमा भइरहेको अनैतिक व्यापार देखेर चिन्तामा डुबेका छन् । त्यसैले उनमा समाजको सेवा गर्ने भावना प्रबल देखिन्छ । धेरैजसो कविताहरू समसामयिक विषयसँग सम्बन्धित छन् । कविताहरूमा व्यापक समाजको पीडालाई समेटेर आफ्नो अभिव्यक्ति पोखेका छन् ।
यस कृतिमा विविध पक्षलाई समेटेर सहज सरल भाषा शैलीमा आफ्ना मनका भावना र धारणालाई कविले सुन्दर रूपमा पस्केका छन् । प्रगतिशील भावनालाई अग्रस्थान दिँदै अहिलेका मानिसले भोगेका दुख पीडालाई कविताहरूमा उतारेका छन् ।मानिसको स्वार्थी प्रवृत्ति, राजनैतिक विडम्बना लगायत अनेकौँ घटनालाई कविले सुन्दर शैलीमा समेटेका छन् । साथै कविताहरूमा कविको भावनात्मक अभिव्यक्ति पनि प्रस्ट देखिन्छ ।
मानिसले भोगेका र संघर्षका प्राय सबैजसो पक्षहरू जस्तै- सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक लगायत, प्रेम, विश्वास, नारी र पुरुषको भेदभाव, जातीय भेदभाव, अन्याय, अत्याचार आदि बहुआयामिक पक्षलाई आफ्ना कविताहरूमा उतारेर कविले एउटा चेतनशील समाज बनाउने प्रयास गरेका छन् । साँच्चै भन्नु हो भने कविताहरूले मानव जीवनको अस्तित्व खोज्न सम्पूर्ण प्रयास गरेका छन् ।
अन्त्यमा, यस्तै मानवतावादी चिन्तन र विचारको समन्वय भएको अझ गहकिलो कविता सङ्ग्रह छिट्टै पढ्न पाउने आशा राख्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

