रावण नेपाली जनका लागि अनसुना पात्र होइन, र रावणका लागि राक्षसराज अतिरिक्त परम शिवभक्त, महान् तेजस्वी, अभेद्य पराक्रमी, प्रकाण्ड विद्वान र निर्गुणा तपस्वी जस्ता विशेषण मामुली लाग्छन् । दृष्टिकोणमा अनेकता र अस्तित्वको कौतुहलताले जति चरित्र अलङ्कृत उपाधिहरू रावणमाथि प्रयुक्त हुन्छन्, सम्भवतः त्यो बिघ्न पदवीधारी समतुल्य अर्को पात्र भेटिँदैन ।

रावणायन

रावणायन

जसरी रामायणमा रामचन्द्रलाई नायकत्व दिइएको छ, खनाल रेवतीरमणकृत भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित ‘रावणायन’ नामले नै रावण-चरित रहेको भनिरहनु पर्दैन । कथाहरूमा रावण नायक त हुन् नै, तर शक्तिशाली राजा, अदम्य महत्वाकांक्षा र महत्वाकांक्षाको शिखरबाट भय तथा पश्चागमनको पथिक हुँदै पराजयसम्म सबै कृत्य-गुणहरूको निष्पक्षता रावणायनमा प्रकट भएको छ । अर्थात् लेखकले चरित्रमाथिको सर्व गुणहरूलाई निष्पक्ष स्वीकार गरेका छन्, र बहुलतामा स्वीकृत तथा स्थापत्य मतको अस्तित्वलाई प्रश्न प्रतिप्रश्नहरू गर्न सक्षम देखिन्छन् ।

विशेषतः वैदिक ग्रन्थहरू पुरुष प्रधान नै छन्, र वैदिक साहित्यमा चार वेदको अतिरिक्त वेदसंहिताहरू, ब्राह्मणग्रन्थहरू (ऐतरेय, शतपथ, पंचविश, तैतरीय लगायत), आरण्यक ग्रन्थहरू (सात आरण्यकहरू), उपनिषद्हरू (१०८ उपनिषद्हरू),  वेदाङ्गहरू (शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द, ज्योतिष- खगोल विज्ञान लगायत), र सूत्र साहित्यहरू मुख्य मानिन्छ । साथै अन्य पौराणिक ग्रन्थहरू १८ पुराण, महाभारत, रामायण र स्मृति-ग्रन्थ लगायतलाई पनि वैदिक साहित्यको अभिन्न अङ्ग मानिन्छ । रावणको चरित्रको प्रसङ्ग प्रधान ग्रन्थ रामायण सहित अन्य वैदिक ग्रन्थहरूमा समदृष्टि र समकोणीय भेटिन्छ ।

पुस्तकमा पनि लेखक वैदिक मतमै केन्द्रित सारूप्य ढङ्गले रावणको अन्वेषणमा दत्तचित्त देखिन्छन् । आख्यानको शुरुखण्डमा रावणचरित विवृत उपाख्यानहरू छन् भने दोस्रो परिशिष्ट खण्डमा सन्दर्भ, तथ्यपूर्ण सार र लोककथाका केही विमर्शहरू प्रस्तुत गरिएको छ ।

पौरस्त्य जगतमा वैदिक साहित्य पृथक् पनि रावणमाथि पर्याप्त लेखिएको छ, तर कथाहरूमा आकाश जमिनको भिन्नता छ । प्रसिद्ध महायानी ग्रन्थ लङ्कावतारसूत्रमा रावण र बुद्धको संवाद छ, जसमा रावण र बुद्धबीच योगाचार, अलायविज्ञान, प्रभास्वरचित्त, शून्यता, शाकाहार, र  प्रकृतिहरूका विषय उपर गहन संवाद छ ।

लङ्कावतारसूत्रमा पनि मिथकीय प्रस्तुतिहरू व्यापक छन्, तर पौराणिक आवरणमा लेपिएको ग्रन्थले चन्द्रकीर्ति र शान्तिदेवद्वारा उद्धृत सित्तमात्र, भण्डार-गृह चेतना, बुद्ध-प्रकृति लगायत महायानी दर्शन-विषयहरूको पर्याप्त विवेचना गरिएको छ । यो आलोकको प्रचारले रावण परम बुद्ध-भक्त भन्न बाध्य पार्छ ।

त्यसैगरी जैन धर्मग्रन्थमा रामायणका नायक राम सलाकापुरूष मध्ये एक, आठौं बलभद्र र राजसिंहासनबाट वञ्चित राजकुमारको रूपमा चित्रण गरिएको छ । तर सीता अपहरणको प्रतिशोधमा राजा सुग्रीवको सहयोगमा रावणलाई रामले नभई लक्ष्मणले मारेको वृत्तान्त उल्लेख छ । जैन मत अनुसार राम जैन-मुनी र सीता जैन-साध्वी हुन्छिन् भने रावण र लक्ष्मण एकै रूपले मोक्ष प्राप्त गरेको उल्लेख छ । तर उल्लेखित केही प्रसङ्ग बाहेक रावणायनको प्रस्तुतिमा लेखक वैदिक मतको आलोकको विनिर्माणमा बढी भन्दा बढी तिनै वैदिक ग्रन्थका पानाहरूमा घोत्लिएको भेटिन्छ ।

रामायण त्यो ग्रन्थ हो, र सनातन अनुयायीहरूमा रामायणका धेर-थोर घटनाहरू सबैलाई थाहा छ ।  रावण त्यो पात्र हो, जुन सामान्य मानिसमा पनि एउटा हृदयज बिम्ब तयार हुन्छ । तर त्यो चरित्र वैदिक मान्यताको सर्वोत्तम स्थिति स्वयं ब्रम्हज्ञान प्राप्त गर्न सक्षम थियो भन्ने प्रकारको लोक-आलोकहरू बनेका छैनन् । यो अर्थमा लेखक स्वयं रावणको पूर्ण रूप ब्रह्म-बिजयको अस्तित्वको स्थितिमा समाहित थियो भन्ने कोणबाट बहसमा उत्रिएका छन् ।

आखिर वैदिक मतअनुसार उत्तम धर्म, अर्थ, काम वा मोक्षसँगको एकाकार नै पूर्ण जीवन हो, र जीवनको पूर्णतालाई मोक्ष प्राप्तिको स्थिति हो भनिएको छ । मोक्षलाई वस्तुगत सत्यको रूपमा स्वीकार्न गाह्रो हुने तर त्यो नै जीवन मुक्ति भन्ने अर्थमा वैदिक अभिमतको तर्क छ । मोक्ष विशेषतः सुख-दुःखको भावना नष्ट भएको स्थिति पनि हो । सुख-दुःखको भावना नष्ट हुने स्थिति भनेको विषय त्याग वा शरीर त्याग भएको अवस्था मात्र हो । यो अर्थमा विषय त्याग जो कोहीले सक्दैनन्, तर शरीर त्याग सबैले गर्दछन् । तर रावणायनमा प्रस्तुत उपाख्यानहरूले के पुष्टि पनि गर्छ भने विषय एवं  शरीर त्याग र ब्रह्म-बिजयको बोध प्राप्त गर्ने रावण अलौकिक पुरुष हो ।

गुण र दोष विहीन व्यक्तित्व परिकल्पना गर्न सकिँदैन । रावण अलौकिक पुरुष नै हो, र अलौकिक दोषबेत्ता पनि हो । वाल्मीकि रामायण मै रावणको बारेमा रामचन्द्रले आश्चर्यभाव उद्धरण गरेको प्रसङ्गले यो चरितार्थ पुष्टि हुन्छ:

अहो रूपमहो धैर्यमहोत्सवमहो द्युति:।

अहो राक्षसराजस्य सर्वलक्षणयुक्तता॥

भावार्थ हुन्छ: सुन्दरता, सौन्दर्य, धैर्यता, तेज र सर्वगुण सम्पन्न रावण धर्मको पक्षमा भएको सम्पूर्ण  संसारको स्वामी बन्ने निश्चित थियो । वास्तवमा ब्रह्मको अस्तित्व विजयी भावमा हुन्छ, र आत्मज्ञान अर्थात् म को हुँ भन्ने प्रश्नको सही उत्तर या त आत्मालाई थाहा हुन्छ, या त ब्रह्म विजयी व्यक्तित्वलाई थाहा हुन्छ । शुद्ध आत्मा र शरीर अलगै हो, र अलगै रहेर आत्मज्ञान बोध गर्न सम्भव जो कोही हुन्छ भने अलौकिक महापुरुष हो । रावणले आफै ब्रह्म विजयी व्यक्तित्व थियो, र रामचन्द्रबाट मृत्यु स्वीकार गरेको पथिक थियो । यो अर्थ रक्ष संस्कृतिको प्रवर्तक रावणको आलोकको पुनर्व्याख्या हुनु आवश्यक थियो, जुन कार्य लेखकले बोध गरेका छन् ।

धर्मको शरणागतले जो कोहीमा रहेको चेतनालाई शुद्ध र सन्तुष्ट पार्दछ । आध्यात्मिक सान्त्वना र शान्तिको खोजीमा रहेको जीवनले ईश्वरको सत्तालाई स्वीकार गर्छ, गर्छ । आत्मालाई नित्य मानेपछि धर्म र दर्शनलाई सापेक्षता नमान्ने कुरा भएन, जुन रावणले बुझेर प्रयोगमा ल्याएको विषय हो  । यो अर्थमा एक त राक्षस शब्दले रावणलाई प्रतिबम्बन गर्दैन, र दोस्रो राक्षस शब्दले समेत साहसी, बलियो इच्छाशक्ति एवं स्वच्छन्द धर्मको जीवनशैली अँगाल्नेलाई समेत प्रयुक्त मानिन्छ, जुन शास्त्रसम्मत छ ।

नेपाली जनजिब्रोले रावणलाई शास्त्रहरूमा मात्र सीमित नगरी कैयन लोककथामा समेत समाहित गरेको छ । उपत्यकामा प्रचलित जनश्रुति अनुसार भोजनको स्वाद र सौन्दर्यमा सौखिन शिवभक्त रावण कुनै समय पशुपति दर्शन गर्न आएका थिए । सम्भवतः उनी आफ्ना गुरुको आतिथ्य स्वीकार गरी पशुपति क्षेत्रमा निवास गरेका थिए । तर गुरुगृहको भोजनमा रुचि भएन, तर यो भेद गुरु समक्ष खोल्नु अनुचित थियो । तसर्थ उसले पछि लङ्काबाट लसुन र बेसार गुरुलाई उपहार पठाएको एवं तत्पश्चात् नेपालमा लसुन-बेसारको खेती सुरु भएको किम्बदन्ती छ ।

त्यसै गरी पशुपति क्षेत्रमा घाटे-वैद्यहरूले रावणको पूजा गर्ने गरेको जनश्रुति छ । रावण आयुर्वेदको पनि ज्ञाता रहेको र रावणको आयुर्वेद ज्ञानको प्राप्तिको लागि आराधना हुने गरेको विश्वास गरिन्छ । यसको अतिरिक्त उपत्यकामा पहिले-पहिले घाटे–वैद्यकहाँ लैजाने बिमारीलाई केही समय रावणपाटीमा विश्राम गराउने चलन थियो । अर्थात् रावणको आयुर्वेद ज्ञानको प्रतिछायाले बिमारी निको हुने विश्वास थियो । पुस्तकमा भने लेखक यस्ता नेपाली जनजिब्रोको लोकोक्तिहरू भन्दा अधिक अनसुना प्रसङ्गहरू समावेश गर्न सक्षम देखिन्छन् ।

उल्लेखित कैयन जनश्रुतिहरूले पनि के पुष्टि गर्छ भने विद्यमान लोकोक्ति सर्वमान्य आलोकहरूको  वाट पृथक् छ । अर्थात् रावणको बारेमा निर्माण कैयन भाष्यहरू विनिर्माण हुनैपर्छ, जसमा लेखक अग्रसर भएका छन् । पुस्तकमा लेखकले रावणको बारेमा विभिन्न मुलुकमा रहेका लोकोक्तिको दृष्टान्त प्रस्तुत गरेका छन् । लेखकको खोजमूलक कार्यमा सबै मिथकहरू अटाउने पनि कुरै भएन, तर लेखकले सापेक्ष रूपले जति प्रस्तुत गरेका छन्, ती भने उत्कृष्ट नै देखिन्छन् ।