विषय परिचय
जगदीश घिमिरे (२००२) बहुआयामिक व्यक्तित्वका रूपमा नेपाली साहित्यक्षेत्रमा सक्रिय रहेका छन् । समाजसेवी, पत्रकार एवम् साहित्यकार व्यक्तित्वका रूपमा उनको पहिचान अग्रस्थानमा रहेको देखिन्छ । साहित्यका विविध विधामा साहित्यको रचना गर्ने घिमिरेको ‘अन्तर्मनको यात्रा’ एक विशिष्ट आत्मगत एकालाप निबन्ध विधाको उत्कृष्ट रचना हो । उनले यसलाई प्रतिसंस्मरण विधा भनेका छन् । यस कृतिले २०६४ सालको मदन पुरस्कार र उत्तम शान्ति पुरस्कार समेत प्राप्त गरेको छ ।
उनका हालसम्म प्रकाशित पुस्तकाकार कृतिहरू यसप्रकार छन्: लिलाम (उपन्यास, वि.सं. २०२५), साबिती (उपन्यास, वि.सं. २०३२), जगदीशका कथाहरू (कथासङ्ग्रह, वि.सं. २०२७), केही कथा, कविता र संस्मरण (वि.सं. २०३४), अग्निसूत्र (रोज्जा कविताहरू), बर्दी (रोज्जा कथाहरू), स्थान, काल, पात्र (संस्मरण, निबन्ध र अन्तर्वार्ताहरू) र अन्तर्मनको यात्रा (संस्मरण, वि.सं. २०६४) आदि प्रकाशित छन् ।
माइलोमा नामक रक्तक्यान्सर भएपछि आफूले जीवनमा भोगे गरेका विभिन्न कुरा सम्झँदै आफू मृत्यु नजिक पुगेको अनुभूतिलाई प्रस्तुत गरेकाले यस कृतिमा उनले प्रस्तुत गरेको मृत्युको भयको रूप अर्थात् मृत्युबोधको अध्ययन यस आलेखमा गरिएको छ । बोध भन्नाले कुनै कुराको सान्त्वना, धैर्य, सुनेर, पढेर बुझ्ने क्षमता वा सिप, जान्ने वा बुझ्ने काम वा समझ, ज्ञान जानकारी भन्ने बुझिन्छ ।
त्यस्तै मृत्युबोध भन्नाले आफूलाई मरेजस्तो अनुभव भएको अवस्था, आफ्नो मृत्युसम्बन्धी ज्ञान भन्ने बुझिन्छ । जीवनलाई बोध गर्न वा बुझ्न मृत्युलाई बुझ्नुपर्छ, जान्नुपर्छ । मृत्यु स्वतः प्राप्त हुने प्रक्रिया हो, मृत्युका बारेमा हाम्रा धर्मशास्त्र तथा वैदिक साहित्यमा चर्चा परिचर्चा भएका छन् ।
महाभारत ‘उद्योगपर्व’मा सनतकुमारले मृत्युसम्बन्धी यस्तो दर्शन प्रस्तुत गरेका छन् – त्यो ज्ञानले मृत्यु भयबाट मुक्ति प्रदान गर्दछ । अतः मृत्युसम्बन्धी समग्र ज्ञानको अन्वेषण आवश्यक छ, अर्थात् मृत्यु के हो भन्नेबारे वैज्ञानिक र दार्शनिक ज्ञानको स्थापना हुनुपर्छ । मानिसमा सबैभन्दा ठुलो डर नै मृत्युको हुन्छ । मरुँला भन्ने चिन्ताले मानिस सदैव छटपटाई रहन्छ । त्यसैले मृत्युबारे छलफल गर्न मानिस डराउँछन्, यद्यपि यो भूमण्डलमा जन्मेका जति प्राणी छन् तिनको जीवनको अन्त्य अनिवार्य छ, निश्चित छ ।
मानव शरीरमा हुने पाटपुर्जाले काम नगर्नु ‐भौतिक पक्ष (एक किसिमको चेतना र जीवतत्त्वको ‐चेतन पक्ष) अन्त्यलाई मृत्यु भनिन्छ तर कतिपयको चेतनाले काम गर्दागर्दै जीवतत्वमा रोगव्याधीले नाश पारेपछि मृत्यु स्वतः स्विकार्नु पर्छ । धेरैजसो मृत्युमा शरीररूपी पदार्थ र चेतनाको अन्त्य समान किसिमले मानिए पनि मानवमा भएको चेतना कसरी उड्छ भन्नेबारे विज्ञान, वैज्ञानिक खोज तथा अनुसन्धानले पनि निश्चित उत्तर दिन सकेको छैन । त्यसैले हरेक धर्म जात, सम्प्रदाय वर्णमा अन्तिम अवस्थामा ईश्वरप्रतिको चिन्तन पाइन्छ ।
० ० ० ०
मृत्युसम्बन्धी धारणा
‘प्राणत्याग गर्नु’ भन्ने अर्थ बुझाउने ’मूङ’ धातुमा ’त्युक’ प्रत्ययको संयोजन भएपछि बन्ने ‘मृत्यु’ शब्दको अर्थ प्राणत्याग वा मरण भन्ने हुन्छ । भौतिक शरीरलाई छोडेर प्राण निस्कने भएकाले सत्यलाई देहावसान पनि भनिएको छ । यस्तै निधन शब्दले पनि मृत्युलाई नै बुझाएको छ । यसरी रसित चैतन्यको वियोग र जन्मको अभिप्राय भौतिक शरीर र चैतन्यको ‘जीवन–मरण’ विपरीतार्थक शब्दका रूपमा प्रयुक्त हुन्छन् ।
यही प्रक्रियाले नै जन्मेका सबै प्राणीको मृत्यु हुन्छ भन्ने तात्पर्यलाई सङ्केत गरेको अवश्यम्भावी छ भन्ने कुरा सचेत सबै मानिसलाई थाहा छ तर पनि मानिस आयुको कम चर्चा गर्न चाहन्छ र सुन्न पनि कम चाहन्छ । सायद यो मुत्युभयबाट भएको परिणति पनि हुन सक्छ । भय सम्पूर्ण प्राणीमा हुने साझा अभिलक्षण हो ।
अभिलक्षणमध्ये खानु, सुत्नु, डराउनु, सन्तान उत्पत्ति गराएर आफ्नो वंशलाई निरन्तरता दिने प्रक्रिया हुन् । मानिसको जन्मपछि कालक्रमअनुसार उसको मृत्यु हुन्छ र यो सृष्टिचक्रको नियमित प्रक्रिया हो । तर मृत्युको सहजतालाई सामयिक, असहजमा भवितव्य, दुर्घटना वा आत्महत्यालाई असामयिक मृत्यु मानिएको छ । मृत्युका बोरमा विभिन्न वाङ्मय, साहित्य तथा कोशको परिभाषा यसरी प्रस्तुत भएको देखिन्छ ः
नेपाली शब्दसागर र नेपाली बृहत् शब्दकोशमा मृत्यु भन्नाले मरण, निधन, स्वर्गवास, देहान्त, देहावसान, यमराज, काल, ब्रह्मा, विष्णु, माया, कलि, कामदेव, आदि भनिएको छ ।
श्रीमद्भागवद्गीतामा पनि मृत्युलाई स्वाभाविक प्रक्रियाका रूपमा यसरी वर्णन गरिएको छ :
जन्म–मृत्युको प्रक्रियाबाट कोही छोडिन सक्दैनन् । जन्मेपछि अवश्य मर्नुपर्दछ ।
पूर्वीय दर्शन वाङ्मयले शरीरलाई दुई प्रकारले छुट्याएको छ । भौतिक र अभौतिक । भौतिक वा स्थूल शरीरलाई बिसाउनु वा फेर्नु मृत्यु मानिन्छ भने अभौतिक वा सूक्ष्म शरीरका रूपमा आत्मा रहको छ जसलाई अमर वस्तुको रूपमा मानिएको छ । मानिसको स्थूल शरीरभित्र रहेको ईश्वर तत्वलाई आत्मा भनिन्छ, आत्मा मानिन्छ । यो द्रष्टा हो, सबैको अन्तर्यामी भएर शरीरभित्र रहन्छ । यो जो स्वयं प्रकाशका रूपमा सबै प्राणीको शरीरमा स्फुरित भइरहन्छ । यो निर्विकार भएर कर्ता भोक्ता बन्दछ । त्यसैले मानिसको शरीर भित्रको सूक्ष्म जीवतत्व आत्मा हो । यो जन्म र मृत्युको चक्रबाट परिचालित छ ।
जीवित शरीरभित्र ईश्वर छ, जब शरीर वा देह ढल्दछ आत्मा सूक्ष्म रूपमा निस्केर र पुनः जीवको शरीर प्रवेश गर्दछ । आत्माको शरीरभित्र पस्ने र निस्कने एउटा निश्चित प्रक्रिया र गति छ त्यसलाई सामयिक वा कालगति भनिन्छ । कालगति वा सामयिक प्रक्रियाबाट देह ढल्नु वा मृत्युमा प्राप्त हुँदा आत्मा सजिलै उन्मुक्ति हुन्छ वा मोक्षको मार्गमा जान्छ भन्ने विश्वास छ ।
त्यसैले मृत्युलाई सहज र असहज गरी दुई प्रकारमा बाँडिन्छ । मृत्युको प्रक्रिया सहज हुँदा कुनै समस्या हुँदैन तर असहज मृत्यु हुँदा त्यसबाट उत्पन्न परिस्थिति फरक हुन्छ । जीवनलाई बोध गर्न वा बुझ्न मृत्युलाई बुझ्नुपर्छ, जान्नुपर्छ । मृत्यु स्वतः प्राप्त हुने प्रक्रिया हो, मृत्युका बारेमा हाम्रा धर्मशास्त्र तथा वैदिक साहित्यमा चर्चा परिचर्चा भएका छन् ।
यो संसारको सृष्टि, जीवनजगत्को बारेमा सबैको व्याख्या विश्लेषण गर्न सक्ने शास्त्र वेद नै हो । वेद धर्मको मूल हो, आत्मा विश्वको मूल हो, शरीर धर्म साधना गर्ने मूल आधार हो । शरीर भए मात्र धर्म साधना
हुन्छ । भौतिकवादीले शरीरलाई मुख्य आधार मानेका छन् भने अझ शरीरको उपयोगिता नै मूल विषय सम्झेका छन् । जब शरीर उपयोगविहीन हुन्छ त्यसको कुनै महŒव रहदैन । त्यसैले होला अहिले भौतिकवादको विकासले चरम उत्कर्षमा पुगेका मुलुकले वस्तुको उपयोगजस्तै आफ्ना आफन्तको देहलाई मात्र सम्झेका हुन्छन् । देहसँग आत्माको सम्बन्ध भनेको चेतना र पदार्थ भने जस्तै हो भनिन्छ ।
शरीरको उपयोगिता सकिएपछि विसर्जनको बाटोमा लाग्नु त प्राकृतिक नियम हो । जुनसुकै वस्तु होस् वा शरीरको समाप्ति वा विसर्जन हुन्छ, त्यो निश्चित छ । तर आध्यात्मवादीका धारणामा देहको विसर्जनमा केही फरक छ । पशुप्राणी र मानवको निधन एकै होइन भनेर नै संस्कारको चलन चलेको हो । भौतिक शरीरको अन्त्यका हिसाबले उस्तै हो तर आत्मिक सम्बन्धका हिसाबले फरक छ । भौतिकवादीहरू वस्तुको उपयोगमा विश्वास राख्छन् जसरी वस्तुको उपयोगिता सकिन्छ त्यसरी नै पितामाताको उपयोग सकिएपछि उनलाई आफूभन्दा अलग पुर्याउने वृद्धाश्रम बनाउने वा आफू टाढा हुने चलन सम्पन्न देशको संस्कृतिले देखाएको छ ।
अझ कतिपय भौतिक सम्पन्न मुलुकमा त छोराछोरी अठार वर्ष पुगेपछि बाबुआमाबाट अनिवार्य छुट्ट्याएर राख्नुपर्ने नियममै छ भने अर्कातिर बाबुआमा पनि लामो समयसम्म सँगै बस्ने अवस्थामा हुँदैनन् । ‐उनीहरू बिचको सम्बन्ध पनि विच्छेद गरी छोराछोरी र प्रौढ बाबुआमाका बिचको नाता नै विलीन हुने सम्भावना हुन्छ ।
यसरी भौतिकवादी जीवन दर्शनमा आमाबाबुप्रति श्रद्धाञ्जली, स्मृति र शोक बार्ने चलन कमै छ । भौतिकवादमा शरीर नै मुख्य भएपछि आत्माको अमरत्वलाई प्रधानता दिंदैनन् । यही नै हो, आध्यात्मवादी र भौतिकवादी जीवनदर्शन बिचको फरक र संस्कारगत भिन्नता पनि । समग्र पूर्वीय दर्शन र उपनिषद्मा मृत्युबारे प्रशस्त चर्चा भएका छन् । परलोक र पुनर्जन्मको अवधारणा त्यो छलफलबाट निस्केको निष्कर्ष नै जीवनको अमरत्व प्राप्ति हो । जीवनमुक्तिको वेदान्ती अवधारणा त्यस्तै अर्को निष्कर्ष हो । आत्माको अमरत्व पनि मृत्यु चिन्तनबाट निस्केको निष्कर्ष हो । शरीरको अन्त्य हुनु शरीरको मृत्यु हो आत्मा त अमर तत्व हो । शरीरको जीर्णता र वृद्धत्वसँगै भएको मृत्युलाई नै मृत्यु भनी स्वीकार गर्न हिन्दु विज्ञानले चाहेको छैन र मान्दैन् । देह र आत्माको स्वरूपको चर्चासँगै आत्मा र प्रेतात्माको चर्चा पनि गरिएको छ । सहज मृत्यु र असहज मृत्यु, मोक्ष र प्रेतयोनी जस्ता प्रसङ्गको उदाहरण पुराणहरूमा पाइन्छ ।
आत्महत्याको चर्चा पनि विभिन्न शास्त्रहरूमा लेखिएका छन् । अतृप्तआत्मा प्रेतात्मा, किचकन्नी, भूत, प्रेत, पिशाच, काँचो वायुजस्ता असहज मृत्युबाट भएका प्रेतात्माको कुरा गरिएको हुन्छ । मृत्युका बारेमा श्रीमद्भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई जन्म हुनेको मृत्यु र मृत्यु हुनेको पुनर्जन्म निश्चित छ भनी सम्झाएका छन् । वास्तवमा मृत्यु भनेको पनि यस्तै रहेछ भन्ने कुरालाई गीतामा यसरी अभिव्यक्त गरिएको छ : न जायते म्रियते वा कदाचिन्नायंभूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।। २ ।। २०।।
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा न्यन्यानि संयाति नवानि देही ।।२.२२।।
जीवविज्ञानलाई विश्वास गर्ने हो भने मानव शरीरको अन्त्य हुन्छ, त्यसका वंशाणुगत अंशहरू उनका छोरा–छोरी र तिनका पनि सन्तान दरसन्तानमा जीवित हुन्छन् । पूर्वीय समाजमा उसको कर्म र सन्ततिको चर्चा गरिन्छ । पश्चिमी संस्कारमा जब कुनै व्यक्तिको मृत्यु हुन्छ, त्यस बेला तिनका छोरा–छोरीको सङ्ख्या गनेर सबैका माध्यममा ती दिवङ्गत व्यक्ति जीवित छन् भन्ने धारणा प्रकट गरिन्छ । संसारमा पुनर्जन्मका बारेमा निकै खोज र चासो देखिन्छ । समय–समयमा पत्र–पत्रिका र अन्य सञ्चार माध्यमद्वारा पूर्वजन्म र पुनर्जन्मका बारे चर्चा गरिएको हुन्छ । के मृत्युपछि पुनर्जन्म हुन्छ त ? पूर्वीय धर्मशास्त्रले त वनस्पति र हरेक जीवजन्तुको पनि पुनर्जन्म हुन्छ भन्छ । के यी कुरा सत्य हुन् ? प्रमाणित हुन सक्लान् ? हरेक जीवजन्तुको पुनर्जन्म हुन्छ, यसबारे स्पष्ट खोज अनुसन्धान गरिनुपर्छ ।
बौद्ध दर्शनमा मृत्यु चिन्तनलाई यसरी प्रस्तुत गरिएको छ, जीवन अनित्य छ । यस विषयमा बुद्धका चार आर्य सत्यमा भन्दछन्: हे भिक्षुहरू दुख प्रथम आर्य सत्य हो, जन्म पनि दुख हो, वृद्धावस्था, मृत्यु, शोक वेदना यी सबै दुख हुन् । तर मृत्यु आफैंमा खराब होइन, यो अनिवार्य सर्त हो । चार्वाकले आत्मा मान्दैनन् नाशवान् शरीर हो समय आएपछि जान्छ भन्छन् । जैन दर्शनले मृत्युका विषयमा वैज्ञानिक धारणा राखेको छ । हामीले मृत्युका बारे दुख मान्नुपर्ने कुनै कारण छैन, यो शाश्वत नियम हो । यसलाई नकारात्मक धारणाले हेर्नुको औचित्य पनि
छैन । त्यसैले हामी जसरी जन्मलाई मङ्गलका रूपमा लिन्छौं मृत्युलाई पनि त्यसरी नै लिनुपर्दछ । गरुडपुराणमा मृत्युका बारे मनुष्यको अन्त्येष्टि विधान र पुनर्जन्मको प्रक्रियाको उल्लेख गरिएको छ । सुकरातले परलोक र पुनर्जन्मलाई विश्वास गरेका छन् ।
यसरी हेर्दा विभिन्न धर्म, दर्शन तथा विचारले आत्माको अमरत्वलाई स्वीकारेको छ । मृत्यु दर्शनले सभ्य मानिसलाई अनादिकालदेखि घच्घच्याउँदै ल्याएको छ । कृष्णयजुर्वेद र कठोपनिषद्का मूल विषयवस्तु आफ्नै प्रकारले र चिन्तनका आधारमा मृत्युबारे गरिएको मानव इतिहासको पहिलो अभिलिखित ग्रन्थ हो । नचिकेता र यमराजबिच मृत्युबारे लामो छलफल चल्दा विद्या र अविद्या, विज्ञान र ज्ञान, सम्भूति र असम्भूति, अस्तित्व र अनस्तित्व, कल्याण र करुणा तथा इहलोक र परलोक आदिको कुराकानी भएको थियो ।
त्यसैगरी अन्य विद्वान्ले मृत्युका बारेमा आआफ्ना दृष्टिकोण राखेका छन् । किर्केगार्डले अस्तित्व र वरणअन्तर्गत मृत्यु सम्बन्धमा चर्चा गरेका छन् । उनले धर्म र दर्शनको उद्भव नै मृत्युको ‐भय) बाट भएको हो भनेका छन् । किर्केगार्डले आफ्नो दर्शनलाई विषयनिष्ठ (objective) र विषयीनिष्ठ (subjective) चिन्तनबाट विश्लेषण गरेका छन् । त्यसमा पनि उनको चिन्तन मूलतः विषयनिष्ठ अथवा आत्मपरक दृष्टिकोणलाई उनले बढी रुचाएका छन् ।
त्यसैले उनी भन्छन् मृत्युको अर्थ आत्मपरक सत्य हो । त्यसकारण यसलाई आत्मपरक रूपले मात्र राम्रोसँग बुझ्न सकिन्छ । तर धेरै मानिसले मृत्युलाई वस्तुगत रूपले मात्र बुझ्दछन् । उनका विचारमा हाम्रो शारीरिक जीवन केवल मृत्युको सतत: स्थगन (postponement) मात्र हो । औसत व्यक्तिमा मृत्युचेतना (Death awareness) रहेको पाइँदैन तर मृत्यु चिन्तन भने रहेको पाइन्छ ।
किर्केगार्डका विचारमा युवा अवस्थामा हामीमा मृत्युसम्बन्धी कुनै ज्ञान हुँदैन, यद्यपि मृत्यु हामीसँगै साथ रहेको हुन्छ । उनले आफ्नो मृत्युसम्बन्धी विचारमा आत्माको अमर अवधारणालाई स्वीकार गरेका छन् । उनले अमरतामा विश्वास मानवजातिको डरलाग्दो मृत्यु भयको प्रतीक हो भनेका छन् । किर्केगार्डको विश्वास छ कि मृत्युको आत्मपरक सत्यलाई बुझ्नका लागि आन्तरिकता (inwardness) को आवश्यकता हुन्छ ।
हाइडेगरले मृत्युको अनुमति प्रायः सबै अस्तित्ववादी चिन्तकले जीवनको मृत्यु विषयलाई अस्तित्वपरक आधारमा व्याख्या र विश्लेषण गर्ने प्रयत्न गरेका छन् । तिनमा पनि हाइडेगरको मृत्यु चिन्तन बढी गहन, व्यापक र अस्तित्वपरक छ । उनले आफूलाई अस्तित्ववादी चिन्तकका रूपमा चिनाउन चाहेका छैनन् । तर पनि उनको दर्शन अस्तित्ववादी विचारबाट अभिप्रेरित छ । अस्तित्ववादी दर्शनमा मृत्यु चिन्तनका विषयमा चर्चा गर्दा हाइडेगरले मृत्युको अनुभूतिलाई बढी महत्व दिएका छन् । उनकाअनुसार मृत्यु निश्चित भविष्य हो । उनका विचारमा मानव अस्तित्वको भविष्यका सम्बन्धमा यदि कुनै पूर्णता छ भने त्यो केवल मृत्यु नै अनिवार्य सर्त हो । जीवन र मृत्यु क्रम यसरी नै चलेको छ ।
यो प्राकृतिक स्वभाव नै हो; बुढो भएपछि संसार छाड्नैपर्छ, सम्पूर्ण तृष्णालाई त्यागेर जानुपर्छ । मृत्युको यो अनुभूति सृष्टिको प्रारम्भदेखि अनादिकालसम्म रहिरहने छ । सामान्यतया मानिसका विचारमा मृत्यु एउटा निराशाजनक विषय हो र भरसक यसलाई पन्छाउन चाहन्छ । तर कुनै शर्तमा पनि काल पन्छिँदैन, निशर्त यसलाई स्विकार्नु पर्छ अर्को विकल्प छैन र हुँदैन पनि ।
मृत्युलाई विभिन्न शब्दले यसरी भनिन्छ: निधन हुनु, देहावसान हुनु, मर्नु, स्वर्गे हुनु, परलोक जानु, चोला बदल्नु, देह त्याग्नु, मुक्त हुनु, आँखा चिम्लनु, जिब्रो टोक्नु, खुत्रुक्क हुनु, मास छर्न जानु, खस्नु, खुट्टा तान्नु, चोला बदल्नु, सिलटिम्बुर खानु, दिन सकिनु, लम्पसार पर्नु, भोगभाग सकिनु, कालले लैजानु, दैवले लैजानु, प्राण त्याग्नु, हावा खानु, ज्यान जानु, सासफेर्न बिर्सनु, माथि जानु, परमधाम जानु, बैकुण्ठबास हुनु, दिवङ्गत हुनु, ब्रह्मलीन हुनु, चीरनिद्रामा जानु जस्ता शब्द नेपाली जनजीवनमा बोलिने मृत्युसम्बन्धी लोकबोली हुन् ।
नेपाली जनजीवनमा मृत्यु भनेको ठुलो त्रासदीभित्र लुकेको विषय हो । यो कालले जसरी भोकले खरिएको सर्पले मुसालाई भेट्दा एक गाँस पार्छ त्यसैगरी प्राणीजतिलाई पनि कालले समाप्त पार्छ । काल भनेको समय हो । दिन र रातजस्तै त्यसैले जन्म र मृत्यु भनेका सिक्काका दुई पाटा हुन् । यो सामान्य प्रक्रिया नै हो सामयिक मान्दा शरीरबाट विधिगत प्रक्रियामा मृत्यु हुन्छ तर असामान्य प्रक्रिया, आत्महत्या, दुर्घटना तथा भवितव्यबाट मृत्यु हुँदा भने त्यो मोक्षका लागि भड्किरहन्छ, प्रेत बन्छ भन्ने लोकविश्वास पनि छ । यसरी असामयिक वा भवितव्यबाट भवितव्यबाट मृत्युवरण गरेकाहरू प्रेतात्मा बन्दछन् ।
तर प्रेतात्माका बारेमा भन्नुपर्दा असामयिक मृत्यु वा दुर्घटनाबाट मृत्यु हुँदा प्रक्रियामा त्रुटि हुन्छ र आत्माले आफ्नो सही मार्ग समात्न सक्दैन एउटा जीवको शरीरबाट त निस्कन्छ तर त्यसको गतिमा रुकावट हुने हुनाले त्यो प्रेतात्मा वा दुष्टात्मा भएर अदृश्य वायु रूपमा यत्रतत्र घुम्दछ भन्ने मान्यता समाजमा आज पनि विद्यमान छ ।
मानिसमा मृत्यु भयाक्रान्त हुनुमा उसभित्र रहेको चिन्तन शक्ति नै प्रमुख कारक बनेको देखिन्छ यसैले मानिस अरू पशुभन्दा फरक दर्जामा उभिएको छ । मानिसले मृत्युका बारे जे गरे पनि जति नै पन्छाउन खोजे पनि कवि लेखनाथले पौड्यालले भने मैं ‘आयो टप्प टिप्यो …टारेर टर्दैन त्यो’ जस्तै मृत्युले कुनै पनि प्राणीलाई छोडेको छैन र छोड्दैन पनि । अर्को भन्नैपर्ने एउटा अर्को कुरा चाहिँ के हो भने चिन्तन शक्तिकै कारण मानिस मृत्यु भयबाट जति आक्रान्त छ, त्यति नै त्यसको भयबाट मुक्त हुने कुरामा पनि ऊ नै अग्रणी छ ।
जीवनबारेको चिन्तनभन्दा अपेक्षाकृत कम भए पनि संसारका अधिकांश दार्शनिकले चिन्तन गरेकै छन् । मृत्यु शाश्वत सत्य भएकाले दार्शनिकले मात्र नभई हरेक सचेत व्यक्तिले जीवनको कुनै न कनै विशेषणमा मृत्यु चिन्तन गरेकै हुन्छ । चाहे मृत्युको नजिक पर्दा होस्, चाहे जीवन चिन्तन होम वा अरूको मृत्यु देख्दा होस् मानिसले मृत्युचिन्तन गरेकै हुन्छ ।
प्रायः सबै सचेत मानिसबाट मृत्युचिन्तन भए पनि त्यसलाई अभिलेखीकरण गर्ने कार्य भने अत्यन्त न्यून मात्रामा मात्र भएको पाइन्छ । पौरस्त्य दर्शनमा मृत्युचिन्तन गरिएका उपजीव्य ग्रन्थ उपनिषद् हुन् । उपनिषद्हरूमा पनि कठोपनिषद्मा मृत्युचिन्तन सूक्ष्मताका साथ भएको छ । कठोपनिषद्ले मानव शरीरको जन्म, मृत्यु, र पुनर्जन्म सन्दर्भबाट प्रशस्त चिन्तन गरेको छ ।
जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ आत्मालापमा प्रस्तुत गरेको मृत्युबोधको विश्लेषण गरी मृत्युको अनुभूतिको वास्तविकता निरूपण गर्नमा केन्द्रित छ । यसैले यो लेख मृत्युबारे केकस्तो बोध चिन्तन भएको छ भन्ने प्राज्ञिक समस्याको समाधानमा केन्द्रित छ ।
० ० ० ०
अन्तर्मनको यात्रामा मृत्युबोध
अन्तर्मनको यात्रा आत्मालाप निबन्धमा निबन्धकार जगदीश घिमिरे आफूले रोगद्वारा प्रताडित भइसकेपछि आफू मृत्यनिकट पुगेको बोध गर्न पुगेका जसलाई उनले ‘मनको बह सबैलाई कह’ शीर्षकमा यसरी प्रस्तुत गरेका छन् । अमेरिकी भ्रमणका क्रममा अमेरिका पुगेको दिन नै ढाड फ्याक्चर भएर हलचल गर्न नसकेको पीडा र क्यान्सरले गर्दा भएकोले निरस समयको चर्चा यसरी गर्न पुगेका छन् :
जीवनको त्यस महत्वपूर्ण र उल्लासमय अवसरमा सहभागी हुन हामी २०६३ साल वैशाख १ गते अमेरिका पुग्यौं । तर समयले हाम्रो प्रफुल्लता सहेन । अमेरिका पुगेकै दिन मेरो ढाड फ्याक्चर भएको थियो र म हलचल गर्न नसक्ने भएर ढलेको थिएँ । बाँकी जीवन ढलेर बिताउनुपर्ने बाध्यताको मेरो त्यो पहिलो दिन रहेछ , मलाई क्यान्सरको कारणले ढाड फ्याक्चर भएको रहेछ । त्यसपछिका मेरा सबै दिनरात उपचारका क्रममा अस्पताल र घरको झ्यालखान, कोठाको कठघरमा र ओछ्यानको पिँजडामा बितिरहेका छन् । (पृष्ठ १)
यसरी आफूले भोग्नुपरेका पीडासँगै जीवनको उत्तरार्द्धमा क्यान्सरकै कारण अन्य रोगसमेत देखिएको र रोगको प्रतिरोधी क्षमता नभएकाले समेत प्रताडित हुनुपरेको स्वीकारोक्ति यहाँ प्रस्तुत भएको छ । आफूले अब रोगकै कारणबाट मृत्यु निकट रहेको बोध यहाँ गरिएकोले रोग पीडासँगै मृत्युको आकलन गरिएको छ ।
क्यान्सर मल्टिपल माइलोमा तेस्रो अवस्थामा पुगेको पुष्टि भएपछि किमो उपचार थालिए पछि शरीरका साथै मानसिक पीडा भएका अनुभूतिलाई जगदीश घिमिरेले आफ्नो अवस्थालाई यसरी अभिव्यक्त गर्न पुगेका छन्: अनि मैले बुझेँ–किन क्यान्सर र किमाको असह्य पीडा सहनुपर्दा महाकवि लच्छीप्रसाद देवकोटाले मृत्युशैय्यामा अचुक प्राणघातक बिख पोटासियम साइनाइड खान देऊ भनेका थिए । अनि मैले बुझेँ –किन बिपी कोइरालाले आत्मवृत्तान्तमा भनेका हुन्, ‘किमो थेरापीको इलाज शत्रुले पनि गर्नु नपरोस् ।’(पृ.२)
यसरी क्यान्सरका कीरा मार्न गरिने किमो थेरापी गर्दा अति धेरै पीडा हुने भएकाले क्यान्सर रोग आफूलाई कुभलो गर्ने शत्रुले पनि भोग्नु नपरोस् भन्दै विगतमा महाकवि लक्ष्मीप्रसाद देवकोटा बिपी कोइरालाको असह्य पीडाबोधसँग तुलना गर्न पुगेका छन् ।
रोग त्यसमाथि उपचारको असह्य पीडाबोधलाई मृत्युसँगको साक्षात्कार भएको पललाई यसरी अभिव्यक्त गरेका छन्:
आँखा कि अचानक अन्धकारबाट प्रचण्ड अन्धकारबाट प्रचण्ड उज्यालोमा पुग्दा तिरमिराउँछन् कि प्रचण्ड उज्यालोबाट प्रचण्ड अन्धकारमा पुग्दा । म जीवनको प्रचण्ड उज्यालोबाट एकाएक प्रचण्ड अन्धकारमा पुगेको थिएँ । मेरा आँखा जोडले तिरमिराएका थिए । त्यो दिव्य तिरिमिरीले मलाई नयाँ दृष्टि दियो । ‘अन्तर्मनको यात्रा’ मैले मेरो जीवनमृत्युको दोसाँधबाट तिनै तिरमिराएका आँखाले देखेको जीवनदृष्टि हो । आफ्नै ओछ्यानमा पल्टेर गोडामुनिको टिभीको पर्दामा हातैले छुँला जस्तो नजिकै मैले देखेको जीवन र मृत्युको साक्षात्कार हो ; साउती हो (पृ.२)।
यसरी प्रतिष्ठित विशेषज्ञले मल्टिपल माइलोमाको उपचार गर्दै गर्दा र बिरामीको औसत आयु तीन चार वर्षको चर्चा गर्दा घिमिरेले स्वप्नासरह झसङ्ग भएर तिरमिराएको अनुभूत गरेका छन् । जसरी भयङ्कर अँधेरोबाट अनायासै प्रचुर उज्यालोमा पुग्दा वा पूरै उज्यालोबाट एकाएक अँधेरोमा पुग्दा जुन अनुभूत हुन्छ त्यही बोध गर्न पुगेको र मृत्यपीडालाई बोध गर्दै मृत्युपछि पनि जीवित रहन अन्तर्मनको यात्रा लेखिन पुगेको हो भन्ने आत्मस्विकार गर्न पुगेका छन् ।
जीवनपछिको मृत्युको बोध अनुभूतिको दस्तावेजीकरण गर्न पुगेको कुरा अभिव्यक्त गरेका छन् । सबैभन्दा नजिकबाट मृत्युलाई छुँला जस्तो गरेको तथा मृत्युले कानैमा आएर साउती गरेको पललाई व्यक्त गरेका छन् । मृत्युलाई भोगेर भन्न सकिन्न, लेख्न सकिन्न तरपनि मृत्युको नजिकै पुगेको भयपूर्ण अवस्थाको चित्रण उर्फ मृत्युको अनुभूतिका तहहरू भिन्न हुन्छन् भन्ने भावलाई यहाँ समेटिएको छ :
जन्मसँगै मृत्यु साथ लागेर आएकै हुन्छ । जन्म र मृत्युको प्रक्रियामा जीवनको सबभन्दा महत्त्वपूर्ण आफ्नो कुरा के हुन्छ ? जन्म र मृत्यु । तर यी दुवै स्तम्भभन्दा महत्त्वपूर्ण हुन्छ यी दुईलाई गाँसेर जीवनको म्याद जनाउने त्यो सानु धर्को, जसले जीवनलाई आकार दिन्छ । अन्तमा सबैको समस्त जीवन समेटिएर त्यही धर्कोमा टुङ्गिन्छ; महामानव, महादानव, अल्पायु, दीर्घायु, असल, खराब, धनी गरिब सबैको ( पृ.७) ।
यसरी जीवनसँग जोडेर आएको मृत्युको परिवेश र प्रक्रियालाई जो कसैले पनि सहजै वरण गर्नुको विकल्प छैन भन्ने भाव यहाँ व्यक्त गरिएको छ ।
जीवनलाई गम्भीरतापूर्वक लिएका कारणले मनभित्र अनेक प्रकारका विचारहरू उब्जन्छन् जसले गर्दा भोलि के होला भन्ने द्विविधाजन्य अवस्थालाई यसरी अभिव्यक्त भएको छ ः जीवनलाई गम्भीरतापूर्वक नलेऊ, तिमी यसबाट जिउँदै निकास पाउँदैनौ ! म बारम्बार सोच्छु, उसले भने झैं यो मरिजाने जुनीलाई कति गम्भीरतापूर्वक लिनु वा नलिनु उचित हो ? त्यसपछि हाम्रो जीवन अकल्पनीय मोडबाट गुज्रिँदै छ (पृ.२००) ।
आफू मृत्युकै सामुन्ने उभिएको पलमा मानिसले आफ्नो मृत्युपछि परिवारको अवस्था के होला ? भन्ने चिन्ता गर्छ तर आफूभित्र त्यस्तो कुनै अवस्था नभएको भन्दै जगदीश घिमिरेले यसरी आफ्नो मृत्युपछिको पललाई यसरी आकलन गरेका छन्:
मलाई खासै चिन्ता लागेन; अलि छिटै जानु लेखेको रहेछ भनिठानें । जाने नै भएपछि यो तनमनले सकेसम्म कम पीडा भोगेर जान पाए हुन्थ्यो भन्ने लाग्यो । लाग्यो–आफन्तले जगत्को मेलो यस्तै हो भन्लान् । छोराछोरी हुर्किसकेका छन्, चित्त बुझाउलान्; उनीहरू आफ्नै संसारमा रमाउलान् । जगत्को रीत यही हो । तर यही उमेरमा मबिनाकी दुर्गाको के गति होला, त्यो मैले सोच्न पनि चाहिनँ (पृ.२०४) ।
लामो उमेरसँगै निरोगी भएर आफ्नो आयु भुक्तानपछिको मृत्यु चाहना भएपनि रोगकै कारणले अब मर्दै छु भने ज्ञातसँगै घिमिरेमा मृत्युपछिको सामाजिक तथा पारिवारिक अवस्था र आफ्नी जीवन सँगिनीको हविगत के होला ? भन्ने प्रश्नमा अल्झिएको प्रसङ्ग र जे त होला भन्ने बुझाइलाई यहाँ प्रस्तुत गरिएको छ । बुबाको अप्रत्याशित मृत्युलाई आत्मसात् गर्न निकै समय लागे झैं आफ्नो मृत्युपछि पनि बिस्तारै सहज हुँदै जान्छ भन्ने तर्कसँगै मृत्युलाई सामान्यीकरण गर्न खोजिएको देखिन्छ ।
मृत्युको निकट पुग्दा सबैभन्दा बढी तिर्सना भनेको बाँच्नु हुन्छ । मान्छेको सबैभन्दा ठुलो भय पनि त मृत्यु नै हो । जतिसुकै दुख या पीडा खेप्नु परेपनि मर्न चाहिँ नपरोस् भन्ने जिजीविषा बोकेर मानिस जसरी पनि बाँच्न नै चाहन्छ । मर्न डराएर बाँचेका मानिसहरू समस्यामा मर्न पाए हुन्थ्यो भनेर भन्ने बाह्य उच्चारण मात्र हो त्यो भित्रैदेखिको सत्यको उद्घाटन हैन भन्ने तर्कलाई अन्तर्मनको यात्रामा घिमिरेले यसरी अभिव्यक्त गरेका छन् ।
संवेदनशील मान्छेले बाँच्ने क्रममा यी दुई कुराको जबाफ सोचेको हुन्छ –किन र कसरी बाँच्नु उचित हो ? मान्छेले किन बाँच्ने भन्ने उपाय निस्कँदो रहेछ, अनि ‘जसरी’ पनि बाँच्दो रहेछ । त्यसबेला म पनि ‘जसरी’ बाँचिरहेको थिएँ । यिनै असुविधाबीच तनमनको पीडाले छटपटी, छटपटी, छटपटी, छटपटी, छटपटी बाहेक केही थिएन । पाँच दिनको पहलो चक्र किमो उपचारमा मैले त्यस्तो कहर काटें । यिनै पीडाबीच मैले पछि यस अन्तर्मनको यात्राको खाका बनाउन लागेँ । तर अघि जस्तो कलम समाएर लेख्न सक्तिनँ भनेर मन मारेँ । यो रोगले दिएको दुख म लेखेर बुझाउन सक्तिनँ । एक दिन मर्नु नै छ भने आफू यति सारो पीडित भएर र अरूलाई यति सारो पीडा दिएर बाँच्नुभन्दा मरिजानु ननिको होइन । अन्ततः मृत्यु दुखद होइन । रोएर बाँच्नुभन्दा रुवाएर जानु नै निको हो । तर मान्छे पीडा र यातनासहित पनि बाँच्न चाहन्छ । कति प्रिय छ जीवन ! म जसरी पनि बाँचेकामा मेरो परिवार खुशी छ । म खुशी छु । मेरा स्वजनहरू खुशी छन् । धन्य तिर्सना ! (पृ.२०७) ।
यसरी मानवीय संवेदनासँग जोडेर मान्छेको बाँच्नुको उद्देश्यलाई प्रस्तुत गर्दै बेचैन र छटपटिकाबीच बाँच्नुपरेको दुखभित्रको खुशी व्यक्त भएको पाइन्छ ।
मानिस जन्मेपछि मर्नै पर्छ भन्ने उद्गार यसरी अभिव्यक्त भएको छः
कसैको जीवनको टुङ्गो छैन, तर मेरो जीवनको टुङ्गो छ । औसत दुई–चार वर्ष हो; आगे उपरवालाको मर्जी । भविष्यचिन्ता व्यर्थ हो, आफ्नो नियन्त्रणमा छैन, सोच्नै नपाई आइसक्छ, जस्तो मेरो रोग आयो । अनि चिताले केही थेगिने पनि होइन । चिन्ता जानेलाई होइन, नजानेलाई हुन्छ । मेरो जाने टिकट र भ्रमण ादेश आइसकेपछि अब केको चिन्ता ? सबैको जन्मँदै दुईतर्फी टिकट बनेको हुन्छ । फर्कने मिति मात्रै गोप्य हुने हो (पृ.२१४)
यसरी अरूको मृत्युको टुङ्गो नभएको तर आफ्नो मृत्युको निश्चित ज्ञात भएको भन्ने वैचारिक अभिव्यक्ति प्रस्तुत गरिएको छ । आफन्तको मृत्युले आफूभित्रको मृत्युलाई झकझकाएको प्रसङ्गलाई अन्तिम बिदाइ उपशीर्षकभित्र सबैलाई यसरी सम्झन पुगेका छन्:
म गम्भीर बिरामी भएर घर फर्केको छ महिनाभित्रै म आमा, भिनाजुहरू, आफन्तहरू र घनिष्ठ मित्रको जीवनलीला समापनको साक्षी भएँ । एकदुई वर्षदेखि भन्न थाल्नुभएको थियो, मेरो आयु नै मलाई रोग भो । कति लामो आयु पाकी रैछु । नब्बे वर्ष नाघेपछि सुब्बा ठूलाबा पनि त्यसै भन्न लाग्नु भएको थियो । आमा दसैंदेखि नै थला पर्नुभएको थियो । २०६३ साल कात्तिक ११ गते हरिबोधनी एकादशीको दिन बिहानै जानुभो । सधैं बिहान उठ्नेबित्तिकै एक गिलास मन तातो पानी पिउनु हुन्थ्यो । जाने दिन पानी निल्न सक्नुभएन । उहाँको बिहानको दोस्रो भोजन दूध हुन्थ्यो । दूध पनि निल्नुभएन । बुहारीहरूले दुर्गालाई गुहारे । दुर्गाले ख्वाउन सकिनन् । आमा दूध निल्नुस् न ! भन्दा हिक्क गर्नुभो तर दूध निल्नुभएन । नीरजले भने बाहिर सार्नुपर्ला जस्तो छ । मैले सोचे–सबैले एक दिन बाहिर सर्नु पर्छ ! उनीहरू आमालाई डस्ना र तन्नामा बोकेर बाहिर सार्न लागे । किमोले धरखराएका गोडाले गोडाले हिँड्दै म पनि पछि लागेँ (पृ.२३६) ।
यसरी आफ्ना आफन्तको मृत्युको निकटताबाट आएका विभिन्न समयलाई सम्झँदै आमा, भिनाजु, ठुलाबाको मृत्युलाई अन्तिम बिदाइसँगै तुलना गर्दै आफ्नो पनि मृत्युको निकटपनको अनुभूति गरिएको छ ।
जीवनको अन्तिम अवस्थामा आफूले गरेको, भोगेका यावत् कुरालाई सम्झँदै पूर्ववर्ती लेखक तथा साहित्यकारले लेखेका कुरालाई आत्मसात् गर्दै अगाडि बढेको कुरालाई यसरी व्यक्त गरिएको छ :
यो दुःख भोग्ने परमेश्वरै हो
यो देह उसको रहने घरै हो ।।
मरणासन्न भएका बेला यसो भन्ने कविशिरोमणि लेखनाथ पौड्यालको जस्तो ज्ञान, विवेक र सामर्थ्य ममा छैन । म जस्ता अज्ञानी मनुवाको तनलाई सुख नभै मनलाई सुख नभै तनलाई सुख हुँदैन । म तनमन हुँ । मान्छे तनमन हो । तनमन दुवैलाई सुख नभै मान्छे मान्छेलाई सुख हुँदैन । काम गर्नाको दुख भए पनि, मुक्तिकामनाले भए पनि जोगीले खोजेको र भोगीले खोजेका कुरा उही सुख हो–आज, अहिलेको क्षणका लागि खोजे पनि, अर्को जुनीका लागि खोजे पनि । त्यही खोजमा मान्छेले गर्ने सङ्घर्षहरूको समग्रता नै जीवन हो । मान्छेलाई सुख दिने पहिलो वृत्त हो–लोकले सामान्यतया भनेको कुकर्म नगरीकन पारिवारिक आधारभूत आवश्यकताहरूको परिपूर्ति हुने चाँजो (पृ.२३९)
यसरी जीवनलाई हेर्ने बुझ्ने तौरतरिका र बाँच्नुको उद्देश्य सुख प्राप्ति नै हो भन्ने धारणा यहाँ व्यक्त गरिएको छ ।
जीवनमा सुखको कुनै पनि मापन हुँदैन । सानै कुराले पनि ठुलो सुख दिन्छ भन्ने विचारसँगै घिमिरेले शरीरको अन्त्य निश्चित भएपछि मोक्ष वा निर्वाणका लागि तयार रहेको भाव व्यक्त गरेका छन् :
यिनै र यस्तै मसिना कुरामा पाइने भौतिक सुख मेरो मन र शरीरको लौकिक निर्वाणका आलि अनिवार्य छ । मेरो खरानीलाई कुनै पनि अनुष्ठान र निर्वाण चाहिँदैन । आत्मा हुन्छ भने त्यो निर्वाणरत हुन्छ । गीताले भनेको अजन्मा, अमृत, अमर, नित्य, सनातन, सर्वव्यापी, अचल, स्थिर, अव्यक्त, अचिन्त्य, अविकारी आत्मा छ भने त्यसको अर्को गति हुन सक्दैन (पृ.२४१)
यसरी जीवनको अन्त्यपछि शरीरको भन्दा पनि आत्माको अमरता निर्वाण वा मोक्षमा स्वतः हुने भएकाले आफ्नो आत्माको गति स्वतः प्राप्त हुन्छ भन्नेमा घिमिरे विश्वस्त देखिन्छन् ।
मृत्युको मिति तोकिएको एउटा मान्छे जसरी त्यसरी मृत्युको दिनको गन्तीमा जे गरी भए पनि बाँचिरहन्छ । अब मर्छ भन्ने थाहा पाएपछि आफन्त स्वजन भेट्न, हेर्न आउँछन्, रोगको सङ्क्रमणका कारण नजिक आउन हुँदैन भन्दै सबै भएर पनि एक्लो हुनुको अर्थबोध गर्दै आत्मालापकार घिमिरे यसरी आफ्नो भाव व्यक्त गर्दछन्:
कोही स्वजन नभएर एक्ला हुन्छन् । कोही स्वजनहरूको बोझले दबेर, पिल्सिएर एक्ला हुन्छन्; जस्तो –जीवन र मृत्युको दोसाँधमा बसेर असाध्य रोगसँग सङ्घर्षरत म को कहिले एक्लिन्छ, बेग्लिन्छ र मेरै हाराहारीमा पुग्छ त्यो समयलाई मात्रै थाहा हुन्छ । धेरै मान्छे तिरस्कृत हुन्छन् स्वजनहरूबाट र आफ्नै सन्तानहरूबाट पनि । मान्छे तिरस्कृत हुन्छन् स्वजनहरूबाट र आफ्नै सन्तानहरूबाट पनि । मान्छे तिरस्कृत नहुन्जेल तिरस्कृत हुनु कस्तो हुन्छ, बुझ्न चाहँदैनन् । मृत्युको न्यानो छायाबाट मैले सिकेको यो यौटा यथार्थ हो (पृ.२४२)
रोगको उपचारको क्रममै कति बाँचिने हो भनेर अन्योलग्रस्त जीवनको जान्ने क्रममा घिमिरेले जीवनको आयुको चर्चा यसरी गरेका छन्:
अब कति वर्ष बाँच्न सकिन्छ थाहा छैन भन्न सकिन्न, जति पनि हुन सक्छ; तीन, पाँच, दश वर्ष……उनले भने । धेरै वेब साइटहरूले तोकको औसत म्याद पाँच वर्ष हो । मान्छे जन्मिने बित्तिकै आयुको काउन्ट डाउन शुरु हुन्छ । कायाकल्प भएपछि फेरि एकपल्ट मेरा बाँकी र छिनहरूको यो उल्टो गन्ती शुरु भएको छ । सोचें– समयले मलाई यसरी फोसामा दिएको यो थप आयुका दिनहरू र छिनहरूको कसरी सदुपयोग गरूँ ? अन्तर्मनको भन्यो– अब तेरो कुनै पनि बाध्यता छैन । तँ बाध्यता छैन । तँ बाध्यतामुक्त छस् । यो फोसामा पाएको आयुमा त्यही मात्र गर् जे गर्दा शान्ति पाउँछस् (पृ.३०६) ।
यो सृष्टि चराचर जगत्को अवस्था चमत्कारपूर्ण अवस्थाको चित्रण गदै समयलाई नै काल या मृत्युको रूपको चर्चा गर्दै भौतिकवादी दृष्टिकोण यसरी व्यक्त गरेका छन् ः
सम्पूर्ण सृष्टि चमत्कारपूर्ण छ । ठुलोभन्दा ठुलो सौरमण्डल मात्र होइन, सानुभन्दा सानु पात,पतिङ्गर, कीरो, बालुवाको कण, अणु, परमाणु, पनि उत्तिकै चमत्कारपूर्ण र रहस्यमय छ । सबै दृश्य–अदृश्य, ज्ञेय–अज्ञेय समयकै चमत्कार हुन् । समयले जन्माउँछ । त्यो समय साइत हुन्छ । समयले जियाउँछ । त्यो समय जीवन हुन्छ । समयले मार्छ । त्यो समय काल हुन्छ । जन्म, बालापन, यौवन, प्रौढावस्था, मृत्यु सबै उही समयका फरक नाम अर्थात् पर्याय हुन् । सबै समय उही हो, एकै हो (पृ.३०७) ।
यसरी जीवनको अर्थ समयबोधले निर्धारण गर्दछ । समयले मानिसलाई आफ्नो चक्रमा घुमाउँछ भन्ने कुराको निर्धारण गर्दछ भन्ने विचारलाई अभिव्यक्त भएको छ: जीवनको यात्रा सबैले गर्छन् । तर कसैले बुझ्दैनन् । बुझ्ने भए त्यति विधि गल्ती गर्ने थिएनन् । जीवनको यात्रा सबैले गर्छन् । तर कसैले पनि बाटो चिन्दैनन् । चिन्ने भए यतिविधि बाटा बिराउने थिएनन् । बाँचुञ्जेल जीवनलाई माया गर्नेले बेला भएपछि मृत्युलाई पनि माया गर्नुपर्छ । जीवन भएकाले मृत्यु भएको हो । जीवन नभएको भए मृत्यु पनि हुने थिएन (पृ.३११) ।।
यसरी जीवनलाई मृत्युसँगै राखेर अघि बढेको प्रसङ्गसहित जीवनलाई हेर्ने दृष्टिकोण भिन्न भएको कुरालाई व्यक्त गरिएको छ । मृत्युको सामीप्यमा पुगेपछि आफ्नो अन्तिम इच्छालाई व्यक्त शारीरिक पीडामा नपारिदिन समेत आग्रह गरेका छन्:
परिवार, स्वजन, चिकित्सकहरूसँग मेरो बिन्ती छ–अन्तिम अवस्थामा मेरो नाक, घाँटी, नाइटोबाट पाइप छिराएर मेरो आयु जबरजस्ती नलम्ब्याई दिनु । भेन्टिलेटरमा राखेर वा डायालिसिस गरेर पनि नबचाउनु । मलाई गुन्द्रुक, सिन्कीजस्तो भएर पनि बाँच्न बाध्य नबनाउनु । मेरो बेहोस अवस्थालाई आफ्नो मनखुशी नगर्नु । मेरो तन र मनको सुखको पनि विचार गरिदिनु । पिँजडैपिँजडामा बसेर मैले आफूले गरेका र नगरेका समेत सबै पापहरूको दण्ड र यातना भोगिसकेको छु । त्यस बेला मलाई थप यातना नदिनु । मलाई एक पटक मात्र मर्न देऊ; खुशीसँग मर्नेछु; पटकपटक नमार । ‘उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ’। ऋग्वेदको यो महामृत्युञ्जय मन्त्र भन्छ– पाकेको काँक्रो भेट्नुमुक्त भएजस्तै मृत्युबाट मुक्ति देऊ; अमृतबाट होइन । चारहजार वर्षअघि नै पूर्वका चिन्तकहरूले भनेका थिए–मुक्ति मृत्युबाट चाहिन्छ । जीवनले मृत्यु दिन्छ, मृत्युले मुक्ति (पृ.३१३) ।
यसरी मृत्युको अपरिहार्यतालाई मनन गरेर निबन्धकार जगदीश घिमिरेले मृत्युको निकट अवस्थामा बचाउनका लागि गरिने प्रयत्न नगर्न आग्रह गरेका छन् । पाकेको काक्रोमा पानी हालेजस्तै मृत्युकै समीप पुगेको मानिसलाई भरथेग गरी टेको लगाउन नपर्ने भन्दै केही नगर्नु भन्ने इच्छा व्यक्त गरेका छन् । यसरी मृत्युको अवश्यम्भावी कुरालाई सहजीकरण गर्दै जन्मने र मर्ने प्रक्रियासँग आत्मसात् गरी जीवनले मुक्ति दिन्छ मृत्युबाट मुक्ति हुन्छ भन्ने भाव अभिव्यक्त गर्दै मृत्युबोध गर्न सफल देखिन्छन् ।
० ० ० ०
निष्कर्ष
जगदीश घिमिरेले आफ्नो जीवनको दुखपूर्ण दिन र मृत्युको दिनगन्ती सुरु भइसकेपछि जीवनमा भोगेको अनगिन्ती आरोह–अवरोहलाई सम्झँदै भोग्दै पीडापूर्वक बिताएका पललाई ‘अन्तर्मनको यात्रा’मा समेटेका छन् । जीवनको अन्तिम अवस्थामा (माइलोमा) रक्तक्यान्सरको किमो उपचार गर्दा भोग्नुपरेको अत्यन्त कष्टप्रद पललाई अभिव्यक्त गरिएको छ । मृत्युलाई नजिकबाट बोध गरेर मृत्युका कुरामा दार्शनिक पक्षलाई समावेश गरी अन्तिम सत्यलाई आत्मसात् गर्दै सुखद्पूर्ण मृत्यु अँगाल्न आग्रहसमेत गरेका छन् ।
० ० ० ०
सन्दर्भ सामग्री सूची
आचार्य श्रीराम शर्मा (२०६१) १०८ उपनिषद्, सातौं संस्क., हरिद्वारः ब्रह्मावर्चस् ।
घिमिरे, जगदीश (२०६९) अन्तर्मनको यात्रा दोस्रो संस्क, रामेछापः जगदीश घिमिरे प्रतिष्ठान ।
रिसाल, शिवगोपाल (२०६८) मृत्युविज्ञान, काठमाडौं : रवि पराजुली र अन्य ।
गरुडपुराण
श्रीमद्भगवद्गीता
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।