मेरो हातमा श्रीबाबु दर्शन छ । अर्थात् सन्दिग्ध शताब्दी भनेर श्रीबाबु मुस्कुराइरहेका छन् ।
उनी लेख्छन्, “जीवनको धुन रहेसम्म बाँसुरीमा फुकिरहने हो एउटा नयाँ लय । मृत्युले नछकाएसम्म यो त्यान्द्रो घामसँग खेलिरहने हो कपर्दी र यो शान्त जूनसँग गाइरहने हो प्रेमको गीत ।”कल्पना गर्नुहोस् त – मृत्युभय नहुँदो हो त कस्तो हुँदो हो यो सृष्टिको सौन्दर्य ..?
यी निबन्ध पढ्दा मलाइ पनि सोच्न मन लाग्यो, कसले गर्दो हो ईश्वरको कल्पना ? कसले बनाउँदा हुन यति विधि मठ -मन्दिर ? कसले बनाउँदा हुन गुम्बा मस्जिद चर्च र गिर्जाघर ?
चिन्तनको अत्यन्त गम्भीर विषय, जीवन अन्ततः धुवाँको धागोसिवाय अरू केही होइन रहेछ ! यदि पलपलमा मृत्युको शाश्वत सत्य नहुने थियो त हामी अन्य प्राणीभन्दा पृथक् कहाँ हुने थियो र ? यदि मृत्युले सजग नगराएको भए विश्वका कैयौँ महामानवहरूलाई हामीले पढ्न पाउँथ्यौं र बुझ्न पाउँथ्यौ होला ? मृत्युले मानिसलाई चलायमान र गतिशील बनाएको छ ! अझ भनौँ मृत्यु मानिसलाई सधैँ झकझकाइरहने अदृश्य शक्ति हो !
प्रश्नैप्रश्न तेर्साउँदै जीवनको अस्तित्वसँगै गाँसिएको मृत्यु र यसको विशिष्ट आलोकबाटै मलाइ श्रीबाबुको पुस्तकबारे कुरा गर्न मन लाग्यो ।
हुन त हामी विज्ञानको युगमा छौ ! वैज्ञानिकहरू पृथ्वीलाई आफ्नो बसमा ल्याउन प्रयत्नरत छन् ! यद्यपि स्वयं वैज्ञानिक पनि मृत्यु मृत्युलाई चुपचाप स्विकारिरहेका छन् !
यही जीवन र मृत्युबिचको महत्त्वपूर्ण पल नै जीवन हो ! मृत्यु सधैँ अतिथि बनेर बसिरहन्छ हाम्रोअघि ! कहिले अमोध अस्त्र बनेर सोझिरहन्छ ! जब जीवनले मृत्युको लडाइँमा पराजय भोग्नुपर्छ अनि जाज्वल्यमान आलोकबाट हामी छुट्टिनुपर्छ ! जिजीविषाको अगिणित लिप्साबाट शितागं हुँदै मृत्युवरणको यात्रामा सामेल हुन बाध्य हुनुपर्छ !
कविका रूपमा मात्रै परिचित श्री बाबु कार्कीको निबन्धमा आफूलाई समेट्न खोजिरहेको छु ! विषय र शीर्षक दुवै गजब महसुस भयो, नेपाली निबन्धका लागि ! जस्ताको त्यस्तै नमिलेकोमा मिलेजस्तो गरेर, सायद यही हो, निबन्धकार श्रीबाबुको आफ्नोपन !
शताब्दीलाई उनी सन्दिग्ध देख्छन् र भावनारूपी निकै गहिरो दर्शनका साथ बगेका छन् उनी ! नस्विकार्नु पनि कसरी र यति लामा वर्षहरूले कुनै सुनिश्चित दिन नसके पछिको परिणाम आशालाग्दो रहला र ?
फुटकर कथा र शालीनतामा पनि छवि बनाएका स्रष्टा अब निबन्धमा यिनको पाइला दरो नै देखिन्छ !
जीवनको मौन महाप्रस्थान ! निर्बाध स्विकार्नुको विकल्प नभएको स्विकार्दै प्रकृतिको यो विधानलाई कसैले भत्काउनै सक्दैन !
जीवनको अस्तित्व ! जीवनको सौन्दर्य ! गाइरहने हे जीवनको गीत !!
यसरी हृदय स्पर्श गर्दै “जीवन एक जुलुङ्गो “ भन्दै स्वाभिमानको शिर उँचो बनाउन खोज्छन् श्रीबाबु ! अनुशासित बन्दै सैनिक जस्तो फुर्तिलो बन्दै अगाडि बढ्नु पर्छ भन्छन् उनी ! कुमालेले काँचो माटोलाई आकार भरे जस्तै निकै हराभरा र ऊर्जाशील बनाउनु पर्छ भन्ने प्रेरणा दिन्छन् उनी ।
रङ्गलाई आकार दिन सक्नु जीवनको सौन्दर्य हो ! जबजब निराकार रङ्गहरू सुन्दर आकारमा परिणत हुन सक्दैनन् ! तब जीवन पनि मात्र कृत्रिम आकारको जुलुगों मात्रै बनिदिन्छ ! चेतनाविहीन, चैतन्यहीन, जसलाई हावाले हल्लाइदिनुपर्ने, मान्छेले बनाइदिनुपर्ने निष्प्राण र निष्काम !
मानिस हरेक समय चेतनाको बिउ छरिरहन्छ ! सिर्जनाको बेर्ना उमारिरहन्छ ! ममताले घडा भरिरहन्छ ! सद्भावको बाली भित्राइरहन्छ ! तब न मानव भिन्न छ ! लक्ष्य र दृष्टिले अतुलनीय रङ्गिन छ ! जीवन त कर्मसँग न साटने हो ! कर्मभन्दा ठुलो सफलता कहाँ छ र ?
असारसँग बयल्दी खेल्दै गर्दा उमङ्गमा मन गाँजिएर झपझपी भयो ! लहलह हृदयको ब्याड बनेर अल्लारे बन्दै बयली खेल्यो बतास !
असारै मासको दबदबे हिलो छुन भने घिन लाग्यो
पातली तिम्लाई फरिया किन्दा छ बिसै रिन लाग्यो
मुठी छरेर मानो उब्जाउने असार परेलीमा रुझ्यो, सलह झैं उड्यो, रोपारहरूका उडेर पुगिदियो मन !बिउका मुठाहरूमा मुटु पोको पारेर रोपारलाई रुझाउनुको आनन्द पनि लुटियो गोरुले हिल्याएको हिलोमा चुर्लुम्म डुब्दै र डुबाउँदै लगाउनुको मजा कसरी बिर्सनु !पसिना रोपेर समृद्धि फैलाउने हामी किसान !लेखक सम्झिन्छन् !
खेतका गरागरामा समृद्धि उमार्न मन छ ! उर्वर फाँटहरूमा सुनौला सौन्दर्य झुलाउन रहर छ ! झरीमा निथ्रुक्क भिज्दै दबदबे हिलोमा रोप्न मन छ हिउँदे सपनाहरू ! फेरि मन असारे बनिदिएको छ !माटोको सौन्दर्यमा मोहित हुँदै पुलकित बनिदिन्छु ! चैतन्यभरि असार उर्लिएको छ यति बेला ! कविताका सुन्दर पङ्क्ति जस्तै !
रोपन रोप रोपारै रानी म पज्याईदिउँला बिउ
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घिउ !!
पुस्तकमा अनेक निबन्ध छन् । ती मध्ये ल्याम्पोष्ट निबन्धमा जीवनको प्रारम्भ रुवाइबाट भए झैँ निबन्धकारले जन्मँदै गरेको शिशु र मृत्युसँग लडिरहेको मानिसलाई स्मरण गरेका छन् ! ल्याम्पपोष्टको उज्यालोमा देखिने पशुपति परिसर, बगिरहेको बागमती र त्यसमा परेको उज्यालो, अखण्ड घन्किएको घण्टीको आवाज, मधुर भजनको लय, चितामाथिको जलिरहेको लाश र उडेको धुवा बेजोड चित्रण गरिएको छ ! जीवनसँगको गजब साक्षात्कार !
– ल्याम्पपोष्ट दुखको एउटा सहारा
– ल्याम्पपोष्ट अभावको एउटा सहारा
– ल्याम्पपोष्ट रातको एउटा सहारा
– ल्याम्पपोष्ट उज्यालोको एउटा सहारा
एकताको क्यानभास जस्तो पशुपति पशुपति ! आस्था मियो जस्तो पशुपति !
आकाशको कुनै एउटा खुर्पेटो जूनको प्रकाश बिलाउँदै गएको छ ! नदीको पानीमा लाखौँ ताराहरूको प्रतिबिम्ब धूमिलधूमिल देखिँदै छ ! मन्दिर परिसरले हरेक मानिसको आस्थालाई बचाई बाँधिरहेको छ ! यही जीवन सफल बनाउनु पर्छ ! असल बनाउनु पर्छ !
श्रीबाबुको पुस्तकभित्रको प्रेम निबन्धले पनि मलाई निकै सम्मोहित बनायो ! जीवनप्रति लेखकको सकारात्मक दृष्टिकोणले !
– प्रेम गहिरो छ – नाप्न नसकिने
– प्रेम अजर /अमर छ – मार्न नसकिने
– प्रेम अनुपम छ – दाँज्न नसकिने
-प्रेम अपार छ -कल्पनै गर्न नसकिने
-प्रेम अमूल्य /अतुल्य छ -मूल्य गर्न नसकिने
न दार्शनिक परिभाषाबाट बुझिन्छ प्रेम, न त अग्रजबाट, न श्रोताबाट अनन्त आयाम बोकिदिन्छ प्रेम ! यो सृष्टिको अद्वितीय झंकार हो ! जसको रूप र सार नै छैन ! ब्रह्माण्डको अमूर्त सौन्दर्य हो प्रेम ! विपरीत लिङ्गीप्रतिको प्रेम मात्र भन्नु सर्वथा गलत पनि हो !
महाकवि देवकोटाले इन्द्रियलाई भन्दा प्रकृतिलाई बढी प्रेम गरे !कोटी स्वरूप छन् प्रेमका !
प्रेममा अस्तित्वको सार छ !
प्रेममा जीवनको सौन्दर्य छ !!
गाउँलाई लेखकले प्रिय भनी सम्बोधन गर्नुको कारण उनी गाउँ मन पराउँछन् ! त्यहाँ उनी हार्दिकता भेट्छन् । मिठो स्नेहमा रुमल्लिन्छन् ! आतिथ्यताले गजक्क गम्किन पनि पाउँछन् ! जिउँदो भगवान् जननी त्यही बसेकी छन् नयन बिछ्याएर ! बुढो पिपल पनि उनलाई नै प्रतीक्षा गरेझैँ लाग्छ । अविचल पहाड, सुसाउने नदी, देउराली, सुवासित फूलहरू थकाई मार्ने चौतारी सबै छन् ! के छैन र गाउँमा ? आफै प्रश्न पनि गर्छन् ! मानिसका पदचापसँगै आँगनीका डिलमा मुस्कुराएर स्वागत गर्ने नौरङ्गी फूल उनलाई अति मन पर्छ
तर उजाडिँदै गएको गाउँप्रति उनको अथाह पीडा पनि सँगसँगै पोख्छन् ! घर एक्लो ठडिएको छ ! आँगनीमा केराका पात नाचेका छैनन् ! पधेरामा सुस्केरा छोडाउने भाउजू , छोरी र बुहारी छैनन् ! म किन हराए आफैसित प्रश्न गरिनै रहन्छन् !
उनको इमानदारितालाई पछ्याउँदै गर्दा हामी सबैलाई जस्तै उनलाई पनि एउटा दरो भूत सवार भएको देखिन्छ ! नाक जोगाउने भूत !
यो नाक भन्ने चीज पनि मानव जीवनको जाज्वल्यमान गहकिलो सौन्दर्य पनि हो ! इतिहास हो र सृष्टिको अपठनीय कृति पनि ! सबैले गतिलो काम केही गर्यो कि गौरव बोध गर्ने अङ्ग ! कारण मात्र एउटै छ नाक हाम्रो संस्कार , सभ्यता, संस्कृतिसँग जोडिएको गहकिलो बिम्ब पनि हो ! तरबार धार भनेझैँ यसलाई अग्लाउन लागेको संघर्षलाई निकै उदाहरण दिँदै पस्किएका छन् ! नाकको जतिको प्रख्यात बिम्ब अरू केको पो जन्मिएला र ? गनी साध्य भनी साध्य नै कहाँ छ र ?
मानिसको नाक !
# टोलको नाक !
# समाजको नाक !
# कुलको नाक !
जाबो कुरकुरे हड्डीले बनेको नाकलाई कत्रो जिम्मेवारी ! हजुरबुवाहरूले त्यसै उखान कहाँ बनाएका हुन् र ? हामीले स्वाभिमान भएर उच्च भएर देशको नाक जोगायौ ! हाम्रो शिर विश्वमै उच्च छ नि !
“नियतिको आकस्मिकताले “दुखलाई उजागर गरेको छ ! बोझिलो मनको संलापलाई पस्किएका छन् ! बुवालाई मस्तिष्कघात भएर महिनादिन अस्पतालमा बस्दाको मौन चित्रण हो यो !
नियतिको बज्र कसले कतिखेर सहनुपर्छ कसलाई के थाहा ?
जीवनमा दुःख छ ।
दुःख नभएको ठाउँ कहाँ छ ?
पीडा कहाँ छैन ?
जीवनरूपी आरोह-अवरोहलाई यात्रा भन्दा सुन्दर नाम अर्को के होला ..? यसैले यात्रा ः जीवनको सौन्दर्य नाम दिन रुचाउँछन् लेखक !
“जीवन त यात्रैयात्राको सौरभसिवाय अरू केही होइन रहेछ “! गहिरिएर मनन गर्ने हो भने जन्मदेखि मृत्युसम्मको यात्रा नै जीवन हो ! पैताला जीवनको मुख्य सुरुवात हो यो जीवनसँगै छुट्टिनै सक्दैन ! यदि पैतालाको प्रयोग भएन भने जीवन अँध्यारो सुरुगं जस्तै हुन्छ ! पाइलाले नै जीवनको अगाडि बढ्ने मार्ग निर्देश गर्छ ! मानवले खै किन बिर्संदै जान्छ आफैले टेकेका डोबहरु यही नै हो कि शायद मानव नियति …?
क्यामेला, प्रेम र झरिला मुस्कानहरू
जीवनको पत्रपत्रलाई सुन्दर अत्यन्तै मनमोहक तरिकाले केलाएका छन् ! गाउँको हार्दिकता र शहरको व्यावसायिकता (स्वार्थीपन ) सजिलोसँग जोखेका छन् !
बगरमा पनि क्याक्टस बीउ उमारेर, अन्ततः आकाशको स्निग्ध क्यानभासमा मुस्कुराएको जिन्दगीसँग !सौन्दर्यको गहिरो अपार मादकता भेटिन्छ ! न बादलको गर्जनले मात्र आकाश टिक्न सक्छ न त शान्त गहिरो निलो रङ्ग मात्र चम्कन सक्छ !यसले पनि जीवन दर्शाएको छ !कहिले गडयाङ्गगुडुङ् र अशान्त घनाघटा झैँ !प्रकृति हेरेर नै कल्पना गर्न सकिन्छ जीवनको समय चक्र !
कहिले आंशुको मसीले जिन्दगीको दुःख लेख्नुपर्ने त कहिले इन्द्रेणीका रङ्गहरू चोबेर लेख्नुपर्ने मानिसका सघन सुखैसुख !
लेखक सधैँ गहिरिएर शहरका आँखाबाट गाउँ चिहाउँछन् र भावुक बन्छन् !
“मलाई माफ गर क्यामेला । म तिम्रो शहरमा तिमीसँग रमाउन सक्दिन !मेरो सबैभन्दा प्रगाढ प्रेम त गाउँका सुकिला र निस्वार्थ मुस्कानहरूमा झुन्डिएको छ !बस ,झरिला मुस्कानहरूमा “
रिस नउठ्ने मानिस विरलै हुन्छ संसारमा ! रिस उठ्नु आफैमा राम्रो कुरा होइन सबैलाई थाहा छ ! रिस प्रगतिको बाधक हो सबैलाई थाहा छ तर पनि न मानिसले यसलाई टाढा राख्न सक्छ मानिस भित्र रिसको भण्डार नै हुन्छ !निबन्धकारको भाषामा रिसका शीर्षक पनि घतलाग्दा नै छन् !
#लाटो रिस
#झन्के रिस
#हप्पे रिस
#आरिसे रिस
#घोप्टे रिस
हटाउन नसके पनि घटाउनतर्फ लाग्नुहोस् है सुझाव समेत दिन्छन् !
गजबको मनसँगको द्वन्द्व “निवर्जित मनमा “तेर्साएका छन् !
कहिले आफैसँग प्रश्न गर्छन्, इतिहास पढेर साँच्चै भूल त गरिन ? सत्य हे विगतलाई वर्तमानले पाठ मात्र सिकाउँछ सच्याउन सकिँदैन ! मिहीन ढङ्गले केलाउन सफल छ यो निबन्ध !
“सन्दिग्ध शताब्दी “शीर्षकीय निबन्ध पुस्तकको नाम पनि हो ! गजबले वर्तमान विकृति र विसङ्गतिले आजको समय र समाजलाई सन्दिग्ध बनाइरहेको छ ! प्रकृति र प्रवृत्ति र सृजनाका जुनसुकै क्षेत्र पनि सन्दिग्ध बनिरहेका छन् !
आफ्नै सपनाको मलामी गइरहेजस्तै !
मृत्युको केक काटेर उत्सव मनाइरहेजस्तै !
कात्रोमा पनि नाफाको हिसाब मिलाइरहेजस्तो !आज भोगिने सबै समय र सन्दर्भहरू सन्दिग्ध बन्दै गएकोले उज्यालाहरू आफैँ अँध्यारो बन्नुपरेका सन्दर्भले निबन्ध गतिलो र निकै गहन बन्न पुगेको छ !यसमा डुबुल्की लगाएपछि जीवनका आफ्ना पाना पल्टिएझैँ स्वतःस्फूर्त रूपमा सहमतिमा पुगिन्छ !यो लेखकको निकै ठूलो सार्थकता पनि हो भन्ने मलाई लाग्छ ! दर्शनका गहिरा सिलसिलाबद्ध शब्दको समायोजन उत्कृष्ट तरिकाले भेटिन्छन् ! सलल नदी बगेसरि बगिरहेका छन् शब्दहरू कतै पूर्णविराम लाग्न हतारो नलाग्ने गरी ! सकारात्मक सोचको उद्घोष नै छ !
वरिष्ठ निबन्धकार श्री ओम श्रेष्ठको भनाइमा ल्याप्चे ठोक्दै उनको यो निबन्धले एउटा मार्ग कोरेको छ मौलिकपनको मार्ग ! श्री बाबु स्वादको मार्ग !
उनी दुखेसो गरिरहेछन् -अबोध शिशुको क्रन्दनजस्तै –
यो पृथ्वी पृथ्वीजस्तो रहेन अब ! यो ममता ममता जस्तो रहेन अब !यी फूलहरू फूल जस्ता रहेनन् अब ! यी कालजयी सम्बन्धहरू सम्बन्ध जस्ता रहेनन् अब !
हामी
सम्बन्धमा असम्बन्धहरू
रोपिरहेका छौ -निरन्तर
सुन्दरताभित्र कुरूपताहरू
खोपिरहेका छौ -क्रमशः
सुकोमल समयपुन्जहरूमा
निर्ममताका काँडाहरू थपिरहेका छौ
विडम्बना !
हामी हाम्रै पैतालामा बन्चरो
थापिरहेका छौ ।
हामी हाम्रै सपनाहरूको मलामी गइरहेको छौ ।
हामी हाम्रै सपनाहरूको सतगती गरिरहेका छौ !
९० पाना र १४ विभिन्न शीर्षक रहेको यो निबन्ध संग्रहलाई साझा प्रकाशनले प्रकाशित गरेको हो । मज्जाले भन्न सकिन्छ, पुस्तकमा मौलिकता छ ! विचार र चिन्तनको वेग छ ! यसमा लेखकका आफ्नै जीवनका साउतीले कुत्कुताउन आइपुग्छन् ! यसमा प्रकृति छ ! समाज, संस्कृति, चरित्र अनि लेखकले खोजेको युगीन परिवर्तन छ । अन्त्यमा भन्नुपर्ने छ, नेपाली साहित्यमा यो निबन्धलाई पाठकका हैसियतले हार्दिक स्वागत गर्दै लेखक र प्रकाशकलाई पुनः लिखित बधाई !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।