मान्छेबाट मान्छे हराएपछि के बाँकी रहन्छ ? मान्छे भनेको के हो ? मान्छेभित्र मान्छे कहाँ हुन्छ ? यो धरतीको पहिलो मानिसले पहिलोपल्ट घाम ताप्दा वा पहिलोपल्ट श्वास फेर्दा कस्तो महसुस गर्यो होला ! उसले सुरुमा के बोल्यो होला ! छापिएको वा लेखिएको आधारमा जुनसुकै कथालाई प्रारम्भिक कथा मानिए पनि त्यसका पूर्ववर्ती कथाहरू कस्ता थिए होलान् ? त्यो भन्दा बढ्ता महत्वका पो थिए कि ! कथाको विकासक्रम पनि मान्छेको उत्पत्ति र विकास जत्तिकै पुरानो छ । निरन्तरता र नवीनतामा अडेको छ ।
‘प्राकृतिक छनोट’ प्रक्रियामार्फत जीवहरू समयअनुसार क्रमशः परिवर्तन हुँदै जान्छन् । करोडौं वर्षपछि विभिन्न जीवहरू पनि समान साझा पुर्खाहरूबाट विकसित हुन सक्छन् भन्ने चार्ल्स डार्विनको ‘ओरिजिन् अफ स्पिसिज’को सिद्धान्तमा मान्छेको विकासक्रमलाई ‘संशोधनसहितको वंश विकास’ भनिएको छ । संसारका तमाम विषय, सिद्धान्त वा लेखन विधाहरूमा पनि ‘संशोधनसहितको वंश विकास’ लागु हुन्छ र कथामा पनि ।
सुकरातले मान्छेको मृत्युलाई दुई किसिमले हेरिनुपर्छ भनेका छन् । पहिलो सपना नदेखिने निद्रा र दोस्रो परलोक जाने यात्रा । निद्रा बिथोल्ने भनेको सपनाले हो । मान्छे सपनाको पछिपछि दगुरिरहन्छ र दुखी हुन्छ । अब्दुल कलाम भन्छन्, निदाएर देखिने सपनाभन्दा निदाउन नदिने सपनाहरू भयङ्करका हुन्छन् । मान्छे त्यसैले दुखी हुन्छ । सपना नदेखिने निद्रा लाग्दा मान्छे समस्याहरूबाट मुक्त हुन्छ । त्यस मानेमा मृत्यु पनि यौटा अलौकिक आनन्दको मार्ग हो । आत्मापरमात्मामा विश्वास गर्नेहरू भन्छन्- परलोक जाने यात्रामा देह त्याग गरिन्छ आत्मा अमर रहन्छ । आखिर त्यो अमरता कहाँ, केमा, कसरी रहन्छ ? रहन्छ अमरता यदि भने मृत्यु सम्झेर किन दुखी र भयभीत हुन्छ मान्छे ? दुखकै कारण किन दुखी हुन्छ र हराउँछ मान्छे, एकाएक मान्छेबाट ?
वैज्ञानिक अल्बर्ट आइन्सटाइन मान्छे कहिल्यै कतै हराउँदैन भन्छन् । मान्छेको मृत्यु भएपछि पनि उक्त मान्छे कुनै नै कुनै स्वरूपमा यही संसारमा रहिरहन्छ तर उसलाई देख्न मात्र सकिन्न भन्छन् उनी । उनले उक्त कुरा आफ्नो मिल्ने साथीको मृत्युपछि उनको श्रीमतीलाई चिठीमा समेत लेखेका थिए । उनको विचारमा भूत, वर्तमान र भविष्यलाई पानोरोमिक भ्यू अफ टाइममा राखेर हेर्दा सबैजना जीवित नै देखिन्छ । अध्यात्मवादीहरू कृष्ण, अर्जुन र गीताको कुरा गर्छन्, सार उस्तैउस्तै हो मात्र स्वरूप फरक ।
यी सब प्रसङ्गलाई छाडेर आउनुस् ‘मान्छे हराएको मान्छेको’ अनुष्ठान गरौँ ।
जीवनको ऊर्जाशील समय अध्ययन, अध्यापनमा बिताएर यौटा असल गुरु, असल हेडसर र असल सामाजिक व्यक्तित्वको छवि बनाएका कवि लक्ष्मण थापा अहिले हेडसरसँगै शिक्षणसेवाबाट निवृत्त भएदेखि पूर्णकालीन लेखक र अध्येता भएका छन् । उनको लेखनमा उनले बाचेको समय, समाज, जीवन र विचारको शालीन तथा शिष्ट प्रस्तुति झल्किन्छ । टाढैदेखि छुटिन्छ उनको लेखकीय मुहार । त्यही नै उनको सौन्दर्य हो ।
मान्छेमा मर्दै गएको मानवीय संवेदना, विवेकहीनता, नैतिक मूल्य र मान्यतामा आएको ह्रास र खासगरी आफ्ना अग्रजहरूमा पुर्याएको चोटलाई मर्मस्पर्शी ढङ्गले कथाहरूमा उनेर आफ्नो लघुकथा संग्रहको नाम नै मान्छे हराएको मान्छे राखेका छन् । शिक्षा क्षेत्रमा जिन्दगी बिताएका उनले त्यतैको विकृति विसंगतहरूमाथि बोलेका छन् । त्यहीँको बेथिति, अव्यवस्था, व्यापारीकरण र नाङ्गो राजनैतिक हस्तक्षेपको विरुद्ध उभिएका छन् । सर्पको खुट्टा सर्पले देख्छ भनेझैँ उनले राम्रैसित देखेको अनुभूत हुन्छ । जहाँजहाँ कुशासन र अव्यवस्थाको कुरा छ वा अँध्याराको चर्चा छ; त्यहाँत्यहाँ सुशासन, सुव्यवस्था र उज्यालो चाह गरेका छन् । सत्य, न्याय, समानता, समतामूलक समाज र विधिको शासनमा विश्वास गर्ने कथाकार थापा आफ्ना कथाहरूमा कहीँ कतै विचलित छैनन् ।
वर्षा, खहरे, बाढी र नदीलाई मानवीकरण गरी खहरे र नदीको दार्शनिक संवाद देखाएर हिउँदको नदीको शिष्टता र शालीनताको उच्च नमुना प्रस्तुत गरेका छन् । ‘फलेको वृक्ष’ नामको उक्त लघुकथा पढ्दै गर्दा कथाकारलाई नजिकबाट चिनेको, देखेको, जानेको या संगत गरेको जोकोही पाठकले उनैलाई सम्झिन्छ । उनको शिष्टता, शालीनता, विद्वता र विनम्रतालाई सम्झिन्छ ।
भन्छन्, लेख्दै गर्दा लेखकले थाहै नपाई आफूलाई अक्षरमा अनूदित गर्छ । लाग्छ, फलेको वृक्ष कथाकारको पोट्रेट हो, उनको आफ्नै प्रतिबिम्ब, जो उनले थाहै नपाइ बनेको छ । धेरै जसो नेपाली लेखकहरूको जीवन ‘डबल स्ट्यान्डर्ड’ छ । उनीहरू आफूले लेखेजस्तो जीवन बाँच्न चाहन्नन् अथवा भनूँ नलेखेजस्तो जीवन बाँच्न खप्पिस छन् । भन्छन् एकथोक तर गर्छन् अर्कै थोक । तर लक्ष्मण थापा सरदरमा जस्तो लेख्छन् औसतमा त्यस्तै जीवन बाँचेका छन् । उनका कथाहरू धेरै अर्ग्यानिक र न्यून कस्मेटिक छन्, उनले बाँचेको जीवन जस्तै ।
योजनाको फाइल मन्त्रालयबाट गायब गराएर र ताल मिचेर होटेल बनाउँदै गरेको लम्बोदरको कोटमा चेकबुकको बल्छी देखाएर नदी अतिक्रमण, ढलनिकास र तालको मापदण्डको प्रसङ्ग कोट्याएका छन् । तालकिनारको बस्तीमै जन्मे हुर्केका र त्यतै बस्दै आएका उनलाई लेकसाइडसँगै बैदामको पनि उत्तिकै माया छ । बैदामेली कथाकार थापा वातावरण तथा पर्यावरण मैत्री कथा लेखनलाई पनि उत्तिकै प्रेम गर्छन् ।
दिनभरमा पचहत्तर जना बिरामी जाँचेर ६३ हजार ७ सय ५० कमाएकोमा र मान्छेहरू कम्ती बिरामी परेकोमा चिन्तित र निराश देखिएको डाक्टरलाई असर्फीलाल र उसको सहयोगीलाई आशाराम नामकरण गरेका छन् । त्यसो त अझै एघार जनाको पाठेघर फालेको र विभिन्न ल्याबहरूमा बिरामी पठाएको कमिसनको हिसाब आउनै बाँकी छ । दलाल नामको यो र अरू केही कथाहरूमा स्वास्थ्य क्षेत्रका बेथिति र कुरूपता सुन्दर ढङ्गले उनेका छन् । तल्लो तहमा काम गर्ने स्वास्थ्य कर्मीको पीडा पनि छ कतिपय कथाहरूमा ।
बसमा पाकेटमार केटाकेटीहरू कसरी चढ्छन्, कसरी कुनबेला कहाँ झर्छन्, केकस्तो व्यवहार गर्छन् भन्ने कुराको पनि शाब्दिक चित्रकथा छ दुर्व्यवहार कथामा । त्यस्तो दुर्व्यवहारमा परेको पाठकलाई लाग्न सक्छ मुस्ताङ चोकबाट बस चढ्ने पाणिनी उही हो ।
भ्रष्टाचारको आरोपमा पक्राउ परेको कर्मचारीलाई इमानराज नाम दिएर उल्टै घुस टक्र्याएर एक श्रेणी बढुवा गरिदिएका छन् । किर्ते गर्ने किर्तीनाथ ६ करोडपति समितिमा । गरिबको कथित भगवान् छ तारकासूर पाध्ये । भारतीय केरालाई अर्ग्यानिक केरा भन्दै बेच्ने देशप्रेमी नेपालदीप छ । समाजवादी सरकार, कर अधिकृत दामराज, करानन्द मेयर र करोध्यान नगरपालिका छ । कताकता देखेदेखे झैँ, चिनेचिने झैँ र भोगेभोगे झैँ लाग्छन उनका लघुकथाहरू ।
छोरी जन्मेर छोरीकै बर्थडे पार्टी दिइरहेको र अठार वर्ष बितिसक्दा पनि घर नछाड्ने छोरीलाई पुलिस लगाएरै घरबाट बेदखल गरेको अमेरिकी बाबुहरूले एकआपसमा चियर्स गरेको कथा पनि छ । उता गएपछि डलर पनि पात झैं सोर्छन् । आइफोन पनि रुखैमा फल्छ । यस्सो टिपेर पठाउन पनि कति गारो मान्छन् भन्ने मानसिकता बोकेका यता बसेका परिवारजन तथा आफन्तहरूले उताकाहरूलाई दिएको मनोवैज्ञानिक पीडाको पनि संकेत गरेका छन् आफ्ना कतिपय कथाहरूमा । विषयगत विविधता र खास गरी सामाजिक विविधता यस कृतिको थप विशेषता हों ।
आफ्नी आमासित ससाना काममा पनि कमिसन खाने छोरो, संस्कृति र सांस्कृतिक सम्पदाहरूको महत्त्व नबुझ्ने समाज, ठुलाठालु र हुनेखानेले ससाना भुइँमान्छे र हुँदाखानेलाई कसरी थिचोमिचोमा पार्छन् भन्ने प्रशस्त दृष्टान्त र त्यसका विरुद्धको खबरदारी पनि छ । गरिब किसान र पिछडिएका जनजाति तथा समुदायको कथा पनि छन् । उपल्लो भनिएको जात तथा वर्गको थिचोमिचोको उपयुक्त पात्रहरू उभ्याएर विरोध गरेका छन् । सामाजिक-साहित्यिक सङ्घ संस्थाभित्रका बदमासीमाथि पनि कलम चलाएका छन् । यस मानेमा उनलाई सशक्त सामाजिक यथार्थवादी कथाकार भन्दा बढ्ता न्याय हुन्छ ।
कोरोना कालमा कालको मुखैबाट उम्केका हुन् थापा दम्पती पनि । कोरोनाभन्दा त्यसका नाममा भएको सामाजिक विकृति, कमजोर मानसिकतालाई फरकफरक किसिमले आख्यानीकरण गर्दै बिरामीका आफन्तहरूको मनोदशा र कोरोनालाई नै कमाउने धन्दा बनाइएको राहत खेती र नर्सिङ होमका नाममा चलेको लुटको धन्धाको विद्रूप दृश्यको सजीव चित्रण गरेका छन् उनले ।
पेन्सिल र इरेजरलाई कथामा उनिएको सम्बन्ध लघुकथा यो संग्रह भित्रको सफल दार्शनिक लघुकथा हो । यसमा कथाकार थापाको चिन्तन आएको छ । यसलाई एकै पटकमा पढेर सामान्य पाठकले कथाको भित्री तहसम्म नबुझ्न पनि सक्छ । त्यसो त बुझाई पनि सापेक्ष हुन्छ आखिर ।
मैनाकुमारी र सुनकेशरीको पाहुना प्रसङ्ग रोचक छ, देखेभोगेकै घटना जस्तो । सुन्दर र रोचक समापनमा कुँदिएका रित्तोचौर र लुटान जस्ता कथाहरूमा हामीले बाँचेको समाजको चित्र उतारिएको छ । घरायसी कामदारका लागि बाबुआमा विदेश लैजाने छोरा/बुहारी तथा छोरी/ज्वाइँलाई पनि छोडेका छैनन् उनले । साँच्चै कलात्मक छन् अधिकांश कथाहरू ।
विद्यार्थी, शिक्षक र अभिभावकको चपेटामा परेका द्रोणाचार्य, अत्री, कश्यप गुरुहरूदेखि तुलाराज, झापट सिंह र ज्योतिकान्त समदर्शीहरू छन् कथाहरूमा । सडकमा ट्राफिक जाँचका नाममा गरिएको नाटक र सर्वसाधारण यात्रुहरू माथिको सास्ती, नाटकीय कमाउ धन्दा, राहत संकलनका नाममा भएका विकृतिदेखि समाजमा भए गरेका अधिकांश घटनाहरू स्पर्श गरेका छन् । साधुविरालो नाममा एकजना दाजुलाई पात्र बनाएर उनको आनीबानी, व्यवहार र स्त्रीलम्पट चरित्र तथा जीवन शैलीलाई पनि राम्रोसित चिरफार गर्न भ्याएका छन् । उनका कथाहरूमा समाजमा देखेभोगेका या चिनेजानेका र दिनदिनै ठोकिने कैयन् अनुहारहरू भेटिन्छन् । उनी लघुकथाहरू लेख्दैनन् । सोच्दैनन् । बस् हाम्रै वरिपरिबाट कथा टिपेर हामीलाई नै सुम्पन्छन् तर अलिक असजिला नाम दिएर कथा टिप्छन् उनी । लाग्छ, उनी राम्रो कथावाचन गर्ने असजिला पण्डित हुन् ।
सङ्ग्रहमा प्रायः एक पेजका एक डेढ सय शब्दसीमाका ७० वटा लघुकथा छन् । विषयसूचीमा कथाको क्रम त ठिक छ तर पेज नम्बर बिग्रेको छ, त्यहाँ लेखिएको पेज नम्बरमा ४ थप्नु भयो भने सबै मिल्छ । अन्य केही जानकारीहरू पनि छुटेका छन् । यो सामान्य प्राविधिक पक्ष हो, आशा गरौँ, दोस्रो संस्करणमा सच्चिएर आउने छ ।
इतिहास, दर्शन र अर्थशास्त्रका अध्येता अनि भाषा साहित्यका अनुरागी थापा मूलतः कवि हुन् । काव्यका विभिन्न भेदहरूमा कलम चलाउँदै आएका साहित्यकार थापाको यो पहिलो आख्यानात्मक कृति हो । यसमा उनले खास गरी गएको आठ दश वर्षभित्र आफूले देखेसुनेका, भोगेका या नजिकबाट अनुभूत गरेका घटनाहरूलाई सँगालेका छन् । कवितामा प्रयोगधर्मिता, दार्शनिक चिन्तन, उच्च बौद्धिकता र सघनतालाई बढ्ता प्रशय दिने साहित्यकार थापा लघुकथामा भने सरल र सामाजिक यथार्थवादी धरातलमा भेटिन्छन् ।
नयाँ सोच, चिन्तन र प्रयोगभन्दा पनि भएगरेका घटनाहरूलाई मौलिक तवरले टिप्नु उनको कथालेखनको अभिष्टका रूपमा देखिन्छ । पात्रहरू प्रतिको उनको अनुराग लोभलाग्दो छ । जताततै देखिने, भेटिने र दिनरात ठोकिने पात्रहरूलाई अलिक असजिला र प्रतीकात्मक नामसहित उभ्याएर संवादात्मक शैलीमा तिनीहरूलाई नै लघुकथा टिप्न लगाउने शैली कृतिको सुन्दर पक्ष हो । अलिक बढ्ता संवाद मोहले कताकति कथाहरू दुरूह पनि बनेका छन् । यो शिल्प-संरचनाले उनीभित्र लुकेर रहेको नाटक मोह तथा अनुराग पनि दर्शाउँछ ।
सकभर ऊ र उसका आफन्तहरूलाई पात्र बनाएर अत्यन्त न्यून पात्रमा खेल्न चाहने लघुकथाकार दीपक समीप र यत्रतत्र सर्वत्र ठोक्किने पात्रहरूलाई खासै चलनचल्तीमा नआएका या अत्यन्त कम सुनिएका प्रतीकात्मक नाम दिएर संवादात्मक शैली-संरचनामा खेल्न चाहने लघुकथाकार थापा र अहिलेसम्म मुस्किलले एक डिजिटको संख्यामा लघुकथा लेखेरै पनि साथीहरूको संगत र आग्रहले पटकपटक लघुकथामाथि बोलिरहने म, अजिबको दोस्ताना छ हाम्रो ।
यो अवसरका लागि, म आफू पनि संलग्न संस्था लघुकथा प्रतिष्ठान, पोखरा, त्यसका वर्तमान अध्यक्ष तथा मान्छे हराएको मान्छेका स्रष्टा लक्ष्मण थापा र हाम्रा मित्रवत् प्रकाशक माया प्रकाशनका विनय भूषण दत्तका प्रति हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरू सबैको जय होस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।