खै कहाँबाट सुरु गरूँ ! जताबाट कोट्याए पनि मीठै मात्र भेटिन्छ । अलिअलि कहीँ कतै काँचो, तीतो, टर्रो, चर्को, पिरो वा कट्मिरो भए पनि त आलोचना गर्न पाइन्थ्यो नि ! कति प्रशंसा मात्र गर्न जानेको हो ? कति चाकरी गरेको हो ? भन्ने अपयश आउला कि भन्ने भय पनि उत्तिकै व्याप्त छ मनमा । कहीँ कतै कमजोरी फेला पार्ने प्रयत्न स्वरूप पाना पल्टाउँछु । अहँ कहीँ कतै भेट्टाउन्नँ । म सुरुमा उहाँको कृति पढ्दै रातो मसीले महत्त्वपूर्ण अंशहरू अन्डरलाइन गर्दै गएँ, कति लगाउने दिक्क भएँ । सम्पूर्ण पाना—पाना रक्तमुच्छेल हुने भयो, त्यसैले त्यो काम गर्न छाडेँ । ‘हैन मान्छे मन परेपछि कृति पनि स्वतः मन पर्छ कि कसो ?’ नत्र किन मलाई यहाँका शब्द—शब्द र हरफ—हरफले यसरी मोहनी लगाएको ? म मेरै मनसँग गम्भीर संवाद गरिरहेको छु ।
मेरो दोस्रो बेलायत यात्रा‘प्रिय स्रष्टा भाइ श्री नगेन्द्र रेग्मीमा सप्रेम’ भन्दै २०८० पौष २२ मा गोविन्दराज भट्टराईले सस्नेहपूर्वक पठाएको ‘मेरो दोस्रो बेलायत यात्रा’का पानाहरू पल्टाउँदै गर्दा मलाई यस्तो अनुभूति भएको हो ।
२०६५ सालमा उहाँले पहिलो बेलायत यात्रा गरेर ११ वर्षपछि त्यसको कृति प्रकाशन गर्नु भयो । २०६८ सालमा फेरि उहाँले दोस्रो बेलायत यात्रा गरेर १० वर्षपछि २०७८ सालमा यो कृति प्रकाशित भयो । प्रकाशनको दुई वर्षपछि मात्र म यसका बारेमा केही कोर्ने धृष्ट प्रयास गरिरहेको छु । अब यसलाई नयाँ कृति भन्ने कि पुरानो ? म दोधारमा छु । किनभने यसबीच यो कृतिका बारेमा धेरैले धेरै कोणबाट हेरेर दृष्टिकोणहरू बाहिर ल्याइसक्नु भएको छ ।
‘…नेपाली भाषालाई नयाँ परिभाषामा व्याख्या गर्न म यसरी हिँडिरहेको छु (पृ.५)।’ उहाँ अझ अगाडि थप पुस्ट्याइँ दिँदै भन्नुहुन्छ, ‘मेरा कुनै पनि भ्रमण केवल आत्मतृप्तिका लागि होइनन्, हुने छैनन् । मेरा सबै भ्रमण पाठकको ज्ञान र सूचनाको निमित्त होउन्, अन्तर प्रेरणाका निमित्त बनुन् । नेपाली यात्रा साहित्यलाई अलिकति भए पनि उठाउने गरी होउन् । नेपाली जातिलाई अलिकति मात्र भए पनि चिनाउने गरी होउन् । साथै यस्तो उद्देश्यले भ्रमणमा रुचि राखेको छु, लेखेको छु (पृ.५४)।’
यस्तो पावन उद्देश्य जो कोहीले राख्न सक्छ ? लेख्न र भन्न सक्छ ? हामी पनि यात्रा गर्छौं घुम्छौं, डुल्छौं र यदाकदा लेख्छौं पनि । तर केवल आफ्नो आत्मतृप्तिको लागि । यसरी नेपाली साहित्यको लागि, पाठकको लागि अथवा देशको लागि भनेर कहिल्यै सोचिएन, कहिल्यै लेखिएन । कस्तो गोठाले दिमाग ! उहाँका यस्ता विचारले म मनमनै पुलकित बन्छु उहाँलाई नमन गर्छु ।
२८६ पृष्ठको पुस्तक पढ्दै जाँदा, अहँ ! कहीँ कतै पट्यार लाग्दैन । सिनेमा हेरेजस्तो हेरिरहूँ लाग्छ । हुन पनि उहाँ जता जता जानु हुन्छ, जहाँ जहाँ बस्नु हुन्छ त्यहाँ त्यहाँ नेपाल साथमै बोकेर हिंड्नु भएको छ । नेपाली भषा र साहित्य नै काखी च्यापिरहनु भएको छ । त्यसैको चिन्तन गर्नु हुन्छ, चिन्ताले पिरोलिनु हुन्छ । यहाँ यस्तो रहेछ मेरो देशमा खोइ ? सोध्नु हुन्छ । कसले गर्ने ? कहिले गर्ने ? किन ढिला भइरहेछ ? दिक्क मान्नु हुन्छ । राम्रो देख्दा पनि नेपाल नै सम्झनु हुन्छ र नराम्रो देख्दा पनि नेपाल नै सम्झनु हुन्छ । यो उहाँको जन्मभूमिप्रतिको अनुराग हो सम्मान भाव हो । माछा र पाहुना तीनै दिनमा गन्हाउँछन् भन्थे तर उहाँलाई त तानातान छ । हाम्रोमा आइदिनु पर्यो, उता गइदिनु पर्यो । गाडी ठिक छ, भान्सा ठीक छ, ओछ्यान ठिक छ । यसरी सबैको प्यारो भएर आफ्नो यात्रा तय गरिरहनु भएको छ ।
बेलायत र फ्रान्समा जन्मिएका लेखक कवि तथा उनीहरूको घर, सङ्ग्रहालय, म्युजियम, पार्क, चिहानघर कहीँ केही छुटेका छैनन् । नेपालीहरूले त्यहाँ भोगेको जीवन र उनीहरूको कथा व्यथा त्यहाँको नेपाली भाषा, साहित्यको दशा, दुर्दशा, विकास र त्यसप्रतिको चिन्ता, त्यहाँको कला, संस्कृति, दर्शन र इतिहासको यथार्थ चित्र यसमा खिचिएको छ । उहाँ भन्नुहुन्छ—अब आफ्नो मात्र साहित्य पढेर जीवन चल्दै चल्दैन । विश्वबजारतिर हामफाले पछि विश्व साहित्य पनि पढ्नै पर्ने हुन्छ (पृ.२३५)।
महान् साहित्यकार किट्सको सङ्ग्रहालयमा उनले अस्पतालमा उपचार गराउँदा काटेको (रसिद) बिललाई फ्रेमिङ गरी म्युजियममा राखिएको देख्दा उदेक मान्नुहुन्छ नियात्राकार । अनि सम्झनु हुन्छ— हाम्रा प्रिय उपन्यासकार डायमण्ड शमशेरको ‘सेतोबाघ’ फ्रेन्च भाषामा अनुवाद भएर पनि किन यो प्रदर्शनीमा पर्न सकेन ? फ्रान्स भ्रमणताका यस कुराले उहाँलाई निकै ठूलो चित्त दुखेको छ (पृ.१२९)।
फ्रान्स यात्राकै क्रममा ट्रेनको सफरको वर्णन गर्दै उहाँ भन्नुहुन्छ— ‘अधिकांशको हातमा पुस्तक छ । यस्तो पठनले र त्यसको ज्ञानले बनिएका हे मित्रहरू ! मेरा देशवासीमा पनि यो चेतना अलिकति पुर्याइदेऊ न ! मेरो देशका मानिसहरू पुस्तक पढ्नुलाई एउटा औपचारिक विशेष स्थान र समयमा गरिने कर्म ठान्दछन् । त्यो बानी कसरी बदल्नु होला हे प्रभु (पृ.११६)।’
फ्रान्सको मो भन्ने गाउँ र त्यही शहरमा गोर्खा मार्ग र पनौती मार्ग भन्ने नेपाली नाम राखिएको रहेछ । फ्रान्सेलीहरूले नेपाली जातिप्रति गरेको यो सम्मान र उदारताको प्रशंसाले पाठकलाई पनि खुसीको सञ्चार गराउँछ । त्यस्तै फेरि लण्डनमा पुगेर चाल्स डिकेन्सको सङ्ग्रहालय हेरेपछि नियात्राकार भन्छन्— ‘हे गोरा जातिहरू, यो संसारको, संस्कृति धर्म सभ्यताको सुरक्षार्थ तिमीहरूको काँधमा कत्रो कष्ट आइलागेको होला नि ! हामीले पनि तिम्रा केही कुरा र कला सिक्नु पर्ने, अरूको नसके पनि आफ्ना देशभित्रको अतीत सुरक्षित गर्न सक्ने चक्षु देऊ । हाम्रामा त भएका मूर्ति फुटाउने, भत्काउने भञ्जकहरू बढेर गएका छन् (पृ.१६४)।’ कति चोटिलो र यथार्थ व्यङ्ग्य ।
‘५८ वर्षे जीवनमा २ वर्ष बसेको ठाउँ (डेरा) पनि सभ्य मुलुकमा कत्रो ऐतिहासिक महत्वको हुने रहेछ’ डिकेन्सलाई सम्झेर नियात्राकार चिन्ता प्रकट गर्नु हुन्छ, ‘प्रत्येक लेखक, कलाकार बढेको खेलेको लेखेको घरको कत्रो महत्त्व हुँदो रहेछ सम्झेर चिन्तित हुन्छु म किनभने हाम्रो त समाजै चिर निद्रामा छ (पृ.१६७) ।’
सन् २०१२ मा चाल्र्स डिकेन्सको दुई सयौं जन्म शताब्दी मनाइँदै छ । हाम्रा भानुभक्तको पनि दुई सयौँ नै पर्दछ । यी दुवै समकालीन रहेछन् । डिकेन्सको यत्रो तामझाम विश्वभरि ६४ ठाउँमा यो मनाइने रहेछ हाम्रा भानुलाई देशभरमा पनि पुग्न दिइँदैन । अझ भानुका सालिक भत्काउन निरन्तर लागि परेकाहरू छन् । हाम्रो भाषा कति अभागी परेछ (पृ.१७१)।’ यो भोगेर, देखेर उहाँ मनग्गे दुखेसो मान्नुहुन्छ ।
डायस्पोरा स्टडिज, माइग्रेसन स्टडिजको कुरा उठाउँदै विदेशमा बस्ने नेपालीहरूले नेपाली भाषाको साक्षरता अभियानलाई तत्कालै आरम्भ नगर्ने हो भने उनीहरू नेपालतर्फ निरक्षर हुनेछन् । आफ्नै देशबारे अङ्ग्रेजी वा अन्य भाषामा बुझ्नु पर्ने दिन आउने छन् भन्दै उहाँ जाति, संस्कृति र इतिहासलाई अड्याउने तत्त्व नै भाषा भएको कुरा उल्लेख गर्नु हुन्छ – ‘भाषा लोप भएपछि हाम्रा नानीहरू काटिएको चङ्गा हुनेछन् (पृ.२११) ।’ यो कटू सत्य त हो नै, डरलाग्दो र भयावह अवस्था पनि हो ।
यस्ता अनेकौं मन छुने संवाद तथा घटनाहरू सत्य र तथ्यमा आधारित भएर यहाँ समाविष्ट भएका छन् । लेखकमा भावना र कल्पना हुनु स्वाभाविक हो तर अतिशयोक्ति रूपमा यस्ता कुनै पनि सन्दर्भहरू सङ्ग्रहभित्र परेका र आएका छैनन् । परिशिष्ट, सन्दर्भसूची र अनेसास द्वितीय महासम्मेलनले पारित गरेको घोषणापत्र समेत राखेर ३३ वटा शीर्षकमा आबद्ध कृतिलाई अझ बढी अनुसन्धानमूलक र प्रामाणिक बनाइएको छ । नियात्रामा बिरलै यस्ता कुराहरू पढ्न पाइन्छ, जुन यस कृतिभित्र परेको छ । शब्दबिम्बमा उतारिएका नियात्रानुभूति मात्र छैनन् यहाँ ।
यहाँ त कहीँ आख्यान भेटिन्छ, कथा उपन्यास पढेझैं लाग्छ । कतै करुणा छ, भावविह्वल बनाउँछ । कतै हाम्रै समाज छ, जीवन पढ्न पाइन्छ । कतै यात्रा छ, उहाँसँगै विभिन्न नयाँ नयाँ ठाउँ गाउँ र म्युजियमभित्र पस्न पाइन्छ । कतै जीवनी छ, कतै घरपरिवारका कुराहरू पनि छन् । कतै अन्तर्वार्ता छ, भाषण छ । पुस्तक समीक्षा छ, धेरै लेखक कविका कृति र तिनको लेख्य विशेषताहरू पनि यसबाट थाहा पाउन सकिन्छ (पृ.२३५)। यो काव्यात्मक पनि छ, आख्यानात्मक पनि छ । यसरी एउटा पुस्तकभित्र धेरै विधाका छुट्टाछुट्टै स्वादहरू पस्किदिएको कारण दिक्क र झर्को नमानी बरु स्वाद मानी—मानी पाठकले रसास्वादन गर्न पाउँछन् यो सङ्ग्रहबाट ।
गोविन्दराज भट्टराईको ‘मेरो दोस्रो बेलायत यात्रा’ पढिरहेको हुँ कि लैनसिंह बाङ्देलको ‘मुलुक बाहिर पढिरहेको हुँ’ दोधारमा पर्दछु । ‘बाङ्देलका कृतिहरू अवश्य पढ्नु होला । नत्र हाम्रो साहित्यिक जीवन अधुरो हुन्छ..। एकजना लैनसिंह बाङ्देल नेपाली समक्ष फ्रान्सेली जगत्लाई चिनाउन समर्थवान् भए…’ बाङ्देलका पुस्तकको महत्ता दर्साउँदै थुप्रै सन्दर्भहरू यहाँ प्रस्तुत गरिएको छ ।
त्यसैगरी बिपीको जेल जर्नल तथा हिट्लर र यहुदीका सन्दर्भहरू पनि यहाँ प्रस्तुत गरिएको छ । डा. ध्रुवचन्द्र गौतमको ‘जर्मनी: नयाँ आँगनमा पाइला’ नामक पुस्तकको चर्चा छ ।
त्यो बाहेक पनि रक्ष राई र मिजासको नवचेतना ग्रहका कुराहरू व्यापक रूपमा उठाइएको छ । गणेश राई, जगत् नवोदित, मुलीवीर राई, टंक वनेम, विश्वासदीप तिगेला, मदन मावो, दयाकृष्ण राई अब्जसे कान्छा, दीपा लिम्बू राई, विजय हितान, मुकेश राई, रूपक श्रेष्ठ, हरिहर अर्याल, जया राई, मिजास तेम्बे, नरेश काङवाङ जस्ता अन्य थुप्रै डायस्पोरिक सर्जकका सिर्जनाका कुराहरू यत्रतत्र छन् ।
अनेसास बेलायत च्याप्टर तथा बेलायती प्रतिभा प्रतिष्ठानजस्ता नेपाली भाषा साहित्यको उत्थानका लागि खोलिएका सङ्घसंस्थाहरूको कथाव्यथा छन् । यस क्रममा देखिएका कुनै कुनै बेथिति विसङ्गतिका कुराहरू पनि उहाँले कोट्याउन भुल्नु भएको छैन । यस क्रममा अनेसास भित्र देखिएका केही मनोमालिन्यलाई उहाँले नामै किटेर त्यसो नगर्न आग्रह गर्दै भन्नु भएको छ —‘…ज्ञानेन्द्र गदालले त्यति सहयोग गरेका छैनन् (पृ.२७)।…कार्यक्रमलाई असहयोग गरिरहेका अमेरिकी ज्ञानेन्द्र गदाल अनुपस्थित भए (पृ.३७)।’ सूत्रमा उन्नुहुन्छ उहाँ कतिपय कुराहरू । सङ्केतमा र लक्षणामा पनि बोल्नु हुन्छ उहाँ कहीँ कहीँ, भावले बुझ्नु पर्छ ।
गोविन्दराज भट्टराई आफ्ना कमी र कमजोरीहरू देखाउन कत्ति पनि लाज मान्नुहुन्न । एक ठाउँमा उहाँले भन्नु भएको छ —
– मलाई टिकट काट्न आउँदैन, भन्नु पो हुँदैन (पृ.१०६)। (कति साँचो र सत्य कुरा बोलेका ।)
– बाहिर निस्कँदा सही गेट नछिरेर अलमल पो हुने हो कि (पृ.२०)।
– मोटेले ज्यादा खेर्ने पो हो कि ? डर लाग्दैछ (पृ.२१)।
– मलाई यो इमान्दार मान्छे हो भनेर चिन्दैन, विश्वविद्यालयको प्रोफेसर हो भनेर पनि जान्दैन (पृ.ऐ.)।
– पाहुनाले चाल नबुझेर केही गलत पो हुने हो कि ? पीर लाग्छ (पृ.२५)। – गोजीकट्टाहरूले आज समाप्त पार्ने हुन् कि ? मसँग दम छैन (पृ.५०)।
– कतै हराउँछु कि, हास्यास्पद हुन्छु कि (पृ.१०५)।
यत्रो विद्वान् र वरिष्ठ साहित्यकारसँग अलिकति अहङ्कार आउनु नि ! कति विनयशील ! जताततै लेखकीय इमान्दारी मात्र देख्छु पढ्छु म ।
बेलायतका प्रमुख दर्शनीय स्थलहरूको प्रायः रिट्ठै नबिराई चर्चा छ यस कृतिमा । उहाँ अलि बढी फ्रान्समा बस्ने सौभाग्य प्राप्त गर्नु भएको भए त्यस देशको पनि केही बाँकी रहन्नथ्यो । हैन अरूलाई चाहिँ केही लेख्नै पो नदिने भए गाँठे भट्टराई बाजेले ! आफू जान नपाए पनि, लेख्न नसके पनि त्यसै त्यसै ईर्ष्या पो लागेर आयो ।
नेपाली पाठकको चेतना स्तरलाई के दिँदा उसले पचाउन सक्छ ? के दिँदा उसप्रति न्याय हुन्छ भन्नेतर्फ लेखक सचेत छन् । देशलाई, हाम्रा पाठकलाई फाइदा हुने गरी दवाई खुवाए जसरी अड्कलेर, विचार पुर्याएर ठ्याक्कै रोग चिनेर प्रेक्सिप्सन दिए जसरी पाठकलाई सामग्री पस्किएर उपचार गराउन खप्पिस छन् । नियात्राकारमा लेखकीय संस्कार अति प्रबल छ, निफनिएका कञ्चन शब्द, टलक्क टल्किएका उज्याला भाव, सूक्ष्म दृष्टि छ र अन्तर्दृष्टि पनि उत्तिकै व्याप्त छ । यस्तो शब्द सामर्थ्य कसरी निस्कन्छ हौ ? हैन यी मान्छेसँग कसरी सङ्गत बढाउन सकिएला ? त्यसै त्यसै लोभ बढेर आयो ।
‘भोलिको कल्पना गर्दा मलाई लाग्छ—हाम्रो मन मात्र आंशिक रूपले कपी गरेर लण्डन, अमेरिका पुर्याउन सकिन्छ होला । पछि फेरि त्यसलाई पेन ड्राइभमा ल्याएर मनमा जोड्न सकिन्छ होला । कुनै कुरा देख्न, गर्न, भन्न शारीरिक रूपले यात्रा गर्नै पर्ने अनिवार्यताको अन्त्य हुन्छ होला । यस्तो सम्भावनाको दिन आउला कि…’ पृ.१४।
कस्तो गहिरो कल्पना गर्न सकेको जानेको हत्तेरिका ! हाम्रा महाकविले पनि उद्देश्य के लिनु उडी छुनु चन्द्र एक…भनेका थिए, त्यो समयमा चन्द्रमामा पुग्नु असम्भव मानिन्थ्यो तर केही कालभित्रै सम्भव भइदियो । यहाँ पनि कतै यो कुरा सम्भव त हुँदैन ? मेरो दिमागमा यो कुराले निकै बेरसम्म छोइरह्यो । जुन कुरामा उनी प्रवेश गर्छन् आफ्ना विचार प्रखर रूपमा अगाडि ल्याइहाल्छन् । कस्तो पाठकको भित्री मनसम्म पुगेर अन्तर कुन्तर छाम्न सकेको ? हुन पनि उहाँका एक वाक्य वा लाइनले अनेकौं अनुच्छेद बराबरको अर्थ र भाव बोक्ने सामर्थ्य राख्दछन् । यो उहाँको मौलिक विशेषता नै हो । विषयको ज्ञान, अनुभव र सिद्धान्तले खारिएका अभिव्यक्ति, तथ्य र प्रमाणले बोलेका चट्टानी वाक्यहरू सङ्ग्रहभित्र यत्रतत्र भेट्न सकिन्छ ।
पश्चिमी भूगोल बेलायत र फ्रान्सको भूमि टेकेर त्यहाँका घटना—परिघटनालाई मिहिन पाराले शिल्पले कुँदेर पाठकलाई समर्पण गर्ने वरिष्ठ सर्जक गोविन्दराज भट्टराईले यो कृतिलाई दोस्रो बेलायत यात्रा भन्नु भन्दा पहिलो चोटि फ्रान्स पुगेर त्यहाँको कला र संस्कृतिको त्यत्रो गहन अध्ययन अनुसन्धान गरी लेखिएको यो कृतिलाई ‘प्रथम फ्रान्स यात्रा’ भन्दा के फरक पर्थ्यो होला र ! यसमा किन सङ्कोच मान्नु भयो मैले बुझ्न सकिनँ । जे होस् यो उहाँको कुरा भयो ।
यस्तो चोटिलो, ज्ञानवर्धक र गम्भीर पुस्तक प्रकाशन गरेर साहित्यपोस्टले अर्को स्तुत्य कार्य गरेको छ । त्यसो त नेपाली साहित्यको विकास र प्रवर्द्धनमा मात्र होइन अहिले हराउँदै आएको साहित्यको पठन संस्कृतिमा समेत यसले पुर्याउँदै आएको योगदानको जति नै प्रशंसा गरे पनि कम नै हुन्छ । अतः साहित्यपोस्ट प्रति पनि हार्दिक बधाई र आभार प्रकट गर्नु यस सन्दर्भमा समुचित लाग्यो । लेखक तथा नियात्राकार वरिष्ठ सर्जक डा. गोविन्दराज भट्टराईको कलमले विश्राम नलिई अनवरत पाठकलाई यसरी नै लाभान्वित गराइरहन सफलता मिलोस् हार्दिक शुभेच्छा सहित शुभकामना प्रकट गर्दछु ।
साहित्यपोस्टबाट प्रकाशन गरिएको ‘मेरो दोस्रो बेलायत यात्रा’को मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।