संयोगको कुरा पनि दैवीय हुँदो रहेछ । दैवीय माने उच्छ्वासपूर्ण र सुखानुभूति प्रदान गर्ने खालको । हो, ‘हिउँको राप’ लघुकथासंग्रहका सर्जक डा. कुसुमाकर शर्मा गौतम प्रविधिजन्य समाजमा संयोगले भेटिएका हुन् । त्यसो त भौतिक रूपमा नभेटे पनि हामी आफन्ती यार हौँ भन्ने कुरा यहाँ निवेदन गरेँ । यार भएकै कारणले नेपालबाट हावामा गोता खाँदै ‘हिउँको राप’ मसमक्ष आइपुगेको छ ।
‘हिउँको राप’लाई भ्रूणावस्थामा नै आकलन गरेको अनन्त अनुभूति छ मसँग । धच्चीको जन्मनु पर्छ है हिउँको राप भनेर चिन्तन-मनन गरेका हौँ हामीले । याने सर्जक गौतम र मैले । प्रसवपूर्व तथा प्रसवकालमा स्तरीयताको लागि उधुमै प्रयत्न गरेका हुन् सर्जकले । त्यसको साक्षी म बसेको छु भूमिकामा । साझा प्रकाशनको पाटीमा विसं २०८० मा जन्म्यो हिउँको राप । आवरण बन्यो अमित घिमिरेको कला ।
भूमिका लेख्ने अवसर पाएकाले कृतिकार कुसुमाकर न्यौपाने तथा साझा प्रकाशनप्रति आभारी छु ।
भूमिका लेख्ने र समीक्षा गर्ने दुई अलग भूमिका हुन् । एउटै मान्छे जागिरमा अलग भूमिकामा हुन्छ र घरमा अर्को । भूमिका लेख्नु भनेको प्रत्यक्ष रूपले कृतिको प्रमोसन हो । कृतिको सकारात्मक पाटोको प्रकटीकरण हो । भूमिकामा सामान्यतया नकारात्मक पाटोलाई महत्त्व दिइँदैन ।
परिचर्चा वा समीक्षाको प्रयोजन पनि कृतिको अप्रत्यक्ष प्रमोसन नै हो । तर समीक्षामा कृतिको गुणदोषका बारेमा समभाव राखिन्छ । आलोचना मात्र गर्ने हो भने समालोचना नभएर आलोचना मात्र हुन्छ ।
२०२० साल असोजमा आला, सिस्ने ६, रुकुमकोट पूर्वी रुकुममा जन्मेका सर्जक गौतमले युनिभर्सिटी अफ अल्बर्टा, क्यानाडाबाट विद्यावारिधि गरेका हुन् । हाल उनी पानी प्रशोधन विशेषज्ञका रूपमा क्यानडामा कार्यरत छन् । कृतिकै हिसाबमा त यो पहिलो हो, तर कवितालगायत बहुविधाका फुटकर रचना भने निकै पहिलेदेखि नै प्रकाशित छन् ।
कृतिको आवरणमा हिउँका डामहरू छन् । पश्चआवरणमा कृतिकारको संक्षेपको परिचय छ । कृतिभित्र प्रवेश गरेपछि साझा प्रकाशनको प्रकाशकीय रहेको छ । कृतिकारका स्व. मातापिताप्रति समर्पण गरिएको छ । यसपछि ‘दोभानमा उभिएको हिउँको राप’ शीर्षकमा खेमराज पोखरलेलको भूमिका रहेको छ । कृतिकारको ‘आत्माभिव्यक्ति’ शीर्षकमा रचनागर्भ तथा धन्यवाद खण्ड छ । जम्मा ५९ ओटा लघुकथाको कथाक्रम छ । यसरी मूल पाठबाहेकका सामग्रीहरू विनिर्माण गरिएका छन् ।
विषयवस्तुका हिसाबमा ‘हिउँको राप’मा सङ्गृहीत लघुकथाले विविधता अँगालेका छन् । राजनीतिक असङ्गति, विकृतमाथि प्रहार तथा राष्ट्रियताको नवीन व्याख्या गरिएको छ । भाषणमा अमेरिकी साम्राज्यवाद भन्दै उसैका सामु लम्पसार पर्ने नेपाली राजनीतिक नेताका प्रवृत्तिका विरुद्ध व्यङ्ग्य प्रहार गरिएको छ ।
यसैगरी राजनीतिक पार्टीले कर्मचारी तन्त्रमा पारेको प्रभावमाथि चिन्ता व्यक्त गरिएको छ । चुनावमा हुने छलछाम बेथितिमाथि व्यङ्ग्य छ । सहिदका बाआमाको दर्दनाक तथा विपर्यास अवस्थाप्रति चिन्ता र चासो राखिएको छ । नेपालको राजनीतिक परिवृत्तमा उदाएका नयाँ टुक्रे राजाप्रति व्यङ्ग्य गरिएको छ ।
सर्जक कुसुमाकर शर्मा गौतमका लघुकथामा राजनीतिक विषयमा मात्र व्यङ्ग्य छैन । भ्रष्टाचारले गाँजिएको नेपालको राजनीतिक तथा कर्मचारी तन्त्रमाथि पनि प्रहार गरिएको छ । कर कार्यालयको घुसखोरी प्रथामाथि व्यङ्ग्य गर्दै राजनीतिक मुखुन्डाको आधारमा गरिने भ्रष्टाचार तथा त्यसले व्यक्तिको व्यक्तित्वको स्खलन गरेको कुरा पनि छ । आलोपालो सरकारमा गएर भ्रष्टाचार गर्ने नेपालको वर्तमान प्रणालीमाथि चिन्ता व्यक्त गर्दै प्रहार गरिएको छ ।
यसैगरी भाषा, संस्कार तथा संस्कृतिको संवर्द्धनका लागि आह्वान गरिएको छ । विदेशमा पनि नेपाली राजनीतिको गुटबन्दीले नेपाली भाषा, संस्कृति तथा सभ्यतालाई पारेको प्रभावका बारेमा अत्यन्त चिन्ता गरिएको छ । यसबाहेक बाग्मतीको प्रदूषित पानी खाएर बिरामी परेको जस्तो कथावस्तुको सादृश्यमा धार्मिक अन्धता अभिव्यक्त भएको छ । ज्योतिषीको भविष्यवाणी माथि व्यङ्ग्य छ । सम्मान किन्नु पर्ने वर्तमान अवस्थामाथि प्रहार गरिएको छ । महत्त्वपूर्ण कुरा जिन्दगीको गन्तव्य कहाँसम्म ? भन्ने प्रश्न उठाइएको छ ।
स्कुल र बालमनोविज्ञानको प्रसङ्ग उठाउँदै स्कुललाई राजनीतिक क्याडर बनाउने कारखाना बनाएको प्रति घोर असन्तोष छ । शिक्षक आफैँ फेल भएको यथार्थ छ । साथीसाथी बिचको आत्मीय सम्बन्धको सकारात्मक पाटोको चर्चा गरिएको छ । खादा प्रणालीमाथि व्यङ्ग्य छ ।
संग्रहभित्र सामाजिक जनजीवनलाई पनि प्राथमिकता दिइएको छ । विधवाको रङ्गिन जीवनको सकारात्मक कल्पना गरिएको छ । प्रविधिको विकासले पुरानो पुस्तालाई बुख्याचा बनाएको तथ्य प्रकट गरिएको छ । महिलाको खास अस्तित्व केलाउन सक्षम भएका छन् लघुकथा । समयको मूल्य चिनाएको छ लघुकथासंग्रहले ।
पेट्रोल, पुस्तान्तरण, डिमेन्सिया रोग लागेका वृद्धको अवस्था, जीवनमा पानीको महत्त्व, प्रविधिको अपचलन तथा बालश्रमको बेथिति देखाउँदै व्यङ्ग्य प्रहार गरिएको छ । बालश्रमको विरोध गर्ने नै बालश्रम गराउने छन् ।
‘हिउँको राप’ मा धेरै सशक्त विशेषताहरू अन्तर्निहित छन् । पहिलो र सबैभन्दा दर्बिलो विशेषता भनेको शीर्षकीकरण हो । कृतिभित्र समेटिएका लघुकथाका एउटा शीर्षकलाई तानेर कृतिकै शीर्षक बनाउने प्रचलन पुरानो हो । यसले सङ्ग्रहभित्रका सबै लघुकथाहरूलाई न्याय दिन सक्दैन । यो कुरालाई हृदयाङ्गम गरी कृतिभित्रका लघुकथाको शीर्षकबाहेकको अलग्गै र गम्भीर प्रकृतिको शीर्षक चयन गरिएको छ ‘हिउँको राप’ । हिउँको जाडोमा सेकिएर लेखिएका छन् लघुकथा । याने जीवन नै एउटा राप हो हिउँको भन्ने विहङ्गम अर्थ लगाउन सकिन्छ । त्यसैले विशिष्ट शीर्षक रखाइ यो कृतिको महत्त्वपूर्ण तथा अनुकरणीय विशेषता हो ।
लघुकथाकारको मुकाम क्यानडा भए पनि विषयवस्तुका हिसाबमा नेपाली समाज, नेपाली राजनीतिक अवस्थाको चित्रण छ । अर्थात् अधिकांश लघुकथाको कथ्यको कार्यपीठिका नेपाल नै छ । क्यानडामा पुगेर बसेर पनि नेपालको बारेमा चिन्तन गरेको देखिन्छ । यद्यपि एकाध लघुकथाले वैदेशिक जीवनका पाटा उजागर नगरेको भने होइन ।
कथानक स्रोतका आधारमा हेर्दा ‘हिउँको राप’ कृतिका लघुकथाको स्रोत सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक धरातल छ । यद्यपि कृति कुनै खास वादका आधारमा लेखिएको होइन; तथापि यथार्थवादी चिन्तन देखिन्छ । चरित्रका आधारमा चरित्रप्रधान तथा परिवेशप्रधान छन् लघुकथा । शैलीका आधारमा हेर्दा कतै वर्णनात्मक, कतै आत्मकथात्मक, कतै संवादात्मक वा नाटकीय शैली अपनाएको देखिन्छ । प्रभावजन्यताका आधारमा प्रतिध्वन्यात्मक छन् लघुकथा । बुनौटका आधारमा सरल छन् । प्रवाहका हिसाबमा व्यङ्ग्यात्मक तथा तिब्रता छ । प्रथम पुरुष तथा अन्य पुरुष दृष्टिविन्दु प्रयोग भएको छ । लघुकथाको आयाम सङ्क्षिप्त भए पनि यसमा कथानक, सहभागी, परिवेश, उद्देश्य, दृष्टिविन्दु, भाषा शैलीय विन्यासजस्ता कथा वा आख्यानका संरचक घटक वा तत्त्वहरू समावेश गरिएको छ । यो लघुकथाकृतिमा आख्यानका यी तत्त्वलाई हेक्का राखिएको छ । मानव तथा मानवइतर पात्रको प्रयोग भएको छ । यसरी लघुकथाकृति ‘हिउँको राप’ले लघुकथाका विशेषतालाई जगेर्ना गरेको छ ।
कुसुमाकर शर्मा गौतम कुशल तथा चिन्तनशील लघुकथाकार हुन् । उनको यो कृतिमा भरमग्दुर सादृश्य शैली अपनाएको देखिन्छ । एउटा दृश्य देखाउने अर्को कुरा भन्ने शैली नै सादृश्य शैली हो । भाँचिएको र जोडिएको लाहुरे फूलको सादृश्यमा आफ्नो विकलाङ्ग छोराको सुन्दरता देख्ने कथानक छ जसमा सादृश्य शैलीको प्रयोग गरिएको छ ।
शीर्षकमा लघुत्व तथा कौतुहलता, उठानमा आकस्मिकता, विकास चरणमा संक्षिप्तता तथा वक्ररेखीय तीव्र बहाव, उत्कर्षमा चुस्तता कुसुमाकर शर्मा गौतमका विशेषता हुन् । बिम्ब प्रयोग गर्न सिपालु छन् । समापनमा विवृत तथा संवृत दुवै समापन देखिन्छ । यद्यपि विवृत (खुला) समापन नै लघुकथाको लागि राम्रो मानिन्छ । यसैगरी उनका केही लघुकथामा बीज वाक्यको निर्माण पनि भएको छ ।
मुद्दाका हिसाबमा ‘हिउँको राप’ मा नवीनता देखिन्छ । मान्छेको गन्तव्य, मान्छेको अस्तित्व, राष्ट्रियताको इस्यु याने पुनर्व्याख्या गर्नु पर्ने तथा प्रविधिको प्रयोगका बारेमा चिन्ता जस्ता नवीन विषय समावेश गर्नु कृतिको विशेषता हो । भाषामा आञ्चलिकता छ । नाममा नै अर्थ प्रदान गर्ने शैली देखिन्छ । खुसी र समृद्धिका लागि पात्रका नाम पनि खुसी र समृद्धि नै राखिएको छ । प्रस्तुति सरल र बोधीय छन् । रोचकताका लागि स्वैर कल्पनाको पनि प्रयोग गरिएको छ
विदेशमा नेपाली संस्थाको बेथिति देखाइएको छ । सदस्यता किनेर भए पनि चुनाव जित्नु पर्ने नेपाली मानसिकता विदेशमा पनि विद्यमान रहेकोप्रति व्यङ्ग्य प्रहार छ । सायद लघुकथाकारको यो भुक्त अनुभूतिको अभिव्यक्ति हो । यसबाहेक नेपाली सहरिया तथा गाउँसमाजका सूक्ष्म घटना सन्दर्भलाई विषय बनाइएको छ । पारिवारिक समस्या र मान्छेका वैयक्तिक कमजोरीको चित्रण छ । यसरी संग्रहमा विविध विशेषता देखिन्छ ।
धेरै होसियारीपूर्वक लेखिएको तथा सम्पादन भएको कृति हो यो । लघुकथाहरू बान्किला बनेका छन् । त्यसो भएकाले मिहिन तरिकाले हेर्दा मात्र केही तलवितल भेटिन्छ । कतै कथानकको ओजमा, कतै रूपविधानको लयमा केही सुधारका गुञ्जाइस् देखिन सक्छन् । यद्यपि कमीकमजोरी भन्नु पनि स्वाभाविक हो । किनभने यो संसारमा पूर्णता सम्भव कुरा नै होइन । त्यसैले मैले भन्ने गर्छु कि संसार अपूर्ण छ, त्यही अपूर्णताभित्र पूर्णता खोज्नु छ । पाउनु फेरि अपूर्णता नै हो । यति बेला हेगलको सिद्धान्त सम्झेको छु । थेसिस-एन्टीथेसिस-सिन्थेसिस । वाद-प्रतिवाद-संवाद । फेरि संवाद वादमा रूपान्तरण हुन्छ र सो सर्कल चलिरहन्छ । लघुकथाको तलबितल भन्नु पनि त्यही हो ।
अर्कोतिर कुनै पनि कृतिभित्रका तलबितलका बारेमा बुझ्नु-बोल्नु वा लेख्नु द्रष्टाको चेतीय कुरा पनि हो । एक पाठकका रूपमा भन्नै पर्दा कतिपय लघुकथाको थिम एकातिर शीर्षक अर्कोतिर भएको जस्तो लाग्छ । उदाहरणका लागि ‘अङ्ग्रेजी माध्यम (पृ. २)’ लघुकथालाई लिन सकिन्छ । लघुकथाको थिम आफ्नो कोखको महत्ताको कुरा छ । शीर्षक भने अङ्ग्रेजी माध्यम राखिएको छ । यसैगरी केही लघुकथामा तादात्म्य नमिलेको हो कि भने झैँ पनि लागेको छ । कथ्य प्रयोजनले कृतिशीर्षक ओजलाई पछ्याउन प्रयत्न गरेका छन् ।
अर्को कुरा कथ्य प्रस्तुत गर्दा सो विषयमा पर्याप्त चिन्तन मनन गरियो कि गरिएन भन्ने कुरा भन्न पनि गाह्रो भएको छ । लघुकथाकार आफैँ डायस्पोरामा मुकाम बनाएर बसेका छन् । त्यसो भएकाले कथावस्तु डायस्पोरिक भएको भए हुने भन्ने विचार पनि आउन सक्छ ।
लघुकथामा बीज वाक्य वा विचार वाक्य बनाउनु चुनौती हो । किनभने सङ्क्षिप्तताभित्र सर्वाङ्गपूर्णता, एकोन्मुखता, सूत्रात्मकता, प्रभावोत्पादकता, तीव्रता, विवृत समापन, कौतुहलता, रहस्यमयता आदि लघुकथाका विशेषता र पहिचान हुन् । यिनै कुराहरूको समन्वितिबाट लघुकथामा विचारवाक्यको प्रादुर्भाव हुन्छ । यो आधारबाट हेर्दा कृतिभित्र समेटिएका लघुकथाहरू सालाखाला छन् । कतै बीज वाक्य भेटिन्छन् भने कतै समापन वाक्यले मात्र काम चलाएको देखिन्छ ।
यसो भएकाले लघुकथाकार गौतमको व्यक्तिगत अध्ययन, चिन्तन, मनन तथा हेराइले अर्को लघुकथासंग्रह प्रकाशन हुँदा कथावस्तुमा ओज, प्रबल प्रभावजन्यतालाई केन्द्रमा राखिने छ भन्ने आशा गरेको छ । यसैगरी समापन वाक्यका ठाउँमा बीज वाक्यको निर्माण तथा संवृत समापनका सट्टामा विवृत समापन बनाउने यत्न होस् भन्ने सुमधुर कामना गर्दछु । यद्यपि यो कार्य सरल भने होइन ।
व्यक्तिगत रूपमा विज्ञान पढेका विद्वान साहित्य सिर्जनामा लाग्दा अब्बल हुने गरेको अनुभूत हुन्छ मलाई । किनभने ती साहित्यकारमा सामान्यतया ‘कज एन्ड इफेक्ट’ को शैलीले होला घटनालाई यसरी नै हेरिएको पाइन्छ । कृतिकार कुसुमाकर गौतममा पनि विषय वा घटनालाई कज एन्ड इफेक्टको आधार समात्ने शैली देखिन्छ । वास्तवमा कुनै विचार वा घटनालाई ‘डाउट’ याने सन्देह गरेर तर्क तथा चिन्तन मननका आधारमा लेखियो भने कृतिमा गम्भीरता आउने कुरा पक्का हुन्छ । यो कुरा डा कुसुमाकर शर्मा गौतमलाई झन् सजिलो विषय हो ।
प्रस्तुत कृतिमा विषय वा विचारलाई सकेसम्म चिन्तन गर्ने प्रयत्न गरिएको छ । विषयलाई लयात्मक तरिकाले प्रस्तुत गर्दै खरो चिन्तन गरिएको छ । पाठकले यो कृतिबाट पुरापुर स्वाद लिनु हुने छ । अर्कोतिर लघुकथा लेख्दै गर्नु भएका साहित्यकारहरूको लागि रूपविधान निर्क्यौल गर्न वा बुनौटमा सहयोग प्राप्त गर्न यो कृति अब्बल रूपमा सहयोगी हुने कुरामा म विश्वस्त छु ।
र, अन्त्यमा, कृतिकार मित्र डा कुसुमाकर शर्मा गौतमको अर्को घच्चीको लघुकथा कृतिको शुभकामना अर्पण गर्दछु र यो कृतिको सफलताको कामना गर्दछु ।
सान मार्कोस, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।