भाषाशास्त्र, अनुसन्धान, समालोचना र सिर्जनात्मक लेखनमा निपुणता हासिल गरेका विद्वान सुकुम शर्माको हिमालमुनिको गाउँ एक प्रयोगधर्मी उपन्यास हो । यो उपन्यास वि.सं. २०७५ मा प्रकाशित भएको हो । हिमालमुनिको गाउँ उपन्यासमा शर्माले शोधलेखन (Research Writing) को ढाँचामा सिर्जनात्मक लेखन गरेका छन् ।

सुकुम शर्मा

सुकुम शर्मा

शर्मा त्रिभुवन विश्वविद्यालयमा नेपाली केन्द्रीय विभागका सहप्राध्यापक हुन् । उनले विश्वविद्यालयमा महत्त्वपूर्ण प्रशासनिक जिम्मेवारी समेत समाल्दै आएका छन् । शर्माका भाषाशास्त्र, समालोचना र सिर्जनात्मक लेखनका दर्जनौँ पुस्तकहरू अप्रकाशित अवस्थामा रहेका छन् । शोधकार्यको प्रारूपसँग परिचित विद्यार्थी, अध्येता र अनुसन्धाताका निम्ति यो निकै रुचिकर उपन्यास हुन सक्छ ।

शर्माले यो उपन्यासमा एकातिर शोधकार्यको संरचनात्मक बान्कीमा औपन्यासिकताको प्रविष्टि गराएका छन् भने अर्कोतिर ग्रामीण अन्तर्विरोधहरू भित्राएका छन् । सैद्धान्तिक कुराको बेवास्ता गरेर पनि एक शक्तिशाली सिर्जनात्मक कृतिका रूपमा हिमालमुनिको गाउँ पढ्न सकिन्छ । यो उपन्यासमा ग्रामीण लोकलय, लोकजीवन र लोकभाषाको निकै उच्च सौन्दर्य प्रस्फुटित भएको छ । समाजका चलनचल्ती र अन्तर्विरोधहरू पनि उपन्यासमा उजागर भएका छन् । हिमालमुनिको गाउँ  साहसिक प्रयोग भएको उपन्यास हो ।

साहित्यिक यात्राको कथानकभित्र लेखिएको यो उपन्यासमा सात जनाको यात्रा समूहले हिमालमुनिको नेपाली गाउँ भ्रमण गर्दछ । यो भ्रमणको परिधिभित्र उपन्यासकारले सामाजिक जीवनका अनेकौँ जटिलता र विरोधाभास फेला पार्दछन् । हेराइको मार्क्सवादी दृष्टिकोण प्रयोग गरिएको यो उपन्यासमा मानव जीवन र श्रमलाई केन्द्रमा राखिएको छ । काव्यिक र दार्शनिक भाषाको समवेत प्रवाहले पठन अनुभव पृथक् प्रतीत हुन्छ ।

हिमालमुनिको गाउँ उपन्यासभित्र शोधकार्यको संरचनामा सात ओटा अध्यायहरू छन् । शोधकार्यको संरचना भन्नेबित्तिकै पाठकका मस्तिष्कमा प्राविधिकताको भय जन्मन सक्छ । शोधलेखन र सिर्जनात्मक लेखन फरक फरक क्षेत्र हुन् । यी दुवैका आ–आफ्ना सीमा, सामर्थ्य र माग हुन्छन् । उपन्यासकार सुकुमले लचिलो रूपमा शोधलेखनको संरचना प्रयोग गरेका छन् । त्यसकारण शोधलेखनका अवयव बुझेर वा नबुझेर दुवै रूपमा यो उपन्यास पठन गर्न सकिन्छ ।

 

उपन्यासभित्र ‘सीमा’ खण्डमा सुकुमले लेखेका छन्, “… पहिलो अध्याय विषय परिचय, दोस्रो अध्याय सैद्धान्तिक सन्दर्भ, तेस्रो, चौथो, पाँचौं र छैठौं विश्लेषण अनि सातौँमा निष्कर्ष दिइएको छ ।” सोही खण्डमा उपन्यासकारले केही सैद्धान्तिक बहस उठान गरेका छन् । चिन्तनको उत्तरआधुनिकतावादी पाठशालाले महाआख्यान र विचारको केन्द्र भत्किएको दावी गर्छ । सुकुम शर्मा यो दावीलाई अस्वीकार गर्छन् । मार्क्सवादी दृष्टिकोणबाट उनी लेख्छन्, “बाह्य संरचनाको नवीन खोजी हुँदा अन्तर्वस्तु भने पुरानै हुन सक्छ तर यो वर्गीय द्वन्द्वभित्रै समाजको आधार हो ।”

मार्क्सवादी परिधिभित्रै उनी सिर्जनात्मक प्रयोगको सम्भाव्यता औँल्याउँदै लेख्छन्, “सिर्जनात्मक प्रयोग नगरेर सफल हुनुभन्दा सिर्जनात्मक प्रयोग गरेर असफल हुनु राम्रो हो ।” समय र परिस्थितिअनुसार विचारमा परिमार्जन र नवीनता आवश्यक हुने कुरा उनी यसरी लेख्छन्, “आजको विचारका लागि शास्त्रीय झापड सह्य छैन बरु आजको शास्त्र निर्माणको चुनौती र कहरको प्रसव पीडा छ ।”

हिमालमुनिको गाउँ

हिमालमुनिको गाउँ

‘हिमालमुनिको गाउँ’ उपन्यासमा सात ओटा अध्यायमध्ये पहिलो अध्यायको नाम ‘अस्तित्व’ हो । यो परिचयात्मक खण्ड हो । यो खण्डमा उपन्यासकार शर्माले हिमालमुनिको गाउँमा लेखकहरूको समूहको यात्राको तयारी उल्लेख गरेका  छन् । सात जनाको साहित्यिक यात्री समूहमा कवि, नाटककार, कथाकार, निबन्धकार, आलोचक आदि हुन्छन् । उनीहरू व्यक्तिगत भिन्नताभित्र सामूहिक एकत्व स्थापित गर्न चाहन्छन् । साहित्यकारहरू कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ धमलाले निकै वर्ष अगाडि यस्तै सामूहिक एकत्वलाई इङ्गित गर्दै नेपाली साहित्यमा विलयन लेखनको घोषणा गरेका थिए । सुकुमका सबै पात्रहरूको उद्देश्य हिमालमुनिको गाउँमा जीवन र प्रकृतिको अध्ययन गर्नु रहेको पाइन्छ ।

पहिलो अध्यायमा नै उपन्यासकारले गाउँको चौतारीमा विधवा पहिरन लगाएकी एक अधबैँसे महिलासँग भेट भएको जनाउँछन् । ती महिलाको ‘जिन्दगी चलाउन साह्रो रहेछ’ भन्ने वाक्यांशलाई नै उपन्यासकारले सम्पूर्ण लेखनको बीज वाक्यका रूपमा लिएका छन् । उपन्यासका अन्य अध्यायहरूले यही बीज वाक्यलाई प्रमाणित गर्ने गरी गाउँका कठिनता र विरोधाभास प्रस्तुत गरेको पाइन्छ । उपन्यासभरि नै ‘जिन्दगी चलाउन सारो रहेछ’ भन्ने वाक्यांश पटक पटक दोहोरिरहन्छ । यो वाक्यांशले थेसिस स्टेटमेन्टका रूपमा काम गरेको छ ।

दोस्रो अध्याय ‘शब्दविम्ब’ मा उपन्यासकारले खुकुलो रूपमा सैद्धान्तिक आधार तयार गर्न खोजेका छन् । शोधलेखनको खुकुलो संरचनात्मक बान्कीमा शर्माले ती गाउँले विधवा दिदीको वाक्यांशलाई लिएर त्यसकै आधारमा विश्लेषण, तथ्य प्रस्तुति र निष्कर्षको अभ्यास गर्ने योजना बनाएको पाइन्छ । तेस्रो अध्यायको शीर्षक ‘लयसँग’ भन्ने रहेको छ । यो अध्यायमा उपन्यासकारले मुक्तक, लामो कविता, शास्त्रीय छन्द र विभिन्न लोक लयहरूमार्फत गाउँको जीवन र प्रकृतिबारे चर्चा गरेका छन् । यो अध्यायमा पनि तिनै विधवा दिदीसँगको संवाद र सन्दर्भ छ । लोकलयका आलम्बमा मार्मिक अभिव्यक्तिहरूको प्रस्तुतिले यो अध्यायलाई एकातिर काव्यिक बनाएको छ भने अर्कोतिर गरिबी र दुःखका थुप्रै दृष्टान्तहरूको सङ्ग्रहजस्तो बनाएको छ ।

उपन्यासको चौथो अध्यायको शीर्षक ‘अभिनयसँग’ भन्ने छ । यो अध्यायमा पनि लयात्मक रूपमा लोक संवादको शैली प्रयोग गरेर ग्रामीण जीवन बचाइका उपक्रमहरू उद्घाटित गरिएका छन् । लय र अभिनय मानव जीवनमा अन्योन्याश्रित भएर बस्छन् भन्ने प्रकारको भाव व्यक्त भएको छ । यो अध्यायमा कर्मचारी, लाहुरेको गाउँ आगमनको कथा, लैङ्गिक विभेदजस्ता विषयहरू आएका छन् ।

उपन्यासको पाँचौं अध्यायको शीर्षक ‘कथनसँग’ भन्ने छ । उपन्यासकारले यो अध्यायमा सूत्रकथा, दन्त्यकथा, उपन्यासको अंश आदिका माध्यमबाट गाउँघरभित्रका दुःखसुख र अन्तर्विरोधलाई मुखरित गरेका छन् । ‘विचारसँग’ भन्ने अध्याय उपन्यासको छैठौं अध्याय हो । यो अध्याय निबन्धको बान्कीमा लेखिएको छ । ‘पुन छुट’ भन्ने अध्याय हिमालमुनिको गाउँ उपन्यासको अन्तिम अथवा निष्कर्ष अध्याय हो । यो अध्यायले साहित्यमा नयाँ विधाको सम्भाव्यतालाई सङ्केत गरेको छ । उपन्यासकारले अनागतका मित्रहरूलाई सम्बोधन गर्दै भनेका छन्, “यस पाठलाई मनन गरेर तपाईँले पुनः निर्माण गर्दा म कुनै पनि प्रतिलिपि मुद्दा दायर गर्दिनँ” (११४) ।

सुकुम शर्माको यो लेखन (उपन्यास) उत्तर–मार्क्सवादी (नव–मार्क्सवादी) पाइला हो । यसले विरोधाभासहरूको पुलिन्दालाई केन्द्रमा राखेर नै उत्तरआधुनिकताले भनेको अनन्त सम्भावनालाई स्वीकारेको छ । विश्लेषणको केन्द्रमा द्वन्द्व र जीवन चलाउन साह्रो भएका मानिसहरूलाई राखेको छ । यो उपन्यासले एकातिर उत्तर–मार्क्सवादी प्रयोग गरेको छ । अर्कोतिर यसले शोधलेखनको लचिलो संरचना अवलम्बन गरेको छ । सुकुम शर्माको यो उपन्यास मार्क्सवादी दृष्टिकोणबाट लेखिएको एक प्रयोगधर्मी उपन्यास हो ।

शर्माले यो पुस्तकमार्फत उपन्यास लेखनमा उत्तर–मार्क्सवादी शैली र शोधलेखन शैलीलाई लोभलाग्दो  काव्यिक तागतसहित एकैपटक साहसिक प्रक्षेपण गरेका छन् । यो उपन्यासले गम्भीर र धैर्यवान् पाठकको अपेक्षा गर्दछ ।