नेपाली गजल पारखी हुनु अनि प्रदीप रोदनको नाम नसुन्नु असम्भव छ । नेपालका गाउँ गाउँमा प्रदीप रोदन लोकप्रिय छन् भन्ने सुनिन्छ । तर स्वयं प्रदीपलाई थाहा नहोला, उनी नौ डाँडा पारी साहित्यको विकास नभएको बर्मा र थाइल्याण्डका नेपाली भाषीबीच पनि लोकप्रिय छन् । बर्मा र थाइल्याण्डका गजलप्रेमी नेपालीभाषीहरू पनि प्रदीपका गजलमा मोहित हुने गरेका छन् ।

मैले पनि गजलकार प्रदीप रोदनलाई फेसबुकमा पोस्ट गरेका गजलका शेरहरूबाट चिनेको हुँ । उनका गजल फेसबुकमा यति धेरै पटक सेयर हुन्छन् कि ती बतासिंदै बर्मा र थाइल्याण्डका नेपालीहरूका भित्ताहरूमा आइपुग्छन् । उनले सामाजिक सञ्जालमा गजलको एक अंश मात्र पोस्ट गरे पनि त्यो एक अंशले पुरा दिन सोचाइमा घचेटिरहन्छ । सायद यही कारण हो, उनका एक शेर गजल पनि भाइरल भइरहन्छ ।

यस्ता लोकप्रिय गजलकारको पुस्तक प्रकाशन भएको खबर मसम्म पुग्न समय लागेन । उनका एक टुक्रा गजल पाउन त प्रतीक्षा गरिरहने शुभचिन्तकलाई सिंगै किताब निस्कनु कम्ता खुसीको कुरा थिएन । तर नेपालबाट बर्मा र थाइल्याण्डमा नेपाली पुस्तक मगाउनु निकै ठूलो परिश्रम गर्नु हो । सायद यही कारण कोही आफन्त इष्टहरू नेपाल पुगेको थाहा पाउँदा हामी ४–५ वटा पुस्तकको नाम दिन्छौँ । तर हातमा १–२ वटा मात्र हात पर्ने गर्छ । नियमित रूपमा गाह्रो नमानी नेपालबाट आउने र जानेको समाचार कुरिरहनु र मगाएका  मध्ये एक दुई पुस्तक पनि दुई चार महिनापछि मात्र हात पर्नुले हाम्रो धैर्यको बाँध टुटिसक्छ ।

मफलर

यस्तै अधैर्य प्रतीक्षा थियो, मफलरको । यसैबीच थाहा भयो, पुस्तकले ५० हजार रुपैयाँको साहित्यपोस्ट उत्तम काव्य पुरस्कार पनि पायो । सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको लहर नै चल्यो । यस्ता दृश्यले कुन बेला किताब हात पारौँ र धीत मर्ने गरी उनका गजल चपाऊँ भन्ने लागिरह्यो ।

अब थाइल्याण्ड वा बर्माबाट को मान्छे नेपाल पुग्छ र उनीहरूको हातबाट मफलर प्राप्त गरौँला भनेर प्रतीक्षा गर्ने धैर्य रहेन । मामा नेपाल जाने कुरा थियो तर उहाँमार्फत छिटो छरितो तरिकाले हात पर्ला । नेपालमा मेरा शुभचिन्तकहरूको सम्झना गरेँ । सबैभन्दा पहिले नाम आयो, आदरणीय गुरु महेश पौड्याल र अर्को नाम याद आयो, बर्मामा सँगै साहित्य साधना गरिरहेकी मित्र तैँ तैँ धिताल ।

मैले तैँ तैँलाई सम्पर्क गरेँ । उनी बर्माबाट नेपाली भाषा साहित्य पढ्न नेपाल पुगेकी छन् । साहित्यपोस्टमा उनी भाषा र साहित्यको तालिम लिंदै छिन् र लेखनमा पनि प्रगति गर्दै छिन् । उनलाई भन्न पनि सजिलो र नेपाली साहित्यको मूलधारमा काम गरिरहेको अफिसमै भएकीले किताब प्राप्त गर्न पनि सजिलो ठानेर उनलाई सम्पर्क राखेँ ।

करिब १५ दिनभित्र किताब हात पर्यो । आफूले खोजेको नेपाली किताब  यति चाँडो हात परेको सायद पहिलो पटक थियो । हतारिएर पढ्न थाले । हरेक शेरमा सोचमग्न हुन थालेँ । के गरौँ कसो गरौँ भयो र केही लेखौँ भन्ने लाग्यो ।

तर उनको संग्रह र व्यक्तित्वबारे केही प्रतिक्रिया दिनु मेरो लागि ठूलो चुनौती बन्ने रहेछ । रपनि पुस्तक पढिसकेपछि त्यस पुस्तक बारे केही लेख्नु र आफ्नो क्षमताले भ्याएसम्म पुस्तकबारे धारणा राख्नु पाठक धर्म निभाए जस्तो लाग्दो रहेछ ।

के छ मफलरभित्र

मन परेको लेखकको गजलभित्र के छ भनेर खोज्नु गाह्रो ो काम रहेछ । बरु के छैन भनेर सोच्नुपर्ने भयो । रोदनका गजलहरूमा गरिबी, सरकार प्रतिको गुनासो थोरै प्रेम र अधिकतम प्रकृति र साधारण घरेलु विषयहरू उठाइएको रहेछ । शिक्षणलाई आय आर्जनको पेशा बनाएका र अध्यात्मको साधना गरिरहेका हुनाले पनि होला, उनी साना साना विषयहरूलाई उठाएर भव्य शेर जन्माउन सक्ने रहेछन् । उनको विशेषता भनेको शब्दहरूलाई यताउता खेलाएर शेरको निर्माण गर्छन् । जस्तो

बा हेर्नुस् त खाना पाइन्छ लेखिएको छ त्यहाँ

थाहा छ बाबु सित्तैमा पाइन्छ लेखिएको छैन (पृ ३)

 

मलाई सम्झेर निदाउनू भनिरहन्छौ तिमी

तिमीलाई सम्झिएपछि कहाँ निदाउन सकिन्छ । (पृ ६२)

 

आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ 

छोरो मरेको खबर आमालाई नसुनाइदिनुस् । (पृ ८०)

 

पानीले भिजाइरहेछ घामले सुकाएको लुगा 

पानीले भिजाएको लुगा घामले सुकाइरहेछ । (पृ ९२)

 

प्रकृतिको काखमा मान्छेहरू नाचिरहे पनि प्रकृतिलाई रोदनले उनका गजल मार्फत नचाइरहेका छन् । साधारण विषय भए पनि मानव जीवनसँग जोडिएका प्राकृतिक विषयहरूलाई उनले सरल रूपमा टिपे पस्किएका छन् ।  जस्तै :

 

केही फल खस्दा पनि खुसी लिनु पर्छ 

नत्र कमजोर हाँगाहरूले भाँचिनुपर्छ । (पृ २३) 

 

बिछोडमा हाँस्दै गएका मान्छे सम्झन्छु 

जब कुनै पात बोटबाट नाच्दै नाच्दै झर्छ । (पृ ३७)

 

नेपालमा जागिरको अभावले होला बिदेसिएका युवाहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको समाचार सुन्न पाइन्छ । तर बिदेसिएका युवाहरूको परिवारका दुख र उनीहरूको भावुकता मैले देख्न पाएको छैन । रोदनको गजलले ती दृश्यहरू आँखामा ल्याइदियो ।

गजल मूलतः प्रणयप्रिय हुनुपर्छ भन्ने मान्यता छ । तर उनका गजलमा मायाप्रेमका विषय कमै भेटिन्छन् । यद्यपि जति लेखेका छन् गहिरो लेखेका छन् ।

 

आफ्नै नाम र थर त छुट्टिएर बसेको छ

के सोच्दै छौ, के तिमी र म छुट्टिन सकिन्न ? (पृ ३१) 

 

प्रिया तिमीलाई भेट्न नै नपाई म मरेछु भने

मलाई भेट्नका लागि पनि तिमीले मर्नुपर्छ । (पृ ३३)

 

मायालाई मायाकै बराबरमा त राखौँला

प्रेमिकालाई आमाको बराबरमा के राख्नु । (पृ ५८)

 

फर्किएको देखेर मेरा खुसीका आँसु झरे

ऊ कहिल्यै नभेट भन्न फर्किएको रहेछ । (पृ ६१)

 

गजलका शेर मार्फत आफूले भन्न खोजेका कुराहरू सरल भाषा र मिजासिलो ढंगमा प्रस्तुत गर्ने रोदनको अरूभन्दा फराकिलो गुण मानिन्छ । प्रायः उनका शेरले पाठकलाई  आफ्नै शैलीमा बुझ्ने जिम्मेवारी पनि दिएको छ । जस्तै

गुहार माग्ने कुरा आउँदैन घाँटी नअँठ्याए

मित्र घाँटी अँठ्याएपछि फेरि आवाज आउँदैन (पृ २८)

 

काँडा त होस् तँ भन्छन् मैले नकोतरे नि

दोषी यसैउसै म सब कोतरेर जान्छु । (पृ ६८)

 

यसर्थ पनि मलाई ठूलो बन्ने रहर नलागेको हो 

हजारले बजार खुजुराले जति देख्न पाउँदैन । (पृ ८२)

रोदनका गजललाई अध्ययन गर्न पहिला गजलको अध्ययन गर्नु अत्यावश्यक देखिन्छ । कुनै गजलका अंंशहरू पढेर केही क्षण मौन बनाइदिन्छ । मुस्कुराउन बाध्य बनाउँछ । एक चोटि पढिसक्दा अगाडि बढ्न नसकी त्यही अंशमा विराम लागेर सोचाइमा लैजान्छ र मनमा प्रश्न उठ्छ रोदनले कसरी सोचे, कसरी लेखे, यी विषय त हरेकको आँगनमा भए पनि हरेकसँग रोदनजस्तो आँखा छैन । धेरै कुराले पुस्तकका पाना अगाडि सार्न रोकिरहेको हुन्छ । ती मध्ये यी अंशहरूले मलाई रोकिदिएका थिए ।

एकछिन पर्खिनुस् हतार नगर्नुस् हाँस्नलाई

म पछारिन लागेको हुँ, पछारिएको छैन ।

 

यहाँ पनि घडी मर्मत गरिन्छ लेखिएको छ

मेरो बिग्रिएको समय कहाँ मर्मत होला ? (पृ १२) 

 

मलाई थाहा छ म केवल एक धागो हुँ

घाउ सन्चो भएपछि मैले निस्किनुपर्छ । (पृ २३) 

 

जिन्दगीबाट निस्कन कहाँ सजिलो छ र 

खर्च नभए घरबाट त निस्किन सकिन्न । .पृ ३१)

 

उपचार नै नपाई मर्नेहरूको चिहानमा पनि

कोही आफ्नो अस्पतालको विज्ञापन गर्छ । ( पृ ३२)

 

हर साँझ गिलासमा सराब भर्न सक्छ छोरो

बाआमाको ओठमा हाँसो किन भर्न सक्दैन ? (पृ ३५)

 

यी दुई शेरले भने मलाई अन्योलमा पुर्याएको थियो ।

 

आज एउटै पहेलीले यसरी मारिदियो मलाई

हराएको चस्मा खोज्न पनि चस्मा लगाउनुपर्छ (पृ५२) 

 

हिजोसम्म छोइन्छ भन्दै हिँड्थ्यो गाउँको मुखिया

आमा किन अचेल मलाई सुमसुम्याएर हिँड्छ ? (पृ ५४)

 

रोदनले गजल मात्र लेखेनन्, पाठकलाई गजल पठनको गृहकार्य पनि दिएर गए । तर मैले बुझ्न नसकेको कुरा चाहिँ के रह्यो भने गजलको पुस्तकको नाम मफलर छ । तर मफलर भएको शेर १–२ वटामा मात्र मेरो आँखा पुग्यो  । पुस्तकको कौतूहल के थियो भने मफलर नाम किन रह्यो ? किन राखे र केलाई राखे भन्ने थियो । तर मेरो जवाफको उत्तर मिले जस्तो लागेन ।

यदि यो जाडोलाई न्यानो दिने सांकेतिक नाम हो भने थाइल्याण्ड जस्तो गर्मी देशमा बस्ने शुभचिन्तकलाई यो उपहार अलि कस्तो कस्तो लाग्ने ।

हुन त नाममा के नै छ र ? मेरालागि त १ सय ८ गजल र दर्जनौं शेरको मात जीवनभरि लागिरहनेछ ।