
गजल, मुक्तक, नयाँ विधा रम्बास र कवितामा रमाएकी गीताश्रीको तिखो कलमको धारमा “समयका रेखाहरू” कथासङ्ग्रह सन् २०२२-मा प्रकाशित भइसकेको छ ।
जनपक्ष प्रकाशनको सञ्चालन प्रमुख शर्मा आजको मितिमा सर्वजन परिचित नाम हो । साहित्यिक क्षेत्रमा जनपक्ष प्रकाशनले करिब चार दशकदेखि हजारौँ पाठ्यपुस्तक एवम् साहित्यिक कृतिहरूको प्रकाशन अनि अँध्यारोमा रहेका नवोदित अनेकानेक लेखकहरू तथा साहित्यकारहरूका कतिपय कारणले गुम्सिएर बसेका कृतिहरू उज्यालोमा ल्याएर प्रेरणा दिने काम उस दिनदेखि आजसम्म चलाएको देखिन्छ, नेपाली साहित्य संसारमा यो महत्त्वपूर्ण कुरा हो । निरन्तर साहित्य सेवामा जुटिरहेको अवस्थामा पनि गीता शर्मा न्यौपाने उर्फ गीताश्री शर्माले मुक्तक, रम्बास तथा कवितासंग्रह, र कथासंग्रह पाठकसामु ल्याउनु भनेको लरतरो कुरा होइन । अति नम्र, मिष्टभाषी, स्पष्टवादी र मिलनसार शर्माको कथासङ्ग्रहभित्र हामी सँगै क्रमैसँग अवलोकन गर्दै रमाऔं ।

समयका रेखाहरू
संग्रहको पहिलो कथा “अन्धविश्वास”मा अभेक गाउँको प्रचलित रीतिरिवाज, धार्मिक स्वतन्त्रता, रहन-सहन, खानपान आत्मकेन्द्रित परम्परागत विश्वासको आधारमा ज्योतिषी बाकहाँ जानु, उहाँको भविष्यवाणीअनुसार ठूली छोरीको ग्रह नमिल्ने हुनाले उसलाई मावलीको घर पठाउनु, तर सबै कुरा गरेपछि पनि सन्ते बिरामी पर्नु नै पर्ने स्थिति भयो र छोरी आएर सह्यार सुसार गर्नु, बाबुछोरी खुसी रहनु, पढ्नुपर्छ, नत्रभने म जस्तो हुनुपर्छ भन्नु,जस्ता वक्तव्यले, यस परम्परावादी अशिक्षित परिवारमा अन्धविश्वासको तुस मात्रै रहेको कुरा स्पष्ट हुन्छ ।
विश्वास राखिएको डाक्टरको सल्लाहअनुसार सन्ते राम्रो हुनु पर्ने थियो तर ढिलो भइसकेको कारण जाती भएन र समाजमा चलिआएको परम्परा र प्रवृत्ति पनि समसामयिक हुन्, भन्ने एक बौद्धिक सङ्केत दिन चाहेको कुरा छर्लङ्ग हुन्छ । कथामा ट्याम ( टाइम )अक्सिन (अक्सिजन) आदि जनजिब्रोमा पचेका अङ्ग्रेजी शब्दहरूलाई पर्यायवाचीको रूपमा प्रयोग गरिनु, यो पनि चियामा चिनी मिल्यास्तो भएको छ ।
“आराधना” कथामा गोविन्दको जीवन सत्यतापूर्ण थियो । उनले जीवनमा सत्य र न्यायको प्रत्याभूति अर्काको घरमा काम गर्ने कामदारको रूपमा बसेर पनि गरिछाडे, जीवनसँग लत्रक्क परेनन् । आफ्ना घमण्डी र संस्कारहीन छोरा-बुहारी केही दिन ठाँटबाँटसित बसे पनि पूर्वजन्ममा गोविन्दले कमाएको सुकृतिले नै भनौँ उनी गोमा र शिवको संस्कारपूर्ण सभ्य घरमा बस्न पुगे । आफूले नजन्माए पनि मायालु मनमुहार भएका संस्कार र संस्कृतिको आदर सत्कार पाए, गोमा जस्ती हृदयवान् नारीलाई बहिनीको सम्पर्कमा जोडिन पुगे, आफ्नोपन र माया पाउन आफैँले जन्माएका छोरा-छोरी नै हुनुपर्छ भन्ने उदाहरण यस कथाको विशेषता देखिन्छ ।
अर्को कथा “दिदी”मा जानकीले ठूलो कष्ट गरेर हुर्काएकी झुमाको मृत्युसंवादमा आधारित दिदी कथा हाम्रो समाजमा नारी कसरी बाँच्नु पर्थ्यो र यदाकदा आज पनि यस्तो परिणाम देख्नु परेकै छ । नाटकीय शैलीमा पहिले समाचार सम्प्रेषण अनि पछि घटनाको विवरण र परिणामस्वरूप कथा टुङ्ग्याउने शैली रमणीय छ । गाउँमा ढिकी-जाँतो, नाम्लो-दाम्लोदेखि ग्रामीण जनजीवनमा घर गरी खाने छोरी-चेलीको अवस्थामाथि न्यायपूर्ण प्रतिवादी स्वर उठाएको इङ्गित बुझ्नुपर्छ । लेखिका अत्यन्त समाज र समयसचेतन, अन्यायपूर्ण कार्यको प्रतिवाद गर्न तम्तयार छिन् यस कथामा ।
“दोषी को ?” कथामा दोषी नियति हो, दोषी मानिसको अहङ्कार र दुर्बल अज्ञात चित्त हो । एउटी नारी अनामिकाले जोडेको र निर्माण गरेको सकारात्मक प्रभावपूर्ण मैत्रीमय संसार भत्काउन एउटै नारी ललिता पर्याप्त भइन् । धेरै अमृत भए पनि, त्यसको अस्तित्व मेटाउन एक थोपा विष नै यथेष्ट हुन्छ भन्ने कुरा कथाकारले सङ्केत गर्छिन् लेखिकाले ।
“घर” कथामा भाले र पोथी भन्ने कुरा जोइपोइमा बजाइन्छ अनि पोथी बासेको घर भनेर नारीलाई धेरै अपमान र व्यङ्ग कसेको सुनिन्छ भन्ने कुरा देखाएको छ । कथा अर्थपूर्ण छ ।
अर्को कथा “खुसी” बालसुलभ कथा हो । यसमा खुसी नामकी बालिकाको चहलपहल, व्यवहार, आचरण, बालसुलभ, सरलतालाई आकर्षित शैलीमा प्रस्तुत गरिएको पाइन्छ । यसमा बालबालिकाको मनोवैज्ञानिक यथार्थवादी भावना स्पष्ट पारिएको छ । यसको आडमा नानीहरूले सबै मानिसलाई आफ्नो पार्ने सुन्दर संस्कार यस्तो हुनपर्छ भन्ने आभास दिलाउन कथाले प्रयास गरेको छ । खुसी कथा पढ्दा लाग्छ कतै यो घटना आफ्नै घरमा घटिरहेको त छैन ?
“नियत”- आजको अत्याधुनिक प्रविधियुक्त जीवन शैलीमा स्मार्टफोन सार्वजनिक भएको छ । वृक्षाले धरित्रीलाई स्मार्टफोनमा अभ्यस्त गराउँदै फेसबुकसम्म पुर्याउँदा कतै असुविधा भएको थिएन । यी नियतमा खोट नभएकाहरू थिए, तर फेसबुक पेजमा नियतमा खोट भएको भलाद्मी भनाउँदाले धरित्रीलाई निकै साह्रो गाह्रोमा पारिएको अनुभूत हुन्छ । मानिसको अनुहार, लत्ताकपडा अथवा प्रत्यक्ष रूपमा उसको भित्री उद्देश्य पर्गेल्न सकिन्न । व्यावहारिक रूपमा सचेत नभए मुखौटा लगाएका भलाद्मीसँग भेट हुन कति बेर पनि लाग्दैन । यो राम्रो साइबर कथा हो । मानिसले केही सास्ती खेप्नुपरेको प्रसङ्ग अलिकति जोडिदिन सके कथामा अझै सुनमा सुगन्ध थपिने थियो ।
“पितृ-प्रसाद” नयाँ चिन्तनको कथा हो । हाम्रो समाज व्यवस्थामा रहेका पण्डित बाजेको घरमा, कुलप्रसाद जस्ता छोरा धेरै नजन्मिए पनि त्यो स्वभाव लिएर जन्मेका कुलप्रसादको खाँचो भने छैन । एउटा चरित्रको आडमा लेखकले एउटै घरका अरू सबै चरित्रमाथि आफ्नो अभिव्यक्ति पोखेको छ र तुलसा छोरी यहाँ पितृ-प्रसादको रूपमा आफ्नो उन्नत भावना सहित प्रतिष्ठित भएकी छन् । पुरोहितको घरमा जन्मेको कुलप्रसादको यस्तो स्वभाव हुनु हाम्रो परम्परावादी समाजमा अनौठो कुरा हो । सानो कुरामा उठान गरेर कथाले नारीवादी चेतनाको सङ्केत तुलसीको माध्यमबाट प्रस्ट्याउने काम गरेको देखिन्छ ।
“समयका रेखाहरू” कथाले समय बलवान हुन्छ र समयका रेखाहरूले पत्थरमा कोरिएका रेखा झैं छाप छोडेको हुन्छ भन्ने कुरा प्रतिपादन गरेको छ । रमलालाई शिक्षित, साहसी, तत्पर र सद्गुण सम्पन्न भएको बलिष्ठ नारीको भनी चित्रण गरिएको पाइन्छ । रमलाको पति रविको आकस्मिक वियोगमा यो लोग्ने टोक्ने आइमाई भन्नेहरूको ताँती पनि उत्तिकै जुर्मुराएको हो, तर उसले समयलाई पर्खिएर धैर्य सहित समयको अपेक्षा गरिन्, पति वियोगको बेला कुसंस्कार र अतिवादी नीति नियमको युक्तिसंगत तर्क राखेर नारी मुक्तिको उद्घोष पनि गरिन् ।
आफ्नो परिवारसँग राम्रो सम्पर्क रहेको हुँदा देवर, सासू-ससुरा, भाइ-बुहारीको पनि उत्तिकै सहयोग हुँदा सरकारी जागिरमा पदोन्नति भइन् । गाउँमै प्रधान शिक्षिका भइन् । यहाँ एकजना अत्यन्त हृदयवान् सरकारी उच्च पदाधिकारीको सच्चरित्र पनि उज्यालिएको देखिन्छ । कथामा रमलाले मृतकको संस्कारको सूक्ष्म एवं आवश्यक सुधारका संकेतहरू दिएर यस कथालाई उत्तराधुनिक पर्यायमा प्रतिष्ठा दिलाएको छ भने गाउँको धनाढ्य साहुले देखाएको अतिवादको सही र औचित्यपूर्ण जवाब दिएर यस कथालाई अझै बढी श्रीवृद्धि गराएको छ । धेरै राम्रो समय उपयोगी, कतै कुनै पक्षमा दुर्बलता देखा नपरेको उत्तम रचना हो यो कथा ।
साथी, साथी भनिन्थ्यो, वहाँ जोडेर मित लाएर दुई घर-परिवारलाई एक बनाइन्थ्यो । बिहा व्रतबन्धदेखि मरौ–परौसम्म फैलिएको हुन्थ्यो यो सम्बन्ध । समयले कोल्टे फेर्दै आउँदा आज हाम्रो समाजको त्यो अमूल्य परम्परा दन्त्यकथा जस्तो भएको छ । त्यसभित्रको मानवीय गुण, आकर्षण र महत्त्व “साथी” कथाले पुनरुद्धार गर्ने प्रयास गरेको छ ।
“तीज” – तीजमा विवाहित महिलाले, आमा-बुवा, दाजु-भाइको घरमा (माइती) बोलाएर धर्मीय परम्परामा बाँधिएर रमाइलो गर्ने र पछि दिदी-बहिनीहरूले दाज्यू-भाइलाई आफ्नो घरमा बोलाएर भातृद्वितीयाको टीका लगाइदिने, यो धेरै परिकल्पनामा कुशलताको प्रवर्तन दिवसका रूपमा लिइन्छ । तर किन हो कौशिलाका माइतीले उनलाई निराशाजनक स्थितिमा ठेलेको हो । तर कौशिलाले भने आफ्नी नन्दलाई उत्तिकै आत्मीयतापूर्वक तीजमा समावेश गरेकी छन् । यो कथामा तीजको महत्त्वलाई स्पष्ट पारेको र निर्दयी माइतीको एउटा उदाहरण देखाइएको छ । स्कूल मास्टर्नीलाई पिजीटी लेखिएको कुरा सबै पाठकलाई बुझ्न गाह्रो पर्ला भन्ने लाग्छ । कथा प्रासङ्गिक र ज्ञानवर्धक छ ।
“यात्रा” कथामा यात्राले साथी दिन्छ, सङ्गत दिन्छ, ज्ञान दिन्छ, कुनै कुनै यात्राले कोही कोही अनुभवीलाई जीवनको नयाँ बाटोको अनुसन्धान गराउँछ भनी प्रस्तुत गरेको छ । यो यात्रामा कथाकारले पुरुष चालकसँग अर्की नारी चालकको प्रसङ्ग ल्याएर जोडिदिएकी छन् । बढी होसियारी साथ नारी–उन्मुक्ति विषय उठाइएको छ । समाजले यसलाई अँगाल्नुले सभ्यताको विकासमा श्रीवृद्धि हुन्छ भन्ने कुराको सन्देश दिएको छ ।
“मैले नजन्माएकी छोरी” – यो संसारमा कथाहरू यत्रतत्र छरिएका छन्, तिनलाई बटुलेर आफ्नो सीपले कथाको रूप दिन सकिन्छ । यी कुरा गीताश्रीको कथामा यत्रतत्र पाइन्छ । एउटा सामान्य निहुँ झिक्दै कलमको धारमा कुनै पनि कुरा शिल्प रूपमा उतार्ने कला यो कथामा ट्याम्म भरिएको छ । रगतको साइनो गाँस्नेहरूले बरु यत्तिको आत्मीयता कायम राख्न हम्मे पर्ला, आफन्तको बीचमा ईर्ष्या, द्वेष, क्लेश र कलहको भरमार देखिन्छ, तर रमाले आफूले नजन्माएकी छोरी नित्याले आफ्नो जन्मदाता भन्दा बढी आस्था र विश्वासका साथ आफ्नो विवाहमा कन्यादान दिने आग्रह गरेकी छ, यो संवाद नै धेरै महत्त्वपूर्ण रहेको छ । मानव मात्रको लागि यो सम्पर्क रगतको साइनो भन्दा बढी जोडदार होस्, कथाको रूप अब्बल छ ।
सानुबाट ऋषिसम्म पुगेर ठूलो भएको निष्पाप प्रेम कथा हो ‘अकल्पनीय संयोग’ । यस कथामा दुई परिवारको मिलन मात्रै होइन सिक्किमको भौगोलिक अवस्थिति, मुक्तक सृजना, तीर्थस्थान, गोर्खाल्याण्ड आन्दोलन एवं नेपाली भाषा स्वीकृतिसम्मकै छोटो मिठो आभास दिन कथाकार सफल भएकी छन् । कथामा सिङ्गो सिक्किम अटाउने प्रयास गरिएको छ । यस्ता कथा राज्यिक पाठ्यक्रमभित्र गाभिँदा उत्तरपिँढीले धेरै ज्ञान पाउँछन् भनी किटान गर्न सकिन्छ ।
“अनुभव” एक जवान शिक्षिकाको कथा हो । यसमा ती शिक्षिकाको कर्तव्यनिष्ठा, स्वच्छता, स्कूलमा अध्यापन मात्रै होइन घर, गाउँ, समाज र विद्यार्थीलाई शिक्षा मुखी पार्नु पनि हो भन्ने कुरा यहाँ स्पष्ट छ । उसमा बाह्र वर्ष उमेरमा बिहे भएर आएकी मैनालनी आमैको कथा पनि जोडिएको छ । कुनै पनि वयोवृद्ध मानिस उनको जीवनकालमा भोगेको अभिज्ञताले परिपूर्ण भएको हुँदा वाणीले नोट गरेका अनुभवी कुराले रचित उपन्यास “अनुभव” विमोचित हुन पुग्यो । एकजना सेवा निवृत्त शिक्षक रहेको हुँदा यस कथाले हृदय छोएर गएको छ, लाग्छ कसैले आफ्नो कुरा लेखिदिएको हो कि जस्तो ।
“लोकन्ते” – हिजोआज शहरीकरणको होडमा, लोकन्तेको महिमा विलयमान जस्तो लाग्छ । कति रमाइलो, कति आनन्ददायक हुने गर्दथे । बिहा-बटुलोमा हुने तरुनतरुनीका प्रसङ्गहरू । त्यस बेला सबै कुरा मर्यादाभित्र हुने गर्दथ्यो, मनपर्यो भन्दैमा छाडापन थिएन, पवित्रता सर्वोपरि मानिन्थ्यो । लोकन्ते भएर गएका मदन र लोकन्ते भएर आएकी सदीक्षा तीन दिनसम्म गाउँमा नै थिए, कुनै बाराबार थिएन तापनि प्रेमको नाममा उनीहरूले मानवीय मूल्यबोधको उलङ्घन गरेनन् । बुढेसकालमा सञ्चार माध्यमले जोडाएर उनीहरूको मानसिक पुनर्मिलन हुनु दैवसंयोग मान्नुपर्छ । गाउँठाउँमा यस्ता अनेकन् घटना सुन्न पाइन्छ । तर कथाकारले आफ्नो शिल्पद्वारा यो साधारणतया अधिकांश ठाउँमा लुकेको व्यथा कथाको रूपमा उपस्थापन गरेर धेरैको चित्त बुझाउन सकेको छ भन्ने लाग्छ ।
यस संग्रहभित्र लोप हुन लागेका शब्दभण्डार बग्रेल्ती प्रयोग भएका छन् । हामी नेपालीहरूको संस्कृति र परम्परा शनैः शनैः लोप हुन गइरहेको भय कथाकारमा देखा पर्दछ । विज्ञानले भित्र्याएको आधुनिक उपकरण प्रयोगमा आउनअघि एक अर्कामा समाचारको माध्यम चिठी मात्र नै हुने गर्दथे, चिठी पठाएको महिनापछिको यावत समाचार प्राप्त हुने गर्थ्यो, यसमा पनि कोही परलोक भएर पठाइएको चिठी धागोले बाँधेर पठाइन्थ्यो अनि पाउने व्यक्ति अनपढ नै भए पनि चिठी देख्नेसाथ कोही मरेको समाचार रहेछ तुरुन्त बुझेको हुन्थ्यो । यस प्रकारका हाम्रा परम्परा, रीतिथिति, संस्कार र संस्कृतिलाई बचाइराख्ने विनम्र आग्रह यस कथासङ्ग्रहमा कथाकारले गरेर सम्पूर्ण नेपाली समाजलाई चनाखो पारेकी छन् ।
प्राय: कथाहरू लघु उपन्यास नै पढेजस्तो लाग्छ । यी कथाहरूमा मनोरञ्जन छ, वियोग पाइन्छ, संयोग यसको मूल उद्देश्य हो भने आफ्ना पौराणिक परम्परा र चल्दै आएका भोगचलनमा पनि यावत राखेर समयले दिएको अत्याधुनिक विज्ञान भित्र्याउन सकिन्छ भन्ने कथाकारको आशय देखिन्छ ।
जीवनपरक यस कथासंग्रहमा वर्णन शैली अत्यन्त सहज, सरल, अ कृत्रिम र ग्रामीण ठेट शब्दको व्यवहार मननयोग्य र पढ्न योग्य छ । कथा पढ्न आरम्भ गरेपछि नसकी पाठक किताब हातबाट झार्न सक्दैनन् । आफू जन्मेको, हुर्केको माटो सिक्किमप्रति धेरै झुकाउ, श्रद्धा र सम्मान कथाकारको पाइला पाइलामा अनुभव गर्न सकिन्छ ।
गीताश्री शर्माको “समयका रेखाहरू” कथासङ्ग्रह पठनीय र संग्रहनीय छ । कथाकारलाई आगामी साहित्यिक यात्राको लागि शुभकाना ।
आसाम



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

