विषय प्रवेश
साहित्य समाजको दर्पण हो भन्ने भनाइ सर्वत्र प्रचलित छ । साहित्यले समाजमा भएका देखिएका नदेखिएका विकृति र विद्रूपताहरू पाठकलाई देखाएर तिनलाई हटाउने आशय प्रकट गरेको हुन्छ ।अनेक वादहरू मध्ये अतियथार्थवादमा यस्तै विकृतिहरूको उल्लेख हुन्छ । यद्यपि यहाँ चर्चा गर्न लागिएको कथासङ्ग्रहको अतियथार्थवादका रूपमा होइन, विद्रूप पक्षको मात्र अध्ययन गरिएको छ ।
नेपाली साहित्यमा प्रदीप गुरुङ एक चिरपरिचित हुन् । उनी आख्यानकार तथा कवि हुन् । उनले ५ वटा कथासङ्ग्रह – असुरक्षित, यस्तै अनि यस्तै, बिरिमफूल, बैरीमाया र एक सब्तु प्रकाशन गरिसकेका छन् । उनको पहिलो सङ्ग्रहमा १० वटा, दोस्रोमा १९ वटा, तेस्रोमा १४ वटा, चौथोमा २२ वटा र पाँचौंमा १२ वटा सङ्कलित भएका छन् । कविता लामाले उनका कथाहरूमा निम्न वर्गीय मानिसहरूका पीडा आदिको अङ्कन, नारीहरूको कारुणिक अवस्था, समसामयिकता, सामाजिक यथार्थवाद, मधेसखण्डका आदिवासीका जनजीवनको अङ्कन, मनोवैज्ञानिक यथार्थवाद, व्यङ्ग्य चेतना, प्रगतिशील विचारधारा, प्रयोगवाद, नवोन्मेषमुखी चेतना, इतिहास चेतना, आत्मकथनात्मक शैली, भाषिक मिठासपन आदि जस्ता प्रवृत्ति र विशेषताहरूको अङ्कन गरेकी छन् ।
समीक्षक सपन प्रधानले प्रदीप गुरुङका केही कथाका आधारमा उनलाई एक मनोविश्लेषणात्मक प्रवृत्तिका कथाका रूपमा दराएका छन् । उनका अनुसार बिरिमफूल कथासङ्ग्रहभित्रका ‘मुखमाया’, ‘बिरिमफूल’, ‘शहर पसेकी कान्छी’ गरी कथाहरूमा असामान्य मनोविज्ञानका विभिन्न पक्ष केलाउँदै यौनमनोविश्लेषण पाइन्छन् भन्ने कुरा प्रस्तुत गरेका छन् ।
० ० ० ०
विद्रूप र विकृतिको अर्थ परिभाषा र अवधारणा-
विद्रूप शब्द विद् र रूप शब्दको योगबाट बनिएको शब्द हो । जसले विपरीत रिक्त अथवा विरूप शब्दपछि विद्रूप शब्द भई प्रयोगमा आएको हुनसक्छ । सामान्य मानवीय चरित्रबाट भिन्न प्रवृत्ति तथा चरित्र भएको मानव तथा पात्र-पात्रालाई विद्प भनिन्छ । गा र च्याप्टा अथवा सापट व्यक्तित्व भएका पात्रका विषयमा चर्चा गर्दै इ एम फोस्टरले च्याप्टा चरित्रहरूलाई सत्रौं शताब्दीका मानिसहरू हास्यकार पात्र भन्थे र अचेल कहिले तिनलाई विद्रूप पात्र भन्छन् । यसरी फोस्टरले च्याप्टा अथवा सपटाको निम्ति विद्रूप शब्दको प्रयोग गरेका छन् । जे भए पनि विद्रूप शब्दले असामान्य, असन्तुष्ट वा खलनायक आदि अर्थको पनि बोध गराउँछ अनि असन्तुलित अमानवीय असामान्य प्रवृत्ति भएका चरित्र वा पात्रलाई विद्रूप भनिन्छ । (दिना प्रधान, भित्ते घडी एकाङ्कीमा विद्रूप पात्र प्रयोग, सन्धान, अङ्क ५, २००९) ।
विद्रूपता शरीर, विचार, कार्यकलाप, खानपिन सबैमा हुन्छ । पारिवारिक विघटन, अनुशासनहीनता, अराजकता, फोहोरीपन आदि जम्मै विद्रूपताभित्र पर्दछन् । शारीरिक, मानसिक, वैयक्तिक, चारित्रिक, सामुहिक आदि पनि पात्रगत विद्रूपतामा लिन सकिन्छ । मानिसका विचारले नै बढी कुरूपता र विद्रूपता हुन्छ । कथामा विद्रूपता झल्काउन कतै पात्रको चरित्र चित्रण, कतै शब्द, कतै वाक्य, कतै विवरण, कतै प्रसङ्ग आदि राखिएको हुन्छ ।
पात्रगत कुरूप व्यक्तित्वका लक्षण हुन्छन्- अविश्वासमयता, मानसिक दोष, संवेगात्मक अप्रौढता, उदासीन, असभ्यता, बाधकता, स्नायु दौर्बल्य, अति भावुकता, अ सद्बुद्धि आदि ।
० ० ० ०
पछिल्लो कथासङ्ग्रहमा सङ्कलित केही कथाहरूको विद्रूपावस्थाको रेखाङ्कन-
उदाहरणका निम्ति प्रदीप गुरुङको पछिल्लो एक सब्तु सपनाका केही कथाहरूमा विद्रूपता झल्काउने केही शब्द र शब्दावली रहेका छन् । उदाहरणका निम्ति केही कथाहरूमा रहेका वाक्य र प्रसङ्गहरू- ‘एउटी ढ्याब्री छिप्पट लठेप्री मरद मरदको स्वरमा गाउन थाली’, ‘नारा लगाउनेपनि थुक्दै गए, कोही नाक छोप्दै गए’, ‘दुईजना भिखारी एकार्कामा हात समाएर आए’, ‘बिचराहरू एउटा ख्याउटे र अर्को कुप्रे अनि भट्टु केटाले तिनको आगमनमा ताली मारे’, ‘तिहुनको भुटुन खराए जस्तो छ्वाँइय्य गरेर हाँसे’,’ कस्तो हिर्दोक जिन्दगी बाँच्नुपरेको नि!’, ‘आलुदमले यो बाबुनीको सुगर बढोस्’, ‘तपाई अलिक क्र्याक हुनुहुन्छ कि क्या हो?’, ‘आज चैं नाइटोले हाइ काडुञ्जेल खाने’, ‘पहाड़मा कामकारी होइन बेकारी बढी थुप्रिएका कारण जताजतै भिड जमिहाल्छ’, ‘सही मुद्दालाई लुतो फाँकेजस्तो गरेको भ्रमित मुद्दाको पछि कुद्ने अर्द्ध नेता’, ‘म लङ्गडो तँ कुप्रे बराबर’, ‘छिप्पट छिप्पट मुत’, ‘माध्यमिक फेल छोराले घर बिर्सिसक्यो के के सुङ्छ’, ‘सबै जातिलाई भाग पुगेकै छन् हाम्रा छोरीहरू’ आदि अनेक रहेका छन् ।
देशको आरक्षण कानुन देशका निम्ति अति घातकसिद्ध र विकृतिपूर्ण छ । यसले कहिलेकाहीँ योग्यलाई अयोग्य र अयोग्यलाई योग्य तुल्याउँछ भन्ने कुराको सङ्केत ‘अन्तिम गीत’ कथामा गरिएको छ । बाहुन पात्र रामप्रसाद समाजमा मत्थुको उपाधि पाएको छ । ऊ राम्रो गायक र सुशिक्षित सुयोग्य भएर पनि अनारक्षित भएका कारणले सरकारी जागिर पाउँदैन । उता टाँसी र सुमिरा जस्ता अति सामान्य शैक्षिक योग्यता भएकाहरू उच्च सरकारी अधिकारी बनेर समाजमा देखा पर्छन् । रामप्रसादहरू सुयोग्य भएर पनि कामदाम नपाएर नैराश्य भएर मदपान गरी जीवन बर्बाद पार्छन् भने टासीहरू भने त्यस्तालाई रक्सी खुवाएर बेसरी मताएर मित्रता निभाउँछन् । यहाँ जाँड रक्सी खानु जातको कुरा नभएर सामान्य सामाजिक पद्धति र सरकारी नीति निर्धारणभित्र पर्दछन् ।
‘अन्त्याङ्कन’ कथाका माध्यमबाट सरकारी कर्मचारीतन्त्रको कुरूपता, भ्रष्टाचारी प्रवृत्ति, ठगी कामचोर, अन्याय आदिको वास्तविकता देखेको छ । तल्लो तहका कर्मचारीको मार्मिक अवस्थालाई कथामा पाइन्छ । कथामा तेस्रो तहको अस्थायी कर्मचारीले भोग्नुपरेको आर्थिक कार्यगत शोषणलाई देखाएको छ । उसको पनि आफ्नो घर परिवार संसार छ तर कार्यालयको नचाहिँदो काम लाद्ने प्रवृत्ति, बडाबाबु भन्नेहरूको व्यक्तिगत काम दलाउने गरेको वास्तविकता पाइन्छ ।
‘मुतहरफ’ कथामा दार्जिलिङ पहाडको सामाजिक, राजनैतिक, आर्थिक अवस्थाको वास्तविकता पाइन्छ । एकापट्टि हाम्रामा मदपानको व्यसन, अराजकता, शिक्षाप्रति अनाकर्षण पाइन्छ भने अर्कापट्टि यहाँ अन्य जातिको प्रभुत्व बढ्दो छ । हाम्रो कमजोरीका कारण हाम्रो आफ्नो भूभाग ठानिएको दार्जिलिङ पहाडमा अन्य जातिको आर्थिक सामाजिक राजनैतिक क्षेत्रमा बिस्तारै व्यापक रूपमा प्रभुत्व बढ्दो छ । कथाको मूल पात्र बी बी भुजेल सरभित्र यो जातीय चेतना प्रखर छ तर ऊ आफैं सधैं रक्सी नखाई नहुने मत्थु भएर हिँड्छ । उसले सडकमा मुतको हरफ देख्दा केही जस्तो ठान्दैन बरु राती मातेका बेला आफैं पनि पिसाब गरेर सडक भिजाइदिन्छ । उसको छोरालाई पनि शिक्षा र संस्कार नदिएर मदपान र अन्य लागु पदार्थको कुलतमा फसेर बिग्रेको छ । ऊ आफैं पनि राजनैतिक दलको कोटाका कारण गलत मान्छेले शिक्षकको काम पाएको छ र त्यस्ताले दिने शिक्षाले कसरी पहाडको शैक्षिक उन्नति हुन्छ ? यसमा समाजको विकृतिको यसरी दर्पण देखाएको छ । कथामा छोरा चैं बेसी मातेर राती छादेर त्यहीँ लडिरहेको चरम विद्रूपावस्था देखेको छ ।
‘लभ यु दार्जिलिङ’ कथामा सुन्दर दार्जिलिङ शहरभित्रको फोहोर मैला, कुप्रवन्ध, युवा वर्गमा आएको पलायन, समाजोविमुख प्रवृत्ति, युवावर्गमा लागु पदार्थ सेवनको कुलत, युवाहरूमा गोर्खालीपनको अभाव, पर्यटन र यसबाट उब्जेका कुप्रभाव आदिलाई देखाइएको छ । ‘पानफुल’ कथामा विकृतिले ग्रस्त समाज देखाइएको छ राजनैतिक व्यस्थासमेत चरम विकृतिमय छ ।
विद्रूपताको पराकाष्ठ अवस्था देखाइएको ‘फोहोर सहर’ कथामा शहरमा नवनिर्मित शौचालय उद्घाटनका नाममा जुलुस हिँडेको छ । शहरमा कुकुर मरेर दुर्गन्ध सिनो गनाएको छ तर त्यसलाई हटाएर लाने कसैले कुरा गर्दैन । पछिबाट कुप्रे र लङ्गडे भिखारीहरूले हाम्रो कुकुर भन्ने चिनेर लान्छन् र सद्गति गरिदिन्छन् । यसमा शहरका मानिसहरू चरम विकृतिको अङ्कन गरिएको छ । मान्छेमा आएका स्वार्थीपन, पैसा रक्सी र मासुको भोजन भनेपछि जनता कुदिहाल्ने कुरूप पक्षलाई देखाइएको छ । वास्तवमा मान्छेको मानसिकता नै विकृत र विद्रूप बनिएको छ । त्यहाँ चार खालका विद्रूप खालका मान्छे छन्- दुई भिखारी, गाँजा तान्ने भट्टु युवावर्ग र शौचालय उद्घाटनका नाममा भोज खान आउने मान्छे र नेताको वास्तविक चरित्र । शौचालय उद्घाटन गर्न आउने नेता कार्यक्रममा आउन नसकेको अघिल्लो राती बेस्सरी रक्सी खाएर स्वास्थ्य बिगारेको थियो ।
‘मृत्यु निनाद’ कथामा एकजना गोर्खाका भूतपूर्व अधिकारीमा नारी जातिलाई घृणा गर्ने, द्वेष राख्ने वा डराउने रोग (MISOGYNY) ग्रन्थि हुनाले उसले नारी जातिलाई एकदमै घृणा गर्दछ । यसको मूल कारण आफू बाल्यकालमा छँदा आफ्नी आमाले बाबुलाई हत्या गरेको देखेको हुन्छ । विकृतिको चरम रूप भने उसले सेनामा छँदा कश्मीरमा युद्धका नाममा आतङ्ककारी पुरुषलाई भन्दा नारीहरूलाई छानी छानी मार्दछ । शरणमा आएकी नारीलाई समेत गोली ठोकेर मारेको छ । उस मष्तिष्कमा नै उक्त ग्रन्थ भएकाले ऊभित्र नारीप्रति चरण घृणा, निष्ठुरता भएको हुन्छ ।
० ० ० ०
विद्रूपावस्थाबाट नै देशकाल परिवेश चित्रण
प्रदीप गुरुङका अध्ययन गर्दा विभिन्न समस्याग्रस्त समाज, विकृति र विद्रूपावस्थाको चित्रण गरिएको पाइन्छ । उनको दोस्रो कथासङ्ग्रह यस्तै अनि यस्तैमा पनि केही कथामा यस्ता विद्रूपावस्था को जीवन्त चित्रण पाइन्छ । यसका प्राय कथाहरूमा हाम्रै वरिपरिका दैनिक जीवनका सङ्गति विसङ्गति, रिक्तता र तिक्तताको समावेश गरिएको छन् । समाजका स्वार्थी तत्त्व, बजारभित्रका कुरूप पक्ष, मृत्यु भएको स्थानमा हुने वास्तविकतालाई औंल्याउने काम भएको छ । गरिबी, मानवीय लालसा, अनैतिकता आदिलाई कलात्मक रूपमा पस्किएको पाइन्छ । यसमध्ये बूढो र गाउड, टिस्टाको गढतीर, विसङ्गति, एउटा क्रमको.. कथाहरूमा यस्ता विकृत मानसिकता झल्काइको पाइन्छ ।
‘मूत हरफ’ कथामा ओरालो सडकमा राती ओरालो सडकमा पिसाब गरेर त्यसको पानी निकै तलसम्म बगेको दृश्यले यहाँको सामाजिक अवस्थालाई दर्शाएको छ । यसमा शहरको सडकमा मुतको धर्कोमा आफ्नो केटी साथीको नामको आकृति बनाउने चरम विकृतिको चित्रण पाइन्छ । मान्छेमा अब नागरिक चेतना बिस्तारै खस्कँदै गरेको अवस्थाको सङ्केत पाइन्छ । कुकुरको सिनोले परिवेश नै दूषित बनाएको छ । नयाँ शौचालय उद्घाटनका नाममा पार्टीका मान्छेहरूलाई भोजको आयोजना गर्नु, सानो स्वार्थका लागि मान्छे जुलुसतिर जानु आदि विद्रूप अवस्था देखाइएको छ ।
यसमा हाम्रो मानसिक दूषितता नै परिवेशको मूल दायी रहेको हुन्छ । अहिलेको समयमा दार्जिलिङमा नोकरी नेताको झोलेहरूले पाउने, शिक्षक जस्तो आदर्शको काम पनि जो पाए त्यहीलाई योग्यताको भन्दा पार्टी र नेताको सिफारिसमा पाउने कुप्रथाको उल्लेख पाइन्छ । मान्छेको मानसिकतामा नै विद्रूपताले गर्दा समाजमा यो कुरा निकै स्पष्टसँग देखा पर्छ । समाजमा मद्यपानको बढ्दो चलन, स्वार्थी मनोभाव, नैतिकताको कमी आदिका कारणले समाजमा विकृति पक्ष प्रबल हुँदै गएको पाइन्छ ।
अन्तिम गीत कथामा पनि रामप्रसाद शर्मा सबैभन्दा मत्थु बनेको छ । उसकै केटी साथीलाई टासी भन्ने साथीले पछिबाट बिहा गरिदिएको कथा छ । यसमा रामप्रसाद जस्ता पढाइमा श्रेष्ठले नोकरी नपाएर फिटीफिटी भई नैराश्यले मातेर हिँड्छ तर उसका टासी, समीरा आदि जस्ता कमसल किसिमका साथीहरू भने सरकारी आरक्षणका कारण ठुल्ठुला पदमा पुगेको अवस्थालाई दर्साइएको छ ।
शारीरिक विद्रूपता-
प्रदीप गुरुङको ‘एक सप्तु सपना’ कथासङ्ग्रहमा शारीरिक विद्रूपावस्थाको उल्लेख पाइन्छ । उनका केही कथामा लठेप्रा-लठेप्री, लाटा-लाटी आदि जस्ता पात्रहरू रहेका छन् । ‘एक सब्तु सपना’ भन्ने कथामा लठेप्रा र लठेप्रीका कार्यकलाप रहेको छ । लठेप्री आफ्नै सुरमा गाउँछे, नाच्छे, आफ्नै सुरमा रमेकी छ । घर मालिक्नीकी छोरी मरेको खबर आउँदा पनि उसलाई खासै फरक पर्दैन, शोक परेको घरमा आएर नाच्छे । लठेप्रो भने लठेप्री मरेपछि बेस्सरी जाँड खाएर चिहान खनेको माटाको थुप्रोमाथि घोप्टे परेर इन्तु न चिन्तु भएर सुत्छ । अन्त्याङ्कन कथामा म पात्र दिव्याङ्ग रहेको छ ।
मुतहरफ कथाको बी बी पनि लङ्गडो छ । उसको लङ्गडो हुनाको हीनताग्रन्थिलाई क्षतिपूर्ति गर्न बामदलको सहयोगले शिक्षक बनेर गाउँमा सरको इज्जत पाउनु, जातीय चेतको गफ गर्नु आदि कार्यकलाप गर्दछ । यद्यपि ऊभित्र शारीरिकभन्दा मानसिक विकृति छ । उ दैनिक रूपमा रक्सी पिउँछ, अरूले सडकमा पिसाब गरेकामा केही जस्तो मान्दैन बरु आफैं रक्सी खाएर आएका बेला सडकमा पिसाब गरिदिन्छ, प्राय: डि पी सरको पैसामा रक्सी पिउँछ, फोहोर शहरका लङ्गडे र कुप्रे भिखारीहरू आफ्नै किसिमको विचार व्यक्त गर्छन् । यो ‘दिव्याङ्ग’ शब्द भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिसम्बर २०१५ को मन का बात नामक रेडिया कार्यक्रममा सर्वप्रथम नाम दिएका हुन् । उनकै सुझावअनुसार यो नाम चलनचल्तीमा आएको हो । https://www.jagran.com
वैयक्तिक चारित्रिक विद्रूपता-
प्रदीप गुरुङका कथामा पात्रहरू वैयक्तिक र प्रतिनिधिमूलक दुवै किसिमका पाइन्छन् । अहिले मानिसमा आफ्नो स्वार्थ लिप्तता, बाँच्नुपर्दाका सङ्घर्षमा के के हुनुपर्ने आदि कुरा हुन्छन् । फोहोर शहर कथाका गाँजा खाने भट्टु केटाहरू, विकृत रक्स्याहा नेता, भद्र महिलाभित्र रहेको अरूलाई गर्ने घृणा गर्ने प्रवृत्ति, सधैँ मातेर हिँड्ने बाहुन पात्र आर पी, अरूलाई मताउने टासीहरू, सत्ताको काम गरिदिने बहानामा अर्काको पैसा धुतेर धन कमाउने दलाल, नेतालाई रिझाएर अयोग्य र अनैतिक व्यक्तिले स्कुल मास्टर जस्तो नोकरी पाउने, आफ्नो ढिलो कार्यालय ढिलो पुगेर चाँडो घर फर्कने कर्मचारीहरू, चौथो दर्जाको कर्मचारीलाई आफ्नो व्यक्तिगत काम लगाउने कर्मचारी, मातेर सडकमा पिसाब गरिदिने व्यक्ति, आफूले माया गरेर पालेको गोरुलाई गोसवालालाई बेचिदिने आदि विद्रूप पात्र धेरै छन् ।
सामाजिक परिवेशगत विद्रूपता-
प्रदीप गुरुङको कथाका मूल आधार नै समाजको कुरा हुन् । समाजमा राम्रा कुरा मात्रै हुँदैनन्, नराम्रा कुरा पनि देखा पर्छन् । त्यस्ता नराम्रा कुराले पनि व्यक्ति सत्तालाई प्रभाव पार्दछ । समाजमा विकृत मानसिकता भएका मान्छे पनि हुन्छन् । तिनका विकृत गतिविधिले समाजलाई प्रभावित बनाइरहेका छन् । समाजका केही युवाहरू केही सामाजिक सरोकार नराखी गाँजा र रक्सीको कुलतमा फसेको छन् । समाजमा विकृतिहरू चारैतिर रहेका हुन्छन्, तिनलाई कथाकारले समेटेका छन् ।
प्रदीप गुरुङले कथागत परिवेश सिर्जना गर्दा खुबै सचेतता अपनाएका छन् । सडकमा पिसाब बगेको रेखामा नामको पहिलो अक्षर देखिनु, पिसाबको धारो सडकै सडक ओरालो बगेको देखाउनु जस्ता विकृतिको पराकाष्ठा देखाइको छ । नोकरीमा ठगी गर्ने, साना पदका कर्मचारीलाई हेप्नु, शोषण गर्नु, व्यक्तिगत सामान किन्न पठाउनु, ढिला सुस्तीले कार्यालय आउनु अनि चाँडै फर्कनु कर्मचारी तन्त्रको विकृति हुन् । फोहोर शहर कथामा पनि शहरको बीचमा एउटा कुकुर मरेर सिनो भएर गनाइरहेको छ, त्यसको छेउसम्म जुलुस हिँडेको छ । जुलुस पनि ठुलो मागका निम्ति नभएर एउटा शौचालय उद्घाटन कार्यक्रममा उपस्थित हुने एउटा दलका खेताला हुन् । उनीहरूलाई राजनैतिक आस्था, सिद्धान्त, नीति आदि केही सरोकार राख्दैनन् बरु कार्यक्रममा गएर नेतालाई जमात देखाइदिनु र खानुसम्म मात्र छ । मुतहरफ कथामा पनि सडक फोहोर पार्नेहरू, मातेर हिँड्नेहरू देखाइएको छ । लठेप्रीको नाचलाई रमित लागेर खिस्ट्याउनेहरू, नेतालाई पर्खँदा भिखारी आउँदा झुक्याउने भट्टु केटाहरू,
राजनैतिक विद्रूपता-
समाजमा राजनीति एउटा सबैलाई प्रभावित पार्ने, अभिन्न अङ्गका रूपमा देखा परेको छ । राजनीतिको स्तर अब धेरै झरेको छ, यो विकृतिको माध्यम बनेको छ । झन् दार्जिलिङको समाजमा राजनीतिले मानिसलाई गलत मार्गमा लगिरहेको छ, खाल्डामा धकेलिरहेको छ । दार्जिलिङमा राजनीति स्वार्थीहरूको माध्यम बनेको छ । राजनीतिका नाममा अराजकता, सन्त्रास, दिशाहीनता भएको स्थिति छ । समाजका सबैभन्दा अयोग्य, विकृत मानसिकता भएका व्यक्तिहरू नै राजनीति गर्न अघि आउँछन् । सरकारको भोटव्यङ्कका राजनीति खेल्दै आरक्षणको नीति अपनाएको छ । योग्यताका आधारमा होइन जातिगत आधारमा सरकारी नोकरीको प्राथमिकता दिएको छ । यसो हुँदा समाजका प्रतिभाशाली सुयोग्य मान्छेभन्दा आरक्षणका आडबाट अयोग्य व्यक्तिहरूले अवसर पाउँदै छन् । मासु भात रक्सी र पैसाका निम्ति अचेत जनताले भोट हालिदिने, जुलुस हिँडिदिने, सभामा खेताला भएर आइदिने गर्छन् । स्थानीय तहमा नै घुसघोरी भ्रष्टाचार बढेको छ । सत्ताधारी दलका व्यक्तिहरू नोकरी दिलाइदिने प्रलोभन देखाएर धन असुल्ने अनैतिक काम गर्छन् ।
० ० ० ०
सन्देश
कथाकारले आफ्नो कथाका माध्यमले यस्ता विकृति पन्छाउनका निम्ति यस्ता पक्ष औंल्याएर परोक्ष रूपमा हटाउने उद्देश्य लिएको देखिन्छ । समाजका विकृतिहरूले नै व्यक्तिका विकृति सिर्जना हुन्छ अनि फेरि व्यक्तिका विकृतिहरूले नै समाजमा विकृति सिर्जना हुन्छ । समाजका यस्ता विकृति र विसङ्गति हटाउन समाजका सचेत वर्ग, साहित्यकार अघि आउन पर्छ । राजनीति गर्नेहरूले पनि स्वच्छ भएर विकृतिको अन्त्य गर्नुपर्दछ । ‘कोर्ने सङ्केत’ कथामा म पात्र, ‘फोहोर शहर’ कथामा वयस्क पात्रहरूले सामाजिक सरोकारमा सचेत रहेका छन् । ती सचेत पात्रले सामाजिक विकृतिहरूको सर्वेक्षण गर्दछन् । भौतिक फोहोरभन्दा मानसिक फोहोरलाई सफा गर्नुपर्छ भन्ने सन्देश दिएका छन् ।
उपसंहार-
कथाकार प्रदीप गुरुङ समाजका वरिपरिका कुराहरूलाई कलात्मक र शिल्प सचेत कथा बुन्ने गर्छन् । उनका ५ वटा कथासङ्ग्रहका अधिकांश कथाहरूमा अरू वस्तुहरूसँग विद्रूपता, कुरूपता र विकृतिलाई देखाइदिने काम गरेका छन् । उनको पछिल्लो कथासङ्ग्रह ‘एक सब्तु सपना’ भित्र रहेका १२ वटा कथामध्ये अधिक कथाहरूमा नै विद्रूपता देखाइएको छ । उनका अधिकांश कथाहरूमा नै सामाजिक, राजनैतिक, नैतिक, परिवेशिक आदि पक्षहरूका विद्रूपता देखाइएको हुन्छ । त्यसको निवारणका निम्ति समाजका व्यक्ति आफैं सचेत हुनुपर्छ भन्ने सन्देश दिएका छन् ।
कथा बुनोट र बनोटमा सचेतता, कलात्मक सौन्दर्य आदिले प्रदीप गुरुङ एक सफल र सबल कथाकार हुन् भन्न सकिन्छ ।
० ० ० ०
सन्दर्भ ग्रन्थ–
१. राजेन्द्र सुवेदी; सांस्कृतिक अध्ययन र नेपाली साहित्य; काठमाडौँ, पाठ्य सामग्री पसल; २०७३ ।
२. इ.एम फोस्टर; उपन्यास के पक्ष (हिन्दी अनुवाद राजुल भार्गव); जयपुर; राजस्थान हिन्दी साहित्य अकादमी; १९८२ ।
३. डा रामशङ्कर त्रिपाठी, साहित्य में पात्र प्रतिमान और परिरेखन,इलाहावाद, सरस्वती प्रकाशन मन्दिर, १९८७ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।