आकाश छुनलाई उठेका हिमचुलीहरू
धर्तीलाई पवित्र बनाउँदै युगौँदेखि बगेकी
पवित्र गङ्गा
यहाँका जीव वनस्पतिहरूलाई
शान्ति,शान्तिको श्लोकले नमन गर्दै गुञ्जिने
ऋषि मुनिहरूको पवित्र वाणीले सरोबर
यो मेरो पितृभूभि
यो मेरो जन्मभूमि
मेरो भारत मेरो आर्यावर्त
– यो मेरो मातृभूमि
यी भावनाहरू, यी शब्दहरू, यी हरफहरू सिक्किमकी कवि सुश्री अप्सरा दाहालका हुन् । मातृभूमिप्रति समर्पित उनको यो कवितामा उनको देशप्रेम, मातृप्रेम, पितृप्रेम, माटोप्रेम अनि अतिथि देवो भव: को भावनाले ओतप्रोत देखिन्छ ।
पिता स्व. डिल्लीराम दाहाल अनि माता स्व. रेवता दाहालको कोखबाट ६ जुलाई १९६९ का दिन सिक्किमको सुदूर पश्चिममा पनि बर्मेक डाँडागाउँमा जन्म लिएकी अप्सरा दाहालले विद्यार्थी अवस्थादेखि नै आफ्नो तीखो कलम चलाएकी हुन् । कविले आफ्नो शिक्षा बर्मेकबाटै आरम्भ गरेर उनले स्नातक उत्तीर्ण गरेकी हुन् । पेसामा उनी शिक्षिका हुन् । विद्यार्थी बालबालिकाहरूकी ममतामयी गुरुमाकी प्रतिमूर्ति अप्सराको कोमल मन कवितामा यसरी बगेको पाउँछौँ –
गाउँमा पञ्चे बाजा नबजेको कति भयो कति
त्यही बाजा अघि लाएर
बेहुली भित्र्याउने रहर साँचेका तन्नेरीहरू
भुल्दैछन् इन्द्रेणी सपना देख्नलाई
अनि बन्द नै छन् खुसीका स्वरहरू
घर गाउँले शून्यमा ओढेर
आफैँलाई लुकाउन खोजेझैँ लाग्छ
फर्केर जता हेर्यो
अन्योल र अत्यासले घेरेर
मान्छे मान्छेसँग भयभित्र, त्रसित देखिन्छ
– अदृश्य
यो कविता कोविद-१९ यानि कोरोनाले विश्वभरि फैलिएर त्राहिमाम् पारेको बेलामा रचिएको हो भन्ने स्पष्ट देखिन्छ । कविले युवा-युवतीहरूको मन बुझेर, उनीहरूको सपना मरेको मर्म कलम मार्फत कागजमा पोखेकी छन्, पाठकहरूले बुझेर उठाउनुपर्ने छ । कवितामा अन्योल र अत्यासले भरिएका हरेक मान्छेभित्रको भयावह स्थिति व्यक्त गरिएको देखिन्छ । उनको सशक्त कलम अनि हतासिएको मनले कोरोनालाई अनुनय विनय गरिरहेको छ ताकि गाउँमा फेरि नौमतीको धुन गुञ्जायमान होस्, युवाहरूको मुहारमा उज्यालो, जोश र होश फैलियोस् ।
सिक्किमेली साहित्यको मलिलो माटोमा जन्मिएर हुर्किएकी कवि अप्सरा दाहालको चार थान कृति छन्, जसमा –
(क) सम्झनाको देश (२००३)
(ख) मनका घरहरू (२००९)
(ग) फूलका उमेरहरू (२०१४)
(घ) मनलाई मनको चिट्ठी (२०२२) आदि हुन् ।
अरू कृतिहरू पढ्न बाँकी नै राखेर ‘मनलाई मनको चिट्ठी’ घोत्लिएँ । यसभित्र समावेश कविता “मिराबाई भन्छिन् सुन राधा”मा पुगेर निकै बेर अडिएँ, कविता आफैँ बोलेको छ —
तर, सुनेँ मैले
रिसायौ अरे, तिमी मसँग
राग विराग भन्दा माथि
क्रोध र ईर्ष्यादेखि पर
जगतको जाल प्रपञ्चलाई नियालिरहेकी तिमी ।
कसरी पो रिसायौ होला मसँग …?
यी हरफहरूमा कवि स्वयम् मिराको रूप धारण गरेर आफ्नी प्रिय सखी राधालाई फकाउन प्रयास गरेको पाइन्छ । कृष्णको प्रेममा चुर्लुम्म डुबेकी मिरा राधासँग बिन्ती गर्दै भन्छिन्-
कृपा गर राधा
मेरो मोक्षकामी भक्तिमार्गलाई
तिमी अन्यथा नठान
देवी नै भए पनि नारी हौ तिमी पनि
एउटी नारी भएर नारीको मन बुझ भनेर आह्वान गरेकी छन् । यहाँ कविको कोमल भाव कृष्णको प्रेममा डुबुल्की मारेर बसेको पाइन्छ ।
कवि अप्सराका पाँच सयभन्दा धेर कविताहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भइसकेका छन् । उनले २००४ मा प्रदर्शित भएको ‘नयाँ समाज’ धारावाहिकमा अभिनय अंश ग्रहण गरेकी छन् भने २००८ मा ‘मितेरी साइनो वृत्तचित्रमा पनि अंश ग्रहण गरेकी छन् । आकाशवाणी गान्तोकबाट प्रचार-प्रसार हुने साहित्यिक कार्यक्रमहरूमा समय समयमा कवितावाचन गर्दै आएकी छन् । कवि अप्सरा दाहालको भूमिका बहुआयामिक देखिन्छ, विभिन्न स्थानमा आयोजित, प्रायोजित सांस्कृतिक र साहित्यिक प्रतियोगिताहरूमा निर्णायक मण्डलीमा पनि अंश ग्रहण गरिरहेकी हुन्छिन् यो उनको वैशिष्ट्य हो । आकाशवाणी गान्तोकबाट उनका सात वटा लोकगीत २००४ मा रेकर्ड भएका छन् ।
कवि स्वयंको प्रकाशित “मनलाई मनको चिट्ठी” कवितासंग्रहको मुद्रक ग्राफिक्स प्रेस, सिलगढी रहेको छ भने मूल्य रु ३ सय रहेको छ । यस कवितासंग्रहभित्र लामा छोटा गरेर ४१ वटा कविता समावेश छन् ।
कविता सरल भएर पाठकको मन छुन सफल भएका हुन् भन्न सजिलो छ । यसमा प्रस्तुत गरेका भावना, व्यङ्ग्य, रोमान्स, आह्वान कविका खुबी हुन् भन्नमा अत्युक्ति नहोला । सामाजिक उतारचढाव पनि कवितामा बिम्बयुक्त उल्लेख्य छन् ।
कविता पढ्दै लाँदा “अग्निज्वाला र नारी- अस्मिता”मा मेरो आँखा अडिन्छ । कसैले औंल्याउँन सक्छन्, ‘नारी भएको नातामा यसो भएको हो’ । तर ऊ भूलमा हुनेछ किनकि अस्मिता समाजमा पुरुषको पनि बराबर हुने गर्दछ ।
कवितामा कविले आक्रोश उगेलेकी छन् –
युगौँदेखि
जब, जब कुनै प्रजाजनले
लाञ्छना लगायो, नारी-अस्मिता माथि
सहजै तयार भए राजा राम
अनि
आफ्नी प्रेयसी सीतालाई
अग्नि कुण्डमा वस्न विवश बनाए
अस्मिताको जाँच गर्न ।
भनिन्छ
नारी, धर्ती माता समान पुजिन्छन्
आमा हुन्
अनि जननी हुन्, जीवन जगतको ।
तर तिनै आमा
युगौँदेखि
समाजको कलुषित भाव पखाल्नुपर्छ
अग्नि कुण्डमा बसेर
आफ्नो पवित्रता सिद्ध गर्न
तिरस्कार र अपमान सहँदै
विवश भएर
जाँचिई रहिन्,
तिरस्कार भई नै रहिन् ।
कवि कहीँ कतै अत्यन्त भावुक देखिन्छिन् त कतै आक्रोशित । कताकतै भने महिलाहरूमा हुने प्रेमिल मन उदाङ्गो हुनेगर्दछ । “अग्निज्वाला र नारी अस्मिता”मा उनले हाम्रो समाजमा नारीलाई गरिने अपमानमा आफ्नो आक्रोश छर्लङ्ग पोखेकी छन् । अझ पनि हाम्रो समाज पितृसत्तात्मक प्रवृत्तितर्फ नै खुम्चिएको छ । यस्ता अग्निकुण्डहरू समाजभित्र अझ पनि यत्र तत्र सर्वत्र बलिरहेका छन्, कतै कम, कतै बेसी । यस्ताखाले नारी उत्पीडन र कनाहाप्रवृत्तिबाट नारीहरू स्वयंबाट उन्मुक्तिको निकास खोजिनुपर्छ भन्ने आशय कविको रहेको छ ।
“पश्चिम सिक्किम साहित्य प्रकाशन” बाट कवि अप्सरा दाहालले साहित्यको क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै २००४ ले सम्मानित भएकी थिइन् भने “क्षेत्र स्तरीय शिक्षा सम्मान दिवस २००८” मा उत्कृष्ट शिक्षिकाको सम्मानले सम्मानित बनिन् । विभिन्न संघसंस्थाहरूबाट सम्मानित उनी नेपाल सरकारद्वारा “भानुभक्त काव्य पुरस्कार २०१४”, नइ प्रकाशन, काठमाडौँद्वारा “नइ रजत महोत्सव पदक २०२२” ले पनि सम्मानित छिन् । यसरी वरिष्ठ सिक्किमेली कवि नेपाली साहित्यिक जगतकी सशक्त नारी हस्ताक्षर हुन्, नक्षत्र हुन् ।
“मनलाई मनको चिट्ठी”का प्रत्येक कविताले मन छोएका छ । मलाई लाग्छ यसको मूल्याङ्कन हुनेछ । कविले आफ्ना कवितामा प्रकृतिको वर्णन गरेकी छन्, आफ्नी जन्म दिने पूज्य जननीको कारण नै यो स्वर्णिम धर्तीमा आउन पाएर प्रकृतिको रसास्वादन गर्नै मौका दिएकीमा आमालाई धन्य मान्दैन प्रश्न पनि गरेकी छन् –
सारा विश्व ब्रह्माण्डको यति सुन्दर चित्रण गर्ने
को होला त्यो चित्रकार…?
को होला त्यो विधाता..?
कस्ले ग-यो यसको रचना…?
जिज्ञासा र कल्पनाको सागरमा
बारम्बार हराउँछु म,
अनि भन्न मन लाग्छ
धन्य मेरी आमा !!
तिम्रो अनवरत र कठोर पीडाबाट
आउन पाएँ म यो धर्तीमा ।
यसरी कविताका लाइन लाइन र शब्द शब्दसँग मितेरी लाउँदै गएँ म अनि कविको भनाइमा मन्त्रमुग्ध भई अडिन्छु ।
कविले भनेकी रहिछन् “निकै अन्तरालपछि जब अल्छी भएको कलमलाई हिँडाउन सुरु गरेँ, समय निकै बगेर गइसकेको थियो । मनमा अनेकौँ खाले प्रश्नहरू पनि उठ्न थाले अनि त मैले तिनै प्रश्नहरूलाई कविताको रूप दिने प्रयास गर्न थालेँ । म आफैँ नारी भएर पनि होला सीता, द्रौपदी, राधाको त्याग र समर्पण, मिराबाईको पीडा अनि यशोधरासँगै आफ्नै आमालाई सम्झँदै कविता लेखेँ । मनमा कहिले प्रकृति आयो, कहिले ती महान् व्यक्तिहरू जसले हाम्रो देशलाई विश्वसामु चिनाए । समाजका ती व्यक्तिहरू जो जीवन गुजाराको लागि यत्रतत्र जान्छन् तर भुल्न सक्दैनौं आफ्नो माटोलाई । बाँच्नकै लागि परदेश गएर आफ्नो परिवारलाई पाल्न हात पाखुरा चलाउँछन् अनि एक दिन सारा सपनाहरू बिचैमा छोडेर परिवारलाई दोबाटोमा छाडी बाकसभित्र बन्द भएर ओजनको छाप लिएर फर्कन्छन् ।”
यी हरफहरूबाट थाहा लाग्छ कविको मन कति कोमल र भावुक छ, संवेदनशील छ अनि टिस्टाको पानी जस्तै निर्मल र स्वच्छ छ ।
“यशोधराको विलाप” कवितामा कवि यशोधरा नै बनेकी देखिन्छन् । कवितामार्फत यशोधरा बनेकी कवि पति सिद्धार्थ वियोगको पीडामा छटपटाएकी यशोधरालाई कवितामा छर्लङ्ग उतारेकी छन् । आफैँ अविवाहित भएर पनि पति वियोगको मर्म कविताका हरफहरूमा उतार्न सक्षम भएकी छन्, यहाँ कवि यशोधरा बनेर भन्छिन् –
तर प्रिय !
के म राज भवनको भोग विलासको साधन मात्र थिएँ
अथवा तिम्रो नवीन मार्गको बाधक थिएँ?
अनि त्याज्य बुझेर
त्यागिएँ म….?
भोलि जब तिमी
राजकुमार सिद्धार्थ- बाट
मानवताको उज्यालो तारा बन्ने छौ
तिम्रो जय जयकार गरेर
मानव सभ्यता जब हिँड्नेछ
शायद, खुसीले त्यो बेलामा
जय जयकार गर्दै
हिँड्छु होला म पनि ।
तर मनमा उठिरहन्छ होला
एउटा अनुत्तरित प्रश्न
हे राजकुमार सिद्धार्थ
के अपराध थियो मेरो.. ?
के दोष थियो यो नवजात सन्तानको…?
जसले तिमी बिनाको
अपूरो जीवन जिउनु पर्यो
खण्डित भएर बाँच्नु पर्यो ।
अर्को आकर्षित कविता “म किताब हुँ”मा उनले आफूलाई खुल्ला किताबका रूपमा उभ्याउन सक्षम छन् । कतै उनी छायासँग संवाद गर्छिन्, कहीँ समयको प्रवाह बन्छिन् । कहिले नसोध नाता के हो ? भनेर दिक्क मान्छिन् । अनि भगवान् श्रीकृष्णको साथी भएर पनि सुदामाको दुःख बुझ्दछिन् । कविमा हुनुपर्ने सर्वगुण सम्पन्न छ कवि अप्सरामा । नाम जसले पनि जुराएको होस् तर कामले सार्थक पारेकी छन् कविले ।
आफ्ना हजारौँ विद्यार्थीलाई शिक्षादान दिने अवसर पाएकी शिक्षिका अब पेसाबाट मुक्त भइसकेपछि पनि कलम र उच्च विचारबाट अवकाश पाउने छैनन्, नेपाली जगतका आम पाठकहरूले उनका कविता र रचनाहरू पढ्न पाइरहने कुरामा विश्वस्त छौँ ।
शुभकामना !
गान्तोक, सिक्किम
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।