विजय मल्ल कथाकारको सीमामा मात्र सीमित छैनन् । कथाबाहेक कविता क्षेत्रबाट नेपाली साहित्यमा प्रवेश गरेका मल्ल नाटककारका रूपमा पनि दरिला छन् । अनुकूल वातावरणमा कलम चलाउन पाएका स्व. मल्ल आफ्नो मातृभाषा नेवारीमा पनि व्यङ्ग्यको पेटारो खोलेर स्वजातीय मन टिप्न सफल व्यक्तित्व हुन् ।

विजय मल्ल

विजय मल्ल

वि.सं. १९९७ देखि कथा फाँटमा उजेलिएका उनबाट अत्याधुनिक कथाहरू कथिए । बाल्यकालका शैक्षिक गुरु भवानी भिक्षु र दाजु गोविन्दबहादुर मल्लको सामीप्यको प्रभावमा देखिन्छन् विजय मल्ल । उनका कथाका भावधारहरूको बहाव परिवेश अनुरूपका चामत्कारिकता, सामाजिक समस्याको सहज संयोजनमा मनोवैज्ञानिक अन्तर्द्वन्द्वको कलापूर्ण छविकरण अनि शैलीको सुगन्ध–लेपन गुरु र दाजुको आवर्तित रश्मिले नुहिएको पाइन्छ । उनका कथा पात्रमा फूलको पराग सेचनात्मक आनीबानीका सूक्ष्म तर संवेदना पूर्ण रूपले समेट्ने कलाको तिख्खरपना पाइन्छ ।

‘दस रुपैयाँ’, ‘खेल’, ‘दिदीबहिनी’, ‘संयोग’, ‘२४० नं. को ट्याक्सी’, ‘पाटन’,‘एउटा चिठ्ठी’, ‘कालो चश्मा’, ‘प्रवेश निषिद्ध देश’ आदि कथाको सङ्कलन साझाद्वारा प्रकाशित छन् । यस्तै गरी ‘विजय मल्लका कविता’ कवितासंग्रह ‘कोही किन बर्बाद होस्’ र ‘जिउँदो लास’ (नाटक), ‘अनुराधा’ (उपन्यास) आदिका स्रष्टा विजय मल्ल स्वयम् राजनीतिक सेनानी हुनाका कारण आफ्ना भोगाइहरूमा आवृत रहेको पाइन्छ ।

यस परिप्रेक्ष्यमा २००७ सालको क्रान्तिअघि एउटा र तत्पश्चात् अर्को आवृत (बन्दीजीवन) का भोगाइसहितका कणहरू लेखाइमा पनि स्वाभाविक रूपमा परेको देखिन्छ । यस प्रकार समयको घामछाया प्रतिविम्बको दायित्व निर्वाहमा राजनीतिक आस्था तथा लेखकीय दर्पणमा व्यक्तिगत वा सामूहिक मनोभाव समेट्न विजय मल्ल अग्रसर देखिन्छन् ।

‘परेवा र कैदी’ तेह्र कथाको माला हो । यसमा ‘इन्जिनियरको टाउको’, ‘मातिएकी गाई’, ‘मिल्किएको हात शून्यमा’, ‘यो कथा कसको ?’, ‘अब म बिहे गर्छु’, ‘नयाँ दुलही’, ‘म र चिठ्ठी’, ‘बाटो पार गर्न लाग्दा’, ‘नदीको पारि’, ‘सिङ्गो मानिसको खोजीमा’, ‘अप्रत्याशित’, ‘कालो चश्मा’ अनि पुस्तकीय शीर्षक कथा ‘परेवा र कैदी’ परेका छन् ।

‘परेवा र कैदी’ एक प्रकारले एकतन्त्रीय जहानियाँ निरङ्कुश शासनको कालखण्डमा आमनेपालीले भोगेका अवस्थाको चित्रण भन्नुमा उपयुक्त हुन्छ । सबै कथाहरूलाई कथाकारले सर्वथा नयाँ धारमा उनेको देखा पर्दछ । ‘परेवा र कैदीमा निहित’ मार्मिक र गहनताको विषयलाई आकलन गरेर नै सङ्ग्रहको शीर्षकले ठाउँ पाएको हुनुपर्दछ । आरम्भ र अन्त्य अनि कलात्मक बान्कीको यस कथामा विपरीत विचारका राजबन्दीहरूमा रहेको ऐक्यबद्धता, परिवारबाट अलग्गिएर लामो जेल जीवनको मनोदशा, प्रवृत्ति इत्यादि परेवा र कैदीका जुन विशेषता छन्, यस प्रकारको मनोवैज्ञानिक पाराले कथावस्तु उन्ने बिपी र भिक्षुका कथामा जस्तै उनका कथामा पनि पाइन्छ । यस कारणहरूबाट ‘परेवा र कैदी’लाई नेपाली कथा फाँटको मास्टर पिसको रूपमा राख्न सकिन्छ ।

‘नदीको पारि’ छोटो–मीठो अत्याधुनिक मानव दर्शनको सारतत्त्व समेटिएको कथा हो । सचेतनता यसको आग्रह हो । कथाले कथाकारमा प्रचुर कलात्मकता, शिल्प र सम्प्रेषणीयता आदि गुणात्मक जेथाको कमी छैन भन्ने कुरा उजिल्याएको छ ।

परेवा र कैदी

परेवा र कैदी

एक जना आँट गरेर पारि पुग्छ, त्यहाँ कसैले उसलाई सोध्छ– ‘तिमी हामीसँगै बसी खान्छौ ? पिउँछौ ? खेल्छौ ? मायाप्रीति गर्छौ ?’

‘नाच्छु, पिउँछु, खान्छु, गाउँछु प्रीति गर्छु । म सब गर्छु ।’

यस्तो जवाफमा अट्टहास आएछ, ‘देख्यौ यो त अनौठो मानिस रहेछ, हामीसँग खान, पिउन, नाच्न यिनलाई बाधा रहेनछ ।’ उसले रातभर उनीहरूसँग यस्तै गरी बिताएछ । युवतीहरूले पालैसँग नाच्न, लोग्ने मानिसहरूलाई हर बखत पिउनमा साथ दिँदै गरेछन्, मजुरको प्वाँख लगाएको व्यक्ति (सम्भवतः मुखिया) ले उसैसँग राखेर भोज पनि खुवायो । ऊभन्दा अघि त्यता जानेहरूले त्यसो नगरेकोले नै सायद फर्केनन् । यही छ यस कथाको टुङ्गो हो । सामञ्जस्यतामा बाँच्ने आधार हुन्छ, उत्कण्ठा अनि सङ्घर्ष प्रत्येक नयाँ ठाउँमा पुग्दा (समयको सुधारमा) नयाँ ठाउँसँग हेलमेल गर्न जान्नुपर्दछ, समतापूर्ण व्यवहारले आनन्दपूर्ण सर्वसुलभता प्राप्त हुन्छ । यिनै विषयवस्तुलाई दार्शनिक पारामा कथाभित्र उनिएको देखिन्छ ।’

अको कथा ‘बाटो पार गर्न लाग्दा घतलाग्दो ढङ्गले लेखिएको छ । कथामा एक पात्रलाई बाटो काट्नु हतारो थियो तर ठूलो ताँतीले बाधा पुर्याइरहेको थियो । बाध्यतावश लाममा बसेपछि उसले थाहा पायो, त्यो लाम त ऐतिहासिक अपराधीहरूको लाम परेछ, जसमा जो अगाडि पुग्छ उसको भागमा गोली प्राप्त हुन्थ्यो । आफूभन्दा अगाडिको अवस्था देखेपछि ऊ भाग्ने वा गोली खाने…? भाग्ने ठाउँ पनि छैन, टुङ्गोमा नपुग्दै अन्यौलमा पर्छ यसै कथानकको आधारमा कथा टुङ्ग्याइएको छ ।

कथा बोल्दछ– “यो त अपराधीहरूको लाम हो, युद्ध गर्ने गराउने, गर्न चाहनेहरूको लाम । यसमा कति जनाले युद्धमा भाग लिएर मरिसकेका होलान् । कतिले कैयन् राज्यलाई आफ्नो बुटले कुल्चेर तहसनहस गरिसकेका होलान् । त्यस्ता सब यहाँ जम्मा भएका छन् अपराधीका रूपमा ।” लाममा बस्न पुगेका निरपराध भन्छन्– “…आफ्नो युगको उत्तरदायी व्यक्तिहरू सब जना त्यही लाभमा उभिएका रहेछन् । म अन्योलमा परेँ । मैले आफ्नो अगाडि साना बालकहरूको समूहलाई देखेँ, उनीहरूले भनेको पनि सुनेँ, यिनै हुन् अपराधीहरू….।”

यो कथालाई विश्वजन्य कथाको रूपमा अङ्गीकार गर्न सकिन्छ । विश्व शान्तिको रङ्गमञ्चमा ढाकिएका पर्दाका तहतह उघार्दै शान्तिविरुद्ध रहेको प्रवृत्तिको नाङ्गेझार हो र अनि शक्तिको अहम्प्रति धारिलो प्रहार हो ‘बाटो पार गर्न लाग्दा ।’

चौथो कथा ‘इन्जिनियरको टाउको’को दोस्रो हरफ – “उनी एउटा सुप्रसिद्ध इन्जिनियर भइसकेका थिए । उनले निर्माण गरेका कैयन् आधुनिक कलापूर्ण भवनहरूले राष्ट्रै सिँगारिइसकेको थियो र उनको ख्याति राष्ट्रिय सीमालाई नाघेर विश्वसम्म पुगिसकेको थियो । उनको गणना विश्वका प्रसिद्ध इन्जिनियर वैज्ञानिकहरूमध्येमा हुन्थ्यो । यस्तो व्यक्तित्वसँग संयोगले भेट हुनु सौभाग्यकै कुरा थियो, मैले पनि यही सम्झेको थिएँ र त्यस बेला सम्झे पनि ….।’ हो, यही इन्जिनियरले यस्तो झ्यालखाना बनाइदिनुपरेको थियो जसको आकृति अत्याधुनिक रूपको होस्, अत्यन्त कलात्मक जुन इतिहासमा बेजोड रहनेछ ।

समीपको साथीलाई सम्बोधन गर्दै इन्जिनियर भन्दछन्— “यहाँ हेर, यी झ्यालहरूमा प्राचीनता र नवीनताको कस्तो सम्मिश्रण छ, केही आँखी—झ्यालजस्ता र केही उड्न लागेका मजुरजस्ता । तर यी झ्यालहरू वास्तविक झ्यालहरू होइनन् । यिनको पछाडि ठोस भित्ताहरू छन्, मजबुत र बलिष्ठ जसलाई कसैले पत्तै लगाउन सक्दैन । यिनीहरूले मनमा भ्रम पैदा गरिदिन्छन् । कैदीहरूलाई पहिलो पटक यहाँ आउँदा डर, जोश पैदा नपरोस् । एउटा सुन्दर भवनमा बस्न लागेका छौं भन्ने आनन्दको अनुभव होस् भन्नको लागि यसको प्रयोग गरिएको हो ।” यहाँ कथाकारले सके संसारमा झ्यालखाना नै नभइदिओस् हुन्छ नै भने पनि यस्तो झ्यालखानाको निर्माण होस् जहाँ बन्दीहरूका लागि मुक्तिका कुनै छटपटी नभइदेओस् भन्ने आशय व्यक्त गरेका छन् र फेरि बन्धनको सौन्दर्य विहीनताप्रति इङ्गित पनि गरिएको देखिन्छ । कथा यत्तिकैमा टुङ्गिएको छैन, यसपछि कथा निरन्तर रूपमा बढेकै हुन्छ ।

परिवर्तनको हावाले मान्छेको मन कतिखेर पर्लक्क पल्टाइदिन्छ, भन्न सकिन्न । हिजोसम्म स्वतन्त्रताको आफ्नै परिभाषा र सिद्धान्त बोकेको मनमस्तिष्क एकै छिनमा पल्टिएर र स्वतन्त्रताकै एक प्रवाह मानेर अगाडि बढ्दै अरूलाई चकित तुल्याइदिन सक्छ । यही प्रवृत्तिमा एउटा नारीको खाका कोरेर अघि बढेका छन् कथाकार विजय मल्ल ‘अब म बिहे गर्छु’मा । पैंतीस वर्षीय उमेरको परिधि भित्रको सीमा नाघ्न लाग्दा परिवर्तनको मानसिकता लिएर युवती बिहेको अनिवार्यता महसुस गर्छिन् । उनको भाव फुट्दछ– “…सबै जिस्क्याउँथे । तिमी अब जोगिनी बन्न लाग्यौ भनेर । वास्तवमा जोगिनी बनिनँ क्यारे ! ममा ईश्वरभक्ति, धार्मिक चेष्टा पनि पटक्कै छैन । म पूजाआजा, मन्दिर आदि पनि धाउन्न । म बिहे गर्दिनँ भनेर अडिएकी थिएँ । यसलाई सबै जना मेरो ढिपी मात्र सम्झन्थे । खालि ढिपी ! दुराग्रह ।” उमेर सँगसँगै बढ्न जाने सामाजिक परम्परा यहाँ इङ्गित हुन पुगेको छ ।
यो कथामा परिपक्व युवतीको परिपक्वता अन्तर र बाह्यान्तर दुवैतर्फ मुखरित भएका छन् । यौनजन्य सुखहरू आवश्यक छैनन् भन्न मिल्दैन । उमेरले त्यो मिल्दै मिल्दैन, भन्न पनि सकिन्न । प्रेमको सङ्घात्मक राग, क्रान्तिकारी स्वरूपमा कथा उनिएको छ । हुन त यसैलाई एउटा नारीको विद्रोहको मनोगत स्वभावमा उजागर वा कुण्ठाको परिणति पनि भन्न सकिन्छ ।

मल्लका कथाहरू युगका पाइलाहरूभन्दा एक पाइला अगाडि बढेका हुन्छन् । समाजको सूक्ष्म अवलोकन गर्दै फड्को मारिरहेका हुन्छन् । अज्ञानता वा संस्कारगत कुप्रभावका परिणतिलाई मनोविश्लेषणात्मक स्वरूपमा कथामा कसरी कथ्न सकिन्छ भन्ने कुरा ‘नयाँ दुलही’ले नमुनाको रूप लिएको छ । अन्धविश्वास आदिका कारण विशेषतः जीवनजन्य शिक्षाको खडेरीको कारण जीवन मूल्य, मृत्युमा जाकिने स्थितिको सूक्ष्म अवलोकन यहाँ हुन पुगेको छ ।

कथामा मुख्य पात्रको रूपमा स्त्री पात्र उर्मिला र पुरुष पात्र ध्रुवमान अवस्थित छन् । उर्मिलाको बिहे जोसँग हुन लागेको छ, त्यो उनको निम्ति राक्षस वा ज्यानमारा लाग्दछ । ऊ भ्यानमा छ तर बीभत्स रगतले ऊ थरथराइरहेको हुन्छ । उसका आँखामा यही चित्र प्रस्ट पोतिएको देखिन्छ । रगतै–रगतले छताछुल्ल भएको एउटा वस्त्रहीनजस्ती नाङ्गी आइमाई, जसको छुरीले चिरिएको पेटबाट बटारिएका आन्द्राहरू झरिरहेका छन् । र्यालजस्ता पदार्थहरू बाहिर निस्केका छन्, नीलो भुँडीको डल्लो भाग देखिएको छ– एउटा डरलाग्दो मानिस घोप्टिएजस्तो त्यहाँ उभिएर खडा छ । रगतले मुछिएको त्यो लोग्नेमानिस चलमलाउँछ । नेप्टो, थेप्चो, कालो कुरूप, हातमा छुरी लिएर हाँस्न थाल्छ, उनलाई भाउन्न हुन्छ र अचेत अवस्थामा पुग्छिन् । त्यसभित्र झुन्डिरहेको तासको कपडा हल्लिरहन्छ । उनी यस्तो मनोदशामा बिहेको कुरा ध्रुवमानसँग चलेदेखि धेरै पटक पुगिसकेकी थिइन् र निरन्तर यही दृश्यले उनलाई लखेट्दै आइरहेको थियो ।’

यसरी मल्लका कथाहरूमा नवै रसको लेपन गर्दै करुणामा र बीभत्समा पनि रौद्रताको लेपन पनि पाइन्छ । नारी पात्रहरूको मनोगत विश्लेषण मात्र होइन कि नारीका कोमलतम भावना संवेदना अनि समाजले प्रदान गरेका यावत् परिणामको तानाबाना सम्पुष्टि ढङ्गले उतारिएको पाइन्छ । नारीको मनोगत पीडालाई टिप्ने कलाकारिता उनका कथामा भेटिन्छ ।

विजय मल्लका कथाका नारी पात्रभित्र गहिरो अध्ययन समाहित रहेको हुन्छ नै । आफ्नो र आफ्नो वरिपरिको समाजमा घटिरहेको घटनाको मनोविश्लेषण स्वयम् गर्दै, कारण खोज्दै, विम्ब र प्रतीकको उपमा दिँदै कथालाई जीवन्ततामा ढाल्ने बानी मल्लमा गहिरिएरै बसेको हुनुपर्दछ ।

उदाहरणका रूपमा हेरौं, “म एउटा ओभरकोटले खिचिएर त्यसको अगाडि उभिन गएँ र विक्रेताको आवश्यकता होइन होला, सब स्वचालित यन्त्रहरूले पसललाई नियोजित गरेको होला । म त्यसैले त्यस यन्त्रको खोजीमा यताउति हेर्न थालेँ । त्यस बखत मलाई अनौठो लाग्यो, मनुष्यको स्वरजस्तो मैले सुनें, तर मानिस देखिनँ । अचानक मैले दुइटा मात्र आँखाहरू आफूतिर उड्दै आएजस्तो देखेँ, जसमा कुनै आकृति र शरीर थिएन ।”

यहाँ कथाले बान्की फेरेको छ । बदलिँदो विज्ञानका तानाबानाको प्रभावले कथाकारको कथाकारिता स्वरूपलाई बदलेको छ । विज्ञान र मानवीय स्वरूपको चिन्तन कथामा घोलिन पुगेको छ । सरल हेराइमा कथामा यही कुरा पाइन्छ । यसैलाई अरू नियाल्न कथाकै शब्दहरूको एक टुक्रा पैंचो लिऊँ— “…उसले झन् खित्का छोडेर हाँस्दै भन्यो– यो देशमा तपाईं नौलो हुनुभएको हुनाले यसको अर्थ नबुझ्नुभएको हो । केही दिन बस्नोस् अनि यसको सार्थकतालाई बुझ्नुहुन्छ । त्यो आँखा बिस्तारै सरेर गयो, म त्यस पसलबाट बाहिर निस्कें । बाटामा पनि त्यस्तै देखें, आँखा मात्र छन्, अरू अङ्गहरू केही छैनन् । खुट्टा छन्… जीउ, रूप, आकार केही छैन । मोटर गुडेका छन् तर त्यहाँ सिङ्गो मान्छे छैन । खै यहाँ किन सिङ्गो मान्छे छैन ? किन पूर्ण मानिस छैन ?” ।

कथा प्रतीकात्मक स्वरूपमा उनिएको छ । यहाँ प्रतीक एउटै धारमा बहेको छैन । त्यसले बहुआयामिक विम्ब पोखिरहेको छ । यथार्थमा विम्ब: निर्देशन मानवीय सञ्चालन प्रक्रिया बिन्दुमै मात्र केन्द्रित छ । विम्बलाई अक्टोपस स्वरूप दिएर प्रतीकका चालहरू चलाइएका छन् । मानवीय स्वतन्त्रता मूल्य र मान्यताका चालढालको यथार्थ संयोजन नै कथाको उद्देश्य केन्द्रको चाहना हो ।

गतिशीलता चेतना र ज्ञानको प्रगति आजको मानवीय स्वरूपको परिणाम जडताको स्वरूपमा कथाले देखाइरहेको देखिन्छ । पूर्णताको स्वाङको भ्वाङ छर्लङ्ग यो कथाबाट देखिन्छ । पूर्णता विजयोत्सवको उन्मादमा पुगेको थियो, चुकेको छ र झुकिरहन्छ । सम्पूर्णताको आफ्नोपन गुमाउँदै आज आँखाको भरमा आफ्नो उभ्याइको दासत्व ग्रहणको बठ्याँइ यहाँ मञ्चित छ । सबतिर हेरेर पनि विज्ञान (शक्ति) को गिदी छैन, मन छैन, खुट्टा छैन, हात छैन । विनाशकारी लीलामा ऊ लिप्त छ । यो एक पक्ष हो भने अर्को पक्ष बौद्धिक, राजनीतिज्ञ समाजशास्त्री, धर्मशास्त्रीलगायत यावत् समाज सञ्चालक समूह अनि व्यक्तित्व कर्तव्य अकर्तव्यको सन्तुलित पाइलामा छैनन्, दासत्वमा मार्गप्रदर्शन आँखाहरू सम्मोहित पारेर आँखै डोर्याउन व्यस्त छन् ।

जब मन–मस्तिष्क नै लोपोन्मुख रहेको अर्थमा दुई आँखाको हेराइ अनि इशाराले टुलुटुलु हेरी मात्र रहने परिवेशको काल्पनिक कथा कथिरहेको देखिन्छ । कथाभित्र विश्वशान्तिको सतह खोतलेको र व्यक्तिको स्वार्थ सीमाको पराकाष्ठाको स्वरूप ओरालिएको देखिन्छ ।

‘म र चिठ्ठी’ आत्मपरक कथा हो । तीस पृष्ठको यस कथालाई कथा नभनेर आत्मवृत्तान्त भनिदिएमा पनि कुनै फरक पर्दैन । शीर्षकबाटै कथा वृत्तान्तको शैली चिठ्ठीपरक रहेको बुझिन्छ । चिठ्ठी आरम्भअगावै जुन पृष्ठभूमि दिइएको छ, कथाकारको स्वत्वको सत्य छर्लङ्गिन्छ ।

जसको एक अंश– “२००७ सालको क्रान्तिपछि जेलबाट म बाहिर निस्केको ६÷७ महिना मात्र भएको थियो । नेपाली काँग्रेस–राणा संयुक्त मन्त्रिमण्डल थियो । मलाई पटक्कै फुर्सद थिएन । त्यस बखत म काँग्रेसको एक कार्यकर्ताको हैसियतमा काम गरिरहेको थिए । त्यस कारण मकहाँ नचाहिने पत्रहरू आइरहने गर्थे ।…. एक दिन मोटो पुलिन्दा ल्याएर एउटा ठिटीले मेरो हातमा दियो । एउटा आइमाईको चिठ्ठी रहेछ, पढ्दै गएँ अन्त्यसम्म । वास्तवमा यस पत्रको लेखिकालाई म राम्ररी चिन्दछु । चिठ्ठी रोचक मात्र होइन, अनौठो पनि थियो । त्यसैले नाम र अरू केही अंश छाँटकाँट गरी, त्यस चिठ्ठीलाई प्रकाशित गरिरहेछु किनकि त्यसमा केही नभए पनि मानवीय सत्यता थियो ।”

यस अंशबाट कथामा स्वयम् कथाकार मल्लको राजनीति जीवनको सत्यता पनि पोतिएको पाइन्छ । हुन त यसमा चाखलाग्दा सामयिक युगबोधक तत्त्वहरू पनि समेटिएका छन् । यसैले बहुआयामेली छटा यस कथाले दिन सकेको छ ।
“के भनेर तिमी फुपूकहाँ गयौ ? कसले त्यहाँ पस्नु भन्यो तिमीलाई ? कसले जीवनलाई भेट्नु भन्यो ? त्यहाँ तिम्रो त्यही नाठो आइरहेको थियो, हैन ?” लोग्नेको वाक्य हो, यो । शङ्काले लङ्का पिट्छ, दाम्पत्यजन्य शङ्काबाट कलहको बीजारोपण हुन पुग्दछ । घर अशान्ति बन्न पुग्दछ र जीवन दुर्घटनामा जेलिन पुग्छ । पतिको शंकाको धार यति तीव्र थियो जसको अन्त्य अर्कै पनि हुन सक्थ्यो तर अन्त्यमा थकित भई आफ्नो भूल स्विकार्दै पत्नीमा आत्मसमर्पण गराइएको छ ।

‘अप्रत्याशित’ कथामा यौनजन्य तृष्णापीडित नारीप्रति मानवतापूर्ण व्यवहार समाधानको उपाय पहिल्याइएको देखा पर्दछ । भोजनजस्तै यौनभोकबाट पनि कुनै व्यक्ति वा समूह वञ्चित रहेसम्म संसारमा सुख र शान्तिको लक्ष्य विमुखै रहन्छ भन्ने कथाको सन्देश देखा परेको छ । सद्भावना र उदात्त व्यवहारद्वारा यस्तो सुख, सुलभ उपलब्धिको निम्ति लागिपर्नु सबैको कर्तव्य कथाले निर्देशित गरेको छ ।

‘मात्तिएकी गाई’ पनि यौनजन्य धारकै कथा हो । सर्वश्रेष्ठ मान्छे मात्र होइन, अरू प्राणी पनि ऋतुमय भएपछि मनोविज्ञान असरले पिरोलिन्छ । प्राकृतिक शाश्वत नियमलाई बुझ्न कथाले आग्रह गरेको देखिन्छ । कथामा जर्सी गाई र गणेशदासका छोरी समानान्तर केन्द्रबिन्दुमा प्रकट छ । राणा जर्सावाबाट बक्सको रूपमा एउटी कलिली जर्सी गाई पाएको हुन्छ । राख्ने ठाउँको अभावमा गाई कौसीमा पालिएको हुन्छ । समय क्रममा गाई कलिलीबाट रसिली बन्दै आउँछे । उसको चाल–ढाल उफ्राइले कौसी अनुपयुक्त हुन्छ । त्यसलाई झार्ने समस्या र माथि कौसीमा राख्दा खसेर मर्ने अनि गौहत्याको पापको परिबन्द साहू गणेशदास पर्दछ । टोलमा हाहाकारसमेत मच्चिन्छ । सबैको सल्लाहबाट खाटजस्तो चौखटको सहाराले गाईलाई सडकमा झारिन्छ, जहाँ साँढे पनि रहेको हुन्छ ।

यसरी कथाकार विजय मल्लका कथाहरूमा शिल्प सम्प्रेषणीयतालाई मनोवैज्ञानिक विम्ब र प्रतीक प्रचुर मात्रामा भेटिन्छ, जसमा समाजलाई गहिरो र दूरगामी अवलोकनद्वारा तिनका आवश्यकता र पूर्तिका लागि गरिनुपर्ने क्रान्तिकारी परिवर्तनका निम्ति उपायको समेत प्रस्फुटन गरिएका छन् । कोणात्मक अभिव्यञ्जनामा सरस, सरल प्रवाह उनका कथाका मुख्य पारा हुन् । ‘मात्तिएकी गाई’का प्रतीकात्मकता हुन् वा ‘परेवा र कैदी’ जस्ता बिम्बात्मक आयामिक कथा हुन्, तिनले घटनालाई आफ्नै पाराको संयोगान्त धारमा ‘सस्पेन्स’ राख्ने क्षमताको चमत्कार देखाउँछ ।

नारी पात्रको उच्चारण समाहित हुनु अर्को विशेषता हो । यौन मनोवैज्ञानिक कलाकारिता शिल्प विजय मल्लको खुबीहरूमध्ये एक हो भन्न सकिन्छ । ‘अप्रत्याशित’मा एउटी तरुनी अविवाहिता नारी धेरै दिनदेखि बिरामी छिन् । बैँसको उर्लंदो भेल बगेर सुक्ने त्रासले नै ऊ बिरामी परेकी छे । कथामा मर्नु न बाँच्नुको दोसाँधमा रहेको यौनतृष्णाको तह तहको वर्णन गरिएको छ । नारीमा पुरुषभन्दा प्रबल एवम् प्रमुख यौनतृष्णा हुँदो रहेछ भन्ने तर्क अनेकौँ रोमाञ्चक मोडहरू सिर्जना गरेर कथालाई जीवन्तता दिइएको देखिन्छ ।

एउटा सम्पन्न परिवारकी युवती जसका दिदी बहिनीहरूको बिहे भइसकेको छ । दाइभाइहरू डाक्टर बनिसकेका हुन्छन् तर उनी भने जीर्ण बिरामी । निकै दुब्लो, धेरै दिनदेखि ओछ्यानको ओछ्यानमै । कहिलेकाहीँ भाइको साथी आउँछ, विवाह र प्रेमिकासम्बन्धी कुरा उनको कानमा पर्छ । भाइको साथी आउन छोड्दछ अनि फेरि आउन थाल्दछ । ऊ भावावेशमा तिनको गालामा म्वाइँ खान पुग्छे । गाला चुस्छे, टोक्छे अनि त्यहीँ ढल्दछे । मुर्छा परे झैँ भएर रुन्छे पनि । यौवनको उर्लाइ पोख्ने ठाउँ नपाएर उनको स्वस्थपनमा अवरोध आएको हो कि ? पाठक उनको दुर्दशामा द्रवित हुन पुग्दछ । दयनीयताका भावना त त्यसै पलाउन पुग्दछ नै ।

कथाले एक ठाउँमा खुलासा पनि गरेको छ– “भाइको एउटा साथी जो बराबर आइरहन्छ, भाइसँग विवाह सम्बन्धमा कुराकानी गरिरहेका बराबर तिनले सुनेकी छिन् । उसको कुराको प्रभाव अचानक परेको अनुभव तिनमा छ । सुन्न नचाहँदा–नचाहँदै पनि तिनी बाध्य छिन् । उनको कुनै एउटै राम्री युवतीसित प्रेम परेको रहेछ । चिठ्ठी पनि बरोबर लेखिरहन्छिन् तर त्यस युवतीलाई अरू ठाउँबाट माग्न आएकोले त्यसलाई सकभर रोक्न लगाउन अनुरोध गरेकी रहेछ । त्यसले उनलाई भेट्न खोजेकी रहिछ । यसमा के गर्न हो भन्ने कुरामा यिनको भाइ र साथीको बीचको लामो गन्थन भएको रहेछ ।”

यसमा उनलाई लिनु दिनु केही थिएन तर पनि त्यस दिनदेखि भाइ र भाइको साथीको कुराको आवश्यकता, अनि त्यही कल्पनामा मडारिंदै भाइको साथीको प्रेयसीलाई पन्छाएर आफूलाई त्यस ठाउँमा राखेकी छन् र आफ्नो अवस्थाप्रति धिक्कारेकी छिन्, भित्रभित्रै कल्पेकी छिन्, औषधिहरू मिल्काएकी छिन् । उनी देवी देवताका आकृतिसम्मलाई कुरूप पार्न उद्यत बन्छिन् । ‘अप्रत्यासित’ कथामा शारीरिक मानसिक पीडितहरूको उद्धार र सहानुभूतिको हृदयद्वार खोलिनुपर्ने कथाकारको आग्रह रहेको छ । यो मानवीय संवेदनाको घोत्लाइको पुकार हो ।

अन्तिम कथा हो ‘कालो चश्मा’ । यो कथा फ्रायडीय फाँटको उत्तेजक पाराको रहेको छ । सायद यसैले होला यो अति चर्चित पनि रह्यो । पतिपत्नी र तेस्रो पुरुषको बीचमा केन्द्रित रहेको छ ।

कथा भन्छ– “दुई व्यक्ति मस्तसँग सुतिरहेका छन् । मेरी स्वास्नी त्यस छिमेकी साथीको पुष्ट पाखुरामा टाउको अड्याएर, उसको गालामा निधारले थिचेर, छाती खोलेर सुतेकी छे । लोग्नेमानिस आफ्ना दुवै हातले उसलाई अँगालेर, तिघ्राले राम्ररी नै त्यसलाई च्यापेर सुतिरहेको छ । स्पष्ट छ कि तिनीहरू अत्यन्त सन्तुष्टिमा निदाएका हुन् । मलाई हेर्दाहेर्दै अचानक लाग्यो– दुई सेता गुलाफका फूलहरू आपसमा गुथिएर फुलिरहेका छन् । उनीहरू उठ्लान् भनेर म केही पछाडि सरेँ । उनीहरू मस्तसँग निदाएका थिए । बराबर निद्रामा उनीहरू चलमलाउँथे, दुवैले दुवैको छातीमा केही खोजे हात यताउति सार्दथे, पुष्ट पुष्ट पिँडौलाका सेता छालाहरू चम्कन्थे । मैले हेरी नै रहें । मलाई यी दुई नरनारी सृष्टिका प्राथमिक व्यक्तिहरूझैँ लागिरहेका थिए र म एक द्रष्टा । मलाई यो मनोरम दृश्य एक घटनासमान हेर्नु छ, हेर्दछु … मैले तैपनि ती फूलका थुङ्गानीत नरनारीलाई विस्फारित नेत्रले हेरिरहें । वास्तवमा ती दुवै सुन्दर थिए ।”

‘कालो चश्मा’ वस्तुतः हेराइको कोण हो । कालो शिल्पबाट देखिने परिदृश्य हो संस्कार र परम्परामाथि क्रान्तिकारी परिवर्तनको विम्ब हो । आवेग, घृणा, उत्तेजनाको इन्द्रियजयी बन्ने पराकाष्ठाको वल्टाइ–पल्टाइ हो । कथाकारको उत्सर्ग विचार (थिम) को मन्थन हो । बहुमतलाई समर्थन गर्ने, अल्पमतलाई कदर गर्ने भन्नेबारे वैज्ञानिक धारणा विरुद्धको द्रोह पनि हो । एक पक्षको संस्कार अर्को पक्षको कुसंस्कार पनि हुन सक्दछ, एक पक्षको कुबाटो अर्को पक्षको सुमार्ग पनि बनिरहेको अनि बन्ने गरेको यथार्थ हो ।

मूलतः कथा संस्कारगत स्वरूपमा मानसिक विकृतिकै उपज स्वरूपमा ग्रहण गर्ने धेरै होलान् र यसलाई प्रभावित कथाकै रूपमा दिने पनि होलान् तर वास्तवमा कथाकारले परिवर्तित विश्वमा बदलिँदो परिस्थिति र घटनाक्रमअनुरूप सङ्केतात्मक स्वरूपमा कथा कोरेको देखिन्छ । मुख्यतया कथा साँच्चै नै प्रतीकात्मक स्वरूपमा उनिएको छ, जसको उदाहरण कथाकै शीर्षक नै ‘कालो चश्मा’ रहनुले पनि पुष्टि हुन आउँछ । मस्तिष्कका विविधताको प्रतीक यसमा छ । शान्ति र समानताका रागात्मक अभिव्यक्ति पनि यसमा प्रवाहित छ । मानसिक पूर्णता एकातिर छ भने मानसिक विकार पनि यसैभित्र छ । विषय छनौटमा साहसिकपन पोतिएको छ एकातिर, अर्कोतिर उन्मुक्त धरतीको कल्पनाशीलताले अनन्त उडान भर्न खोजिएको पनि छ ।

विजय मल्लले आफ्नो लेखनमा सरलताको तानाबाना बुन्दा शब्द–माधुर्य कतिपय ठाउँमा हराउने गरेको देखिएकोले त्यसबाट पाठकहरू बहकिने भने गर्दछन् । यो बान्कीको कमजोरी उनका कथामा तड्कारो रूपमा देखा पर्दछ ।