शब्दको नजिकको साथी, साथीभाइहरूको अझ नजिकको साथी तर बेथिति अव्यवस्था भ्रष्ट्राचारलाई सामाजिक शत्रु मान्ने सबै खाले विसङ्गतिका विरुद्ध वाणी, शब्द र व्यवहारबाट आगो ओकल्ने स्रष्टा हुन् “शब्दसेना” ।

चालिस दशकको अन्त्यबाट कवितामार्फत साहित्यको यात्रामा अनवरत लागेका छन् कृष्णदेव रिमाल । उनले साथीहरूसँग संवादको समयमा दिने ओझिला प्रतिउत्तरका कारण एक मित्र सञ्जीव श्रेष्ठले साहित्यिक नाम राखिदिए “शब्दसेना” । त्यसपछि कृष्णदेव रिमाल नेपाली साहित्यमा “शब्दसेना” नामले परिचित हुँदै स्थापित भएका छन् ।

विद्युत्कर्मी साहित्यिक समाजले प्रकाशन गरेको कविता कृति “आखरको आरन” शब्दसेनाको पहिलो साहित्यिक कृति हो । २०४७ सालदेखि कविता यात्रामा अगाडी बढेका कविले पहिलो कविता सङ्ग्रहमा ४७ कविता समावेश गरेका छन् । संरचनाको हिसाबले यस सङ्ग्रहमा लामा र छोटा कविताको उपस्थिति बराबर जस्तो छ ।

बिग्रिएको नेपाली मूल नीति माथि खबरदारी गरिएका र नेपाली जनलाई सजीवताको प्रमाण पेस गर्न आव्हान गरिएका कविताहरू सङ्ग्रहमा अधिक मात्रामा रहेका छन् । नेपाली राजनीतिमा २००७ सालदेखि जनवाद र प्रजातन्त्रको नारा लगाउनेहरूलाई कविले कविता मार्फत प्रश्न गरेका छन् । “समयले युग फेर्दा पनि नेपाली जनतामा प्रजातन्त्रको आभास किन हुन सकेन ?” लामो समयसम्म पनि नेपाली धरतीमा प्रजातन्त्रको हितकारी वर्षा किन हुन सकेन ? जुन नेपाली वास्तविकता कविले यसरी पेस गरेका छन् ।

आखरको आरन

आखरको आरन

पत्र मञ्जुषमा

खसाल्या रे प्रजातन्त्र

भन्ने सुन्या निकै भो

कतै जनताको ठेगाना

मिलेन र कि

त्यो कता चैँ गो ? (ठेगाना १२)

नाम एक सम्बोधन मात्र हो । नाम अनुसारको व्यवहार व्यक्ति, देश, समाजमा कतै नपाइएको यथार्थ पीडा, कविले सत्य घटनामा आधारित भई सिर्जना गरेको कविता यस सङ्ग्रहमा पढ्न पाइन्छ । शासकहरूको जिम्मेवारी विहीनताले गर्दा नेपालमा कैयौँ जीतबहादुरले जीवनसँग हारेका छन् । कृषिप्रधान देशमा समयमा मल, बिउ, सिँचाइ उपलब्धता हुँदैन । उत्पादनमा आधुनिकीकरण र वैज्ञानिकीकरण प्रणाली स्वीकार नगर्दा उब्जनीमा ह्रास आएको छ जसले गर्दा देशले निरन्तर हारेको छ । हाम्रो देश वास्तवमा कृषिप्रधान कि लुटप्रधान कविले प्रश्न गरेका छन् । समग्रमा नेपाली राजनीतिले हारेको नेपाली यथार्थ कवितामा छ । नेपाली राजनीतिका सबै काला पर्दाहरू च्यातेर जीतबहादुरहरूका अनुहार र मनमा खुसी ल्याउन पनि कविले कवितामा खुल्ला आव्हान गरेका छन् । चित्रगुप्तको कठघरामा जीतबहादुर–१७

देशका सबै खाले बेथितिहरूलाई देशकै ठूलो आरनमा अर्जापेर नयाँ पाइन निकालेर सगरमाथाको देशको शिर सगरमाथा जत्तिकै उँचो बनाउन कविले नेपाल आमालाई सम्बोधन गर्दै आरन कवितामार्फत युवालाई आव्हान गरेका छन् ।

पहाडी भूगोलमा मिलेको विकाश र सुन्दर पर्यटकीय नगरी दार्जिलिङबाट विकाश पर्यटन मात्रै होइन मुस्कान सहितको व्यापार गर्न सिपालु दार्जिलिङका चेलीहरूको बारेमा पनि कविता आएको छ । दार्जिलिङका पछ्यौरिनी –२१

नेपाली राज्य संयत्रले कसरी भ्रष्ट्राचारको मलजल गरेको छ भन्ने वास्तविकता कविले कविताको धेरै ठाउँमा पेस गरेका छन् । सुब्बासापको सङ्ग्राती मार्फत कविले भनेका छन् सरकारले कर्मचारीलाई आवश्यक भन्दा न्यून वेतन दिएर एक थरी कर्मचारीलाई मानसिक तनाव दिएको छ । अर्को तर्फ न्यून वेतनले ठूलो राष्ट्रिय रोग बढाएको छ भ्रष्ट्राचार । सरकारले घुमाउरो पाराले भनेको छ भ्रष्ट्राचार गरेर दैनिकी चलाउ । वेतनधारी कर्मचारीको हालत कवितामा यसरी आएको छ ।

छोराछोरीको घुर्की

सुब्बिनीको सुँकसुँकी

सहेकै छन् सुब्बासाबले

चकटी किन्छन्, तलबै चुहिन्छ

फिस तिर्छन्, तलबै चोइटिन्छ

साबुन दल्दा तलबै दलिन्छ

चाडपर्व, दान, भिक्षा

इष्टमित्र, स्वास्थ्य, शिक्षा

सर्वत्र समेट्नुपर्ने 

सुब्बासाबको एक्लो पर्सले । सुब्बासापको सङ्ग्राती – पृ.७१

देशको माया, माटोको माया, नेपाली समाज र संस्कृतिको माया नेपाली जनजनमा भएर मात्रै हुदोँ रहेनछ । शासकहरूले पत्थरको मुटु बनाएर शासन सञ्चालन गरेको । देश र जनताप्रति जिम्मेवार हुनुभन्दा सत्ता वरिपरि रम्ने लामो शृङ्खला देख्न बाध्य नेपाली युवाहरू ।  अन्य विकल्प नदेखेर भिसा लिन बाध्य भएको नेपाली वर्तमान यथार्थ ‘मैले भिसा लिएँ’मा आएको छ । कविताले भिसा पछिको डरलाग्दो परिस्थिति पनि उजागर गरेको छ ।

सिंहदरबारले किन नेपाली युवालाई हिमाली छाया र पहाडी मायाबाट विमुख बनाएको छ ? प्राकृतिक फूलबारीका जनताहरूलाई किन मरुभूमिमा ज्यान फाल्न र पसिना पोख्न बाध्य बनाएको छ । विदेशी भूमिमा पसिना पोख्न बाध्य नेपाली युवाहरूलाई पराइबाट कसका होलान् ती पाठाहरू भन्दा शासक बाहेक अन्य कुन नेपालीको मन मुटु छियाछिया हुँदैन होला ?

सगरमाथा मुन्तिरका

हरिया पहाड र

सुनौला फाँँटहर बिर्सेर

तपतपाउँदो खाडीपाखामा

अहोरात्र चरिरहने

कसका होलान् पाठाहरू ? 

कसका होलान् ती पाठाहरू ? पृ. ४०

नेपाली राष्ट्रियता र सार्वभौमसत्ता माथि भइरहने विदेश हस्तक्षेपको बारेमा पनि कवितामा वेग आएको छ । विश्वभर उपनिवेश चल्दाको समयमा कुनै साम्राज्यवादको अधीनमा नरहेको कुमारी मातृभूमि नेपाल, पछिल्लो समय उपनिवेशका सन्तानले बलात्कार गर्न आदेश दिएको राष्ट्रिय पीडा कवितामा बघिनीको आदेश बनेर आएको छ । नेपाली राष्ट्रियतामा अतिक्रमण मात्र भएको छैन पछिल्लो समय नेपाली भान्सामा, नवपुस्तामा, अभिभावकमा, सञ्चार माध्यममा सबैभन्दा धेरै नेपाली राजनीतिमा भएको राष्ट्रियताको क्षयीकरण बारेमा पनि कवितामा सशक्त रूपमा आएको छ ।

हे अक्षर टिप्ने किसानहरू हो !

अब तिम्रो कर्ममा मात्र बाँकी देख्छु

राष्ट्रियताका अवशेषहरू !  राष्ट्रियता – पृ.५७

हाम्रा पर्व र उत्सवहरूलाई सामाजिक मूल्य मान्यता र ऐतिहासिक गरिमालाई कायम राख्दै  निरन्तरता दिनु पर्नेमा पछिल्लो समय आएको विचलन प्रति कवि दुःखी छन् । पर्वहरूको सकारात्मक परिवर्तन आवश्यक छ तर परिवर्तनको नाममा सामाजिक विसङ्गति ल्याउने क्रियाकलाप गर्नु सामाजिक अपराध हो भन्ने कविको धारणा होली  कवितामा आएको छ ।

खारेज होस् होली

भट्टी जुलुसको पर्व भए

बिर्को खोलेरै रमाउनुपर्ने भए ।  होली  – पृ.१००

समग्रमा कविताहरूमा सामाजिक र राष्ट्रिय चेतना मुखरित भएका छन् । कहालीलाग्दो नेपाली वर्तमान अवस्थाको बारेमा कविले कविता मार्फत खबरदारी गरेका छन् । कविले कलमको सहायताले गर्नुपर्ने काम निकै उपयुक्त तवरले गरेका छन् । कवितामा राष्ट्रिय चेतना निकै उजागर गरेका छन् भने सामाजिक विसङ्गतिप्रति निर्मम प्रकारले प्रहार गरेका छन् । कविको मातृभूमि प्रतिको प्रेम र सामाजिक विकृतिमाथि प्रहारको कलम निरन्तर चलिरहोस् । आगामी दिनमा शब्दसेनाको कलमबाट यस प्रकारका राष्ट्रिय चेतना सामाजिक विकृति र मानवीय कर्ममा अगाडी बढ्न अभिप्रेरित गर्ने कृति नेपाली साहित्य भण्डारमा थपिंदै जाउन्, शुभ कामना ।