पुस्तक पढ्दा आफूलाई महत्त्वपूर्ण लागेका वाक्यहरूमा धर्को लगाउनु, डायरीमा टिपोट गर्नु, साथीहरू भेट्दा पढिएका पुस्तकका परिचर्चा गर्नु, मन लाग्दा र जाँगर पलाउँदा  लेखहरू लेख्नु मेरा दैनिकी हुन् । २०८० सालभरिमा साना–ठूला गरी करिब ८० वटा पुस्तक पढ्ने मेरो अठोट कायमै छ । कहिलेकाहीँ दिनमा १७–१८ घण्टा निरन्तर पढ्छु होला । घरको बीच तलाबाट बाहिर निस्किन पनि भ्याउँदिनँ । यो मेरो निवृत्त जीवनको रहर हो तर बाध्यता भने होइन । पढ्ने भनिएका ८० वटामध्येको एउटा पुस्तक हो ‘प्रकृति सहअस्तित्वको खोजी’ पुस्तक ।

प्रकृति सहअस्तित्वको खोजी

प्रकृति सहअस्तित्वको खोजी

साहित्यिक पुस्तक मेरो खास रुचिको विषय हो ।  पुसको महिना ‘प्रकृति सहअस्तित्वको खोजी’ पुस्तक हात पर्यो । डा. रोशन शेरचन र डा. हिमलाल श्रेष्ठद्वारा सम्पादित उक्त पुस्तक मजस्तो वन, वातावरण र जैविक विविधता संरक्षणमा संलग्न मनुवाका लागि अमृत नै साबित भयो ।  वन तथा वातावरणकर्मीका आफ्ना अनुभव, अनुभूति र जीवन भोगाइ समेटिएको उक्त पुस्तक पढेपछि मेरो जीवनमा नयाँ ऊर्जा पलायो । उत्साह थपियो र उमङ्ग बढ्यो । वनमा लाग्नु साँच्चिकै उत्तम रहेछ । वातावरणमा समय खर्चिनु ठीक रहेछ । जैविक विविधतामा लगाव राख्नु उचित रहेछ भन्ने कुरा सो पुस्तक पढेपछिको मेरो ठम्याइ हो ।

पुस्तकमा २७ जनाका लेखकहरू समाहित छन् । तीमध्ये  एक दर्जन त पिएचडी होल्डर छन् । मैले मनमनै सोचें वन, वातावरणमा लाग्नेहरूलाई पिएचडी गर्न सजिलो, सम्भव र समयले साथ दिने रहेछ कि भनेर लोभ र भोक जाग्यो । म पनि वन, वातावरण विषय पढेर अघि बढेको भए पिएचडी होल्डर हुन्थें झैं लाग्यो । तर शिक्षक न थिएँ । खरी घोट्दा घोट्दै आफू खिइएको हेक्कै भएन ।

पुस्तकमा कमला रुपाखेती, कल्पना घिमिरे, गायत्री कार्की, डा.पुष्पा केसी भण्डारी र डा.मीरा त्रिपाठीका लेखहरूले महिलाहरू कसरी वन, वातावरण र जैविक विविधता संरक्षणमा खटिएका रहेछन् । घरपरिवार छाडेर, साना बच्चा काखमा च्यापेर, बाबु–आमाका कुरालाई नटेरेर निरन्तर वन र वातावरणकै काममा खटिएर हिँड्दा आफ्ना हाकिमहरूबाट पाउने दुःख र अनाहकमा फसाउन खोजिएका कुराहरूले समेत मनमा नराम्रो चोट दिन्छ । मन अमिलो हुन्छ । वन–वातावरण संरक्षणमा लाग्नु पुरुषको मात्र दायित्व हो भन्ने पितृसत्तात्मक सोचलाई च्यालेन्ज दिएको सहजै अनुमान गर्न सकिन्छ ।

डा.मीरा त्रिपाठीले ‘म वनमान्छे किन भएँ, वनमान्छे किन भइनँ’ भन्ने लेखमा महिला वनकर्मीका खास कुरा उल्लेख गरेकी छन् । सबै कुराभन्दा वन–वातावरण क्षेत्र फराकिलो भएर पनि मनका साँघुरा वनमान्छेकै कारण आफू वनमान्छे हुनबाट टाढिनु परेको तीतो सत्य ओकलेकी छिन् । गायत्रीले दुर्गम दार्चुलाको यात्रा गर्दा भोगेका पीडाहरुलाई प्रकृतिमा बिसाएकी छन् । कमला रुपाखेतीले आफूले नेपालका वनमा सिकेका कुरा विदेशमा रहेर पनि प्रयोग गर्न सकेकोमा गर्व गरेकी छन् । नेपालका वनलाई प्रारम्भिक सिकाइ थलो मानेकी छन् ।

पुस्तक किनेपछि सम्पादकमध्येका रोशन दाइलाई फोन गरेर भनेको थिएँ, ‘दाइ पुस्तक हातमा पर्यो । पढ्छु । पुस्तकको परिचर्चा देशभरि गर्न पर्यो । मिल्छ भने सामुदायिक वन उपभोक्ता महासङ्घसँग मिलेर गर्दा जाती हुनेछ ।  सञ्जाल ठूलो छ । विक्रीका लागि समेत सहज हुनेछ । देशभरि २२ हजार बढी सामुदायिक वन उपभोक्ता समूहहरू छन् ।  तर यो पुस्तक कतिका हातमा पुग्लान् ? कतिले पढ्लान् र बुझ्लान् ? जसका लागि लेखिएको पुस्तक हो उसले पढ्न नपाउँदा के मज्जा आउला र ?’

रोशन दाइले सो पुस्तकको विमोचन तथा परिचर्चा नेपाल वन प्राविधिक सङ्घको साधारण सभाको मौका पारेर काठमाडौँमा गरिएको सुनाएका थिए । वन तथा वातावरण साहित्यिक समूहको पहलमा प्रकाशित उक्त पुस्तकले इको साहित्यलाई प्राथमिकता दिएको पाइन्छ । वनमा कर्मशील वनकर्मीका तीतामीठा कुरा मात्र होइन, प्रकृतिको अनुपम उपहार स्वरूप सो पुस्तक बजारमा आएको सत्य हो ।

‘थोरङलाको अनन्त प्रवाहमा हेलिँदा’ शीर्षकको लेखमा धादिङका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले उक्त स्थानको स्वर्णिम बयान गरेका छन् । यात्रामा आफूहरूले खाएको, बसेको मात्र बयान गरेका छैनन् बरु उनले उत्तरतिर लाग्दै गर्दा हिमालहरू दक्षिणतिर लम्पसार परेको अनुभूति सुनाइरहँदा विश्वास गर्नै गाह्रो परेको थियो । थोरङ्ला उक्लिँदा सास फुलेको, मनमा अनेक तर्कना खेलेको, हरेक ढुङ्गाहरूलाई देउता मानेर ढोग गर्दै हिँडेको कुरा पढिरहँदा मनमा छुट्टै आनन्द आउँदो रहेछ ।

लेखमा प्रकृतिको अनुपम बयान गरिएका छन् । वनका विद्यार्थी भएका कारण उनले त्यहाँ पाइने बोट, बिरुवा, वनस्पति तथा जडीबुटीका बारेमा चासो राखेका छन् । हिमाललाई आँखामा सजाएका छन् । हावालाई फोक्सोमा ल्याउँदै–फाल्दै माथिमाथि उक्लिरहेका कुरा पाठकलाई सुनाइरहेका छन् । शब्दका सहारामा पाठक उतै पुगेका छन् ।

‘आहाल भनेको त भैंसी खेल्न मात्र होइन रहेछ । यसले तलका कुवा, धारा पो रसाउने काम गर्दो रहेछ । विकास गर्दै जाँदा गँगटोले कुलोमा प्वाल पारेर हैरान गर्यो । सिमेन्टले प्वाल टालियो र गँगटोको सेखी झारियो तर कुलोबाट रसाउने पानी, खेतमा नगएपछि सुख्खा हुन थाल्यो । खेतका गराहरू चिराचिरा परे । गँगटोको कर्म बल्ल थाहा भयो ।’ यो अनुच्छेद पढेपछि मैले हाम्रा वनका टाकुराहरूमा पोखरी खनेको बुझें । उक्त पोखरी पानीका रिचार्ज सेन्टर हुन् भनेर सर्लक्क थाहा पाएँ । यस्ता घत लाग्दा कुरा डा.राजेश राईले ‘हाम्रो मुर्ख्याइँ’मा उल्लेख गरेका छन् ।

तिनाउ जलाधार संरक्षणका कुरा गर्ने मजस्ता मान्छेलाई यो त गतिलो सूत्र पो भो । माथिल्ला तटीय क्षेत्रले वन जोगाइदिएकै कारणले तल्ला तटीय क्षेत्रमा पानीको स्रोत आइपुगेको थाहा पाउन मलाई कुनै साह्रो परेन । माथिल्ला वनमा पोखरी खनेकै कारण तल्ला क्षेत्रमा पानी रसाएर आएको कुरा सुनाउन कठिन भएन । यो लेख मेरा लागि प्रमाणको सगरमाथा भयो ।

सुभाषचन्द्र देवकोटाको लेखाइ अति नै घत लाग्यो । उनको लेखाइमा सरलता भेटें ।  ग्रामीण भेगका वन उपभोक्ताका लागि नै लेखेको लेख हो भन्ने ठोकुवा छ । वनका कुरा मसिनो गरी लेखेका छन् । बुझ्ने र बुझाउने गरी लेखेका छन् । वन समूहका काम कर्तव्यदेखि वनको दिगो व्यवस्थापनसम्मका कुरा केलाएका छन् । नेपालका सामुदायिक वनहरूले संसारभरलाई नयाँ सन्देश प्रवाह गरेका कुरा उल्लेख गरेका छन् । वनलाई मनैदेखि माया गर्ने वनकर्मी रहेछन् भन्ने कुरा पुष्ट्याइँ गरेका छन् ।

‘वनको राजा’ शीर्षकमा कमलजंग कुँवरले कृषि–वन, वन–उद्यमसँग जोडेर गतिलो सन्देश प्रवाह गरेका छन् । उनको लेखाइलाई पुस्तककै कोसेढुंगो माने मैले त । तथ्य, तथ्यांकमा आधारित भएर लेखिएको उक्त लेख पढेपछि मासु खानै छोडौं भन्ने लाग्यो । तथ्यपरक लेखले नेपाली वनकर्मीलाई एकपटक आफ्नै कर्मप्रति सचेत रहन पनि अह्राएको छ । नेपालको वन नीति, कानून, वनप्रतिको दृष्टिकोण र व्यावहारिक प्रयोगका बारेमा गतिलो झापड कसेका छन् । त्यसैले वन कर्मचारी भएर वनको आफ्ना कुरा लागू गर्न नसक्ने देखेर नै हुँदाखाँदाको वनको जागिर छाडेर नीति बनाउने ठाउँमा पुग्ने उत्कट अभिलाषासहित उनी राजनीतिमा होमिएका छन् ।

वन–वातावरणलाई बुझाउनका लागि साहित्यलाई रोज्नु चानेचुने कुरै होइन । वनका कर्मचारीहरू, आफ्ना प्रशासनिक एवम् प्राविधिक काममा खटिरहनु पर्ने अवस्थालाई छाडेर साहित्यिक पाराले वन–वातावरणका प्राविधिक कुरालाई सबैका माझ पुराउनु मूलालाई बाँसुरी बनाउनु जस्तो सजिलो काम हुँदै होइन । तैपनि पुस्तक प्रकाशनको प्रयास सार्थक र प्रशंसनीय छ ।

डा.ऋषि वास्ताकोटी, डा.चन्द्र गिरी, डा.भरतमान श्रेष्ठ, डा.कृष्णहरि गौतम, डा.राजबाबु पहाडी, डा.स्वयम्भुमान अमात्यका गहकिला लेखका बयान गर्नु मेरा लागि सजिलो कुरा होइन । उनीहरूका लेख पढेपछि पाठकले अनेक कोण–दृष्टिकोणबाट बुझ्ने छन् । वनलाई सरल र सहज तरिकाले बुझाउने उनीहरूका प्रयासले राम्रो अभ्यास गरेका छन् । सरल भाषा, लालित्यपूर्ण शैली र मन छुने शब्दका प्रयोग हाम्रा निम्ति सम्पत्ति हुन् ।

इको राइटरका रूपमा आफूलाई चिनाउन प्रयासरत विजय हितान कसरी ब्रायन हितान भए भन्ने कुराले भन्दा उनले बेलायतमा वातावरणको क्षेत्रमा गरेका काम र अभ्यास नेपालमा कसरी लागू गर्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण लाग्यो ।

‘वातावरण व्यवस्थापन’ शीर्षकमा लेखिएको उक्त लेख नेपाली जनजीवनका लागि काम लाग्दो छ । गोविन्द काफ्लेको ‘क्लेप्टोमेनियाक’ नपढी सुखै छैन । ‘मुटुमा कुँदिएका छापहरू’ रमेश थापाको उत्तम संस्मरण पुस्तकमा सजिएको छ । उनको यो लेखले ढोरपान सिकार आरक्षको बारेमा धेरै ज्ञान दिन्छ । स्थानीय र वनकर्मीबीचका अन्तर्द्वन्द्व र व्यवस्थापन कसरी भएका छन् सूचना पाइन्छ । लेकका कृषि र जनजीवनलाई सजिलै बुझ्न सकिन्छ । रमेश थापाले त्यहाँका किसानसँग गरेका कुराकानी कति मज्जाको छ । उनले किसानलाई सोधेको प्रश्नमा पाएको उत्तर कति रोचक र सन्देशमूलक छ ।

लेकको खेतीपाती,

मुरी छरे पन्ध्र पाथी,

उठेर छर्ने, बसेर काट्ने,

खुट्टाले माड्ने, टोपीले बाँड्ने ।

सम्पादकद्वयमध्ये डा.रोशन शेरचनको ‘पिन्ने उर्फ पिनेट’ बुझ्न मलाई दिमाग खियाउनु परेको लेख हो भने ‘शिक्षा र साहित्यको समुच्च यात्रा’ एक बसाइमा तुरिएको अर्का सम्पादक डा.हिमलाल श्रेष्ठको मिठो लेख हो ।

इन्डिगो इंकको प्रकाशन राम्रो छ । सम्पादन दमदार छ । तरपनि कहीँकतै वाक्यहरू अधुरा छन् । वर्णविन्यासमा ध्यान पुगेका छैनन् । कतैकतै अर्थहीन वाक्य पनि छन् । अमूल्य अक्षर, शब्द, वाक्य र अनुच्छेदहरूलाई एउटै ठाउँमा भेला गराई पुस्तक हाम्रो हातमा आइपुगेको छ । उक्त अक्षर कर्मप्रति कर्मशीलहरूमा सादर सम्मान ।