साहित्यमा विशेषतः दुई प्रकारका कर्ताहरू देखिन्छन्, एक स्रष्टा र अर्का द्रष्टा । स्रष्टाले आफ्नो समाज, अनुभूति, भोगाइ र कल्पनालाई शब्दद्वारा अभिव्यक्त गर्दछन् भने द्रष्टाले तिनै स्रष्टाको अभिव्यक्तिमाथि आफ्नो समालोचकीय दृष्टिकोण राख्ने गर्छन् । खेमराज पोखरेलले आफ्नो उर्भव उमेर प्राध्यापन क्षेत्रमा बिताए पछिको बाँकी उमेर नेपाली साहित्यमा स्रष्टा र द्रष्टाको समान रूपमा दरिलो उपस्थिति जनाएका छन् ।

स्रष्टा खेमराज पोखरेल कथा, लघुकथा र नियात्राको क्षेत्रमा परिचित नाम हो । यसका अलावा उनी समीक्षक पनि हुन् । तर पनि उनको यथेष्ठ मसी लघुकथा लेखनमा पोखिएका कारण उनी मूलतः लघुकथाकार नै हुन् । फेरि द्रष्टाको पनि कुनै खास विधा हुने गर्छ । खेमराज पोखरेल लघुकथाको चर्चा परिचर्चा र सिद्धान्तहरूको बारेमा खेलिरहने र बोलिरहने द्रष्टा पनि हुन् ।

उनी विदेशी लघुकथाको दर्शन र सिद्धान्तहरूको अध्ययन गरी नेपाली नव सर्जकहरूलाई लघुकथा लेखनमा सघाइरहेका छन् । अझ प्राज्ञिक शब्दको सापट लिएर भन्ने हो भने नव लघुकथाकारहरूलाई उनी लघुकथा लेखनमा दीक्षित गरिरहेका छन् । तसर्थ खेमराज पोखरेल साहित्यको जुनसुकै विधामा रमाए पनि उनी नेपाली लघुकथाको स्रष्टा र द्रष्टा हुन् भन्ने कुरामा अब दुई मत रहने छैन ।

खेमराज पोखरेलको छ वटा लघुकथासङ्ग्रह नेपाली साहित्यमा भित्रिसकेका छन् । उनी योजनाबद्ध ढङ्गबाट आफ्ना कामहरू गर्छन् । प्रत्येक लघुकथासङ्ग्रहमा उनले आफ्ना ७१ वटा लघुकथा राखेका छन् । त्यसो त उनले लघुकथाहरूको सङ्कलन र सम्पादन पनि गरिरहेका छन् । लघुकथाकारहरूको अघोषित सङ्गठन र उत्थानमा पनि पोखरेलको खटाइ लोभलाग्दो छ ।

आजको दीपक दृष्टि खेमराज पोखरेलको यी विविध आयामहरूलाई एका पट्टि थन्काएर उनको पाँचौँ लघुकथासङ्ग्रह ‘ईश्वरको मृत्यु’मा केन्द्रित रहने छ ।

ईश्वरको मृत्यु

ईश्वरको मृत्यु

ईश्वरको मृत्युलाई लघुकथाकार खेमराज पोखरेलले स्वदेश प्रकाशनबाट विसं.२०७६ सालमा प्रकाशन गरेका हुन् । ७१ वटा लघुकथाहरू सङ्कलित यस सङ्ग्रहको आवरण अमित घिमिरेले धार्मिक सन्तुलन कायम गरी बनाएका छन् । चिहानी पृष्ठभूमि देखाइएको आवरण चित्रमा हिन्दु, बौद्ध, इसाई र मुस्लिम धर्मका प्रतीकहरूलाई छरपस्ट तर सुन्दर सजावटमा राखेका छन् । मृत्युलाई हाइलाइट गरिएको आवरण जीवनवादी छ ।

खेमराज पोखरेल यस सङ्ग्रहमा आइपुग्दा आफू लघुकथाकार बनेको कुरामा गौरव बोध गर्छन् । यस अघिका उनका चार लघुकथासङ्ग्रहमा उनी आफू लघुकथाकार हो कि होइन दुबिधामा थिए । यस ईश्वरको मृत्युमा उनी लघुकथाको मानक सिद्धान्त सहित उपस्थित भएका छन् । नेपाली लघुकथाको मानक सिद्धान्त प्रस्तुत गर्ने द्रष्टाको असली लघुकथा सहित स्रष्टा रूप यस ईश्वरको मृत्यु लघुकथासङ्ग्रहमा देख्न सकिन्छ ।

लघुकथाकार खेमराज पोखरेलको कथानक हाम्रो समाज र भोगाइ नै हो । कयौँ लघुकथाहरूमा पोखरेलले स्वैरकल्पनाको कुराहरूलाई उठाएका पनि छन् भने उनीद्वारा लिखित कतिपय लघुकथाहरूमा डायस्पोरिक भावहरू पनि छचल्किएका छन् । तर  खेमराजको लेखनको मूल विषय हाम्रै अनुभूति  हुन् । यी  अनुभूतिलाई अनेक पात्र, परिवेश, घटना र समयमा ढालेर उनीले आफ्ना लघुकथाहरूको सिर्जना गरेका छन् ।

पोखरेलको लघुकथाहरूमा हाम्रै समाजमा देखिने नारी पुरुषको समान र असमान सन्धी, विसङ्गत जीवनको विविध रङरूप, अन्तरजातीय पीडा, हराउँदै गएको संवेदना र उदाउँदो आधुनिक समाज, ईश्वरप्रतिको मानवीय आस्था, भरोसा र टुक्रिएको विश्वास, विसङ्गत र विकृत राजनीति, आञ्चलीक जीवन पद्धति अनि डायस्पोराको मन छन् ।

पोखरेलले पहिलो  लघुकथा ईश्वरको मृत्युमा नै स्वैरकल्पनाको प्रयोग गरेका छन् । स्वैरकल्पाना लघुकथाको सुन्दर आभूषण हो । यही आभूषणको प्रयोग गरी हरेक लघुकथाकारले पाठकहरूलाई आफूप्रति आकर्षण गर्न सक्छन् । लघुकथाकारले पनि यस सङ्ग्रहमा थुप्रै स्वैरकल्पनायुक्त लघुकथाहरू लेखेर पाठकलाई मन्त्रमुग्ध बनाएका छन् । उदाहरणको लागि गणेशको गद्दी, परागका रागहरू आदि कथाहरूलाई लिन सकिन्छ । ‘परागका रागहरू’मा कथाकार खेमराजले गुलावलाई युवतिसँग कल्पना गरी अन्त्यमा सन्तान प्राप्तिको सुखद आनन्दानुभूतिको सजीव वर्णन गरी सृष्टिको निरन्तर गतिलाई वकालत गरेका छन् ।

कथाकार पोखरेलले लघुकथा मार्फत आफ्नी आमाको सङ्घर्ष र आफूमा आएको परिवर्तनको टर्निङ् प्वाइन्टलाई यादगार बनाउन एक सशक्त लघुकथा पनि लेखेका छन् । ‘खुर्सानीको बुटो’ लघुकथाबाट कथाकारले साठी वर्ष पहिलेको तराईको समाज र त्यस ताकाको समाजमा प्रगतिशील महिलाको स्वरूप र अवस्थालाई पनि दर्शाएका छन् । कथानक आफ्नै परिवारभित्र लेखे पनि वा कथाले आफ्नै माताजीको गुणगान गाए पनि पाठकलाई कथाकार खेमराजले कथामा नै बाँधेर  समाज र सोच पढाउन वा बुझाउन सक्षम भएका छन् ।

‘ईश्वरको मृत्यु’भित्रका एकाध लघुकथाहरूलाई छोड्ने हो भने  लगभग ६६ वटा लघुकथाहरू एकै ठाउँ र एकै समयमा लेखिएका लघुकथाहरू हुन् । लघुकथाकार खेमराज पोखरेलले अमेरिकाको सान एन्टोनियोमा सन् २०१८ देखि सन् २०१९ सम्म लेखिएका कथाहरू नै ईश्वरको मृत्यु कथासङ्ग्रहमा समाविष्ट गरिएका हुन् । अमेरिकाको बसाइँको समयमा कथाकारले लेखेका कथाहरूमा डायस्पोराका सुगन्धहरू देखिनु स्वाभाविक नै छन् । डायस्पोराका पीडा र खुसीहरू एकै चोटि समेटिएको लघुकथा नेपाली मर्मस्पर्शी बनेको छ । आफू र छोरीलाई पात्र बनाइएको यस लघुकथामा नेपाली हुन नेपालमा नै बसिरहनु नपर्ने तर नेपाली भावना प्रचुर हुनु पर्ने कुरोलाई दर्शाइएको छ ।

‘ईश्वरको मृत्यु’ विशेषतः लघुकथा कसरी लेखिनु पर्छ भन्ने कुरो बुझ्नको लागि पनि पढ्नै पर्छ । उनले आफ्नो भनाइको क्रममा नेपाली सुन्दर लघुकथा बनाउने सीपको सुन्दर र सुलभ व्याख्या गरेका छन् । लघुकथाको सिद्धान्तहरू त धेरै ठाउँमा पढ्न वा बुझ्न पाइन्छन् । तर द्रष्टा खेमराज पोखरेलले लघुकथाको सरल सिद्धान्त नै यस सङ्ग्रहमा राखिदिएका छन् जो नव लघुकथाकारहरूलाई मार्ग निर्देशन हुने छ । लघुकथाको मूल तत्त्व दृष्टिविन्दु, लघुत्व, सूक्ष्मता, तिक्ष्णता, शिल्प, बुनोट आदिको चर्चा खेमराजले सरल तरिकाबाट गरेका छन् । लघुकथाका बाधक तत्त्वहरू र लघुकथा चुट्किला बन्नबाट रोकाउने काइदाहरू पनि उनले यहाँ प्रस्तुत गरेका छन् ।

अधिकांश सुन्दर पक्ष लघुकथाकार खेमराज पोखरेलको पाँचौँ लघुकथासङ्ग्रह ईश्वरको मृत्युमा हुँदाहुँदै पनि यो सङ्ग्रह दोषमुक्त भने हुन सकेको छैन । शब्द मोहका कारण स्रष्टा र द्रष्टा खेमराज पोखरेलले लेखेका केही लघुकथाहरू आफैमा भद्दा पनि भएका छन् । उदाहरणको लागि डेढ इन्ड लघुकथालाई लिन सकिन्छ । यस कथाको बीज वाक्य माथिल्लो लाइनमा नै सकिसकिँदा पनि लघुकथाकार खेमराज पोखरेल शब्द मोहका कारण कथालाई अझै व्याख्या गर्नतर्फ अग्रसर भएको देखिएका छन् ।

उनको अर्को लघुकथा ‘बविताहरू’ आफैमा सुन्दर लघुकथा हुँदाहुँदै पनि बविताका चार वटा भिन्न भिन्न कथाहरूलाई एकै लघुकथा बनाएर लघुकथाकार खेमराज पोखरेलले पाठकको मस्तिष्कलाई गिजोलेका छन् । बबिताहरू लघुकथाको एक सुन्दर शृङ्खला हो, जसबाट नेपाली नारीको साङ्गोपाङ्गो व्याख्या र चित्रण गर्न सकिने छ । म आग्रह गर्न चाहन्छु लघुकथाकार खेमराज पोखरेलले अबको लघुकथाको प्रोजेक्ट यही बविताहरुको बारेमा गरेर पाठकलाई नयाँ टेस्ट दिउन् ।

समग्रमा खेमराज पोखरेल नेपाली लघुकथाको लागि जन्मिएका लघुकथाकार हुन् । उनी जहाँ बसे पनि नेपाली लघुकथाको विकासको लागि समर्पित नाम हो । खेमराजले अझै सुन्दर लघुकथाहरू लेख्ने छन् । उनीसँग अनन्त विषयहरू छन् र नव लघुकथाकारहरूलाई दीक्षित गराउन उनीसँग अनेक सिद्धान्तहरू छन् । यी सबै सीपबाट खेमराज पोखरेल नेपाली लघुकथामा एक गुरु भएर स्थापित छन् र रहिरहने छन् ।