केही दिन अगाडी मात्र विमोचन भएको पुस्तक पढिसके पछि पुस्तक माथि आफ्ना मन्तव्य, धारणा  दिन  मन लाग्यो । पुस्तक पढ्दै जाँदा रमाइलो त भयो नै ।  पुस्तक पढ्दा रमाइलो हुनु एउटा कुरो हो सन्तुष्ट हुनु बिलकुल अर्को । कथा  सललल बग्छ र पाठक  नरोकी, एकै बसाइमै पुस्तक पढी सक्छ । किनकि पुस्तकमा कतै पनि दुर्बोध कुराहरू, गहन चिन्तन प्राय भेटिन्नन् ।

अडिएका पाइला

अडिएका पाइला

३३४ पृष्ठमा लेखिएको यो आख्यानका प्राय कथा र घटना विश्वविद्यालयकै प्राङ्गणमा परिमित भएकोले यसलाई “क्याम्पस कथा” पनि भन्न सकिन्छ । यो उपन्यास भित्र अलिकति राजनीतिका कुराहरू, अलिकति द्वन्द्वका विषय बस्तु पनि समाहित भएका छन् भने समग्रमा यो उपन्यास  प्रेम या प्रणयका कथाहरूको  सङ्ग्रह हो  । उपन्यासमा  लेखक बहुत भलाद्मी  देखिन्छन्, अर्थात् उनी अलिकति पनि रोमान्टिक या  यौन जन्य विषयतिर बहेका देखिँदैनन् जबकि यसभित्र युवक युवतिहरू नै  कथाका प्रमुख पात्रहरू  छन् जहाँ प्रेम भित्र शारीरिक सम्मोहन र यौनाकाङ्क्षा स्वाभाविक हुन सक्छ ।   त्यसैले पुस्तकको कथा एउटा “प्लेटोनिक प्रेम” कथा जस्तो अनुभूति हुन्छ ।

यस्तो लाग्छ लेखक बिचार र सोचमा  आधुनिक देखिए पनि प्रणय सम्बन्धको धारणामा,  केटा केटी बिचको दौत्य सम्बन्धको विषयमा  अलि पुरातन र अनुदारपंथी भेटिन्छन् जबकि पुस्तकमा बेला बेलामा  उत्तर आधुनिकतावादको चर्चा परिचर्चा पनि भइरहेको हुन्छ । त्यसैले त्यहाँ लेखकको प्रेम सम्बन्धी  परिप्रेक्ष्य  पश्चवर्ती बनेको छ जसले सोचाइ र अभ्यास असङ्गत बन्न गएको छ । कथाका  युवा युवती  रोमान्स र सेक्स जस्ता विषय प्रति  दमित तथा संयमित देखिन्छन् ।  अलि अलौकिक, बढी संवेदनशील भेटिन्छन् ।

उपन्यास पढ्दै जाँदा सहज र  सरल देखिन्छ शैली, शब्द र सन्देशमा । कहिलेकाहीँ त यस्तो लाग्छ पुस्तकका पानाहरू पढ्दा कुनै कुनै अनुच्छेदहरू अलिकति गहन हुन्, प्रगाढ हुन् ताकि पाठक पढ्दा पढ्दै  अलिकति रोकियोस् र पुरा कुरा बुझ्न उसलाई  पुन दोहर्याएर पढ्नु परोस् । बलिबुड या कलिबुडका कमेर्सिएल सिनेमाका कथा जस्तो नहोस् जहाँ कहानी अति सरल हुन्छ, स्पष्ट हुन्छ भने  दार्शनिक पक्ष शून्य बराबर हुन्छ ।  साहित्यका आख्यान भने अलि फरक हुनु पर्छ जस्तो लाग्छ ।

अर्थात्  पाठकलाई पढ्दै जाँदा  बीच बीचमा शब्दले, शैलीले, भावले, प्लटले र दर्शनले  अलिकति आबद्ध गर्न सकोस् ताकि ऊ अलिकति त्यहाँका परिस्थिति र घटनासँग आत्मसात् पनि गर्न सकोस् ।  समग्रमा उपन्यासमा हुनुपर्ने  यी कुराहरू र सर्वमान्य धारणाहरूको न्यूनताको अनुभूति हुन्छ  ।

पुस्तक प्राय ४ जना विशेष पात्रहरूकै परिधि भित्र नै परिवृत्त भएको छ – अस्तित्व, अनसुया, बन्दना र मोहन ।  उपन्यासमा अङ्ग्रेजी विभागका अरू पात्रहरू,  अनसुयाका माता पिता, अस्तित्वका सहपाठीहरू  आकलझुकल देखा पर्छन् । अस्तित्व विश्वविद्यालयका अङ्ग्रेजी विभागका अध्यापक हुन्  । अनसूया एम बी बी यस पढिरहेकी हुन्छिन् । बन्दना र मोहन दुवै अङ्ग्रेजी साहित्यमा एम ए गर्दै हुन्छन्, अस्तित्वका कक्षाका विद्यार्थी ।

अस्तित्व र अनसूया गहिरो प्रणयमा बाँधिन्छन्, दुवै एकार्कामा समर्पित र  संवेदनशील बन्छन् । बढी भावुक देखिन्छन् ।  दुवै बीच अगाध स्नेह, त्याग, निवृत्ति देखिन्छ ।  बीच बीचमा बन्दना पनि अस्तित्वसँग सम्मोहित भएकी भान हुन्छ । कतै त्रिकोण प्रेम बन्न गएको हो कि जस्तो पनि लाग्छ ।

हुन त उनी र उनका सहपाठी मोहन एकार्काका अभिन्न मित्र बनेका छन् । अलिकति रोमान्टिक पनि देखिन्छन् पाठकका नजरमा ।  उनीहरू सँगै घुम्छन्, बारबार  रेस्टुराँमा गएर समय बिताउँछन् ।  दुवैका आआफ्ना दुख र दुखान्तका कथाहरू छन् । एकार्कामा आदान प्रदान गर्छन् । बन्दनाका पिता सिडिओ थिए र उनको द्वन्द्वकालमा हत्या हुन्छ र त्यसपछि त्यसको प्रगाढ  प्रभाव मनोवैज्ञानिक र सामाजिक रूपमा  उनीमाथि पर्छ र उनी जति जवान हुँदै जान्छिन्, जति जति बुझ्दै जान्छिन् त्यति विचलित हुँदै जान्छिन् ।

उता मोहनको आफ्नै मधेसी कथा छ, व्यथा छ, र नयाँ बनेको संविधानले मधेसका समस्या, उनीहरूका पिडा र उनीहरू माथि भएको जातीय पक्षपात, आञ्चलिक, प्रादेशिक भेदभावलाई  अलिकति पनि सम्बोधन नगरेकोमा उनी निकै रुष्ट बन्छन्  ।  उनीहरू दुवै आफाफ्ना मन भित्रका उद्वेलन, यान्त्रणाहर उनीहरूका प्रिय प्राध्यापक अस्तित्वलाई पनि सुनाइरहन्छन्  ।

अनसुयाका पिता मणि अङ्ग्रेजीका प्रोफेसर हुन् भने अस्तित्व उनका प्रिय विद्यार्थी हुन् ।  अनि उनी सोधार्थी पनि हुन् र उनको सोधपत्रको खातिर उनी आफ्ना प्रोफेसरका घर जाने गर्थे भने त्यही क्रममा उनको रूप, सरल व्यक्तित्वबाट  अनसूया मोहित बनेकी थिइन् । त्यसपछि बिस्तारै दुवै बिच वार्तालाप हुँदै जान्छ र दुवै आआफ्ना विचारहरू, भावनाहरू व्यक्त गर्नको लागि एकान्त खोज्ने क्रममा एकपल्ट दक्षिणकाली जान्छन् भने केही समय पछि शिवपुरीतिर प्रस्थान गर्छन् ।

उनीहरू बीच गहिरो सम्बन्ध भए पनि, दुवै प्रणय पाशबाट बाँधिए । त्यसपछि भने उनीहरू फेरि  कहिले भेट्न सकेनन् । उपन्यासमा उनीहरूको मनका कुराहरू, तरङ्गका तरेलीहरू, भावनाका उद्वेगहरू धेरै मात्रामा अभिव्यक्त भएको पाइन्छ ।  उनीहरू बीच मुखले भन्दा मनले वार्ता गरिरहेको हुन्छ । अर्थात् उनीहरू भावनाको आकासमा उड्न मै पुलकित छन् जस्तो लाग्छ, यथार्थको धरातलमा भन्दा । बीच बीचमा अस्तित्व अनसूयासँग कुरा गर्न खोज्छन्, फोन गर्छन्, फोन स्विच अफ हुन्छ, इमेलबाट पनि  उनीसँग कनेक्ट   हुँदैन । एकपल्ट चिठी लेखेर घरमै गएर दिन खोज्छन्, तर भेट नभएपछि  उनका बाबुलाई नै चिठी छोडेर  फर्कन्छन् ।

उपन्यासले  त्यसपछि अर्कै  मोड लिन्छ ।  उनीहरू बीच एक वर्षसम्म न भेटघाट हुन्छ  न फोनबाट कुराकानी हुन्छ न  इमेलबाट पत्राचार नै । त्यसपछि  अस्तित्व पढ्नको लागि अमेरिका जान्छन् र त्यतै  पाँच वर्ष जति बिताएर फर्कन्छन् । त्यो अन्तरालमा पनि  कुराकानी हुँदैन ती दुईबीच । अनसूया अलि एकोहोरिँदै जान्छिन्, बाबु-आमासँग पनि ससाना कुरामा झर्कन थाल्छिन् । उनीहरू दुवै एकार्कासँग प्रेममा गहिरिसके पनि भौतिक रूपमा सधैँ टाढिएर रहन्छन्  ।

उनीहरू वास्तविकता भन्दा कल्पनामा,  तरङ्गमा बाचिरहेका हुन्छन् । भावनाको उच्छलमा बग्दै जान्छन्, कहिले  तट भेट्दैनन् । एकार्काका बारेमा सोच्दै तड्पिन्छन्, रात-रातभर  निदाउन सक्दैनन् ।  बिस्तारै बिस्तारै उनीहरूलाई मनोचिकित्सकको जरुरत पर्छ र संयोगवश दुवै एकै मनोचिकित्सकसँग परामर्श लिइरहेका हुन्छन् ।  त्यसपछि के हुन्छ थाहा हुँदैन ।

उपन्यास मनोवैज्ञानिक देखिन्छ ।  अलि बढी भावनात्मक देखिन्छ, आधुनिकभन्दा अजीव, आदर्शवादी र काल्पनिक लाग्छ ।  उनका पात्रहरू विश्व साहित्यमा देखिने  शताब्दी पुराना पात्र जस्ता लाग्छन् ।  आजको समाज उपभोगवादी  समाज हो । उत्तर आधुनिक समाजमा  सम्बन्ध भावनाको आकाशमा भन्दा सतहमा बढी अभिव्यक्त हुन्छ ।  यथार्थको धरातलमा बन्छ, टुट्छ, भत्किन्छ र उनिन्छ त्यसका फूलहरू फरक धागाहरूमा पनि ।

उपन्यास एउटा लामो  सिनेमा हेरे झैँ पढ्दा त मज्जा लाग्छ । आजका उपन्यासका पात्रहरू आत्म केन्द्रित हुन्छन्, महत्त्वाकाङ्क्षी हुन्छन्  वास्तविक जीवनमा जस्तै । त्याग, तपस्या, भावनाका उच्छल,  उत्तर आधुनिक पात्रहरूमा कमै प्रबल हुन्छन् ।  केही दशक  अगाडी सम्म एकल जीवन बिताउनेहरू आफूलाई अभिशप्त ठान्थे भने आज त्यो जीवन सहज अनुभूत हुन्छ ।

उपन्यास काव्यिक छ, भाषा सुन्दर छ,  सरल भाषामा मनोभावनाहरू व्यक्त गर्न सक्नुमा लेखक लेखमा खारिएकै देखिन्छन् ।  लेखहरू पाठक केन्द्रित हुन सक्ने भएकोले पाठकै पिच्छे अभिधारणा या प्रभाव फरक फरक हुन सक्ला । तटस्थ भएर समीक्षा गर्न  भने अलिकति साहस चाहिन्छ ।