कस्तो संयोग आज गुरुपूर्णिमाको दिन रहेछ, म गालवलाई सम्झिँदै थिएँ । विश्वामित्रका शिष्य गालव । अनि सम्झिँदै थिएँ मदनमणि दीक्षितकी ‘माधवी’लाई । म कति कति बेला विभ्रान्त हुँदो रहेछु मदनमणि दीक्षितको अर्को नाम नै ‘माधवी’ भन्दो रहेछु । स्रष्टाको नामलाई यसरी आफैँमा समाहित गर्ने ‘माधवी’ धन्य छिन् ।

यस निमेष ‘माधवी’ सम्झिनुको पनि एउटा अर्थ छ । मैले इल्या भट्टराईलाई केही दिन पढ्दैछु उनको नियात्रात्मक कृति ‘मिसर’मा । विश्वको आठौँ आश्चर्यमा पर्ने पिरामिड भएको देश, विश्व प्रसिद्ध अनिन्द्य सुन्दरी क्लियोपेट्राले शासन गरेको देश इजिप्ट पुगेकी भट्टराईलाई नियात्रामा पढ्नु छ । त्यस यात्राकी सर्जक इल्या बाहेक म अरू चिन्दिनँ । एउटै कृतिबाट यसरी प्रभावित भएँ कि म उनको नियमित पाठक हुँ भयो । तर उनका अन्य कृति कस्ता छन् मलाई थाहा छैन ।

शुरुको दिनमा अर्थात् त्यस दिन मैले पहिलो पटक साहित्यकार इल्याको नाम सुनेकी थिएँ एक कार्यक्रममा । त्यतिखेर मलाई थाहा थिएन उनी एक सशक्त साहित्यकार हुन् । बरु त्यसैदिन थाहा पाएँ उनी मदनमणिकी छोरी हुन् । अझ ‘माधवी’ लेख्ने दीक्षितकी छोरी । अहिले आएर थाहा पाउँछु उनी विशेषतः नियात्रा लेख्ने, कथा लेख्ने जुझारु स्रष्टा रहेछिन् । अब उनी दीक्षितकी छोरी होइनन्, ‘माधवी’ लेख्ने आख्यानकारकी सुपुत्री होइनन्, उनी ‘उनी’ नै हुन्– साहित्यकार इल्या भट्टराई । उनको आफ्नै सबल परिचय छ भने किन दीक्षित र ‘माधवी’लाई उनको पहिचानमा टाँस्नु पर्यो ?

मिसर

मिसर

अबका नारी आफ्नो अपनत्व आफैँ सार्थक गराउन सक्षम छन् । उनीहरूलाई कसैको व्यक्तित्वसँग निकट पुर्याउनु पर्दैन । उनीहरूलाई त्यसो गरेको मन पर्दैन । मलाई पनि मन पर्दैन । म फलानोको ‘कोही’ भएर चिनिन रुचाउँदिनँ । बरु नचिनिन बेस । यस बखत मलाई अलिकति ग्लानि बोध भएको छ—सर्जक इल्यालाई उनकै नामले किन चिनिनँ भनेर ।

एक दर्जन कृतिकी स्रष्टा, प्रखर स्रष्टा, नारी स्रष्टा,  नियात्राकार अनि कथाकारलाई नजान्नु नबुझ्नु मेरो अध्ययन कति सङ्कुचित रहेछ । २०७५ को उत्तमशान्ति पुरस्कार प्रापक—नियात्राकारको रूपमा उनी विशेषित छन् । उनको नियात्रात्मक कृति ‘दक्षिणायन’ पुरस्कृत हुनु त्यसैको एउटा दृष्टान्त हो । त्यसो त पुरस्कृत नहुने स्रष्टा र कृति विशेष हुँदैनन् त्यो पनि होइन । तर पुरस्कृत हुनुले केही अर्थ राखेको हुन्छ ।

‘मिसर’को अध्ययन पश्चात् महसुस गर्दैछु ज्ञान प्राप्तिको लागि, जीवन बोधको लागि सकिन्छ यात्रामा जानुपर्छ, सकिँदैन भने उत्कृष्ट नियात्रा कृति पढ्नु पनि यात्रामा जानु जतिकै त नहोला तर धेरै लाभदायक हुनेछ । माइलेज सुविधाको निवेदनले अचानक मिश्र देश पुगेका आमा छोरीको बाह्र दिनको यात्रामा ‘मिसर’ सिर्जना भएको छ । अरू काम कर्तव्य नलिई घुम्नकै लागि, देश दर्शनकै लागि गरिएको यात्रा—लेखिएको नियात्रा नेपाली साहित्यमा कम्ती भेटिन्छन् । त्यही कम्ती मध्येको हो ‘मिसर’ । छोटो अवधिकै यात्रा किन नहोस्, सीमित स्थलको भ्रमण किन नहोस् तर यसले मिश्रेली देशकै मनोविज्ञान बोलेको छ ।

पिरामिडको देश जान भिसाको लागि भोग्नु परेका अप्ठ्याराहरू त थिए नै । तर नेपाली हुनाकै कारण भ्रमण प्रक्रिया मिलाउन कति कठिन र झन्झटिलो बनाइएको, दूतावासले हेर्ने दृष्टिकोणमा कति खिन्नता बोध हुन्छ । उनीहरूलाई नेपाली पनि यसरी घुम्न जान्छन् भन्ने विश्वास गर्न मुस्किल पर्छ । आश्चर्यित हुन्छन् विदेशीहरू नेपालीको घुमाइमा । अन्ततः लेखकलाई इजिप्टका राजदूत डा. मुस्तफा गेन्डीले देखाएको आदर सद्भावमा अघिको उदास मन पूर्व स्थितिमा पुग्छ । अझ रमाउँछ, खुशी हुन्छ । एक किसिमको गौरव अनुभूति हुन्छ ।

यस अघि नै बेलायत, फ्रान्स, दी निदरल्याण्ड्स, इटाली, स्पेन, अमेरिका, टर्की, जापान, थाइल्यान्ड, बङ्गलादेश, हङकङ, सिङ्गापुर लगायत देश पुगिसकेकी भट्टराईलाई इजिप्ट प्रस्थानको बेला पहिलो यात्रा जतिकै उत्साह र कौतुहलताले अधैर्य बनाएको छ । पाँच हजार वर्ष पुरानो प्राचीन सभ्यता र वैभवपूर्ण इतिहासमा बाँचेको देश, सुनखानीको देश, नारी सौन्दर्यमा अद्वितीय कहलाइने महारानी क्लियोपेट्राको देश, पिरामिड, ममी–सर्काफगस, फेरो तुतानखामुन, नाइल नदी, स्वेज नहर, तहरिर स्क्वायर हुुँदै इजिप्टका चौँथो राष्ट्रपति होस्नी मुबारकको देश । त्यस्ता अनेक बहुगुणित विशेषताले सम्पन्न मिश्रेली भूमिमा रोजगारीको लागि नेपाली नपुगेका, भ्रमणको लागि त झनै नपुगेका ठाउँमा आफूहरू पुग्न लागेकोमा लेखक मन चञ्चल हुन्छ । आमा र छोरी मेधा त्यसरी यात्रामा निस्किँदा पुरुषार्थको भाव सञ्चारित भएको छ  ।

स्रष्टा भट्टराईको दृष्टि कति सूक्ष्म, कति सचेत, कति जिज्ञासु । नवीन दृश्य, नौलो ज्ञान प्राप्तिको आकाङ्क्षामा केही छुटिहाल्छ कि देख्नलाई, उनी हर निमेष बोधपूर्ण अवस्थामा छिन् नछुटोस् भनेर । दुरुस्त दृश्य आउने अभिव्यक्तिकला कति प्रखर छ । एक जिज्ञासित यात्रुले पाठकलाई आफू स्वयं यात्रा गर्दाको अनुभूति गराउन सकेकी छन् । उनी हत्पताएकी छन् गन्तव्यमा पुग्न । फेरि इजिप्ट आउनु अगाडिको आकाशमा सन्देहशील छन्, “… अशान्ति मच्चिएर भर्खरै शान्त भएको इजिप्टमा यति चाँडै हतारिएर जान पनि हुने थियो कि थिएन (पृ–३०) ।

कायरो विमानस्थलमा फेरि अर्को सन्देह छ, अपरिचित भूमिमा लिन कोही आएनछ भने के गर्ने ? यसरी मन अशान्त भएको बखत आफ्नो नामको प्लेकार्ड लिएको एक वयस्क पुरुष देखिन्छ जोजेफ । दुई करोड जनसङ्ख्या भएको, व्यस्त त्यो अनजान शहर उनलाई त्यसै क्षण आफ्नो लागेको आभास हुन्छ ।

पहिल्यै निश्चित छ चारतारे होटल टिवा पिरामिडमा आमा छोरीको बास । केही भय, केही उत्सुकता, केही अन्योलता, केही सन्देह, केही विश्वस्तता मिसिएको मन भर्खर बिसाउन लागेको बेला, होटलमा काम गर्ने एक किशोर सम्मुखै बोल्छ, “तिम्री छोरी साह्रै राम्री रहिछन् । उनको बिहे मसँग गराइदेऊ । मेरा सात सय उँट छन् । पाँचवटा घर पनि यहीँ कायरोमा छन् । म यिनलाई सुखसँग पाल्छु । मलाई कृपया नाइँ नभन्नू है (पृ–३७)।”

युवकका यस्ता कुराले लेखक अवाक् हुन्छिन् । असमञ्जसमा पर्छिन् । उसको अभिप्राय के हो ? अनौठो संशय भाव उत्पन्न हुन्छ । त्यसैबेला जोजेफले निश्चिन्त हुन भन्छ । पछि थाहा हुन्छ त्यो त उनीहरूले अतिथिको तारिफ गर्ने तरिका रहेछ ‘हाम्रो देशमा तपाईँकी यति राम्री छोरीलाई सबैले आँखा लगाउँछन् ।’ यसो भनेर पाहुनाको प्रशंसा गर्नु एउटा परम्परा नै रहेछ ।

कायरो शहर पुगिसकेको यात्रा—लेखकसँगै पाठक पनि उत्साहित छ इजिप्टको वस्तुस्थिति देख्न । होटल टिवाको पाँचौँ तलाबाट देखिएको पिरामिणको धमिलो आकृतिसँगै प्रसन्न हुन्छिन् भट्टराई धेरै अघिदेखिको इच्छा पूरा हुन लागेको थाहा पाएर ।

मिश्र देश पुगेको दोस्रो दिन आमा छोरी कायरोको विशाल म्युजियम गएका छन् फादियासँग ।  सङ्ग्रहालय हेर्न रुचि राख्ने लेखक भट्टराई इतिहाससँग साक्षात्कार भएको अनुभव गर्छिन् । उनको  जिज्ञासु स्वभावले ‘मिसर’ धेरै जानकारीमूलक नियात्रा बनेको छ । कला संस्कृति प्रेमी मिश्रेली शासकहरूलाई छोटो यात्रावधिमै पनि उनले प्रभावकारी चिनारी गराउन सकेकी छन् । तिनै प्राचीन कला संस्कृतिमा  इजिप्टले विश्वसमुदायबीच आफ्नो अस्तित्व कायम राख्न सकेको छ ।

डेढ साताको भ्रमणमा मध्यम आकारको—२२८ पृष्ठको पुस्तक निर्मित हुनु यो नियात्रा पुस्तक मात्र होइन । स्रष्टाले देखेका, घुमेका ती दर्शनीय स्थलसँगै त्यस विषयसँग सम्बन्धित अरू पढेका जानेका कुरा अनि अतीत स्मृतिको एउटा सुन्दर संयोजन हो ‘मिसर’ । यसले मिठो रोचकता उत्पन्न गरेको छ । इजिप्टका सम्बन्धमा लेखकसँग अनेक विषय ज्ञान रहेछ । त्यसो त कति सूचनाहरू गुगलबाट लिएको उनले स्वीकारेकी छन् । त्यहाँको सामाजिक, आर्थिक, राजनैतिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक हरेक विषयमा उनको कौतूहलले धेरै कुरा खोजी गरेको छ । कला–संस्कृति र मिश्रेली समाजविज्ञान, मनोविज्ञान बारे जति थोक अभिव्यक्त छ त्यो स्पष्ट छ । मिश्रेली नागरिक समाज र त्यस देशको बारे पर्याप्त कुरा जान्न पाएकोमा मैले एउटा सुखानुभूति गरेँ ।

क्लियोपेट्राको जीवन पढ्दा म धेरै रोमाञ्चित भएकी थिएँ । एउटा मिथकीय चरित्र लाग्छ उनको त्यो व्यक्तित्व । लेखक भट्टराई निष्कर्षमा पुग्न सकेकी छैनन्, उनले पढेको क्लियोपेट्रा र गाइड मोजेजले बताएको क्लियोपेट्राको जीवन विवादास्पद छ । भनेपछि इतिहासमा ती अद्भुत, ती अद्वितीय नारी  अझ पनि रहस्यको विषय बनेकी छन् ।

पहिला पहिला आफूलाई सत्य नलागेको कुरा म तत्कालै प्रतिवाद गर्थेँ । अब त्यसो गर्न छोडिदिएँ । पहिलाको त्यस्तो स्वभावले अहिले म लज्जित हुन्छु । आफूलाई लागेको कुरा मात्र सत्य हो भन्नु कति जड मानसिकता रहेछ । हरेक व्यक्तिका आ–आफ्नै सत्य हुँदा रहेछन् । ठाउँ विशेषका आस्थाहरू, विश्वासहरू कति बेगल बेगल छन् । संस्कार र संस्कृति कति फरक छन् । मिश्र देशमा बिरालाको महत्त्व थाहा पाउँदा सोच्छु त्यहाँका बिरालाहरू कति भाग्यमानी रहेछन् । हाम्रोमा बिरालाहरू त्यति भाग्यमानी कहिल्यै हुन सक्दैनन् । प्राचीन सभ्यतादेखि नै मिश्री समाजमा बिरालाको धार्मिक र सामाजिक महत्त्व  बारे पढ्दा म त विस्मित भएँ । न्याय, माटोको उर्वरता, शक्तिको प्रतीक मानिने बिराला—हाम्रोमा तिनले बाटो काटे भने साइत बिग्रिन्छ भन्छन् । त्यहाँ बिरालाको अनुहारमा देउताको छवि हुन्छ कत्रो जनविश्वास । ‘मिसर’ पढ्दा मैले अञ्जानमै कामना गरेछु अर्को जुनी म मिश्री समाजको भाग्यमानी बिरालो हुन पाऊँ । बिरालोले त्यहाँको जीवनमा सौभाग्य ल्याउँछ रे ! अझ आश्चर्यमा पर्छु—त्यहाँका धनाढ्यले त आफ्ना बिरालोलाई गहना लगाइदिन्छन् भनेको सुनेर । उसको शोकमा आँखीभौँ खौरिन्छन् फादिया भन्छे ।
स्कूल पढ्दादेखि सुनेको सातौँ आश्चर्यमा पर्ने पिरामिड बारे पढ्न आतुर भएकी म बिरालाको महिमाले पिरामिडको सन्दर्भ नै भुलेछु । आरम्भमै इजरायली दासहरू प्रयोग गरेर बनाइएको पिरामिडको प्रसङ्गले पिरामिडप्रतिको मेरो आस्था केही धमिलो हुन खोज्छ । नियात्राकारलाई पनि त्यस्तै केही अनुभूति हुन्छ, “… एकातिर पिरामिड विश्वास गर्न लायक प्राचीन सम्पदा हो भने अर्कोतिर निरङ्कुशताको प्रतीक हो । पिरामिड मानव अधिकारको दमनको प्रतीक हो । तर पिरामिड नभएको भए के आज इजिप्ट यसै अर्थमा इजिप्ट रहन्थ्यो (पृ–६१) ?”

पिरामिडको त्यो रहस्यमय संरचना अवलोकनमा म उहीँ पुगेकी छु भयो । लेखकीय शिल्पले त्यस्तो बनाएको छ । अब पिरामिडप्रतिको मेरो जिज्ञासा मत्थर भएको छ । लागेको थियो, त्यो ऐतिहासिक सम्पदा ताजमहल जस्तै झिलिमिली होला । तर होइन यो अर्कै रहस्यको विषय रहेछ । आखिर शाब्दिक अर्थमा त्यो एउटा चिहान त हो नि । तर विश्वका मान्छे त्यही हेर्न किन भीड लाग्छन् ? साधारण कुरा हुँदो हो आकर्षणको केन्द्र बन्ने थिएन । अझ कति अनुसन्धाताले त्यो मानव संरचना हुन सक्दैन, अर्कै ग्रहबाट आएको एलियनले बनाएको दावी पनि गरेका छन् । सुन्दरता भन्दा पनि रहस्यकै कारण पिरामिड इजिप्टको पर्याय भएर बाँचेको छ, “हजारौँ वर्षको सेरोफेरोमा मिश्रमा शासन गर्ने बाइस वटा वंश मध्येका चौथो वंशका दोस्रो फेरो अर्थात् राजा खुफु अर्थात् चलनचल्तीको नाम किओपले बयालिस सय वर्ष अघि, मृत्युपछि अर्को लोकमा जानको लागि भरपर्दो साधनको रूपमा यो पिरामिड बनाउन लगाएका रहेछन् । उनले सम्पूर्ण जीवन आफ्नो मृत्युपछिको सद्गतिको तयारीमा खर्च गरेका रहेछन् । मृत्युपछिको जीवनको सुखसयलका लागि उनले आफ्नो वर्तमान खर्चेका रहेछन् । आफ्नो पार्थिव शरीरलाई जतनसाथ राख्नको लागि उनले आफ्नो जीवनकालमै पिरामिडको निर्माण गराए । किन भएको थियो होला उनलाई जीवनभन्दा मृत्युको निरन्तर चिन्तन (पृ–६९)।”

हरेक जातिको धर्म संस्कृति सभ्यता अनुसार आ–आफ्नै हुँदा रहेछन् परलोकका विश्वासहरू । मृत्यु पश्चात्को अर्को जीवन र भौतिक प्राप्तिको कस्तो कठिन मनोविज्ञान, “समाजमा धनी व्यक्ति तथा फेरोहरूले अलबास्टर, ग्रेनाइट वा सिंहमर्मर जस्ता मूल्यवान् ढुङ्गाका सर्काफगस बनाउँथे । त्यसमा कुँदेका वस्तुहरू आफूसँगै परलोकमा पनि जान्छन् भन्ने विश्वासले गर्दा ढुङ्गाका ती विशाल बाकसहरूमा आफूले चाहेका कुराहरूका चित्रलिपिहरू कुँद्न लगाएर बाकसलाई निकै सिँगार्थे । परलोक गमनका लागि यस लोकमा जति भव्य सामान राखियो वा कुँदियो उता अर्को लोकमा तिनै सामानहरू पाइन्छ भन्ने विश्वास त्यो बेलाको मिश्री समाजमा रहेछ (पृ–६८)।” परालोलको जोहो गरी गएका तिनीहरूले के अहिले भौतिक ऐश्वर्य भोग गर्दै होलान् ? कस्तो अनौठो उत्सुकता छ मेरो । उनीहरूको त्यो मृत्यु उत्सव कति विचित्रको छ ।

करिस (घोडागाडी) चढेर रानीहरूको पिरामिडसँगै अर्को प्रख्यात स्फिङ्स हेर्न जाँदाको कौतुहलता पनि उस्तै छ । तर करिस चढ्दा ठगिएको मन उदास हुन्छ । बेलाबेलै आमा छोरी ठगिइरहन्छन्, दिक्क हुन्छन् । इजिप्टले पर्यटकलाई सम्मोहित गर्ने कला त सिक्यो तर पर्यटक मैत्री हुन नसकेको लाग्छ । हो त्यतिखेर म क्षुब्ध हुन्छु । इजिप्टप्रतिको सम्मान स्खलित हुन खोज्छ । भावना रहित पैसा मात्रै झार्ने नीतिले कतिखेर–कतिखेर व्यर्थ आइएछ भावनाले लेखक विकल हुन्छिन् । त्यतिखेर गाइड गर्ने त्यो फादियासँग म रुष्ट हुन्छु । साँच्चि नै उसमा गाइड गर्ने कला म देख्दिनँ ।

आफ्नो जाति कम्ती गएको या त जाँदै नगएको नौलो ठाउँमा आमा छोरीको यात्रा आनन्दले, हर्षले पुलकित छ, रोमाञ्चक छ । बखत–बखत बिरक्तिएको यात्री मनलाई फेरि अर्को आश्चर्यले फुरुङ्ग बनाउँछ । मिश्रेली संस्कृतिको अर्को महत्त्पूर्ण शहर आसवानको प्रस्थानमा अघिको उदासीनता विलुप्त हुन्छ । ट्रेनको सुविधा सम्पन्न कुपेले आह्लादित हुन्छ त्यो मन । आफूलाई गाइड गर्ने मोजेजको रुखो व्यवहारले भट्टराई फेरि उसै गरी खिन्न हुन्छिन् । शुरुमै ऊ कस्तो अहम् भावले बोलेको छ, “मैले आजसम्मै नेपाली देखेको छैन । त्यही भएर मात्रै यो ट्रिप स्विकारेको । होइन भने त के आउँथेँ र ! कस्ता न होलान् नेपाली जाति भनेर सोचेको ! तर तपाईँहरू त भारतीय जस्तै देखिनुहुन्छ । के नेपाल भनेको भारत हा ? (पृ–९३) ।”

के नेपाली जातिको आफ्नो पहिचान छैन ? समय–समयमा नेपालीहरू किन उपेक्षित हुनुपर्छ ? परदेश भ्रमणका— नियात्रामा कतै न कतै हाम्रो जाति उपेक्षित हुनु परेको अनुभव मैले पढ्दै आएकी छु । भिसाको प्रक्रियामा होस् या त छिमेकी भारत हुँदै जाँदाको अनुभव होस् । हामी यसरी कहिलेसम्म दबिएर, खुम्चिएर बस्नु पर्ने होला ? शासकलाई यस विषयमा केही चासो छैन ।

इजिप्ट यात्रा कति महँगो रहेछ नै । किन पर्यटक मैत्री हुन नसकेको ? शायद प्राचीन सभ्यता र वैभवले उसलाई घमण्डी बनाएको होला । उसलाई निश्चय लाग्छ, विदेशी पर्यटकहरू हाम्रो ऐतिहासिक सम्पदा अवलोकन गर्न जसरी पनि आउने नै छन्—विनयशील नभए पनि आउने छन् । सदाशयी भाव नदेखाए पनि आउने छन्, “संसारको जुनसुकै कुनाबाट पर्यटक आए पनि गाइड राख्नै पर्ने रे । गाइडको फिस र उसको खानपिन सबै पर्यटकले तिरेर टुर प्याकेजको बिलमा पहिला नै जोडिएको हुँदोरहेछ । त्यतिले नपुगेर हामीले उसलाई फेरि टिप्स पनि दिनु पर्ने रे (पृ–९५)।”

यात्रामा भय त्रास संशय आइरहन्छ  तर धेरै बेर टिक्दैन ।  अर्को खुशी आउँछ यात्रीलाई शान्त बनाउन, निश्चिन्त राख्न । मानिसलाई जीवनप्रतिको अति मोहले नै दुर्बल बनाउने रहेछ क्यारे ! प्रायः मनमा उठ्ने काँतर भावले स्रष्टाको मनोविज्ञान निर्धारण गरेको छ । मनमा त्रासको कल्पना रच्ने, आफूले जे चाहेको छैन त्यसैको नजिक पुर्याउने त्यो भयवादले सुखको क्षण पनि सुखी हुन दिँदैन । आगामी क्षणको सुखद अपेक्षा राख्ने भएको रे झन् दुःखको कल्पना गरेर आत्तिन्छ । यहाँ लेखक पनि त्यही भयवादले कहिलेकाहीँ अशान्त हुन्छिन् ।

लेखक भट्टराई बडो प्रकृति प्रेमी छन् । प्रकृतिको उदात्त सौन्दर्यमा चञ्चल मन केटाकेटी हुन खोज्छ । नाइल नदीसँगको सामीप्यमा उनी त्यस्तै हुन्छिन् । नदी नियन्त्रण गर्न बाँधिएको हाइ–ड्याम अर्को दर्शनीय स्थल पुग्दा फेरि अर्को आश्चर्य थपिन्छ । स्रष्टा उसै गरी रोमाञ्चित हुन्छिन् ।

हामी नेपालीको एउटा साझा मनोविज्ञान छ—अरूको समृद्धिमा प्रफुल्लित हुन सक्दैनौँ जति हुनु पर्ने थियो । बरु अशान्त हुन्छौँ । विदेशीको वैभवले हामीलाई उपहास गर्छ—हाम्रो गरिबीमा, असमृद्धिमा, पछौटेपनमा ।

प्राचीन इजिप्टको वैभव र समृद्धि बीचमा आएर कसरी खण्डित भयो होला ? ‘मिसर’को अध्ययनमा अघिदेखि मेरो मनमा प्रश्न उब्जिएको छ । आधुनिक–उत्तर आधुनिक युगमा आएर इजिप्टको विकास गति किन त्यसरी रोकिएको ? त्यहाँका नागरिकको दर्द हाम्रो भन्दा कम रहेनछ । बरु बढी नै लाग्यो । इजिप्टमा यात्रीहरू आधुनिकताको दर्शन गर्न जाने होइनन्, प्राचीनताको सम्मोहनले आकर्षित हुँदा रहेछन् । विराटतामा फैलिएको कला संस्कृति अद्भुत छ ।

राणाहरूप्रति म सकारात्मक हुनै सक्दिनँ । निरङ्कुशताको सम्मुखीन अन्य कुरा त्यसै ओझेल पर्छन् । तर ‘मिसर’मा भने म सकारात्मक हुन सकेकी छु  । भारतमा भूगर्भशास्त्र बिएस्सी अनर्स गरेका लेखकका हजुरबुवा लक्ष्मणमणिले देशमा के कस्ता खानी छन् त्यसको खोजी गर्न चाहेको प्रस्ताव राख्दा चन्द शमशेरको दूरदृष्टि कति समीचीन लाग्छ, “हेर लक्ष्मणमणि नेपालमा तिमी एकजना मात्र खानी विषयको जानिफकार छौ । तिमीले खानी पत्ता लगाउन खोज्यौ भने पनि हामीसँग तिनको खोजी गर्ने पर्याप्त संयन्त्र छैनन् र तिनको उत्खनन् गर्ने पर्याप्त स्रोत साधन छैनन् । यस्तो अवस्थामा तिमीले पत्ता लगाएका खानीहरूमा फिरिङ्गीका आँखा पर्छन् । उनीहरूले जसरी पनि ती खानीहरू आफ्नो अधीनमा लिन्छन् । त्यसकारण जबसम्म देश खानी खोज्न र त्यसको उत्खनन गर्न आफैँ सक्षम हुँदैन, तबसम्म हामीले ती खानीहरू चलाउन हुन्न (पृ–१०५)।” चन्द्र शमशेरले इङ्गित गरेको त्यो सक्षमता अझ पनि आएको छैन । हामी आफैँलाई थाहा छैन हामीसँग के छ ?

इजिप्टवासी मिश्रीहरू आफूलाई अरब भनेको मन पराउँदैनन् । अफ्रिकी भनेको त झनै मन पराउँदैनन् । मोजेज लेखकका आमा छोरी त्यसरी घुम्न गएकोमा प्रसन्न हुँदै भन्छ—नेपाल धनी पो रहेछ । उसलाई भारतीयहरू धेरै किचकिचे जाति लाग्छ रे ! चित्त बुझाउनै नसकिने असन्तोषी । पैसा खर्च गर्न भनेपछि मर्नु जतिकै सोच्ने अनि ऊ भन्छ भारत गरीब देश रहेछ । उसले एकछिनको मानव स्वभाव हेरेर त्यस देशप्रति बनाएको दृष्टिकोण मलाई एकदमै हाँसो लाग्छ । उसले भने जस्तै नेपाल धनी भइदिएको भए कस्तो हुन्थ्यो ? एकैछिन भने पनि म सुखद कल्पना गर्छु देश समृद्ध भएको ।

सानै प्रभाव किन नहोस् । लेखकको इजिप्ट यात्राले त्यहाँ नेपालीको एउटा सकारात्मक परिचय बनेको छ, विश्वको शिखर सगरमाथा भारतमा पर्छ भन्ने भ्रमको अन्त्य भएको छ, एउटै व्यक्तिको भ्रम–अन्त्य किन नहोस् । नेपालीले यसरी विदेश यात्रा गर्दै रहने हो भने केही परिचय त विस्तार हुन सक्थ्यो कि बिस्तारै । क्रुजको पहिलो रात, प्राचीन मिश्री सभ्यतासँग पर्यटकलाई परिचित गराउने नृत्यहरू  । त्यो उत्तेजक नृत्यमा आमा छोरी पनि सामेल हुन्छन् । त्यसपछि उनीहरूले अन्य देशका यात्रीहरूको  माया पाउँछन् । चासोको दृष्टिमा पर्छन् ।

कति सचेत यात्रा । होस् पूर्ण यात्रा । स–सानो, सूक्ष्म स्थितिलाई पनि सम्मिलित गर्ने, रोचक बनाउने अभिव्यक्ति कला । राजाहरूको उपत्यका (भ्याली अफ किङ्स) अवलोकन गर्न जाँदा बीच बाटोमा पर्ने—अठारौँ राजवंशको फेरो आमेनहोटेप तेस्रोले आफू जीवित छँदा नै बनाएको आफ्नो मूर्ति—निर्जीव प्रस्तरमा पनि कस्तो कलात्मक जीवन । मिश्रको प्राचीन सभ्यता र संस्कृतिको अध्ययनमा लाग्छ ती शासकहरू आफ्नै अमरता र मृत्युमा चिन्तनशील थिए । आफ्ना नागरिकको बारेमा सोच्न भ्याए कि भ्याएनन् कसो ? “प्राचीनकालीन मिश्रेलीहरूको चिन्तन नै मृत्यु पश्चात्को जीवनमाथि अडिएको रहेछ । राज्य आरोहण गरेका फेरोहरूको त सिङ्गै जीवन आफ्नो चिहानको निर्माण बनाएरै बित्दो रहेछ । इहलोकमा हुँदा परलोकको कल्पनाले नै उनीहरूको वर्तमानलाई प्रभावित पारेको रहेछ । … अनि सर्काफगस अर्थात् ममीलाई राख्ने कफिन नै उनीहरूको पराजीवनमा प्रवेश गर्ने साधन वा वाहन हुने विश्वास रहेछ । … यसरी आफू बाँचेकै बेलादेखि परलोक गमनको सबै बन्दोबस्त गर्दारहेछन् (पृ–१५०)।” वर्तमान जीवनभन्दा पनि परलोकको आकाङ्क्षा बडो थियो भने मृत्युसँग उनीहरूलाई केही भय थिएन निश्चय । मृत्युको बिस्मात भन्दा परलोक गमनको उत्सव देखिन्छ त्यहाँ ।

राजाहरूको उपत्यका—मैले त राजाहरू मात्रै बस्ने निर्धारित इलाका होला भनेकी थिएँ । कुरा त अलिकति ठीकै हो । तर जीवित राजा बस्ने एरिया होइन, राजाहरूको सर्काफगस (चिहान) राखिएको स्थल पो रहेछ । अहिलेसम्म ६३ वटा राजाका चिहानहरू पत्ता लागिसकेको कुरा मोजेज बताउँछ ।

हरेक दृश्य अवलोकनमा आफ्नै मत विमत उब्जाउने स्रष्टाको विवेकले केही सोच्न लगाउँछ । उनी त्यस क्षण वैचारिक हुन्छिन् । वैचारिक चेत ब्युँझिन्छ । मिश्रको इतिहास मलाई बडो अद्भुतको लागेको छ । विश्वका महिलाहरू पुरुष तन्त्रले खुम्चिएको, दबिएको बेला इजिप्टमा महिलाहरूको शासन शक्ति र कुशलता—जगत्ले नै गौरव गर्नु पर्ने इतिहास क्लियोपेट्रा, हाप्सेप्सुटले रचेर गए । ती अद्वितीय नारीहरूलाई यसरी पढ्न पाउँदा म धन्य भएँ ।

‘मिसर’को पठन हरेक दृष्टिकोणले रुचिकर छ । इजिप्टका सम्बन्धमा आफूले जाने बुझेसम्मको धेरै जानकारी लेखकले समेट्ने प्रयास गरेकी छन् । त्यहाँका प्रायः मन्दिरमा राजाहरूको सर्काफगस अनिवार्य नै हुँदा रहेछन् । राजालाई भगवान्को रूप लिने प्रथा त कुनै नौलो विषय होइन नै । हाम्रोमा पनि त्यही मानसिकता थियो । तर इजिप्टमा अझ बेग्लै कुरा रहेछ । देउताका मूर्ति भन्नु नै तिनै राजा महाराजा रहेछन् ।

इजिप्टको प्राचीन सभ्यताको धेरै चोरी हुने गरेको र त्यसो नहोस् भनेर सर्काफगस अर्थात् ममीको पासपोर्ट बनाउने, भिसा लगाउने कुरा कति नौलो छ । क्रुज यात्राको अन्तिम रात फेशन सो र रात्रि भोजको उत्सव छ । लेखककी छोरी मेधा मिश्री पोशाक, त्यस्तै सुहाउँदो केश विन्यास, साजसज्जा र त्यही समयको गहना लगाएर फेसन सोमा पुग्दा सबै अवाक् छन् । दिग्भ्रमित हुन्छन्—क्लियोपेट्रा उनै थिइन् । नेपालबाट गएकी एउटी किशोरीको फेशन सोमा कमसेकम त्यहाँ उपस्थित यात्रीहरूले नेपाली भनेर त चिने नि ! त्यसबखत आमा छोरीले फेरि माया पाउँछन् ।

नागरिकको दयनीय अवस्थाप्रति सचेत नभएको शासक । युवा बेरोजगारको डरलाग्दो समस्या नेपाल र इजिप्टको उस्तै लाग्यो । वर्गीय, जातीय विभेद झन् कठोर रहेछ । अल्पसङ्ख्यक जाति उतिकै दबिएका छन् । समृद्ध मूलकमा त एउटा वर्ग सधैँ भुइँमै हुन्छ भने निर्धनताले जर्जर देशको अवस्था त झन् के भन्नु र ? त्यहाँका युवाहरूको अवस्था हामीहरूको भन्दा झन् कारुणिक रहेछ । विपन्न हुनुकै कारण त्यहाँ कति धेरै युवायुवतीको बिहे नहुँदो रहेछ । बिहे हुनुलाई उनीहरू भाग्य ठान्दा रहेछन् । एउटी पसले युवती राफायलको अवस्था त्यही छ, “धनी परिवारका केटाले हाम्रो जस्तो आर्थिक स्तरको केटी रोज्दैनन् र हाम्रै जस्तो आर्थिक हैसियत भएको केटाले मैले चाहेको मेहर तिर्न सक्दैन । हेरौँ भविष्यमा के छ ! बिहे हुन्छ वा हुँदैन पिर लिएर आफ्नो जीवन नरमाइलो त गर्नु भएन … (पृ–२२१)।

त्यस्तो अवस्था भोगे पनि वर्तमानको इजिप्टलाई विश्वले चिनेको छ । नेपालीको खै पहिचानको आधार ? आर्थिक क्रान्ति, कृषि क्रान्ति, प्राविधिक क्रान्ति केही छैन । निम्छरो भएपछि कसले सुन्छ ? कसले देख्छ ? बुद्ध जन्मिएको देश, सगरमाथा भएको देश भनेर हामी त्यसै अभिमानी हुन्छौँ । तर त्यस परिचयलाई कायम राख्ने पनि हाम्रो सामर्थ्य छैन । आँखै अगाडि छिमेकीले हाम्रो परिचय डसेको छ  । अझ त्यति मात्र होइन नेपाली भनेपछि प्रायःले भारतीय भनेर बुझ्ने कति उदेक लाग्दो कुरा छ । यस गम्भीर विषयमा खै कसले सोच्ने हो ? यात्रामा लेखकले त्यो नियति ठाउँ ठाउँमै सुन्नु परेको छ ।

होटेल लक्जरको म्यानेजर मिस्टर अब्दुल गफ्फारले नेपाल र नेपाली जाति पनि रहेछन्—पहिलो चोटि थाहा पाउँछ । सम्मान गर्छ ती आमा छोरीलाई त्यसरी घुम्न गएकोमा । निर्भीक र साहसी लाग्छ, धनी लाग्छ उसलाई ती आमा छोरी । त्यसै दिन बेलुका उसले डिनर पार्टीमा निमन्त्रणा पनि गरेको थियो । अब उसले थाहा पाउँछ सगरमाथा नेपालमा पर्दो रहेछ ।

छोरीको जन्म अप्रिय मान्ने, जन्माउन नचाहने, अवाञ्छनीय देख्ने इजिप्टको प्रकृति विपरीत समाज व्यवस्था अत्यन्तै दुःख लाग्दो छ । त्यहाँको शासन व्यवस्था जिम्मेवार हो कि  गैरजिम्मेवार मैले ठ्याक्कै भन्न जानिनँ । तर देशको भविष्यप्रति भने सचेत छ । स्तरोन्नतिको लागि प्रयासरत छ । हाम्रोमा त्यस्तो सम्भावना छैन । वर्तमान इजिप्ट नेपालभन्दा धेरै अगाडि छ ।

मिश्रेली युवाहरू परदेश गएर आफूलाई केही सहज  बनाउन त खोज्छन् तथापि सरकारले त्यसरी नजाउन् भनेर नीतिमा कडाइ गरेको छ । त्यहाँको सरकारलाई थाहा छ युवा शक्ति पलायन भयो भने देश डुब्छ ।

गरीब राष्ट्रहरूको समानता एउटै हुँदो रहेछ । धनीहरू कति धनी छन्, धनी बन्दै छन् । निमुखाहरू झन् भासिँदै छन् । कायरो अगाडिको त्यो शहर—एउटै व्यक्तिको सिङ्गो शहर विश्वास गर्न पनि मुस्किल पर्ने । त्यो धनाढ्य अमेरिकामा बस्छ रे ! आफ्नै देशमा बस्नेहरू विपन्नताले कति प्रताडित छन् के गर्नु ?

हावामा बिजुली उत्पादन गरिएको त्यस ठाउँ—अग्लो खम्बाको टुप्पोमा घुमिरहेको पङ्खाको जङ्गल कस्तो सुन्दर विम्ब । यस्ता बिम्बात्मक, प्रतीकात्मक, चित्रात्मक भाषा खेलाउन निपुण छिन् स्रष्टा । अर्को ठाउँ सूर्यले आगोको वर्षा गराउन लागेको छ ।

यात्राको अन्तिम दिन सर्जक इल्यासँग एउटा इच्छा बाँकी नै थियो—दशौँ शताब्दीमा स्थापना भएको संसारकै सबैभन्दा पुरानो दोस्रो विश्वविद्यालय अल–अजहर विश्वविद्यालय हेर्ने । नोबेल पुरस्कार प्रापक साहित्यकार नागुइब महफुज जन्मिएको कायरो शहर घुम्ने वाञ्छा, वाञ्छामै सीमित भएको छ । त्यस मध्याह्नमा त्यही कायरो शहरबाट आमा छोरी प्रत्यागमन हुन्छन्  ।

‘मिसर’ अध्ययनीय छ । जानकारीमूलक छ, स्मरणीय छ । सर्जक इल्याको लेखन आनन्द दिने किसिमको छ ।  पाठकलाई यात्रामा छु अनुभूति गराउने शिल्प आकर्षणीय छ । प्रस्तुत कृति पढेर मिश्रेली सभ्यताबारे मैले धेरै थोक बुझ्न सकेँ । अध्ययन गर्दा रिक्तता, असन्तुष्टि भाव कहीँ उत्पन्न हुँदैन । बरु केही नौलो कुरा थाहा पाउन सकेकोमा एउटा राम्रो तृप्ति मिल्छ । सन्तुष्टिकर तृप्ति ।