कविताको सिर्जना कर्म हो कि लहड ? साह्रै कम कविहरूका लागि कर्म र अधिकांशका लागि लहड देखिन्छ नेपाली साहित्यको इतिहासमा । कवितालाई कर्म बनाउनेहरू आजीवन काव्यिक उडानमा रहन्छन् र एक निश्चित गन्तव्य चुम्छन् । लहडीहरूचाहिँ अलेली उम्रिन थालेका काव्यिक प्वाँख दैनन्दिन जीवनका कच्चा हावाले नै केही वर्षमा झारिदिएपछि बिना प्वाँखका पखेटा बोकेर भुइँमा पछारिने र पुरानो समयका केही हरफको फुइँ लगाएरै कवि भएको भ्रममा जीवन काट्नुपर्ने वाध्यतामा पर्ने रहेछन् । कमसेकम नेपाली कविहरूलाई हेरेर यति चाहिँ ढुक्कले भन्न सकिन्छ ।
आफ्नो सिर्जनजीवनको दोस्रो कालखण्डमा तेस्रो आयामजस्तो सुविचारित साहित्यिक आन्दोलनसँग एकाकार भएर अघि बढेका र पछिल्लो समयमा पहिचानवादी जनजातीय तथा राष्ट्रिय नेपाली कवितामा विचार, पहिचान र शैलीगत नवीनताको उडानमा आफ्नै बेग लिएर लगातार करीब ६ दशक (वि. सं. २०१३ देखि २०७०सम्म) उडेको रङ्गीन कविताकर्मी चराको नाम हो बैरागी काइँला ।
गत ६ दशकमा नेपाली कवितामा आएका प्रायः जसो वैचारिक र पहिचानसम्बद्ध बाढी र खहरेहरू त्यही चराका वेगवान पखेटामा उम्रेका विभिन्न रङका प्वाँखजस्ता छन् । तीमध्ये कति त बाटैमा पछारिइसके भने अरू कति कम उमेरमै बुढ्यौली खेपिरहेकाछन् । यी सबैलाई लिएर काइँला चाहिँ आफ्नै उडानमा व्यस्त रहे ।
समग्रमा आधुनिक र समसामयिक नेपाली कविताको मूलस्वर पहिचान भएको पाइन्छ । यसमा तीन प्रकारका पहिचान पाइन्छन् : मानवीय पहिचान, सीमान्तीय (जनजातीय र क्षेत्रीय) पहिचान र नेपाली राष्ट्रिय पहिचान । संयोगले यी तीनवटै पहिचान आधुनिक विश्व रङ्गमञ्चका सीमान्तका पहिचान हुन् । यी तीनैथरी सीमान्तकृत र उपेक्षित रहेर सीमान्ततिरै आफ्नो इतिहास सकेसम्मको आयाममा निर्माण गर्न संघर्षरत रहे बीसौँ शताब्दीभरि । र यो क्रम अझै जारी छ । यी सबैलाई समेट्नेगरी आफ्नो गम्भीर सिर्जनाकालको शुरुवातताका वि. सं. २०२० (सन् १९६३)मा नै आफ्ना सिर्जनाको लक्ष्य सामाजिक न्याय भएको उद्घोष गरेका थिए काइँलाले यसरी :
मैले केही लेख्नु थालेको बखत
अनस्पर्शित भविष्यको कुमारी सेतो पन्नामाथि,
इतिहासका पन्नापन्नामा शब्दका बाकसबाट
आत्माहरू जागेर अन्तिम न्यायको निम्ति
प्रत्येकले मेरो वरिपरि धर्ना दिएर बसेका छन् ! (१५९)
त्यसरी धर्ना बस्नेहरूको त्यो बेलादेखि अहिलेसम्मकै साझा सपना कविले त्यतिबेलै चालपाएर यस्तो लेखेथे :
यौटा टुक्रा जमिन – पाइताला टेक्नु !
यौटा टुक्रा जमिन – भविष्यलाई प्रक्षेपण गरिदिनु !
यौटा टुक्रा जमिन – रणक्षेत्रमा अपराजित रहनु ! (१६०)
“घनवादीय प्रणालीको रचिएकाले प्रखण्ड (मोन्टास्ज)हरूबीच फाँकहरू (ग्याप्स) छन् जुन पाठकहरूले आफ्ना भावनात्मक तथा संयोजक व्याख्याले भर्नपर्नेछ, भर्छन्” (३०) भनेर इन्द्रबहादुर राईले काइँलाका कवितामा पाठकको महत्त्वपूर्ण भूमिकाको अपेक्षा गरेकै शैलीमा यस लेखमा काइँलाका कवितामा भेटिएका फाँकहरूलाई पहिचानजन्य संयोजक व्याख्याले भर्ने कोशिस गरिएको छ । पहिचानको मूल तर्कलाई भरथेग गर्न बैरागी काइँलाका सङ्कलित कविता (२०७६) भित्रका कविताका हरफहरूलाई लिइएकाले उदृत गरिएका हरफ कुन कविताका हुन् नभनी उक्त पुस्तकको कुन पृष्ठबाट लिइएका हुन् भन्ने सङ्केत गरिएको छ । यस सङ्ग्रहमा समेटिएको काइँलाका कवितामाथि इन्द्रबहादुर राईको समालोचनाबाट लिइएका हरफहरूलाई पनि यसै सङ्ग्रहका पृष्ठले सङ्केत गरिएको छ ।
0 0 0 0
मानवीय पहिचान
उच्चआधुनिक नेपाली कविता कर्मका मूल खम्बा काइँलाका अधिकांश कविताले उठाएका प्रश्न हुन् : के आजको मान्छे साँच्चै मान्छेजस्तै छ त ? उसको पहिचान प्राप्तिको स्थिति के हो ? वा उसले चाहेको पहिचानको प्राप्तिको बाटो के हो ? आजको मान्छेले हिँडेको बाटो भएर त्यो गन्तव्यमा पुगिन्छ त ? यी सबैमाथि चिन्तन गरेपछि काइँलाको ठम्याइ छ : आजको मान्छको आफ्नै कारणले उसको पहिचान धरापमा परेको छ । उनको प्रसिद्ध कविता “ब्रेलमा हत्केला छामेर”मा प्रयुक्त लेप्चा लोककथा “चेक्ता”नै आजको मान्छेको अपूर्ण पहिचानको कारण हो ।
यस लोक कथाको सारांश छ : “एकपल्ट मानिसहरू स्वर्ग जान हाँडीको सिँढी बनाउँछन् । स्वर्ग पुग्ने बेलामा टुप्पा र फेदका मानिसमा वैमनस्य उत्पन्न हुन्छ र सिँढी भत्याङभुतुङ पारिन्छ” (४४) । आफ्नैहरूका बीचको आपसी बेमेलको परिणामस्वरुप आजको मान्छे मानव हुने बाटोमा खासै प्रगति गर्न नसकेर पश्चातापस्वरुप भन्दैछ :
यत्रो शताब्दी नाघेर कत्ति हिडिँन छु
कत्ति पुगिन छु । (४४)
काइँलाको निष्कर्ष छ : यस्तो हुनुमा मानिसको अस्तित्वको दाबी नै कमजोर भएको वा भनौँ मानव हुन पुग्नेजति विवेक र संयमको विकास नभएर र भएको जति पनि राम्ररी प्रयोग नगरेर उक्त अस्तित्व प्राप्त नभएको हो । मान्छेको कमजोरीलाई काइँला बिम्बमा भन्छन् यसरी : “बलौटाको खपटा जोडेर फोसिलमा मान्छे उचाल्छ” (४४) । मान्छेको अस्तित्वको दाबी नै कमजोर छ बालुवाको खपटाजस्तो फ्यास्स फुस्किजाने । मान्छे भावनात्मक र बौद्धिक दुबै तहमा कमजोर भएको ठान्दछन् कवि :
तीखो पीडा बिझ्दैन मासुमा
बुद्धि निस्केछ बाहिर मान्छेबाट तर्साउनु मान्छे
मुटु भतेर लाइसकेछन् गिद्धले शिलाखण्डमा पस्केर
रोबोटले छामेर रोबोट बनाएछ शताब्दी
म भत्किएर फलाम ढालिन्छु
आफ्नो भत्काइ चाल पाएर पीडा घोच्दैन मासु (४२)
यहाँ प्रयुक्त गिद्ध र रोबोट मान्छे भित्रकै प्रवृत्ति हुन् जसले मान्छेलाई कहिल्यै मानव हुन दिएनन् । मावन पहिचानको निर्माणमा आफैँ बाधक बनेको छ मान्छे । त्यसैले अब त मान्छे जन्मनुपूर्व नै पाठेघर भित्रै पो निस्सासिन थालेकोछ :
असिनपसिन नभई निस्सासिन्छ पाठेघर
त्यसै निस्सासिएर मान्छे सकिइन्छु कि ! (४२)
तरुणीहरू
नील नदीमा खुट्टा धुँदै
यन्त्र केवल यन्त्र जन्माउछन् आजकल ! (१२३)
त्यसैले त मान्छे जन्माउने, हुर्काउने र रक्षा गर्ने आस्था आफैँमा सिकसिको लाग्दो भएको छ अचेल :
सायाभरि रगत छिटामा बिस्कुन सुक्छन्
कता सुकाउँ बियाड राखूँ …
दिग्मिगले लफ्रक्क आस्था सिक्सिको लाग्छ (४१)
यसरी मानवीय पहिचानको खोजी ब्रेललिपी नसिकेको मान्छेको हत्केलाले ब्रेल छामेजस्तै भएको छ आजकल । त्यसैले त कवि भन्छन् :
म कमजोरी लुकाउँछ रेसमको बेलबुट्टा कुन्यु थुपारेर
म भगाउँछ आफू अरुको प्रवेश बार छेकेर
म छेक्छ आफू अरुको प्रवेश बार छेकेर (४६)
हामीले पाएको स्वतन्त्रता पनि आफैँमा अपूर्ण हुनाले त्यो त उल्टै अवरोध जस्तो पो भैदिन्छ : “स्वतन्त्रताको अलिकति प्राप्ति पिँजडा थपिन्छ” (४९) ।
अनि हाम्रो अस्तित्व यति तल ओर्लन बाध्य हुन्छ कि “घर खोज्दै बित्दछ कि त आयु उप्किएर” (५०) ।
समग्रमा कविलाई लाग्छ : “– ल्याङफ्याङ मात्र छु – छु” (५२) र त कविको चिन्ता थपिन्छ : “आफैँबाट निर्वासित भएर बित्दछ कि त शताब्दीहरू …” (५३) । आखिर जति भागेपनि एक्लोपनबाट कतै मुक्ति छैन यो आधुनिक मान्छेलाई :
कोलाहलदेखि भागेर भीडभित्र एक्लो पुग्छु
उ
भि
न्छु
! (५९)
जति प्रयास गर्दा पनि जीवनमा इच्छित स्वतन्त्रता नपाएपछि आजको मान्छे मरेतुल्य भएर बाँचेको नाटक गरिरहेको छ : “जुलुस कुदेर भाग्छु — सक्तिनँ उठ्नु स्वतन्त्र” (६०) । र अन्त्यमा उसको अस्तित्व शुन्यमा बिलाउँछ । तर त्यहाँ गङ्गाभित्रै भएर पनि पानी पिउनसक्ने वातावरण नपाउदा ऊ उकुसमुकुस भइरहन्छ :
नीलो उघारेर शून्यले काख दिन्छ
झ्वाम्म पस्दछु
म
रेखिदै तरङ्गले स्वरहरू … पानी … पानी … पानी … (६१)
मृगतृष्णाले राम र सीतासँगै लक्ष्मणलाई पनि बेहाल बनाएको बिम्ब आजका मान्छेका लागि सटिक प्रयोगमा आएको छ :
आँखाले पहेँलोमा मृग खेदेर दगुर्यो जङ्गलभित्र
र हरायो जङ्गलले भित्र सधैँलाई (६२)
त्यही भएर त छ नि कविको निष्कर्ष :
हो, शून्यबाट असिना बर्सँदै माटोमाथि पग्लेर शून्यमा तत्क्षण
बिलाइरहेर — छु,
शून्यमा,
शून्यमा शून्य थपिदै शून्य हुँदै … (६४)
यी सबैको कारण अरु केही नभएर मान्छे आफैँ हो :
आफैँ भित्रको अहम्, लोभ, लालच र ईर्ष्याले
परम सत्ताका लागि,
स्नेह र सद्भावलाई चल्लाका भोगमा भाकल बुझायौ
र आफैँलाई कैद गर्यौ सधैँलाई । (६५)
परिणामस्वरुप,
र रगतले बाढीमा बगायो मानव इतिहास,
विजयी कोही नहुने सँधैको लडाइँमा लासका पहाड उठे
हड्डीको समीधा र मान्छेको बोसोमा बलेका दियोहरू
दासले बाँचेका भ्रमको जीवन … आह ! … (६५)
यो दासत्वपूर्ण जीवन पनि आफैँले निम्त्याएको त हो नि :
पुच्छर समातेर अनन्त इच्छा अनन्त राग अनन्त वासना अनन्त
कथाको डोरी रेसमको ओकलेर अनन्त डोरी
आफैँलाई जेल्दै अनन्त (६५)
यसरी विभिन्न पर्दा लगाएर मान्छेले आफ्नो वस्तुता (यथार्थ) छोपेर भ्रममा रमाएकाले नै ऊ के हो, उसको पहिचान के हो सबै भ्रम भएको त हो नि :
विष्णुको सहस्र नाम छन् …
सहस्र जीवनहरू सहस्र नामहरू
सहस्र जीब्राले उच्चारित मुन्धुमका ऋचाहरूका
नामले बार बारेर
घेर्यौ तिमीले आफैँलाई पनि पर्खालले ।
र भेटेनौ
र भेटिनँ । (६७)
त्यही भएर मान्छेका प्रत्येक विद्रोह र क्रान्ति (??) केबल झिँगाले चियाकपमा हाम फालेर ज्यान गुमाएजस्तो मात्र भएका छन् :
तुहियो एउटा अर्को क्रान्ति, झिँगाजस्तो विद्रोह,
सपनाहरू उसको पखेटा जलेको झरे … (६८)
काइँला ठान्दछन्, यो सबै भैरहन्छ किनकि
हरे, जीवनबाट उम्कन असमर्थ छन् मानिस !
स्वतन्त्र, केबल स्वतन्त्र हुन मानिस असमर्थ छन् ! (१२२)
त्यही भएर कवि निराशाको उच्चतम बिन्दूको सङ्केत गर्दछन् यसरी :
आह ! मुक्ति मेरै गर्भमा तुहिएछ कि ? (१२३)
० ० ० ०
जनजातीय पहिचान
एक्काइसौँ शताब्दीको नेपालमा मानवीय र राष्ट्रिय पहिचानको मुद्दाभन्दा बढी स्पष्ट देखिने मुद्दा हो जनजातीय–सीमान्तकृत समुदायको मुद्दा । यद्यपि यो मुद्दा मानवीय र राष्ट्रिय पहिचानभन्दा परको विषय होइन । काइँलाका कवितामाथि टिप्पणी गर्दै इन्द्रबहादुर राईले भनेका छन् : “देशको निम्ति अन्य अनेक मुद्दामा सबै अरुसँग मिलेर लड्दै सँगैमा आदिवासी उजुरको न्यायताको सङ्घर्ष भिन्नै लड्नैपर्ने हुन्छ । नव वामपन्थ कहिन्छ यसलाई” (३०) ।
नेपाली इतिहासको कुनै कालखण्डमा आआफ्नो सामर्थ्यअनुसार आआफ्नै राज्य बनाएर शासक बनेका राई, लिम्बू, मगर र खस लगायतका समुदायहरू गत तीन शताब्दीमा क्षेत्रीहरूको सत्ता र ब्राह्मणहरूका धार्मिक नियमको प्रभुत्व स्वीकार गरेर बाँच्न बाध्य भए । आफ्नो ठाउँको आफैँ राजा भएकाहरू काठमाडौँको आदेश पालक मात्र भए । खसआर्यको बाहुल्य रहेको काठमाडौँकेन्द्रित सत्ताले बेवास्ता र दमन गरेपछि बिस्तारै त्यो पुरानो राजकीय शानको स्खलन भयो । आफ्नै मुलुकमा आफैँ शरणार्थी पो भयौँ कि कसो भन्ने सम्मको स्थितिमा पुगे गैरखसआर्य समुदायहरू ।
यो तीन शताब्दीको सीमान्तीकरणको प्रभावले जन्माएको पीडा र त्यो पीडाले निर्माण गरेको आक्रोशको अभिव्यक्ति समाज, राजनीति र सिर्जना सबैतिर प्रखर रूपमा देखिन थालेको पनि तीन दशकभन्दा बढी भयो । नेपालमा बस्ने सबै समुदायलाई राज्यले समान पहिचानको ग्यारेन्टी गरेपछि मात्र सबैको मनमा नेपाल मेरै देश हो भन्ने भावना र अपनत्व जागृत हुन्छ; अनि त्यसपछि मात्र वास्तविक समताको प्रत्याभुति हुने हो भन्ने केन्द्रीय सारमा अडेको सीमान्तीकृतहरूको मुलधारीकरणको मुद्दामा मानवीय र राष्ट्रिय पहिचानका लागि आवाज बुलन्द गरिआएका र जनजाति समुदायमा जन्मेर कति ठाउँमा तिनीहरूको नेतृत्व गर्दैआएका कवि काइँलाको साथ रहेको पाइन्छ । त्यसैले नेपालमा गणतन्त्रको स्थापना भएपछिका केही कवितामा काइँलाले यस मुद्दालाई सम्बोधन गरेका छन् ।
म आफू जन्मेर हुर्केको ओखाल्ढुङ्गाको समाजमा राईहरूलाई होच्याएर सम्बोधन गर्दा ‘चितुवा’ भनेको सुन्दा यस्तो किन भनेको होला भन्ने लागिरहन्थ्यो । काइँलाको कविता “शरणार्थी विचार र माली गाउँमा चितुवा” पहिलो पटक पढ्दा मैले त्यही सामाजिक परिवेशलाई नेपालमा जनजातिको स्थितिसँग एकाकार गरेको थिएँ । त्यही बेला थाहा पाएको थिएँ चितुवाको वास्तविक गुण र यस कवितामा त्यसको काव्यिक बिम्बसहितको प्रतीकात्मक अर्थ ।
कविले आफूलाई नै “एक्लो हिँड्ने चितुवा चिन्तन” (१४४) भएको व्यक्ति पो ठान्दा रहेछन् । उनी सर्जक भएकैले “कल्पनाको मुक्त उडान”मा “स्वतन्त्र अभिव्यक्ति”लाई ज्यान तथा “स्वतन्त्र विचार र मुक्तलेखन”सँग जोड्दै कवि व्यक्तित्वलाई “आफैँ झुल्कने सूर्यकिरण” (१४४)सँग एकाकार गराएको घोषणा गर्दछन् ।
प्रतीकात्मक रूपमा चितुवाको जस्तो स्वतन्त्रता र स्वप्रियता प्रत्येक मान्छेको प्राकृतिक गुण तथा चाहना दुवै हो रहेछ । शहरभन्दा जङ्गललाई प्यार गर्नु चितुवा र चितुवाजस्ता आदिवासी जनजातिको स्वाभाविक प्रकृति हो । त्यसैले चितुवाले मालीगाउँमा आएर आफ्नो पुरानो वासस्थान (जो अब शहर भैसक्यो)माथि दाबी प्रस्तुत गरेजस्तै आदिवासी जनजातिहरूले पनि नेपालको राज्यव्यवस्थामाथि आफ्नो दावी पेश गर्न थालेको इतिहाससँग जोडेका छन् यस कविताका घटनालाई कविले ।
जसरी आफ्नो पूर्ववासस्थान दाबी गर्न मालीगाउँमा देखा परेको चितुवालाई शहरीकरणप्रेमी राज्यले आफ्ना सुरक्षाकर्मी लगाएर कुनै आतङ्ककारी वा उसको सुराकीलाई कब्जामा लिएकै शैलीमा कब्जा गर्यो, त्यसैगरी आदिवासी जनजातिहरूको नेपाल राज्यको मूलधारमा उपस्थितिको आफ्नो दाबीलाई पनि दुत्कार्न गैरजनजातीय शासकहरू विभिन्न हर्कत गर्दछन् भन्ने कविको दाबी देखिन्छ यस कवितामा । त्यही भएर नेपाल राज्यमा आदिवासी जनजातिहरू आफूलाई पहिचानविहीन शरणार्थीको रुपमा सीमान्तीकरण गरिएको इतिहासलाई हाँक दिन जरुरी ठान्दै त्यस्तै कर्म गर्दछन् अचेल ।
शासकहरूप्रतिको द्वेष र तिनका दमनविरुद्धको सङ्घर्षको साथसाथै आदिवासी जनजातिहरूले आफ्नो आदिम पहिचानको रक्षा समेत गरिरहनु पर्ने आवश्यकतालाई उजागर गर्न कवि लिम्बू मिथकतिर फर्किन्छन् । मुन्धुम अनुुसार लिम्बू तथा किराँतहरू सिंहका भान्जा र बाघका भाइ वा चितुवाहरू हुन् भन्दै कवि लेख्छन् : “बाघ दाजुको मान्छे भाइले साँच्चै चितुवा बन्नुपर्यो” (१४५) आफ्नो अस्तित्व जोगाइराख्न । कवि पाठकहरूलाई यी चितुवाहरूको गौरवशाली इतिहास सम्झाउदछन् यसरी :
उपत्यकादेखि कुम्भकर्ण हिमालसम्म
आफ्नै भूमिमा फैलिएका मेरा वंश, पूर्वजहरू
इतिहासको प्रारम्भमा यहाँको आदिवासी !
निर्वन्ध र स्वतन्त्रहरू ! (१४५)
तर
बाहिरको आक्रमणकारीले
राजा पटुकलाई गोकर्ण दरबारबाट खेदेपछि
लखेटिएका हामीहरू
देश खोज्दै जङ्गल पस्नुपर्यो र
बाघ दाजुको मान्छे भाइले साँच्चै चितुवा बन्नुपर्यो । (१४५)
त्यो बेलासम्मका जङ्गल–भूमिका मालिक र प्रकृतिका संरक्षक चितुवा (किराँत)हरू अब क्रमशः शक्तिको केन्द्रबाट सीमान्ततिर, देशको केन्द्रबाट सीमान्त भूमितिर घचेटिन थाले । परिणामस्वरुप लामो समयपछि
………….. इतिहासविहीन
गौरवगाथा लुटिएर श्रीहीन
हामी प्रकृतिका सन्तति, घरबारविहीन (१४५) भएपछि आएको हो किराँतहरूमा “विस्थापित शरणार्थी चिन्तन” (१४६) र भएको हो “यो चितुवाको तन (सात गोली लागेर धुजाधुजा भएर अशक्त पल्टिरहेको) र यो आदिवासी मन (शहरबाट लखेटिनुु परेपछि गाउँ र वनपाखा नै प्यारो लाग्ने प्रवृत्तिको झन् बढोत्तरी)” (१४६) । आदिवासीहरूका लागि यस भूमिमा विगत र वर्तमानमा खासै भिन्नता नभएको खुलासा छ त्यसपछि कवितामा :
… आदिमकालमा
हिंस्रक आखेटहरूका दाराबाट बग्दो रगत
र रगतमा चोबलिएका नङ्ग्राका आक्रमणबाट
आदिम मानिसहरू — ती आदिवासीले
भाग्दै ज्यान जोगाउनुपर्थ्यो !
आज पनि
यत्रो युग नाघेर सहस्राब्दीको आरम्भमा
फेरि अर्को पटक, पटक पटक …
ज्ञान, शक्ति र सम्पन्नता र पहुँचको उन्मादले
मातेका निरङ्कुश र अधिनायकहरूका
शासक र शोषकहरूका
रक्तरन्जित दारा र नङ्ग्राका नयाँ अवतार
स्वचालित एके ४७ र बमहरूबाट
फेरि ज्यान जोगाउन भाग्दैछन् आदिवासीहरू ! (१४६)
बढ्दो आधुनिकीकरणको परिणामस्वरुप मासिँदै गएको प्रकृति र प्रकृतिप्रेमी आदिवासीहरूलाई यस परिवेशमा टिक्न परेको समस्याका बारेमा राउटे मुखिया मान बहादुर शाहीको वर्तमान (वि. सं. २०६४ तिरको) अवस्थाले सबै आदिवासी जनजातिहरूको परिस्थितिको प्रतिनिधित्व गर्नसक्ने गरी कवि लेख्छन् :
मुखिया मानबहादुर शाही —
साइत हेर्ने काठको ठूलो भाँडो लुटिएपछि
प्रस्थानका लागि रनभुल्लमा परेर अनिष्टले चिन्ताग्रस्त
आफ्नै पाखोमा फड्के खेती गर्ने भस्मेबारीको
लालपूर्जा नहुँदा आश्चर्यचकित र हतासहतास
प्रश्न गर्दै थिए, किन भूमिहीन भयौँ हँ ! (१५०)
मानबहादुर शाही लगायतका आदिवासीलाई मालीगाउँमा सात गोली हानेर ढलाइएको चितुवासँग एकाकार गर्दै कवि लेख्छन् :
उत्खननमा भेटिएका माटामा हाँडाभाँडा र इँटाका टुक्राहरूमा
पूर्खाको अनुहार र आफ्नै परिचय खोज्दै
हाँडीगाउँ हिँडेको मालीगाउँ आइपुगेछु । (१५०)
आफ्नो पहिचान दिलाउने प्रकृतिको विनाशले होस हराएजस्ता भएका आदिवासीहरूलाई अबको गन्तव्यको टुङ्गो तथा त्यो गन्तव्य पुग्ने सही बाटोको पत्तो नहुँदा शहरिया शासक र यो देशमा आफ्नो स्वार्थ लाद्ने उपयुक्त बाटो कुरिरहेका विदेशीहरूको कोपभाजनमा परेर अस्तित्व समाप्त हुन पुगेको परिवेशको काव्यिक चित्रण हो यो कविता । आधुनिक सभ्यता नाम दिइएको क्रूरताको पटाक्षेपले सिंहलाई चिडियाखानामा राख्दा जङ्गलको राजाले भोग्नेजस्तै पीडामा छन् आदिवासीहरू अचेल :
बारुदी सुरुङ बिछ्याइएका बाटाहरू फड्कँदै हिँडेको मैले
यात्रामा, बाटोमा राजामामालाई भेटेको थिएँ,
भन्थ्यो, पक्रेर सहर लगेर प्रयोगशालामा राखे,
नमानेर सहर बस्न फर्केको आफ्नै रनवनमा म वनको राजा,
तर आफ्नै देशमा नागरिकताविहीन किन भएँ ? (१५०)
आफ्नोपन र आफ्नो सामर्थ्यको पहिचान पाउँदा धेरै ढिलो भएपछि आफ्नै भूमिमा आफैँ शरणार्थी हुनुको पीडा शब्दमा यसरी व्यक्त गरिएको छ :
देश खोज्दै आफ्नै भूमिमा विदेशीको नियति भोग्न विवश !
कसले मेरो देश र इतिहास
झण्डा गाडेर कब्जा गर्यो ?
आह ! कहाँ छु म ! खोइ मानचित्र !
यी हरफमा गरिएको प्रश्न र विस्मयको मिश्रणले आदिवासीको मानसिकतामा परेको चोटको परिणाम दर्शाउँछ । यो शरणार्थीकरणको प्रक्रिया नयाँ नभएकोतिर समेत कविताले सङ्केत गरेको छ :
को आयो पराई र नचाहिँदा पनि नचाहिँदो लिएर
रित्तो पार्यो सुन्दर प्रकृति !
……………………………..
को आततायी आएर हामीलाई प्रकृतिबाट टाढा बनायो ?
इतिहास, श्रुतिपरम्परा भन्छन् —
बुद्धिचालका खेलाडीहरू र तिनको षड्यन्त्रबाट
सधैँ ठगिएको छ प्रकृतिको सम्पदा र सन्तति !
आदिम मानिस, यी आदिवासीहरू,
क्षीर सागरको मन्थनमा षड्यन्त्रले ठगिए,
तीन पाइला जमिन मागेर वामनातारले
सर्वस्व हरणपछि पनि बलिको टाउकोमाथि टेक्यो र
पृथ्वीमा घाँटीसम्म भसायो — (१४७–४८)
यो आदिम दमन र षड्यन्त्रको शृङ्खला बीसौँ शताब्दीसम्म कायम रहेको सङ्केत छ तलका हरफमा :
हो, इतिहास बारम्बार दोहोरिन्छ —
र भूमिपुत्रहरू आफ्नै किपट भूमिबाट
बारम्बार लखेटिनुपर्छ — शरणार्थी भएर !
उहिले कहिलेदेखि विस्थापित र देशविहीन
म शरणार्थी विचार,
कहिले यो शिविरमा
कहिले त्यो शिविरमा
देश खोजेर अस्तित्वको दाबीमा — ! (१४८)
परिणाम स्वरुप, उनीहरूको आफ्नो इतिहास बन्नै सकेन :
आह ! पराजितको इतिहास हुँदैन,
उफ् ! म संस्कार र संस्कृतिविहीन !
मेरो इतिहास, सभ्यता, संस्कृति र कलाकौशल,
कसले नामसारी गरेर लग्यो जालसाजीबाट ? (१४९)
यी सबै दलनबाट थाकेर सुस्ताउन हिँडेको चितुवा हठात् मालीगाउँ आइपुग्दा शासकहरू तर्सिएर, झस्किएर, आफ्नो आक्रमणकारी इतिहास सम्झेर आतङ्कित भएको ठहर छ कविको :
मलाई देखेर किन झस्कियौ ?
कतै बाघको सिकार गर्दा बाघको आक्रमणले
आहत भएर कालकवलित कुनै राजाको कथा सम्झ्यौ ?
कि जङ्गबहादुरले देखेको सेतो बाघ ?
र अनिष्टको आशङ्काले काम्यौ भित्रभित्र ? (१५१)
नेपाली इतिहासमा बहादुरीका पर्याय बनेका पृथ्वीनारायण शाहको बाघको आक्रमणबाट मृत्यु भएको र जङ्गबहादुर सेतो हाती देखेको भ्रममा भएको बेला आदिवासी जारबाट काटिएको कथाप्रसङ्गलाई यहाँ जोडेका हुन् कविले । यी प्रसङ्गका साङ्केतिक अर्थमा कविको भविष्यवाणी छ : अब शासकहरूले आदिवासी र जङ्गलवासी (रुख र जनावर)हरूको विरुद्धको इतिहासको श्रृङ्खलाको अन्त्य गराउनुपर्छ । नत्र यसले धेरै अरु आक्रमण सहेर जीवनलीला समाप्त हुनेछ यी शहरिया र शासकहरूको । अबको शासकले आदिवासी मन (सर्वसमानताको भाव) लिएर राजनीति गर्दामात्र संसार युद्धबाट मुक्त हुनसक्दछ; र नै यहाँ मानवताको किल्ला मजबुत हुनेछ भन्ने भावमा कवि लेख्छन् :
मेरा साथीहरू,
हो, फ्याँक ती बन्दुक, भाला र भाटाहरू,
मान्छेले मान्छे मारेर
कसले युद्ध जितेको छ सधैँका लागि ?
हेर, हामीले हराएका छौँ धेरै भित्री मनका कुराहरू,
सद्भावको अभावमा अशान्त छौँ आज,
अशान्त मनले कसरी नाच्छ विभोर भई ?
किन हरायौँ आफैँलाई हामीले जो नाच्दथ्यौँ प्रेमले सधैँ ?
किन भयौँ आफैँबाट पनि निर्वासित एक्लाएक्लै हामीहरू ?
आऊ, समातौँ प्रेमले हातहरू परस्परको
आऊ, नाचौँ खोज्दै आफैँहरूलाई ।
इतिहासको हराएको त्यो पन्नामा
हाँडीगाउँको उत्खननमा
कतै भेट्टिनु आफू भेट्टिनु आफू
झङ झङ झङ
झङ झङ झङ (१५१–५२)
तर जतिभन्दा पनि शासकहरूको कान ठाडा नभएपछि, साथै जातीय र राष्ट्रिय पहिचानको आन्दोलनको इतिहासबाट दिक्क भएर २०७०मा आएर काइँला भन्छन् :
रातभरि करायो दक्षिणा त नाई,
माछोमाछो भ्यागुतो भो मङ्गलमानलाई ! (१६६)
० ० ० ०
राष्ट्रिय पहिचान निर्माणको सपना
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई एसियाको सबभन्दा गरीब मुलुक भएको तथ्याङ्क सार्वजनिक गरेपछि सामाजिक सञ्जालभरि देशविदेशमा रहेका नेपालीहरूले गत चौतीस वर्ष नेपालमा शासन गर्ने दलहरूमाथि प्रश्न उठाइरहेको दिन २०८० कार्तिक १ गते म यो समालोचनात्मक निबन्ध लेखिरहेको छु । अन्य पहिचान जतिसुकै सबल रहने नेपालीहरूले पनि नेपाली नागरिकको यो गरीब पहिचान बोकेर हिँड्नुपर्दा कस्तो अनुभूति हुन्छ होला ? राष्ट्रनिर्माणमा तन, मन र धनले नलाग्नेहरूले के यस्तो अवस्थामाथि टिप्पणी गर्ने अधिकार र हैसियत राख्छन् ? अनि कवि काइँलाले आफ्ना सिर्जनामार्फत् यस विषयमा कुनै विमर्श उठाएका छन् त ? यस खण्डमा काइँलाका कवितालाई त्यही दृष्टिबाट विवेचना गरिएको छ ।
परिवारदेखि आफूसम्म आजीवन स्वतन्त्रताको पक्षमा लडेका कवि काइँला नेपालको पहिचान एक स्वतन्त्र र स्वतन्त्रता एवम् समानता प्रदायक राष्ट्रको रूपमा भएको हेर्न चाहन्छन् भन्ने उनका कविताले देखाउँछन् । पञ्चायत कालभरि देशभित्र त्यस्तो स्थिति नहुँदा त्यसका लागि आव्हान गर्दै र बहुुदलीय व्यवस्थाको प्राप्तिपछि त्यसको निश्चितताको लागि फिल्डमै उत्रेर काम गरेका सर्जक हुुन् काइँला ।
वि. सं. २०२० असारमा रचित उनको प्रसिद्ध कविता “मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित” यस तर्फ काइँलाले चालेको एक प्रखर पाइलो थियो । नेपाली कविताको इतिहासमा स्वतन्त्रताका पक्षमा लेखिएको एक मानक रचना हो यो । स्वतन्त्रतालाई बन्दी बनाउने अन्धकारमय राष्ट्रको शासन व्यवस्थाको विरुद्धमा उज्यालोको उद्घोष गर्ने भाले बासे जसरी कवि भन्छन् :
आधा रातपछि
रक्सी दोकानबाट म के निस्किएको छु :
प्रत्येक खोंगी र खोरभित्रबाट
पखेटा फट्फटाउँदै विद्रोहको (८५)
उनको यो मध्यरातबाट बिहानी तर्फीको यात्रा चुपचाप निरङ्कुशता सहने कायर रैती वा विवेकहीन झोले कार्यकर्ताको निगुरमुन्टी ‘न’ होइन । यो त हो निरङ्कुशताका जरा हल्लाउने भूकम्पको झड्का :
आज मेरो प्रत्येक पाइलामा यौटा–यौटा भूकम्प छ ।
आज मेरो प्रत्येक अनुभवमा
यौटा–यौटा ज्वालामुखी पड्कन तैयार छ । (८५)
“गँडेउलाझैँ गुजुल्टिएर” लाटोकोसेरोजस्तो राज्यका डरले थुरथुर हुने “आत्म–पराजित मानिसहरू”भन्दा बिल्कुल भिन्दै यो कवि ‘स्वतन्त्रताको सपना’को रक्सीले मातेर निरङ्कुशतालाई हुङ्कार गर्दछ :
ए सडक हो !
यौटा मानिस तिमीमाथि हिँड्दैछ,
म अटाइनँ तिम्रो फैलावटमा
यसर्थ, म हुकुम गर्दछु …
अझै तिमीहरू — फाटिदेऊ, फैलिदेऊ … (८७–८८)
किनकि
कोलम्बसको पैतालाले
यस सडकमाथि टेक्न पाउनुपर्छ !
यौटा विद्रोहले यहाँ शिर उचालेर हिँड्न पाउनु पर्छ ! (८८)
यहाँ,
सयौँ बुटले प्रतिक्षण किच्चिएर ।
मोटरका चक्काले प्रतिक्षण पिल्सिएर ।
लम्पसार र उत्तानो परिसकेका (८९)
जिन्दगीहरूको उद्धार गर्नुछ स्वतन्त्रताको उज्यालोमा ।
यसरी “सम्राटको बूटले किच्चिएको” आवाज र
बन्दुकको मोहरीले चुप गराएपछिको
असन्तोष
शून्यता
शून्यताको असन्तुष्टता (९६) भएको देश र समाज मृत्युशैय्यामा परेको मान्छेजस्तो हुन्छ जो “घाँटी अठ्याइएको विद्रोहको युद्धरत नीरवता” (९६)लाई हेरेरै आशाविहीन दिनहरू काटिरहन बाध्य हुन्छ । त्यसैले त्यस्तो राष्ट्रिय (अ)पहिचानको विरुद्धमा कविको गर्जन आवश्यक भएको हो । अनि कसैगर्दा पनि मुक्ति सम्भव नभएपछि र चाहेजस्तो पहिचान यो राष्ट्रले बनाउन नसकेपछि कविलाई झोँक चल्दछ
तर बस, झोँक चल्दछ :
च्यातेर मञ्जुश्रीका तरबारका तीखा औँलाहरूले
यो शून्यको पोखरीलाई, चोभारमा (११०)
झोँकको तह बढ्दै जाँदा कवि आफूलाई मुक्तिमार्गमा आहुति दिन समेत तम्तयार भएको सगर्व घोषणा गर्दछन् :
लहर–लहर भाँचेर
चोइँटा–चोइँटा लहरको समीधामाथि
डढेलो लगाउन आगोमा,
आगो ! आगो ! आगो ! वडवानल !
जीवनको होम : जिन्दगीको आव्हानमा, (११३)
यसरी पञ्चायतकालभरि युवा जोशको अल्लारे काँचो झोँक बोकेर बाँचेका कवि बहुदलकालमा पनि नेपाली नागरिकको स्थितिमा खासै सुधार तथा नेपाल राष्ट्रको पहिचानमा कुनै विशेष नौलोपन नआएपछि संवेदनशील देखिन्छन् । माओवादी द्वन्द्वकालले नेपाललाई बुद्धभूमिको सनातन पहिचानबाट युद्धभूमिको नयाँ पहिचानमा परिणत गरेर नेपालीहरू भूपी शेरचनले भनेजस्तै बुद्धुभएकैले वीर कहलिएका हुन् भन्ने बनाएपछि समकालीन कविताको सरल भाषामा बुद्धुहरूले समेत बुझ्नेगरी आफ्ना निराशा अभिव्यक्त गर्न थाल्दछन् काइँला :
हो, गोली जतैबाट आएर लाग्न सक्छ
आफ्नै रगतको उर्लँदो भेलमा
यहाँसम्म बगेर आएपछि
मुडुला टाउकामा बालकहरूको लश्कर
सेतो पहिरनमा नारीहरूको लाम
सुकेका रूखझैँ वृद्धवृद्धाहरू
………………………….
आगो चारैतिर आगो छ,
जलिरहेको छ देश, सदाको अनिश्चित, असुरक्षित भयो मान्छे,
र उसको जीवन (१३९–४०)
यो परिस्थितिको काव्यिक चित्रण यस्तो छ :
असिनाले पिटिएका फूलका पत्रदल छरपस्ट छन्
उड्दैनन् परेवाहरू आकाशमा,
युद्धको शिविर भैसकेका एकेक घरहरू र
छापामारमा परिणत प्रत्येक नागरिक बाँकी छन्,
मसानघाट भएको घर र चिहान भएका स्कूल बाँकी छन्
…………………………………
हेरिरहेको छु म, हेरिरहेका छौँ हामी मूक दर्शक
नागरिकहरू, श्रमिक र गरीब किसानहरू,
शिक्षक, विद्यार्थी र सबै किशोर–किशोरीहरू
अब के बाँकी रह्यो त ? (१४१–४२)
यसरी राष्ट्रिय समस्याले व्यथित भएका समयमा काइँला सम्झिन्छन् युगकवि सिद्धिचरणलाई र भन्छन् :
सांस्कृतिक जागरणको गीत गाउने तिमी एक्लो वृहस्पतिजस्ता कवि
जन्मँदा बोलेको भाषाको लागि यातना र जेल सहने कवि (१६४)
यस्ता कविले चेतना जगाएको यो समाजमा
बगेका रगतले लिपेको घरगाउँ र सहादतले साटेको उपलब्धि
सङ्घर्ष र बलिदानले ल्याएको परिवर्तन
तर खोक्रो, सतहमा मात्र सीमित किन हुन पुग्दछ ?
आदर्श हाम्रा नेतृत्व किन दिग्भ्रमित र
भ्रष्टमा रुपान्तरित हुन पुग्छ, हे युगकवि ? (१६३)
काइँलाका युगकविलाई थप प्रश्न छन् :
हे युगकवि, तिमीसँग पैसा थिएन र ?
उर्वशीझैँ तिम्रा छोरीहरू अरब पुगेर
बलात्कृत हुँदै खाली हात फर्किए घर !
छोराहरू विदेश पुगेर ठगिँदै रित्ता हात फर्किए घर !
कतिको लास सडेको मात्र फर्कियो बाकसभित्र
तर धेरजसो देशभित्र नै लुटिए, चुसिए, ठगिए !
अझ कति आन्दोलन र क्रान्तिदेखि
वाक्कव्याक्क भएर भाग्दैछन् अरबको मरुभूमितिर । (१६५–६६)
कहिलेकाहीँ त “दलको दलदलबाट निर्दलको भासभित्र” देश पस्ला कि भन्ने चिन्तासहित कवि लेख्छन् :
कि सुदूरबाट नियन्त्रकले हाम्रा नेतृत्व र बुद्धिजीवीको
मन र मस्तिष्कबाट सदाका लागि डिलिट गरिदियो ?
न कतै न कहिले
पहुँच पाउने भए निरीहले, हरिपले, अबलाले, सीमान्तकृतले
न कहिले तिनको पहिचान हुने भो कायम इतिहासमा …
अभिशप्त छ मङ्गलमान केवल मङ्गलमान हुन
सदालाई ? कि कुन कालतक ?
मङ्गलमान मङ्गलमान मङ्गलमान मङ्गलमान ! (१६७)
यो नेपाली नागरिकहरूको तात्कालिक निराशालाई कविको कलमले निकाश दिएको मात्र हो । अन्तर्हृदयमा त कवि यी समस्याका समाधान हुने कुरामा दृढ निश्चित भेटिन्छन् । संसारका सारा विकृति, विग्रह र विपन्यासको चित्रणपछि टि. एस. इलियटले द वैस्ट ल्याण्डमा समाधानको सार्वकालिक उपाय दिएजसरी नै यी सारा विकृति र समस्याबाट यो राष्ट्रले छुटकारा पाउने सम्भावना र त्यसको बाटो दुवै देखाउँछन् काइँला । व्यक्तिगत स्वार्थ र अधिकार प्राप्तिको लडाइँमा सामुहिक जिम्मेवारी र कर्तव्यनिर्वाहको बोध मिसाएपछि यो देश डढाउन उठेको डढेलोलाई सहअस्तित्वको स्वच्छ पानीले निभाएर यस उर्बर भूमिलाई जस्तोसुकै रचनाकालागि तयार पार्न र सिञ्चित गर्न सकिन्छ; त्यसका लागि हामीले नै अहिले नै अभियान चलाइहाल्नुपर्छ भन्ने भावका साथ कविको आव्हान छ :
पानी … पानी … पानी
वाग्मती लहरले उठेर बर्सिदेऊ …
पानी … पानी … पानी …
चौतर्फी जलनले देश प्याकप्याक भएको बेला सहअस्तित्व, समावेशिता र सहकार्यका मानवीय माध्यमबाट व्यक्तिगत र समुहगत स्वार्थभन्दा माथि उठेर समस्याको समाधान गर्न हामी सक्षम छौँ भन्ने विश्वासको अभिव्यक्ति हो यो । यस विषम परिस्थितिको चित्रण गर्छन् कवि समाधान बोल्नुअघि :
सिङ्गो देश आगोको भेलमा जलिरहेछ जिउँदै
आगो मनबाट लाग्यो कि तनबाट ?
मनमा लाग्यो कि वनमा ?
लायौँ आफ्नै घरमा आगो आफैँले, उहिले कहिले ?
मैले लाएँ कि तिमीले लायौ ?
सीमा नाघेर कि को आयो तेस्रो व्यक्ति र लगायो आगो ?
खप्न सकेनौँ एकले अर्काको उपस्थिति,
अस्वीकारको ठक्करले ठक्कर दिँदै ठक्करले ठक्कर
सल्क्यो मन साँघुरो ठोक्किँदै द्वेष र हिंसाको झिल्काले
र समय र जीवनको भूगोल ढाक्यो … (१५४)
यो सबै नेपालीहरूको मात्र बुद्धिले भएको होइन; उनीहरूलाई बेफ्वाँकमा बहादुर जाति भन्दै सुर्याउनेहरूको खेल हो यो भन्ने कविको निष्कर्ष छ :
हाम्रो शब्द र स्वरहरू खोसेर
विगुलको चर्को धुनमा
अपहरित चेतनाको टाउकोमाथि बुटले कुल्चँदै
को आएर हाम्रो बुद्धिमा कवाज खेल्दैछ ? (१५५)
यस परिस्थितिलाई यसै रुपमा रहिरहन दिने हो भने हाम्रो राष्ट्रिय अस्तित्वको यात्रा लामो नहुनसक्छ भन्ने गुढ तर्कसहित कवि नेपाली नागरिकहरूलाई सचेत पार्न खोज्दछन् :
आह ! … जल्दै गरेका पखेटाले उडेका पन्छीहरू
र तिनको उडान … कतिन्जेल र कहाँसम्म ?
यस्तै हो भने त
सायद, मेरो देश अब अन्त कतै छ !
सायद, मेरो देश कुनै देशभित्र कतै छ !
सायद, मेरो देश अब अन्त कतै छैन ! (१५६)
विद्रोह र निरङ्कुश दमनले मात्र देश बन्छ भन्ने भुत चढेकाहरूलाई कविको प्रश्न छ :
लाग्थ्यो मेरो हत्याले तिम्रो आयु थपिनेछ
तर तिमी मसँग नै किन मर्दैछौ ?
लाग्थ्यो बन्दुक बोकेर म सुरक्षित हुनेछु
तर भयभीत अझ तिमीसँगै बढी किन हुन्छु ? (१५७)
यसै प्रसङ्गमा कवि नेपालको सुन्दर विगत सम्झाउँछन् :
हो, अघि यसरी डढेको थिएन मेरो देश,
शुभ्र र शान्त थियो मेरो देश ।
फूल फुल्थे सुगन्धमय
बतास चल्थ्यो शीतलशीतल स्वास्थ्यबर्द्धक
पन्छीहरू स्वतन्त्र उड्थे आकाशमा सीमाहीन
आफ्नै बोली बोलेर
र गीत गाएर आआफ्नै,
नदीमा प्रेम बहन्थ्यो,
वाग्मतीमा पानी,
सद्भावको हरियालीले जीवन हरियो …बाच्दथ्यौँ हामीहरू । (१५७)
यस्तै परिस्थितिको पुनर्स्थापना गर्न सबै नेपालीले एकपटक आफैँलाई गर्नुपर्ने प्रश्नहरूको फेहरिस्त दिन्छन् कवि अगाडि :
किन खप्न सकेनौँ एकले अर्काको उपस्थिति …
के हामी एकै घरभित्र अँटाउँदैनथ्यौँ ?
ऊ ऊ नै भएर
तिमी तिमी नै भएर
आआफ्नै बोली बोलेर …
जसरी भिन्न रङका फूलहरू भिन्न वासना छरेर
फुल्दछन् फूलबारीमा फूल भएर फुलेर ?
र फूलबारी सम्पूर्णले हुन्छ सौन्दर्यमय फूलल भएर फुलेर ? (१५८)
यसरी कवि समावेशिता र सहअस्तित्वको अमृतजलको आवश्यकता औल्याउँदै अगाडि लेख्छन् :
पानी … पानी … पानी
वाग्मती लहरले उठेर बर्सिदेऊ …
विष्णुमती लहरले उठेर बर्सिदेऊ …
सप्तगण्डकी लहरले उठेर बर्सिदेऊ …
सप्तकोशी लहरले उठेर बर्सिदेऊ …
पानी … पानी … पानी … पानी …
सौभाग्यवस अचेल नेपालको मूलधारको तर्क यही बनेको छ । प्रयासहरू जारी छन् । तर संयम, सद्भाव र सद्विचारको विस्तार गर्न सबैले लागिपर्नु परेको छ यस देशको अस्तित्व–पहिचान रक्षामा निमित्त ।
निराशाका बीच मुक्ति प्राप्तिको दृढ विश्वास
सबै खालका पहिचानको असली निर्माण नभएकाले कवि मनमस्तिष्क विक्षिप्तजस्तै छ; तर छ असबल । यस स्थितिको अभिव्यक्ति गर्छन् तलका हरफले :
आङभरि सल्बलाएर चिलाउँछन् विद्रोह र युद्धहरू
चुपचाप ।
विद्रोह केवल विरोध धूवाँभित्र सिग्रेटले खोक्छ
चुपचाप । (५१)
र “जीउभरि अर्थ र आदर्शले टोक्छन्” (५३) जुम्राले जसरी । तर पनि कवि निराशाबाट मुुक्तिको सम्भावना देख्छन् : “आजकल सपनामा सधैँ म पर्वत चढिरहेको हुन्छु !” (७७) । “मेरो कुम्भकर्णको काँधमाथि जिन्दगीको लास बोकेको” (७८) नै भएपनि
स्वागत छ … पर्वतारोहीलाई,
कलिला–कलिला पैतालालाई,
प्रत्येक जिन्दगीलाई !
अब प्रत्येक मान्छेले शुरु गरुन्
आ–आफ्नो यात्रा फेरि यहाँबाट,
यस फाटकबाट ! (७९)
अहिलेसम्मको इतिहास र हविगतबाट पाठ सिकेर अबको मान्छेले मानवीय पहिचान बनाउन जरुरी छ, सक्छ र सक्नैपर्छ भन्ने कविको दलिल पनि पाइन्छ यी हरफमा । कविको विश्वास छ कि नायकहरू थिए, छन् र जन्मिने छन् फेरि पनि । पहिलेकाले प्रयास गरे, अहिलेकाले गरिरहेका छन्, र पछि आउनेले पनि गरिरहनेछन् सर्वसमानताको अवस्थाको प्राप्तिको लागि र राजनीतिक भाषामा भन्दा समाजवाद वा साम्यवादको प्राप्तिमा मावन जगतलाई पुर्याउन :
… त्यो उत्तरको ध्रुवतारा …
जसलाई सङ्केत पारेर समुद्रमा हामी आँखा टेक्दथ्यौँ … (८१)
नेहरूको प्रसङ्गमा लेखिएका यी हरफले सङ्केत गरेजस्तै त्यस्ता नायक र तिनले कल्पना गरी अघि बढेको बाटोको अन्तिम गन्तब्यमा पुग्नका लागि प्रत्येक मान्छेले आँखामा एकएक ज्योति बोकेर अगाडि हेर्न जरुरी छ :
अनि यसपल्ट हिमाल जत्रो मुठीले
क्षितिजको गहबाट कचेराको कुइरो पुछेर
मसित हेरिदेऊ … प्रथमपल्ट
आँखाले भ्याउन्जेलसम्म
हामी हाम्रो चारैतिर
विजयको निम्ति युद्धभूमि र
जिन्दगीका निम्ति उज्यालै उज्यालो मात्र देख्दछौँ ! (९०)
कवि थप सचेत गराउँदछन् यो दुनियाँलाई :
यति ध्यान देऊ …
मान्छे–मान्छेमा बार हालेर
उठ्न नपाऊन् ती रेखामाथि बर्लिनका पर्खाल ! (१२७)
काइँलाको अटल विश्वास देखिन्छ मान्छेको परिवर्तनकामी र जीवनवादी शक्तिमाथि :
कहाँ सकियो मानिस कुरुक्षेत्रको युद्धपछि पनि ?
अझै लेख्दाछन् लामबन्द निर्भय स्रष्टा, साधक र कविहरू,
के सधैँलाई जीवनमा कर्फ्यू लाग्न सक्छ ?
र कलममा पूर्णविराम ? (१४२–४३)
कविलाई विश्वास भएको देखिन्छ कि यी सबै प्रश्नका उत्तर ‘होइन’ र ‘छैन’ नै आउनेछन् । र मानिसको सकारात्मक क्षमताले यो संसारमा समतामूलक समाजको स्थापना गरेरै छाड्ने छ । त्यसैले त घोर अन्याय, निराशा र आक्रोशका बीचमा पनि काइँलाले आफ्नो कलमलाई भुत्ते हुन दिएनन् र कविताकर्मकै माध्यमले समाज परिवर्तनका लागि आवश्यक चेतना र भावना निर्माणमा योगदान दिइरहे ।
० ० ० ०
निष्कर्ष
काइँलाका कविताको विवेचना गर्दै इन्द्रबहादुर राईले लेखेका छन् : “व्यक्तिक, सामाजिक, मानवीय स्थितिलाई विवेचनात्मक वैचारिकताले चिनेर लेख्नु आयामिक लेखनको प्रारम्भ छ” (१२) र “काइँलाको कविता लेखनमा उहाँलाई पुरोगामी एक अतीव साहसिक र प्रवीण प्रयोगी पाउँछौँ” (३०) । पहिचान सम्बद्ध विषयलाई केन्द्रमा राखेर हेर्दा पनि काइँलाका कवितामाथि राईले भनेका कुरा सही पाइन्छन् ।
नेपालमा वि. सं. २००७ देखि २०४६ सम्म नेपाल राष्ट्रको विश्व पहिचानको पक्षमा काम गरियो । आधुनिक–गणतन्त्रात्मक भारतले आफ्ना वरिपरिका देशहरूलाई अजिङ्गरले जिउँदा बाख्रा निलेजस्तो निल्न थालेपछि र हिन्दी भाषाको माध्यमले भाषिक, सांस्कृतिक र राजनैतिक प्रभावको विस्तार गरेर नेपाललाई पनि भारतको अङ्ग सोसरह व्यवहार गर्न थालेपछि नेपाललाई विश्व मानचित्रमा आफ्नो भौगोलिक, सांस्कृतिक, भाषिक, साहित्यिक लगायतका पहिचानको निर्माण र जगेर्ना गर्ने चुनौती आइपरेको थियो ।
त्यसैले २००७–२०४६को नेपाली राजनीति, समाज, संस्कृति र साहित्यको मूल ध्येय नै नेपाल र नेपालीको पहिचानको निर्माण भारतको पहिचानभन्दा फरक र कमसेकम समान स्तरमा गर्नु थियो । अहिले पनि नेपाल र नेपालीका लागि त्यो चुनौती काफी बाँकी छ, पहिलेको स्तरमा नभए पनि । तर कमसेकम नेपाल राष्ट्र नै नरहने पो हो कि भन्ने खतराचाहिँ टरेको छ । त्यही भएर २०४६मा प्रजातन्त्रको पुनर्स्थापना भएपछि नेपालभित्रकै आन्तरिक पहिचानहरू बीचको समताका आवाज घनिभूत भए । प्रजातन्त्रभित्र रहेको स्वतन्त्रतालाई प्रयोग गरेर यो सम्भव पनि हुन गयो । यी सबै अभियानमा काइँलाका कविताको विशेष योगदान रह्यो ।
गणतन्त्रकाल (२०६३पछि)मा मुख्यतः सीमान्तकृतहरूको पहिचानको मूलधारीकरणको अभियानले मूर्तरूप लिँदै गएकाले आजीवन कर्म र व्यवहारमा नै लोकतन्त्रवादी रहेका काइँलाले पनि त्यस पक्षमा कलम चलाएका छन् । नेपालका आदिवासी जनजातिलाई अन्य जातिभन्दा फरक र समान देखाउने यो अभियानलाई पनि काइँलाले मानवीय पहिचान तथा राष्ट्रिय पहिचान प्राप्तिकै जस्तो यथास्थिति र बाँझोपन विरुद्धको विद्रोहको रूपमा अगाडि बढाउन आवश्यक देखेका छन् भन्ने उनका कविताले प्रस्ट पार्दछन् । उनको समग्र आव्हान छ :
यो विद्रोहको उत्सव (१२१)
नाचौँ–नाचौँ … अनस्तित्वका विरुद्ध ! (११७)
नाचौँ–नाचौँ … आफैँभित्र पनि निर्वासनका विरुद्ध ! (११८)
कविको विश्वास छ, यस्तो जबरजस्त नाचको परिणाम स्वरुप :
शून्यको खपटा फुटाएर
चियाओस् चुच्चो … अस्तित्वले ! (११९)
यसरी हेर्दा काइँलाको कविता यात्राले २०२०(१९६३) मा उनले लिएको साहित्यको माध्यमले मानवीय, राष्ट्रिय र समतामूलक समाजको स्थापनामा योगदान दिने सङ्कल्पको लगातार विस्तार लियो । आधुनिकतावादी लेखनले सम्बोधन गर्ने उच्च बौद्धिक पाठक वर्गको घेरा तोडेर नेपाली भाषा बुझ्ने सबै कविताका पाठक बन्न सक्छन् भन्ने समकालीन कविताको मान्यतामा कवि काइँला आइपुग्दा उनी सरल, अझ बढी संवेदनशील र जातीय पहिचानका थप पक्षधर बनेका पाइन्छन् । नेपाली जाति र जनजाति (नेपाली जातिकै एक अभिन्न रङ) दुवैको पहिचानका पक्षमा पछिल्लो समयमा उनको संवेदना थप स्पष्ट भएका काइँलाले यी दुबैलाई मानवीय पहिचानको अभिन्न अङ्गका रूपमा लिएको उनका कविताको गम्भीर पठनले देखाउँछ ।
यस लेखमा उल्लेख गरिएका काइँलाका कविताका प्रत्येक हरफलाई विस्तृत व्याख्या गर्ने हो भने एक हरफले कम्तीमा एक पृष्ठको माग गर्दछन् । यसो भनिरहँदा पहिचानको पक्षधर हौँ भनेर नारा र गालीलाई नै कविता हो भन्ठानी कागज, मसी, समय र श्रमको दुरुपयोग गरिरहेका धेरैजनाका सिङ्गै पुस्तकको व्याख्यामा पनि तीन अनुच्छेद पुर्याउन समालोचकहरूलाई गाह्रो परिरहेको तथ्य झल्याँस्स मस्तिष्कमा आउँछ ।
काइँलाले २०७०को दशकको शुरुतिरबाटै कविता रचना गर्न छाडिसकेकाले उनकै तहको पहिचानवादी कविता सिर्जनाको खडेरी छ वर्तमान नेपाली साहित्यमा । कामना छ, उनीपछिका पहिचानवादी कविहरू काइँलाले शुरु गरेको पहिचान साहित्यको तीव्र उडानमा सजिलै झरिजाने प्वाँख मात्र नबनुन् । पहिचानको पक्षमा काम गर्ने समुदायले पनि तिनै झरेका प्वाँख बटुलेर तिनको श्रोत (काइँला–चरो)लाई बिर्सिएर ती प्वाँख नै सिङ्गै चरो भएको भ्रममा नपरुन् ।
समग्रमा काइँलाको कविताको नेपाली साहित्यका सबै विधामा लेखिने पहिचानवादी लेखनमा कस्तो प्रभाव छ भन्ने थप अध्ययन गरेर नेपाली कवितामा मानवीय, नेपाली जातीय (राष्ट्रिय) तथा आन्तरिक जातीय पहिचानका सिर्जनाको बढोत्तरी गर्न हामी सबैको प्रयास रहनु आवश्यक भएको छ यस समय ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।