वरिष्ठ साहित्यकार सदानन्द अभागीज्यूसँग भेट नभएको पनि धेरै भएको थियो । जागिरे परिबन्धमा बाँधिएर दुर्गमतिर डोरिन परेपछि घर आइरहन मिल्ने कुरै भएन । घरमा आइहाले पनि बिरामी बुवा आमासँग दुईचार दिन सँगै बसेर फर्किहाल्नु पर्दथ्यो । लामो समयपछि अर्थात् २०७९ साल असोजको तेस्रो सातातिर बल्ल सदानन्दज्यूसँग भेट भयो । आज उहाँसँग भेट भए पनि बुवा बितेर किरिया बसेको समय पर्‌यो । बुवाको सम्झनामा बर्बरी आँसु झरिरहने भएकोले भेट्न आउने आफन्तसँग राम्ररी खुलेर कुरा गर्न सकिनँ मैले । `अन्तिम समयमा सँगै रहनु है !´ भन्ने बुवाको एउटा सामान्य मनोकाङ्क्षा समेत पूरा गर्न नसकेकोले होला बुवालाई सम्झने बित्तिकै छातीमा भक्कानो परिहाल्दथ्यो ।

मेरो त्यही मनोदशा बुझेर सदानन्दज्यूले- `एउटा किताब ल्याइदिएको थिएँ, छोरीलाई राख्न दिएको छु है !´ भनेर छिटै निस्कनुभयो । किरिया कर्म सकिएपछि मैले किताब खोजेँ, भेटिएन । लामो समयपछि घर आउँदा बल्ल भेटियो छोरीले सुरक्षित दराजमा राखिदिएको त्यही किताब- सदानन्दको जीवन, कर्म र व्यक्तित्व ।

राम ज्ञवाली

राम ज्ञवाली

साहित्यकार एवं पत्रकार राम ज्ञवालीले तयार गर्नुभएको अनुसन्धानात्मक समालोचना कृति रहेछ । एम.ए., एम.एड. (नेपाली) शैक्षिक उपाधि हासिल गरी हाल राम माध्यमिक विद्यालय, राम्दी पाल्पामा शिक्षण गरिरहनुभएका ज्ञवालीज्यूको जन्मस्थान पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका, वडा नं.४, नारायणथोक (भैरवस्थान) हो । ज्ञवालीज्यूले प्रस्तुत कृतिका अलावा जीवन, सोच र समय (निबन्ध सङ्ग्रह), २०७४, पाल्पामा लेखन र सिर्जना (अनुसन्धानात्मक कृति), २०७८ समेत प्रकाशित गरिसक्नुभएको छ ।

२०६२ सालमा रगत नबगाऊ कविता सिर्जना गरी साहित्यमा उदाउनुभएको राम ज्ञवालीज्यू रजस्थल ज्याग्दीखोलाको तरङ्ग, गाउँले देउराली, उत्तरदायित्व, नयाँ भावना, परेवा आदि पत्रपत्रिकामा लेखरचना प्रकाशित गरी पत्रकारिता, साहित्य र अनुसन्धानात्मक लेखन कार्यमा निरन्तर लागिरहनुभएका हुन् ।

ज्ञवालीज्यूको यस स्तुत्य कार्यको प्रशंसा गर्दै प्रस्तुत कृति र साहित्यकार सदानन्द अभागीका बारेमा संक्षिप्त चिनारी गराउन केही कोर्ने जमर्को गर्दैछु ।

प्रस्तुत कृति बहुप्रतिभाशाली साहित्यकार सदानन्द अभागीको पूर्ण कदको तस्बिर रहेछ । यसमा उहाँको जीवनका समग्र पाटालाई ९ अध्याय, ३५०⁺४२ पृष्ठमा समेटिएको छ । पहिलो अध्यायमा उहाँको जीवनवृत्त अन्तर्गत बाल्यकाल, शिक्षादीक्षा, युवावस्था, वैवाहिक अवस्था, बसाइँसराइँ, जागिर, साहित्यिक कार्य, सम्मान, पुरस्कार आदि बारे चर्चा गरिएको छ । दोस्रो अध्यायमा जीवन, कर्म र सदानन्द शीर्षकमा विश्लेषण गरिएको छ । तेस्रो अध्यायमा उहाँका महाकवि, आख्यानकार, गजलकार, मुक्तककार, समालोचक आदि विभिन्न व्यक्तित्वका बारेमा परिचर्चा गरिएको छ । उहाँले माटो विज्ञ, प्रशासक, समाजसेवी, शिक्षक, कार्यक्रम प्रस्तोता आदि भूमिका निर्वाह गरिसक्नुभएको विषयलाई समेत यस अध्यायमा समेटिएको छ ।

चौथो अध्यायमा उहाँका साहित्यिक कृतिहरूका बारेमा चिनारी राखिएको छ । पाँचौँ अध्यायमा कृतिभित्रका माननीय अभिव्यक्ति, सार, स्वरूप र लेखकीय प्रवृत्तिका बारेमा उल्लेख गरिएको छ । छैठौँ अध्यायमा उहाँसँग लिइएका २ वटा अन्तर्वार्ता समावेश गरिएको छ । जसमा नयाँ भावना राष्ट्रिय साप्ताहिकका लागि लिइएको अन्तर्वार्ता र प्रस्तुत कृतिका कृतिकार राम ज्ञवालीले लिनुभएको अन्तर्वार्ता रहेका छन् ।

सातौँ अध्यायमा साहित्यकार, कलाकार, समीक्षक, सहकर्मी, परिवारजन, ज्योतिषी आदिका दृष्टिमा उहाँको जीवन, कर्म र व्यक्तित्वका सम्बन्धमा राखिएका धारणाहरू प्रस्तुत गरिएको छ । आठौँ अध्यायमा उहाँको जीवन, कर्म र व्यक्तित्वको सामञ्जस्य एवं प्रेरणाका बारेमा विवेचना गरिएको छ ।

सदानन्दको जीवन, कर्म र व्यक्तित्व

सदानन्दको जीवन, कर्म र व्यक्तित्व

त्यसै गरी नवौँ अध्यायमा उपसंहार र निष्कर्ष प्रस्तुत गर्दै यस समालोचना कृतिका लेखक राम ज्ञवालीज्यूले साहित्यकार अभागीको समाज र राष्ट्रप्रति निरन्तर योगदान रहिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।

सम्बत् २००३ साल साउन १ गते पर्वत जिल्लाको साबिक शंकर पोखरी गाउँ विकास समिति, हाल फलेवास नगरपालिका, वडा नं.३, नुवारमा माता नन्दकली र पिता कलाधरका कोखबाट उहाँको जन्म भएको हो । उहाँको न्वारनको नाम खेमराज रहे तापनि सदानन्द नामबाट परिचित हुनुभयो । इन्जिनियर बन्ने आफ्नो चाहना पूरा नहुने देखेर आफूलाई `अभागी´ लेख्न थालेका उहाँ साहित्यिक लेखनमा सदानन्द अभागी नामबाट र कृषि विज्ञान सम्बन्धी लेख रचनाहरूमा सदानन्द जैसीका नामबाट प्रख्यात हुनुहुन्छ ।

यस कृतिको भूमिका लेखनका क्रममा प्रा.डा. नारायणप्रसाद खनाल लेख्नुहुन्छ, “बाध्यतावश, स्वेच्छाले वा यथार्थताले केले हो आनुवंशिक थर समेत नदेखिने गरी आफैले अभागी नाम जुराए तापनि अभागी शब्दको अर्थको तात्पर्यका बलले यति धेरै परिश्रम साधना गर्नुभयो कि उहाँका क्रियाकलापबाटै अभागीपन दबेर रह्यो ।”

उपनाम अभागी भए पनि कर्म, लेखन लगायत सबै कुरामा आफू भाग्यमानी रहेको कुरा सदानन्दज्यूले स्विकार्नुहुन्छ । सरकारी जागिरे भएर पाल्पामा पहिलो पाइलो टेकेको र सोही ठाउँमा आफ्ना सन्तान जन्मेर बाँच्ने क्रम चलेकोले केही समय पाल्पाली भनेर समेत चिनिँदो रहेछ उहाँलाई । तेल कम्पनीमा काम गर्ने आफ्ना बुवासँग भारतको आसाम राज्यको डिगबोईमा जानुभएकोले उहाँको स्कुले जीवन त्यतै बित्यो ।

नेपाल आएपछि नारायण मा.वि. कुश्मा र महेन्द्र शिखरी मा.वि.मा शिक्षण गर्नुभयो । उहाँले बि.एस्सी. (एजी) शैक्षिक योग्यता हासिल गर्नुभएको छ । २०२७ सालमा जे.टी.ए. पदबाट निजामती सेवामा प्रवेश गरी २०५२ सालमा राजपत्राङ्कित द्वितीय श्रेणीको माटो विज्ञ र २०६१ सालमा प्रमुख माटो विज्ञ पदमा पुगी २०६१ साल चैत्र १ गते निजामती सेवाबाट सेवा निवृत्त हुनुभयो । सिर्जनशील कर्ममा डट्नेहरू कहिल्यै निवृत्त हुँदैनन्, यस यथार्थलाई सत्यसावित गर्दै साहित्य र समाज सेवामा सक्रिय रहँदै आउनुभएको छ उहाँ । महाकवि लक्ष्मीप्रसाद देवकोटा र शेक्सपियरलाई प्रिय साहित्यकार मान्ने उहाँ लक्ष्मी स्मृति साहित्य समाजका संस्थापकदेखि हालसम्मका अध्यक्ष, विभिन्न साहित्यिक संस्थाका आजीवन सदस्य र सल्लाहकार समेत हुनुहुन्छ ।

भारतको डिगबोईमा रहँदा विद्यालय गुरु हरिभक्त कटुवालका प्रेरणाले वि.सं.२०२०/०२१ सालतिर बनारसबाट प्रकाशित हुने पत्रिकामा आमा कविता प्रकाशन गरी साहित्यिक फाँटमा उदाउनुभएको हो सदानन्दज्यू । उहाँले साहित्यका विविध विधामा कृति प्रकाशित गर्नुभएको छ ।

२०५७ सालमा आफ्नै व्यथा, कविता सङ्ग्रहबाट कृति प्रकाशन थालेका उहाँका अन्य काव्य तथा कविता सङ्ग्रहमा बुढो जवानी (कविता सङ्ग्रह), २०५८, जीवनलीला (खण्डकाव्य), २०५८, कोपिला (लघुकाव्य), २०५९, अग्निज्वाला (महाकाव्य), २०५९, तीन युग एक कथा (महाकाव्य), २०६०, माटो र बिरुवाले भोक लाग्यो भन्छन् (कृषि काव्य), २०६१, मोहनीको मीठो म्याइँ (कविता सङ्ग्रह), २०६२ र सिंहवाहिनी (महाकाव्य), २०७३ रहेका छन् ।

उहाँका आख्यानात्मक कृतिहरूमा पश्चातापको आँसु (कथा सङ्ग्रह), २०५८, जीवनलीला (उपन्यास), २०६०, नियति (उपन्यास), २०६१, तन्नेरी हजुरबा (उपन्यास), २०६३, परिवर्तन (कथा सङ्ग्रह), २०६३, भुटानी शरणार्थीको कथाव्यथा (कथा सङ्ग्रह), २०६३, यात्री (उपन्यास), २०६८ र बालुवाको घर (कथा सङ्ग्रह), २०६९ रहेका छन् । उहाँका गजल कृतिहरूमा समभोग समाधि, २०६५, बुढौतीका रहरहरू, २०६६, अभागीका गजलहरू, २०६८ र अभागीको प्रेमविहारको गजल षष्टामृत, २०७० रहेका छन् । मुक्तक सङ्ग्रहमा अभागीका मुक्तकहरू, २०६८  र अभागीका मुक्तकहरू, २०७४ रहेका छन् ।

सदानन्द अभागी

सदानन्द अभागी

समालोचनात्मक कृतिहरूमा सृष्टिमा अभागीको दृष्टि, २०६९, सृष्टिमा अभागीको दृष्टि, २०७४, कसैका सृष्टिहरूमा अभागीको दृष्टि, २०७४, केही सृष्टिहरूमा अभागीको सिंहावलोकन, २०७४, युसुफमियाँ पाल्पालीका गजल दृष्टि, २०७७ र गंगा लिगल सृष्टि दृष्टि, २०७७ रहेका छन् । काठमाडौँदेखि देहरादुनसम्म (नियात्रा सङ्ग्रह), २०६० र म र मेराहरू (आत्मवृत्तान्त), २०६० प्रकाशित भएका छन् ।

त्यसै गरी कृषि सम्बन्धी वैज्ञानिक कृतिहरूमा विभिन्न बालीमा मलको आवश्यकता र प्रयोग विधि, २०४३, प्राङ्गारिक मल र सूक्ष्म तत्त्वको अध्ययन प्रतिवेदन, २०५६, एकीकृत खाद्यतत्व व्यवस्थापन कार्यपुस्तिका, २०५८, दिगो माटो व्यवस्थापन विविध पक्षहरू, २०६१, क्षतिग्रस्त कृषिभूमिको व्यवस्थापन, २०७० आदि कृतिहरू रहेका छन् । शुरुमा आफ्नो पेशासँग सम्बन्धित कृषि विषयमा लेखन प्रारम्भ गरी पछि साहित्य सिर्जना तर्फ लागेका उहाँका ३८ वटा साहित्यिक कृति सहित ६ दर्जन जति कृतिहरू प्रकाशित भएका छन् । विभिन्न छापा र अनलाइन पत्रपत्रिकाहरूमा समेत साहित्य र कृषि सम्बन्धी फुटकर लेख रचनाहरू प्रकाशित भइरहेका छन् । उहाँले नेपाल टेलिभिजन र रेडियो नेपालबाट धेरै कृषि कार्यक्रमहरू प्रसारण एवं सञ्चालन गर्नुभएको छ । मुलुकको माटो, समाज र साहित्यलाई मूल आधार बनाएर क्रियाशील रहनुभएका उहाँले गोर्खा दक्षिणबाहु चौथा, त्रिमूर्ति पुरस्कार लगायत विभिन्न संघ संस्थाबाट करिब ३ दर्जन साहित्यिक पुरस्कार र सम्मानहरू पाउनुभएको छ ।

उहाँका कृतिका विषयवस्तुको सम्बन्धमा पनि संक्षेपमा चर्चा गरौँ । जीवनलीला, खण्डकाव्यमा मुख्यपात्र लीलालाई मोती नामक दलालले बम्बई पुर्‌याए पनि पछि लीलाको जीवनसँग भेट हुन गएको र मोती जेल चलान भएको कथानक रहेको छ । तीन युग एक कथा, महाकाव्यमा मधुसुदन बाजेका सन्तान यज्ञधर, गजाधरहरू जीवन निर्वाहका लागि मुगलान पसेको, त्यहाँ दाउरा बेचेर प्राण धानेको, पुर्खाको मेहनत, सङ्घर्ष, साहस, धैर्यता र आदर्शले डोरिएको परिवारमा गजाधरका छोराहरूले नेपालमै जागिर गर्न थालेको विषय उल्लेख छ ।

‘तन्नेरी हजुरबा’ उपन्यासमा चार सन्तानकी आमा भविलालकी श्रीमती मखमलीले सबै चल अचल सम्पत्ति लिएर उसकै घरको हली झिल्केसँग भागी मधेश झरेको, उनीहरूको घरसंसार राम्रै चलिरहेको र झिल्के हजुरबा समेत भइसकेको अवस्थामा झिल्केले छोरीसरहकी केटी भगाएर हिँडेको, छोराले उपचार गराएपछि क्यान्सर लागेकी मखमलीले रोगको व्यथा सहन गर्न सक्ने अवस्था भए तापनि प्राणप्रिय झिल्केले आफूलाई छोडेर हिँडेको पीडा सहन नसकेर फेरि नब्युँझने गरी ढलेको आदि कथावस्तु रहेको छ । यात्री उपन्यासमा गोठालापानीबाट यात्रीको यात्रा प्रारम्भ भई काठमाडौँ, धरान, इलामसम्म पुगेर पुनः फर्केर यात्री गोठालापानी आइपुग्दाका विषयवस्तु समेटिएको छ ।

कथा सङ्ग्रहमा पनि हलीको छोरो, नरमायाको विवाह, उनी रोइदिइन् आदि (पश्चात्तापको आँसु, कथासङ्ग्रह), परिवर्तन, शान्तिमायाको अधुरो सपना, कागतीको चिया, उनी बौलाइन् आदि (परिवर्तन, कथासङ्ग्रह), रामलाल, भवानीप्रसाद खतिवडा, प्रजापति नेपाल, इन्द्रकला गौतम, होमनाथ घिमिरे आदि (भुटानी शरणार्थीका व्यथा कथा, कथासङ्ग्रह), कथाहरू समेत सामाजिक यथार्थताका परिचायक लाग्दछन् । यसरी उहाँका अधिकांश कृतिहरू सामाजिक विषयवस्तुमा केन्द्रित भई सिर्जना गरेको पाइन्छ । यस कृतिको भूमिका लेखनका क्रममा चूडामणि बन्धुले पनि भन्नुभएको छ- “पाठकहरू सदानन्दलाई सामाजिक यथार्थका अभियन्ता भन्दछन्, जसमा सुधार र विकासका सन्देश पनि अन्तर्निहित छन् ।”

उहाँको जीवन दर्शन जस्तै असल सोच, संस्कार, व्यवहार अपेक्षी छन् रचनाहरू पनि । केही कृतिका एकाध हरफ तल उल्लेख गर्न सान्दर्भिक नै होला-

हीनताबोध गर्दै जाँदा मानव जीवन मोडिँदैन

आलस्यता अङ्गालेमा सुन्दर वाग गोडिँदैन !

(अभागीको प्रेमविहारको गजल षष्टामृत)

कर्मशील रही जीवन सार्थक बनाउने दिशामा अग्रसर रहन समस्त मानव जातिलाई आव्हान गर्नुहुन्छ सदानन्दज्यू । सङ्घर्ष गर्दै प्रकाशको दैलो खोल्दा एक्लो रात फेला परेमा पनि अर्को स्वर्णिम बिहानीको खोजी गरिरहनुपर्ने र कठिन भए पनि सत्मार्गमै हिँड्नुपर्ने उहाँको अभिमत छ ।

प्रकाशको खोजी गर्दै दैलो खोल्न गएँ

दैलो खोली हेर्दाखेरी एक्लो रात पाएँ !

सत्मार्गको यात्रा गर्दा तरबारका धारमा हिँड्नुपर्छ

अमृत घडा पिउन खोज्दा विषको घडा फोर्नुपर्छ !

मूर्तिलाई पूजाकोठामा सिंगारेँ

धूप, दीप, नैवेद्य पनि जोडेँ

पूजा गर्ने बेलामा देउता नै छैनन् !

            (आफ्नै व्यथा कविता सङ्ग्रह) 

पहरे छाती र विशाल दिल भएका मान्छेहरूबाट मानवता रेटिँदैन, मारिँदैन । मान्छेको शरीर, टाउको, गिदी र स्वरूप भएर मात्र पुग्दैन । दानवका पनि उस्तै अङ्ग प्रत्यङ्ग र मुहुडा हुन सक्लान् तर दानव कहिल्यै मानव हुन सक्दैनन् । मानव हुन मान्छेमा दया, माया, विवेक र मानवता हुनै पर्छ । मान्छेले मान्छे नै भएर बाँच्नुपर्छ । स्वार्थवश दानवी वा पशुवत् व्यवहार गर्दै पाशविक जीवन जिउन हुँदैन । उहाँका कृतिहरूले मानव जातिका लागि यस्तै सन्देश सम्प्रेषण गरिरहेका छन् ।

सूर्य प्रकाश भन्दा ठूलो दिलको प्रकाश हुन्छ

दिलको प्रकाश पुञ्ज छर्ने त्यो त महान् हुन्छ !

सुन, कोइला, हिराको मूल्य एकै छैन

मानिस त मानिस नै हो दानव बन्ने हैन !

            (जीवनलीला खण्डकाव्य)

सुन्दरताबारे पनि

कुकर्मीहरू विषले भरिएका घडासरह हुन् भन्नुहुन्छ उहाँ-

सौन्दर्य सुकर्मका लागि हो । सौन्दर्य कुकर्ममा प्रयोग गरिए अमृतमा विष मिसाएसरह हुन्छ ।

(तन्नेरी हजुरबा उपन्यास)

किसानको उत्पादन र उत्पादकत्व बढाई सिर्जनशील समाज र सबल, सक्षम, स्वावलम्बी, नैतिकवान नागरिक बनाउनुपर्ने कुरामा जोड दिनुहुन्छ उहाँ । आफ्नो धराको माटो उर्वर बनाई निमुखा किसानहरूको उन्नति भएमा मात्र मुलुक समृद्ध हुने मान्यता छ उहाँको । साहित्यका माध्यमबाट आफ्नै मुलुकको माटो कोपरिरहेका हिंस्रक भोका चितुवाहरूका असली अनुहार देखाइदिएर मुलुक रक्षार्थ कदम बढाउन हरेक नेपालीलाई अग्रसर बनाउने र साहित्यको गोरेटोलाई राजमार्गमा विस्तार गर्ने ध्येयले क्रियाशील देखिनुहुन्छ उहाँ ।

स्वास्थ्य है बोट, स्वास्थ्य है खाना, खेतबाटै पाइन्छ

प्राङ्गारिक खेती प्रयोग गर्दा रसायन त्यागिन्छ !

            (माटो र बिरुवाले भोक लाग्यो भन्छन्, कृषिकाव्य)    

कृषि प्रधान देशमा हरक्षेत्रबाट कृषिको उत्थान र विकास जरुरी छ । माटो, बीउ, मल, बाली संरक्षण, प्रविधि, श्रमिक, बजार आदि उत्पादन तत्त्वलाई सन्तुलित र प्रभावकारी रूपमा प्रयोग गरी कृषि क्षेत्र र अन्ततः मुलुकको विकास गर्नुपर्छ भन्ने धारणा राख्नुहुन्छ सदानन्दज्यू । कृषि सम्बन्धी विषयलाई साहित्यमा भित्र्याउने अग्रज साहित्यकारमा पर्नुहुन्छ उहाँ । कृषि सम्बन्धी प्रशस्त लेख रचना र काव्य समेत प्रकाशित गरेका उहाँलाई सुदीप गड्तौला “नदारत” र याम कुमार कार्कीले कृषि कवि पदवीले विभूषित नै गर्नुभएको छ । २०६२ साल साउन १४ गतेको नेपाली समाचारपत्रमा कृषि कवि शीर्षकमा लेखिएको सो लेखमा भनिएको छ- “सर्वप्रथम कृषिकाव्य लेख्ने पनि उनी नै हुन् । माटो व्यवस्थापन तर्फका ठूला-साना गरी २९ वटा कृति उनले लेखिसकेका छन् । कृषि क्षेत्रका सम्पूर्ण विषयलाई साहित्यमा ढाल्नु अभागीको साहसिक कदम हो ।”

महाकाव्यकार सदानन्द अभागीको बारेमा राष्ट्रकवि माधव प्रसाद घिमिरे, गोविन्द प्रसाद पाण्डे, डा. झमकप्रसाद शर्मा, प्रा.डा. कुसुमाकर न्यौपाने, चट्याङ मास्टर डा.मेघराज ढकाल, कृष्णाकुमारी शर्मा श्रेष्ठ, मोहन दुवाल, प्रा.डा. नारायणप्रसाद खनाल लगायतका करिब एक सयभन्दा बढी साहित्यकारहरू, सहकर्मी, समीक्षक, परिवारजन आदिले धारणा राख्नुभएको छ । उहाँका बारेमा व्यक्त केही विचार यहाँ प्रस्तुत गर्नु सान्दर्भिक नै होला ।

तीन युग एक कथा, महाकाव्य र अग्निज्वाला महाकाव्यका सन्दर्भमा राष्ट्रकवि माधव प्रसाद घिमिरे भन्नुहुन्छ- सदानन्द अभागी माटोका विशेषज्ञ वैज्ञानिक पनि हुन् र मुटुका विशेषज्ञ कवि पनि हुन् । उनले भौतिक र मानसिक दुवै प्रकारको ऊर्जाको समायोजनबाट मानव जीवनलाई समृद्ध र आनन्द बनाउन चाहन्छन् ।

पूर्व सचिव गोविन्द प्रसाद पाण्डे आफ्ना सहकर्मीप्रति भन्नुहुन्छ- उहाँको प्रकाशित कृतिमध्ये माटो र बिरुवाले भोक लाग्यो भन्दछन् (कृषि काव्य) र एकीकृत खाद्य तत्त्व व्यवस्थापन कार्यपुस्तिका ज्यादै लोकप्रिय छन् । माटो विशेषज्ञ इन्द्रबहादुर ओली भन्नुहुन्छ– सदानन्द जैसीज्यू माटो परीक्षण तथा सेवा शाखामा प्रमुख भएर आएपछि माटो तथा मल व्यवस्थापन कार्यक्रम विस्तार हुन गई प्रयोगशालाहरू आधुनिक उपकरणले सुसज्जित भएका हुन् ।

डा.झमक प्रसाद शर्माको विचारमा सदानन्दज्यू आफ्नो विषयमा कमाण्ड भएको र साथीहरूसँग मिलनसार मान्छे हुनुहुन्छ । जे.टि.ए. पदमा कार्यरत रहँदा राम्रो काम गर्नुभएकोले सदानन्दज्यूले लुधियानामा बि.एस्सी. एग्रिकल्चर पढ्ने मौका पाउनुभएको भन्ने विचार राख्नुहुन्छ डा.सुदर्शनभक्त माथेमा

कपन बानेश्वरमा नियमित लेख्ने सदानन्दज्यू पाठकको मन जित्ने गरी राम्रै लेख्ने लगाव भएको साहित्यकार हुनाले म उहाँको नियमित पाठक हुँ भन्नुहुन्छ अरुण नदी खत्रीइन्द्र कुमार विकल्पको मत छ- सदानन्दज्यूको प्रयोगवादी शैली छ, मनमा लागेका कुरा मज्जाले लेख्नुहुन्छ । प्रा.डा. कुसुमाकर न्यौपानेको धारणा छ- उहाँले प्राविधिक विषयलाई साहित्यिक रङ दिएर चिनाउने काम गर्नुभएको छ । उहाँले आफूलाई इमानदार लेखकको रूपमा समेत चिनाउनुभएको छ । कृष्णाकुमारी शर्मा श्रेष्ठले छन्दोबद्ध कवितामा व्यक्त गर्नुहुन्छ-

सदा राष्ट्र सेवा छ यिनको सदीक्षा

   छ भाषा मीठो शब्द खर्चेर राम्रो

                  कसैको नजरले नदेख्ला नराम्रो !

चट्याङ मास्टर आफ्ना सहपाठीका बारेमा भन्नुहुन्छ- भारतको पञ्जाव कृषि विश्वविद्यालयमा पहिलो पटक भेट भएका मेरा सहपाठी सदानन्दज्यूलाई नेपाली साहित्यको यो अग्लाइमा देख्दा मलाई मेरो आफ्नै अस्तित्व पनि माथि उठेको अनुभूति भइरहेछ । राजनीतिले साहित्यकारलाई घोडा बनाउन सक्ने हुँदा त्यसतर्फ सचेत रहँदै समाजमा व्याप्त अन्याय, अत्याचार, हिंसा, बलात्कार विरुद्ध लेख्न उहाँलाई अनुरोध गर्नुहुन्छ दीपक सोती । डा. धनपति कोइरालाले उहाँलाई साहित्यमा मरिमेटेर लाग्ने मान्छेको रूपमा चिन्नुभएको छ । वयोवृद्ध भएर पनि अथक रूपले साहित्यमा लाग्ने उहाँको सक्रियता लोभलाग्दो रहेको ठम्याइ छ बुँद रानाको ।

मोहन दुलाल भन्नुहुन्छ- उहाँको साहित्यप्रतिको कर्मशीलता, समर्पित भावको सम्मान गरेर जनमत मासिक मार्फत एउटा विशेषाङ्क नै निकालेको छु । राजेन्द्र पहाडीका विचारमा उहाँले जसरी कलम चलाउनुभएको छ, त्यो एउटा धार पनि हो । रुद्र ज्ञवालीले निर्क्योल निकाल्नुभएको छ- उहाँ मानवताको पक्षमा कलम चलाउने साहित्यकार हो । टीका ढुङ्गेल रटन भन्नुहुन्छ- उहाँका रचना सिक्किमका पत्रपत्रिकामा प्रकाशित भइरहेका छन् ।

खिमानन्द पोखरेलको धारणा छ- उहाँको समीक्षा विधामा दख्खल रहेको छ र एकदमै भिजेर पग्लेर लेख्नुहुन्छ । केरा खेती कार्यक्रममा समाचार सङ्कलन गर्न जाँदा कान पनि नसुन्ने र पाइन्टमा बेल्ट पनि राम्ररी नकसेका माटो वैज्ञानिक (माटे बुढा) ले आफैले लेखेका साहित्यिक कृतिहरू उपहार दिँदा छक्क परेको, मध्यविन्दु पत्रिका प्रकाशन थाल्दा मोफसलको बलियो स्तम्भकार भएर काम गरेको, अझ रातारात कम्प्युटर टाइप गरेर सामग्री पेनड्राइभ वा सिडीमा बोकेर आउने गरेको तस्बिर प्रस्तुत गर्दै श्रीराम सिग्देल सुनाउनुहुन्छ- पुस्तकको विवेचना गर्न दिँदा उहाँले पुस्तकभन्दा ठूलो विवेचनात्मक पुस्तक तयार पार्नुहुन्थ्यो ।

भूपेन्द्र शर्मा भन्नुहुन्छ- लक्ष्मीस्मृति साहित्य समाजको बत्ती अविच्छिन्न रूपमा बालिरहने सदानन्दज्यूप्रति समर्पित हुँदै किताब प्रकाशन हुन लागेकोमा मलाई औधी खुसी लागेको छ । चेतन कार्की भन्नुहुन्छ- अभागी त त्यो कृतघ्न हुन्छ जसले आफू जन्मे हुर्केको माटोलाई माया गर्दैन । देशको माटोलाई माया गर्ने कृषि कविका रूपमा ख्याति आर्जन गरेका सदानन्द त ज्यादै भाग्यमानी हुनुहुन्छ ।

हरिदेवी कोइरालाले उहाँको बारेमा गीतै लेख्नुभएको छ-

कृषिको फाँटमा अक्षरको खेती सुम्पियौ जीवन

मलजल, कीट, फलफूल अनेक बीउ र बिजन

हे कवि तिम्रो कलम जाग्यो कृषक जगायौ

कृषिमा नौलो आयाम थप्यौ राष्ट्रलाई गुन लायौ !

उहाँका कृतिमा नेपाली पारिवारिक जीवन कथा र विषयवस्तु चित्रण हुने, लेखन सरल, सहज र मिठासपूर्ण भई पाठकको मन जित्ने बताउनुहुन्छ- कल्पना नेपाल आचार्य । एउटै घरधुरीमा दुईनालको छोरा-छोरी, दुई घरबारलाई सँगै राख्नसक्ने अपार माया, ममता, स्नेह र विशाल हृदयका व्यक्तिका रूपमा उहाँलाई चिन्नुहुन्छ लीला राना

छोरा जगतको विवाहको सन्दर्भमा केटी पक्षले दाइजो दिन त सकिँदैन के छ विचार भनेर सोध्दा सदानन्द अभागीज्यूले केटाकेटी दुवै पक्षबाट पचास/पचास पैसा गरी जम्मा १ रुपैयाँमा विवाह गर्ने प्रस्ताव ल्याउनुभएको प्रसङ्ग सम्झिनुहुन्छ बुहारी बिमला । आफ्नो जीवनमा व्यक्तिगत, सामाजिक, पेशागत मर्यादा बुवाबाटै सिकेको बताउनुभएको छ छोरा भेषराज रिजाल । घरपरिवारलाई भन्दा सामाजिक कामलाई जोड दिने गर्नुभएको अनुभव छ भाइ प्रेम रिजालसँग ।

नाति शिशिर रिजालले हजुरबाका बारेमा लेख्नुहुन्छ- Let me know deep down inside, How much you really care for me, richly blessed is how I feel, is having a grandfather like you. उहाँको कुण्डली विशिष्ट तहमा पर्ने र उहाँमा सिर्जनशील स्वभाव, मधुर वचनभाषी, अन्वेषक, अनुसन्धानकर्ता हुने योग परेको देखिन्छ भनी ज्योतिषद्वय प्रा. कपिल अज्ञात र राम शर्मा चापागाईंले बताउनुभएको छ । उपरोक्तानुसार साहित्यकारहरू, सहकर्मी, समीक्षक, परिवारजन आदिले राखेका धारणाबाट पनि उहाँ कर्मयोगी, सदाचारी, परोपकारी, सरल, आत्मविश्वासी, मृदुभाषी, मिलनसार आदि गुणले सम्पन्न हुनाका साथै सबैको प्रिय र असल व्यक्तित्व रहेको कुरा प्रस्ट हुन्छ ।

समाज बदल्न सक्ने सामर्थ्य हुन्छ साहित्यमा । जसका लागि साहित्य सिर्जना भएको हो तिनै पाठक वर्गले साहित्यिक कृति नपढी आवश्यक परेको विषयमा मात्र इन्टरनेट सर्च गर्ने संस्कार विकसित हुन थालेको प्रति चित्त दुखाइ छ सदानन्दज्यूको । भारतका विभिन्न ठाउँ, बर्मा, भुटान आदि देशमा नेपाली भाषीहरू नेपाली साहित्य र नेपाली संस्कृतिको उत्थानमा जुटिरहेको वर्तमान सन्दर्भमा नेपालमा त्यस्तो हुन नसकेको अझ सरकार र साहित्यिक संघ संस्थाहरू नै आफ्ना निकटकालाई मात्र स्थान दिन उद्धत रहेकोमा दुख व्यक्त गर्नुहुन्छ उहाँ । साहित्यकारले राजनीति गर्न हुँदैन तर राजनीतिले बाटो बिराएमा वा विकृत संस्कार अवलम्बन गर्न थाल्दा औँल्याइदिनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ सदानन्दज्यू । साहित्यको समृद्धिका लागि सरकार, साहित्यकार, जनता लगायत सबैको एकीकृत प्रयासको खाँचो देख्नुहुन्छ उहाँ ।

नेतृत्व क्षमता, सकारात्मक सोच, मृदुभाषी, सहयोगी, अध्ययनशील, सङ्‌घर्षशील, नैतिकतवान, इमानदार, लगनशील आदि वैयक्तिक गुणहरू उहाँका विशेषता नै हुन् । साहित्यिक कृतिहरूमा पनि पात्रहरू मार्फत समाजका कुप्रथा, कुरीति, अन्धविश्वास हटाई सभ्य समाज सिर्जना गर्न चाहनुहुन्छ उहाँ । राष्ट्र, राष्ट्रियता र देशप्रेमले ओतप्रोत छन् उहाँका रचना । मानवीय मूल्यलाई केन्द्रीय विषय मानेर मानव जातिका समस्या समाधान खातिर साहित्य सिर्जना हुनुपर्छ भन्ने उहाँको मान्यता रहेको पाइन्छ ।

आख्यानात्मक कृतिहरूमा नयाँ मानवीय मूल्यमान्यता, संस्कार र सोच विकास गर्दै पुरातन सामाजिक विकृति विसङ्गतिहरूलाई थान्को लगाउने गरी कथानक घटना, पात्र, परिवेश सिर्जना गरिएका छन् । कतिपय कथा उपन्यासमा कविका आफ्नै यथार्थ विषयवस्तु टिपिए झैँ लाग्छन् । उहाँका कविता काव्य लोकलयमा आधारित हुनाका साथै तिनमा हार्दिकता, श्रुतिमधुरता, लयात्मकता र गेयात्मकता रहेको भेटिन्छ । कृतिहरूमा प्रयुक्त शब्द र भाव  सरल र मिठासपूर्ण पाइन्छ । सङ्घर्षलाई जीवनको अभिन्नता मान्ने जीवनवादी दृष्टिकोण छ उहाँसँग ।

उदाहरणीय व्यक्तित्वको जीवनका सबै पाटामा खोजबिन गरी ग्रन्थ तयार गर्ने कुरो चानचुने हुँदै होइन । अझ यस्तो कार्य अध्ययन, अनुसन्धान, अध्यापन क्षेत्रमै लागेका अर्का धरोहरबाट सम्पादन हुनु झन् बेहद खुसीको कुरा हो । आदिकवि भानुभक्त आचार्यलाई चिनाउन युवाकवि मोतीराम भट्टको योगदान भएझैँ महाकवि सदानन्द अभागीको जीवन, कर्म र व्यक्तित्व जस्तो गहकिलो अनुसन्धानात्मक समालोचना कृति तयार पार्ने कार्यका लागि अनुसन्धाता, पत्रकार एवं साहित्यकार राम ज्ञवालीज्यू विशेष धन्यवादका पात्र हुनुहुन्छ ।

प्रस्तुत सदानन्दको जीवन, कर्म र व्यक्तित्व नामक कृति त्रिवेणी साहित्य प्रतिष्ठान, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले प्रकाशन गरेको हो भने रामचन्द्र रिजाल प्रकाशन सहयोगी रहनुभएको छ । चूडामणि बन्धु, गोविन्दराज विनोदी, प्रा.डा. नारायणप्रसाद खनाल, डा.मेघनाथ ढकाल र रामचन्द्र रिजालले भूमिका मन्तव्य लेख्नुभएको छ । प्रस्तुत ग्रन्थ प्रकाशनका सन्दर्भमा त्रिवेणी साहित्य प्रतिष्ठान, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रा.डा. नारायणप्रसाद खनालले सदानन्दज्यूसँग लिनुभएको अन्तर्वार्ता समेत समावेश गरिएको छ ।

आवरण चित्र यादवचन्द्र भुर्तेलले तयार पार्नुभएको हो भने सुसाङ्ख्यीकरण इन्दिरा रिजाल भुर्तेलले गर्नुभएको हो । २०७८ साल फागुनमा प्रथम प्रकाशन भएको प्रस्तुत कृतिको मूल्य रु.१,१११ ।– रहेको छ ।

आफ्नो धराको माटो उर्वर बनाई किसान वर्गको उन्नति गरी मुलुक समृद्ध बनाउने साथै साहित्य सेवा गरी सभ्य, सचेत, सिर्जनशील समाज निर्माण गर्ने ध्येयले रातोदिन लागिरहनुभएका महाकवि एवं कृषि कवि सदानन्द अभागीलाई साहित्यिक कार्य एवं समाज सेवाको कार्यको निरन्तरताको हार्दिक शुभकामना !

महाकवि सदानन्द अभागीको बारेमा मात्र नभई वर्तमान नेपाली साहित्य चियाउने दर्पण नै बन्न पुगेको प्रस्तुत कृतिका अनुसन्धाता राम ज्ञवालीज्यूको सत्प्रयासलाई पनि लाख-लाख वन्दना !