दशैँअघि रीना सुब्बाद्वारा लिखित उपन्यास ‘परिवर्तित अनुहार’ उनीबाट प्राप्त भयो । त्यसको लागि लेखिकाज्यूलाई धेरै धन्यवाद ।  चाडबाडको व्यस्तता, पारिवारिक र आफ्नै अफिसको कामको व्यस्तताले छिटो पढ्न सकिएन । जति पढेँ त्यसको आधारमा यो लेख्दै छु ।

– साधारणतया हरेक लामो छोटो कहानीमा मुख्य पात्रसँगै सहपात्रहरू, बाह्य पात्रहरू र उहाँहरूबीच एक अर्कालाई पूरक तुल्याउने भूमिका खेलिएको हुन्छ । कहानीलाई फरक फरक पृष्ठभूमिमा राखेर लेखिने गरिन्छ ।  कसैले स्वयम् पात्र भएर लेख्छन्  भने कसैले तेस्रो व्यक्तिको कथा लेखिरहेका हुन्छन्  ।  रीनाले यो उपन्यासमा आफैलाई मुख्य पात्र बनाएकी छिन् र अनुभव र भोगाइमा आधारित आफ्नै कथा भन्दै गएकी छिन् जस्तो आभास भयो  ।

परिवर्तित अनुहार

परिवर्तित अनुहार

– उपन्यासमा मुख्य पात्रको नाम सुशीला हो जसले आफूलाई  ‘क्रान्ति’ उपनाम दिएकी छिन्  ।   उनी स्कुले जीवनदेखि नै कहिले हार नमान्ने र कसैमाथि दुर्व्यवहार भएको देख्न नसक्ने, जस्तै बलवान भुसतिघ्रे मानिस होस्, ऊ पीडक हो भन्ने थाहा पाएपछि उसलाई गतिलो सबक सिकाउन, पीडितका लागि न्याय दिलाउन पीडकमाथि हाकाहाकी जाइलाग्ने र आफूलाई कदापि कमजोर स्त्री नठान्ने हठी, साहसी र निर्भीक व्यक्तित्वको भूमिका निर्वाह गरेकी छिन् ।

– उपन्यासमा लेखिका स्वयम्, ‘क्रान्ति’को छद्म भेषमा प्रमुख भूमिकामा उत्रेकी भान हुन्छ  ।  जति पढ्यो उति रीनाको आत्मकथा जस्तो छ उपन्यास ।  छुट्ट्याउन सकिनँ काल्पनिक हो वा वास्तविक, तर हुनसक्छ दुवैको सम्मिश्रण होला ।  यो चाहिँ मैले शक्तिशाली पक्ष भेटेको छु यो पुस्तकमा ।

– नितान्त एक्लो जीवन बिताउने ती मुख्य पात्र क्रान्ति यौटी शिक्षिका हुन्, वर्षौंदेखि कालिम्पोङमा कार्यरत छिन् ।  आमा बाबाको निधनपश्चात् उनी स्वतन्त्र रूपमा यौटा लक्ष्य हासिल गर्न अघि बढेकी छिन् ।  भन्छिन् आमा बाबाले उनको प्रगति देख्न सक्नु भएन, उहाँहरूमा सचेतनाको कमी थियो ।  यही  कुण्ठाले उनलाई विक्षिप्त बनायो र समाजमा स्वास्नीमान्छे प्रतिको दृष्टिकोण, व्यवहार र सोचाइमा आमूल परिवर्तन ल्याउने अठोट गरेर एक्लै भएपनि मैदानमा उत्रेर त्यो लक्ष्य हासिल गर्न उद्धत छिन् ।

– मलाई लागेको छ रीनाले यौटा नयाँ शैली प्रयोग गरेकी छिन् यो उपन्यास लेखनमा ।  धेरै धेरै पात्रहरू छैनन्  कथाहरूमा, जति छन् हरेकको भूमिकाले रीनाको कथालाई बुन्दै बुन्दै गएको छ । परम्परागत प्लट र शैलीको उपन्यास होइन यो । यो  कुनै लभस्टोरी पनि होइन, न वियोगान्त छ, न सुखान्त छ । न यसमा हिरो छ न हिरोइन ।  तर जे दर्शाइएको छ त्यो  वास्तविक घटनामा आधारित उनको सङ्घर्ष, विद्रोह र ज्यानको बाजी लगाएर नारी उन्मुक्तिका लागि गरिएका अथक परिश्रमको साक्षात् दृष्याङ्कन ।

– हरेक अध्याय कुनै यात्रा, भ्रमण र त्यस दौरानमा प्रत्यक्ष देखिएका दृश्य, सुनिएका कारुणिक बयानहरू, अवलोकन गरिएका घरेलु अत्याचार र सुनिएका वेदनाहरूबाट बुनिएका छन् ।

– क्रान्ति, स्कुलको छुट्टीमा कतै बाहिर जान्छिन् ।  यात्राको क्रममा उनी धेरै ठाउँहरू पुगेकी छिन् जस्तै डुवर्सको मटेली, कोलकाता, जाधवपुर, न्यू जलपाईगुडी, सिलिगुडी, टिस्टा, दार्जिलिङ आदि । जता गए पनि उनले नारीमाथि भैरहेको अत्याचार, कुटपिट, पाशविक व्यवहार, बलात्कार देख्छिन्, प्रत्यक्षदर्शी भएर ।  आफै एक्लै पीडकहरूमाथि जाइलाग्छिन्  प्रतिकार गर्न, कुकृत्यको सजाय दिन ।  हरेक स्थानतिर, हरेक दिन जस्तो नारीहरूले सहनु परेको अपमान, दुर्व्यवहार, उत्पीडन देखेर उनको रगत उम्लिन्छ । घर समाजमाथि उनको घृणा बढेर जान्छ । आक्रामक रूपमा उनले समाज र परिवारमा परिवर्तन ल्याउन चाहे पनि आफै फेरि अबला नारी भएको पनि पाउँछिन्  र समाजले उनैलाई गिज्याउने, गाली गर्ने र अपमान गर्ने गरेको तथ्य पनि कथामा दर्शाएकी छिन् रीनाले ।

उपन्यासमा ‘सीन’हरू हुन्छन्, कुनै कारणले यौटा सीन जन्मिन्छ, र त्यही सीनले फेरि अर्को फेरि अर्को गर्दै असङ्ख्य सीनहर जन्माउँदै जान्छ, प्रत्युत्पादनको सिद्धान्तअनुसार ।  रीनाले उपन्यासमा प्रस्तुत गरेका सीनहर  कुनै काल्पनिक नभएर नितान्त यथार्थ भएको देखिन्छ । लाग्छ हलमा कुनै सिनेमा हेरिरहेका छौं, आँखा चिम्म नगरी ।  झन् पात्रहरूमाझ भएको कुराकानी (डाइलग), स्थानीय बोलचालको भाषा प्रयोगले जीवन्त बनेको छ उपन्यास । लाग्छ गाउँमा भइरहने कुटाकुट हेरिरहेको छु, नारीमाथि भै रहेको गाली गलौज र शारीरिक प्रताडना केवल मूक दर्शक बनेर हेरिरहेको छु ।  फेरि पात्र क्रान्तिले आफूलाई सम्हाल्न नसकी पीडक पुरुषमाथि जाइलागेको, रौद्र रूप धारण गरेर मरणासन्न हुने गरी उसलाई पिटेको र मुखभरिको जवाफ र तर्क पेस गरेर, सबुत देखाएर  गाउँ घर शहरमा नारी उत्पीडन विरुद्ध चेतना फैलाउन खोजेको प्रत्यक्षदर्शी पनि बनेको छु कथाभित्र भिजेर ।

पहिलो अध्यायमा प्रमुख पात्र “क्रान्ति” आफ्नी कलेजकी सहपाठी जरीनालाई भेट्न कलकत्ता पुगेकी छिन्; जसलाई उसका अब्बूले जबरजस्ती कुनै अनजान पुरुषसँग बिहा गराएर हजार माइल टाढा जाधवपुर, कलकत्तामा पठाई दिएर उनलाई आफ्नो इच्छाविपरीतको रुखो जीवन जिउन बाध्य पारिएको छ । जरीनाको चाहना थियो धेरै पढ्ने, अघि बढ्ने, तर कलिलो उमेरमा कसैको कामवासनाको दैनिक शिकार बन्न बाध्य पारियो कानुनी रूपले । बेकारी,  चरित्रहीन लोग्नेको पिँजडामा निसास्सिएर मर्न न बाँच्न भएकी जरीनाको दुर्दशाले क्रान्तिलाई भित्रैबाट हल्लाइदिएको छ ।  उनी जरीनालाई मुक्ति दिलाउन चाहन्छिन्  तर विवश पनि छिन् ।

– क्रान्ति फुर्सत भयो कि घरबाट निस्केर  कतै न कतै जान्छिन्  ।  उनले अर्की शोषित पीडित नारी भेट्छिन्  कालिम्पोङभित्रै, जसलाई उनको श्रीमान् विदेशमा हुँदा ससुराले बलात्कार गरिदिन्थ्यो, विरोध गर्दा उल्टै सासूले आफैलाई चरित्रहीनको लाञ्छना लाएर लोग्नेको कान भरी घृणा र द्वेष उमारेर छोडिदिन्छे । ती नारीलाई अन्ततः कुष्ठरोगले च्याप्छ अनि उनी फ्याकिन्छिन्  कालेबुङकै लेप्रोसी अस्पतालको शैय्यामा ।  कालान्तरमा उनको स्वास्थ्यमा सुधार आए पनि उनी फर्केर त्यो नर्कतुल्य घर जान चाहन्नन् ।

यसरी पुरुष र नारी दुवैबाट असहनीय अत्याचारका घटनाहरू सुन्दा देख्दा क्रान्तिभित्र क्रान्तिको ज्वाला दन्किन्छ । उनी नारीलाई समान अधिकार दिलाउन चाहन्छिन्, पुरुषको एकछत्र राज, हैकम र पितृ सत्ताको चरम दुरुपयोगको अन्त भएको देख्न चाहन्छिन् ।  जसरी सिद्धार्थ  गौतम सांसारिक दु:ख-कष्ट, जीवन-मृत्यु देख्दा देख्दा आजित भएर घर छोडी ज्ञानको खोजीमा बोधगयातिर लागेका थिए, त्यसरी नै आजीवन अविवाहित रहने र आफूलाई पनि पुरुष जस्तै देखाउने, चिनाउने र नारीमाथिको घृणित अत्याचारको घोर विरोध गर्ने दृढ सङ्कल्प लिएकी छिन्  क्रान्तिले ।

सुरुदेखि उपन्यासमा विभिन्न घटनाक्रमहरूमा आफूलाई अल्झाउँदै, बल्झाउँदै, एकाकी जीवनलाई मानवीय स्वतन्त्रता सम्झेर नारी उन्मुक्तिको महायज्ञमा होमिएकी क्रान्तिलाई उपन्यासको छैटौँ अध्यायमा  यौटी साथी फेला पर्छे – उषा । जो मटेली चियाबगानमा आफ्नै पिता र दाजुबाट अवहेलित भएर र चरम शारीरिक हिंसासम्मको शिकार भएर घर छोडी भाग्यको भरोसामा सिलिगुडी झरेकी हुन्छे, जसलाई क्रान्तिले संयोगवश अनि भाग्यवश फेला पारेर आफूसित लिएर आउँछिन् ।

उषा जन्मँदै फरक वर्णकी भएकीले आफ्नै पिताले उसलाई आफ्नो सन्तान मान्न अस्वीकार गर्दै उनकी आमालाई कुचरित्रकी भन्दै घोर मारपिट गर्थ्यो ।  दाजु त झन् क्रूर थियो ।  उषाको आमाको निधनपछि दाजुले जबरजस्ती अधबैँसे मानिससित बिहा गराइदिन लाग्दा ऊ घर छोडेर क्रान्तिलाई सम्झेर सिलिगुडी पुग्छे ।  क्रान्ति पहिले मटेली आउँदा नै क्रान्तिका क्रान्तिकारी विचारहरूबाट अत्यन्त प्रभावित भएकी थिई र क्रान्तिलाई मुक्तिदाता सम्झेकी थिई ।  संयोगवश त्यही दिन क्रान्तिले  सिलिगुडी हङकङ मार्केट अगाडी उषालाई उभिइरहेकी फेला पारेर सबै घटना सुनेपछि उसलाई विचल्नी हुनबाट जोगाउन आफूसित लिएर जान्छिन् ।

उनीहरू समाजले  नकारात्मक रूपले हेर्ने र व्याख्या गर्ने “समलिङ्गी” जोडी होइनन्  तर यौटै लिङ्गकी अर्थात्  दुवै जना  नारी हुन् ।  एकले अर्काको भावना बुझ्दछन्, कदर गर्दछन्, सहयोग गर्दछन् ।  क्रान्ति उच्च शिक्षित शिक्षिका हुन् भने,  उषा चियाकमानकी यौटी साधारण लेबरकी छोरी मात्र, अनपढजस्ती, तर कथामा दुई जनाको मित्रता हेर्न लायकको छ, पढ्न लायकको छ, अनि यस्तो भान हुन्छ दुवै जना एक अर्काका पूरक हुन्, अत्यन्त घनिष्ठ साथी, अनि दुवैको सोचाइमा समानता आउँदै जान्छ अनि उषाको अन्तर्मनमा पनि विरोध गर्न सक्ने शक्तिको सञ्चार हुँदै जान्छ ।  आफूलाई पानी नचल्ने निम्न जातकी स्त्री हुँ भन्ने उसको सोचाइ र हीन भावनालाई क्रान्तिले धेरै टाढा भगाइदिएकी छिन् ।

जस्तो परिस्थिति आइपरे पनि उषा अब पुनः फर्केर मटेली जान चाहँदिन । क्रान्तिसँगै जिउने उसको अभिलाषा र जिद उक्लिएर जान्छ ।  उसलाई क्रान्तिबाट धेरै सिक्नु छ, जान्नु छ र आफू पनि क्रान्तिकारी महिला मुक्तिदाता बन्नु छ । क्रान्तिलाई पनि उसको सुरक्षाको चिन्ता छ तर सम्मान उत्तिकै गरेकी छिन् उषाको विचार र सङ्कल्पलाई । कुनै जोरजबर्जस्ती गर्दिनन् ।  उषाका दाजु भाउजू एकदिन उषाको नयाँ ठेगाना पत्तो लगाएर उसलाई लिन आउँदा पनि क्रान्तिले नजानु पनि भनिनन्, जानु पनि भनिनन् ।  उषाको निर्णय सर्वोपरि थियो र उषाले क्रान्तिसँगै बस्ने निर्णय सुनाइन् ।   उपन्यासमा ‘छैटौँ’ देखि अन्तिम अध्यायसम्म क्रान्ति र उषा दुई शरीर एक ज्यान जस्तो भै प्रगाढ मित्रताको बन्धनमा कसिएको पाइन्छ ।

समग्रमा भन्नु पर्दा सत्र (१७) अध्यायमा लेखिएको यो १९१ पृष्ठको उपन्यासमा देखाइएको घटनाक्रम, र हरेक घटनाक्रमले उत्पन्न गरेको वास्तविक दृश्यहरूको वर्णन, चित्रण र कथन यति सरल भाषा र सलल बग्ने खोला जस्तो धाराप्रवाह लेखनलाई म उत्कृष्ट ठान्दछु कारण यस्तो रोचक शैलीमा लेखिएको उपन्यास यसअघि मैले पढेको थिइनँ । यौटा अध्याय सकिने बित्तिकै नरोकिई अर्को अध्याय पनि पढिहाल्ने इच्छा जागेर आउँछ ।

मलाई लाग्छ हरेक नारी, पुरुष र समाजले यो पुस्तक पढ्नु पर्छ ।  पढिसकेपछि नारीप्रति दृष्टिकोणमा सकारात्मक परिवर्तन त आउने नै छ, त्यसमाथि आजैदेखि समाजमा, घर परिवारमा विद्यमान कुसंस्कार, महिलामाथि गरिने कुदृष्टि, हातपात, कामवासना, बलात्कार, गाली, शङ्का-उपशंका, सम्बन्धविच्छेद जस्ता अत्याचार र विभेदहरू नष्ट गर्न तम्सिने जोस बढेर जानेछ ।

नवोदित उपन्यासकार रीना सुब्बाले यो पुस्तकमा धेरै मिहिनेत गरेकी छिन् । उनी स्वयम् प्रमुख पात्र भएर उत्रिएकी छिन् कहानीमा ।  पाठकलाई लाग्दैन यो अरू कुनै व्यक्तिको कथा हो, बरु यस्तो लाग्छ रीना आफै नारी उन्मुक्तिको लागि यो पुस्तकको वैशाखी टेकेर सम्मुख भएकी हुन् ।

पढ्नु भएको छैन भने खोजी खोजी आजै पढ्नु होस् रीना सुब्बाको  ‘परिवर्तित अनुहार’  ।