
“हामी बैसाखीबिना हिँड्दैनौँ
बैसाखी हामीबिना हिँड्दैन
यसैले हाम्रो रङ्ग हुँदैन ।
हामी हातबिनाको अँगालो बढाउँछौँ
तर बिना हातको अँगालो अँगालो हुँदैन ।
यसैले हाम्रो जात हुँदैन ।”
माथिका पङ्कति कवि नोर्जाङ स्याङ्देन (जन्म २७ जनवरी सन् १९५२)को बहुचर्चित कविता सङ्ग्रह मूर्छना भित्रको कविताबाट लिइएको हो । कवि स्याङ्देनका हालसम्म मूर्च्छना (सन् १९८४), कविताजस्तै कविताहरू (सन् १९८९), राग– रन्थरूमा (सन् २०००) गरी तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् । यी तीनमध्ये सर्वाधिक चर्चित कवितासङ्ग्रह मूर्छना नै मानिन्छ ।

नोर्जाङ स्याङ्देन
भारतीय नेपाली कविता परम्परामा सत्तरको दशकमा देखापरेका कविहरूका लहरमा उनी पनि पर्दछन् । भारतीय नेपाली कविता परम्परामा विशेषत आयामेली साहित्य लेखनको पृष्ठभूमिबाट उठेका नवीन प्रयोगवादी कविहरूको आगमनले नेपाली कवितालाई विशेष उँचाइ दिएको लाग्दछ । भारतीय नेपाली कविता परम्परामा एकातिर नीतिवादी, स्वच्छन्दतावादी धाराका काव्य लेखनका एकालापी स्वरहरू र अर्कातिर दूर्वोद्य भाषा र क्लिष्टताको आरोप लागेका आयामेलीहरू उदाएका थिए । यस कालका कविहरूले यी दुवै धारबाट आफुहरूलाई मूक्त गराउँदै आफ्ना शैल्पिक स्वर विकसित गरेर अर्का हुद्दा कविहरू उदाएका थिए । ती मध्ये कवि नोर्जाङ स्याङ्देन एकजना हुन् ।
उनका समकालीन कविहरू हुन् – राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, भविलाल लामिछाने, नरेशचन्द्र खाति, अविनाश श्रेष्ठ, जीवन थीङ, विकास गोतामे, पवन चामलिङ किरण, जस योन्जन प्यासी, नव सापकोटा, पदम छेत्री आदि ।
आज यिनै कवि स्याङ्देनका ‘घायल फुल: झरेका पत्रहरू’ कविताको एउटा पठन यहाँ प्रस्तुत छ । पाठपरक आलोचनाले पाठ महत्त्वपूर्ण हुन्छ लेखक हुँदैन भनिए तापनि पाठ अध्ययनपछि त्यसबाट सम्प्रेषित सूचनात्मकताबाट अन्तर्पाठको अर्को अवकाश भने पाठले नै आग्रह गरेको देखिन्छ । अर्थात् कुनै पनि पाठ जब पाठकले पठन् गर्छ त्यसबेला त्यो पाठ कसले लेखेका हुन् ? भन्ने सन्दर्भले थप अर्को अन्तर्पाठ जोड्दछ । प्रत्येक पाठले आफ्ना पृष्ठभूमि, अवस्थान र सम्प्रेषण आदिको प्रयोग गर्दछ । यसमा पाठकको ज्ञान, मिमांशा, उत्प्रेरणाको पनि महत्त्वपूर्ण भूमिका हुँदछ । कति पाठ बन्द हुन्छ कति पाठ खुल्ला । यस कविताको पाठमा पनि कविले पाठकका लागि खुल्ला पाठका आधारहरू राखिदिएका छन् ।
कविले अन्तर्राष्ट्रिय विकलाङ्ग वर्षको शुभ अवसरमा यो कविता रचना गरिएको हो भनेर कविता पठन प्रवेशको एउटा ढोका खुल्ला सङ्केत (कोड)-का रूपमा राखिदिएका छन् । कविताको मूल पाठको पठनपूर्व नै कविले सङ्केतका रूपमा राखेका हेलेन केलरको अङ्ग्रेजी भनाइले कविताका विषयगत अन्तर्पाठलाई अग्रसारित गर्दछ । कवितामा कविले सङ्केतक रूपमा प्रयोग गरेका पाठले सङ्केतित रूपमा अन्तर्पाठको अर्को सङ्केत निर्माण गर्दछ । अर्थात् यस कवितामा देखिएको सङ्केत व्यवस्थाको पठननै यो लेखको अभीष्ठ हो । सस्युरले सङ्केतबारे चर्चा गर्ने क्रममा सङ्केतक र सङ्केतितबाट सङ्केत निर्माण हुने कुरो बताएका छन् भने पेयर्सले सङ्केत भित्रै पनि वर्गीकरण गरेर देखाएका छन् ।
पेयर्सले प्रतिदर्शन, वस्तु र व्याख्याका सन्दर्भमा सङ्केतलाई तीन भागमा वर्गीकरण गरेर देखाएका छन्-
१) प्रतीक तथा प्रतीकात्मक (Symbol / Symbolic)
२) प्रतिमा तथा प्रतिमापरक (Icon / Iconic)
३) निर्देश तथा निर्देशात्मक (Index / Indexical) ।
यहाँ निर्देशात्मक सङ्केतले वस्तुलाई कसरी निर्देश गर्छ भन्ने कुरा देखाउँछ । एउटा निर्देशले कुनै वस्तुलाई इङ्गित गरेकै हुन्छ । जसरी घामघडी वा घडीले दिनको समयलाई इङ्गित गरेकै हुन्छ ।
पेयर्सले सङ्केतक र वस्तुमाझ वास्तविक सम्बन्ध हुनपर्छ भन्दै व्याख्या गर्ने व्यक्तिको मनमा आधारित हुनु हुँदैन भनेका छन् । निर्देशात्मक चिह्नले इङ्गित गरेको वस्तु अनिवार्य रूपमा उपस्थित हुनुपर्छ । तसर्थ निर्देशात्मक चिह्न वस्तुका उपस्थितिका सत्यतासित सम्बन्धित हुन्छ । त्यहाँ वस्तुसित निर्देशात्मक चिह्नको सोझो अनि भौतिक सम्बन्ध हुन्छ । निर्देशात्मक चिह्नको वस्तुसितको सम्बन्ध सादृश्यात्मक नभएर सोझो हुन्छ । निर्देशात्मक चिह्न वस्तुको सादृश्यता र समानताबाट परिभाषित गर्न सकिँदैन । कुनै पनि वस्तु जसलाई प्रकाश पार्न निर्देशात्मक चिह्न आवश्यक पर्छ ।
निर्देशात्मक चिह्नले आफुले इङ्गित गरेको वस्तुलाई चिनाउनलाई दवाब पनि दिन्छ । जहाँ प्रतिमापरक चिह्न वस्तुसित सादृश्यता र समानता राख्छ भने निर्देशात्मक चिह्न वस्तुसित सन्निहित र समीपस्थ हुन्छ । मनौवैज्ञानिक दृष्टिले पनि निर्देशात्मक चिह्नहरूका कार्य वस्तुको ऐक्यता, सादृश्यताको ऐक्यतामाथि होइन सन्निहितता तथा समीपस्थमाथि निर्भर गर्छ । एलिजावेद ब्रुस भन्छन् – निर्देशात्मक चिह्न वस्तुको विशेषता(गुण) धर्म भन्दा पनि बढता वस्तुको सम्बन्धसित संलग्न हुन्छ । तसर्थ सङ्केतितलाई निश्चित कुनै एउटा आफ्नो धर्म आवश्यक हुँदैन, कुनै वस्तुलाई प्रकाश पार्नुसम्मका लागि मात्रै यो प्रयोग गरिन्छ । यी सम्बन्धहरू अवकाशीय घटना तथा कालीक अनुक्रमको कार्यकारणसित सम्बन्धित देखिन्छ । [1] यसको सङ्क्षिप्त चर्चा निम्नप्रकार गरिछ –
यस कविताको शीर्षकबाटै पनि निर्देशात्मक सङ्केतले सिङ्गै कविताका अवकाशलाई ओगट्न सक्षम भएको देखिन्छ । कवितामा उद्घाटित विषयलाई आधार राखेर पठन गर्दा हेलेन केलर र उनका भनाइलाई पनि पृष्टभूमिमा राख्न सकिन्छ । हेलेन केलरको वास्तविक नाम हेलेन एडम्स केलर हुन् । उनी एकजना अमेरिकी लेखक, राजनीतिक कार्यकर्ता र व्याख्याता थिए । कलाको स्नातक डिग्री आर्जन गर्ने उनी पहिलो बहिरो /अन्धो व्यक्ति मानिन्छ । उनले अमेरिकाको सोसलिस्ट पार्टीको सदस्य रहेर विश्व औद्योगिकी साथै महिला मताधिकार, श्रम अधिकार तथा समाजवादका लागि अभियान चलाएकी थिइन ।
एकजना दिव्याङ्ग एवम् भिन्न क्षमता भएको व्यक्तिविशेषको कार्यलाई सजिलै नजर अन्दाज गर्न सकिँदैन । भिन्न क्षमता भएका व्यक्तिसित केही गतिविधिहरू गर्न वा वरपरको संसारसँग अन्तर्क्रिया गर्न सामान्य व्यक्तिलाई भन्दा केही गाह्रो हुँदछ । ती सर्तहरू बौद्धिक, मानसिक, शारीरिक, संवेदी वा बहुकारकहरूद्वारा संयोजित हुन सक्छ तर कमजोरी होइन । भिन्न क्षमता पैदा गर्ने कमजोरीहरू वाह्य रूपमा ( शारिरिक अवस्था) जन्मदेखि नै देखिन्छ वा व्यक्तिको जीवनकालमा देखा पर्न सक्छ ।
कवि नोर्जाङ स्याङ्देनले ती तमास विकलाङ्गहरूका आत्मागत सङ्घर्ष, मनस्थिति र अनुभूतिहरूलाई विश्व विकलाङ्ग वर्षको दिन सम्झँदै एउटा संवेदनशील काव्यको सिर्जना गरेका छन् । कवितामा अपरोक्ष रूपमा सामाजिक विभेद र वर्गीकरणकै आधारमा पनि समाजले विकलाङगहरूका निख्लो अनुभूति वास्तवमा आत्मासात गर्न सक्तैनन् भन्ने कुरो कवितामा अभिव्यक्त गरेका छन् –
सहानुभूति र सम भावनाको टापुमा
हामी रुने आँसु एउटै हुन्छ
जीवन रोयो कि आँखा रोयो तर
छामी हेर्ने सायद कोही हुँदैन ।
शरीरको कार्य वा संरचनामा कमजोरी एउटा समस्या हो; एउटा कार्य सीमा एकजना व्यक्तिले कार्यान्वयन गर्दा सामना गर्ने कठिनाई पनि हो; यसमा अन्य मानिसको सहभागिता पनि प्रतिबन्ध हुन्छ । एकजना विकलाङ्ग व्यक्तिले जीवनको कुनै एउटा अवस्थामा संलग्न हुन समस्या अनुभव गर्दछ । अशक्तता स्वस्थ समस्या मात्र होइन । यो एउटा जटिल घटना प्रकिया हो जुन व्यक्तिको शरीरका सुविधा र समाज-मनोविज्ञान बिचको अन्तरक्रियालाई पनि यसले झल्काउँदछ भन्ने कुरोको सङ्केत कविले कवितामा गरेका छन् ।
कवि नोर्जाङ स्याङ्देन लेख्छन्
हामी हिँड्ने बाटा ब्रेलका अक्षरहरूजस्तै रोडे छन्
सँधै ओझेल, इन्द्रेणी समाएका यी पहाड र क्षितिजहरू
दृश्यबाट वञ्चित हामीलाई सोध्नू
सँधै हिँडेर जानुपर्ने यो क्यान्भास र ग्यालेरीका महान कृतिहरू
कति सुन्दर र सजीव छन् भनेर ।
दृश्यजगतबाट वञ्चित विकलाङ्गहरूप्रति कविको यहाँ गाढा संवेदना र गहिरो सहानुभूति रहेको देखिन्छ । कवितामा कविले स्पर्श, चाक्षुष विम्बहरूको संयोजनबाट चित्राङ्कन गरेका छन् । स्पर्श विम्बका रूपमा ब्रेलका अक्षरहरूजस्तै रोडासितको सदृश सम्बन्धलाई तुलनात्मक रूपमा देखाएका छन् । इन्द्रेणी, पहाड, क्षितिजका रङ्गबाट देखिने सुन्दर क्यान्भस र ग्यालेरीका सजीव चित्रहरूको अवलोकन गर्नबाट सदैव वञ्चित रहनुको परेको विम्ब चित्रमा गहिरो सहानुभूति रहेको देखिन्छ ।
उसरी अर्का ठाउँमा कवि स्याङ्देन लेख्छन्,
स्वरहरूबाट वञ्चित हामीलाई सोध्नू
गीत, गुञ्जन र यो संसारको सिम्फोनी नै
हाम्रो मुटुभित्र कतिसम्म पस्छ भनेर ।
स्पर्षबाट तिरस्कृत हामीलाई सोध्नू
कि आफ्नै हातका औँलाहरू कति नरम छन् भनेर
कि अँगालोको घेराभित्र कति माया अँट्छ भनेर ।
शब्दहरूबाट अवहेलित हामीलाई सोध्नू
कि वाकपटुता प्रतियोगिताका बिजयीलाई
मिठा शब्दहरूमा बधाई दिइने रहर कति हुन्छ भनेर ।
विकलाङ्ग एवम् शारिरिक रूपमा असक्षम व्यक्तिहरू अशक्तताको कारण आत्मागत रूपमा हुने समाज मनोविज्ञानलाई पनि कविले यहाँ प्रस्तुत गरेका छन् । समाजमा सक्षम (सामाजिक मोडेल) र असक्षम दुई विपरित श्रेणीकरणको विभाजनले पनि असक्षमहरूले आफुलाई प्रताडित अनुभव गरिरहेका हुन्छन् भन्नेतिर पनि कविको सङ्केत रहेको देखिन्छ । अर्थात् सक्षमहरूले असक्षमहरूलाई सामाजिक विभेद र श्रेणीकरण गर्न पूर्व उनीहरू वञ्चित हुन परेका अनुभूतिहरूलाई पनि आत्मासात गरियोस् भन्ने अभिप्राय कविको रहेको देखिन्छ । यसरी हेरिँदा स्याङ्देनका कवि मानसमा आत्मदर्शनको स्वाभाविकता पनि देखिन्छ ।
कवितामा स्वरहरूबाट वञ्चित, स्पर्शहरूबाट तिरष्कृत, शब्दहरूबाट अवहेलितजस्ता पदहरूको प्रयोगले सामान्यत: विकलाङ्गहरूको नियतिलाई मात्रै सङ्केत नगरेर सामाजिक मोडेलको विभेदकारी श्रेणीकरणलाई पनि अपरोक्ष रूपमा उजागर गरेका छन् ।
अर्का ठाउँमा लेख्छन्,
हामी पसिनाबिना हिँड्दैनौ
पसिना हामीबिना हिँड्दैन
यसैले हाम्रा र तिम्रा जिन्दगीमाझ कुनै सिमाना छैन
हाम्रो चरम व्यथामा निस्कने सुस्केरा पनि
खोलाको शीतल हावाजस्तो छ ।
मानव समाजमा विभिन्न किसिमका समस्याहरू छन् । अर्थात् समस्यै-समस्याले घेरिएको मानव व्यक्तित्वको विकेन्द्रित स्व-को पीडा सङ्घर्षमय छ । कविले तिनै जीवनको गाढा चित्रण गरेका छन् । यसभित्र पनि कविको आत्मपीडक (मेसोकिस्ट) चरित्र, अस्तिववोध, भग्न आशाको औडाहाजस्तो सुस्केराहरू पनि अभिव्यञ्जित भएको लाग्दछ । अर्थात् कविको आत्मसचेतताले गर्दा आत्मपरिचयको खोजबाट मानवमूल्य र यसका विसङ्गतिहरूलाई पनि अँगाल्न पुगेको देखिन्छ ।
अर्थात् हेलेन केलर एकजना भिन्न क्षमता भएकी व्यक्ति जसले तर सक्षमहरूले पनि गर्न नसकेका कामहरू गरेर देखाइदिएका छन् । यस्ता उदाहरणहरू संसारमा बग्रेल्तै पाइन्छन् । समाजमा सक्षम र असक्षम बिचको सीमारेखालाई केरमेट गर्ने किसिमको चाहना कविको रहेको सङ्केत पाइन्छ ।
कवि राजेन्द्र भण्डारीको शब्दमा भन्नु हो भने नोर्जाङका कविताले विद्रोह गर्दैनन् तर अन्तरसंवेदनाबाट स्व-चिन्तनको दृष्टि भने तटस्थतासाथ उभ्याइएको पाइन्छ । सामाजिक रूपमा अशक्तता वा शारिरिक रूपमा विकलाङ्गहरूका सङ्घर्षहरू अदृश्यप्राय: एवम् अदेखाजस्तो गरिन्छ । वास्तवमा सामाजिक, सांस्कृतिक, मानवमूल्यको विकासमा उनीहरूको योगदान अन्य नागरिकहरूको समान भए तापनि समाजले सदैव श्रेणीकरण गरी अवमूल्यण गर्दछन् । यही संवेदनालाई कविले यस कवितामार्फत् सजीव रूपमा विम्बहरूमा अवतरण गरेका छन् ।
[1] डेनियल च्यान्डलर, सन् २००७, सेमियोटिक्स द बेसिक, रूटलेज, टेयलर एन्ड फ्रान्सिस ग्रुप, लन्डन एन्ड न्यु यर्क दोस्रो संस्करण, पृ ४२



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

