समुद्रको विराटता र फैलावटमा नदीले जति भूमिका खेलेको हुन्छ, त्यस्तै मान्छेभित्रका विशेष गुण र ज्ञानतत्वले त्यै मान्छेलाई महापुरुष बनाउन सक्दछ । त्यस्तै महापुरुषमा आधारित विभिन्न आलेख र जीवनवृत्त सङ्कलन गरेर शब्दबिम्बको भकारीमा भण्डारन गर्नुभएको छ, साहित्यकार तथा सञ्चारकर्मी गोपीकृष्ण ढुङ्गानाले । यो नेपाल र नेपालीको लागि एउटा महत्पूर्ण दस्ताबेज हो । जसले अग्रज पुस्ताको प्रतिनिधित्व गरेर अर्को पुस्तालाई जोड्ने काम गरेको छ । मोटो ग्रन्थभित्र रहेका विद्वान्, विदुषीहरूको लेख, आलेख, अन्तर्वार्ताहरूलाई मिहिन ढङ्गले केलाएर गोपीकृष्णले सम्पादकीयमा ‘समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय’ लेखेर शब्दबिम्बको सारतत्वलाई पस्केको पाइन्छ ।
प्रसङ्ग: शब्दबिम्बमा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीबारे लेखेका लेख, रचना र विचार विमर्शबाट उहाँको जीवनवृतान्तलाई छर्लङ्ग बुझ्न सकिन्छ । शब्दबिम्बभित्र जति पनि लेख, अन्तरवार्ता, टीकाटिप्पणी, भोगाइ र बुभाइहरू छन् प्रायः सबैको उस्तै-उस्तै हुनुमा विषयवस्तु व्यक्ति विशेष भएकोले स्वाभाविकै मान्नुपर्छ ।
डा. जोशीको जन्म १९७७ वैशाख ३० गते पाटनको बखुंबहाःमा भएको, पाँच वर्षसम्म बोली नआएको, बाल्यावस्था, पढाइ, हुर्काई, तीनपटक मदन पुरस्कार, पुरातत्त्व विभाग र प्रतिष्ठानको जागिर, विदेश भ्रमण, रथारोहण, सिक्का र टिकटमा तस्बिर, विभूषण, चीनमा रेडियोकर्मी र चिनियाँलाई नेपाली भाषा सिकाएको, अरनिकोबारे खोज अनुसन्धान, न्युजिल्यान्ड पुगेको, जुम्लामा लोकसंस्कृतिको अध्ययन, मानसम्मान, शरीर दान र २०७९ असोज ३० मा महाप्रस्थान आदि कुराहरू ग्रन्थमा अटाएका छन् ।
त्यस्ता प्रसङ्गहरू नदोहोरिएका र फरक लागेकामध्ये प्रा.डा.जगमान गुरुङले लेख्नुभएको छ, सत्यमोहन जोशीलाई सुब्बा पदबाट एकैचोटि पुरातत्त्व विभागको निर्देशकमा नियुक्ति गर्दा जोशीले नपत्याएर सात दिनसम्म चुपचाप बसेको र पछि शिक्षा मन्त्रालय गएर बुझ्दा छक्क पर्दै त्यो जिम्मेवारी सम्हालेका । तर त्यो विभाग सम्बन्धी ज्ञान, क्षमता, योग्यता नभएकोले राजदूत मार्फत इन्डियाबाट डाइरेक्टर झिकाएर धेरै कुरा सिकेर नेपालमा जोशीले नयाँ कामको शुरुवात गरेको प्रसङ्ग उल्लेख छ ।
उहाँले भारत, चीन, बङ्गलादेश, थाइल्यान्ड, म्यान्मार, श्रीलङ्का, रुस, बेलायत, क्यानाडा, न्युजिल्यान्ड, अस्ट्रेलिया र अमेरिकाको भ्रमण गर्नुभएको थियो । धेरै लेखकले न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली डा. सत्यमोहन नै हुन् भनिरहँदा रतन भण्डारीले त्यसको खण्डन गर्दै जोशीभन्दा पहिला २००५ मा मेजर जनरल मृगेन्द्रशम्शेर, तारामासिंह स्वार र प्रा. साम्बदेव पाण्डे पुगेको लेख्नुभएको छ ।
श्री ओम श्रेष्ठ ‘रोदन’ले चाहिँ छोटाछोटा वाक्यमा सुन्दर ढङ्गले सबै कुरा व्यक्त गर्नुभएको छ भने कवितात्मक शैलीमा डा.जोशीको जीवनलाई गेयात्मक बनाउनुभएको छ । वाङ्मय शताब्दी पुरुषको कृतिहरू निबन्ध, प्रबन्ध, कविता, नाटक, कथा, सम्पादन, महाकाव्य, बालसाहित्य र अङ्ग्रेजीमा पनि प्रकाशित भएको देखिन्छ । तर यस शब्दबिम्बभित्र कृतिहरू कसैले ६०, कसैले चार दर्जन लेखेका छन् भने नरेन्द्रराज प्रसाईँले ७९ वटा प्रकाशित भएको लेख्नुभएको छ ।
प्रसाईँको भनाइमा बाल्यकालको लठेब्रा सत्यमोहन जोशीको पाँच वर्षमा बोली आएको र १० वर्षदेखि नेपाली भाषामा ध्यान दिएको उल्लेख गरेको छ । जोशीको बोलीको सवालमा कसैले सुर्यविनायक मन्दिरमा त कसैले मन्दिर नजिकको जङ्गलमा बोली फुटेको लेखेको भेटिन्छ ।
जोशीको सम्पादनमा १००० पृष्ठको ‘महेन्द्र स्मृति ग्रन्थ’ निकाल्दा राजा विरेन्द्रले फर्केर नहेरेको कुरादेखि बहुदल र गणतन्त्रसम्म आइपुग्दा पनि जोशी हेलित नै भइरहेको प्रसाईँको भनाइ छ । नइको परिकल्पना र त्रिमूर्ति निकेतनको सहयोगमा नेपाल सरकारले वाङ्मय शताब्दी पुरुष उपाधि दिन बाध्य भएको । माधव नेपाल प्रधानमन्त्री हुँदा जोशीलाई प्रतिष्ठानको कुलपति बनाउन धेरै प्रयास गरेको तर दलीय भागबण्डाले सफल हुन नसकेको ।
एउटा कार्यक्रममा त केपी ओलीले ‘शताब्दी पुरुष भनेको के हो ?’ भन्दै खिल्ली उडाउँदा जोशीलाई १०० वर्षसम्म बचाउन नइलाई झन् चुनौती थपिएको भनाइ छ । अमृत भातगाउँलेले चाहिँ एसएलसीमा जस्तै ५ वर्षको ग्रेस थपेर शताब्दी पुरुष घोषणा गरेको कुरा उठाउनुभएको छ । पछिबाट शताब्दी पुरुष मन्त्री परिषद्बाट घोषणा गरेको थियो ।
चीनमा अरनिको जोखी गर्दै चिनियाँ नागरिकलाई नेपाली भाषा सिकाउने जोशी स्नातकसम्म पढेको कुरा कोट्याउनुभएको छ भातगाउँलेले । नरेन्द्रराज प्रसाईँको बुझाइमा जोशीले जुम्लाको सिञ्जाखोला उपत्यकामा दुःख कष्ट सहँदै पुगेको र तीन महिनासम्म बसेर पाँच जनाको टोलीले कर्नालीको लोकसंस्कृति सिर्जना गरेको । पछि पाँच खण्डमा निकालेको उक्त पुस्तक प्रदर्शनीमा युवराजधिराज वीरेन्द्रको उपस्थिति रहेको । फेरि यता देवेन्द्र भट्टराई भन्नुहुन्छ, कर्नालीको लोकसंस्कृति बारे अध्ययन गर्न सत्यमोहनको टोली काठमाडौंबाट अमेरिकन भाषाविद्ले ल्याएको सानो पाँचसिटे डकोटामा चढेर जुम्ला पुगेको र तीन महिनापछि फेरि त्यै डकोटा मगाएर काठमाडौं फर्किएको उल्लेख छ । त्यो पाँच खण्डको पुस्तकले मदन पुरस्कार पाएपछि पाँच जनाले दुईदुई हजार बाँडेको रोचक प्रसङ्ग छ । अमृत भातगाउँलेले भने जुम्ला उपत्यकामा २ महिना मात्र बसेको लेख्नुभएको छ ।
म हिँडिरहेको बाटो मेरै हो जस्तो गरेर लम्किरहेको जो कोही व्यक्ति पाटनतिर देखियो भने सत्यमोहन जोशीलाई सम्झिने गरेको सीके लालको भनाइ छ । कोरोना महामारीले जीवनको कुनै टुङ्गो नभएपछि मैले मेरो पुस्तकहरू सेन्टोसा, समयको डोब र गीतिएल्बम भुइँचम्पा सत्यमोहनज्यूको घरमा एकैचोटि तीन कृति विमोचन गरेको थिएँ । उहाँको सधैँझैँ उस्तै पहिरन । विशेष गरी उहाँको सादा टोपीबारे विमोचनमा सँगै बसेको बेला सोध्न खोजेँ, तर सकिनँ ।
यो शब्दबिम्ब पढ्दै जाँदा नितु घलेले त्यो टोपीको बारेमा तीन चोटि सोध्नुभएको रहेछ । पहिलोपल्ट जोशीको जन्मदिन पारेर घरमै पुगेर सोध्नुभएको रे फेरि अर्कोपल्ट उहाँकै तस्बिरमा कलाकारहरूले लाइभ पेन्टिङ गरिरहेको बेला छेवैमा बसेर सोधे पनि चित्त बुझ्दो जवाफ नपाएपछि झन् खुलदुली बढेको भनाइ छ । त्यसपछि फेरि घरैमा गएर टोपीको विषयमा सोधेपछि अलि खुलेर जोशीले भन्नुभयो रे, ‘मेरी आमाको देहवासन भएपछि यो टोपी लाउन थालेको हो । हाम्रो संस्कारअनुसार आमाको देहवासन भएपछि केही न केही मूल्यवान वस्तु त्याग्नुपर्छ । मैले पहिलाको टोपी त्यागे र यो टोपी लगाउन थालेको हो ।’ ९७ वर्षमा बित्नुभएको आमा नुगलदेवीको चर्चा र महिमा सुनाएको प्रसङ्गहरू जोड्नुभएको छ नितुले ।
डा. गोविन्द टण्डनले निरङ्कुश राणा शासन, श्री ५ त्रिभुवन, महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र, लोकतन्त्र, गणतन्त्रसम्मको चर्तिकला सत्यमोहन जोशीले देखेर भोगेको चर्चा गर्नुभएको छ । वर्षा शीर्षक कवितामा क्रान्ति शब्द प्रयोग गरेबापत सिद्धिचरणलाई निरङ्कुश शासन व्यवस्थाले जेल हालेको प्रसङ्ग सत्यमोहन मार्फत डा.गीता त्रिपाठीले गर्नुभएको छ ।
‘अरनिको श्वेत चैत्य’ नामक पुस्तक प्रकाशन गरेको बेला महापुरुष जोशी र माया ठकुरीले गरेको संवादहरू एउटा परिवारभित्र गरेजस्तो मिठो लाग्यो । धीरेन्द्र प्रमर्षिले नेपालमण्डलमा हुने मकुण्डो नाच तान्त्रिक प्रक्रियाबाट नृत्य गरे पनि उक्त नृत्य मिथिलाबाट आएको बारे जोशी जानकार रहेको चर्चा गर्नुभएको छ भने बिनालौरो, बिनाचश्मा र बिना सहयोगी १०३ वर्षसम्म जीवन यापन गरेको छुटाउनुभएको छैन ।
शीतल गिरीले लेख्नुभएको छ, सभा, समारोह, विमोचनहरूमा पुस्तकको घुम्टो खोल्ने मात्र होइन समालोचना, विश्लेषणहरू ज्यादै प्रेरणादायी र उपयोगी हुन्थ्यो । महाविद्यावारिधि पाउने जोशीको ज्ञानको भण्डारबाट जे खोज्यो त्यै भेटाउन सकिन्थ्यो । राजधानी बाहिर पहिलोपल्ट नाटक देखाउने व्यक्ति पनि सत्यमोहन नै भएको उल्लेख गर्नुभएको छ । सरस्वती प्रतीक्षाले जोशीको जीवनी वा आत्मकथा लेख्दा हुने फरकपनमा मुख्य पात्रले गुण बैगुण या जस अपजस सबै कुरा नखुलाएको बारे लेखक सम्पादकले सोध्न नसकेको हो कि, या त लेख्न नसकेको हो ? गुनासो पोखेको पाइन्छ भने १०२ वर्ष बाँचेको उल्लेख गर्दै सत्यमोहन के असत्यमोहन त होइन भन्ने आशय व्यक्त गर्नुभएको छ प्रतीक्षाले ।
गणेश राईले लेख्नुभएको छ – न्युजिल्यान्डमा प्रत्येक वर्ष प्रकाशन हुने ‘अफिसियल इयर बुक’को आधारमा देशको विविध तथ्याङ्कहरू सङ्कलन गरिने र आम नागरिकले कमाएको सात प्रतिशत सामाजिक संरक्षण कर तिर्नुपर्ने भएकोले जोशीले न्युजिल्यान्डको बुझाई र सिकाइबाट नेपालीलाई पाठ सिकाएको उल्लेख गर्दै बजारमा चलिरहेको मूल्य सूचीको आधारमा तलब र ज्याला अनि बस्तुभाउ घटबढ हुने गरेको तथ्य शताब्दी पुरुषबाट प्राप्त भएको राईको बुझाइ छ ।
जयदेव भट्टराईले एक ठाउँमा चिन्ता व्यक्त गर्दै भन्नुभएको छ – साहित्यको विविध विधामा ठूलो योगदान दिएको साहित्यकार जोशीलाई संस्कृतिविद् मात्र सम्बोधन गरेकोले त्यो संस्कृतिविद्ले वहाँको अरू अथाह सिर्जना र योगदानहरू ओझेलमा पर्ने त होइन ! गोपीकृष्ण ढुङ्गानाले चाहिँ अरूलाई थाहा नभएको कुरा लेख्नुभएको रहेछ, सादगी जीवन र खानपानमा पटक्कै सौखिन नभए पनि जोशीले सुत्ने बेलामा एक पेग रक्सी घुटुक्क पारेको खुलासा गर्नुभएको छ । मृत्यु त हामी आफैले सँगै बोकेर ल्याएका छौं, मृत्युदेखि किन डराउने जोशीको भनाइलाई राख्नुभएको छ ।
डब्बु क्षेत्रीको भनाइअनुसार सत्यमोहनराजलाई एसएलसीबाट राज हटाएर सत्यमोहन मात्र बनाएको । १९ वर्षमा विवाह गरेको । लुम्बिनीको मायादेवी मन्दिरको स्थापना सहित मूर्ति व्यवस्थापन र जमलमा रहेको काठ गोदाममा नाचघर स्थापना गरेको उल्लेख छ । स्मृति ढुङ्गानाले भने सत्यमोहन एउटा अथक व्यक्तित्व र स्मरण शक्ति तेज भएको जोशीलाई मेन्टर ठान्नुभएको रहेछ ।
समन महर्जनको बुझाइमा – सत्यमोहन जुरेली जस्तै भोलिको चिन्ता नगर्ने उत्ताउलोपन नभएको साह्रै सरल । ९० सालको भुइँचालोबाट भुइँचालो शब्द थाहा पाएको जोशीले बिना पासपोर्ट विदेश भ्रमण गरेर पनि आखिर नेपालको ई पासपोर्ट प्राप्त गर्ने पहिलो व्यक्ति लेख्नुभएको छ ।
चिरञ्जीवी मास्केले मदन पुरस्कार गुठीको निर्णयलाई सत्यमोहनले भङ्ग गरिदिएको तथ्य लेख्नुभएको छ । जसमा गुठीले एउटा व्यक्तिलाई एक पटकभन्दा बढी नदिने निर्णय लिए पनि तीन पटक दिन बाध्य पारेको थियो । राजा महेन्द्र मल्लले काठमाडौंमा चाँदीको सिक्का प्रचलनमा ल्याए पनि दोलखाका राजा जयइन्द्रसिंह देवले सोह्रौं शताब्दीमा प्रचलनमा ल्याएको जोशीको भनाइ पौराणिक तथ्यको ‘सत्यमोहन’ भन्ने पुस्तकबाट यहाँ उल्लेख गरेको पाइन्छ ।
मोहन दुलाल लेख्नुहुन्छ – १९९८ सालतिर गोरखापत्रमा परिचय कविता छापिएपछि जोशी साहित्य क्षेत्रमा लाग्नुभएको । जनमत मासिक पत्रिकाको आवरणमा जुरेली चराको फोटो पाए हुन्थ्यो भन्ने आग्रहमा मोहन दुलालले आफै पनि सम्झना गरेको बताउनुभएको छ ।
डी.बी. नेपाली ‘दमु’ले लोकसंस्कृति, इतिहास, शिल्प, कौशल र लोकबाजाहरूको सन्दर्भमा प्रत्यक्ष वा परोक्ष सत्यमोहनलाई प्रेरणाको स्रोत ठान्नुहुन्छ । कामी नाचको वृत्तचित्र बनाउने क्रममा जोशीले भन्नुभएको थियो, “कर्नाली क्षेत्रमा अहिले पनि दमाईं, कामी, सुनार, धामीझाँक्रीमा बाबिरो मष्ट देवता चढेमा गोसाईं महाराज भन्दै ब्राह्मणहरूले ढोगिहाल्छ ।)
प्रा.डा. सुमनराज ताम्राकारले शताब्दी पुरुष मार्फत मच्छिन्द्रनाथको रथयात्राको बारेमा त्यसको महिमा उल्लेख गर्नुभएको छ भने विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सत्यमोहन जोशीको पहलकदमीको स्मरण गर्नुभएको छ । त्यो रथयात्रा नेवारको मात्र नभएर आम नेपालीको अमूल्य सम्पत्ति भएको जोशीको भनाइलाई शब्दबिम्बभित्र समावेश गर्नुभएको पाइन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।