विश्वराज अधिकारी साहित्य लेखनमा परिचित नाम हो । अधिकांश बसाइँ संयुक्त राज्य अमेरिकामा भए पनि बेलाबखत स्वदेश आइरहने स्रष्टा पेशाले परदेशमै अध्यापन, अनुसन्धान र सिर्जनामा व्यस्त छन् । कथाकारसँग मेरो हालसम्म प्रत्यक्ष भेटघाट भएको छैन तथापि सामाजिक सञ्जालमा कहिले कसो साहित्यको बारेमा चर्चा परिचर्चा हुने गर्दछ । ‘नलेखिएका कथा’ कृति मैले एकजना साहित्यिक मित्रसँग सशुल्क लिएको हुँ र यसमा सङ्ग्रहित कथाहरू पढ्दै मनमा उब्जेका भावना र विचारहरू टिपोट गर्दै यो पाठकीय दृष्टिकोण तयार गरेको छु ।

नलेखिएका कथा

नलेखिएका कथा

विश्वराज अधिकारीकृत कथा सङ्ग्रह ‘नलेखिएका कथा’ मा १३ थान कथा रहेछन् । सबै कथामा प्रेम जोडिएर आएको छ, कतै दहीमा नौनी जसरी त कतै खारेको घ्यू जसरी । यो संसारमा प्रेमको चर्चापरिचर्चा अन्य विषयको तुलनामा कैयौं गुणा बढी हुन्छ भनेर म सोच्दछु । साहित्य सिर्जनामा होस् या साथीसङ्गीबीच हुने अनौपचारिक गफगाफमा । बिहानी चिया गफमा होस् या लेट नाइट पार्टीमै किन नहोस्; प्रेमको चर्चा नेपालीको भान्सामा हुने दालभात जत्तिकै उपलब्ध र मिठासले भरिएको हुन्छ । स्रष्टा विश्वराज अधिकारीको परिचय र प्रकाशित कृति, अध्ययन अनुसन्धानमा लिप्त हुने बानी, पूर्वीय दर्शनको विशद् अध्ययन र व्याख्याता, कुशल समीक्षक र समालोचक, स्तम्भ र ब्लग आदिमा निरन्तर सक्रियता हेर्दा एउटा मान्छेले जिन्दगीको यो चटारोमा कसरी समय व्यवस्थापन गर्न सकेको होला ! लोभ लाग्छ ।

कथाका शीर्षक नै रोमाञ्चित बनाउने किसिमका अलिक लामा लाग्छन्,

पहिलो कथा ‘वाटरलु, मञ्जु म्याडम र काका’ यात्रा वर्णनबाट सुरु भएर अव्यक्त तर सच्चा प्रेम अहिलेको भौतिक जगत् असफलमा गएर टुङ्गिएको छ । शारीरिक आकर्षक र प्रेमभन्दा हृदयको कुनामा हुने प्रेम सर्वदा जीवित रहने कुरा सुन्दर शैलीमा प्रस्तुत गरिएको छ ।

दोस्रो कथा ‘यसरी जितेँ हारेको युद्ध’ आमाबा र छोरीबीचको संवाद, जहाँ स्तर नमिल्ने केटासँग छोरीले प्रेम र विवाह गर्ने कुरा निर्धक्कसँग राखेपछि आमा रिसले फन्किँदै हिँड्छिन् भने बा छोरीलाई सान्त्वना दिँदै आफूले गर्न नसकेको हिम्मत उनले गरेकोमा खुशी हुन्छन् । मानवीय स्वभाव नै होला, मनको कुनामा रहेको अपुरो इच्छा अरू कसैले त्यस्तै अवस्थामा गरेको आँटिलो निर्णयले उसलाई अतीत सम्झाउन काफी हुन्छ ।

अर्को कथा ‘नाम नपाएको सम्बन्ध’मा त्रिपक्षीय प्रेम सम्बन्ध, जहाँ विद्यार्थी जीवनमा दुई मिल्ने केटा साथी र एक केटी साथी हुन्छन् । पहिलो साथी गरीब र दोस्रो धनी हुन्छ । पहिलोले धेरै माया गरेपनि दोस्रोसँग बिहे हुन्छ तर ऊसँग परिवारलाई दिने समय हुँदैन । पहिलो केटो जो अहिले विवाहित हुन्छ र पहिलेकी साथीलाई भेट्न बरोबर गइरहन्छ । यसरी उनीहरू आफ्नो प्रेमलाई पूर्णता दिन खोजिरहेका हुन्छन् । फिल्मी शैलीको कथा रमाइलो छ ।

चौथो कथा ‘चालीस वर्षदेखिको पश्चात्ताप’ तराईको परिवेश जहाँ आर्थिक असमानता भयावह छ; छोरीलाई उच्च शिक्षा दिइँदैन । त्यस्तै तेतरीसँग शिक्षित युवाको निकटता र चालीस वर्षपछि पछुतो मान्दै उनलाई भेट्न गएको, तेतरीको छोरासँग आफ्नो बनावट र स्वभाव मिलेको देखेर गम्भीर बनेको प्रसङ्ग छ ।

ग्रामीण परिवेश र पात्रहरू भएको पूर्वदीप्तिमा सुवासित यो कथा सुन्दर छ ।

पाँचौँ कथा ‘म, आशीर्वाद र ऊ’ मा युवावस्थाको प्रेम र विवाहेतर सम्बन्धले जिन्दगीमा पारेको असरलाई देखाइको छ । पश्चिमा जगतमा विवाह इतर सम्बन्ध सामान्य र सहज भए पनि पूर्वीय समाजमा अझै अपाच्य र निन्दनीय रहेको यथार्थलाई कथाले समेटेको छ ।

छैटौँ कथा ‘अर्को नाता’ दुईजना एकल महिलाको कथाव्यथा हो । यो कथामा उमेरमै पति गुमाएकी बुहारीलाई सासूले नै असल मान्छेसँग अर्को नाता (नयाँ घरजम) गाँस्न उत्प्रेरित गरेर समाजलाई नयाँ दिशा देखाउन खोजिएको छ । सकारात्मक सोचले भरिएको यो कथाले कैयौँलाई आशाको नवीन किरण देखाउन सफल छ ।

अर्को कथा ‘पत्रमा के लेखिएको थियो ?’मा प्रेम एउटासँग बिहे अर्कैसँग भएको मानसिकताको ट्विस्ट मरणोपरान्त खोलिएको चिठीमार्फत देखाइएको छ । कथामा नवीन शैली र स्वाद छ ।

आठौँ कथा ‘तिमीसँग मेरो सम्झनाको खाता छ’ चालीस वर्षपछि भेटिएकी म पात्रकी भावनात्मक प्रेमिका रीतासँगको आत्मिक प्रेमको सुन्दर कथा हो । प्रेमको कुनै सीमा र समय हुँदैन भन्ने कुरा यो कथाले पुष्टि गर्न खोजेको छ ।

हाम्रो समाज यौनको बारेमा खुलस्त छैन तर भित्रभित्रै त्यसकै बढी चर्चा हुने गर्दछ । अझ एकल जीवन बिताउन विवश महिलाको सम्बन्धमा त समाज अझ कठोर छ । सौम्य र अपराजिताको सम्बन्ध घरभेटी र डेरावालबाट सुरु भएर प्रेम झाँगिँदै गएर सम्बन्ध टुटेको छ ‘मलाई पश्चात्ताप छैन’ शीर्षकको कथामा ।

‘साइबर वाइफ’ कथा शीर्षकले नै पाठकलाई आकर्षित गरिहाल्छ । कथाकार पुरुष पात्र र उसको कथा सुन्ने नीताबीच अनलाइनमै गफगाफको सिलसिला बढ्दै जाँदा प्रेममा परेको अनुभूति हुन्छ । प्रत्यक्ष भेटघाटमा कहानीकै माध्यमबाट नीतालाई वैचारिक रूपमा आफ्नो कुरामा सहमत गराएपछि बल्ल उसले कथामा उल्लिखित पात्र हामी नै भएको बताएर कथा सुखान्तमा टुङ्गिएको छ ।

अर्को कथा छ ‘म भ्रममा नै रहूँ’ जसमा पवित्र प्रेमको चर्चा विवाहित महिला पुरुष जसले एक अर्कालाई चाहेर पनि पाउन सकेनन् तर आजीवन हृदयमा सजाइरहन सक्छन् भनेर गरिएको छ ।

‘बलात्कार भएको हो र होइन पनि’ एक चेतनामूलक कथा हो । यसमा विभिन्न बहाना र चाहनामा हुने यौन क्रियाकलापलाई हेर्ने बृहत् दृष्टिकोण छ ।

अन्तिम कथा ‘अति सम्मानित नगरबधू’मा एउटा ऐतिहासिक कहानी वैशालीकी नगरबधूको प्रसङ्गमार्फत कान्तिपुरकी नगरबधूको चर्चा उनको सुन्दर रूप र सामाजिक कार्यको साथ गरिएको छ ।

जिन्दगीको पानामा प्रेम भेटिएन भने जीवन निरश हुन्छ । यथासम्भव सबैको जिन्दगीमा प्रेमको केही अंश त परेको हुन्छ । सुखद भए पनि दु:खद भए पनि ती पाना च्यातेर फ्याँक्न त सकिन्न । तसर्थ सबैले आफ्नो भागको प्रेम, मिलन र बिछोड भोग्नै पर्छ । कतिपय यस्ता पक्ष देखिन्छन् त कति पाटा देखिन्नन् । प्रेम सादृश्य र अदृश्य हुन्छ । बाँचेको जिन्दगीको पनि देखिने र नदेखिने पाटा हुन्छन् । नदेखिने जिन्दगी , अदृश्य प्रेम र लुकेको यौन पक्षलाई कुशलतापूर्वक ‘नलेखिएका कथा’ मा उतार्न सफल भएका छन् कथाकार विश्वराज अधिकारी । यौन भन्ने बित्तिकै समाजको एउटा तप्का नाक खुम्चाउन खोज्छ परन्तु मानवको अन्तर मनमा यौनप्रति कौतुहलता र प्रगाढ चाहना लुकेको हुन्छ नै । यो अनिवार्य आवश्यकता हो र एक स्वस्थ मान्छे यसबाट पृथक् रहन सक्दैन । मान्छे र समाजमा यौन छ भने साहित्यमा पनि यो आउँछ, आइरहेको छ । कथाकारले यस बिम्बलाई आफ्ना कथामा प्रतिबिम्बित गराएका छन् ।

सबै कथा र सङ्ग्रहको प्रारम्भिक पृष्ठमा रहेका भूमिका समेत आद्योपान्त पढिसक्दा कथाकार विश्वराज अधिकारीको कथा लेखन वा कथा वाचन शैलीप्रति मेरो दृष्टिकोण :

१. विश्वराज अधिकारी एक मानवतावादी स्रष्टा हुन्, उनका हरेक कथा मानव, मानव समाज, परिवार र भूगोलको गन्ध पाइन्छ ।

२. ‘नलेखिएका कथा’का प्रत्येक कथामा कुनै न कुनै रूपमा प्रेम छ । कतै प्रेम प्राप्ति, कतै बिछोड, कतै त्याग, कतै समस्या त कतै समाधानको रूपमा प्रेम घुलेर आएको छ ।

३. यस सङ्ग्रहमा मानव जीवनमा घटिरहने तर अनेक कारणले गोप्य रहेका, अदृश्य र नभनिएका कथा व्यथाहरू समेटिएका छन् ।  सङ्ग्रहको नाम नै ‘नलेखिएका कथा’ हुनुले यसको सार्थकता झल्कन्छ । तर नलेखिएका कथा शीर्षकको कुनै कथा सङ्ग्रहमा छैन । अधिकांश कथाका शीर्षक लामा भएकोले कथाकार शीर्षक चयनमा धेरै पक्ष समेट्न चाहन्छन् जस्तो लाग्छ ।

४. अधिकारी एक प्राज्ञिक विद्वान् व्यक्तित्व भएकोले हुनसक्छ, जनजिब्रोमा झुन्डिएका बोलीचालीमा प्रयोग हुने कथ्य भाषामा भन्दा स्तरीय भाषामा जोड दिइएको छ । जसले गर्दा कतिपय संवाद कृत्रिम जस्ता लाग्छन् । कुराकानी मनबाट भन्दा मस्तिष्कबाट बढी भए झैँ लाग्छ ।

५. मधेशमा जन्म भए पनि काठमाडौँ र अमेरिकामा अध्यापन गर्ने भएकाले स्रष्टाको चिन्तन र विचार आधुनिक भएको कुरा कथा र त्यहाँका पात्रहरू र परिवेशबाट थाहा हुन्छ । अधिकांश कथाको परिवेश न्यूरोड र पुतलीसडकका रेस्टुरेन्ट र महलको वरिपरि घुमेका छन् ।

यति सुन्दर कथासङ्ग्रह दिएर साहित्यको श्रीवृद्धिमा पुर्याउनुभएको योगदानप्रति नमन  शुभकामना ।