नजिकका मित्र, प्रियजन र अतीतमा घटेका सुख र दुःखका घटना पराकम्पन भएर हल्लाउँदा हामीलाई बाडुली लाग्छ भन्ने विश्वासमा हुर्किँदै आएकी मैले जब डायोस्पोराकी वरिष्ठ साहित्यकार भारती गौतमको मर्मस्पर्शी शब्दहरूले उनिएको संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘विगत र बाडुली’को संसारमा हराउने मौका पाएँ, म त दङदास पर्दै गएँ ।

विगतका बाडुलीहरू कहाँ आँसु मात्र बनेर हिक्क हिक्क गर्दा रहेछन् र ? सम्झनारूपी हिक्काहरूको फोहोरालाई समेटेर एकत्रित गर्ने कला जाने भारती ‘विगत र बाडुली’ जस्तो सानदार साहित्य सृजना हुने रहेछ ।

आँसुलाई अवसर बनाउन सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको छ ‘विगत र बाडुली’ले । खेती गर्ने सिपालु  किसानले असारको हिलोमा मात्र होइन जेष्ठको सुक्खा जमिनमा पनि परिश्रम फलाउँछन् भन्ने त थाहा थियो । तर अक्षरको खेती त झन् त्यो भन्दा बेजोडको हुने रहेछ भन्ने कुरा चरितार्थ गरेको छ  ‘विगत र बाडुलीले । अक्षरको खेती गर्न जानेकी यिनै कलमवीर भारती गौतमको अन्तरहृदयमा सलबलाएका भावहरूको मञ्जरीबाट बढो मनोहारी पुष्प फुलेका छन् ‘विगत र बाडुलीको बगैँचाभित्र ।

विगत र बाडुली

विगत र बाडुली

पुस्तक पढिसकेपछि म सोच्न विवश भएँ – ओहो ! आफ्ना निजी अनुभवहरू पनि यति महत्त्वपूर्ण हुने रहेछन् ? व्यक्तिका नितान्त पारिवारिक घटनाहरूले पनि यसरी अरूलाई मर्माहत पारेर आफ्नै भावहरूसँग जोड्न सक्छन् ? साहित्यको खुल्ला आकाशमा व्यक्तिगत घटनाहरू पनि मूल्यवान् हुने रहेछन् । जसरी माधवप्रसाद घिमिरेको शोककाव्य ‘गौरी’ अमर भयो । संवेदनशील पाठकहरूले जब गौरी पढ्छन् उनीहरू स्वयं त्यो दुःख अनुभूत गर्न पुग्छन् ।

यहाँ भारती गौतमको कलमले पनि व्यक्तिगत पीडा, दुःख, अतीतको सम्झना र संस्मरणका साथै विभिन्न  ठाउँको यात्राहरूमा पाठकहरूलाई आफूसँगै भावनाको जहाज चढाएर हिँडाउन सफल भएकी छन् । साहित्य, कला, शिल्प, भाषा, शब्द र बिम्बको शक्तिशाली कुची प्रयोग गरेर गौतमले बढो उत्तम चित्र कोर्न सफल भएकी छन् । साहित्यको विशाल क्षेत्रमा त निजत्व भन्ने केही नहुने रहेछ । स्रष्टाका व्यक्तिगत अनुभूतिहरू त साहित्यको आँगनमा आएपछि त सार्वजनिक सम्पत्ति पो हुने रहेछन् ।

भारती गौतमलाई पढ्दै गएपछि म चकित चकित हुँदै गएँ । मलाई पनि मेरो विगतले बोलाउन थाल्यो । जतिजति भारती गौतमको विगतमा गोता लगाउँदै गएँ मैले त लेख्ने विषयको भण्डार पो फेला पार्दै गएँ ।  कैयौँ ठाउँमा भारती गौतमको भावनामा आफूलाई पनि मज्जाले डुबाउँदै लगेँ । भारतीको कलमको जादुमा यस्तो शक्ति छ कि पढ्दा पढ्दै मुटु नै फुट्ला जस्तो हुन्छ । विगत र बाडुलीमा यस्तो ज्योति छ कि जरुक्कै उठेर च्याप्प कलम समातेर आफ्नै अतीत लेख्न उत्साह भर्छ । भारती गौतमको स्मरण शक्ति साँच्चै बेजोडको पाएँ । अतीतका घटनाहरूलाई बढो मिहिन पाराले केलाएकी हरेक निबन्धमा । प्रस्तुति उस्तै उत्कृष्ट छ । शब्द चयन  निकै कलात्मक र काव्यिक छ । घटनाहरूलाई व्याख्या गर्न प्रयोग गरिएका बिम्बहरू निकै सटिक, अर्थपूर्ण र चित्रात्मक पाएँ जुन मलाई बढो मिठो लाग्यो । भारती बिम्बहरूको प्रयोग यसरी गर्छिन्-

“आमाले यस संसारबाट बिदा लिएका दिनदेखि नै मेरो मनमा भएको नेपाल भुईँचालोले भत्काएको      घरजस्तै बुइँगल र आँगन एउटै भएको थियो ।” ६९

“हिमाल देख्दा उनको अनुहार हराएकी आमा भेटेजस्तो बलेको थियो ।”

“सिङ्गो सानो कदमा बा एउटा मनचिन्ते झोला हुनहुन्थ्यो ।“

“एयरपोर्टमा कोही लिन आउँछन् भन्ने विश्वास खडेरीमा सुकेको कुवाजस्तो थियो । विमानको भर्याङबाट ओर्लिँदा मेरा पाइला दसैँको ऋणजस्तै हुन थाले ।”

२६ वटा निबन्धहरू सङ्कलित यो कृतिमा भारती गौतम मज्जाले पोखिएकी छन् । ‘बा मेरो सर्वस्व’ शीर्षकको निबन्ध पढ्दा धेरैपटक मलाई पनि ऐँठन भयो । हृदयबाट अत्यन्त नजिक भएका बा र आमाको मृत्यु स्वीकार गर्न सन्तानलाई बढो कठिन हुन्छ । अझ संवेदनशील छोरी भारतीलाई त निकै मुस्किल भएको छ । सधैँ हाँसिरहेको, बोलिरहेको आफ्नो प्रियजनलाई पितृको रूपमा स्विकार्नु त्यति सजिलो छैन । गौतमलाई बुवाको मृत्युले निकै विक्षिप्त पारेको छ । जब बुवाको मृत्यु हुन्छ तब भारतीलाई अतीतले निकै बोलाउँछ । शरीर मरे पनि आत्मा मर्दैन भन्ने कुराको आत्मबोध नभएकी मलाई पनि पलपल मृत्यु भइसकेको आफन्तको शरीर कै बोध हुन्छ। सम्झनामा स-शरीर देख्छु । सम्झना नै पो आत्मा तत्त्व हो कि झैँ पनि लाग्छ घरी घरी त । त्यसैले होला आत्मा अमर छ भनेको । प्रियजनको सम्झना कहिले मर्छ र ? हाम्रो चेतनामा आएर प्रियजनको आत्मा हाँस्छ बोल्छ । के मृत मानिसको छवि मेटाएर मेटिन्छ र ? गौरीमा राष्ट्रकविले कति मार्मिक लाइन लेखेका छन् –

    “तिम्रो अन्तिमको सिँगार सँगिनी ! कात्रो कसोरी भनूँ

                          तिम्रो निम्ति दिइन्छ पात्र जुन त्यो, टीलो कसोरी भनूँ

                            गाली होइन किन्तु भन्नू कसरी त्यो अन्न, बुर्की भनी

                                  ‘मुर्दार्नी’ कसरी भनूँ, जुन तिमी मेरी थियौ जीवनी ।“

भारती गौतमको अतीतको पाना पल्टाउँदा धेरैपटक लेखकसँगै घनकुटा पुगेँ,  र मैले दुईवटा संस्मरणात्मक निबन्ध लेख्न भ्याएँ । पुस्तकका बहु आयामिक पक्षहरू भेट्दा मलाई अझ अरू पुस्तकहरू पढौँ पढौँ लाग्ने गर्छ । भनिन्छ साहित्य समाजको दर्पण हो । मलाई त लाग्छ साहित्यिक पुस्तकहरू त साधनाद्वार पनि हुन् ।

‘सारीको पिङ’ निबन्धमा म पनि आमाको सारीको पिङमा मच्चिएर भकारोमा फुत्त झरेको मेरो अतीत हेर्दै गएँ । हजुरआमालाई लिएर म पनि दर खान आएँ । ‘उघ्रिएका झ्याल’ र ‘गाडीको समय’ शीर्षकका निबन्ध पढेपछि त मेरो मन मस्तिष्कमा मूल ढोका बन्द भएका अनगिन्ती दिदीबहिनीहरूको यादले कविता नै जन्माएँ ‘बेचिएको घर’ शीर्षकमा । “ती फुल बेच्ने बाजे“ पढेपछि मोहन कोइरालाको जीवनको नौलो आयाम थाहा पाएँ ।

‘आरम्भको अन्तिम भेट’मा साहित्यकार शारदा अधिकारीको जीवन, व्यक्तित्व, साहित्य प्रेम, सहयोग र साहित्यको सम्भावना भएका साहित्य अनुरागीहरूलाई दिएको उत्प्रेरणाका बारेमा निकै जानकारी प्राप्त गरेँ । शारदा अधिकारीले निबन्धकारसँग गरेको टेलिफोन वार्ताले मलाई मर्मान्त तुल्यायो –

“यस्तो राम्रो लेख्ने सक्ने यति मार्मिक अभिव्यक्ति भएको मान्छे किन घरमा भात पकाएर, केटाकेटी सह्यारेर अनि भाँडा माझेर समय खेर फालेको तपाईँले ?“

शारदा अधिकारीको प्रश्नले मेरो हृदयलाई पनि नराम्रोसँग छोयो । यो प्रश्न मलाई बडो नरमाइलो पनि लाग्यो । घरमा सीमित हुनु के बरबाद हुनु हो ? घरमा पकाएको भात, जुठा भाँडा माझेको, आफ्ना बच्चा हुर्काएको समय के खेरै गएको हो त ?

निबन्धकार पनि सोचमग्न हुन्छिन् यी प्रश्नले । मेरो मनमा उठेका प्रश्नसँग भारती गौतमको प्रतिक्रिया पनि मिल्न जान्छ, “ घरमा भात पकाउनु, केटाकेटी हुर्काउनु अनि भाँडा माझ्नु समय खेर फाल्नु हो र ?”  तर शारदा अधिकारीको यो यक्ष प्रश्नले भारती गौतमको साहित्यिक मनमा भुइँचालो ल्याउँछ र आज मैले पनि विगत बाडुलीमा डुबुल्की लगाउन भ्याएकी छु ।

आमाबा विहीन आँगनमा अतीतका पदचापहरू सुनेँ । ‘बेरीतले दुखेका रीतमा’ गुरुगम्भीर भएर सोच्न विवश भएँ । के छोरीले दाजुभाइ सरह श्राद्धमा बस्न हुँदैन ? निबन्धकारकी छोरीले झैँ आफैँलाई प्रश्नहरू गरेँ ।

‘छिमेकी बहिनी झमक’ पढ्दा जीवन काँढा कि फुल भन्ने कृतिभित्र पसेर झमकको जीवन सङ्घर्षमा रुमलिएँ । झमकको पीडालाई पढ्दा माया, प्रेम र करुणाका भावहरू मडारिँदै गए । झमकको आजको पहिचानले हृदय गद्गद् भयो ।

शरीर अमेरिकामा भएपनि भारती गौतमको मन पुतली बनेर बारम्बार अतीतको बगैँचामा विचरण गरिरहन्छ । गौतमको मन बढो संवेदनशील छ । संवेदित मनको गहिराइबाट भावनाहरूको बाढी मडारिएर बाहिर आउँदा पाठकहरूलाई पनि बगाएर लैजान्छ ।

अनिता कोइराला