आज फेरि एकपटक नयाँ कविताहरूसित छु । नयाँ यसकारणले कि मैले यी कविताहरूका सर्जकलाई अघि कतै नपढेको रहेछु । नपढिएका कविका कविताहरूमा केही विषयचयन र प्रस्तुतिको हिसाबले पनि निकै नयाँपन र फ्रेसनेस पाएँ । यसैले पनि कहीँ नवीन विचार र संवेदनसित साक्षात्कार हुने अवसर पाएको छु । उसो त आजभोलि कवितामा त्यो जैविक आलोक पाउन निकै दुर्लभ बनिसकेको अनुभूत हुन्छ मलाई । कविताका तत्त्वहरूले झ्वाम्मै छुने र मन मथिङ्गल हल्लाउने कविताहरू नपढेको निकै भयो कि जस्तो लाग्छ ।
जबकि दिनहुँ अनेकन् कविताहरूसित साक्षात्कार हुने अवसर जुटाइदिएको छ यो सोसियल मिडियाले । डिजिटल संसारमा यताबाट राजा पुनियानी, पवित्रा लामा, प्रभात राई चिसो, कृतिका दाहालहरूले निकै स्तरीय र प्रायोगिक कविताहरू दिएका भए पनि आजको तक्निकीय संसारमा कविताको भविष्य लिएर धेरै चिन्ता देखिन्छ । निलम, पल्लवितहरूले पाएको सेलिब्रिटी अवस्थानले कवितालाई कति दिन बँचाइराख्न सक्ला ? अर्थात् यस्ता कवि र कविताको आयु कति होला ?
उता के के हुँदैछ हुँदै गरोस् ।
यता तर ६ वटा खण्डमा ५२ वटा चिटिक्क परेका बान्किला कविताहरू अनि मुक्तकीय आभाका ‘दस हिक्का’सित पाठकसमक्ष प्रस्तुत छ नयाँ काव्यकृति ‘अछुत उत्सव’ । कवितालाई ‘उत्सव’ बनाएर सेलिब्रेट गर्न/गराउन उद्यत छिन् कवि सुमित्रा तामाङ । कवितामा अभिव्यक्त नछोइएका अनुभूतिहरूलाई उत्सव बनाएर रमाउन हामी पाठक स्वतन्त्र छौँ । काव्यिक यी उत्सवमा कविको उपस्थिति निकै प्रखर छ । हामी पाठक पनि आफैलाई भेटिन्छौँ कवितामा हाम्रै मनोभाव लिएर दु:ख-सुख र हर्ष पीडाका मूर्तहरूमा । कवितामा कविको निर्वैयक्तिकतालाई चुनौती दिने जस्तो उनको पराभौतिक उपस्थिति कवितामा यत्रतत्र भेटिन्छन् । जस्तो कि उनले घोषणा गरेकी छन्:-

अछुत उत्सव
म जे हुँ जस्तो छु
मेरो ईश्वरको नयाँ हस्ताक्षर हुँ
मलाई म-देखि एक सुता पनि होच्याउने कोशिश नगर ।
कविताको पहिलो खण्ड छ ‘पिरती भाका’ । प्रेमानुभूतिका हजारौँ कविता र गीतहरूबीच पनि हामी यहाँ साँच्चै केही नयाँ वा अछुत पिरती भाका सुन्न सक्छौँ । प्रेम, माया-पिरती, स्नेह, अनुराग आदि थुप्रै नामसित सम्बोधित यी भाकाहरू कृतिमा निकै मन भिज्ने छन् । पिरतीले नभिज्ने आखिर को पो होलान्! त्यसैले पनि सुमित्राका यस खण्डका कविताले सहजै पाठक मनलाई आकर्षित गर्नेछन् । रुमानी भाकाका यी कविताहरूमा अभिव्यक्तिको फरक शैलीले कविताहरूका ससाना संरचनामा हामी रमाउन सक्छौँ । यीमध्ये उनको ‘आमाको प्रेमकथाको ताल्चा’ले भने निकै उकुसमुकुस र नारी संवेदनाको अछुत पाटोलाई प्रकाशमा ल्याएको महसुस हुन्छ । यसमा मौन विद्रोह छ । सामाजिक विभेदप्रति, नारीको सामाजिक अवस्थाप्रति अनि समयका मान्यताहरूप्रति अप्रत्यक्ष चुनौती छ ।
आमाहरूले प्रेमकथा ओकल्नु पारिवारिक अपराध हो
कसैले सुनिहाले फेरि सामाजिक अपराध पनि त हो
पक्कै पनि खिया परेको प्रेमकथाको चाबी नभेट्ने गरी
धेरै आमाहरूले हृदयको तहमा कतै लुकाउँदा हुन्
शायद प्रेमकथा सम्झिपठाउनु पनि महापाप ठान्दा हुन् ।
कृतिको अर्को खण्ड छ ‘आधी आकाश’ । यसले समेट्ने भनेकै नारी स्वर र नारी चेतनाका पीडा र नीलडामहरू हुन् । तर अहिले सामाजिक सङ्कथनमा नारी भनेको अबला, अर्धाङ्गिनी, निर्बल जस्तो दर्शाउने परम्पररा धेरै विनिर्माण हुँदै आएको छ । नारी अब ‘आधी आकाश मात्र होइन पूर्णाकाश हुनुपर्छ’को चेतना व्याप्तिन्दो छ । यस्तोमा एक नारी सर्जक आफैले चिनाएको ‘आधी आकाश’ आलोचित पनि हुनसक्छ । तर कविताले बोकेका मुर्छना र विचारका पुलिन्दाहरू खोतल्दै जाँदा सुमित्राका नारी संवेदनले त्यही पूर्णाकाश विचरण गरेको भान हुन्छ ।
यस खण्डको पहिलो कविता छ कृति नामित ‘अछुत उत्सव’ । नारी मात्रले अनुभूत गर्ने नितान्त पृथक् संवेग छ रजस्वला सम्बन्धित । फरक दृष्टिकोणले रजस्वलासित उठिआएका सामाजिक विसङ्गति र अवधारणाप्रति विद्रोहात्मक अनि विचलनात्मक चेतनाले प्रहार गरेकी छन् ।

सुमित्रा तामाङ
भयो अब शङ्खनाद गर
युगीन नारीहरू
अनि उद्घोष गर-
प्रकृतिको नाममा प्रताडित बन्नु
अब मञ्जुर छैन
राजधर्म नारी जीवनको गर्व हो
लज्जाको विषय होइन
मानव वंशको स्रोत हो राजधर्म
अपवित्रताको पर्याय होइन
———
जीवन रहेसम्म
उत्सव रहिरहोस् जीवनको
कवि सुमित्राको अर्को कविता छ ‘उहाँहरू वेश्या बन्न मानेनन्’ । नारी समर्पण र त्यागलाई लिएर अभिव्यक्त उत्कृष्ट जातिवादी अझ भनौँ नारीवादी कविता । नारीवादको उद्भव, प्रगति र प्रवाहबारे नबखानीकन यति भन्न सकिन्छ नारीहरूले आफ्नो विविध हक, समानता र मान्यताको निम्ति धेरै लामो सङ्घर्ष गरेका छन् । हाम्रा नेपाली नारीहरूले पनि प्रत्यक्ष-परोक्ष यसमा आफूलाई समाहित गर्दै ल्याएका छन् । A Room of One’s Own लेख्ने भर्जिनिया उल्फले यसमा भनेजस्तै “women have served all these centuries as looking-glasses possessing the magic and delicious power of reflecting the figure of man at twice its natural size.’
हिलकार्ट रोडलाई सोध्नू-
रातभरि रोएका आँखाहरू लिएर दिनमा रोलर पेल्दा ऊर्जा बचाउन
दोहोरी गीत गाएका छन् तर रात कहीँ-कतै बेचेका छैनन्
इङ्गल्याण्डबाट ल्याइएका सिद्राबुङको पानी-नलहरूलाई सोध्नू
कक्कु, कोमा, बज्यैहरूले पसिनामा नुहाएर
शिरमा लादेर पानी-नलहरू बोके तर सजिलै पैसा बग्ने पँधेरो धाएका छैनन्
समयलाई कवि सुमित्राले त्यही ऐना देखाएकी छन् जसमा युगले (कथित अभिमानी पुरुष चेतले) आफ्नो अनुहार दुई गुना ठूलो देख्नेछन् । कवि सुमित्राको यो उग्र नारी संचेतन अन्य कवितामा पनि यसरी नै पटकपटक तिक्खर र झरिलो बनेर आएको पाइन्छ । उनको आह्वानै छ “अबका छोरीहरूले गुडियासँग होइन बन्दुकसँग खेलुन्/ आत्मरक्षाका सीप सिकुन्” । धारा ३७७ बनिनुभन्दा अघि देखि नै समाजमा व्याप्त तेस्रो लिङ्गी समाज र उनीहरूका कोमल मनोभावसित उब्जिरहने ‘गुलाबी गीत’को फरक चेत् र संवेदनले हामी पाठकलाई त्यही संसारमा एक क्षण विचरण गराउन सफल बनाउँछ ।
कृतिको अर्को खण्ड छ ‘अस्तित्व/सत्ता/ऐना’ । राष्ट्रियता, जातीय चेत, अस्मिताको प्रश्न जस्ता अवयव भारतीय नेपाली कविताका साझा विषय र विचार केन्द्र हुन् । हामी कविता लेख्ने हरेक कोहीले आफूलाई गिरीको रक्तबीजको रूपमा उभ्याएकै हुन्छौँ । कति हामीले कवि विकास गोतामेका आत्मा लिएर कुर्लिरहेका हुन्छौँ । तर यस दिशामा कवि सुमित्राको उपस्थिति निकै फरक देखिन्छ । ससाना कवितांशमा चिरिक्क चिमोट्ने तर खाटो बस्ने चेतले हिर्काउने उनको विशिष्ट शैलीले पाठकलाई प्रभावित नपारी छोड्दैन ।
तर ए जानेहरूको हुद्दा
जाँदा जाँदै मुद्दालाई तिलाञ्जली दिएर जाऊ
अझ सके
चिनारीका प्रश्नहरूको
घेवा खाएर जाऊ
यसरी कविता-कवितामा केही व्यङ्गचेत, केही सकारात्मक सुझाव, केही पीडाबोध, केही समकालीन विसङ्गति आदि दर्शाउने उनको प्रयास सबल र सफल लाग्छ । थप पर्यावरणको चिन्ता, वैश्विकरण र बजारवादसितको विमति, सत्ता र सङ्घर्षको द्विचरद्वन्द्व, परायपनबोध, इतिहासको पुनर्पठन आदि लिएर उत्तरआधुनिक समाज र समयको ऐनामा आजका विविध रूपहर प्रतिबिम्बित छन् यी कविताहरूमा ।
कृतिको अर्को खण्ड छ –‘चियाबुट्टा’ । भारतीय नेपाली कविताको अर्को सिग्नेचर ट्युन हो चियाबारीको धुन, यहाँको पीडा अनि यसको अभिव्यञ्जना । कवि सुमित्राले केवल तीनैवटा मात्र कविता यहाँ संलग्न गरेकी छन् तर ती तीन कविताले चियाबारीको युगौँको कथा-व्यथालाई समेट्न सकेको छ । समयले चियाबारीलाई नयाँ पदसित साक्षात्कार गराएको छ – ‘किस्ता’सित । यसले बोक्ने चिया श्रमिकको दुखेसोलाई नयाँ समीकरणले हेर्ने प्रयास गरिएको छ । यदि मालिकले श्रमिकको ज्याला, बोनस, रासिन आदि किस्तामा दिन्छ भने श्रमिकले पनि किस्तामा काम गरेर मालिकको सपनामा पानी फेर्नुपर्छ भन्ने आह्वान छ ।
‘दशैँ र बोनस’सित जोडिएर आउने हर्ष-अमर्ष अनि सुख-दु:खका केही नयाँ आयामहरूलाई कवि सुमित्राले काव्यिक संरचनामा आफ्नै प्रकारले ढालेकी छन् । ‘बोनसबिना दशैँमा धनवीर काकाको घरमा के पाक्यो कुन्नि? बोनसकै नाममा धेरैको यहाँ राजनैतिक रोटी पाकेको हुन्छ भन्ने’ काव्यिक कथनले आजको चियाबारी राजनीतिको निकृष्ट अवस्थिति उदाङ्गो पारेकी छिन् । ‘यो शहर त्यो कमान’ कवितामा शहरिया जीवनको आडम्बरलाई चियाबारीको अर्ग्यानिक बँचाइसित दाँजिएको घतमा जाने लाग्छ ।
कृतिको अर्को खण्ड- -‘मन-खिड्कीबाट’ रहेको छ । यसमा वैयक्तिक केही मनपीडा, केही नयाँ अनुभूति, केही जागतिक यथार्थ अनि केही अमूर्त भावनुभूतिले भिजेका अभिव्यक्तिहरू समाहित छन् । एकपटक पढ्दैमा मनमा चस्स छुने । मर्मस्पर्शी कविताहरू भन्छौँ । अन्तमा ‘दश हिक्का’भित्रका दसवटा मुक्तकीय पदहरूद्वारा फरक-फरक कुराहरू भनिएका छन् । जस्तो कि:
पढिदिनू
यदि पढ्नु नै छ भने
नारीलाई
उसको तनको भूगोल होइन
ऊभित्र लुकेको इतिहास
उसको मस्तिष्कमा रहेको दर्शन
अनि हृदयमा लुकेको
कलालाई पनि
पढिदिनू ।
कविता एक कलारूप हो । हामीले सुमित्राका कवितामा त्यही कला पढिरहेका छौँ ।
कवि सुमित्राको भाव-संवेदनको तिक्खरता अनि अभिव्यक्तिको कोमलता यो भूमिका वा समीक्षा पढेर मात्र पूर्ण बोध नहोला । पाठकले कविताको गहिराइमा एकपटक त डुब्नै पर्छ । हामीलाई यो गहिराइमा डुब्न कविको काव्यभाषा वा कथ्यशिल्पले सबैभन्दा धेर सहयोग गर्छ । सचेत भाषा प्रयोगसित कविले आफ्नो कथन, भाव, र अवधारणालाई सहज सम्प्रेषणीय बनाएकी छन् । प्रतीक अनि बिम्बहरू मिश्रित र अस्पष्ट भेटिन्न कविता हरफहरूमा । भाषाको मितव्ययिता उनको अर्को विशेषता । लामा-लामा आख्यानले कवितालाई गिजिङमिजिङ पारेकी छैनन् । भन्नुपर्ने कुरो अरूलेभन्दा अलिक फरक पाराले भनौँ भन्ने उनको कोसिसले नै कविताहरूमा सायद त्यो फ्रेसनेस ल्याएको छ ।
कवि सुमित्राको काव्यिक उपस्थिति अहिलेलाई ‘अछुत उत्सव’ बनेको छ मेरो निम्ति । आउनुहोस्, तपाईँहरू पनि यो काव्यिक उत्सवमा रमाउनुहोस् । लेट्स सेलिब्रेट टुगेदर !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










